रम्भाले स्थापना गर्यो ५० शैयाको क्वारेन्टाईन

विजयकुमार बौडेल –
चैत १२ – रम्भा गाउँपालिकाले विश्वभर फैलिएको कोभिड १९ बाट बँच्न तयारी स्वरुप ५० जना क्षमताको क्वारेन्टाईन स्थापना गरेको छ ।

गाउँपालिकाले फैलँदै गएको कोरोना भाईरसको संक्रमण बाट संभावित व्यक्तिहरुको उपचार र निगरानीका लागी ५० जना क्षमताको क्वारेन्टाईन स्थापना गरेको हो । गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भण्डारीले क्वारेन्टाईनमा २५ जना महिला र २५ जना पुरुषका लागी छुट्टाछुट्टै कोठामा व्यवस्थापन गर्नेगरि क्वारेन्टाईन स्थापना गरेको बताउनुभयो ।

“हामीले ५० जनाको लागी दाल, चामल, तेल, चिनी लगाएत आवश्यक सबै सामग्री सहित पकाउने, खुवाउने र बास बसाल्ने व्यवस्थापन गरेका छौं ।” अध्यक्ष भण्डारीले भन्नुभयो । “रम्भा गाउँपालिका वडा नं. ५ ताहुँको रम्भा माविको भवनमा क्वारेन्टाईन स्थापना गरि संभावित संक्रमण भएकोहरुको लागी निगरानी गर्ने व्यवस्था गरेका छौं ।”


विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस बाट नागरिकलाई बँचाउन रम्भा गाउँपालिका गम्भिर भएर लागेको र विदेशबाट आउने नागरिकहरुको लगत संकलन कार्य अन्तिम अवसथामा पुगेको अध्यक्ष भण्डारीको भनाई छ । गाउँपालिकाका अध्यक्ष उपाध्यक्षसहितको टोली वडा वडामा पुगेर माक्स, सेनिटाइजर, ग्लोप्स, एप्रोन र औषधीहरु स्वास्थ्य चौकीलाई बितरण गरेको छ ।

रम्भा गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष खुमाकान्त बस्यालले क्वारेन्टाईन स्थापनाको लागी जनप्रतिनिधी, स्वास्थ्यकर्मी तथा सामाजिक संघसंस्था लगाएत सबैको सहयोग प्राप्त भएको बताउनुभयो । वडाध्यक्ष बस्यालले कोरोना भाईरस संक्रमणको सामान्य लक्षण देखिने वित्तिकै रोग नलुकाई क्वारेन्टाईनमा सम्पर्क गर्न सबै नागरिकहरुलाई अनुरोध गर्नुभयो ।


रम्भा गाउँपालिका स्वास्थ्य साखा संयोजक शिव अर्यालले १ जना डाक्टर, १ जना स्टाफ नर्स सहित १५ जना स्वास्थ्य कर्मी क्वारेन्टाईनमा रेखदेखको लागी तयारी अवस्थामा रहेको बताउनुभयो । संयोजक अर्यालले सबै नागरिकहरुलाई सचेत र सतर्क रहन अनुरोध गर्दै हल्लाको पछी नलाग्न सुझाव दिनुभयो ।

रम्भा गाउँपालिकाले ७० जना पोषण सहयोगी सहजकर्ता र ४६ जना स्वास्थ्य स्वयम्सेविकालाई परिचालन गरि घरघरमा गई कोरोना भाईरस संक्रमणको लक्षण र यसबाट बँच्ने उपायका बारेमा सचेत गराएको जनाएको छ ।

फाेटाे : गुगल