तानसेन–८, मदनपोखराका दुई स्थानमा पशुस्वास्थ्य शिविर सम्पन्न

पाल्पाको तानसेन नगरपालिका–८, मदनपोखराका चाउरेपोखरा र लाम्बाक पिपलडाँडामा पशुस्वास्थ्य शिविर सम्पन्न भएको छ। ग्रामीण आर्थिक विकास संघ (रेडा) को आयोजनामा सञ्चालन गरिएको उक्त शिविरमा घरपालुवा पशुपन्छीको स्वास्थ्य परीक्षण, आवश्यक उपचार तथा पशुस्वास्थ्यसम्बन्धी परामर्श सेवा प्रदान गरिएको थियो।

शिविरमा घरपालुवा पशुचौपायाको गोबर परीक्षण गरी आवश्यक औषधि निःशुल्क वितरण गरिएको थियो। त्यस्तै, बिरामी तथा कमजोर अवस्थामा रहेका पशुहरूलाई आवश्यक उपचारको व्यवस्था मिलाइएको थियो। पशुपालक किसानलाई पशुको स्वास्थ्य अवस्था, रोगको पहिचान, उपचार तथा पशु स्वास्थ्यको हेरचाहका विषयमा समेत परामर्श दिइएको आयोजकले जनाएको छ।

शिविरका क्रममा भैँसी ९२, कुकुर ४, बङ्गुर ६७, बाख्रा ५६७, गाई १२१ र कुखुरा १ हजार १३५ गरी कुल १ हजार ९८६ पशुपन्छीको स्वास्थ्य परीक्षण तथा उपचार गरिएको थियो। शिविरमा १६७ घरधुरीका पशुपालकहरूको उत्साहजनक सहभागिता रहेको थियो।

ग्रामीण क्षेत्रमा पशुपालनलाई जीविकोपार्जन तथा आम्दानीको महत्त्वपूर्ण माध्यमका रूपमा अपनाउँदै आएका किसानलाई लक्षित गरी सञ्चालन गरिएको शिविरले पशुपन्छीको स्वास्थ्य सुधार गर्न तथा सम्भावित रोगको समयमै पहिचान र उपचार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। गाउँमै निःशुल्क स्वास्थ्य परीक्षण, औषधि वितरण र प्राविधिक परामर्श सेवा उपलब्ध भएपछि पशुपालक किसानलाई प्रत्यक्ष लाभ पुगेको आयोजकको भनाइ छ।

कार्यक्रमका क्रममा ग्रामीण आर्थिक विकास संघ (रेडा) का कार्यकारी निर्देशक लीला बहादुर कार्कीले शिविरको उद्देश्य तथा कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो।

ग्रामीण आर्थिक विकास संघ (रेडा) को आयोजनामा सम्पन्न शिविरले स्थानीय पशुपालक किसानलाई पशुस्वास्थ्य सेवामा पहुँच पुर्‍याउनुका साथै पशुपन्छीको उचित हेरचाह, रोग नियन्त्रण र पशुपालन व्यवसायलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।