क्यान्सर पिडित जुमादेवीलाई पाल्पा सार्की परिवारको आर्थिक सहयोग

पाल्पा – 
२ भाद्र – क्यान्सर पिडित ईस्मा गाउँपालिका वडा नं. २ गुल्मीकी जुमादेवी नेपालीलाई पाल्पा सार्की परिवारले आर्थिक सहयोग गरेको छ ।

दुई वर्ष अगाडि स्तन क्यान्सर र अहिले पुनः क्यान्सरले सिकिस्त हुनुभएकी नेपालीलाई पाल्पा सार्की परिवारले आर्थिक सहयोग गरेको हो । जुमादेवी रोगले थला पर्दा उहाँका श्रीमान धानबहादुर नेपाली उपचारका निम्ति भौंतारिनुभएको छ । लाखौं रुपैंया खर्च भएपनी अझै रोग निको हुन नसकेको परिवारले बताएको छ ।

भारतको एसियन हस्पिटलमा उपचाररत आमाको उपचारका निम्ति छोरी भावना नेपालीले सबैसँग सहयोगको अपिल गर्नुभएको छ । नेपालीले घरको अवस्था झन् झन् बिग्रँदो भएको भन्दै आमालाई सबैले आफ्नै आमा सम्झिएर बचाइदिन अनुरोध गर्नुभयो ।

पाल्पा सार्की परिवारले जुमादेवीको उपचारका लागी १८ हजार ३ सय ४५ रुपैंया सहयोग गरेको हो । परिवारका सल्लाहकार विजय बौडेलले छोरी अस्मिता नेपालीलाई सहयोग रकम हस्तान्तरण गर्दै विरामीको स्वास्थ्यलाभको कामना गर्नुभयो ।

सानो पहाडको घर, चार सन्तानको ठुलो जिम्मेवारी, किसानी पेसाले सन्तानको पढाइ लेखाइ । नेपालीको परिवारले संघर्षको बाटोमा आफ्ना अनेक पीडा लुकाएरै घर चलाइरहेको भन्दै पाल्पा सार्की परिवारकी सल्लाहकार जमुना हिताङले एकपछि अर्को गर्दै लगातार आएको दुःखले उहाँको परिवारलाई निकै अप्ठ्यारो परेको बताउनुभयो ।

१५ देखी १६ लाख रुपैंयासम्म लाग्ने बताइएको उपचार खर्च जुटाउन नसक्दा जुमादेवीको जीवन नै यतिबेला सङ्कटमा छ । थोरै थोरै रकम भएपनी दुखमा परेको परिवारको घाउमा मल्हम लगाउने प्रयास गरेको पाल्पा सार्की परिवारका अध्यक्ष गोपाल हिताङले बताउनुभयो ।