तानसेनमा गणित विषयको सिकाई उपलब्धी कमजोर

पाल्पा । तानसेन नगरपालिका आधारभूत तह उत्र्तीण परीक्षा कक्षा ८ मा ८१ जनाले ३ दशमलव ६ देखि ४ जिपिए ल्याएका छन् ।

तानसेन नगरपालिकाले परीक्षाफल प्रकाशन गरेको दुई हप्तापछि विद्यार्थी नतिजाको सारांश सार्वजनिक गरेको छ । आधारभूत तहको अन्तिम परीक्षा मानिने कक्षा ८ को परीक्षा नगरपालिका आफैले लिएको थियो । नगरपालिकाको शिक्षा शाखाअन्तर्गतको परीक्षा समितिले प्रश्नपत्र प्रकाशन, परीक्षा सञ्चालन, कोडिङ र डिकोडिङ गरी उत्तरपुस्तिका परीक्षण गरी परीक्षाफल प्रकाशन गर्दै आएको छ ।

नगरपालिका भित्रका ३७ विद्यालयका १ हजार १ सय २६ जनाले परीक्षा दिएकोमा औषत विषयगत उपलब्धी २ दशमल ७९ रहेको शिक्षा शाखा प्रमुख रेशमलाल न्यौपानेले बताउनुभयो । माध्यमिक तहमा प्रवेश गरेका अधिकांश विद्यालयका विद्यार्थी गणित विषयमा कमजोर रहेका छन् । गणितमा ग्रेड प्वाइन्ट १ दशमलव ४१ मात्र रहेको छ । गणितमा डि र इ ग्रेड ल्याउने ६ सय ५० जनाले ग्रेड वृद्धि परीक्षा दिनुपर्ने बाध्यता रहेको नतिजाले देखाउछ । गणित विषयमा प्रयोगात्मक परीक्षा नहुँदा सिकाई उपलब्धी कम देखिएको गणित शिक्षकहरुको भनाई छ ।

गणित र विज्ञान विषयमा कमजोर हुने विद्यार्थीले प्राविधिक धारका विषय पढ्ने पाउँदैनन् । नगरपालिका र विद्यालयले गणित र विज्ञान जस्ता विषयको पठनपाठन प्रभावकारी बनाउनुपर्ने अभिभावकहरुको सुझाव रहेको छ । अंग्रेजीको हाउगुजी मानिने विषयमा समेत तानसेनमा ग्रेडवृद्धि परीक्षा दिनुपर्ने विद्यार्थी संख्या जम्मा एक जना मात्र रहेको छ ।

विषयगत सबैभन्दा उच्च ग्रेड
नेपाली १५ ए प्लस GP
गणित १० ए प्लस GP
अंग्रेजी १५७ ए प्लस GP
सामाजिक ८६ ए प्लस GP
विज्ञान २८ ए प्लस GP
पेशा व्यवसाय तथा प्रविधि शिक्षा १४७ ए प्लस GP
नैतिक शिक्षा ४६४ ए प्लस GP
स्वास्थ्य तथा शारीरिक शिक्षा २६० ए प्लस GP
स्थानीय विषय ४३ ए प्लस GP