दक्षिण अफ्रिकाले जित्यो टी–२० सिरिज

श्रीलंकाविरुद्ध तीन खेलको टी–२० सिरिज घरेलु टोली दक्षिण अफ्रिकाले जितेको छ । शुक्रबार राति भएको खेलमा अफ्रिकाले पाहुना टोली श्रीलंकालाई १६ रनले हरायो । अफ्रिकाले एक खेल अगाडीनै सिरिज जितेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा एक सय ८० रन बनाएको थियो । अफ्रिकाका लागि रिजा हेन्ड्रिक्सले ६५ रन बनाए । रस्सी भानडर डुसेनले ६४ र कप्तान जेपी ड्युमिनीले ३३ रन बटुले । बलिङमा श्रीलंकाका कप्तान लाथिस मलिङ्गा, इसुरु उडाना र अलिका धनन्जयले एक एक विकेट लिए ।

एक सय ८१ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंका २० ओभरमा ९ विकेटको क्षतिमा एक  सय ६४ रनमा समेटिएको थियो । श्रीलंकाका इसुरु उडानाले ८४ रन जोडेपनि अन्य ब्याट्सम्यान त्यति चल्न सकेनन् । थिसेरा परेराले २२, निरोसन डिक्वेलाले २०, एन्जिलो परेराले ११ र धनन्जय डी शिल्भाले १० रन बनाएका थिए । अन्यले दोहोरो रन बनाउन सकेनन् ।

बलिङमा अफ्रिकाका क्रिस मोरिसले तीन विकेट लिए । डेल स्टेन र तबरेज साम्सीले दुई दुई विकेट झारेका थिए । यसअघि पहिलो खेलमा दक्षिण अफ्रिका सुपर ओभरमा विजयी भएको थियो । तेस्रो तथा अन्तिम खेल आइतबार हुनेछ ।