नुवाकोट । प्रतिनिधिसभाका सांसद सोमप्रसाद पाण्डेयले तिनाउ गाउँपालिकाको नुवाकोट काठेगढीमा अंग्रेज नेपाल युद्ध स्मारक पार्कको शिलान्यास गर्नुभएको छ ।
निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमबाट तिनाउ गाउँपालिका २ नुवाकोट काठेगढीमा निर्माण हुन लागेको युद्ध स्मारक पार्कको आज प्रतिनिधिसभाका सांसद सोमप्रसाद पाण्डेयले शिलान्यास गर्नुभएको हो । युद्ध स्मारक पार्कका लागि पाल्पा क्षेत्र नं. २ को निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमबाट १० लाख रुपैंया विनियोजन भएको छ ।
कार्यक्रममा सांसद पाण्डेयले नुवाकोट काठेगढीले नेपालको पुरानो इतिहास बोकेर बसेको छ, यसको संरक्षण र प्रचारप्रसारका लागि युद्ध स्मारक पार्क निर्माण गर्न लागेको बताउनुभयो । उहाँले अंग्रेज साम्राज्यलाई परास्त गरेको त्यो नुवाकाेट जीतगढी युद्ध र यो स्थान राष्ट्रियताको प्रतीक बनेर रहेको छ भन्नुभयो ।
शिलान्यास कार्यक्रममा प्रदेशसभा सदस्य तुलाराम घर्ती मगरले यो पार्कले राष्ट्रिय एकताको प्रतीक बनेको नेपाल अंग्रेज युद्धको झल्को दिने र इतिहासप्रति गौरव गर्ने वातावरण पैदा गर्ने विश्वास व्यक्त गर्नुभयो । नुवाकोट विकास समितिका अध्यक्ष माधव नेपालले वृहत योजना बनाएर युद्ध स्मारक पार्कलाई व्यवस्थित गर्न सके यो लुम्बिनी प्रदेशकै महत्वपूर्ण सम्पदा बन्ने बताउनुभयो । तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले युद्ध स्मारक पार्कले नुवाकोट काठेगढीको महत्वलाई थप उजागर गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रम लक्ष्मण थापाको सञ्चालन र गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीको अध्यक्षतामा चलेको थियो । नुवाकोट काठेगढी र आसपासको वन क्षेत्रमा यो पार्क निर्माण हुनेछ ।