रेडियो मदनपोखराका सबै कर्मचारीको कोरोना बिमा

विजयकुमार बौडेल – 

जेठ १५ – सामुदायिक रेडियो मदनपोखराले संस्थामा कार्यरत पुर्णकालिन पत्रकार र कर्मचारीहरुको कोभिड–१९ बिमा गरेको छ ।

कोरोना भाईरस संक्रमणको बेला जोखिम मोलेर काम गरिरहेका सारेममा कार्यरत सबै पुर्णकालिन पत्रकार र कर्मचारीहरुको कोरोना विमा गरेको हो । कोरोना भाईरसको जोखिमलाई मध्यनजर गर्दै संस्थामा कार्यरत सबैको एक लाख रुपैंया बराबरको बिमा गरिएको स्टेशन प्रबन्धक राजेशकुमार अर्यालले जानकारी दिनुभयो ।

रेडियो मदनपोखरामा कार्यरत पुर्णकालिन पत्रकार र कर्मचारिले कोरोना भाईरस (कोभिड–१९) पुष्टि भएमा एक लाख रुपैंया प्राप्त गर्नेछन् । बिमाले कोरोना भाईरस संक्रमणको जोखिममा काम गरिरहेका पत्रकार तथा कर्मचारीहरुको मनोबल उच्च बनाउने र कसैलाई कोरोना भाईरस संक्रमण देखिएमा उपचार तथा जोखिम व्यवस्थापन गर्न सहयोग पुग्ने अपेक्षाले बिमा गरिएको सञ्चालक समितिले जनाएको छ ।

देशका विभिन्न सञ्चारमाध्यममा काम गर्ने पत्रकारहरुलाई कोरोना संक्रमण पुष्टि भईरहेको बेला सामुदायिक रेडियो मदनपोखराले कर्मचारी र पत्रकारहरुको बिमा गरेकाले सुरक्षित भई काम गर्ने हौसला मिलेको सञ्चारकर्मी मानु हिस्कीले बताउनुभयो ।

यसअघी नेपाल पत्रकार महासंघ पाल्पाले पनी आफ्ना ९५ जना सदस्यहरुको कोरोना विमा गरिसकेको छ ।