जनताको घरमा तानसेनका मेयर, जनता भन्छन् रोजगार

 


मदनपोखरा । तानसेन नगरपालिका ८ छापका युवाहरुले आयआर्जन, स्वरोजगारी, आत्मनिभरताको कार्यक्रम बिस्तार गर्न नगरपालिका प्रमुखलाई आग्रह गरेका छन् ।

तानसेन नगरपालिकाले छापमा आयोजना गरेको ‘जनताको घरमा मेयर’ कार्यक्रममा युवाहरुले नगरपालिका प्रमुखसँग यस्तो आग्रह गरेका हुन् । छाप निवासी अनिता मिथुन, केशव राना र नारायण मस्राङ्गीले कोभिडका कारण बेरोजगार भएका र विदेशबाट फर्केका युवाहरुलाई देशभित्रै काम दिन अनुरोध गर्नुभयो । कृषक रामबहादुर सिंह र बुद्धबहादुर पन्थले खोलामा पुल नहुँदा खेतमा जान परेको कठिनाई र गाउँमा बाँदर आंतकको समाधान गरिदिन आग्रह गर्नुभयो । गीता सिंह ठकुरी र लक्ष्मी थापाले जनजातिलाई ६० वर्षमा वृद्धभत्ता नदिने कारण र इसिडिका कर्मचारीलाई श्रम ऐनअन्तर्गतको तलव नदिनुका कारण के हो प्रश्न गर्नुभयो । संस्कृतिप्रेमी सोमनाथ अर्यालले छापमा कृषकका घरमा होमस्टे कार्यक्रम सञ्चालन गरिदिन आग्रह गर्नुभयो । स्थानीय सरकारले गाउँघरका जग्गालाई बैंकले धितो नमान्ने र ऋण नपाउने अवस्थाको अन्त्य गर्नुपर्ने जनताको सुझाव थियो ।

उपप्रमुख लक्ष्मीदेवी पाठक, प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डे, विभिन्न शाखाका प्रमुखहरुलाई लिएर जनताको घरघरमा पुग्नुभएका नगरपालिका प्रमुख अशोककुमार शाहीले स्थानीय जनताका गुनासा सुनेपछि जनताको जीवनमा परिवर्तन ल्याउने कार्यक्रम बिस्तार गर्ने प्रतिवद्धता गर्नुभयो । उहाँले युवा स्वरोजगार, महिला जागरण, दलित उत्थान, स्वास्थ्य विमा, छोरी शिक्षा जस्ता कार्यक्रमको नासो सुम्पन आएको बताउँदै जनताको जीवन बदल्ने कार्यक्रम बिस्तार गर्न सबै प्रतिवद्ध हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा उपप्रमुख लक्ष्मीदेवी पाठकले निर्वाचनपछि मोटरबाटोको स्तरोन्नती, स्वास्थ्य इकाईको स्थापना, कृषि र पशुपालनमा सहयोग जस्ता कार्यक्रम सञ्चालन भएको र अब के के आवश्यकता छ बुझ्न आएको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेले सेवा प्रवाहमा जनताको मूल्यांकन कस्तो छ र अब गर्नुपर्ने काम के छन् भनेर समीक्षा गर्न जनताको घरमा मेयर कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । कार्यक्रममा भूमि सम्बन्धी समस्या आयोग पाल्पाका अध्यक्ष एकप्रसाद भण्डारी, हेफर इन्टरनेशनलका अधिकृत अनन्त सिलवाल, ग्रामीण आर्थिक विकास संघ रेडाका कार्यकारी निर्देशक लीला कार्की र विभिन्न शाखा प्रमुखहरुले नगरपालिकाले सञ्चालन गरेका कार्यक्रमले तानसेन मोडल स्थापित गरेको बताउनुभयो ।

नगरपालिकाले छापका कृषि समूहलाई मकै छोडाउने मशिन, गहुँ कोदो छाट्ने मेशिन, बीउ बिजनहरु र औषधीहरुसमेत वितरण गरेको थियो । तानसेन नगरपालिका वडा नं. ८ का अध्यक्ष रामप्रसाद घिमिरेको अध्यक्षतामा कार्यक्रम चलेको थियो ।