पुष्कर अथक रेग्मीद्वारा लिखित ऐतिहासिक उपन्यास अमरामृत पुस्तक लोकार्पण

साहित्यकार लेखक तथा बहुआयामिक व्यक्तित्व पुष्कर अथक रेग्मीद्वारा लिखित ऐतिहासिक उपन्यास अमरामृत पुस्तक लोकार्पण समारोह तानसेनमा सम्पन्न भएको छ।

प्रमुख अतिथि रानीमहलका निर्माता खड्ग शमशेरका पनाती डाक्टर अजय शमशेर जबराले कार्यक्रम उद्घाटन गर्दै आफ्ना जिजु बुवा खड्ग शमशेर जबरा अत्यन्त दूरदर्शी सफल योद्धा , कुशल नेतृत्वकर्ता भएकाले उहाँले बनाएको रानीमहल बाहिरी परिसर सजावट तथा भित्री कोठाहरुमा खड्ग शमसेरका जीवनशैली दर्शाउन सकिने , बुद्ध नेपालमा जन्मेका थिए भने जस्तै रानीमहल पाल्पामा छ भन्ने कुरा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म जानकारी दिन सकिने , लुम्बिनी आउने पर्यटकहरूलाई पनि पाल्पाको रानीमहल सम्म घुम्न आउने वातावरण गराउनुपर्ने ,
रानीमहलको जगेर्नाको लागि निर्माण समूह गठन गरी परिचालन गर्न खड्ग शमशेरले स्थापना गरेका गुठीहरू कहाँ के कति छन् त्यसको खोजी र संस्थागत गरी संरक्षण तथा मर्मत गर्न सकिने बताउनुभयो ।

पुस्तकमाथि समीक्षा गर्दै समीक्षक प्राध्यापक अर्चना शाक्यले पाल्पाको ऐतिहासिक सामाजिक पर्यटन विकास क्षेत्रमा योगदान पुर्‍याएका खड्ग शमशेर जबराको लेख रहेको अमरामृत उपन्यासमा पाल्पाको प्रमुख पर्यटकीय गन्तव्य , खड्ग शम्शेरको प्रिय रानी तेजकुमारीको सम्झना , प्रेम प्रतिकको रुपमा स्थापित रानीमहल , कालीगण्डकी महिमा , त्याग महात्मय , पाल्पा गौडा , निर्वासन , पदच्युत , अख्तियार , हत्या , दण्ड शक्ति, द्वन्द लगायत विभिन्न २७ शीर्षकमा राजा तथा राणाहरूको बारेमा उल्लेख गरिएको बताउनुभयो ।

अर्का समीक्षक साहित्यकार भागवत खनालले आजभन्दा करिब १२८ वर्ष पहिले रानीमहल निर्माण कार्य सम्पन्न भएपछि पाल्पा तानसेन नारायणस्थानका तत्कालिन पण्डित छविलाल नेपालको खड्ग स्तुति शीर्षकमा लेखेको कविता , गीत , समेत पुस्तकमा रहेको र विभिन्न किसिमका शोध अनुसन्धानका लागि सत्यकत्थ्यमा आधारित पुस्तक भएकोले पाठकका लागि महत्वपूर्ण खुराक हुने बताउनुभयो ।

शुभकामना मन्तव्य व्यक्त गर्दै पत्रकार सेनानी मेघराज शर्मा , मुक्तिप्रसाद न्यौपाने , पर्यटन विकासका पदम न्यौपाने , सम्पदा प्रतिष्ठानका रामजी ढुङ्गाना , साहित्यकार सीताराम घिमिरे लगायतले ऐतिहासिक चेतना भरिएको अमरामृत उपन्यास अनुपम कृति पाल्पाली सिर्जना भएकोले गर्व गर्न लायक भएको तथा रानीमहललाई सुन्दर राख्नमा सबै सरोकार निकायको ध्यान पुग्नुपर्ने बताउनुभयो।

लेखकीय मन्तव्य व्यक्त गर्दै लेखक पुष्कर अथक रेग्मीले पाल्पाको पर्यटन विकासको केन्द्रबिन्दु रानीमहललाई जीवन्त राख्न साहित्यको माध्यमबाट खड्ग शमशेरको योगदान , रानीहरु तेजकुमारी नन्दकुमारीको ऐतिहासिक जानकारी दिन पाठकलाई रुचि गराउनको लागि अमरामृत पुस्तक उपन्यास लेखेको र खड्ग शमशेरकै पनातीहरूको उपस्थितिमा पुस्तक विमोचन गर्न पाउनु सौभाग्य रहेको बताउनुभयो ।

पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्र गोपाल सिंहले अहिलेको बढ्दो प्रविधिको समयमा पनि इतिहास लेख्ने र पढ्ने बानीको विकास गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

रामबहादुर गन्धर्वको सारङी गीत गायन ,चित्रवलीराम सुवालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम सविता भट्टराईको सञ्चालनमा चलेको हो ।