भगवती जात्रा मनाइयाे, व्यवस्थापन सुधारकाे खाँचाे

पाल्पा – दुई शताब्दी लामो परम्परा बोकेको ऐतिहासिक भगवती जात्रा आज भगवतीकाे प्रतिमूर्ति घुमाएर मनाइएकाे छ ।
कोभिड १९ महामारीका कारण यस वर्ष भगवती जात्रालाई संक्षिप्त रूपमा मनाउने निर्णय गरे वमोजिम मन्दिर परिसरमा प्रतिमूर्ति घुमाएर मनाइएको छ । राष्ट्रियतासँग जोडिएको ऐतिहासिक भगवतीजात्रा कोरोनाका कारण सामान्य रूपमा मनाइएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर उदयले बताउनुभयो ।
कोरोना भाइरसको सङ्क्रमण फैलिने सम्भावना रहेकाले यो वर्ष भगवती जात्रा सामान्य मात्र गरियाे समितिका अध्यक्ष राजेश्वर उदयले भन्नुभयो मन्दिर परिसरभित्रै भगवतीकाे प्रतिमूर्ति घुमाएर जात्रा गरियाे । नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र नेपाल प्रहरीकाे सानाे टुकडी, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी, जनप्रतिनिधि र सर्वसाधारणकाे सानो संख्यामा उपस्थित सहभागिता रहेकाे थियाे । यो वर्ष मन्दिर व्यवस्थापन समितिले बली दिइएकाे थिएन । सर्वसाधारणले भने बिहानै मन्दिरमा बली दिएका थिए ।
वि.स. १८७१ देखि १८७२ सम्मको नेपाल अङ्ग्रेज युद्वमा नेपाली सेनाले नुवाकोट जितगढीमा विजय गरी स्युराज, लुम्बिनी र बुटवल क्षेत्र जोगाएको हो । विजयोत्सवका रूपमा १८७७ सालदेखि हरेक वर्ष तानसेनमा भगवती जात्रा मनाइँदै आएको छ । हरेक वर्ष कृष्णाजन्माष्टमीको भोलिपल्ट भगवती जात्रा निकालिने प्रचलन रहेको छ । राष्ट्रियताको प्रतीक बनेको भगवती जात्राको महत्वलाई सम्मान गर्दै यो वर्षदखि प्रदेश सरकारले पाल्पामा सार्वजनिक बिदा दिएको थियाे । 
जात्रामा खल्लाेपन 
भगवती रथयात्रामा हजाराैँ मानिसकाे उपस्थिति देखिरहेका जात्रुका लागि यसपाली खल्लाे लाग्नु स्वाभाविक थियाे । रथ बाेकेर बजार परिक्रमा भएन, मूर्ति बाेकेर मन्दिर परिसर घुमाइयाे । काेभिड १९ कारण सरकारले मानिसहरूकाे जमघटमा बर्जित गरेकाले जिल्ला प्रशासन कार्यालय र तानसेन नगरपालिकाले संक्षिप्त मनाउने घाेषणा गरेका थिए ।

 

जनसागरकाे उपस्थिति र भीडभाडमा व्यवस्थापन चुस्त नहुनुसम्म स्वभाविक जस्ताे लाग्थ्याे तर यसपाली सानाे उपस्थितिमा पनि मन्दिर परिक्रमा व्यवस्थित हुन सकेन । मन्दिर व्यवस्थापन समितिले यति महत्व बाेकेकाे जात्रामा जिम्मेवारी बाँडफाँड गरी चुस्त व्यवस्थापन गर्न सक्थ्याे । फूल, प्रसाद, टीका र धजा वितरण गरी भगवती जात्राकाे सन्देश कम्तिमा बजारभरि पुर्याउन सकिन्थ्याे । 
सेना र प्रहरी पनि एक लाइनमा थिएनन्, रथ अगाडि र पछाडी थिए । मन्दिर परिक्रमा गर्दाकाे धुन पनि झिमझिम परेली…., पानकाे पात….. गीतमा बजाइएकाे थियाे, जहाँ नेपाल र अंग्रेज परास्त गरेकाे विजयाेल्लासकाे संझनामा रथयात्रा गरिन्छ । नेपाली राष्ट्रिय गीतका धुन बज्नुपर्ने बेला मायाप्रितीका भाका घन्किन पुग्याे । त्याे भन्दा पनि खल्लाेपन खट्कियाे, ‘भगवतीकाे रथयात्राकाे सुरूवातकाे तीथिमिति । समितिले २०२ वर्ष भन्याे, बाहिरकाले भने २०२ पुगेकाे छैन । कतिले १८७६ देखि सुरू भनेर बाेले कतिले १८७७ बाट सुरू भएकाे भनेर अभिव्यक्ति दिए ।’  लामाे परम्परा बाेकेकाे याे भगवती जात्राकाे व्यवस्थपानका विषयमा समीक्षा गरी अगाडि बढ्नुपर्ने देखिन्छ ।