पाल्पा । पाल्पा अस्पतालले काेराेना संक्रमितकाे उपचारका निम्ति अक्सिजनसहितका १५ बेड थप गर्ने भएको छ।
जिल्ला सदरमुकाम तानसेनस्थित सरकारी अस्पतालले कोरोना महामारी फैलिएपछि उपचार सेवा प्रभावकारी बनाउन अक्सिजनयुक्त बेड थप गर्न लागेकाे हो। अस्पताल व्यवस्थापन समितिले तानसेनमा पत्रकार सम्मेलन गरी अध्यक्ष नेत्र पाण्डेले काेराेना संक्रमितकाे उपचार गर्ने सामग्री ल्याउने काम सुरू भएकाे र अक्सिजनकाे सुविधा दिने थप १५ बेड तयार गरिने बताउनुभयाे । अस्पतालमा अहिले ४ वटा आइसोलेसन कक्ष छन्, अबको केही दिनमै थप १५ शय्या निर्माण गरिनेछ।
अबकाे एक हप्तामा सुविधासहितकाे बेड तयार हुन्छन् । अस्पतालमा बेड थपी पाइप लाइनमार्फत अक्सिजनको व्यवस्था मिलाइने छ। ‘जनतालाई सर्वसुलभ र सरल तरिकाले सेवा दिने गरी स्थापना भएको सरकारी अस्पताल हो,’ पाण्डेले भन्नुभयाे, ‘कोरोनाका कारण गम्भीर बिरामी भएकालाई तत्काल केही राहत दिने उद्देश्यले अक्सिजनयुक्त शय्या थप्ने प्रयास गरेका छौं।’
पाल्पा अस्पतालले गत वर्षदेखि कोभिड–१९ परीक्षण प्रयोगशालासमेत संचालनमा ल्याएको छ। तानसेनस्थित काजीपौवामा रहेको प्रयोगशालामा पाल्पासहित छिमेकी जिल्ला स्याङ्जा, गुल्मीका स्वाब परीक्षण हुँदै आएको छ। अस्पतालका प्रमुख डाक्टर जगदीश कुँवरले विशेषज्ञ बोलाएर अक्सिजनयुक्त शय्या निर्माणको लागि स्टिमेट तयार गर्ने काम सम्पन्न भएको बताउनुभयाे।
अस्पतालमा फार्मेसी सेवा संचालनमा रहेको छ। फार्मेसीमा ३०० प्रकारका औषधीको व्यवस्था रहेको छ । अस्पतालबाट कम्तिमा १० प्रतिशत छुटमा यहाँबाट औषधी उपलब्ध गराइन्छ। थाइराइड परीक्षण गर्ने मेसिनसमेत खरिद गरेर ल्याइएकाे छ । डिजिटल एक्सरे र ल्याबको पनि व्यवस्था छ। यस अस्पतालमा ९० जना कर्मचारी छन्। आठ जना मेडिकल अफिसर, दाँत सम्बन्धी काम गर्ने तीन जना र १४ जना स्टाफ नर्स रहेका छन्। आफूहरूको क्षमता अनुसार यहाँ आउने सेवाग्राहीलाई गुणस्तरीय उपचार सेवा दिइने छ।
बिहिबारदेखि पाल्पा अस्पतालमा ओपिडी सेवा बन्द हुने भएको छ। कोरोना महामारी फैलिएपछि यसको नियन्त्रण गर्न ओपिडी सेवा बन्द गर्नु परेको अस्पताल प्रमुख कुँवरले बताउनुभयाे। तर आकस्मिक सेवा भने चौविसै घण्टा चल्ने छ। स्वास्थ्य बीमा भएका बिरामीले यहाँबाट अब रेफर लेटर लिनुपर्ने छैन्। सिधै सम्बन्धित अस्पतालमा पुगेर उपचार सेवा लिन सकिने उनले बताए।