
कृष्ण कार्की/गणेश दर्लामी –
चैत्र २ – मध्यरातमा परेको असिना पानीले पाल्पाका कृषकहरुले आफ्नो खेतबारीमा लगाएको लाखौंको तरकारी नष्ट हुनुका साथै भौतिक क्षती समेत भएको छ ।
राति परेको भीषण असिना र पानीले बिक्री गर्ने तयारीमा रहेको तरकारी खेती तथा अन्य नगदे बालीमा क्षति पुर्याएको हो । असिना र पानीले तयारी अवस्थामा रहेको बन्दा, काउली, आलु, गाजर, रायो साग, लसुन, प्याज, धनिया, केराउ, मसुरो, तोरी लगाएतका खेतीमा क्षति पुर्याएको कृषकहरुले गुनासो गरेका छन् । त्यस्तै असिनाले फल्दै गरेका सुन्तला, काफल, नस्पाती, आलु बोखडा लगाएत अन्य बालीहरुमा असर गरेको हो ।
पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ५ र ६ को जन्तीलुङ, मरामकोट, अर्खलेलगायतका क्षेत्रमा लगाइएको तरकारी तथा अन्य खेती असिना पानीले नष्ट गरिदिएको हो । त्यस्तै पाल्पाको सुन्तला उत्पादनको पकेट क्षेत्र रैनादेवी छहरामा पनी असिनाले गाउँपालिकाका सवै वडामा लाखौ रुपियाको क्षति भएको गाउँपालिका अध्यक्ष राम बहादुर कार्कीले जानकारी दिनु भयो । रैनादेवी छहरा गाउँपालिकामा फुल्दै गरेका सुन्तला, गहुँ, जौ तथा अन्य तरकारीमा समेत क्षति गरेको अध्यक्ष कार्कीले बताउनुभयो ।

असिनाकै कारण जन्तिलुहुङका मन बहादुर लम्तरिको घर भत्किएको छ । प्रभास प्रहरी चौकिको टोलिले क्षतिको प्रारम्भिक मुचुल्का उठाएको स्थानीय पदम बहादुर चिदिले बताउनुभयो । असिनाका कारण धेरैजसोको एक पाखे घर, गोठ तथा टहराहरुको टिन भाँचेको छ भने पानी घरभित्र पसेको छ ।
बाहिर राखेका प्लास्टिकका भाँडाहरु सबै फुटेको स्थानियले बताएका छन् । तिनाउ मरामकोटका पुर्ण बहादुर खाम्चाले आफू ७२ बर्षको भएको भन्दै अहिले सम्म यती ठुलो असिना परेको पहिलो पटक थाहा पाएको बताउनुभयो ।
असिनाले वनजङ्गलमा रुखका हाँगा तथा पातपतिङ्गर समेत झारेको छ । असिनाले तरकारी बालीका मुख्य आम्दानीको श्रोत तेजपात पनी नष्ट गरेको छ । पशुपालन गर्नेहरुका लागी मुख्य श्रोत डालेघाँसहरु सबै नष्ट भएको स्थानियले बताएका छन् । वनमा असिनाले लागेर मरेका चराचुरुङ्गीहरु समेत धेरै सङ्ख्यामा भेटिएका छन् ।

अचानक असिना परेपछि तिनाउ श्रेत्रको जमिन पुरै सेताम्मे भएको छ भने असिना पग्लेर भल बगेको छ । असीनाले थिचेपछि किसानले गरेको व्यावसायिक तरकारी खेतीमा ठूलो क्षती पुगेको हो तर क्षतिको एकिन विवरण भने आईपुगेको छैन । असिना र हावा हुरिका कारण मराम्कोटको बिद्युत समेत अबरुद्द भएको छ । तिनाउ क्षेत्रका ग्रामीण सडक प्राय भत्किएका कारण सञ्चालनमा आउन सकेका छैनन् ।
