तानसेन नगरपालिकामा आर्थिक वर्ष २०७६\०७७ मा ८० कराेड खर्च

पाल्पा । तानसेन नगरपालिकाले गत आर्थिक वर्ष २०७६\०७७ मा विनियोजित १ अर्ब १६ करोड रुपैंयामा ८० करोड खर्च गरी करिव ७० प्रतिशत वित्तीय प्रगति गरेको देखाएको छ ।

नगरपालिाले आर्थिक वर्ष २०७६\०७७ मा विनियोजित बजेट १ अर्व १६ करोड ९ लाख ६ हजार ५ सय १ रुपैंया पेश गरेकोमा ८० करोड ८३ लाख ९ हजार ९ सय ७९ रुपैंया खर्च भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेल्बासेले बताउनुभयो । खर्च कटाएर बाँकी रहेको ३५ करोड २५ लाख ९६ हजार ५ सय २१ रुपैंया मध्ये ७ करोड १५ लाख ४४ हजार १ सय ६७ रुपैंया फ्रिज भएको छ । नगरपालिकामा २८ करोड १० लाख ५२ हजार ३ सय ५४ रुपैंया नगरपालिकामा बचत रहेको लेखा अधिकृत कोशलराज घिमिरले बताउनुभयो ।

आन्तरिक आम्दानी ६ करोड ९७ लाख १७ हजार संकलन गर्ने लक्ष्य लिएकोमा ५ करोड ७८ हजार ५८ रुपैँया आम्दानी भएको छ । कोभिड १९ को असहज परिस्थिति, दुई महिना लामो लकडाउन, निर्माण सामग्री र कामदारको अभाव हुँदा पनि तुलनात्मक रुपले राम्रै काम भएको र चालु वर्ष यस्ता परिस्थितिको आँकलन गरेर योजना सञ्जालन गर्ने योजना रहेको नगरपालिका प्रमुख अशोककुमार शाहीले बताउनुभयो ।

कोरोना कोषमा २ करोड १९ लाख ४० हजार ८ सय ३४ रुपैंया आम्दानी भएकोमा क्वारेन्टिन सञ्चालन र व्यवस्थापन, राहत, सहुलियतपूर्ण राहत वितरण र कोरोना नियन्त्रणसम्बन्धी क्रियाकलापमा २ करोड १ लाख ८९ हजार ३ सय ३५ रुपैँया खर्च भएको छ ।

नगरपालिका, माथागढी, बगनासकाली र तिनाउ गाउँपालिकाले सम्युक्त रुपमा सञ्चालन गरेको आइसोलेसनमा ३१ लाख ५८ हजार ७ सय ६८ रुपैंया खर्च भएको र ३० लाख रुपैंया आम्दानी भएको छ । आइसोलेसनमा १ लाख ९० हजार रुपैँया भुक्तानी गर्न बाँकी देखिन्छ ।