गोपालप्रसाद बस्यालको घरदेखि परसम्म विमोचन


पाल्पा । शिक्षा तालिम केन्द्रमा शिक्षकहरुको पेशागत तालिम चल्दैछ । घटना अध्ययन र सामुदायिक कार्यसम्बन्धि सत्र सकियो । प्रशिक्षक गोपालप्रसाद वश्यालले आजको मिति सोध्नुभयो । आज चैत्र ६ गते भन्ने जवाफ सहभागी शिक्षकहरूबाट आयो । उहाँले फेरि प्रश्न गर्नु भयो, पुस ६ गतेदेखि आजसम्म कुन पुस्तक पढिसक्नु भएको छ ? सबै सहभागी मौन रहे । यसै बीचमा उहाँले झोलाबाट पुस्तक झिकेर सबैलाई एकएक ओटा वितरण गर्नुभयो । सबै सहभागीले घरदेखि परसम्म कृति प्रदर्शन गरे ।

यसरी प्रशिक्षक गोपालप्रसाद वश्यालको यात्रा संस्मरणात्मक निबन्ध कृति घरदेखि परसम्मको तालिम कार्यशालामा सामूहिक रूपमा  बिमोचन भएको छ । शिक्षा तालिम केन्द्र, पाल्पाका प्रशिक्षक एवम् कृतिकार वश्यालको जन्मभूमि दैलातुङ पाल्पाको ऐतिहासिक र वर्तमान अवस्थाप्रतिको समीक्षात्मक आलेखबाट शुरू यस कृतिमा वश्यालका स्वदेश तथा विदेशका विभिन्न यात्रा अनुभवहरूलाई सरल तरिकाले प्रस्तुत गरिएको छ । समीक्षक एवम् नियात्रा विधाका अण्वेषक प्रमोद प्रधानका अनुसार वश्यालका यात्रा निबन्धहरू शिक्षासम्बन्धित विषयवस्तु प्रबल रूपमा उल्लेख भए तापनि समालोचकीय चेतबाट प्रभावित छन् ।

विविध विषयवस्तुलाई प्रासंगिक तरिकाले प्रस्तुत गर्नु लेखक वश्यालको लेखन कौशल भएको समीक्षक डा. शंकर गैरेको ठम्याई छ । उहाँले यस कृतिलाई शिक्षा र साहित्य दुवै विधाबाट अब्बल छ भन्नु भएको छ । लामो समयसम्म शिक्षक र प्रशिक्षकको अनुभव भएका लेखक वश्यालले यही क्रममा नेपालका विभिन्न भाग, संयुक्त राज्य अमेरिका, भारत, श्रीलंका र बंगलादेशमा बटुलेका अनुभवलाई यस कृतिमा समेटिएका १२ ओटै निबन्धका मुख्य विषयवस्तु भए तापनि यी निबन्धमा पर्यटन, मानवीय कार्य, प्रकृति सौन्दर्य, विकास निर्माण, जनजीवन लगायत विषयमा समालोचनात्मक दृष्टिकोण राखेर लेखेको बताउनुभयो ।
आफुले शिक्षा विकासमा जीवन समर्पण गरेको र प्रशिक्षण कार्यमा खटिरहेको सन्दर्भमा प्रशिक्षण कार्यक्रममा सहभागि शिक्षकहरूबाट कृति सार्वजनिक गर्न पाउँदा अपनत्व र आत्मगौरव बढेको लेखक वश्यालले बताउनु भयो । उहाँले यसबाट कृतिको अध्ययन गरी विषयवस्तुको ज्ञान प्राप्तीको अलावा यस प्रकारका सिर्जनात्मक कार्य गर्न शिक्षकहरूलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

दमकडा माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद सापकोटाले भन्नुभयो, ‘प्रशिक्षक गोपालप्रसाद वश्यालले कृति थमाउनु भयो । यो उहाँको कृति रहेछ । यसले हामीलाई खूशी लाग्यो । नौलो शैलीले सामूहिक रुपमा कृतिको बिमोचन गरियो ।’