सामुदायिक रेडियो मदनपोखरा
spot_img
Home Blog Page 16

दमकडाले लियाे टाेलटाेलमा त्रैमासिक परीक्षा

पाल्पा । दमकडा माध्यमिक विद्यालय पाल्पाले त्रैमासिक परीक्षा लिन सुरु गरेको छ ।

कोभिड १९ को असहज परिस्थितिलाई मध्यनजर गरी विद्यालयले विद्यार्थीको घर र टोलटोलमा परीक्षा केन्द्र सञ्चालन गरेको छ । विद्यालय क्षेत्रभित्रका १२ स्थानमा परीक्षा केन्द्र तोकेर विद्यालयले त्रैमासिक परीक्षा लिन सुरु गरेको विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद सापकोटाले बताउनुभयो । पहिले टोल कक्षा सञ्चालन भएको स्थानलाई नै परीक्षा केन्द्र तोकी परीक्षा लिन थालिएको प्रधानाध्यापक सापकोटाको भनाई रहेको छ ।

सरकारले वैकल्पिक शिक्षा सहजीकरण निर्देशिका ल्याउनुभन्दा अगाडि नै परियोजना कार्य र दूरशिक्षा रेडियो कार्यक्रम सञ्चालन गरेको यस विद्यालयले टोलटोलमा कक्षा सञ्चालन गरेको थियो । विद्यालयका सहायक प्रधानाध्यापक होत्रीराज ढुंगानाले विद्यालय बन्द भए तापनि विद्यार्थीको सिकाई बन्द हुन नदिन आफूहरुले विभिन्न विकल्पहरुको खोजी गरेको बताउनुभयो । विद्यालयले डिजिटल प्रविधिको प्रयोग गरी सिकाईलाई निरन्तरता दिदै आएको छ । 

दमकडा माध्यमिक विद्यालयले कक्षा नर्सरीदेखि १० सम्मको प्रथम त्रैमासिक परीक्षा लिइरहेको छ । टाेलटाेलमा सञ्चालित परीक्षामा ४ सय ३० जना सहभागी भएका छन् । परीक्षामा अभिभावक पर्यवेक्षक बसेका छन् । दूरशिक्षा रेडियाे कार्यक्रम हाम्राे पाठशाला, टाेल शिक्षा र अनलाइन कक्षाका आधारमा याे परीक्षा लिइएकाे परिक्षा संयाेजक प्रकाश पंगेनीले जानकारी दिनुभयाे ।

काेभिड १९ काे बीचमा दमकडाले वार्षिकाेत्सवका अवसरमा कविता प्रतियोगिता, दमकडा कन्क्लेभ (साझा संवाद) सञ्चालन गर्याे भने जुममार्फत् पठनपाठन पनि गर्दै आएको छ । सामुदायिक तथा निजी विद्यालयहरुले कसरी पठनपाठन गर्ने भन्ने विषयमा अलमल भइरहेका बेला दमकडाले थालेको यो अभियानलाई शिक्षा सरोकारवालाहरुले प्रशंसा गरेका छन् ।

कृषियोग्य जमिन चक्लाबन्दी गर्नेलाई प्रधानमन्त्री कृषि परियोजनाको प्राथमिकता


पाल्पा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई पाल्पाले चालु आर्थिक वर्षमा चक्लाबन्दी र बीउ श्रोत केन्द्र स्थापना गर्ने कार्यक्रम तर्जुमा गरेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले आज तानसेनमा आयोजना गरेको परियोजना कार्यान्वयन तथा अनुगमन समितिको बैठकमा भूमिको वैज्ञानिक उपयोगमा जोड यसपालीको कार्यक्रमको विशेषता रहेको बताइएको छ । कार्यक्रममा परियोजनाका प्रमुख दीपक भट्टराईले परियोजना कार्यान्वयन इकाईले जग्गा र बालीको चक्लाबन्दी गरी उत्पादन क्षेत्र बिस्तार गरी तरकारीको उत्पादन वृद्धि गर्ने लक्ष्यसहित यी कार्यक्रम प्रस्ताव गरेको बताउनुभयो । जिल्लाका ६ स्थानमा चक्लाबन्दीको कार्यक्रम दिन सकिने र सहकारी, निजी उद्यमीले यो कार्यक्रम पाउने परियोजनाका प्रमुख भट्टराईले जानकारी दिनुभयो ।

कार्यक्रममा जोन सञ्चालन समन्वय समितिका अध्यक्ष पदमराज पौड्यालले तरकारी जोन चौथो वर्षमा चलेको र अब सुपर जोनमा लगि बजारीकरण र प्रशोधन उद्योगमा जानुपर्ने विचार व्यक्त गर्नुभयो । सहभागीहरुले तरकारीलाई प्रशोधन, भण्डारण र प्याकेजिङ गरी बजारमा लैजाने व्यवस्था मिलाउनुपर्नेमा जोड दिएका थिए । परियोजना कार्यान्वयन तथा अनुगमन समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख मिरा मरासिनीको अध्यक्षतामा कार्यक्रम चलेको थियो ।

सरकारले यस परियोजनाको लागि चालु आर्थिक वर्ष २०७७\०७८ मा पूँजीगत ३० लाख ९० हजार र चालु ३ करोड ३९ लाख १४ हजार रुपैँया गरी कुल ३ करोड ७० लाख ४ हजार रुपैँया बजेट विनियोजन गरेको छ । न्यूनतम समर्थन मूल्यका लागि तथ्यांक संकलन र विश्लेषण, स्थानीय तहसँगको समन्वयमा नर्सरी श्रोत केन्द्र स्थापना, कफी र तरकारी क्षेत्र बिस्तार, प्राविधिक शिक्षालयको साझेदारीमा व्यावसायिक उत्पादन अनुदान, बीमा सहजकर्ता तालिम, सिंचाई पूर्वाधार निर्माण, भण्डारण, प्रशोधन उद्योग स्थापनालगायतका शीर्षकमा बजेट तथा कार्यक्रम समावेश छ । 

पाल्पा जिल्लामा आर्थिक वर्ष २०७३\०७४ मा सुरु भएको तरकारी जोनमा हालसम्म ७ करोड ८४ लाख ८८ हजार रुपैँया खर्च भएको छ ।

पाल्पामा राजमार्ग, बिजुलीवत्ती र इन्टरनेट अवरूद्ध

पाल्पा । विगत तीन दिनदेखि राजमार्ग, बिजुली, टेलिफाेन र इन्टरनेट अवरूद्ध भएका छन् । असाेज महिनामा परेकाे अविरल वर्षाका कारण सिद्धार्थ राजमार्ग र दाेभान क्षेत्रमा खसेकाे पहिराेका कारण सडक, बिजुली, टेलिफाेन र इन्टरनेट सेवा प्रभावित भएका हुन् । 

सडक अवरूद्ध, यात्री अलपत्र 

तीन दिनदेखि राजमार्ग अवरुद्ध हुँदा सयौं सवारी साधन बीच बाटोमा रोकिएका छन् । टाढाटाढा हिडेका यात्रुसमेत अलपत्र परेका छन् । पाल्पाको डुम्रेदेखि सिद्धबाबा सडकखण्डअन्तर्गत आधा दर्जनभन्दा बढी ठाउँमा पहिरो खसेको छ । शनिबार दिनभर स्काभेटर र डोजर प्रयोग गरी पहिरो पन्छाएर राजमार्ग सञ्चालन गर्ने प्रयास भए पनि सम्भव नभएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक सन्तोषकुमार भट्टराईले बताउनुभयाे ।

‘पहिरोसँगै झरेका ठूला ढुंगा फोर्नुपर्ने अवस्था छ,’ उहाँले भन्रुभयाे, ‘ब्रेकर बुटवलतर्फ भएकाले तत्काल ढुंगा फोर्न सक्ने अवस्था छैन।’ ठूलाठूला चट्टानसहित सडकमाथिबाट पहिरो खसेको छ । सडक डिभिजन कार्यालयको समन्वयमा पहिरो पन्छाउने काम भइरहेको छ। डुम्रेतर्फको राजमार्गमा ठूला ढुंगासहित पहिरो झरेको छ । आइतबार बिहानदेखि पहिरो पन्छाउने काम भइरहेको प्रहरी उपरीक्षक भट्टराईले बताउनुभयाे । तर, आज पनि कतिबेला सञ्चालन हुन्छ भन्ने यकिन नभएको उहाँको भनाइ छ ।

बिजुली वत्ती अवरूद्ध, सञ्चारमाध्यमसमेत प्रभावित 

भारी वर्षातका कारण पाल्पाको विद्युतकाे प्रसारण लाइन अवरुद्ध भएको छ। नेपाल विद्युत प्राधिकरण पाल्पा वितरण केन्द्रले सूचना प्रकाशन गरी बिजुली वत्ती नआएको  जनाएकाे छ । प्राधिकरण पाल्पाका प्रमुख सुशिल  ले बुटवल पाल्पाकाे प्रशारण लाइनकाे वसन्तपुर झुम्सा खण्डमा टावर र लाइन नै बगाएर अत्यधिक ठूलाे क्षति गराएकाे बताउनुभयाे । उहाँले सामग्री ढुवानी गर्न सडक नखुलेकाे र मर्मतका लागि केही दिन लाग्न सक्ने भएकाले वैकल्पिक व्यवस्था मिलाइएकाे जानकारी दिनुभयाे । प्राधिकरणले झिमरूक गुल्मी, रिडीकाे लाइन जाेडेकाे छ । सीमित क्षमताकाे वैकल्पिक लाइन जाेडेका कारण पिक आवरमा बिजुली बन्द छ । बिजुलीकाे अनियमितताका कारण टेलिफाेन र माेवाइल सेवा पनि काटिएका छन् ।  सञ्चार माध्यम रेडियाे, टेलिभिजनका प्रसारण पनि प्रभावित छन् । 

टेलिफाेन चल्दैन 

विद्युत सेवा अवरुद्ध भएसँगै टेलिफाेन र माेवाइलले काम गरेका छैनन् । इन्टरनेटको फाइवर कनेक्सन चुडिएको कारण नेटवर्क र इन्टरनेटसेवामा समेत अवरोध आएको छ । नेपाल टेलिकमले सूचना निकालेर ९ गते राती तिनाउँ गाउँपालिकाको दोभान जंगल क्षेत्रमा गएको पहिरोको कारण फाइवर चुडिएकोले तानसेन लगायतका क्षेत्रमा इन्टरनेट सेवा अवरुद्ध भएको जनाएको छ । माेवाइल टावरहरूमा बिजुलीकाे ब्याक अप नहुँदा माेवाइलले काम गरेका छैनन् ।

इन्टरनेट सेवा सुस्त 
प्रायः सबै इन्टरनेट सेवा बन्द छन्, चलेका पनि सुस्त  छन् ।  इन्टरनेटमा आधारित व्यवसायले काम गर्न सकेका छैनन् । सर्वसाधारणले सास्ती व्यहोर्नु परेको छ । टेलिकम, वर्डलिंक, व्रोर्डलिंक, सुविसु, इष्टलिंक लगायतका कम्पनीको इन्टरनेट सेवा भएता पनि उनीहरुको स्पीड स्लो भएको उपभोक्ताहरुले गुनासो गरेका छन् । उपभोक्ताहरुले तोकिएको क्षमता भन्दा निकै कम स्पीडको इन्टरनेट आउने, बेला बेलामा आउने जाने हुने, आएपनि चल्दै नचल्ने समस्याले सास्ती भोगेको बताएका छन् ।

 

 

फोटोग्राफीमा रुचि

विमल नेपाल
माथागढी १, चिदीपानी
मलाई फोटोग्राफीमा निकै ठुलो रुचि छ . सानैदेखि यसप्रति ठुलो लगाव थियो तर एउटा क्यामेरा किन्न सक्ने आर्थिक हैसियत नभएकोले यो रुचि त्यतिकै अलपत्र परेको थियो । बिना क्यामेरा मैले निरन्तर फोटोग्राफी भने सिकेको रहेछु सानैदेखि ।
आफ्नो करियरको उत्तरार्धमा अर्थात् बयालिस बर्षको उमेरमा मैले पहिलो क्यामरा किनेपछि भने मेरो यो यात्रा रोकिएन ।
मेरो बुवा सूर्यकिरण नेपाल सौकिन फोटोग्राफर हुनुहुँदो रहेछ । मैले उहाले फोटो खिचेको देख्न त पाइन तर उहाको बिग्रेको क्येमारा भने घरको दराजमा थियो। सायद क्यामेरा बिग्रेपछि उहाँले पनि यो शौख छोड्नु भयो होला। १९५० तिरको सानो ब्राउनि क्यामरा। यो मेरो बाल्यकालको खेलौना थियो । फिल्म नभएको बिग्रेको क्यामेराले मैले हजारौं फोटो कम्पोज गरेंहुला। मलाई सत्तरीको दशकमा लाहुरेहरुको घडी, रेडियो र टेप्रिकट (टेप रेकर्डर)ले कहिले आकर्षित गरेन तर तिनले भिरेको क्येमारा तिर म भुतुक्कै हुन्थें। पर्यटकले फोटो खिचेको हेर्न पछि पछि लाग्थें।
सन् १९८४ तिर मेरो भेट पाल्पा तानसेन मिसन अस्पतालमा स्कट ल्याण्डबाट आएका डाक्टर जिम डन संग भयो। उनि निकै लामो जूम लेन्स भएको निकोन क्यामरा लिन्थे। क्यामेरा प्रतिको आकर्षणले मैले उनि सित दोस्ती गासें। पाल्पा तानसेन र मेरो घर माडी चिदीपानीमा चार बर्ष उनीसितको संगतमा मैले सामान्य फोटो कम्पोज सिकें । उनको खर्चमा निर्धक्क निकै रील फोटो खिचियो । उनि १९८८ नेपाल छोड्दा सबै फोटो लिएर गए तर आफुले उनको सहयोगी भएर खिचेका फोटा राखिएनछ! मेरो फोटोग्राफर संगको संगत देखेपछि मलाई मानिसहरु यो केटाले फोटो खिच्न जानेको छ भनेर गाउँ घरमा बिबाह वा समारोहमा आफ्ना क्यामेरा मलाई दिएर फोटो खिच्न दिन थाले। मलाई पनि रमाइलो लाग्थ्यो।
१९९० मा म जागिर र पढाइको लागि काठमाडौँ झरें। मलाई फोटोग्राफीमा र पत्रकारिता निकै रुचि थियो कलेजमा कमर्स बिषयमा कलास चड्दै गएपनि पढाइमा पटक्कै रुचि थिएन। साहित्य, कला र मिडियामा अति रुचि र आकर्षण थियो। म काठमाडौँका आर्ट ग्यालरीहरू, पुस्तकालय अनि ठेमल, दरबारमार्ग तिरका पुस्तक पसलमा फोटोग्राफीका किताब हेर्न जान्थें । एक दिन एरिक भालीको ठुलो आकारको हनी हनटर्स इन नेपाल भन्ने फोटो किताबमा मा मेरो आखा पर्यो। नेपालका गुरुङहरुले भिर मौरी काढेको सत्य कथा र तस्वीरहरुले मेरो स्वास रोकियो अनि दिमाग रन्थनियो! हाम्रो सामान्य जनजीवन को फोटो यति असामान्य! ओहो हो फोटोग्राफी त शब्द भन्दा निकै पावरफुल हुदोरहेछ भन्ने लाग्यो। यो किताब नै मेरो लागि फोटोग्राफीको सबैभन्दा ठुलो उत्प्रेरणा बन्यो।
म नेपालको जनआन्दोलन १९९० अगाडी काठमान्डूका गल्लि सडकमा पर्यटकलाई बेचिने किताब र नेपाली पोस्टर अनि पोस्टकार्ड हेर्दै जाँदा मणि लामाका फोटाहरुबाट अतिनै प्रभावित हुन पुगें।अनि त्यसै बेला तिर हिमाल अंग्रेजी पत्रिका र पछि कान्तिपुर दैनिकमा उदियमान नव युबक विकास रौनियारको फोटोहरुले मलाई आकर्षित गर्न थाल्यो। मलाई पनि क्यामेरा किन्ने रहर जाग्यो – काठमान्डूका क्यामेरा पसलहरु तिर पनि जान्थें भाउ सोध्थें अनि फर्कन्थें।
एउटा सरकारी संस्थानको स्थाई जागिर र बिश्वबिध्यालयको पढाई भएपनि दुबैमा दिल नबसेपछि पत्रकारितामा होम्मिए। १९९२ मा नेपाल प्रेस इन्स्टिच्युट मा पत्रकारिता पढ्दा मलाई गोरखापत्रका फोटो पत्रकार गोपाल चित्रकार ले हप्ता दिन सिकाएको ‘फोटो जर्नालिजम’ ले जति अरु कुनै बिषयले तानेन! यसै बेला हो मैले शटर स्पीड, एप्रेचर, ए यस ए ( हाल आइ एस ओ), फोकल लेन्थ जस्ता शब्द पहिलो पटक सुनेको! गोपाल चित्रकार गोरखापत्रको एउटा राम्रो फोटोग्राफर र प्रभाशाली शिक्षक हुन। मैले मणि लामा र विकास रौनियार बाट प्रभावित हुने र गोपाल चित्रकार बाट सिक्ने मौका पाए।
मलाई फोटो पत्रकारितामा मौका दिने श्रेय मातृभूमि साप्ताहिकका कार्यकारी सम्पादक ज्योति वैद्य लाई जान्छ। १९९३-९४ तिर रिपोर्टिंग मा जाँदा होस् कि ल्याम्ह पुच युवा क्लब ले संचालन गरेको राष्ट्रिय स्तरका कार्यक्रममा उहाले मलाई कहिले उद्घोषण त कहिले फोटोग्राफीको मौका दिनुहुन्थ्यो। मैले १९९५ देखि १९९९ सम्म कामना प्रकाशन को समाचारपत्रमा काम गरे रिपोर्टिंग र डेस्क दुवै तर्फ़ काम गरियो। यो बेला सम्ममा फोटो पत्रकारिताको आधारभूत ज्ञान र अभ्यास हासिल गरिएको थियो। आफैले फोटो नखिचेपनि छापिने संमाचार र लेखलाई चाहिने फोटोको आइडिया, कम्पोजिसन, र श्रोत सुत्र बारेमा फोटोग्राफरलाई सुझाब दिन सक्ने सामर्थ्यको विकास भएको थियो।
क्यामरा भने अझै किन्ने अवस्था आएको थिएन। येसैबिच १९९९ मा अमेरिका आएपछि अरु १० बर्ष बिना क्यामेरा बित्यो !
२००९ बिना योजना मलमा घुम्दै जाँदा नाइकन ब्रान्डको को D60 मोडेलको सामान्य क्यामेरा $५५० किनेपछि त जिन्दगीले नयाँ मोड लियो । क्यामरा साेख मात्र रहेन, प्राेफेसनल कर्मकाे साधन बन्न पुग्याे । 

कालीमाटीमा पहिराे खस्दा तानसेन बुटवल सडक बन्द

तानसेन बुटवल सडकखण्डको कालीमाटीमा पहिरो खस्दा बिहानदेखि यातायात अवरुद्ध भएको छ ।

लगातारकाे पानीले तिनाउ ५ कालीमाटीमा पहिराे खस्दा सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-तानसेन सडकखण्ड अवरुद्ध भएको छ। सडक बिस्तार गरेकाे क्षेत्र वरिपरि ढुङ्गा सहितको ठुलाे पहिरोले सडक पुरेकाे छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन गिरीले सडक डिभिजन कार्यालयसँग समन्वय गरी सडक खुलाउने प्रयास गरेकाे बताउनुभयाे ।

सडकमा पहिराे खसेपछि यात्रुहरू अलपत्र परेका छन् भने सडकमा सवारी साधनकाे लाम लागेकाे छ । झुम्सा, सिद्धबाबा, गौडे पुललगायतका स्थानमा पनि पहिराे खसेकाे छ । पानी झमझम परिरहेकाले बाटाे खाेल्न असजिलाे भएकाे छ ।

सिद्धबाबा पहिरोको भाइरल भिडियो
गाडीका चालकले यात्रुहरुलाई पानीको भेल, पहिरो र स्थानका बारेमा बताइरहेका छन् । उनी भन्छन्, ‘अहिले हामी सिद्धबाबामा छम् । पानी परिराछ । जान सकिन्न ।’ बसमा रहेका यात्रुहरु ढोकाबाट बाहिर निस्कने प्रयास गर्दछन् । फेरि चालक भन्छन्, ‘गइन्न, गइन्न । केही हुन्न नडराउनुस् ।’


गाडीको अगाडी बसेर मोवाइल भिडियो खिचिरहेका व्यक्तिले घुमाइघुमाई वरिपरिको दृष्य कैद गरिरहेका छन् । चुनढुंगा बोकेका टिप्पर, जीप र बस सडकमा रोकिएको अवस्थामा छ । भीषण वर्षात् भइरहेको छ । वसन्तपुर डाँडाबाट झरेको भेल खोलोझैं बर्सिएको छ । बसका यात्रीहरु अत्तालिएका छन् । गाडी चालकलाई दोभानमै रोक्न भनेको भनेर गुनासो गरेका छन् ।


अगाडी र पछाडी दुबैतिर पहरोबाट पानी झरेको छ । ढुंगासहितको पानी सडकमा बजारिएको आवाज सुनिन्छ । यात्री हिंडेर सिद्धबाबा पुग्ने कोशिस गर्दछन् । चालक यात्रीलाई रोक्दै भन्छन्, ‘गाडीबाट नझर्नुस्, भित्रै बस्नुस् । यहाँ गाडी सुरक्षित छ, गाडीबाट झरे बाँच्नुहुन्न । नझर्नुस् । सिद्धबाबाले रक्षा गरुन् ।’ उनी भन्छन्, ‘डाइभरको जीन्दगी नी गाह्रो छ हजुर । एकदिन मर्ने हो, मरे मरौंला ।’ 


आधा घण्टापछि पानी बिदो हुन्छ । यात्रीहरु सिद्धबाबा पुग्ने सुरले पैदल दौडन्छन् । एकछिन पछि यात्री नभएको बस अगाडि बढ्छ ।

 


सिद्धबाबा खण्डमा वर्षात्, हिउँद जतिखेर पनि यात्रीहरुले यसैगरी सास्ती नै खेपिरहेका छन् । सरकारले बजेट सुनाउँछ, योजना बताउँछ तर बाटोको स्वरुप झनभन्दा झन् बिग्रिरहेको छ ।

 

पक्लुहवा अम्लिहान सडकको अवस्था बेहाल, निर्माण व्यवसायी सम्पर्कविहिन

तानसेन । बाँसटारी झडेवा मोटरबाटोअन्तर्गतको पक्लुहवादेखि अम्लिहानसम्मको सडक समयमा कालोपत्रेको काम सुरु नहुँदा स्थानीय जनता आक्रोसित भएका छन् ।

अघिल्लो आर्थिक वर्षमा सम्झौता भएको यो आयोजना चालु वर्षको तीन महिना बितिसक्दा काम सुरु हुन नसकेपछि स्थानीय बासिन्दा आक्रोसित भएका हुन् । संगमचोक, तिन्टीआँप, अर्खले, दमकडा, अम्लिहान क्षेत्रमा सडक भत्किएर दूरावस्थामा पुगेको छ । तानसेन नगरपालिका ७ पक्लुहवादेखि वडा नं ९ को अम्लिहानसम्म सडकको अवस्था बेहाल रहेको चालक शिवप्रसाद बस्यालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बजेट विनियोजन भयो भनेर सुनेको पनि एक वर्ष भयो, अहिलेसम्म कुनै सुरसार छैन ।’

तानसेन नगरपालिकाले पक्लुहवा अम्लिहान खण्डको तीन किलोमिटर सडक कालोपत्रे गर्न गत जेठ २१ गते श्री जयनेपाल इश्वर विवेक एण्ड कुबेर जेभी स्याङजासँग सम्झौता गरेको थियो । निर्माण व्यवसायीले आफूले काम नगरेर अरुलाई पेटी ठेक्का दिन खोजेको भन्दै स्थानीय बासिन्दाले गुनासो गरेका छन् । नगरपालिकाका इन्जिनियर रामप्रसाद श्रेष्ठले लकडाउन सकिएकाले तत्काल काम सुरु गर्न निर्माण व्यवसायीलाई ताकेता गरिएको बताउनुभयो ।

माडी चक्रपथको सडक बिस्तार र सडक बोर्डले मर्मत गर्न ओटासिल उक्काएपछि पक्लुहवा अम्लिहान खण्डमा खाल्डाखुल्डी पर्न थालेको हो । दुबै आयोजनाले काम नगरेपछि बाटो जीर्ण भएकाले नगरपालिकाले समपुरक बजेटबाट ठेक्का लगाएको तानसेन ९ का वडाअध्यक्ष हरिसुमर रेग्मीले बताउनुभयो । जिल्ला सदरमुकाम जोड्ने सडकमध्ये बाँसटारी झडेवा सडक आर्थिक सामाजिक महत्व बोकेको सडक हो ।

विगत तीन वर्षदेखि बाँसटारी अम्लिहानसम्मको सडक खाल्डाखुल्डी र हिलाम्य हुन थालेको छ । सडकको अवस्था बिग्रिएकाले दैनिक यात्रा गर्ने सयौं यात्रुले सास्ती बेहोर्नु परेको छ । वर्षाका बेला पानी जमेर हिलाम्य हुने र हिउँदमा धुलो उठेर वरिपरि बस्नै नहुने अवस्था भएको छ । साना ठूला सवारी साधनको पट्टा भाँचिने, गाडी लच्किएर ठोक्किने गरेको यातायात व्यवसायीको भनाई छ ।

तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले ठेक्काको काम समयमा सुरु नहुने, तोकिएको म्यादमा नसकिने कारणले जनता पटकपटक कार्यालयमा डेलिगेसन आएकाले यस विषयमा निर्माण व्यवसायी बोलाएर गम्भीरतापूर्वक छलफल गर्ने जानकारी दिनुभयो । नगरपालिकाले विभिन्न समयमा ठेक्का लगाएका एक अर्वभन्दा बढीको योजनाहरु काम सुरु नभएर अलपत्र परेका छन् । बाँसटारी पक्लुहवा र अम्लिहान सराई खण्डको अवस्था पनि बेहाल छ ।

गोपालदास पत्रकारिता पुरस्कार दृष्टिका शम्भु श्रेष्ठलाई प्रदान


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई प्रदान गर्नुभएको छ ।

प्रेस काउन्सिल नेपालको वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रम राष्ट्रपति भण्डारीले वरिष्ठ पत्रकार श्रेष्ठसहित अन्य पत्रकारहरुलाई पुरस्कार प्रदान गर्नुभएको हो । प्रेस काउन्सिलका पूर्वअध्यक्ष स्व. गोपालदास श्रेष्ठको स्मृतिमा स्थापना गरिएको कोषबाट यस वर्ष पञ्चायतकालमा पाल्पाबाट काठमाडौँ गई मिशन पत्रकारिता गर्नुभएका श्रेष्ठलाई पुरस्कृत गरिएको छ । पुरस्कारको राशी १ लाख ५१ हजार रुपैंया रहेको छ ।

यसैगरी यसवर्षको १ लाख १० हजार राशिको प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार हुम्लाका अर्जुन बोहोरालाई प्रदान गरिएको छ भने ५० हजार राशिको प्रेस काउन्सिल आचारसंहिता पुरस्कार सेतोपाटी डटकम (काठमाडौँ) लाई, २० हजार राशिको प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार गोविन्द क्षेत्री (झापा), राजन कार्की (काठमाडौँ), धर्मेन्द्र कर्ण (धनुषा), ऋषि धमला (धादिङ), उमेश श्रेष्ठ (काठमाडौँ), दीपेन्द्र श्रेष्ठ (कास्की) र नितु पण्डित (काठमाडौँ)लाई, १५ हजार राशिको प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार यसवर्ष सटेन्द्र जबेगु (इलाम), सुरेशचन्द्र अधिकारी (चितवन), माधव पौडेल (काठमाडौँ), गणेश चौधरी (कैलाली), गिरिजा अधिकारी (मकवानपुर), राजु वि.क. (सिरहा), कमला श्रेष्ठ (काठमाडौँ), राजन सिंह (धनुषा), देवीकुमारी गुरुङ (रोल्पा), रेणु पराजुली (उदयपुर), दीपेन्द्र वली (सुर्खेत), शेरबहादुर थापा (सुर्खेत), राधिका कँडेल (फोटो पत्रकार, कास्की) र शान्ता कमली (लमजुङ)लाई, प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार नव प्रज्ञापन साहित्यिक त्रैमासिक पत्रिका र प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार वाम्बुले राई भाषाका लागि ओखलढुङ्गा पत्रकार गणेश राईलाई प्रदान गरिएको छ ।

झुटा र भ्रामक समाचारप्रति राष्ट्रपतिको चासो
राष्ट्रपति विद्यादेवी भण्डारीले अभिव्यक्ति स्वतन्त्रताको नाममा तथ्यहीन र झुटा समाचार एवम् भ्रामक विचार सञ्चार माध्यमहरूमा प्रकाशित र प्रसारित भइरहेकोप्रति चासो व्यक्त गर्नुभएको छ । प्रेस काउन्सिल नेपालको ५१ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै भण्डारीले पत्रकारिताको आचारसंहिता र पेशागत मर्यादा समेतलाई ख्याल नगरी समाचार सम्प्रेषित भइरहेकोमा प्रेस काउन्सिलले ध्यान पु¥याउनुपर्नेसमेत बताउनुभयो ।

‘आमसञ्चार माध्यमलाई जिम्मेवार बनाएर लोकतन्त्रलाई सुदृढ तुल्याउन पत्रकार आचारसंहिताको पूर्ण पालना हुुनुपर्दछ र यसका लागि प्रेस काउन्सिलको भूमिकालाई थप प्रभावकारी बनाउनु पर्दछ भन्ने मैले ठानेको छु ।’–आज शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘सूचना र सञ्चारको क्षेत्रमा नयाँ प्रविधिको विकाससँगै झुठा र भ्रमपूर्ण सूचनाको प्रवाह हुनु विश्वव्यापी चुनौति बनेको छ । सञ्चारक्षेत्रमा देखिएको चुनौती सामना गर्न प्रेस काउन्सिलको भूमिका अझ सशक्त हुन आवश्यक छ । कोरोना महामारीका कारण सञ्चारमाध्यम र सञ्चारकर्मीसमेत पीडित हुनु परेकोमा दुःख व्यक्त गर्दै राष्ट्रपति भण्डारीले प्रतिकूल परिस्थितिमा समेत अविचलित रूपमा पेशाप्रतिको दायित्व बहन गर्ने पत्रकारिता क्षेत्रको उच्च मूल्याङ्कन गरेको बताउनुभयो । उहाँले आमसञ्चारको क्षेत्रमा देखिएका कमी कमजोरीहरू हट्दै जाने विश्वाससमेत व्यक्त गर्नुभयो ।

भण्डारीले पत्रकार परपीडक हुन नहुने भन्दै आमसञ्चार क्षेत्रको भूमिका प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ । ‘स्वतन्त्रता र चेतनाको संवाहकको रूपमा रहेको प्रेसको निब परपीडक हुनु हुँदैन’ उहाँले भन्नुभयो । राष्ट्रपति भण्डारीले पत्रकारितालाई जिम्मेवार बनाउँदै जनताको सुसूचित हुन पाउने अधिकारको संरक्षणका लागि प्रेस काउन्सिल नेपालले सञ्चार क्षेत्रको अनुगमन र अनुसन्धानका साथै आचारसंहिता उल्लङ्घन गर्ने सञ्चारमाध्यम र पत्रकारको पहिचान गरी कानुनी कारवाहीका लागि गरेको प्रयास सराहनीय रहेको उल्लेख गर्नुभयो ।

मिडियाको भूमिका प्रशंसनीय कार्यवहाक अध्यक्ष श्रेष्ठ

प्रेस काउन्सिल नेपालका कार्यवहाक अध्यक्ष किशोर श्रेष्ठले पुरस्कृत सबै पत्रकारलाई बधाई ज्ञापन गर्दै संविधानतः प्राप्त प्रेस स्वतन्त्रताको हक प्रत्याभूत गराउन र अभिव्यक्ति स्वतन्त्रतालाई स्वच्छन्दता एवं मनलाग्दी हुनबाट रोक्न काउन्सिलको सदैव सक्रिय रहेको बताउनुभयो । उहाँले परिवर्तनको पक्षमा नेपालको मूलधारका मिडियाले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । कार्यवहाक अध्यक्ष श्रेष्ठले एकाध सिकारु न्यु मिडियाले प्रविधि र स्वतन्त्रताको दुरुपयोग गर्दा सिङ्गो पत्रकारिता जगतको प्रतिष्ठामा आँच पुगेको र जनमानसमा भ्रम सिर्जना भएको पाइए पनि मिडियाको भूमिका प्रशंसनीय रहेको बताउनुभयो ।

पुष्पलाल पत्रकारिता पुरस्कार परराष्ट्रविद्व श्रेष्ठलाई प्रदान


काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार आज परराष्ट्रविद् वरिष्ठ पत्रकार हिरण्यलाल श्रेष्ठलाई प्रदान गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा पुष्पलालका समकालीन तथा वरिष्ठ पत्रकार हिरण्यलाल श्रेष्ठलाई यो पुरस्कार प्रदान गरिएको हो । पुष्पलाल स्मृति राष्टिय पत्रकारिता पुरस्कार कोष तानसेन नगरपालिकाले स्थापना गरेको हाे ।  राष्ट्रपति भण्डारीले श्रेष्ठलाई नगद, सम्मानपत्र, पाल्पाली ढाकाटोपी, ढाकाकै दोसल्ला ओढाएर श्रेष्ठलाई सम्मान गर्नुभयो ।

राष्ट्रपति भण्डारीले पूर्व राजदुत एवं परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठलाई बधाई दिनुभएको छ । तानसेन नगरपालिकाले नेपाली कम्युनिस्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठको नाममा स्थापना गरेको राष्ट्रिय पत्रकारिता पुरस्कारका निम्ति धन्यवाद दिनुभयो । पुरस्कारको राशी १ लाख ११ हजार १ सय ११ रुपैंया रहेको छ । काेषले वरिष्ठ पत्रकार हिरण्यलाल श्रेष्ठलाई पुष्पलालको नाममा स्थापना भएको सबैभन्दा ठूलो राशीको पुरस्कार प्रदान गरेको छ ।

तानसेनमा आयोजना गर्ने भनिएको पुरस्कार वितरण समारोह कोभिड १९ का कारण शीतल निवासमै आयोजना गरिएको कोषका अध्यक्ष शम्भु श्रेष्ठले बताउनुभयो । समारोहमा कोषका अध्यक्ष शम्भु श्रेष्ठ, प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठ र कोषका सदस्य सचिव गोविन्द भट्टराईको उपस्थिति रहेको थियो । पुष्पलालको जन्मदिनमा प्रदान गर्ने भनिएको पुरस्कार कोभिड १९ का कारण आज मात्र वितरण गरिएको छ ।

तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले सम्माननीय राष्टपतिबाट पुष्पलालका समकालीन व्यक्तित्व हिरण्यलाल श्रेष्ठ सम्मानित हुनु खुशीको कुरा भएको बताउनुभयो । नगरपालिका प्रमुख शाहीले भन्नुभयो, ‘पुष्पलाल, वीपी, मदन भण्डारीलगायत शीर्षस्थ नेताहरुको योगदानको कदरस्वरुप हामीले सक्दो काम गर्दै जानेछौँ ।’

माथागढीमा रोकियो हुनै लागेको बालविवाह

माया बस्याल – 

असोज ५ – बढ्दो सुचना प्रविधिको दुरुपयोगलगाएत धार्मिक अन्धविश्वास, परम्परा, कुरीति, अशिक्षा, गरीबी, कुप्रथा र सामाजिक दवावका कारणले समाजमा बाल विबाह हुने गरेको छ ।

बालविवाह तुरुन्तै अन्त्य हुने विषय नभएपनी यसको निराकरणका लागि आआफ्नो स्थान, क्षेत्रबाट जुटेमा रोक्न र असर कम गर्न सकिन्छ भन्ने उदाहरण माथागढीका सरोकारवालाहरुले देखाएका छन् । माथागढी गाउँपालिकाका २३ बर्षीय युवक र बगनासकाली गाउँपालिकाकी १६ बर्षिय किशोरीको बिहे हुन लागेको थाहा पाएपछी सरोकारवालाले सम्झाईबुझाई गरेर बिहे रोकेका छन् ।

सानै उमेरमा विवाह गर्दा छिट्टै बच्चा जन्मने, सोंच्ने बुझ्ने भइसकेपछि अर्को विवाह गर्ने अनि असमझदारी बढेर सम्बन्ध विच्छेद गर्ने सम्मका घटनामा बृद्धि आएकाले बालविवाह रोक्न समुदायको ध्यान जानुपर्ने प्रभाष प्रहरी चौकीका प्रमुख एक्क बहादुर नेपालीले बताउनुभयो । बालबालिकाले आफैले गरेको होस् वा अभिभावकले गराइदिएको, बालविवाह रोक्नु आफैंमा चुनौतीपूर्ण काम भएको बताउदै बिभिन्न जोखिम मोलेर बालविवाह रोक्ने अभियानमा लागिरहेको नेपालीको भनाइ छ ।

बालविवाह हुन लागेकी बगनासकाली गाउँपालिकाकी किशोरीले भन्नुभयो “आफ्नो मन परेको मान्छे संग विहे गर्न पाउनु त पर्यो नी । मैले जसरी पनी उहाँ संगै विहे गर्छु ।” बिहे हुन लागेका माथागढी गाउँपालिकाका यूवाले भने उमेर पुगेको छैन भन्ने जान्दा जान्दै पनी नकार्न नसकेको भन्दै विहे गर्न आँटेको बताउनुभयो । उहाँले भन्नुभयो “मायामा यस्तै हुँदो रहेछ ।”

सरोकारवालाले सम्झाई बुझाई गरेर उमेर पुगेपछी बिहे गरिदिने भनेपछी दुवैजना आआफ्नो घर फर्कन राजी भएका छन् । पछिल्लो तथ्यांक अनुसार नेपालमा ३७ प्रतिशत बालिका १८ वर्षभन्दा कम उमेरमा विवाह गर्छन् । यसैगरी १० प्रतिशत बालिका १५ वर्ष भन्दा कम उमेरमा विवाह गर्छन् ।

पहिले अभिभावको सहमतिमा १८ वर्षमा विवाह गर्न पाउने कानुनी व्यवस्था थियो । अहिले मुलुकी ऐन २०२० को भाग ४ को विवाहवारी सम्बन्धी महलमा पहिलेको व्यवस्था संशोधन गरी केटा र केटी दुवैको उमेर अनिवार्य रूपमा २० वर्ष पुगिसकेको हुनुपर्ने छ ।

२० वर्ष नपुगी विवाह गराएमा विवाह गराउने पण्डित, जन्ती र कुरा छिन्ने व्यक्ति (लमी) लाई समेत एक महिना कैद र एक हजार रुपियाँ जरिवाना गर्न सक्ने कानुनी व्यवस्था रहेको छ । नेपाल बाल विवाह गर्ने दक्षिण एशियाली मुलुकका प्रमुख देशहरु मध्ये बंगलादेश र भारत पछि तेस्रो स्थानमा पर्दछ । नेपाल सरकारले सन् २०३० सम्म बालविवाह अन्त्य गर्न राष्ट्रिय रणनीति बनाइ कार्यान्वयनमा ल्याए पनी प्रभावकारी हुन सकेको छैन ।

अशिक्षाका कारण पनि अधिकांश बालबालिका कम उमेर मै विवाह गर्न बाध्य हुन्छन् । तसर्थ उनीहरुलाई वैकल्पिक शिक्षा, प्रौढ शिक्षामा जोड दिनु आवश्यक छ । यसैगरी बालबालिकालाई अनिवार्य आधारभूत शिक्षामा यौन शिक्षा समेत दिनु जरुरी देखिन्छ ।

दमकडाको ६४औँ. वार्षिकोत्सवमा भर्चुअल माध्यमबाट विद्यालय संवाद

पाल्पा । दमकडा माध्यमिक विद्यालय पाल्पाले स्थापनाको ६४ औं वार्षिकोत्सव भर्चुअल साझा संवाद कार्यक्रम गरी मनाएको छ ।

कोभिड १९ ले भौतिक उपस्थितिमा वार्षिकोत्सव आयोजना गर्न नपाएपछि विद्यालयले जुम सफ्टवयरको प्रयोग गरी ‘दमकडा हिजो, आज र भोलि’ साझा संवाद कार्यक्रम गरको हो । दमकडा कन्क्लेभ नाम दिएको त्यो छलफलमा मन्त्री, सचिव, शिक्षाविद्, शिक्षक र विद्यार्थीहरुले भाग लिएका छन् ।

कार्यक्रममा ‘दलानदेखि छाप्रोसम्म, देउरालीदेखि दमकडासम्म’ विषयमा पूर्व प्रधानाध्यापक राधाकृष्ण शर्मा, स्थापनाकालका विद्यार्थी तारानाथ सुवेदी र इतिहासविद् प्रा.डा भवेश्वर पंगेनी बीच आधुनिक शिक्षाका सन्दर्भमा देउरालीमा सञ्चालित पाठशालाका बारेमा छलफल भयो । विद्यार्थी विनिता पराजुलीलले सहजीकरण गरेको त्यो शत्रमा २०१३ सालमा समुदायको त्यो उत्साहपूर्ण विद्यालय सञ्चालन गर्ने अठोट सबैका लागि प्रेरणादायी अभियान भएको बताउनुभयो ।

‘शैक्षिक पहिचान, दमकडा माविको वर्तमान’ विषयमा विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद सापकोटा, नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय अध्यक्ष लक्ष्मण शर्मा र तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाही बीच प्यानल छलफल भयो । पूर्व विद्यार्थी लक्ष्मण देवकोटाले सहजीकरण गरेको त्यो शत्रका सहभागीहरुले नेपालका सामुदायिक विद्यालयहरुमा दमकडा माध्यमिक विद्यालय हातका औंलामा गन्न सकिने अवस्थामा पुग्ने विश्वास गरेका छन् ।

‘शिक्षामा सरकार र समुदायको लागत, दमकडा माध्यमिक विद्यालयको सुनौलो आगत’ विषयक दमकडा कन्क्लेभमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेशकुमार अर्याल, भूमि व्यवस्था, सहकारी तथा गरिवी मन्त्रालयका सचिव टेकनारायण पाण्डे र पूर्व विद्यार्थी विनोद रेग्मीले भाग लिनुभयो । पूर्व विद्यार्थी अच्यूत पाण्डेयले सहजीकरण गरेको यो शत्रका सहभागीहरुले कक्षा कोठामा सिकाईलाई केन्द्रित र सुविधा सम्पन्न विद्यालय निर्माण गर्न सके दमकडाको भविष्य छ भन्ने विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रममा प्रतिनिधिसभाा सांसद पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले विद्यालयले नविनतम् आयामहरु र विषयहरु सञ्चालन गर्दै जाने हो भने पाल्पालाई शैक्षिक केन्द्र बनाउने अभियानमा ठूलो योगदान दिने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा पाटन उच्च अदालतका न्यायधीश सरला पाण्डे, जिल्ला विकास समितिका पूर्व सभापति प्रेमनाथ बस्याल, विद्यालयका पूर्व प्रधानाध्यापक श्रीधरप्रसाद घिमिरे, दुर्गाप्रसाद अर्याल, स्थानीय जनप्रतिनिधि विनिता लुइटेल, पूर्व विद्यार्थीहरुले अनुभव र भविष्यमा विद्यालयले गर्न सक्ने योजनाका बारेमा आफ्ना धारणा प्रस्तुत गर्नुभयो ।

भर्चुअल छलफलमा विद्यालयको इतिहास भिडियो सामग्री, कोभिड १९ मा सञ्चालित वैकल्पिक शिक्षा सम्बन्धी वृत्तचित्र पनि प्रस्तुत गरिएको थियो । कार्यक्रम विद्यालयका शिक्षक जीवन आचार्य र प्रकाश पंगेनीको सञ्चालन, अध्यक्ष राजेशकुमार अर्यालको अध्यक्षतामा चलेको थियो । विद्यालयले वार्षिकोत्सवका अवसरमा जिल्लास्तरीय अनलाइन कविता प्रतियोगितासमेत आयोजना गरेको थियो ।