सत्तरी वर्षदेखि मौरीको पर्म, हर्नेटारका पल्ली बाको कर्म

पाल्पा । घरको बार्दली, गोठ, बारीको कान्ला, खरबारीको पानी ओत्ने कुनाकानी, ओडार मौरीका घारले छपक्कै ढाकिएको छ । बार्दलीभरि मकैका झोत्ती बारी खरबारीभरि मौरीको घारले भरिभराउ यो घरका मुली हुन्, ८२ वर्षिय नरबहादुर पल्ली । विगत ७० वर्षदेखि मौरी पाल्दै आएका पल्ली परिवारको मुख्य आम्दानीको स्रोत नै मह व्यवसाय हो ।

नरबहादुर पल्लीलाई माथागढीका सबैले पल्ली बा भन्दछन् । उनले थोरै लगानी, कम मिहिनेतमा धेरै फाइदा लिन सकिने भएकाले मौरीपालनलाई जीविकोपार्जनको पेशा बनाएका छन् । गाउँ सहरका मानिसहरु मह किन्न मानिसहरु घरमै आइपुग्छन्, बिक्रीका लागि समस्या छैन । पल्ली बासँग हाल ६० भन्दा बढी घार छ । मानाको ७ सय पचास रुपैंयामा घरबाटै मह बिक्री हुने गरेको छ । वर्षमा एक लाखभन्दा बढी आम्दानी मह बेचेर हुने गरेको छ । मौरीपालनको आम्दानीबाट अपांगता भएका छोरा बुहारी, श्रीमति, नाति नातिनाको खर्च पु¥याएका छन् । घर खर्च मौरीपालनले नै चलेको छ ।

मरमरा र खापुक वरिपरिका जंगलमा बाहै महिना फूल फुल्छन् । मौरीले विभिन्न प्रजातिका फूलको रस लिने र बोटबिरुवामा परागसेचन गराएर रसिलो फल लाग्ने भएकाले स्थानीय समुदायलाई फाइदा पुगेको छ । युवा समाजसेवी शंकर दर्लामीले भने, ‘पल्ली बा जस्ता बुढापाकाले मौरी पाल्ने, गेडागुडी फलाउने, अदुवा बेसार लगाउने, नाम्लो दाम्लो बाट्ने गरेर जीविकोपार्जन गरेका छन् । आत्मनिर्भर छन् ।’

चौरासी पूजा गर्ने उमेरका पल्ली बा भिरपहरामा ठ्यामठ्याम्ती हिंड्ने, कटकुरो र घार ओत्ने छाप्रो बनाउने गरेको देख्दा गाउँउलेहरु दङ्ग पर्दछन् । पल्ली बा को कान्छो छोरा र कान्छी बुहारी अपांग छन् । माइलो छोरा घर गृहस्थीमै छन् । मौरी हेर्ने, मह काड्ने, शत्रु जीवबाट जोगाउने र न्यानोमा राख्ने काम पल्ली बा कै जिम्मा छ । जाडोका बेला भर्लाको पातले घार ढाक्ने र रातका बेला घार बोकेर घर ल्याउने कार्य दिनचर्या जस्तै बनेको छ ।

यसपाली ठूलो झरी प¥यो । झरीमा मौरी घार बाहिर निस्केर चर्न पाएन । आहारा पुगेन, म¥यो । पल्ली बा ले ठट्यौली पारामा भने, ‘रात न दिन झरीको झरी प¥यो । कोरोनाले मौरी मा¥यो । सत्तरी घारमा रहेका मौरीमध्ये तीस घार रित्तियो । बाँकी चालिस घारबाट फेरि फैलिदैछ । फालफूल फुलेको वर्ष १४\१५ पाथी मह निस्कन्थ्यो ।

पल्लीको परिवार लेकको बस्ती छोडेर सुखको खोजीमा २०२२ सालमा हर्नेटारमा झरेको हो । आफू १२ वर्षको हुँदा मौरी पाल्न सुरु गरेका पल्ली बा लाई मौरी जतिको गुनी जीव र मह बिक्री जतिको राम्रो पेशा केही लागेन । मौरीले पल्लीलाई चिन्छ, पल्लीले मौरीलाई चिन्दछन् । घर नजिकै जंगल भएकाले मौरी चर्न सजिलो छ तर जंगली जनावरबाट बचाउन सकस पनि पर्ने गर्दछ । पल्लीले भने, ‘माउखाने, बछिउँ, अरिंगाल, कमिलाले पनि मौरी खान्छ । मौरीका शत्रु धेरै छन् । माउखानेबाट बचाउन म रातभर हिंड्छु ।’ जंगलमै मौरी कुर्ने गोठ र मौरीको घार नजिकै पासो थापेको छ ।


माथागढी गाउँपालिकाको वडा नं. ४ को झडेवा र मरमरा खोलाको दोभान हर्नेटार हो । पहाडको घेंचमा बेसीभन्दा माथिको समस्थललाई टार भनिन्छ । हर्नेटार मात्र होइन, मरमरा, चौलानीगैरा, खापुक क्षेत्रमा किसानहरुले परम्परागत रुपमा मौरीपालन गर्दै आएका छन् । प्रायः हरेकको घरमा एक दुई वटा मौरीको घार छ । मौरीपालनमा रुची राख्नेहरुले ठूला काठको मुढा खोलेर काठे घार बनाएर मौरी पालेका छन् । यो क्षेत्रमा ३ सयभन्दा बढी मौरीका घारहरु छन् ।

माथागढी ४ को मरमराका बिरमान रानाले आधुनिक र काठे गरी करिव ३० घारमा मौरी पालेका छन् । अधवैंशे रानाको प्रेरणा स्रोत पनि पल्ली बा नै हुन् । बाल्यकालमा पोलिएर एउटा खुट्टा गुमाएका राना माथागढीमा मौरीपालनको सम्भावना राम्रो देखेका छन् । मरमराका अरु बासिन्दाले बारी, खरबारी र जंगलमा काठको मुढामा मौरी पालेको देखिन्छ । रानाले भने, ‘समुदायमा ज्ञान, सीप र प्रविधिको अभावमा काठे घारमा मौरी पालेका छन् । आधुनिक प्रविधि र आधुनिक घारमा सरकारले अनुदान दिने हो भने यो क्षेत्र मौरीका लागि प्रशिद्ध बन्न सक्छ ।’

मौरी फूलको रस खोज्न कौडेलेक, रेदीको डाँडा, देउगिरसम्म पुग्ने गर्दछ । जैविक विविधताले धनी लेकमा रहेका विभिन्न प्रजातिका फुलबाट बनेको मह भएकाले पनि यहाँको महलाई महत्व दिने गर्दछन् । चिनीको चास्नी खुवाएर पाल्ने, प्रशोधितको नाममा मिसावटयुक्त मह बेच्नेहरुको अगाडि शुद्ध मह उत्पादन गरेर बिक्री बितरण गर्ने पल्ली बा साँच्चिकै किसान हुन् ।

प्रदेशसभा सदस्य नारायणप्रसाद आचार्यले मौरीपालनबाट रोजगारी मिलेको, आयआर्जन गरेको र सानै रुपमा भए पनि उद्यमी बनेको देखेर पल्ली बा लाई भेटेर कर्मशील जीवनको प्रशंसा गरे । चार माना मह किनेर उत्साह थपे । आचार्यले भने, ‘पल्ली बा तपाईको सुकर्म फैलिन्छ । प्रदेश सरकार वास्तविक किसानलाई सहयोग गर्न अवश्य आउनेछ । ’