सामुदायिक रेडियो मदनपोखरा
spot_img
Home Blog Page 17

मान्छे चितुवाको लडाइँ, रम्भामा चितुवा मारियाे

पाल्पा — रम्भा गाउँपालिका–१, हुँगी कराङ्दीखोलाका खड्गबहादुर फालमगर चितुवासँग लडेर ज्यान जाेगाउन सफल हुनभएकाे छ ।

विश्वकर्मा पूजाकाे दिन गाई बस्तु चराउन जंगल गएका ५२ वर्षीय मगरलाई चितुवाले आक्रमण गर्याे । चितुवाकाे आक्रमणमा बच्न उहाँले लड्ने निर्णय गरी भिडेर ज्यान जाेगाउन सफल हुनुभएकाे हाे । स्थानीय बासिन्दाका अनुसार फाल मगरले करिव १० मिनेटसम्म चितुवासँग वारपारकाे लडाँई लड्नुभएकाे थियाे । फालकाे हारगुहार सुनेर पुगेका अर्का एक युवकको सहयोगमा उहाँ जोगिन सफल भएको स्थानीय बासिन्दा केदार बस्यालले बताउनुभयाे । गाउँमा मानिसकाे बसाेबास घट्ने र जंगल बढ्ने गरेकाले  ‘मानव–वन्यजन्तुको बीचकाे लडाइँ बढी भएको छ ।’

फालकाे गल्याङ सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरी चौकी हुँगीले जनाएको छ । उहाँको अनुहार र हातखुट्टामा चोट लागेको छ । गुहार दिन जाने युवा पुग्दा फालले चितुवाको घाँटीमा समातेर कुस्ती खेल्दै थिए । त्यसपछि उनीहरू दुबै जना मिलेर चितुवालाई ढुंगाले हानेका थिए । ढुंगाले लागेर चितुवा मरेको छ । मरेको चितुवालाई सव डिभिजन वन कार्यालय, ताहुँको समन्वयमा गाडिएको छ ।

पाल्पामा चितुवाको आक्रमण बढेको छ । डिभिजन वन कार्यालयका सूचना अधिकारी यमलाल पोखरेलका अनुसार तीन महिनाअघि रैनादेवी छहराको भुवनपोखरीमा स्थानीयले दुम्सीका लागि थापेको पासोमा चितुवा परेको थियो । उक्त चितुवालाई सौराहा लगेर छाडिएको थियो । तानसेन, बगनासकालीको चापपानी, खानीगाउँ, रिब्दीकोटको पालुङमैनादी, रैनादेवी छहराको मुझुङ, रम्भाको पिपलडाँडामा पनि चितुवाले दुःख दिँदै आएको छ ।

 

दमकडाकाे वार्षिकोत्सवमा जुमबाट कविता प्रतियोगिता


पाल्पा । दमकडा माध्यमिक विद्यालय पाल्पाले स्थापनाको ६४ औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको अनलाइन कविता प्रतियोगिता सम्पन्न भएको छ ।

जिल्लास्तरीय कविता प्रतियोगितामा मिलेनियम स्कुल तानसेन पाल्पाका महिमा गैरे प्रथम, जनता माध्यमिक विद्यालयकी सुजाता बस्याल दोस्रा, रत्न माध्यमिक विद्यालय माथागढीका विशाल बि.क तेस्रा भएका छन् । सेन्ट क्यापितानियो स्कुल तानसेनका प्रसना नेपाली र दमकडा माध्यमिक विद्यालयकी सपना भण्डारीले शान्त्वना पुरस्कार प्राप्त गरेका छन् । पाल्पा जिल्लाका २४ विद्यालयका ३४ विद्यार्थीले प्रतियोगितामा भाग लिएका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका साहित्य विभागका प्रमुख डा. देवी नेपालले मानव सम्भतामा मान्छे हारेको छैन, कोभिड वा अन्य कुनै समस्यामा पनि मान्छे हार्दैन भन्नुभयो । सशक्त कविताका माध्यमबाट दमकडाको यो प्रतियोगिताले भाषा, साहित्य र वाङमयको विकासमा महत्वपूर्ण योगदान गरेको उहाँको भनाई छ । छन्दोवद्ध साहित्यका ज्ञाता नेपालले वार्षिकोत्सवलाई कोरोनाले रोकेन, शिक्षक र विद्यालय समस्या समाधान गर्ने महत्वपूर्ण साधन हुन् भन्ने सन्देश देशभर छर्न सफल बनेको बताउनुभयो ।

प्रदेशसभा सदस्य डा. पुरनमान बज्राचार्यलले दमकडा माध्यमिक विद्यालय पाल्पा र प्रदेशकै गौरवको विद्यालय बनेको बताउनुभयो । प्रतियोगिताका मूल्यांकनकर्ता साहित्यकार टंक पन्थले विद्यार्थीहरुले भावना, विचार र कलाको संयोजन गरी समाजमा देखापरेका मानवीय अस्तित्व र मूल्य मान्यतालाई उजागर गरेको बताउनुभयो । नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष रामप्रसाद ढकाल, नेपाल शिक्षक संघ पाल्पाका अध्यक्ष धनकला गाहा, प्याब्सनका पूर्व केन्द्रीय सदस्य खेम सारुले कोभिडको असहज परिस्थितिमा पनि नविनतम कार्य गरेर दमकडाले समाजमा राम्रो छवि बनाएको बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद सापकोटाले विद्यार्थीको सिकाई सीप र सिर्जनशीलता बढाउन कविता प्रयोगिताको आयोजना गरेको बताउनुभयो । कार्यक्रम शिक्षक प्रकाश पंगेनी, धनपति गैरे, संगीता भट्टराईको सञ्चालन, होत्रीराज ढुंगानको स्वागत र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेशकुमार अर्यालको अध्यक्षतामा चल्यो ।

प्रतियोगिता सूचना प्रविधिको पछिल्लो वेविनार जुमबाट सहभागी गराई फेसबुकबाट लाइभ गरिएको थियो । २०१३ सालमा देउरालीको पिढी र दलान पठनपाठन सुरु गरी स्थापना भएको यस विद्यालयले असोज १ गते विद्यालयको इतिहास, वर्तमान र भविष्यका विषयमा सामूहिक संवाद कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाउदैछ ।

सिंहदरबार हाेइन, दूरदराज मागें

दुर्गा बन्जाडे

पाल्पा 

धेरै पछि हाम्रो भेट भएको थियो।‬ रेस्टुरेन्टको टेबल ओगटेर बसेको केही बेरपछि कुरा गर्दागर्दै प्रसंग मोडियो।‬

उनले भनिन्, ‘‬दिनभरी अफिसको कार्यक्रम भयो।‬ साँझ परेपछि हामी आ-आफ्नो कोठामा गयौं।‬ राति नौ बजेको थियो होला।‬ मोबाइल र मेसेन्जरमा पुरुष सुपरीवेक्षक र सहकर्मीहरूको लगातार एसएमएस आउन लाग्यो।‬ मैले रेस्पोन्स नगरेपछि फोन नै आयो।

‘के छ म्याडम? हजुरको कोठा हेर्न आऊँ कि भनेर…’ यस्तै यस्तै।‬ म अक्क न बक्क भएँ। मोबाइल खुला हुँदा फोन आउला भन्ने डरले बन्दै गरेँ।‬ घरमा बच्चा बिरामी थियो।’‬ 

उनले थपिन्, ‘केही बोले महिलालाई नै ऊ त्यस्तै भएर त हो भन्न थाल्छन्।‬ कसलाई स्पष्टीकरण दिँदै हिँड्नु?‬ अनि को-कोसँग भिड्नु ?

उनले कुरा सुनाइरहँदा मेरो मन आफैंले काम गरिरहेको कार्यक्षेत्र (निजामती सेवामा) महिला भएकै कारण भोग्नुपर्ने यस्तै घटनामा केन्द्रित हुँदै थियो।‬ कार्यक्षमता, सेवाप्रतिको तत्परता र उत्प्रेरणामा वेवास्ता गरिने त्यस्ता घटनाको प्रभाव भने गहिरो रुपमा परिरहेको हुन्छ।‬

प्राकृतिक तथा सामाजिक अभिभारा बेहोर्दै प्रतिस्पर्धाको मैदानमाः

त्यसबेला पुतलीसडकमा शाखा अधिकृत तयारी कक्षा हुन्थ्यो।‬ बेलुका निर्धारित समयभन्दा ढिलोसम्म कक्षा चल्यो भने मेरो मन बेचैन हुन्थ्यो।‬

एक दिनको कुरा हो, साथीहरूले प्रश्न सोध्न लागेपछि अलि ढिलोसम्म बस्नु पर्ने भयो।‬ प्रतिस्पर्धाको कुरा हो, त्यही प्रश्न जाँचमा आयो भने कतै म पास हुने लिस्टमा छुट्छु कि भन्ने मनमा आशंका भइरहने रहेछ।‬

म कक्षाको अन्त्यसम्मै बसेँ।‬ धेरै राति त भएको थिएन। परसम्म हिँडे माइक्रो बस त पाइन्थ्यो। तर अलि छिटो घर पुग्न पाए छिट्टै खाना पकाएर खुवाउन सकिन्थ्यो,‬ बच्चा समयमै निदाउँथ्यो,‬ लोक सेवा तयारी गर्न समय निक्लिन्थ्यो जस्तो लाग्थ्यो।‬ संयोगवस एउटै रूट पर्ने साथी भेटेँ।‬ म उनकै बाइकमा बसी घर नजिकैको मुख्य चोकमै उत्रिएँ।‬

घरमा सँगै पढ्ने साथीको बाइकमा आएको सुनाएकी थिएँ। तर बाहिर कुरा काट्न लागेछन्-‬ उसलाई त चोकसम्म कुनै केटो पुर्‍याउन आउँछ।

‬एक कान, दो-कान हुँदै यो कुरा हामी दुवैको घरसम्म पुगेछ।‬ दुवैको घर परिवारमा अनावश्यक शंका भयो।‬ मलाई सहयोग गरेको कारण अर्को साथीले पनि तनाव बेहोर्नु परेकाले आत्मग्लानी भयो।‬ सायद पुरुषको खाली बाइकमा पुरुष नै भएको भए त्यसरी कुरा काटिन्थेन कि?

निजामती सेवामा पुरुष उम्मेदवारभन्दा महिलालाई सेवा प्रवेशका लागि उमेर हद, समावेशी लगायत पक्षमा बढी सुविधा छ।‬ राज्यको नीति र महिला स्वयमको उत्साहका कारण सहायक स्तरका पदमा महिला सहभागिता उल्लेख्य रूपमा बढिरहेको छ।‬ तर वृत्ति-विकासको स्पष्ट योजना नहुँदा बढुवा हुनु ‘ब्लु मून’ जस्तै हुन्छ।

‘जति सुकै महिला समानताको कुरा गरे पनि महिलालाई लोक सेवा पढेर बस्न साह्रै गाह्रो हुने रहेछ,’ साथी सीता भन्दै थिइन्, ‘घरमा जागिर खाउ, लोक सेवा पढ त भन्नु हुन्छ तर घरको काममा सहयोग नै हुँदैन।’

सानो उदाहरण- पाहुना आएपछि हामी महिलालाई भित्र बसेर पढ्छु भने पनि के भन्ने होलान् भनेर मनमा डर भइरहने। केटा मान्छे जस्तो बढुवाको तयारी गर्छु भनेर कोठा थुनेर पढ्न पनि सकिँदैन। बसियो भने पनि एकाग्र हुनै सकिँदैन।

दसैंतिहार जस्ता चाडपर्वका बिदामा झन् घरपरिवारमा भिडभाड हुन्छ। पढेर बस्छु भन्न असजिलो महशुस हुन्छ। सामाजिक बनूँ, कार्यालयको पदोसोपानमा साथीहरू सिँढी उक्लिँरहदा आफू बीचमै रोकिने। घरमा हुँदा पूरै पढेर बसूँ, असामाजिक बनिने सम्भावना।

मनको इच्छा मार्न नि गाह्रो। अनि परिवारका सब सदस्य रमाइलोमा भुलिरहँदा लोक सेवाको तयारीमा जुट्नु पर्छ।‬ आफ्नै शरीर र आत्मा मारेर सुनसान रातमा नेपथ्यमा भुकिरहेका कुकुरको आवाज सुन्दै अन्तिम प्रहरसम्म लोक सेवा तयारी गर्दा राम्रोसँग निदाउन पाइँदैन। शरीरलाई चाहिने आराम कम भएपछि स्वास्थ्य सम्बन्धी अनेक समस्या आउँछ।

‘महिलाले चुनौती सामना गर्दैनन्, सिंहदरबारमा झुम्मिएर बस्छन्’ भनिन्छ। तर जिम्मेवारी दिन अझै पनि हिच्किचाउने प्रवृत्ति देखिन्छ।‬ पुरुषलाई जिम्मेवारी दिएर बाँकी रह्यो भने ‘ल ल, एक सिट महिलाको नि राख्नु न, समावेशीको कुरा छ’ भनेको सुनिन्छ।

सिन्धुपाल्चोकमा मैले सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा काम गरेपछि आफ्नो देश, जनता र समस्यालाई नजिकबाट हेर्ने चाहना भयो मलाई।‬

मैले मन्त्रालयमा गएर जिम्मेवार पदाधिकारीलाई भनेँ, ‘सर, सहायक बसेको नि धेरै भयो। कर्णालीका कुनै जिल्लाको प्रमुख जिल्ला अधिकारीका रूपमा जिम्मेवारी पाए काम गर्थेँ।’‬

उहाँले ‘तपाईंलाई सिडिओमा पठाउन मापदण्ड नै पुग्दैन’ भन्नुभयो।

फेरि मैले अलि जोड गरेँ तर उहाँ सकारात्मक हुनुभएन। केही महिनापछि अरूमार्फत भन्न लगाएँ।

‘उनलाई सिडिओ त के पठाउनु?’ भन्नुभएछ।

म जिल्लामै भए पनि मन्त्रालयमा सिडिओहरूको सरुवा सम्बन्धमा के हुँदैछ भन्ने फोनबाट बुझिराख्थेँ।‬

एक जना शुभेच्छुकले सुनाउनुभयो, ‘तपाईंको त यो पटक पनि होलाजस्तो छैन।‬ तपाईंलाई त ‘मोडल पठाउने हो कि सिडिओ पठाउने भन्दै हाँस्दै हुनुहुन्छ।’

धेरै पछि मैले त्यो अवसर त पाएँ तर आशंका हटाउने चुनौती सँगसँगै थियो।

महिलाले गरेका काम आलोचनाको विषयः

कर्नेल उजिरसिंहले भगवतीको भाकल गरेर लडाइँमा हिँडेपछि बि.सं. १८७२, वैशाख ७ गते उनकै नेतृत्वको फौजले अंग्रेजलाई जितगढीमा परास्त गर्‍यो। यो विजय उत्सव स्वरूप पाल्पा जिल्लाको भगवती मन्दिरमा अहिले पनि पूजा गर्ने चलन छ। तत्कालीन समयमा बडाहाकिम र प्रमुख जिल्ला अधिकारीले भगवतीको रथयात्रा र जात्रामा पूजा गर्ने चलन छ।

यसैगरी जुम्लामा सरकारको प्रतिनिधि भएर सांस्कृतिक तथा धार्मिक भूमिका समेत निर्वाह गर्नुपर्ने रहेछ। जुम्लामा रहेको चन्दननाथ मन्दिरमा गरिने विशेष पूजाआजा कुनै बेला बडाहाकिम र हाल प्रमुख जिल्ला अधिकारीले गर्नुपर्ने परम्परा रहेछ।

वर्षभरि अक्षताका रुपमा प्रयोग हुने चामलका लागि चन्दननाथ मन्दिरको गुठीकै ज्यूलोमा जेठ महिनामा मार्सी धान रोप्ने चलन रहेछ।‬ मलाई प्रमुख जिल्ला अधिकारीका रूपमा रोपाइँका लागि निमन्त्रणा गरियो।‬ म पदीय जिम्मेवारीका कारण चन्दननाथ गुठीको ज्यूलोमा गएँ।‬ अरूलाई हौसला समेत प्रदान गर्दै आफैं जुम्ली परम्पराको सम्मान गर्दै जुम्ली पोशाक नै लगाएर धान रोपेँ।

तर संसदमा एक जना सांसदबाट नै ‘रोपार्नी सिडिओ पठाएको’ भनेर मेरो कार्यक्षमतामै प्रश्न उठाइयो।

त्योभन्दा अगाडि गएका पुरुष सिडिओलाई त्यस्तो ‘रोपार्नी, बाउसे वा हली कर्मचारी’ भनेर संसदसम्म आवाज उठाइएको मैले सुनेकी थिइनँ।‬

घर बिदामा गएका प्रहरी नायव उपरीक्षकले केही हप्तासम्म ‘धन्न, बिदामा गइएछ।‬ सिडिओ गएपछि म पनि जानुपर्थ्यो।‬ मलाई पनि डिएसपी पठाएको कि हली पठाएको भनी प्रश्न उठ्ने रहेछ’ भनेर हँसाउनु हुन्थ्यो।‬

जिल्लामा त्यहाँ चलिआएको संस्कृति र परम्पराको सम्मान गर्दा पनि महिला भएका कारण अनावश्यक बहस हुँदा नरमाइलो लाग्यो।

भूमिका र जिम्मेवारीः

दक्षिण कोरियाको ईभा वुमन्स युनिभर्सिटीको मास्टर डिग्रीमा मेरो शोधपत्र लेखन क्रममा हार्वर्ड युनिभर्सिटीमा अध्ययन गरेर फर्केका प्रोफेसर डाक्टर योंग्जिंग चो मेरो थेसिस गाइड हुनु हुन्थ्यो। उहाँका कक्षा असाध्यै उत्प्रेरक हुन्थे। प्राय: उहाँ ‘सिकेर गएपछि आफ्नो देशमा आफूले पढेको विषयमा योगदान पुर्‍याउनु’ भन्नुहुन्थ्यो।

विश्वका २७ राष्ट्रका सरकारी कर्मचारी एकै ठाउँ रहेर अध्ययन गरेकाले मैले विभिन्न देशका महिलाको अवस्था, त्यहाँको संस्कृति, परम्परा, नीति-निर्माण सम्बन्धमा अध्ययन गर्ने अवसर पाएँ। अध्ययन सकेर फर्किँदा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेकी म सरूवाका लागि मन्त्रालय गएँ।

‘राष्ट्रिय योजना आयोगमा जान पाए हुन्थ्यो सर,’ मैले अनुरोध गरेँ।

केही दशक अघिसम्म हाम्रो जस्तो आर्थिक अवस्था रहेको कोरियाले गरेको तीव्र विकास र आर्थिक उन्नतिका सम्बन्धमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्राप्त गर्ने अवसर मलाई मिलेको थियो। आफूले बुझे-जानेको थोरै कुरा भए पनि तर्जुमा गरिने योजनामा मैले पृष्ठपोषण दिनु सक्छु कि भन्ने मलाई थियो।

सरले भन्नुभयो, ‘त्यहाँ महिला धेरै भएका छन्, नपठाउनू भन्ने कुरा छ।’ 

म छक्क परेँ।

के महिला गणनाका लागि मात्र हुन्?

अनि त्यस्तो सोच देख्दा दुःख पनि लाग्यो। कुनै अफिसमा ‘पुरुष धेरै भए, अन्य पुरुष नपठाउनू’ भनेको त अहिलेसम्म मैले सुनेकी छैन।

परिवार व्यवस्थापन र कामको सन्तुलनः

स-साना तर समय बढी लाग्ने र आर्जन नहुने खालका घरायसी काम हुन्छन्। बूढाबूढी, बच्चाबच्चीको हेरचाह, सरसफाइ, खाना-खाजा बनाउने, बच्चा स्कुल पुर्‍याउने जस्ता काम आज गरे सकिन्छ भन्ने नि हुँदैन। दिनहुँ गरिरहनु पर्छ। यसैमा पानी, बिजुलीको बिल, बच्चाको स्कुलको शुल्क लगायत काम थपिँदा फुर्सद निकाल्नै गाह्रो हुन्छ।

पढाइका लागि काम सकेर बचेको समय मात्र हो। त्यही समयमा पढ्न मन लागेर एकाग्र हुन सके पढिन्छ। त्यसरी पढेर पास भएर जागिर गर्ने कामकाजी महिलाका झन् दोहोरो भूमिका निर्वाह गर्नुपर्ने हुन्छ। कहिलेकाहीँ त अफिस नपुग्दै बिहानै घरायसी कामका कारण थकान महशुस हुन्छ।

महिला, त्यसमाथि सानो बच्चाकी आमा र अफिसको कामकाज थपिँदा त समय व्यवस्थापन गर्नै मुश्किल। शिशु स्याहार केन्द्र र गर्भवती तथा नवआमाका लागि आराम तथा स्तनपान सहितका लैगिक संरचना सबै ठाउँमा बनेको छैन। शिशुलाई दिउँसो स्याहार्न सम्भव हुँदैन। बच्चा हेरचाह र स्तनपान गराउन नपाएर छाती गानिन्छ।

विद्यालयको बसमा चढाएको बच्चा अप्रत्यासित रूपमा चक्का जाम र सडक बन्द हुँदा बाटैबाट फर्काइँदिदा कहिलेकाहीँ कार्यक्षेत्रमै लैजान पर्छ। अहिले कोरोनाका कारण स्कुल लगायत डे-केयर सेन्टर लामो समयदेखि बन्द छन्। कामकाजी अभिभावकले मन एकाग्र गरी काम गर्न कठिन भएको छ।

कहिलेकाहीँ स्कुल नै पुग्न नपाई बाटैबाट घर फर्किएको बच्चाले, ‘मम्मी अब म कहाँ जाने’ भन्यो भने कता पठाउनु? सकसै हुन्छ। त्यस्तै कहिलेकाहीँ बाध्यताले बच्चा अफिस ल्याउनु पर्ने हुन्छ। आफू मिटिङमा गएको वा काममा भुलेको बेला बच्चाले कम्युटर चलाई दिँदा समेत अनावश्यक समाचार बनेको पाइन्छ। अनि सामाजिक सन्जालमा ‘सरकारी अफिसमा कम्युटरको दुरुपयोग’ भन्दै गालीको वर्षा हुन्छ।

बालबालिकाको बालसुलभता, चञ्चलता रोक्न सकिँदैन। सरकारी कर्मचारी भन्दैमा आफ्ना बच्चाबच्चीलाई रुवाउँदै आफ्नै मन दुखी बनाएर मेसिनजस्तै कसरी सेवा प्रवाह गर्छु भनेर भन्न सकिएला र!

महिनावारीः

महिनावारी प्राकृतिक प्रक्रिया हो। २८ दिने चक्रका आधारमा महिनावारी हुने दिन पूर्वानुमान गर्न सकिए पनि समय यकिन गर्न सकिँदैन। रजस्वला हुँदा सामान्य अवस्थामा त व्यवस्थापन हुन्छ तर कार्यालय समयमा विभिन्न कठिनाइ सामना गर्नुपर्ने हुन्छ।

सामान्यतया त्यस्तो बेला महिलालाई पेट दुख्ने, वाकवाकी लाग्ने लगायत समस्या हुन्छन्। पेट दुखेर आच्छु-आच्छु हुँदा आराम गर्नुपर्‍यो भने अर्कै बाहाना बनाएर वा टाउको दुख्यो भनेर घर निस्कनु पर्ने हुन्छ।

एक पटकको कुरा हो, मेरो कार्यालयमै महिनावारी भयो। झोलामा प्याड रहेनछ। राख्नै बिर्सिएछु। अफिसमा मिटिङ सुरू हुने बेला भएको थियो। आफैं बाहिर गएर किन्न सम्भव भएन।

सहयोगी कर्मचारी खोजेको, सब पुरुष। पुरुष कर्मचारीलाई आफ्ना लागि प्याड किन्न पठाउन मन लागेन। अनि महिला कर्मचारी सबैलाई सोधे प्याड छ कि भनेर सोधेँ। छैन भन्नुभयो। उता मिटिङको हतार, यता हल्ल्लल्ल्ल रगत बग्न लाग्यो। मिटिङमा मेरो ध्यान एकाग्र हुनै सकेन। कतै रगत लाग्ने हो कि भन्ने लागिरह्यो। लागि हाल्यो भने लज्जावोधले आत्मग्लानी हुन्छ।

अझ दुरदराजमा बसेर काम गर्दा शौचालयकै समस्या हुन्छ। अझै पनि सरकारी कार्यालयको शौचालयमा ध्यान दिएको पाइँदैन। बनाइएका शौचालयमा पानी छ कि छैन भन्नेमा समेत छलफल भएको पाइँदैन। अनि प्याड/ कपडा राख्ने भाँडो नभेटेर पत्रिकामा पोको पारेर आफ्नै झोलामा राखेर अफिसबाट घरमै लग्न बाध्य हुनुपर्छ।

आम महिलाका सवाल उठाउनु पर्ने केही उच्च पदमा जिम्मेवार पदाधिकारीको अट्याच ट्वाइलेट हुँदा यसको गाम्भीर्यता महशुस हुँदैन। महिलाका मुद्दामा संवेदनशील नभइदिँदा यस्ता विषय छलफलका एजेन्डा सरकारी अफिसमा बनेको देखिँदैन।

तर समस्या महशुस गरी मिहिन रूपमा विश्लेषण गर्न सके काम हुँदो रहेछ।

म आफू प्रमुख जिल्ला अधिकारी हुँदा जिल्ला प्रशासन कार्यालय, जुम्लाको महिला शौचालयमा कार्यरत महिला कर्मचारी र सेवाग्राहीलाई लक्षित गरी स्यानिटरी प्याड व्यवस्था गरेका थियौं। 

खैरो कपाल र सामाजिक मनोविज्ञानः

ऐनमा निर्धारण गरेको उमेरअनुसार जाँच पास गरी छनौट भएर गए पनि महिला कर्मचारीलाई सुरूमै विश्वास गर्न गाह्रो देखिन्छ। पुरुष कर्मचारी भए ‘सर’, महिला भए ‘नानी’, ‘बैनी’, ‘दिदी’, यस्तै भनेर सम्बोधन गरिन्छ। पारिवारिक हिसाबमा त ठीक होला तर कार्यालमा काम गर्ने कर्मचारीलाई मायाले होस् या दयाले गरिने यस्ता सम्बोधन विभेदका संकेत हुन्।

कार्यालयमा महिला कर्मचारी देख्नेबितिकै गर्ने कामबारेमा प्रश्न सोधिँदैन। प्रश्न त उनको थर, घरतिरको कि माइत तिरको, घरको थर भए माइतीको बिर्सिएको?, माइती थर भए घरको किन नराखेको, जस्ता नितान्त व्यक्तिगत प्रश्नले समय खाइदिन्छन्।

अझै मौका पाए भने अगाडि बढेर, ‘तपाईंको श्रीमान के गर्दै हुनुहुन्छ?’, महिला कर्मचारी खरिदार हुन् भने ‘सर नायब सुब्बा हुनुहुन्छ?’, अफिसर महिला हुन् भने उपसचिव एवम् रितले एक तह माथिल्लो पद राखेर प्रश्न गरेका हुन्छन्।

अर्कोतर्फ कुनै महिलाको पद श्रीमानभन्दा माथिल्लो छ भने त अहो! ‘उनको श्रीमान त…स्वास्नीभन्दा तल्लो पदमा रहेछन्, त्यो पुरुषलाई त मान्नै पर्छ, भन्ने गाइँगुइँ सुनिन्छ।

श्रीमती माथिल्लो पदमा पुग्नु उनको क्षमताभन्दा श्रीमानको अक्षमताका रूपमा मापन गरेको पाइन्छ।

सामान्य साक्षर श्रीमतीले लोग्नेको माथिल्लो पदप्रति गर्व महशुस गर्दै हार्दिकता व्यक्त गर्छिन्। पुरुषका हकमा फरक कार्य क्षेत्र भए सहज रूपमा लिएको देखिन्छ। तर एउटै कार्यक्षेत्रमा रहँदा श्रीमती माथिल्लो दर्जामा हुँदा श्रीमान खुसी हुनुको साटो हिनताबोध महशुस गर्ने वातावरण हुन्छ। यसले सम्बन्धमै मनोवैज्ञानिक दरार आउने सम्भावना देखिन्छ।

यी परिवेश केलाउँदा पितृसत्ताको जड निजामती सेवामा गहिरिएर गडेको देखिन्छ।

विदेशका महिला राष्ट्रपति र प्रधानमन्त्री/मन्त्रीले संसदमै स्तनपान गराएको, बिदामा घुमघाम गरेको, समुद्र किनारमा बसेर वाइन पिएको तस्वीरलाई हामी ‘वाह वाह’ गर्छौं।‬ तर आफ्नोमा खुरूखुरू काम गर्ने, चर्चामा आउन नचाहने र कानुन अक्षरस पालना गर्नेलाई ‘समन्वय नगरेको’ भनिन्छ।

कसैले मुक्तकण्ठले प्रसंशा गरे भने ‘महिलाहरूले त अलि-अलि गरे पनि देखिहाल्छ, मिडियाले खोजी-खोजी लेखिहाल्छ, सेलेब्रेटी’  भन्दै कार्यक्षमता नै कम आकलन गरेर हैसियतमै चोट पर्ने गरी कुरा गरिन्छ।‬ मौका पाए ‘सोह्र शृङ्गार गरेका’ भन्दै अप्सरासम्मको गुणगान गाइन्छ।‬

अझ महिला कर्मचारीले मेकअप गर्छन् कि गर्दैनन्, गर्छन् भने लिपिस्टिकको रङ कस्तो छ, कम्मरको लचकता, साडीको सप्को र कपालको कलरको कुरा गर्दै नितान्त व्यक्तिगत कुरामा टिप्पणी गरेको पनि पाइन्छ।‬ शृंगार नगर्नेलाई पनि महिला भएर पनि कस्ती रुखी भनेर आलोचना गरेको सुनिन्छ।‬

एक पटक एकजना शुभचिन्तक सरले फोन गर्नुभयो।

‘तपाईंलाई राम्रो काम गर्ने, काममा खटिने मान्छे भन्छन् तर खैरो कपाल गरेकी, फोटा राख्ने नक्कली भनेर कुरा काट्छन्। किन मान्छेलाई कुरा काट्ने मौका दिनु हुन्छ? किन मान्छेको तारो बन्नु हुन्छ? कपाल कालो पार्नुस्। तपाईंलाई नजिकबाटै चिनेको छु, तपाईं कस्तो हो भन्ने थाहा छ। राम्रो चाहेकाले कुरा काटेको सुन्दा नमिठो लागेर सुनाएको र सुझाव दिएको मात्र हुँ,’ उहाँले भन्नुभयो।

म छक्क परेँ। कपाल त धेरैले रंग्याउँछन्। रङ फरक होला। मलाई त रहर लागेर कलर गरेकी छु। खुशी छु। मेरो कपालको रङले निजामती सेवाको छविमा दाग लाग्ने हो र?

कानुनका मापदण्ड र पेशागत आचरण त पालना गरेकी छु। अनि सदैव सम्मान पनि गर्छु। व्यक्तिगत रूपमा गरिने टिप्पणीले मलाई फरक नपर्ला। तर के निजामती सेवामा जागिर खाँदैमा आफूलाई मनलाग्दो बन्नु हुँदैन र? निजामती कर्मचारी हुँदैमा दुखी, पीडित, कुण्ठित, जुम्से नै देखिन वा बन्न पर्ने हो र? निजामती सेवामा रहने व्यक्तिमा आफ्नो सौख, रूचि र आफ्नै शैली हुँदैन र?

महिलाको शीलस्वभाव र शालीनताको रेखा समाजले कोरिदिएको हुन्छ। त्योभन्दा बाहिर गए आलोचनाको शिकार भइन्छ। अन्य सेवाका लागि मार्गदर्शन बन्नुपर्ने सेवाका व्यक्तिले त कपालको रङ र आफ्नै कार्यालयका महिला कर्मचारीका आवरणलाई लिएर तर्क गर्छन् भने यो सबै पितृसत्तात्मक सोचकै उपज हो भन्न सकिन्छ।

‘सुनक्रेसा’ का कथा पढेर हुर्किएका हामी सुनको जस्तो रङ भएको सुनौलो कपाल पचाउन सक्दैनौं। कि त्यस्ता कथा किताबमा मात्र सीमित हुन्?

हुन त हृदयको रङ हुँदैन। रङ अनुसारका मान्छे पनि हुँदैनन्। कपालको रङ कालो हुँदा मान्छेको हृदयको रङ कालो हुँदैन नै। न त खैरो कपालले उसको विचार, कार्यक्षमता र मनको अवस्था चित्रित गर्छ। तर साँघुरो सोच हुनेले महिलाको कपालको रङ, कानका झुम्का, खिचेका तस्वीर र जिउडाल जस्ता कुरामा चरित्रको रङ देख्छन्।

एउटा कार्यालयमा भर्खरै युवा उमेरको रहरले भरिपूर्ण युवा प्रवेश गर्छिन्। पदीय जिम्मेवारी बहन गरेकाले उनलाई अनुभव र ऊर्जाले बाटो देखाउनु पर्नेमा उनका रूचि क्षमता र बाध्यता अंकुश लगाउने मानसिकताले ऊर्जावान् युवा संकुचन भई उनको मनोबल गिर्न पनि सक्छ।‬ अनि कसरी काममा सृजनशीलता र नागरिक सेवा प्रवाह गर्न सकिएला?

कसलाई सुनाऊँ गुनासो!

आफ्ना स-साना समस्या सम्बोधन कार्यालयबाट भइदियोस् भन्ने लाग्छ। तर त्यस्तो प्रकारको गुनासो सुन्ने संयन्त्र कर्मचारीका लागि छुट्टै विकास भएको पाइँदैन। पेसागत हकहितका लागि आधिकारिक ट्रेड युनियनको व्यवस्था निजामती सेवा ऐन-नियममै गरिएको भए पनि त्यस्ता संगठनले पेसागत कुरा उठाउनुको सट्टा आफ्नै पार्टी र पेसाका कर्मचारीका लागि मात्र काम गर्ने गरेको देखिन्छ। कार्यालयमा हुने मिटिङमा उठाउन नसक्ने छुटै संवेदनशील खालका अप्ठ्यारा, बाध्यता, असहजता पनि हुन्छन्।

एकदिन फोनको घन्टी बज्यो। फोन आमाको रहेछ।

‘कहाँ हो?’ भन्नुभयो।

मैले भनेँ, ‘अफिस मै छु तर कुरा गर्न मिल्छ। त्यता सब ठीक छ नि?’ 

‘के ठीक भन्नु, बा रात भरि छट्पट छट्पट गर्नु हुन्छ। घाँटी घ्यारघ्यार बाहिरै सुनिने गरी गर्छ। हिजो सिभिल अस्पतालमा गएको।’

मैले अतालिँदै सोधेँ, ‘फेरि गाह्रो भयो र बुबालाई?’

‘कोरोनाका कारण यस पटक त दिल्ली जान नि पाउनु भएन। तर राजीव गान्धी क्यान्सर हस्पिटलका डाक्टर मनिषसँग फोनमै कुरा गरेर औषधी मगाएको छ। तिमी घर नआएको नि धेरै भयो। घर कस्तो सुन्ने भएको छ। यता सरूवा भए छोरी भित्र बाहिर गर्दा घर कस्तो उज्यालो हुन्छ।’

जागिर खानुपर्छ, गाउँमै जानुपर्छ, दीनदुखीको सेवा गर्नुपर्छ र उनीहरूको मनमा बस्नुपर्छ भन्नुहुन्थ्यो आमा। हाम्रा हातखुट्टा चल्दासम्म घरको कुनै चिन्ता नलिनू भनेर मलाई चुनौती सामना गर्न ऊर्जा दिने आमाले समेत घुमाउरो पारामा घरै आऊ भनी निराश बनेको देख्दा नरमाइलो लाग्यो।

दुर्गममा गएर लामो समय काम गरेकी पनि छु।

‘आमा ढुक्क हुनुस्। अहिले बुवा र हजुरको ख्याल गर्नुस्। अबको लटमा मेरो त्यहीँ नै सरुवा हुन्छ’ भन्दै आमालाई विश्वस्त बनाएर फोन राखेँ। मन्त्रालयमा फेरि आफ्नो कुरा राखेँ।

केही समयपछि सरुवा त भयो। अपसोच, घरपायक सरुवा हुनेमा मेरो नाम थिएन। पारिवारिक, शारीरिक कारणले संगठनले राम्रो उद्देश्यका लागि गरेका कतिपय सरुवा पनि असजिला हुन् सक्छन्। त्यो सुनाउन सक्ने अवस्था रहँदैन। सक्नेलाई त चाहेका बेला चाहेको ठाउँमा जसरी सरुवा मिलेको पाइन्छ। आफ्नै सहकर्मीबीच विभेद र दोहोरो मूल्यांकन भएको देख्दा झन् मनोबल गिर्छ।

आफैंले सम्मान गरेको संस्थाको असन्तुष्टि अन्य स्थानमा कसरी पोख्न सकिन्छ र? प्रश्नैप्रश्नले प्रश्न सोधी आफैंलाई ऐंठन पर्दा समेत त्यसको सुनुवाई गर्ने उपयुक्त स्थान नपाउँदा आफ्नै घाँटीमा अड्किएर घिटघिट भइरहन्छ। अप्ठ्यारो परेकालाई आँट, साहस र भरोसाले अभिभावकत्व प्रदान गर्नु पर्ने ठाउँमा कुनै अमूक पक्ष र वर्गलाई संरक्षण गरिँदा गुनासो बोकेर कहाँ जाने?

‘म्याडम हजुरहरूलाई केही चाहिन्छ कि?’ भन्दै मेनु ल्याएर टेबलमा राख्दा हाम्रा कुराको क्रमभंग भयो। बाहिर हेरेको त झमक्क साँझ परिसकेछ। यता टेलिभिजनमा अमेरिकामा उपराष्ट्रपति पदमा दौडिरहेकी कमला ह्यारिसको तस्वीर आइरहेको थियो।

उता सामाजिक सञ्जालमा टर्किस उत्पीडित तथा श्रमजीवी जनताको मुक्तिका निम्ति आवाज उठाउँदै आएकी कानुन व्यवसायी तथा मानव अधिकारकर्मी इब्रु तिम्तिकको २३८ दिनको भोक हड्तालबाट भएको निधनको श्रद्धाञ्जली व्यक्त गर्दै महिलामुक्तिका कुरा उठाई स्टाटस, कमेन्ट र ट्विट आइरहेका थिए।

हुन त यी समस्या नभोग्ने र नबुझ्नेलाई असाध्यै सामान्य लाग्न सक्छन्। अचानोको पिर खुकुरीले जान्दैन भन्ने नेपाली उखान पनि छ। तर एकआपसमा आफ्ना सम्यस्या सुनाउँदा मन केही हल्का भएको थियो।

राज्यलाई सेवा गर्ने अभिलाषाका साथ जीवनको ऊर्जावान् समय बिताउन हामीले रोजेको निजामती सेवामा समाजमै रहेका जातजाति, वर्ग र क्षेत्रको प्रतिनिधित्व बढ्दै गएको छ।

तर हामीपछिको पुस्तामा यी कथा दोहोरिएलान् कि नदोहोरिएलान्? यो प्रश्न मनमा राखेर हामी आ-आफ्नो गन्तव्यतर्फ लाग्यौं।

मलाई पनि छाडेनन्

गुणाकर अर्याल
मदनपोखरा, पाल्पा
मलाई पनि छाडेनन्
उनीहरु पहिला चिनमा पुगे
र चिनियाँहरुलाई लगे
यतिवेला मैंले सुनेको नसुन्यै गरें
किनभनें म चिनियाँ थिइन
यसपछि उनीहरु यूरोपतिर लागे
विश्वप्रशिद्ध धेरै खेलाडीहरुलाई चपाए
यतिवेला पनि म चुपचाप बसें
किन भने म यूरोपियन थिइन
त्यसपछि उनीहरु अमेरिकातिर छिरे
लखौं अमेरिकनहरुलाई घिसारे
यतिवेला पनि मलाई त्यस्को वास्ता भएन
किनकि म अमेरिकन थिइन
त्यसपछि उनीहरु भारतमा पसे
हजारौंको हत्या गरे
मैंले समाचार सुने मात्र, केही बोलिन
किनभने म इन्डियन थिइन
चैतमा त उनीहरु नेपालमैं आइपुगे
१०\२० गर्दै सयौंं जनाको प्राण लिए
मैंले टेलिभिजनबाट थाहा पाएँ तर जुर्मुराइन
कारण उनीहरु मेरा नातेदार थिएनन्
यसपछि उनीहरु मेरो गाउँमा नै आईपुगे
धेरै गरीवहरुको गला निमोठे
मैंले विचरा मात्र भनें तर केही गरिन
किनभने म गरिव थिइन
आज त उनीहरु मेरै घरमा आए
मलाई मास्क नलगाएको ,हात नधोएको पाए
धेरैजनासंग एकै ठाउँमा बसेको पाएपछि
मलाई अठ्याउन उनीहरुलाई सजिलो भयो
यसरी उनीहरुले मलाई पनि छाडेनन्
मैंले छरछिमेकमा हारगुहार मागें
तर कोही पनि आएनन्
कारण यतिवेला छिमेकमा कोही पनि थिएनन् ।।

पाल्पामा काेराेना संक्रमण बढ्दाे, सावधानी अपनाउन अपिल

Nurse wearing respirator mask holding a positive blood test result for the new rapidly spreading Coronavirus, originating in Wuhan, China

तानसेन । पाल्पामा काेराेना संक्रमण तिब्र गतिमा बढेकाे तथ्यांक देखिन थालेकाे छ । भारत र विदेशबाट आएका नागरिक मात्र हाेइन, समुदायमा रहेका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, वित्तीय संस्थाका कर्मचारी, व्यवसायीमा पनि काेराेना पाेजेटिभ देखिएकाे छ ।  स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले पाल्पामा काेराेना संक्रमण बढ्रन थालेकाे बताउनुभयाे । 

जिल्ला प्रशासन कार्यालय पाल्पाले काेराेना संक्रमणकाे जाेखिमला दृष्टिगत गरी दुइ हप्ता जिल्ला शिल गरेकाे थियाे । जिल्लाभित्रका नाकामा दुइ तहकाे सुरक्षाकर्मी परिचालन गरी चेकजाँचमा कडाइ गरिएकाे छ । बुटवल पाल्पा सीमानामा सशस्त्र प्रहरी परिचालित छ भने दाेभानमा नेपाल प्रहरीले चेक जाँच गरेकाे छ । अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गरिएकाे प्रमुख जिल्ला अधिकारी रमेश न्याैपानेले बताउनुभयाे । 

जनप्रतिनिधि संक्रमित, तानसेन नगरपालिका बन्द 

तानसेनका जनप्रतिनिधिलाई काेराेना संक्रमण देखिएपछि कार्यालय बन्द गरिएकाे छ । नगरपालिकाका जनप्रतिनिधिसहित समुदायमा संक्रमण बढेपछि नगरपालिकाले बिहीबारदेखि नगरपालिका र मातहतका कार्यालय बन्द गरेकाे हाे । नगरपालिकाले सूचना प्रकाशन गरेर नगरपालिका र मातहतका सबै कार्यालय बन्द रहने जनाएको छ । नगरपालिकाका प्रवक्ता दामाेदरप्रसाद घिमिरेले नगरपालिकाकाे कार्यालय बन्द रहने जानकारी दिनुभयाे। उहाँले केही अत्यावश्यक कामबाहेक अन्य सबै सेवा बन्द गरिएकाे बताउनुभयाे । अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि बन्द रहने छ ।

तानसेनकाे वडा नं १ का २ जना, वडा नं. २ का १ जना, वडा नं. ६ का १ जना, वडा नं. ७ का ३ जना, वडा नं. ८ का २ जना, वडा नं. ९ का १ जना, वडा नं. १० का ४ जना, वडा नं. ११ का १ जना र वडा नं. १२ का २ जना सङक्रमित थपिएका थिए । एक वडा अध्यक्ष सहित चार जना जनप्रतिनिधि, बैंकका गार्ड, एम्बुलेन्स चालक, व्यापारी समेत रहेका छन् । 

मेडिकल कलेजका अध्यक्ष संक्रमित

लुम्बिनी मेडिकल कलेज एण्ड शिक्षण अस्पतालका कार्यकारी अध्यक्ष गोपालबहादुर पोखरेललाई कोरोना संक्रमण भएको छ। लुम्बिनी प्रादेशिक प्रयोगशाला बुटवलमा गरेकाे परीक्षणमा काेराेना पाेजेटिभ देखिएकाे हाे । पाेखरेल अहिले पाल्पास्थित होम आइसोलेसनमा बस्नुभएकाे छ । उहाँको अवस्था सामान्य रहेको कलेजका कम्पनी सचिव निर्दोष खनालले बताउनुभयाे । ‘काेराेना संक्रिमित आइसोलेसन राख्न खटिने क्रममा संक्रमण भएछ । छिट्टै निको भएर उहाँ पुनः सेवामा फर्कनु हुनेछ।’

अध्यक्ष पोखरेल चिकित्सकको परामर्श लिएर कलेजमै होम आइसोलेसनमा बस्नुभएकाे छ । यस कलेजमा कोरोना संक्रमितको उपचार गर्न आइसोलेसन निर्माण गरिएको छ।  पोखरेल अग्रपंक्तिमा रहेर संक्रमितको उपचार सेवामा सक्रिय थिए। अध्यक्षलाई कोरोना पोजेटिभ भएपछि मेडिकल कलेजकाे प्रशासनिक कर्मचारीकाे कन्ट्याक्ट ट्रेसिङ गरेर २४ जनाको स्वाब संकलन गरिएको थियो। पिसिआर परीक्षणपछि उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

रम्भाकाे पीपलडाँडा पनि शील

रम्भा गाउँपालिका वडा नं. ३ पीपलडाँडाका जनप्रतिनिधि सहित समुदायमा काेराेना संक्रमण देखिएपछि रम्भाकाे वडा नं. ३ पीपलडाँडा क्षेत्र एक साताका लागि शिल गरिएकाे छ । वडा नं. ३ बाट दिने सम्पूर्ण सेवा भदाैँ २६ गतेदेखि एक हप्ताका लागि बन्द गर्ने स्थानीय काेराेना नियन्त्रण तथा राेकथाम समितिकाे बैठकले निर्णय गरेकाे छ ।

पीपलडाँडा क्षेत्रका हाेटल, सवारीसाधन पसल, व्यापार व्यवसाय तथा बैंक समेत बन्द हुने गाउँपालिकाका अध्यक्ष विष्णु भण्डारीले जानकारी दिनुभयाे । काेराेना संक्रमण थप हुन नदिन र त्यसबाट हुने सम्भावित जाेखिम कम गर्न यस्ताे निर्णय गरेकाे गाउँपालिकाले जनाएको छ ।

सत्तरी वर्षदेखि मौरीको पर्म, हर्नेटारका पल्ली बाको कर्म

पाल्पा । घरको बार्दली, गोठ, बारीको कान्ला, खरबारीको पानी ओत्ने कुनाकानी, ओडार मौरीका घारले छपक्कै ढाकिएको छ । बार्दलीभरि मकैका झोत्ती बारी खरबारीभरि मौरीको घारले भरिभराउ यो घरका मुली हुन्, ८२ वर्षिय नरबहादुर पल्ली । विगत ७० वर्षदेखि मौरी पाल्दै आएका पल्ली परिवारको मुख्य आम्दानीको स्रोत नै मह व्यवसाय हो ।

नरबहादुर पल्लीलाई माथागढीका सबैले पल्ली बा भन्दछन् । उनले थोरै लगानी, कम मिहिनेतमा धेरै फाइदा लिन सकिने भएकाले मौरीपालनलाई जीविकोपार्जनको पेशा बनाएका छन् । गाउँ सहरका मानिसहरु मह किन्न मानिसहरु घरमै आइपुग्छन्, बिक्रीका लागि समस्या छैन । पल्ली बासँग हाल ६० भन्दा बढी घार छ । मानाको ७ सय पचास रुपैंयामा घरबाटै मह बिक्री हुने गरेको छ । वर्षमा एक लाखभन्दा बढी आम्दानी मह बेचेर हुने गरेको छ । मौरीपालनको आम्दानीबाट अपांगता भएका छोरा बुहारी, श्रीमति, नाति नातिनाको खर्च पु¥याएका छन् । घर खर्च मौरीपालनले नै चलेको छ ।

मरमरा र खापुक वरिपरिका जंगलमा बाहै महिना फूल फुल्छन् । मौरीले विभिन्न प्रजातिका फूलको रस लिने र बोटबिरुवामा परागसेचन गराएर रसिलो फल लाग्ने भएकाले स्थानीय समुदायलाई फाइदा पुगेको छ । युवा समाजसेवी शंकर दर्लामीले भने, ‘पल्ली बा जस्ता बुढापाकाले मौरी पाल्ने, गेडागुडी फलाउने, अदुवा बेसार लगाउने, नाम्लो दाम्लो बाट्ने गरेर जीविकोपार्जन गरेका छन् । आत्मनिर्भर छन् ।’

चौरासी पूजा गर्ने उमेरका पल्ली बा भिरपहरामा ठ्यामठ्याम्ती हिंड्ने, कटकुरो र घार ओत्ने छाप्रो बनाउने गरेको देख्दा गाउँउलेहरु दङ्ग पर्दछन् । पल्ली बा को कान्छो छोरा र कान्छी बुहारी अपांग छन् । माइलो छोरा घर गृहस्थीमै छन् । मौरी हेर्ने, मह काड्ने, शत्रु जीवबाट जोगाउने र न्यानोमा राख्ने काम पल्ली बा कै जिम्मा छ । जाडोका बेला भर्लाको पातले घार ढाक्ने र रातका बेला घार बोकेर घर ल्याउने कार्य दिनचर्या जस्तै बनेको छ ।

यसपाली ठूलो झरी प¥यो । झरीमा मौरी घार बाहिर निस्केर चर्न पाएन । आहारा पुगेन, म¥यो । पल्ली बा ले ठट्यौली पारामा भने, ‘रात न दिन झरीको झरी प¥यो । कोरोनाले मौरी मा¥यो । सत्तरी घारमा रहेका मौरीमध्ये तीस घार रित्तियो । बाँकी चालिस घारबाट फेरि फैलिदैछ । फालफूल फुलेको वर्ष १४\१५ पाथी मह निस्कन्थ्यो ।

पल्लीको परिवार लेकको बस्ती छोडेर सुखको खोजीमा २०२२ सालमा हर्नेटारमा झरेको हो । आफू १२ वर्षको हुँदा मौरी पाल्न सुरु गरेका पल्ली बा लाई मौरी जतिको गुनी जीव र मह बिक्री जतिको राम्रो पेशा केही लागेन । मौरीले पल्लीलाई चिन्छ, पल्लीले मौरीलाई चिन्दछन् । घर नजिकै जंगल भएकाले मौरी चर्न सजिलो छ तर जंगली जनावरबाट बचाउन सकस पनि पर्ने गर्दछ । पल्लीले भने, ‘माउखाने, बछिउँ, अरिंगाल, कमिलाले पनि मौरी खान्छ । मौरीका शत्रु धेरै छन् । माउखानेबाट बचाउन म रातभर हिंड्छु ।’ जंगलमै मौरी कुर्ने गोठ र मौरीको घार नजिकै पासो थापेको छ ।


माथागढी गाउँपालिकाको वडा नं. ४ को झडेवा र मरमरा खोलाको दोभान हर्नेटार हो । पहाडको घेंचमा बेसीभन्दा माथिको समस्थललाई टार भनिन्छ । हर्नेटार मात्र होइन, मरमरा, चौलानीगैरा, खापुक क्षेत्रमा किसानहरुले परम्परागत रुपमा मौरीपालन गर्दै आएका छन् । प्रायः हरेकको घरमा एक दुई वटा मौरीको घार छ । मौरीपालनमा रुची राख्नेहरुले ठूला काठको मुढा खोलेर काठे घार बनाएर मौरी पालेका छन् । यो क्षेत्रमा ३ सयभन्दा बढी मौरीका घारहरु छन् ।

माथागढी ४ को मरमराका बिरमान रानाले आधुनिक र काठे गरी करिव ३० घारमा मौरी पालेका छन् । अधवैंशे रानाको प्रेरणा स्रोत पनि पल्ली बा नै हुन् । बाल्यकालमा पोलिएर एउटा खुट्टा गुमाएका राना माथागढीमा मौरीपालनको सम्भावना राम्रो देखेका छन् । मरमराका अरु बासिन्दाले बारी, खरबारी र जंगलमा काठको मुढामा मौरी पालेको देखिन्छ । रानाले भने, ‘समुदायमा ज्ञान, सीप र प्रविधिको अभावमा काठे घारमा मौरी पालेका छन् । आधुनिक प्रविधि र आधुनिक घारमा सरकारले अनुदान दिने हो भने यो क्षेत्र मौरीका लागि प्रशिद्ध बन्न सक्छ ।’

मौरी फूलको रस खोज्न कौडेलेक, रेदीको डाँडा, देउगिरसम्म पुग्ने गर्दछ । जैविक विविधताले धनी लेकमा रहेका विभिन्न प्रजातिका फुलबाट बनेको मह भएकाले पनि यहाँको महलाई महत्व दिने गर्दछन् । चिनीको चास्नी खुवाएर पाल्ने, प्रशोधितको नाममा मिसावटयुक्त मह बेच्नेहरुको अगाडि शुद्ध मह उत्पादन गरेर बिक्री बितरण गर्ने पल्ली बा साँच्चिकै किसान हुन् ।

प्रदेशसभा सदस्य नारायणप्रसाद आचार्यले मौरीपालनबाट रोजगारी मिलेको, आयआर्जन गरेको र सानै रुपमा भए पनि उद्यमी बनेको देखेर पल्ली बा लाई भेटेर कर्मशील जीवनको प्रशंसा गरे । चार माना मह किनेर उत्साह थपे । आचार्यले भने, ‘पल्ली बा तपाईको सुकर्म फैलिन्छ । प्रदेश सरकार वास्तविक किसानलाई सहयोग गर्न अवश्य आउनेछ । ’

माथागढीको मरमरा मौरीको स्मार्ट कृषि गाउँ


झडेवा । कृषि ज्ञान केन्द्र पाल्पाले माथागढी गाउँपालिकामा स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन सम्बन्धी अन्तक्र्रिया तथा छलफल गरेको छ ।

परम्परागत तरिकाले मौरीपालनमा गर्दै आएका किसानको उत्साहलाई समेटेर माथागढी गाउँपालिका वडा नं. ४ को मरमरा, हर्नेटार, चौलानीगैरा, खापुक क्षेत्रमा मौरीको स्मार्ट कृषि कार्यक्रम सञ्चालन गर्ने ज्ञान केन्द्रले तयारी गरेको हो । माथागढी ४ को मरमरा क्षेत्रमा ३ सयभन्दा धेरै काठे मौरीका घार रहेका रहेका छन् । स्थानीय बासिन्दाले बारी, खरबारी र जंगलमा काठको मुढामा मौरी पालेका छन् ।

मरमरामा आयोजित अन्तक्र्रिया कार्यक्रम प्रदेशसभा सदस्य नारायण प्रसाद आचार्यले जैविक वनस्पतीको फुलमा आधारित मौरीपालनबाट उत्पादित महको महत्व बढी भएकाले व्यावसायिक मौरीपालन गर्न किसानहरुलाई आग्रह गनुभयो । ‘राज्य संघीय संरचनामा जानुको अर्थ समानुपातिक विकासको पद्धतिलाई अगाडि बढाउने र तीन वटा सरकार मिलेर ग्रामीण जनतालाई विकासको लाभ दिने नीतिअन्तर्गत मरमरालाई छनौट गरिएको हो ।’, प्रदेशसभा सदस्य आचार्यको भनाई थियो ।

कार्यक्रममा ज्ञान केन्द्रका प्रमुख शिवप्रसाद अर्यालले कृषिबाट रोगजारी, आयआर्जन र उद्यमशीलता बिस्तार हुनुपर्ने अवधारणा सुरु भएको र स्मार्ट कृषि गाउँ कार्यक्रम त्यसकै लागि सञ्चालन हुने बताउनुभयो । उहाँले प्रदेश सरकारले सम्पूर्ण निर्वाचन क्षेत्र र सबै गाउँपालिकामा प्रदेश गौरवको आयोजना स्मार्ट कृषि कार्यक्रम बिस्तार गर्न लागेको जानकारी दिनुभयो ।

समाजसेवी शंकर दर्लामीले साना किसानको जीविकोपार्जनमुखी कृषिलाई व्यावसायिक बनाउने यो कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । शिवबाणि आधारभूत विद्यालयका शिक्षक बीरबहादुर रानाले काठे घारमा मौरी पाल्दा लामो झरी परेका बेला आहारा नपाएर धेरै मौरीका घार मासिएकाले आधुनिक घार र आधुनिक प्रविधि चाहिने रहेछ भन्ने भएको बताउनुभयो । ज्ञान केन्द्रका वागवानी विकास अधिकृत सन्तोष पाठकले अन्तक्र्रियामा सहजीकरण गर्नुभयो ।

प्रदेशको आर्थिक विकास र समृद्धिको पहिलो आधार कृषिलाई परिभाषित गरेको प्रदेश सरकारले उत्पादन दोब्बर बनाउने योजनासहित स्मार्ट कृषि गाउँ कार्यक्रम ल्याएको छ । स्मार्ट कृषि गाउँ कार्यक्रम लागू हुन कम्तिमा एउटा समुदायका ५० घरधुरी हुनुपर्छ । किसानहरुको भेलाले सञ्चालक समिति गठन गरी आवश्यक कार्यक्रम माग गरेपछि यो कार्यक्रम लागू हुनेछ । पाल्पामा दोभानको झेङला, रम्भाको हुँगीमा तानसेनको अर्गली, रामपुरको हेक्लाङमा स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालनमा रहेको छ ।

तिनाउकाे कार्यालय भवन निर्माण सुरू

दाेभान । तिनाउ गाउँपालिकाको कार्यालय भवन निर्माण कार्य आरम्भ भएको छ ।

साविक दोभान गाउँ विकास समितिको भवनबाट कार्यालय सञ्चालन गर्दै आएको तिनाउ गाउँपालिकाले स्थानीय समुदायबाट प्राप्त गरेको जग्गामा आफ्नो कार्यालय बनाउन लागेको हो । गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ती मगरले पूजापाठ गरी आज भवनको शिलान्यास गर्नुभभयो । भवन शिलान्यास गर्दै अध्यक्ष घर्तीले जनता र सेवाग्राहीलाई सेवा दिन नयाँ भवन प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।

तिनाउ गाउँपालिकाको केन्द्र निर्धारण गरिएको तिनाउ २ दोभानमा गाउँपालिकाको सुविधा सम्पन्न भवन बन्न लागेको छ । दुई करोड ३६ लाख ६ हजार ३० रुपैँया स्टमेट रहेको यो भवन हिमाल थापा जेभीले २ करोड ७ लाखमा निर्माण सम्पन्न गर्ने गरी कबुल गरेको छ । कार्यालय भवनमा ७ कोठा, एक सभाहल, महिला पुरुष शौचालय र ४ वटा प्रवेशद्वार रहने छन् ।

तिनाउ गाउँपालिकाका इन्जिनियर किसन कुँवरले एक तले भवन चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण व्यवसायीसँग सम्झौता गरिएको जानकारी दिनुभयो । गाउँपालिका कार्यालय भवनको तीन तलाको डिपिआर बनिसकेको छ ।

पीपलडाँडाकाे पहिरो पन्छाउने क्रम जारी, मानिस अझै फेला परेन

पाल्पा । रम्भा गाउँपालिका ३ पीपलडाँडामा एक जना पुरुषलाई पहिरोले च्यापिएको आशंकामा सशस्त्र प्रहरीले खोजी कार्यलाई जारी राखेको छ ।

शिखरडाँडाको पहिरोमा पीपलडाँडाका ३३ वर्षिय राजकुमार थापा मगर च्यापिएको आशंकामा स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले खोजी तथा उद्दार कार्य गरेका छन् । राजकुमार थापा दाउरा काट्न हिडेको र हालसम्म सम्पर्क बिहिन भएकाले पहिरोले च्यापेको आंशका गरिएको हो । शिखरडाँडामा सुख्खा पहिरो खसेको स्थान नजिकै दाउराको भारी भेटिएको छ ।

 

सशस्त्र प्रहरी बल पाल्पाका प्रहरी नायव उपरीक्षक अरुणकुमार सिंहले उद्दारका सामग्रीसहित विगत ६ दिनदेखि सशस्त्र प्रहरी निरीक्षक हिराबहादुर बोहोराको नेतृत्वमा खोजी र उद्दार कार्य जारी राखेको बताउनुभयो । पहिरो गएको ठाउँ साँघुरो र भिरालो भएकाले डोजर र स्क्याभेटर प्रयोग गर्न मिलेको छैन । प्रहरी र स्थानीय जनताले गैटी कोदालोले खन्दा खोजीमा ढिलाई भएको सशस्त्र प्रहरी निरीक्षक हिराबहादुर बोहोराले जनाकारी दिनुभयो ।

 

 

 

 

जिल्ला प्रशासन कार्यालय पाल्पाले पहिरोको जटिलतालाई मध्येनजर गरेर विपद् व्यवस्थापनमा तालिम प्राप्त सशस्त्र प्रहरीको टोली झिकाइएको हो । सेना प्रहरीसँगै स्थानीय समुदायले खाेजी कार्यमा निरन्तर सघाएका छन् । बोहोरा सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा कार्यरत हुनुहुन्छ ।

 

 

भर्चुअल माध्यमबाट पढाउँदै शिक्षक महासंघ तानसेन

पाल्पा । नेपाल शिक्षक महासंघ तानसेन नगरसमितिले विद्यार्थीसँग शिक्षक महासंघअभियान अन्तर्गत भर्चुअल कक्षा सुरु गरेको छ ।

कक्षा १० का विद्यार्थीको निम्ति सञ्चालन गरिएको भर्चुअल कक्षाको नेपाल शिक्षक महासंघका जिल्ला अध्यक्ष देवीप्रसाद भट्टराईले उदघाटन गर्नुभयो । अध्यक्ष भट्टराईले कोरोना महामारीको बीचमा पनि शैक्षिक क्रियाकलाप नियमित सञ्चालन गनुपर्ने परिस्थितिको आँकलन गरी महासंघको तानसेन समितिले थालेको रचनात्मक कार्यको प्रशंसा गर्नुभयो । इन्टरनेटको सहायताले घरमै बसेर शिक्षकले पढाउने र विद्यार्थीले पढ्न पाएका छन्, जुन खुशीको कुरा हो अध्यक्ष भट्टराईको भनाई छ ।

नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेशकुमार अर्यालले विद्यालयमा भौतिक उपस्थिति बर्जित गरिएको समयमा वैकल्पिक माध्यमबाट शिक्षण गर्नु र सिकाइ प्रक्रिया अगाडि बढाउनुको विकल्प नरहेको बताउनुभयो । महासंघका नगर अध्यक्ष हरिप्रसाद घिमिरेले सामुदायिक विद्यालयहरुको सहकार्यले विद्यार्थीको सिकाइ उपलब्धी बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयका करिव २ सय विद्यार्थीहरु जुम कक्षामा सहभागी भएका छन् । विद्यालयको पहिचानसहित विद्यार्थी जुममा जोडिएका छन् । जिओजेब्रा सफ्टवेयर, अडियो, भिडियो सामग्रीसहित पावर पोइन्ट प्रयोग गरेर शिक्षकले पठनपाठन गरेका छन् । पहिलो दिन गणित र अंग्रेजीका कक्षा चलेका थिए ।

कोभिड १९ का कारण विगत ६ महिनादेखि विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालयहरु सञ्चालन हुन सकेका छैनन् । विद्यालयहरुले परियोजना कार्य, टोल शिक्षा र दूरशिक्षा कार्यक्रममार्फत् सिकाई प्रक्रियालाई निरन्तरता दिने कोशिस गरिरहेका छन् ।