पाल्पा । जिल्ला विपद् व्यवस्थापन समिति पाल्पाले राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा भूकम्प पश्चात् खोज तथा उद्दार सम्बन्धि पाल्पामा संयुक्त अभ्यास गराएकाे छ ।
नेपाली सेनाको गोरखदल गण, कालीभक्ती गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस सोसाइटी, एनसिसि एल्मुनाई एशोसियसनले तानसेनको टुंडिखेलमा संयुक्त प्रदर्शन गरेका हुन् । भूकम्प गएको र अन्य विपद्का बेला खोज तथा उद्दार कसरी गर्ने सम्बन्धमा प्रदर्शन सिकाइएकाे छ ।
प्रमुख जिल्ला अधिकारी रमेश न्याैपानेले विपदमा खाेज र अनुसन्धान प्रभावकारी बनाउन यसप्रकारका प्रदर्शनले सहज हुने विश्वासका साथ प्रदर्शन गरिएकाे बताउनुभयाे । तालिम प्राप्त सैनिक अधिकारीले प्रदर्शनमा सहयोग गरेका थिए भने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सामाग्री प्रदर्शन समेत गरेका थिए । खोज तथा उद्दारमा प्रयोग हुने सामाग्री प्रर्दशनमा सुरक्षा अधिकारीका साथै सर्वसाधारणले समेत अवलोकन गरेका थिए ।
कार्यक्रममा नेपाली सेनाकाे गाेरखदल गणका प्रमुख जनक बस्नेत, जिल्ला प्रहरी प्रमुख सन्ताेष कुमार भट्टराइ, सशस्त्र प्रहरी बल का पाल्पा प्रमुख अरूण शर्मा लगायतकाे उपस्थितिमा भएकाे प्रदर्शनकाे सर्वसाधारणाले अवलाेकन गरेका थिए ।