सस्तो लोकप्रियता : लकडाउनमा यात्रा गर्न प्रोत्साहित गर्नेहरुको होडबाजी


विजयकुमार बौडेल – 
वैशाख ५ – पाल्पाका विभिन्न स्थानिय तह, व्यक्ति तथा संघसंस्थाहरुले नै लकडाउनको अवज्ञा गर्दै मानिसलाई हिँडडुल गर्न प्रोत्साहित गरिरहेका छन् ।

पाल्पाका विभिन्न स्थानिय तह र जनप्रतिनिधीहरु सहित व्यक्ति र संघसंस्थाहरुले नै बाटोमा हिँडेका यात्रुहरुलाई खानेकुरा र पानी बाँड्दै हिँड्न प्रोत्साहित गरिरहेका छन् । सरकारले जो जहाँ छ, त्यहीँ बस्ने र कोरोना संक्रमणको जोखिम कम गर्ने भन्दै लकडाउन लागु गरेको हो तर स्थानिय तहका जनप्रतिनिधि लगाएत विभिन्न व्यक्ति तथा संघसंस्थाहरु नै चाउचाउ, बिस्कुट र पानी बाँड्दै मानिसलाई आवतजावतको व्यवस्थापनमा जुटेका छन् ।

तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले बुटवल हुँदै पाल्पाको बाटो प्रयोग गरेपनी स्थानिय तहले हिँडडुल गर्न प्रोत्साहित नगरेको बताउनुभयो । “बाटोमा हिँडेर आएकाहरुको दुख देखेर केही व्यक्ति तथा संघसंस्थाहरुले सहयोग गरेको भएपनी नगरपालिकाले यही बसोबास गर्ने मजुर तथा विपन्न परिवारलाई बाहेक अरुलाई खाद्यान्न सहयोग गरेको छैन ।”

प्रमुख शाहीले भन्नुभयो । “हामीले बाटोमा हिँड्नेहरुले दुख पाएको भए जती जना भएपनी यहीँ क्वारेन्टाईनमा राख्ने, खुवाउने बसाल्ने व्यवस्थापन गर्न सक्छौं । विपद्को बेला आवतजावत गर्नुपर्छ भन्ने पक्षमा छैनौं ।”

प्रमुख साहीले आधिकारीक रुपमा नगरपालिकालाई जानकारी नदिई कोही कसैले पनी केही वितरण नगर्न अनुरोध गर्नुभयो । बाटोमा गरिएका विभिन्न व्यवस्थापनहरुले यात्रा गर्ने व्यक्तिहरुलाई थप हौसला मिलिरहेको छ । स्थानिय तहहरुले योजना बनाएर यात्रुहरुलाई हिँडडुल गर्न राक लगाई उनीहरुलाई व्यवस्थापन गर्ने विषयमा कमजोर देखिएका छन् ।

राजमार्गका धेरैजसो स्थानमा व्यक्ति तथा संघसंस्थाहरुले क्याम्प स्थापना गरेरै बाटोमा हिँड्ने यात्रुहरुलाई खान, खाजा, पानीलगाएतका खाद्यान्न वितरण गरेका छन् । यसले बाटोमा हिँड्ने यात्रुहरुलाई हिँड्न थप प्रोत्साहन मिल्ने र कोरोना संक्रमण जोखिम बढ्ने सरोकारवालाहरु बताउँछन् ।

प्रदेश ५ सरकारले बाटोमा यात्रा नगर्न र प्रदेश ५ क्षेत्रभित्र जुनसुकै क्षेत्रबाट आएकाहरुलाई त्यहीँको स्थानिय तहको क्वारेन्टाईनमा व्यवस्थापन गर्न स्थानिय तहहरुलाई अनुरोध गरेको छ । तर स्थानिय तह र जनप्रतिनिधिहरु भने सस्तो लोकप्रियताका लागी चाउचाउ र पानी बाँड्ने, सम्बन्धित स्थान सम्म पुग्न सहजिकरण गर्न लागीपरेका छन् ।

यसै समयमा प्रशासनले पनी लकडाउनको नियम लागु गर्ने क्रममा नागरिकहरुको हिँडडुललाई सामान्य ठानेर पक्राउ र कारबाही प्रक्रिया अघि बढाएको छैन । कोरोना भाईरस मानिसबाट अत्यन्तै छिटो सर्ने भएपनी प्रशासनले मानिसको आवतजावतलाई वेवास्ता र यातायातका साधन रोकलाई बढी कडाई गरेको छ ।

लकडाउनमा मजदुर तथा दैनिक ज्यालादारी गरेर खानेहरुलाई अप्ठेरो परेर घर जानुपर्ने बाध्यता छ । यो बेलामा स्थानिय तहहरुले सही रुपमा व्यवस्थापन गर्न सकिरहेका छैनन् । उनीहरुलाई जहाँ छन्, त्यहीँ खान र बस्नको व्यवस्थापन गर्न स्थानिय तहहरु गम्भिर नभए गरेर कोरोना संक्रमणको जोखिम कम गर्न गरेका अन्य कामहरु व्यर्थ जाने पक्का छ ।