मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम माथागढीको समीक्षा

गजेन्द्र पन्थी,
झडेवा । माथागढी गाउँपालिकामा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको आर्थिक वर्ष २०७६।२०७७ को वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनी प्रदेशसभाका सदस्य नारायणप्रसाद आचार्यले आचार्यले गत बर्ष सम्पन्न भएका कार्यक्रमहरुको उपलब्धीलाई समीक्षा गरी आगामी वर्ष प्रभावकारी बनाउन अनुरोध गर्नुभयो । उहाँले यस बर्षको कार्यक्रम रोजगारीका कार्यक्रमहरु थपेर कृषिलाई प्राथमिकतामा पार्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा गाउपालिकाका अध्यक्ष सन्तोषकुमार थापाले यस वर्ष कार्यविधि परिवर्तन भई आएकाले त्यसैका आधारमा गरिब र विपन्न लक्षित कार्यक्रमहरुलाई प्राथमिकता दिइ रोजगार उन्मुख कार्यक्रम अघि ल्याइने बताउनुभयो । कार्यक्रममा कार्यक्रम सहजकर्ता नारायण बहादुर कुमालले बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै गत बर्षको कुल ५२ लाख मध्य पूँजीगत तर्फ १२ लाखको ४ ओटा कार्यक्रम र चालु तर्फको रु ३८ लाखको ६ ओटा कार्यक्रम सम्पन्न भएको बताउनुभयो । गत बर्ष सम्पन्न कार्यक्रमहरुमा शिक्षा, राहत तथा पुन स्थापना, आयआर्जन, स्वास्थ्य, कृषि र खानेपानीलगायतका कार्यक्रमहरु रहेका थिए ।

गाउँपालिकाका उपाध्यक्ष निर्मला भट्टराइले यस बर्षको कार्यक्रम प्रभावकारी रहेको बताउदै धामिगाको धनिया खेतीबाट किसानहरुले बढी फाइदा लिएको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले यस बर्ष बैदेशिक रोजगार बाट आएकाहरु र कोरोनाको प्रभावले रोजगार गुमाएकाहरुलाई प्राथमिकतामा राखेर योजना बनाउन सकिने बताउनुभयो । यस कार्यक्रमलाई चालु वर्षमा ६० लाख रुपैयाँ बिनियोजन गरिएको छ ।

समीक्षा कार्यक्रममा विषयगत शाखाका प्रमुखहरु, सिफारिस समितिका सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रम गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार थापाको अध्यक्षतामा चलेको थियो ।