
चैत्र ९ – रिब्दीकोट गाउँपालिकाले आफु मातहतका सबै कार्यालयहरुलाई विद्युतिय हाजिरी बन्द गर्न निर्देशन दिएको छ ।
गाउँपालिकाले विश्वभर फैलिएको कोरोना भाईरस कोभिड १९ को सम्भावित संक्रमण बाट बँच्न मातहतका कार्यालयहरुलाई निर्देशन दिएको हो । गाउँपालिकाले अर्को सुचना नभएसम्मको लागी गाउँपालिकाको कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्था मातहतका कर्मचारीहरुलाई विद्युतिय हाजिरी नगर्न नगराउन सुचित गरेको हो ।
गाउँपालिका प्रमुख प्रसासकिय अधिकृत ऋषिराम अर्जेलले रिब्दीकोट गाउँपालिकाले कोरोना भाईरस बाट बँच्न अपनाउनुपर्ने सबै सतर्कताहरुलाई गम्भिर रुपमा लिएको बताउनुभयो । प्रमुख अर्जेलले सरसफाई सचेतना, माक्स वितरण, हेल्थ डेस्क स्थापना लगाएतका सुरक्षा अपनाईएको बताउनुभयो ।
गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसीले कोरोनाको संक्रमण बाट बँच्न र उच्च सतर्कता अपनाउन सम्पुर्ण सरोकारवाला मातहतलाई निर्देशन दिएको बताउनुभयो । अध्यक्ष जिसीले सतर्कता अपनाउन गाउँपालिकाले कुनै कसर बाँकी नराखेको बताउनुभयो ।
रिब्दीकोट गाउँपालिकाले यसअघी पनी विभिन्न सचेतना, निशुल्क माक्स वितरण, हेल्थ डेस्क स्थापना लगाएतका कार्यक्रम गरिसकेको छ ।