माथागढी गाउँपालिकाले प्रथम चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । गाउँपालिकाद्वारा चालु आ.व.२०८२।०८३ को प्रथम चौमासिकमा प्रवाह भएको सार्वजनिक सेवा तथा विकास निर्माणको प्रभावकारिताका विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
सञ्चार मञ्च पाल्पाको सहजीकरण र माथागढी गाउँपालिकाको आयोजनामा वडा नं. ३ सराई वडा कार्यालयमा भएको कार्यक्रममा सहभागीहरूबाट आएका प्रश्नहरूको जवाफ सम्बन्धित शाखाका प्रमुखहरू, प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठ, गाउँपालिकाका उपाध्यक्ष विष्णुमाया लुङ्चे र गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले दिनुभएको थियो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले साउनदेखि कार्तिकसम्मको कामकारवाही, उपलब्धि र आगामी योजनाहरूको स्पष्ट प्रस्तुती राख्दै नागरिकबाट प्राप्त सुझाव र गुनासोलाई आत्मसाथ गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले गाउँपालिकामा जम्मा भएको राजस्व संकलन, पञ्जिकरणका कामहरू, वडातहमा योजना सम्झौता, सामाजिक सुरक्षा भत्ता वितरण, वित्तीय प्रगति, शिक्षा, स्वास्थ्य, कृषि, पशु लगायत शाखाका कामहरू, चौमासिक अवधिमा अन्य विभिन्न शाखाबाट भएका कार्यप्रगति, गाउँ कार्यपालिका बैठक लगायतका कामहरूका बारेमा प्रस्तुतीकरणसहित जानकारी दिनुभएको थियो ।
सार्वजनिक सुनुवाइमा उपस्थित नागरिक, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले पालिकाको बजेट तथा सेवा प्रवाहका विषयमा प्रश्न गरेका थिए । स्थानीयबासी, विभिन्न क्षेत्रका सरोकारवालाहरूसहितका सहभागीहरूले गाउँपालिकाभित्र मृग, बँदेल, बाँदल लगायतका वन्यजन्तु नियन्त्रणको उपयुक्त उपाय खोज्न, कृषि र स्वास्थ्यका क्षेत्रमा बजेट बढाउन, अनुदानमा हुने दोहोरोपना हटाउन, वडातहसम्म पुग्ने सडकको स्तर उन्नती गर्न, खेलकूदलाई प्राथमिकतामा राख्न, बजेटमा मितव्ययिता अपनाउन, आन्तरिक लेखा परीक्षणलाई व्यवस्थित गर्न, रोजगार, स्वास्थ्य, शिक्षा लगायतका कार्यक्रममा भैरहेका राम्रा पक्ष समावेश गर्न र योजना तथा कार्यक्रममा सुधार गर्नुपर्ने विषयमा सुझाव दिनुभएको थियो ।
गाउँपालिकाले वडातहमा सञ्चालन हुने स्काभेटर सञ्चालनमा मूल्य एकरुपकता कायम गर्न नसकेको, गोष्ठी सेमीनारलाई उपलब्धिमूलक बनाउन नसकेको, संघ प्रदेशका योजनाहरूमा आवश्यक अनुगमन हुन नसकेको, सडक, खानोपानीका योजनामा सुधारमा ध्यान पुग्न नसेकेको, सूचनाको हकको प्रयोग हुँदा समेत आवश्यक सूचना उपलब्ध हुन नसकेको, शिक्षा र सहकारीमा अनुगमन र निगरानी कमी भएको, योजनाहरूमा बजेटसहित खर्च सार्वजनिक आवश्यक मात्रामा नभएको भन्ने गुनासो र प्रश्न राख्नुभएको थियो ।
सहभागीहरूबाट उठेका विषयमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठ, उपाध्यक्ष विष्णुमाया लुङ्चे, अध्यक्ष यमबहादुर चिदीले जवाफ दिनुभएको थियो । स्थानीय सरकार जनताको नजिकको सरकार भएकाले नजिकको सरहकारसँग अपेक्षा हुनु स्वभाविक भएका भन्दै गाउँपालिकाले आवश्यकतालाई प्राथमिकता निर्धारण गरेर पालिकाको स्रोत अनुसार कार्यक्रम गर्दै आएको गाउँपालिका उपाध्यक्ष विष्णुमाया लुङ्चेले बताउनुभयो ।
गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले नागरिकलाई स्वास्थ्य शिक्षा र खेलकूदका कार्यक्रममा प्राथमिकतामा राखेर सेवा प्रदान गरिएको । नागरिकको अपेक्षा अनुसार गुणस्तरीय सेवा प्रवाहको लागि गाउँपालिका प्रतिबद्ध रहेको भन्दै नागरिकका सुझावका आधारमा थप प्रभावकारी सेवा प्रवाहमा गाउँपालिका परिवार निरन्तर लाग्ने बताउनुभयो । अध्यक्ष चिदीले स्थानीय कृषि उपजको बजारीकरण, कृषिमा प्राथमिकता र खेलकुद तथा शिक्षामा गाउँपालिले प्राथमिकतामा राखेर काम अगाडि बढाएको बताउनुभयो । कार्यक्रममा पत्रकार विजय बौडेलले फिल्ड सर्वेक्षण, वहिर्गमन सेवाग्राहीको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा जिल्लाका विभिन्न सञ्चार माध्यममा आवद्द सञ्चारकर्मीहरुको समेत सहभागिता रहेको थियो । गाउँपालिकाले वडातहमा पुगेर घुम्ति सार्वजनिक सुनुवाई सम्पन्न गर्दै आएको छ ।
Home Uncategorized






