मदनपोखरामा बारीभरीको काउली नबिकेपछी फाँडेर सोत्तर

बोली । फागुन १९ – बारी बाँझो राखेमा सरकारलाई जरिवाना बुझाउनुपर्ने नितीको कुरा चलिरहेका बेला मदनपोखराका किसानले भने उत्पादित तरकारी नविकेर फाँडेका छन् ।


नेपालकै तरकारी उत्पादनको मुख्य केन्द्र भनेर चिनिने मदनपोखराका किसान रोमकान्त पाण्डेयले दुई हजार काउलीका विरुवा फाँडेर नष्ट गर्नुभयो । तानसेन ८ मदनपोखराका व्यवसायिक किसान पाण्डेयले काउली फक्रिएर धेरै ठुला भैसक्दा पनी नविकेपछी फाँड्नु परेको बताउनुभयो । “एउटै काउली तिन देखी चार किलो भैसक्दा पनी नविकेपछी फाँडिदिएँ ।” पाण्डेयले भन्नुभयो –“बारिमै मल होला भनेर फाँडिदिए, मल त किन हुन्थ्यो र चित्त बुझाउने बाटो मात्रै हो ।”


पाण्डेय जस्तै मदनपोखराका धेरै किसानको अवस्था उस्तै छ । बारीभरी फक्रिएका काउली र बन्दा छन् तर विक्रि हुँदैन । मदनपोखराकै स्थानिय बासिन्दाहरुले थोरै थोरै किनेर घरमा लग्छन्, काटेर सुकाउँछन् र पछी तरकारीको रुपमा प्रयोग गर्छन् । तानसेन ९ खर्केडाँडाका सिर्जना रुचालले एक सय रुपैंयाका दरले तिन बोरा काउली ल्याएर काटेर सुकाएको बताउनुभयो । सुकाएको काउली पछी तरकारीको रुपमा प्रयोग गर्ने रुचालले बताउनुभयो ।

तर मदनपोखराको उत्पादन यहाँको लागी पुग्ने भन्दा धेरै छ । मदनपोखरामा मात्रै दैनिक करिव ४ टन काउली उत्पादन हुन्छ । निर्यात गर्ने बजार बुटवल, तानसेन, पोखरा, नारायणगढ लगाएतका बजारमा काउली विकेको छैन ।

“बारी बाँझो राखेमा सरकारलाई जरिवाना बुझाउनुपर्ने निती सरकारले ल्याउँदै छ भन्छन्, पसिना बगाएर गरेको उत्पादनको हालत यस्तो छ ।” तानसेन ८ मदनपोखराका किसान उमेशराज घिमिरेले भन्नुभयो –“सस्तो महङ्गो जे भए पनी विके त हुन्थ्यो नी, फाँडेरै फाल्नु परेपछी त किसान के आधारले बाँच्ने ?”


तानसेन ९ तिन्टीआँपको मदनपोखरा बहुउद्देश्यिय कृषी बजार सहकारी संस्थाले भने किसानले उत्पादन गरेको काउली नगन्य मुल्यमा भएपनी विक्रि गरिरहेको छ । किसानले ४ रुपैंया किलो सम्म काउलीको मुल्य पाएका छन् । “किसानले अहिले सम्म काउली फाँड्नु परेको त छैन तर विउ, मलको पैसा समेत उठ्दैन ।” सहकारीका पुर्व अध्यक्ष पदमराज पौडेलले भन्नुभयो – “मेहेनतको त कुरै नगरौं । किसान सबै मर्कामा छन् ।”

उत्पादित काउली नबिकेर किसानले नष्ट गर्नुपर्दा समेत स्थानिय सरकार मौन बसेको व्यवसायिक किसान तोय बहादुर जिसीले बताउनुभयो । जिसीले किसानलाई राहत दिने निकायले चासो नदेखाएको भन्दै स्थानिय सरकारको महसुस गर्न नसकेको बताउनुभयो ।


तरकारी बेचेरै छोराछोरीलाई डाक्टर, ईन्जीनियर, चार्टड एकाउण्टेन्ट तथा महङ्गो खर्च लाग्ने अन्य विभिन्न प्राविधिक विषय पढाउने यहाँका किसान अहिले तरकारी नविक्दा समस्यामा परेका छन् ।