हार्थोक बतासे सडक चौडा हुँदा स्थानिय उत्साहित

विजयकुमार बौडेल –

बोली । २३ बैसाख – रिब्दीकोट गाउँपालिकाको हार्थोक देखी बतासे मैदिया सम्म ८ मिटर बाटो फराक्ने कार्य सुरु भएपछी उपभोक्ताहरु उत्साहित भएका छन् ।

सांसदलाई विकास निर्माणको बजेट छुट्याउन हुन्न, सांसद विकासको रकम सदुपयोग नभई कार्यकर्तालाई बाँडिन्छ, सांसदले विकासको बजेट चलाउने नभई नितिगत काम मात्र गर्ने हो जस्ता कुरा विभिन्न सरोकारवालाहरुले गर्दै आईरहेको सुनिन्छ । तर यती बेला पाल्पा क्षेत्र नं. २ का सांसद सोम प्रसाद पाण्डेयले निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम अन्र्तगत हार्थोक छहरा सडक फराक्न छुट्याएको बजेटको यतीबेला चौतर्फी प्रशंसा भईरहेको छ ।

निर्वाचन क्षेत्र पुर्वाधार विकास अन्र्तगतको ५० लाख रुपैंया बजेटले पहिले साँघुरो र अप्ठेरोे भएको बाटोलाई गाउँपालिकाले ८ मिटर चौडा गर्ने निर्णय गरेपछी सरोकारवाला उपभोक्ताहरु उत्साहित भएका हुन् । बाटो साँघुरो भएकाले सवारी चलाउन अत्याधिक जोखिम हुने गरेको पालुङमैनादीका चालक गणेश ठडराईले बताउनुभयो । “साँघुरा घुम्टीहरुले कयौं पटक ससाना दुर्घटना भएको छ ।” चालक ठडराईले भन्नुभयो :–“गाउँपालिकाले बाटो फराक्ने निर्णय गरेर दुर्घटनाबाट अकालमा हुने जनताको जिउधन जोगाउने दिर्घकालिन निर्णय गरेको छ ।”

गाउँपालिकाले ८ मिटर बाटो फराक्ने निर्णय गरेपछी उपभोक्ता मार्फत बर्खा नलाग्दै काम सक्ने लक्ष्य सहित काम भईरहेको रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसीले बताउनुभयो । “८ मिटर बाटो चौडा बनाउने विषयमा कुनैपनी ठाउँबाट विरोध आएको छैन ।” अध्यक्ष जिसीले भन्नुभयो :– “बाटो चौडा गर्ने कुरा सुनेर सबै उपभोक्ता खुसी भएका छन् । सबैले आफ्नै लागी हो भनेर अपनत्वको महसुस गरेका छन् ।”

हार्थोक देखी बतासे मैदिया सम्म विभिन्न ७ ठाउँबाट बाटो फराक्ने काम भईरहेको छ । गाउँपालिकाले नागरिकहरुको सहमती र सहभागितामा ९ किलोमिटर बाटो फराक्ने कार्य गरिरहेको छ । ३ मिटर ७५ सेन्टिमिटर मात्र चौडाई भएको यो बाटो ट्राफिक चाप थेग्न सक्ने अवस्थामा थिएन ।

संघिय सांसद सोम प्रसाद पाण्डेयले साँघुरो बाटोको कारणले अत्याधिक दुर्घटना हुने बाटोलाई दिर्घकालिन सोंचका साथ पर्यटनको विकास गर्ने उद्देश्यले बाटो फराक्ने योजना अघी सारिएको बताउनुभयो । “बाटो फराक्ने काम अव १५ दिनभित्रै सक्ने लक्ष्य रहेको छ ।” सांसद पाण्डेयले भन्नुभयो :– “दिर्घकालिन रुपमा यो बाटो धेरै व्यस्त सडक हुने भएकाले अहिल्यैदेखी योजना बनाएर फराक्ने कार्य गरिएको हो । नागरिकहरुको साथले विकास निर्माणको काममा थप हौसला मिलेको छ ।”

संघिय सांसद सोम प्रसाद पाण्डेय

पुर्व सांसद यादव बहादुर रायमाझिले हार्थोक छहरा सडक २०२४ सालमा जनश्रमदानबाट सुरु गरिएको बताउनुभयो । रायमाझीले पछी स्विस जर्मन सहयोगबाट हरित सडकको रुपमा विस्तार गरिएको र अहिले त्यसलाई आवश्यकता अनुसार विस्तार गरिएको बताउनुभयो ।

पालुङ्मैनादीका भिम बहादुर सार्कीले बाटो फराक्ने निर्णय लगत्तै सुरु भएको कामले रिब्दीकोट गाउँपालिकाको विकास तिब्र गतिमा हुने छनक देखिएको बताउनुभयो । “बाटो साँघुरो भएकाले घर छेंउ बालबालिका खेलिरहेको बेला गाडिले दुर्घटना गर्ने जोखिम उच्च हुन्थ्यो ।” सार्कीले भन्नुभयो :–“हाम्रो अलीकती जग्गा जाँदा बाटो चौडा हुन्छ, दुर्घटनाको जोखिम घट्छ, हाम्रै क्षेत्रको विकास हुन्छ, पर्यटनको विकास हुन्छ भने किन नगर्ने ?”

बाटो चौडा गर्ने गाउँपालिकाको निर्णय नागरिककै हितमा भएको भन्दै आवश्यक सहयोग रहने स्थानियवासीले बताएका छन् । स्थानिय तहको विकास निर्माण सम्बन्धि सकारात्मक कदमलाई समर्थन गर्दै उपभोक्ताहरु आफ्नो लालपुर्जा नै काटेर दिन तयार भएका छन् । पश्चिम रोल्पा सम्म जाने मध्य भागको बाटो हार्थोक छहरा पर्ने भएकाले पनी यो बाटोलाई महत्वका साथ हेरिएको छ ।