सामुदायिक रेडियो मदनपोखरा
spot_img
Home Blog Page 38

तीजको रमझम : सामाजिक एकताको आधार


झपेन्द्र जीसी

चाड पर्वहरू कुनै स्थान, जाति वा लिङ्ग विशेषले शुभारम्भ गरेको भए तापनि ती पर्व संस्कृतिहरू कुनै जातिको, कुनै भाषीको, कुनै धर्मको वा कुनै खास स्थानको घेराभित्र सीमित भएर रहन सक्दैन । पर्व संस्कृतिले संकीर्णताको घेरा तोडेको हुन्छ र सबै जाति, भाषा र मतावलम्बीसँग नाता जोडेको हुन्छ । तिजपर्वलाई आध्यात्मिक आँखाले हेर्दा हिन्दु नारीहरूको पर्व भनिए पनि यो पर्व संस्कृतिले नेपालका आम महिलाहरूलाई मात्र नभई पुरुषहरू समेतलाई प्रभावित तुल्याएको पाइन्छ ।

आध्यात्मिक भावले हिन्दु महिलाहरूमा हरितालिका व्रत बस्ने प्रचलन रहे पनि सांस्कृतिक रूपमा विभिन्न हिन्दुइतर महिलाहरू र पुरुषहरू समेतलाई र हिमाल पहाड तराईमा रहने आधिकांश भाषा धर्मका जाति जनजातिहरूका बिच पनि साझा पर्वको रूप धारण गरेको देखिन्छ । यो पर्व आमनारी जागरणको साझा पर्व बनेको छ । सामाजिक सदभाव वृद्धि र राष्ट्रको समृद्धिको लागि यो जीवन्त र प्रेरणादायी पर्व बनेको छ । विवाहिता चेलीहरू र माइतीका बिचमा दुःखसुख आदान प्रदान गर्ने, पुनर्मिलन र सद्भावको सन्देश दिने काम तिजपर्वले गरि रहेको छ ।

पर्व संस्कृति सामाजिक अग्रगमनका आधार हुन्, इतिहासका सूचना र सन्देश हुन् । संस्कृति सबैभन्दा जेठो र प्रिय हुन्छ, तिजपर्वले पनि हामीलाई यही चिनाएको छ । सामाजिक एकता र राष्ट्रिय एकताको सन्देश नारी जागरण र अन्यायका विरुद्धमा विद्रोहको शङ्खघोष गरेको छ । यसले अन्धविश्वास, असामाजिक र असामायिक प्रचलनका विरुद्धमा विद्रोहको आवाज बुलन्द गर्दै आएको छ । त्यसैले तिजपर्व निष्क्रिय र औपचारिक पर्व मात्र होइन नारी जागरणको एउटा जिउँदो जाग्दो जनसंस्कृति पनि हो । जनसंस्कृतिको अर्थ जनतासितको सुमधुर सम्बन्ध र एकताको अभिव्यक्ति हो ।

नेपाल देशलाई विश्वमा चिनाउने सगरमाथा र बुद्धको जन्मस्थल लुम्बिनी भए झैँ नेपालको अर्काे चिनारी पर्वैपर्वको संस्कृति पनि रहेको छ । यी पर्वपर्वैहरूका माझ अलि छुट्टै विशेषता राख्ने पर्व तिज हो । मूलतः महिला केन्द्रित यस पर्वमा अधिकांश हिन्दुदेखि गैर हिन्दुसम्मका नेपाली महिलाहरूले मिठोचोखो खाने, व्रत उपवास बस्ने र नाचगान गरेर अत्यन्तै हर्षोल्लासका साथ यो पर्व मनाउँछन् । सामान्यतया नाचगान जस्ता कुराले सबैको ध्यानाकर्षण गर्ने भएकाले पनि तिज पर्व संस्कृतिले हिन्दु इतर नेपाली महिला र पुरुषहरू समेतलाई नाच्न, नचाउन र गाउन अनि रमाउनका लागि अवसर प्रदान गरेको देखिन्छ । यस कारणले तिज पर्व नेपालको सबैभन्दा ठुलो र अत्यधिक जनसंख्यालाई प्रभावित गर्न सफल पर्व संस्कृति हो ।


यी सबै क्रियाकलापले तिजी संस्कृतिमा हुँदाहुँदै पनि केही अन्धविश्वास र अवैज्ञानिक धारणाले स्वयं महिला समुदाय हिंसा र दमनमा परिरहेको छ । त्यो भनेको व्रतउपवास विधि प्रक्रियामा रहेका अवैज्ञानिक असामयिक र रुढीग्रस्त विचार दृष्टिकोण नै हुन् । गरुड पुराणको ४६ र ४७ मा उल्लेख गरिएको छ— पत्नीले जिउञ्जेल पतिको सेवा गरोस् र मृत्युपछि पति पतिसँगै सती जाओस् । यस्तो विचार परम्पराले पतिको आयुसँग महिलाको आयु गाँसिने धार्मिक मनोवैज्ञानिक ग्रन्थी निर्माण गरिदिएको छ । त्यसै भएर होला पतिको दीर्घायुको कामना गर्दै महिलाहरू तिज अर्थात् भाद्र शुक्ल द्वितीया दिन व्रत बस्ने गर्छन् । जितिया संगिनी र गौरामा पनि यही विधि अनुसार व्रत बस्दछन् ।

तिजपर्वका सन्दर्भमा केही सकारात्मक पक्षहरू पनि रहेका छन् । तिजको मौलिक पक्ष (भाषालय, स्वर संगीत) लाई संरक्षण र सम्वद्र्धन गर्नुपर्छ भन्ने भावनाको विकास भएको छ । तिजको मौलिक पक्ष संरक्षण गर्न र बदलिँदो परिवेश बमोजिमका विषयवस्तुमा केन्द्रित भएर उद्देश्यमूलक गीत रचना पनि हुँदै गएका छन् । कलाकारहरूको ध्यान तिज संस्कृतिप्रति आकर्षित भइरहेको छ । धेरै विद्वान् शोधकर्ताहरूबाट तिज पर्व संस्कृतिको महत्वमाथि अनुसन्धानको थालनी पनि भइरहेको छ ।

तिज पर्व संस्कृति जति लोकप्रिय र जीवन्त हुँदै गए पनि समस्या र चुनौतीहरू पनि उत्पन्न भएका छन् । नयाँ पुस्ताका महिला समुदायले तीज पर्व संस्कृति अन्तर्गतका लय–भाका, तिजी परम्पराको भाषाशैलीलाई राम्ररी पक्रन नसक्दा गीतहरूको शब्द रचनामा क्लिष्टता, एकै लय भाका र स्वरका गीतहरू मात्र प्रस्तुत भइरहेका छन् । तिजी गीत, संगीत र नृत्यमा छाडापन यौनपरक प्रस्तुतिको प्राधान्य देखापर्दै गइरहेको छ । नयाँ प्रविधिको विकास र उपलब्धता हुँदाहुँदै पनि ती परम्परागत तिज गीत, संगीत, नृत्य कलालाई अभिलेखीकरण र रेकर्ड गर्ने काम खासै भएको छैन । तिज संस्कृतिका पारखी कलाकार हजुरआमा र आमाहरू स्वाभाविक रूपमा बित्दै जाँदा उनीहरूमा रहेको कला सौन्दर्य पक्ष पनि उनीहरूको मृत्युसँगै अतीत हुन पुगेको छ र नयाँ पिढीले ती शब्द रचना पक्ष र भाका र लयको अनुकरण गर्नतिर ध्यान दिइरहेका छैनन् । तिज गीत रचना र गायनमा पुरुष कलाकारहरूबाट हस्तक्षेप हुँदै गएको देखिन्छ अनि तिज गीत र कलामा रत्यौली परम्पराको मिश्रण गरिदिँदा तिज गीत गायनमा मौलिकता हराउने अवस्था देखापरिरहेको छ । आजभोलिका कलाकारहरूले तिज गीतसंगीतलाई व्यवसायिकीकरण गरेर सस्तो लोकप्रियता हासिल गर्ने दौडमा लागिरहेका छन् ।

तिज नेपाली नारीको पर्व हो राष्ट्रिय पर्व हो । पर्वका वेला मिठो चोखो दर खानु, रमाउनु, माइती र छोरी चेलीको बिचमा आत्मीय सद्भाव बृद्धि गर्नु राम्रो कुरो हो । दरको नाममा गरिबका लागि डर सिर्जना हुने गरी तारे होटलतिर दरखानु सामाजिक अपराध पनि हो । तिज पर्व तिज पर्व बन्नुपर्छ अर्थात् चाहेको खोजेको पर्व बन्नुपर्छ । नेपाली सन्दर्भमा चाडपर्व सकिनसकी ऋण काडेर भए पनि मनाउने प्रवृत्ति पाइन्छ । तलेघरेले हात्ती चढ्यो भन्दैमा हात्ती चढ्न खोज्नु, धौलेघरेले ठुली खसी काट्यो भन्दैमा झन् ठुलो खसी काट्नतिर लाग्नुभन्दा पर्व संस्कृतिलाई भड्किलो महँगो बनाउनतिर लाग्नु राम्रो होइन मितव्ययी र जीवनोपयोगी बनाउनु आजको आवश्यकता हो । परम्परागत रूपमा चलेको पर्वलाई नयाँपन दिनु ठिक छ तर यसको सामाजिक–सांस्कृतिक मूल्य, मान्यता र सकारात्मक मौलिकताको जगेर्ना गर्नतिर ध्यान दिनु पनि आवश्यक देखिन्छ ।

प्रहरीले खाने सोमरसको टाईटल स्पोन्सर : मोटे साहु

“नियम, कानुन भन्ने कुरो पनी हुन्छ नी । जे मन लायो त्यही गर्ने ? गलत ठाउँमा पार्किङ गर्ने । खै ? कागजपत्र ल्याउनुस् ।” फ्याट्ट भुँडि लागेका हवल्दार साप कड्किए ।


बिरामी भेट्न स्कुटी सापट मागेर गाको मान्छे कागजपत्रको पत्तै भएनछ, यसैमाथी लाईसेन्स नभाको म । अक्कबक्क परें । सापले बुझीहाले यो मान्छे संग कागजपत्र छैन भन्ने । धेरै अनुभव रैछ, आफ्नो अनुभव फ्याट्ट प्रयोग गरिहाले महामहिमले :– “सुर परे कागज नै छैन होला ?”


मैले नढाँटी भने :– “लाईसेन्स त छैन सर, ब्लुबुक चाँही स्कुटीको डिक्कीमा छ । साथीको मागेर ल्याएको स्कुटी हो ।”
उनले बुझीहाले :– “कुरो मिलाउने हो भने मेरो पछी पछी आउनुस् ।” चावि र हेल्मेट चाँही नजिकैको होटलमा राख्न गए । ब्लुबुक चाहीँ आफ्नै खल्तीमा राखे ।


मलाई थाहा थियो हरेक प्रहरी र चौकीको त्यस्तो ब्रोकर स्थान हुन्छ जसले उनीहरुको घुस कलेक्सन गरिदिएको हुन्छ । त्यसबापत उ प्रहरीको प्यारो त हुन्छ नै । होटल हो भने त अझै गज्जव, राती अवेर सम्म भट्टी चलाउन पाईने, माथीबाट चेकिङ आयो भने पुर्व सुचना पाईने । यो कुरा प्राय सबैलाई थाहा हुन्छ तर बोल्न सक्दैनन् कोही । किनकी प्रहरी भनेको यो देशको कानुन पालना गराउने विना वर्दीका नागरिक हुन् । उनीहरुले जे गर्न पनी पाउँछन् ।


उही हल्सापको पछी लागिरहें, उनी सरासर हस्पिटलको गेट भित्र छिरे । ब्लुबुक दिँदै भने :–“ट्वाईलेटमा जानुस्, त्यसको विचमा पाँच सय रुपैंया राखेर त्यो ब्लुबुक मलाई दिनुस् ।”
मलाई बिरामी भेट्न र घर फर्कन हतार थियो, आफैले आफैलाई अली अली जान्ने बुझ्ने पल्टेको पनी ठान्ने म प्याच्च बोलीहालें :–“रसिद त पाईन्छ नी सर ?”


“रसिद खोज्ने हो भने त प्रक्रिया मिलाउनै एक हप्ता लाग्छ । पठाईदिउँ त चौकी ?” एउटा स्कुटी पनी आफै किन्न नसकेर आएको हेर्दै निमुखा देखिने मेरो अनुहारमा थुकका छिटा उछिट्याउँदै मोटे पुलिस कड्कियो ।


साथीको मागेर आएको, आफ्नै भए त प्रक्रियामै जान हुँदो हो । पाँच सय रुपैंयाको लागी एक हप्ता त कसरी स्कुटी चौकीमा राख्नु भनेर खुरुखुरु ट्वाईलेटमा गएर ब्लुबुकमा पाँच सयको नोट पट्याएर राखें अनी मोटे हल्सापलाई बुझाएँ । उनी फेर त्यो ब्लुबुक लिएर ट्वाईलेट गए, पाँच सयको नोट आफ्नो खल्तीमा जिप्ट्याए, अनी मेरो ब्लुबुक मलाई थमाए ।


म स्कुटी स्टार्ट गरेर हिँड्नै लागेको थिएँ, उता फेरी अर्को मुर्गा फँसिसकेछ । उसलाई पनी हल्साप नियम र कानुन पालना गर्न सिकाउँदै थिए :–“नियम, कानुन भन्ने कुरो पनी हुन्छ नी । जे मन लायो त्यही गर्ने ………………………….।”


अली अवेर भयो भने बाटोमा फेरी अर्को प्रहरीले नियम कानुन सिकाउला भन्ने डरले टाप कसिहालें ।
“घुस लिन्या र दिन्या दुवै यो देशका सत्रु हुन्” भन्ने पृथ्वीनारायण साहको भनाई झ्याप्प सम्झें । घुस दिएकोमा आजबाट थप एउटा सत्रु देशले पायो । तर उनी हल्साप भने यो देशको शत्रु गनिन्नन् है । किनकी उनी त राष्ट्रसेवक पो हुन् त ।


……………………………………………………………………………


एकपटक हतार हतारले सदरमुकाम जाँदै थिएँ । गाउँकै दाईले चलाउने मोटे साहुको एउटा बोलेरोमा तिन जना बसेर आएका रहेछन् । कच्ची बाटो हिँड्नु पर्ने, धुलो बाटो भएकाले ति दाईले पनी टिठाए, आईज बस् बाबु पछाडी भए पनी । पक्की बाटो सम्म छोड्दिन्छु । म खुरुखुरु बोलेरो पिक अप को पछाडी बसें ।


बाटोमा जाँदा जाँदै दुईजना प्रहरी सापहरु भेटिनु भो । सुरु भो उहाँहरुको नियम र कानुनको कुरा ः– “मान्छे बोक्ने गाडि हो यो ? के हो ताल ? खै कागजपत्र ल्याउनुस् ।”


दाईले खुरुखुरु काजगपत्र बुझाए, म धुलो बाटो हिँड्न थाले ।


केही दिनपछी उनै दाई बाटोमा भेट भए, मैले आफ्नै कारणले कागजपत्र पक्रिएको भन्दै सोधें :–“कागज पत्र छुटायौ त दाई ?”


दाह्री मुसार्दै उनी बोले :–“जावो त्यती नी गर्न सकेनन् भने त ति मुलाहरुलाई जाँड खुवाउने मेरो साहुको के काम ?”
पछी थाहा पाएँ, ति दाईको साहुजी संग ति प्रहरीको राम्रो सम्बन्ध रहेछ, राम्रो सम्बन्ध भन्नाले साँझमा प्रहरीले खाने सोमरसको टाईटल स्पोन्सर ।


………………………………………………………………


प्रहरी संग देखेका, भोगेको सुनेका, पढेका धेरै घटनाहरु मेरो मनस्पटलमा उब्जीरहेका हुन्छन्, जुनसुकै बेला । कत्ती पटक त आफै जाँड खाएर मादक पदार्थ सेवन चेकिङमा बसेको देखेको छु । यसरी कानुनको पालना गराउने वर्दीसहितका प्रहरी देखेरै कहिल्यै पनी प्रहरी हुने ईच्छ्या भएन । कहिले काँही त हाँसो पनी लाग्छ, यो प्रहरीहरुको कपडामा धेरै र ठुला ठुला गोजी त्यही घुस खाने ठाँउ धेरै बनाउन होला भन्ने लागेर ।


यसो भनिरहँदा धेरै निष्ठावान प्रहरीहरु पनी होलान्, जसले ईमान्दारिता अझैसम्म नतोडेका होलान । तर जस्को कसम खाएर भन्नु परे पनी म तयार छु, खाने र लुट्ने मानसिकता नभएको पहरी मैले भेटेको छैन । यसमा मलाई निकै नकारात्मक सोंचाई भएको व्यक्ती भन्लान्, तर मलाई यसमा केही गुनासो छैन, किनकी अहिलेसम्म मैले देखेकै छैन त के गरुँ ?


लाईसेन्स नभई स्कुटी चलाउने म जस्ता नियम मिच्नेलाई प्रहरीले नियम अनुसार कारबाही गरोस्, न कि ट्वाईलेटमा लगी लगी पैसा दिएर उम्किने वातावरण आफै सिर्जना नगरोस् । प्रहरीको तलब कम हुन्छ, त्यसैले प्रहरी घुस खान बाध्य हुन्छ । प्रहरी दिनभरी घाम र धुलोमा खटिईरहन्छ अनी तलब पनी अरु कर्मचारी भन्दा कम पाउँछन् । त्यसैले घुस खान बाध्य हुन्छन् ।


ए बाबा । तलब कम लाग्छ भने मेरा बाउले जस्तै हलो जोत न । मेरा छिमेकी काकाले झैं जुत्ता सिलाउ, मेरा दाई झैं घर बनाउने काम गर । तर तलब कम भएको नाममा कहिल्यै पनी नागरिक संग पैसा असुल्ने छुट तिमिलाई छैन ।

मैले अहिले सम्म


* चुनावका बेला चौकी चौकीका प्रतिनिधी प्रहरीलाई बोत्तलका बोत्तल महंगा रक्सी छोड्न राजनैतिक दलक युवा नेता गएको देखेको छु । ति पार्टीका व्यक्तीलाई कस्ले छुने ?


* हरेक सामाग्री बोक्ने बोलेरो पिक अपहरुले प्रत्येक खेपमा सय पचास रुपैंया या जे सामान बोकेका छन् त्यो प्रहरीलाई बुझाउनु पर्छ । ति व्यापारीहरुलाई कुन कानुनले छुने ?


* हरेक होटलवालाहरुले प्रहरीलाई बेलाबेलामा सोमरस र सितन सहित केही दक्षिणा दिएका हुन्छन् । ति होटल सुहुहरुलाई कुन कानुनले छुने ?


* हरेक ठुला जुवाको खालबाट प्रहरीको लागी केही भाग छुट्टिन्छ । ति जुवाडेहरुलाई कुन कानुनले छुन सक्ने ?


* हरेक खानी उद्योगहरुले प्रहरीको लागी बिशेश व्यवस्था गरेका हुन्छन् । ति उद्योगीहरुलाई कुन कानुनले छुन सक्ने ? यसमा साना दर्जाका प्रहरीहरुलाई भाग भने नपरेको हुन सक्छ है ।

यस्ता हजारौं उदाहरणहरु मैले देखेको छु । यो सुधार्न मैले मात्रै पनी सक्दिन । तर सबैले सुधार्ने कोसिस गर्यो भने पक्कै पनी सुध्रिने छ । कानुन पालना गराउन भनेर जागिर खाएका तपाँई प्रहरी साथीहरु एकपटक आफैले नैतिकतामा रहेर काम गर्नुस् ।

तपाईंको तलब कती भनेर सोध्नेले बाही कमाई पनी त हुन्छ होला नी भनेर सोध्ने आाट नगरुन, त्यस्तो छवि बनाउनुस् । आफुभन्दा माथिल्ला प्रहरी, नेता, व्यापारी, कालोबजारी, उद्योगपती, पत्रकार कसैलाई पनी नछाड्नुस् । अनी बेलुकी सुत्दा पनी हरेक दिन आनन्दको सास फेर्नुहुनेछ ।


अनी हरेक आमा बाबुले प्रहरीमा जागिर खुवाउने बेला छोरालाई आफ्नो शिरमा हात राखेर कसम खुवाउनुस् की बरु एक छाक खाउँला तर तेरो घुसको कमाई खान नपरोस् ।

कर विना देश समृद्ध हुन सक्दैन


राजेशकुमार अर्याल

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान र कानुन पूर्ण रुपले नयाँ उपज र नेपाली जनताका नयाँ उपलब्धी हुन् । नयाँ संविधानका व्यवस्थाहरु पूरानो संविधानका निरन्तरता होइनन् । नयाँ कानुनका व्यवस्थाहरु पनि पूरानो कानूनका निरन्तरता होइनन् । संवैधानिक नयाँ व्यवस्थालाई त्यो गहिराईमा पुगेर अध्ययन, विश्लेषण र प्रयोग गर्ने कार्यमा कमी भएको छ । जसले गर्दा हल्लालाई स्थान दिइरहेको छ ।


नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह तीन वटै सरकारलाई कर र शुल्क लगाउने अधिकार दिएको छ । संविधानको अनुसूची ५,६,७ र ९ मा गरी १६ थरि कर र ६ थरि शुल्क लगाउन सक्ने व्यवस्था छ । संघीय संरचना र ढाँचा प्रत्येक नेपालीका लागि नौलो व्यवस्था हो । सर्वसाधारण नागरिक मात्र होइन सरकारी अधिकारीहरु पनि यो नौलो संरचनामा अभ्यस्त हुन सकिरहेका छैनन् । प्रायः स्थानीय तहमा राजश्व वा कर बुझेको कर्मचारी हुँदैनन् । त्यसमाथि कर कानुनको मस्यौदा अर्थ मन्त्रालयबाट नभएर संघीय मामिला मन्त्रालयबाट पठाइयो । स्थानीय तहका कानुन मस्यौदा समिति जिम्मेवार भएर छलफलमा जुटेनन् । कर्मचारीहरु जिम्मेवार भएर करका दर र दायरा तोक्ने कार्यमा संलग्न हुन सकेनन् ।


संघीयता कार्यान्वयनमा गइसकेको छैन, संघीयता सफल असफल भन्ने बेला भइरहेको छैन । संविधानले प्राकृतिक स्रोत र वित्तको बाँडफाँड, कर्मचारी समायोजन र तीन तहका सरकारका बीचमा सहकारी सिद्धान्तका आधारमा सहकार्यमा आधारित कानून निर्माण भएको छैन । नयाँ प्रणाली स्थापित भइसकेको छैन ।


करका सन्दर्भमा उठेका हल्ला एउटा प्रायोजित छ र अर्को विगतका करको निरन्तरता छन् । विगतमा नगरपालिकाले घर बहाल कर २ प्रतिशत लिन्थ्यो । केन्द्रीय सरकारले १० प्रतिशत कर लिन्थ्यो । संविधानले दुई ठाउँबाट कर लिन नपाउने व्यवस्था गरेवमोजिम अहिले स्थानीय तहले १० प्रतिशतभन्दा कर लिएका छन् । घर बहाल कर १२ प्रतिशतबाट घटेर १० प्रतिशतभन्दा तल झरेको छ । यसैगरी खसी बाख्राको सन्दर्भमा पनि भ्रमपूर्ण प्रचार भएको छ । तराई र पहाडका केही भागमा साप्ताहिक हाट बजार परापूर्वकालदेखि चलेको छ । हाटबजार नलाग्ने ठाउँमा यो कर नै छैन । ठाउँ उपलब्ध गराए वापत साप्ताहिक हाटबजारले शुल्क लिने रहेका रहेछन् । संघीयता कार्यान्वय गर्ने विषयसँग जोडेर प्रचार गर्नु आफैमा भ्रमपूर्ण सन्देश हो । पहिले नगरपालिकाहरुले एकीकृत सम्पत्ति कर लगाइरहेका थिए, अहिले त्यो संशोधन गरी सम्पत्ति कर मात्र लगाइरहेको छ । संशोधित कानुनले जनतालाई लाभांवित तुल्याइरहेको छ ।


स्थानीय तहले कर कानुन बनाउनुपर्नेमा आर्थिक ऐन जारी गरेका छन् । सैद्धान्तिक र व्यवहारिक रुपमा नमूना आर्थिक ऐन आफैमा अपर्याप्त र काम चलाउ थियो, जसको विज्ञ र सरोकारवालासँगको परामर्शमा परिस्कृत हुन सक्दथ्यो । करदातासँगको छलफलमा करका दर तय गर्न सकेको भए पनि यतिसारो आलोचना खेप्नु पर्दैनथ्यो । कर मात्र होइन सेवा शुल्कका निर्धारणका सन्दर्भमा पनि कानुन चाहिन्छ । सेवा कानुन नहुने तर सेवा शुल्क तोक्ने काम पनि अलि नमिलेको विषय हो । नागरिकलाई अधिकार र कत्र्तव्य दुबै कानूनद्वारा दिइन्छ । कतिपय कानूनमा नागरिकलाई अनिवार्य काम तोकेको हुन्छ भने कतिपयमा ऐच्छिक रुपमा काम निर्धारित हुन्छ । नवशिशुको जन्म दर्ता गराइदिनुपर्ने बाबु आमाको कानूनी कत्र्तव्य र अधिकार हो ।


स्थानीय तहको विषयमा अधिकारको कुरा गर्दा संघीय र प्रदेश सरकारभन्दा पूर्ण रुपले स्वतन्त्र रहेको व्याख्या गरिएको पाइन्छ । तर संविधानको धारा २३५ को उपधारा (१) ले कुनै स्थानीय तह वा प्रदेशले बनाउने कानूनको सीमा तोक्ने अधिकार संघीय सरकार र संघीय संसदलाई दिइएको छ । अन्तर सरकारी र अन्तरपालिकाका कानूनहरुमा एकरुपता कायम हुन नसक्नुको मुख्य कारण नै स्वतन्त्र छौं भन्ने भावनाले हो । नौलो अभ्यास सुरु गरेका स्थानीय तह आफ्ना कर कर्मचारीलाई उचित तालिम दिने, सक्षम बनाउने काम गर्न सकेका छैनन् । स्थानीय तहमा राजस्व प्रशासन कमजोर छ ।


स्थानीय तहहरुले आर्थिक ऐन २०७४ र आर्थिक ऐन २०७५ अनुसार कर लगाएका छन् । आर्थिक ऐनहरु विद्यमान कानूनी संरचनामा अमिल्दा छन् । संविधानमा कानुन वमोजिम कर लगाइनेछ भन्नुको अर्थ करसम्बन्धी कानुन विना कर लगाउनु कदापी होइन । जहाँजहाँ कानुन वमोजिम भनिएको छ त्यहाँत्यहाँ विषयगत कानून नबनेसम्म त्यो संवैधानिक धारा आकर्षित हुँदैन ।


जनताले सरकारलाई तिर्नपर्ने रकम जसवापत सरकारबाट केही पाउने आस गरिन्न । उक्त रकम जनताको हितमा खर्च गरिन्छ । कर जनताले तिर्नुपर्ने कत्र्तव्य हो भने करको सही उपयोग गर्नु सरकारको दायित्व हो । कुनै सेवा प्रदान गरे वापत लिइने रकम सेवा शुल्क हो । सेवा शुल्क कर कानून जस्तो स्वतन्त्र कानून बनाएर लागू गर्ने विषय होइन ।


करदाताको पहिचान, कर निर्धारणको तरिका, समय, करको बारेमा चित्त नबुझे पूनरावेदन दिने व्यवस्था, कर असुलीको तरिका, जरिमाना र सजायको व्यवस्था हुनुपर्छ । नेपालमा धेरै पेशा व्यवसायीले लामो समय कर नतिरेरै चलेका छन् । घरजग्गाका कारोवारी करको दायरामा आउने कुरा छोडौँ, कारोवार कहीँ देखाउने गरेकै थिएनन् । आम्दानी देखिने काम केही छैन तर धन सम्पत्ति प्रशस्तै जोडेका छन् । सरकारको कुनै निकायले कारोवारमा प्रश्न गर्न सक्दैन मात्र होइन, सरकारका अंगकै पदाधिकारी मिलेर जग्गा कारोवारमा लगानी वा साझेदारी गरेका देखिन्छन् ।


साधारणतया नागरिकले जुन आर्थिक गतिविधिमा कर तिर्छ त्यसले त्यो क्षेत्रको विकासमा स्वामित्व खोज्नु स्वभाविक हुन्छ । जसले कुनै गतिविधिमा कर तिरेको छैन त्यसले अनावश्यक दुष्प्रचार गर्नु उपयुक्त हुँदैन । कुनै बेला रानी ऐश्वर्य (पम्फादेवी) को नाममा स्विजरल्याण्ड वैंकमा पैसा थुपारेको हल्ला थियो । आज पनि नेपालका केही सीमित व्यक्तिले सम्पत्ती लुकाउन विदेशी वैंकमा पैसा राखेका छन् भन्ने समाचार छुटेको छैन । विदेशी भूमी र विदेशी वैंकमा थुपारेको रकम फर्काए मात्र देशमा विकासको लहर सिर्जना हुन्छ भन्ने सुनिएको छ ।


संसारका विकसित भनिने र मानव विकास सूचकांकमा अगाडि रहेका मुलुकहरुमा जसले बढी कमाउँछ उसले बढी कर तिर्छ । जसको कमाई थोरै छ उसले न्यून मात्रामा कर तिर्छ । वार्षिक कमाई स्वघोषणा गरेर कर तिर्ने, कारोवार सबै इ–वैंकिङ गर्दा वैज्ञानिक विधिबाटै कर तिर्ने विधिले ति मूलुकमा कर छलीको समस्या कम हुन पुगेको हो । यद्यपी दैनिक र घण्टा ज्यालादरीमा लुकेर काम गर्नेले पनि डराइडराई जीवनयापन गरिरहेका हुन्छन् ।


कर तिरेवापत सरकारले के गर्छ ? यो प्रश्न हरेक नागरिकको मनमा छ । माध्यमिक तहसम्मको शिक्षा निशुल्क भनेको छ । मासिक शुल्क, पुस्तक, स्टेशनरी, खाजा आदिको प्रबन्ध त्यो करबाटै भएको हो । यद्यपी विद्यालयका सबै सेवा र शुल्क निशुल्क भइसकेका छैनन्, त्यसतर्फ सरकार उन्मुख छ ।


बाख्रा वा भैंसीको निकासीमा रुरु गाउँपालिकाले लगाएको कर, गुल्मी दरबार गाउँपालिकाले पटके सवारी कर, मुसिकोट नगरपालिकाले लिएको सवारी साधन कर आलोचना बढाउने करहरु हुन् । रामपुर नगरपालिका, माथागढी गाउँपालिकाले पूर्वाधार सेवा शुल्कका नाममा लिएको पटके सवारी कर, तानसेन नगरपालिकाले एकीकृत सम्पत्ति करको गातो फालेर उठाएको सम्पत्ति कर, बगनास गाउँपालिकाले अंग्रेजी भाषाको सिफारिशमा लिएको शुल्क पनि बढी भएका हुन् कि भन्ने छ । जनताका यस्ता जिज्ञासा समयमा पूरा गर्न नसक्दा जनआक्रोस थपिन पुगेका हुन् । कर र शुल्कका बारेमा सर्वसाधारणलाई प्रशिक्षित गर्न नसक्नु पनि स्थानीय सरकारका कमजोरी हुन् ।


कतिपय स्थानीय तहले निर्माण गरेका कानून र सरकारले नागरिकसँग असुल गरिरहेको कर र शुल्कका दर हेर्दा पूरानोको निरन्तरता हुन् वा नयाँका व्यवस्था छुट्टयाउन मुश्किल परिरहेको छ । स्थानीय तहमा करको दुष्प्रचार भइरहेको छ भनेर जनप्रतिनिधिहरु आत्तिएको देखिन्छ भने आमसञ्चार माध्यम र सामाजिक सञ्जालमा कर बढी भयो भनेर जनताले विरोध गरिरहेको पाइन्छ । यति जननिर्वाचित पदाधिकारीलाई संकलित करको परिमाणभन्दा नागरिकबाट भएको आलोचना कैयौं गुणा महँगो सावित हुँदैछ ।


सरकार र नागरिक बीच विश्वासको संकट छ । जनताले तिरेको करको एक पैसा पनि दुरुपयोग हुँदैन भन्ने सुनिश्चित गराउन सके कर तिर्न कोही हिच्किचाउँदैनन् । जनताको सेवा गर्छु भनेर भोट मागेको मान्छेले महँगा गाडी, मोवाइल, भत्तामा लागे कि भन्ने चिन्ता भने जनतामा स्वभाविक रुपमा देखिन्छ । दैनिक जीवन निर्वाह भत्ता र आवश्यक साधन मात्र प्रयोग गरेका हुन् भन्ने सन्देश पुगेका दिन सरकारप्रति जनताको विश्वास बढ्छ । कर तिर्न जनता उत्साहित हुन्छन् । करको सदुपयोग भए नभएको जानकारी लिन्छन् । दुरुपयोग भए खबरदारी गर्छन् । संविधान कानुन विपरित लिएको भए संशोधनका लागि अपिल गर्छन् । कर विना देश समृद्ध हुन सक्दैन, जनता पनि खुशी हुन सक्दैनन् ।

पाल्पाका डेढ सय सामुदायिक वनलाई सक्रिय बनाउँछु : अधिकृत पौडेल

पाल्पा, ३ मंसिर । डिभिजन वन कार्यालय पाल्पाले आर्थिक वर्ष २०७५\०७६ मा सञ्चालन हुने कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।

डिभिजन वन कार्यालय पाल्पाले प्रदेश नं. ५ अन्तरगत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत भएका कार्यक्रम, योजना र बजेटको बारेमा जानकारी दिएको हो । डिभिजन वन कार्यालय पाल्पाका प्रमूख मोहन पौडेलले आर्थिक वर्ष २०७५\०७६ मा पाल्पा जिल्लामा ५ करोड, ५८ लाख ५० हजार बराबरको योजना तथा कार्यक्रम प्रदेश मन्त्रालयबाट स्वीकृत भएर कार्यान्वयनका लागि आएको जानकारी दिनुभयो । उहाँले प्रदेश नं. ५ मातहत रहने वन डिभिजन कार्यालयले पाल्पाको पर्यटन, उद्योग, वन र वातावरण क्षेत्रमा काम गर्ने उल्लेख गर्नुभयो ।

पाल्पामा श्रीनगर डबलीका लागि २ करोड, पाल्पा दरबार प्रदेशिक संग्राहलय निर्माणका लागि ५० लाख, प्रदेश स्तरीय उच्च प्रविधियुक्न नर्सरी स्थापनाका लागि ५० लाख बजेट कार्यान्वयनका लागि स्वीकृत भएको छ । यस्तै भैरवस्थान मन्दिरको गुरुयोजना निर्माण, शहिद चुनामाया पार्कको गुरुयोजना निर्माण, एक गाउँ एक पोखरी निर्माण अभियान, तालतलैया तथा सिमसार क्षेत्रको संरक्षण, कवुलियती वन सुधार कार्यक्रम रहेका छन् ।

कार्यालय प्रमूख पौडेलले पर्यटन क्षेत्रको कार्यक्रम र बजेट नौलो विषय भएपनि कार्यान्वयनको तहमा आफूहरु प्रतिबद्ध भएर लाग्ने बताउनुभयो । उहाँले पाल्पामा निष्क्रिय रहेका १५५ वटा सामुदायिक वनको सक्रिय बनाउने, कार्यालयको योजना र बजेट पारदर्शी बनाउने, कागज कारखानालाई अम्रिसोको डाँठ बिक्री गर्ने, खानी क्षेत्रमा भएका विकृति न्युनीकरणमा लाग्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा भू तथा जलाधार व्यवस्थापन कार्यालय पाल्पाका प्रमूख आनन्दराम घिमिरेले २ करोड २ लाख बराबरको कार्यक्रम तथा बजेट प्रदेश मन्त्रालयबाट स्वीकृत भएको जानकारी दिनुभयो । उहाँले आकस्मिक पहिरो व्यवस्थापन तथा नदी खोला नियन्त्रण, ग्रामीण सडक भूसंरक्षण कार्यक्रम, नदाी खोला नियन्त्रण कार्यक्रम, संबेदनशील शहरी जलाधार क्षेत्र संरक्षण कार्यक्रमका लागि बजेट विनियोजन भएको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेशकुमार अर्यालले पाल्पाको पर्यटन क्षेत्रका लागि आएको बजेट तथा कार्यक्रम पाल्पाली जनताको चाहनासँग जोडिएकाले त्यसलाई समयमै कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले खानी उत्खननले राज्यका लागि फाइदा भए पनि खानी सञ्चालनबाट सामाजिक र वातावरणीय समस्या निम्तन नदिने सचेत रहनुपर्ने बताउनुभयो । कार्यक्रममा सहायक वन अधिकृत अतिउल्लाह खाँले वन कार्यालयले गरेका काम तथा आगामी दिनमा गर्ने कार्यक्रमका बारेमा प्रस्तुती गर्नुभएको थियो ।

लुम्बिनीमा ५ हजार मानिस अट्ने हल निर्माण गरिने

पुनहरि बेल्बासे- रुपन्देही– लुम्बिनी विकास कोषले लुम्बिनीमा ५ हजार मानिस हट्ने हल निर्माण गर्ने तयारी गरेको छ । 

महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा अहिलेसम्म औपचारिक कार्यक्रम गर्ने हल नभएपछि कोषले आफ्नै हल निर्माणको तयारी गरेको हो ।

आगामी बैशाख १७ गते २५६२ औं बुद्धजयन्ति समारोह तथा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनका अवसरमा हलको शिलन्यास गरिने लुम्बिनी विकास कोषले जनाएको छ । हल निर्माणको जिम्मा नेपाली सेनालाई दिने तयारी भएकोे छ ।

विश्व सम्पदासूचिमा सूचिकृत लुम्बिनीमा विभिन्न देशका गुम्बाहरुले गेष्टहाउस सहितका हल निर्माण गरेपनि कोषको हल नभएको भन्दै आलोचना हुदै आएको  थियो ।

कोषसँग हल नहुँदा खुला स्थानमा कार्यक्रम गर्नुपर्ने र घाम, पानी तथा शीतलहरले समस्या हुँदै आएको थियो । 

लुम्बिनी विकास कोषका योजना प्रमुख इन्जिनियर सरोज भट्टराईले लुम्बिनीमा एकै पटक ५ हजार जनासँग चल्ने वाइफाई फ्रि गर्ने तयारी रहेको भन्दै लुम्बिनीसँगै कपिलवस्तुमा उत्खनन, देवदहमा सूचना क्षेत्र र रामग्राममा जग्गा अधिकरणको काम पनि भइरहेको बताए ।

यसैवीच अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन अप्रील २८, २९ र ३० गरी ३ दिनसम्म हुनेछ ।

सो कार्यक्रममा २६ राष्ट्रका बौद्धमार्गिहरुले सहयागिता जनाउने लुम्बिनी विकास कोषका उपाध्यक्ष भन्ते भिक्षु अबधेश कुमार त्रिपाठीले जानकारी दिए ।

त्यस्तै प्रदेश नं. ५ का वातावरण, वन तथा पर्यटनमन्त्री लिला गिरीले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन लुम्बिनीमा हुँदा विश्वमा सकरात्मक सन्देश जाने भन्दै विगतमा लुम्बिनी विकास कोषमा भएका कमिकमजोरीलाई प्रदेश सरकारले परिष्कृत गर्दै लैजाने र केन्द्र सरकारले सार्क राष्ट्रका पर्यटकलाई फ्रि भिसाको व्यवस्था गरेपनि प्रदेश सरकारले लुम्बिनी भ्रमण गर्न आउने पर्यटकलाई थोरै कर लगाउने बताए ।

थ्रेसरको सहयोगमा दाइँ गर्दै माडीका किसानहरु

बोली । कार्तिक २८ – पाल्पा जिल्लामा परम्परागत प्रविधिको सट्टा आधुनिक उपकरण र प्रविधिले किसानलाई खेतीपातीमा सुविधा दिन थालेका छन् ।


हिउँदे बाली भित्र्याउने मुख्य माँचो हुने मंसिर नलाग्दै किसानहरुले थ्रेसर र ट्याक्टरको प्रयोग गरेर धान पराल घर ल्याइरहेका छन् । माडीफाँटको आधाभन्दा धेरै खेतको धान पराल किसानहरुले स्याहारिसकेका छन् । धान काट्ने, पाँजो लाउने, बिटा उठाउने, दाइँ गर्ने र धान पराल बोक्ने काममा महिनौं दिन लगाउने किसानहरु अहिले २\४ दिनको अन्तरालमै खेती स्याहार्ने गरेका छन् ।


धान काट्ने पाँजा लगाउने एकदिन, बिटा बाँध्ने, धान झार्ने र खरै लगाउने एक दिन र दाइँ गर्ने एक दिन गरी ३\४ दिन लगाउनुपर्ने काम थ्रेसरले एकै दिनमा झारेको छ । धान पराल बोक्ने काम ट्याक्टरले लिएकाले किसानको श्रम, समय र पैसा बचत भएको छ । ८\१० जना खेतालाको दिनभरको मेलो थ्रेसरले एकै घण्टामा सक्दिने भएकाले पनि धेरैले थ्रेसरबाट धान झाँट्ने गर्न थालेको तानसेन ९ का कृषक लीलाप्रसाद बस्यालले बताउनुभयो । आधुनिक प्रविधिका कारण कम जनशक्तिले पनि खेती गर्न सकिने र थोरै समयमा धेरै काम लिन सकिने स्थिति भएको उहाँको भनाई छ ।


दमकडा, सराई, टिन्टीआँप, कुन्सरे, दोहोरा, लालपाटी, बुढीकोट, पिप्ले टोलैपिच्छे ट्याक्टर र थ्रेसर पाइन थालेपछि किसानहरुलाई धेरैनै सुविधा भएको छ । माडीफाँटमा रहेका करिव १० वटा थ्रेसरले दाइँ गरेको दृष्य हेर्नलायक हुने गरेको छ । डबल फिल्टरवाला थ्रेसरले धान ओसाउनै नपर्ने, पराल तान्न र सोहर्न नपर्ने हुँदा पनि आफूहरुलाई काम भ्याइनभ्याई भएको थ्रेसर सञ्चालक विष्णु पाण्डेय सटुकेलीले बताउनुभयो । एउटा थ्रेसरले एक घण्टामा ४०\४५ मुरी धान झाँट्ने र पराल माड्ने गर्दछ ।


माडीफाँटको सरम्जालगायतका गैरीखेतहरुको धानपराल स्याहारेर सकिएको छ भने टारी खेतको धान पनि भित्र्याउने लहर चलिरहेको छ । माडीफाँटसँगै रामपुर, अर्गली, हुँगी, कचल, झडेवा, सर्देवा, पूर्वखोला र गल्धा फाँटहरुमा पनि थ्रेसर र ट्याक्टरको प्रयोग गरी धान भित्र्याउने काम भइरहेको छ । मियो गाडेर दाइँ गर्ने परम्परा हट्दै गएको छ । विगतमा फाँटमा घोल्की बनाएर धान पराल कुर्ने र मंसिरभरि धान पराल बोक्ने युग पार गरेकाहरु कृषि प्रविधिले ल्याएको यो सुविधा देखेर छक्क परेका छन् ।

प्रदेश ५ को पहिलो बैठकमा नेताहरुले संबोधन गर्दै

२१ माघ, बुटबल – प्रदेश नम्बर ५ को संसद बैठक बुटवलमा सुरु भएको छ । दिउँसो १ बजेदेखि सुरु भएको संसद बैठकमा अहिले सांसदहरुले बोल्ने क्रम जारी छ । प्रदेश सभाको बैठक बुटवल उद्योग वाणिज्य संघको हलमा सुरु भएको हो । प्रदेशसभाका जेष्ठ सदस्य रुपन्देहीका ७९ वर्षीय बलदेव शर्मा पोखरेलले पहिलो बैठकमा सभामुखको भूमिका निर्वाह गर्नुभएकाे छ । बैठकको सुरुमा सभामुख पोखरेलले प्रदेशसभा आह्वान सम्बन्धी प्रदेश प्रमुख उमाकान्त झाको पत्र पढेर सुनाउनुभएकाे छ ।

यो बैठकमा ६ वटा दल एमाले, कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राजपा र राष्ट्रिय जनमोर्चाका एक एक सदस्यले सम्बोधन गर्दैछन् । एमालेका सांसद शंकर पोखरेलले सम्बोधन गरिसकेका छन् । बाँके, बर्दिया, दाङ, रुकुम पूर्व, रोल्पा, प्युठान, गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी पूर्व र कपिलबस्तु जिल्ला रहेको यस प्रदेशमा प्रत्यक्ष र समानुपातिक पद्धतितर्फबाट गरी ८७ सांसद रहेका छन् ।

यो बैठकमा अन्तरिम प्रदेशसभा सञ्चालन कार्यविधि पास गर्नेलयायत ५ वटा कार्यसूची छ । माघ २८ गतेका लागि सभामुखको निर्वाचन तोक्ने कार्यसूची पनि छ ।

बगनासकालीमा औपचारिक कार्यक्रम गरेरै ढिकी जाँतो स्थापना

बोली । माघ १८ – बगनासकाली गाउँपालिकामा लोप हुन लागेको ढिकी जाँतो औपचारिक कार्यक्रम गरेरै स्थापना गरिएको छ ।


महिला उत्थान समन्वय समिती बराङ्दीले औपचारिक कार्यक्रम गरेरै ढिँकी जाँतो स्थापना गरेको हो । महिला लक्षीत सिपमुलक तालिम समेतको समापन कार्यक्रममा बोल्दै बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले लोप हुने अवस्थामा रहेको ढिकी र जाँतो समाजको मौलीक पहिचान भएको बताउदै मौलीकताको जर्गना हुनु सुखद भएको बताउनुभएको छ ।


गाउँपालीका उपाध्यक्ष सरस्वती चिदी मगरले गाउँपालिकाको अभियान प्रभावकारी रुपमा संचालन गर्ने गरी आयोजित कार्यक्रमले गरिमा बढाउने बताउदै महिला सशक्त बन्दा समाजको स्वरुपमा समेत सकारात्मक परिवर्तन हुने बताउनुभयो । बगनासकाली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले आर्थिक उपार्जन बढाउन स्थानिय श्रोत र साधनको उचित प्रयोग संगै व्यवसायीकता तर्फ लाग्न सके मात्र आर्थिक समृद्धीमा टेवा पुग्ने बताउनुभयो ।


वडा नं. ८ का अध्यक्ष गणेश प्रसाद बस्याल, वडा सदस्य ठानेश्वर बस्याल, पत्रकार दयाराज न्यौपाने, तालिम प्रशिक्षक तुलसा घिमिरे, सहभागी निमा देवी बस्याल, गीता बस्याल लगायतले तालिममा सिकेका सिपलाई व्यवहारमा प्रयोग गर्नुपर्ने बिषयमा जोड दिनुभयो ।
ढिँकी र जाँतो विस्तारै इतिहास बन्न थालेको, ढिकी र जाँतोमा पिसानी गर्दा लामो समयसम्म टिकाउ हुने, स्वादिलो हुने र पौष्टिकयुक्त हुने भएकाले पनि परम्परागत प्रविधिको संरक्षणमा लाग्ने प्रयास गरेको स्थानिय हरीलाल बस्यालले बताउनुभयो ।


सोही अवसरमा २०६० साल देखी व्यवसायीक बाख्रा पालन गरेका बराङ्दीका कमला पाण्डे, साबित्रा बस्याल, राधादेवी भुषाल र पुर्णकला बस्याल गरी ४ जनालाई सम्मान पत्र र मायाको चिनोले सम्मान गरीएको छ । त्यस्तै ढिँकी जाँतो राख्न जग्गा उपलव्ध गराउने भोजकुमारी बस्याल र यमकला बस्याललाई समेत सम्मान गरीएको छ ।


चालु आर्थिक बर्षको १ लाख ५० हजार रुपंैयाको बजेटबाट अदुवा पैचो कार्यक्रम, टिकी, पोते, औठी र चुरा बनाउने तालिम तथा ढिँकी जाँतो स्थापना कार्यमा लगानी गरेको महिला उत्थान गाउँ समन्वय समिती बराङ्दीकी संयोजक बिमला बस्यालले जानकारी दिनु भयो ।

घरनजिकै स्वास्थ्य जाँच्न पाएपछी मदनपोखराका वृद्धवृद्धाले गरे जनप्रतिनिधी भएको महसुस

बोली । माघ २३ – घरनजिकैको वडा कार्यालयमा स्वास्थ्यकर्मीहरु आफै आएर वृद्ध शरिरको चेकजाँच गरिदिँदा तानसेन नगरपालिका वडा नं. ८ मदनपोखराका गोपिनाथ खनाल खुसी हुनुभयो ।
तानसेन नगरपालिकाको घरघरमा स्वास्थ्य सेवा कार्यक्रम अन्तरगत स्वास्थ्यकर्मीहरुको टोलीले वडा नं. ८ को कार्यालयमा राखेको शिविरमा ८६ बर्षिय खनाल जस्तै ७२ जना वृद्धवृद्धाहरुले चेकजाँच गराउनुभएको छ । खनालले वृद्ध भएपछी अस्पताल जान गाह्रो हुने भएकाले घरनजिकै शिविर राखिदिँदा नगरपालिका वृद्धहरुको स्वास्थ्यमा जिम्मेवार भएको महसुस गरेको बताउनुभयो ।
खनालले कान कम सुन्ने र दमको समस्या भएको बताउँदै त्यसको निशुल्क औषधी समेत दिँदा खुसी लागेको बताउँदै गाउँमा जनप्रतिनिधी भएको अनुभुती गरेको बताउनुभयो । वडा नं. ८ को कार्यालयमा भएको शिविरमा ६० देखी सय बर्ष सम्मका वृद्धवृद्धाहरुले स्वास्थ्य परिक्षण गरेका छन् । स्वास्थ्य परिक्षणमा सहभागी ७२ जना मध्ये ४४ जनालाई सुगरको समस्या रहेको सहभागी सोमनाथ अर्यालले जानकारी दिनुभयो ।
मदनपोखरा स्वास्थ्य चौकीका प्रमुख झविन्द्र न्यौपानेले नियमित औषधी खानेहरुलाई एक महिनाको औषधी वितरण गरेको बताउनुभयो । न्यौपानेले अधिकांश वृद्धवृद्धाहरुलाई सुगरको समस्या देखिएको भन्दै सुगर हुँदा अपनाउनुपर्ने सावधानी बारे आवश्यक सल्लाह र सुझाव समेत दिएको बताउनुभयो ।
तानसेन नगरपालिकाले ६० बर्ष माथीका वृद्धहरुलाई विभिन्न स्थानमा शिविर राखेर सेवा दिईरहेको छ ।

चर्चित चित्रकारले जस्तो दमकडाका कुशलले बनाए धार्मिक सहिष्णुता सम्बन्धी चित्र

बोली । माघ २३ – हेर्दा सामान्य तर धार्मिक सहिष्णुताको रुपले गहिरो अर्थ बोकेको चित्र बनाएर दमकडा माध्यमिक विद्यालयका कुशल पंगेनी जिल्लाभरीमा प्रथम भएका छन् ।


ईसाई धर्मको संकेत दिने क्रस चिन्हको बाला लाएको पुरुषको हात र रातो चुरा लगाएकी महिलाको हातले मिलेर नेपालको नक्सा उठाएको चित्र बनाएर तानसेन ९ दमकडाका कुशल पंगेनी जिल्लाभरीमा प्रथम भएका हुन् । सनराईज पब्लिक स्कुल माथागढी २ ले आयोजना गरेको जिल्ला स्तरिय चित्रकला प्रतियोगितामा कुशलले कुनै चर्चित चित्रकारले बनाएको गम्भिर अर्थ बोकेको चित्र बनाएका हुन् ।


चित्रको चार कुनामा हिन्दु धर्म चिनाउने मन्दिर, मुस्लिम धर्म चिनाउने मस्जिद, लुम्बिनी चिनाउने असोक स्तम्भ र स्वयम्भु रहेका छन् । हिन्दु महिला र ईसाई पुरुषको हातले उठाएको नेपालको नक्सा भित्र ओम, चन्द्र तारा, त्रिशुल सहितको डमरु र क्रस चिन्ह बनाईएको छ ।


चित्रको बिचमा नेपालको झण्डा बनाईएको छ भने चित्रको माथीतिर अंग्रेजीमा धर्म र तलतिर सहिष्णुता भनेर लेखिएको छ । चित्रको ब्याकग्राउण्डमा निलो आकाश र सेतो बादलको बिच बिचमा शान्तिको प्रतिक परेवाहरु उडिरहेको देखिन्छ ।


आफुले मानिरहेको धर्मको पक्षमा जस्तो सुकै कुतर्क गर्न पनी तयार हुने व्यक्तिहरुलाई यो तस्विरले व्यंग्य गरेको छ । सबै धर्मको सम्मान र सहिष्णुता भयो भने चित्र जस्तै नेपाल पनी शुन्दर हुन्छ भन्ने सन्देश चित्रले दिएको छ ।