असोज ११ – कृषि तथा पशु उद्यमशिलता विकास परियोजना अन्तरगत सफलताको कथा ‘कर्म’ को विमोचन गरिएको छ ।
तानसेनमा एक कार्यक्रमको आयोजना गरि युवाहरुले कृषि क्षेत्रमा गरेका कार्यप्रगतीको सफलताको कथा समेटिएको ‘कर्म’ को विमोचन गरिएको हो । ग्रामिण आर्थिक विकास संघ रेडाको आयोजना र तानसेन नगरपालिका तथा हेफर प्रोजेक्ट नेपालको सहयोगमा प्रकाशित ‘कर्म’ को विमोचन गरिएको हो । कार्यक्रममा हेफर प्रोजेक्ट नेपालका कार्यक्रम प्रमुख बिष्णु पाण्डेयले युवाहरुले नेपालमै कृषि क्षेत्रमा गरेका सफलताको कथाहरुको संग्रह प्रकाशन गरिएको बताउनुभयो । पाण्डेयले युवाहरुको उद्यमशिलतालाई प्रोत्साहन गर्न यो पुस्तक प्रकाशनले सहयोग पुग्ने समेत बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथी तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले ठुला ठुला संस्थाहरुलाई स्थानीय तहहरुले गरेको सहयोगले नागरिक स्तरमा ठूलो प्रभाव पार्छ भन्ने उदाहरण हेफर प्रोजेक्ट र रेडाले प्रस्तुत गरेको बताउनुभयो । प्रमुख श्रेष्ठले तानसेनको विकासका लागि कृषि र पर्यटनमा काम गरे पर्याप्त हुने र त्यसका लागि पुर्वाधारको तयारी गर्नुपर्ने बताउनुभयो ।
श्रेष्ठले कृषकहरुलाई प्रोत्साहन गरेर उत्पादन बढाउने काम भएपनी उनिहरुको उत्पादन विक्री गर्ने वातावरण सहज नभएको भन्दै त्यसका लागि नगरपालिकाले योजना बनाएर काम गर्ने बताउनुभयो । श्रेष्ठले कृषकका लागि योजना कार्यान्वयन गर्दा सुचना प्रवाह बढाउनुपर्ने र राजनैतिक पुर्वाग्रह राख्न नहुने बताउनुभयो ।
कार्यक्रममा तानसेन नगरपालिकाकी उपप्रमुख प्रतीक्षा गाहा सिंजालीले जिविकोपार्जन मात्र नभएर व्यवसायिक रुपमा अघि बढेका युवाहरुको सफलताको कथा प्रकाशित भएको पुस्तक ‘कर्म’ दस्तावेजकै रुपमा प्रयोग गर्न सकिने खालको भएको बताउनुभयो । उपप्रमुख सिंजालीले नगरपालिका संग सहकार्य गर्ने संस्थाहरुले नागरिकहरुले प्रत्यक्ष महसुस गर्ने गरि काम गर्नुपर्ने भन्दै कृषि क्षेत्रलाई आधुनिकिकरण र बैज्ञानिक प्रविधी संग जोड्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा तानसेन नगरपालिकाका निवर्तमान प्रमुख अशोककुमार शाहीले वैदेशिक रोजगारिबाट फर्केर निराश युवाहरुलाई पुन: उर्जा दिने लक्ष्यका साथ कृषि तथा पशु उद्यमशिलता विकास परियोजना सञ्चालन गरिएको बताउनुभयो । शाहीले ४ सय बढी वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई यो कार्यक्रमले समेटेको भन्दै अझै उत्पादित सामग्रीहरुलाई बजारिकरण गर्ने काम बाँकी रहेको बताउनुभयो । शाहीले नगरपालिकाको सोंचलाई जनता संग जोड्ने काम रेडा र हेफर प्रोजेक्टले गरेको बताउनुभयो ।
कार्यक्रममा तानसेन नगरपालिकाकी निवर्तमान उपप्रमुख लक्ष्मीदेवी पाठकले नगरपालिकाले १४ वटै वडामा कृषि उद्यमशिलताको कार्यक्रम सञ्चालन गरिएको भन्दै कार्यक्रमबाट धेरै युवा तथा महिलाहरु कृषि कर्मबाट आत्मनिर्भर भएको बताउनुभयो । पाठकले १४ वटै वडाको अनुगमन गर्दा कार्यक्रमले धेरै युवाहरुको जिवनस्तर उठेको महसुस गरेको बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष रेखिराम रानाले तानसेन नगरपालिकाले सहयोग गरेको कार्यक्रम भएपनी संस्था अग्रभागमा देखिएको र नगरपालिका ओझेलमा परेको भन्दै तानसेनका जनतामुखी कार्यक्रमलाई प्राथमिकता दिन सुझाव दिनुभयो ।
तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले कोरोना कहरका कारण वैदेशिक रोजगारी गुमाएर बसेका युवाहरुलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याएकोमा धन्यवाद व्यक्त गर्नुभयो । कार्कीले युवाहरुले गरेको सफल कर्मको कथा ‘कर्म’ पुस्तकमा प्रकाशित गर्नु संग्रहणीय भएको बताउनुभयो । कार्यक्रममा ग्रामिण आर्थिक विकास संघ रेडाका कार्यकारी निर्देशक लिला बहादुर कार्कीले नगरपालिका, रेडा र हेफरले युवाहरुलाई कृषि कर्ममा जोड्ने र टिकाईराख्ने संयुक्त अभियान सञ्चालन गरेको बताउनुभयो ।
कार्कीले संस्थालाई सबैको सहयोग र सहकार्य आवश्यक रहेको भन्दै कृषकका समस्यालाई समाधान गर्न स्थानीय तहसंग समन्वय गरेर अघी बढ्ने बताउनुभयो । कार्कीले आफुले गरेका कार्यहरुको संग्रह गरेर सफलताको कथा ‘कर्म’ प्रकाशन हुनु ऐतिहासिक कर्म भएको भन्दै लेखक तथा सहयोगी सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।