तानसेन । पाल्पा अस्पताल अनिश्चितकालका लागि लागि बन्द गरिएको छ ।
पाल्पा अस्पतालमा कार्यरत ४ जना स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अस्पतालले आकस्मिक सेवा बाहेक अन्य सबै सेवा बन्द गरेको हो । आकस्मिक सेवा लिन आउने विरामीको स्वास्थ्यजाँच भने हुने अस्पतालले जनाएको छ । अस्पतालका निमिक्त प्रमुख डा. जगदीश कुवँरका अनुसार चिकित्सकसहित कार्यालय सहयोगी र सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको जोखिम न्यूनिकरणका लागि सेवा बन्द गरिएको बताउनुभयो ।
पाल्पा अस्पतालले असोज २७ गते स्वास्थ्यकर्मी, कर्मचारी, बिरामीसहित ९ जनाको पीसीआर परीक्षणका लागि स्वाव संकलन गरी पठाइएको थियो । पीसीआर रिपोर्टमा ७ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित ७ मध्ये ४ जना अस्पतालका कर्मचारी र अन्य ३ जना उपचारका लागि आएका बिरामी रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो ।
संक्रमण देखिएपछि सेवाग्राहीमा पर्न सक्ने जोखिमलाई मध्येनजर गर्दै गरिएको सेवा बन्दले केही दिन बिरामीमा पर्न जाने असुविधाप्रति अस्पताल क्षमाप्रार्थी छ, अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डेले बताउनुभयो । चाडबाड नजिकिदैँ जाँदा पाल्पामा कोरोना संक्रमणको दर बढ्न थालेको छ ।
गजेन्द्र पन्थी, झडेवा । माथागढी गाउँपालिकामा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको आर्थिक वर्ष २०७६।२०७७ को वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनी प्रदेशसभाका सदस्य नारायणप्रसाद आचार्यले आचार्यले गत बर्ष सम्पन्न भएका कार्यक्रमहरुको उपलब्धीलाई समीक्षा गरी आगामी वर्ष प्रभावकारी बनाउन अनुरोध गर्नुभयो । उहाँले यस बर्षको कार्यक्रम रोजगारीका कार्यक्रमहरु थपेर कृषिलाई प्राथमिकतामा पार्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा गाउपालिकाका अध्यक्ष सन्तोषकुमार थापाले यस वर्ष कार्यविधि परिवर्तन भई आएकाले त्यसैका आधारमा गरिब र विपन्न लक्षित कार्यक्रमहरुलाई प्राथमिकता दिइ रोजगार उन्मुख कार्यक्रम अघि ल्याइने बताउनुभयो । कार्यक्रममा कार्यक्रम सहजकर्ता नारायण बहादुर कुमालले बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै गत बर्षको कुल ५२ लाख मध्य पूँजीगत तर्फ १२ लाखको ४ ओटा कार्यक्रम र चालु तर्फको रु ३८ लाखको ६ ओटा कार्यक्रम सम्पन्न भएको बताउनुभयो । गत बर्ष सम्पन्न कार्यक्रमहरुमा शिक्षा, राहत तथा पुन स्थापना, आयआर्जन, स्वास्थ्य, कृषि र खानेपानीलगायतका कार्यक्रमहरु रहेका थिए ।
गाउँपालिकाका उपाध्यक्ष निर्मला भट्टराइले यस बर्षको कार्यक्रम प्रभावकारी रहेको बताउदै धामिगाको धनिया खेतीबाट किसानहरुले बढी फाइदा लिएको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले यस बर्ष बैदेशिक रोजगार बाट आएकाहरु र कोरोनाको प्रभावले रोजगार गुमाएकाहरुलाई प्राथमिकतामा राखेर योजना बनाउन सकिने बताउनुभयो । यस कार्यक्रमलाई चालु वर्षमा ६० लाख रुपैयाँ बिनियोजन गरिएको छ ।
समीक्षा कार्यक्रममा विषयगत शाखाका प्रमुखहरु, सिफारिस समितिका सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रम गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार थापाको अध्यक्षतामा चलेको थियो ।
तानसेन । पाल्पामा लकडाउन खुलेपछि सबैभन्दा बढी कोरोना संक्रमितहरु थपिएका छन् । ३६ जनामा संक्रमण देखिएकोमा
स्वास्थ्य कार्यालय पाल्पाका अनुसार आज शनिवार ७५ जनामा कोरोना संक्रमण देखिएको जनाएकाे छ । स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीका अनुसार निस्दी र रम्भा बाहेकका ८ वटा स्थानीय तहका ७५ जनामा काेराेना संक्रमण देखिएकाे हाे । आज ७५ जना कोरोना संक्रमित थपिएसँगै पाल्पामा कुल संक्रमितको संख्या ९ सय ६९ पुगेको छ ।
माथागढी गाउँपालिकामा २, रामपुर नगरपालिकामा २०, पूर्वखोला गाउँपालिकामा ९, रैनादेवी छहरा गाउँपालिकामा २, बगनासकाली गाउँपालिकामा १९, तिनाउ गाउँपालिकामा २, रिब्दीकोट गाउँपालिकामा १, तानसेन नगरपालिकामा १८ र अस्पतालमा २ गरी ७५ जनामा एकैपटक कोरोना देखिएको छ ।
पाल्पामा अहिलेसम्म ४ जनाको कोरोनाको कारण निधन भएको छ भने ७ सय १० जना निको भएर घर फिर्ता भएका छन् । पाल्पामा अहिले कुल सक्रिय संक्रमितको संख्या २ सय १५ पुगेको छ ।
पाल्पा । रम्भा गाउँपालिकाकाे केन्द्र पीपलडाँडामा प्रहरी चाैकी स्थापना भएकाे छ । नेपाल प्रहरी लुम्बिनी प्रदेश कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवार र रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारीले प्रहरी चाैकीकाे उद्घाटन गर्नुभयाे । रम्भा ३ अँगाहाखाेला अमराइमा चाैकी रहेकाे छ ।
उद्घाटन कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक बैदवारले चाडवाडको समयमा शान्ति सुरक्षामा विशेष ध्यान दिन प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन दिनुभयाे। उहाँले प्रहरीले जनताको धनजनको सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धानमा व्यावसायिक दक्षता देखाउनुपर्ने बताउनुभयो । पीपलडाँडा प्रहरी चाैकीमा १५ जनाको दरबन्दी रहेपनि तत्कालका लागी चौकीमा असइको कमाण्डमा १० जनाको जनशक्ति रहनेछ । चौकी स्थापनापछि रम्भा गाउँपालिकाको ताँहु, रम्भापानी, फोक्सिङकोट, झकेदी, खोकखोलाका जनताले सेवा पाउने छन् ।
गाउँपालिका अध्यक्ष बिष्णु भण्डारीले चौकी स्थापनाले गाउँपालिका भित्रकाे सुरक्षाा प्रबन्ध र स्थानीय जनताको शान्ति सुरक्षामा टेवा पुग्ने बताउनुभयो । गाउँपालिकाको पहलमा नै चौकी स्थापना भएको बताउँदै अध्यक्ष भण्डारीले जनता र स्थानीय सरकार प्रहरीको सधै साथमा रहने धारणा राख्नुभयो ।
कार्यक्रममा पाल्पाका प्रहरी प्रमुख एसपी सन्तोष कुमार भट्टराई, स्थानिय राजनितिक दलका प्रतिनिधि लगायतको उपस्थिति थियो ।
काठमाडाैँ। नवनियुक्त मन्त्रीहरुले सपथ लिनुभएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेल, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठ र सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले राष्ट्रपति भवन शीतल निवासमा सपथ लिनुभएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली हिजो मन्त्रिमण्डल पुनर्गठन गर्दै हिजो थप तीन जनालाई मन्त्रीमा सिफारिश गर्नुभएकाे हाे । उपप्रधान तथा रक्षा मन्त्रालयको जिम्मेवारीमा रहेका ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राख्नुभएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका पार्वत गुरुङलाई सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयको जिम्मेवारी दिनुभएको छ ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मन्त्री नियुक्त गर्नुभएकाे थियाे ।
पाल्पा । जिल्लासदरमुकाम तानसेन बजारमा व्यापारीले उपभाेक्तामाथि चरम लापरबाही गरेको पाइएको छ।
घरेलु तथा साना उद्योग कार्यालय पाल्पाले तानसेन बजारमा छड्के अनुगमन गर्दा अनुगममन टाेलीलले खुलेआम उपभोक्ता ठगिएकाे निश्कर्ष निकालेका हुन्।बजार अनुगमन गर्दा वर्षौंअघि म्याद सकिएका सामग्री बिक्री गरेर व्यापारीहरूले उपभोक्तालाई ठगेको खुलेको छ।
बसपार्कमा रहेको होटल डायमण्डले एक वर्षअघि नै म्याद नाघेको बोटल वाटर (बोत्तलको पानी) बिक्री गरेको फेला परेको जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रशासकीय अधिकृत रमा श्रेष्ठले बताउनुभयाे । बिक्री गर्नको लागि फ्रिजमा चिसो बनाएर राखिएको अवस्थामा म्याद नाघेको पिउने पानी फेला परेको छ। श्रेष्ठका अनुसार होटलमा म्याद नाघेका ब्राण्डेड चकलेट समेत बरामद गरिएको छ। एक वर्ष म्याद नाघेका ६५ रुपैयाँसम्म पर्ने चकलेट होटलमा बिक्री गर्न राखिएका थिए ।
कस्मेटिक पसलमा सात वर्ष पहिले नै म्याद नाघेका श्रृंगारका सामग्री बिक्री गरेको फेला परेको छ। तानसेनस्थित सिल्खानटोलमा रहेको एक पसलमा सन् २०१३ मा म्याद नाघिसकेका श्रृंगारका सामग्री बिक्री गरेको खुलेको हो। यहाँ वर्षौंअघी म्याद नाघेका पाउडर, अत्तर, विभिन्न प्रकारका अनुहार तथा हातमा लगाउने क्रिम फेला परेको छ। अनुगमनका क्रममा विभिन्न पेय पदार्थ, ससेज, सोंफ लगायतका सामग्री म्याद नाघेको अवस्थामा फेला परेको थियो।
करिब २५ हजार रुपैयाँ बराबरको म्याद नाघेका सामग्री जफत गरेर नष्ट गरिएको घरेलु कार्यालयका प्रमुख देवीराम भण्डारीले बताउनुभयाे। चाडपर्वको बेला उपभोक्तालाई यो वा त्यो बहानामा ठग्ने प्रवित्ति बढेकोले अनुगमनलाई तीव्र पारिएको उहाँले बताउनुभयाे । उपभोक्तालाई ठगि गरेका व्यापारीलाई कारबाहीको लागि सम्बन्धित निकायमा सिफारिस गर्ने तयारी गरेकाे छ । भण्डारीका अनुसार खाद्यान्न पसल, दुध डेरी, वधशाला, मासु पसल, फेन्सी पसल, कस्मेटिक पसल, औषधि पसल लगायतका पसलहरूमा मूल्य सूची, साइनबोर्ड, व्यवसाय दर्ता तथा नवीकरण, नापतौल, म्याद नाघेको सामग्री, यस अगाडिको निर्देशनको पालना गरे वा नगरेको बारे अनुगमन गरिएको थियो। धेरै व्यापारीले मापदण्ड पूरा गरेका छैनन्।
अनुगमनलाई कडाइका साथ निरन्तरता दिने सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताउनुभयाे। कानुन उल्लंघन गरेर लापरबाही गर्ने व्यापारीलाई कारबाही गर्ने हुन्छ। ‘पटक पटक सुझाव दिँदा समेत नसुध्रिएका व्यापारीलाई कानुन बमोजिम कारबाही हुन्छ,’ उहाँले भन्नुभयाे, ‘आफू ठगिएको महसुस भएमा तत्काल सम्बन्धित निकायमा खबर गर्नुस्।’ म्याद नाघेका सामग्री बिक्री गर्दै आएका व्यापारीलाई प्रशासनमा उपस्थित गराई आवश्यक अनुसन्धान गर्ने काम भइरहेको छ।
प्रदेश नं ५ काे नामाकरण र राजधानी निर्धारणकाे प्रस्तावले सिंगाे देशमा तरंग नै सिर्जना गरेकाे छ । यस प्रस्तावले अत्यन्तै दूरगामी महत्व बाेकेकाे हुनाले हरेकले तदनुरूप सम्यक र सही दृष्टिकोण बनाउन सक्नुपर्दछ । यस पावन बुद्धभूमिका नागरिकहरूले आफ्ना पूर्वजहरू शाक्यमुनी बुद्ध, महर्षि कपिल, पाणिनी, शशीधर स्वामी र स्वर्गद्वारी महाप्रभुहरूका ज्ञान, आदर्श, ध्यान, शिक्षा र साधनाकाे मार्गलाई स्मरण गरेर आफ्ना तमाम कार्य र व्यवहारहरू आज निर्देशित गर्नु आवश्यक छ । दिवंगत अग्रज याेद्दाहरू जीवराज आश्रित, नेत्रलाल अभागी, गुम्राहा थारू, कृष्णसेन इच्छुक, खुबीराम आचार्य, बरमन बुढा र सिद्धिनाथ ज्ञवाली, अनि जिवित धराेहरू माेदनाथ प्रश्रित, माेहनविक्रम सिंह, माेहन वैद्य र देवेन्द्र घिमिरेसमेतकाे जन्म/कर्मभूमिकाे गरिमा राखेर नै हरेकले आआफ्ना समस्त कार्य गरेकाे शाेभायमान हुन्छ । उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पाेखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, नेकपाका उपाध्यक्ष वामदेव गाैतम, महासचिव विष्णुप्रसाद पाैडेल र मुख्यमन्त्री शंकर पाेखरेलसहितका नेताहरूले राजीतिक चेतना, शिक्षा, जागरण, संगठन र परिवर्तनकाे नेतृत्व सम्हालिसक्नुभएकाे यस प्रदेशले देशलाई २/२ जना सभामुखसमेत दिएर नेतृत्वदायी सामर्थ्य प्रस्तुत गरिसकेकाे छ ।
उल्लिखित समग्र पक्षकाे विचार गरेर नै यस्ता तमाम निर्णयहरूकाे सम्मुखमा जिम्मेवारीबाेध र साझा भावनालाई आत्मसात् गर्दै अघि बढ्न सकिन्छ । नेतृत्वले राष्ट्रिय दृष्टिकोण र कार्यकर्ताले सन्तुलित एवं वैज्ञानिक व्यवहारका साथ अघि बढेर मात्र जुनसुकै विषय र प्रसंगमा खास नेतृत्व गर्न सकिन्छ । विगतमा पञ्चायती तानाशाहीले समेत यहाँबाट एकजना प्रधानमन्त्री देशलाई दिएकाे नबिर्सने हाे, नेपाली काँङ्गग्रेसबाट सुशील काेइराला प्रधानमन्त्री हुनुभएकाे तथा दस बर्ष लामाे सशस्त्र संघर्षकाे नेतृत्वका हिसाबले पुष्पकमल दाहाल”प्रचण्ड” प्रधानमन्त्री बन्नुभएकाे सम्झिने हाे भने र यस क्षेत्रकाे समेत पार्टी नेतृत्व सम्हाल्नु भएकाे हैसियतमा वर्तमान प्रधानमन्त्रीले राष्ट्रकाे नेतृत्व सम्हालिरहनु भएकाे तथ्य पनि सर्वविदितै छ । तर बहुदलदेखि गणतन्त्र स्थापनापछिकाे यस लामाे कालखण्डमा यस भूभागमा जन्मेका नेताहरूबाट राष्ट्रकाे नेतृत्वदायी जिम्मेवारी र भूमिका प्रस्तुत हुनसकेकाे भने पाइँदैन । याे विचारणीय र उल्लेखनीय पक्ष हाे ।
प्रदेश र प्रतिनिधि सभा सदस्य हुनु, मन्त्री, मुख्यमन्त्री र उपप्रधान मन्त्री निर्वाचित हुनु त सामान्यजस्तै भयाे ! र, यस्तै जिम्मेवारीले विभिन्न व्यक्तिलमई नेतृत्वका लागि तयार र स्थापित गर्दछन् । तसर्थ: यस विषयलाई निम्नबमाेजिम तथ्य, तर्क र संभावनाहरूका आधारमा निष्कर्षमा पुग्नु बुद्धिमत्तापूर्ण कदम हुनेछ ।
१. प्रदेश नं ५ काे नाम शान्तिका अग्रदूत गाैतम बुद्दकाे जन्मस्थल रूपनदेहीकाे लुम्बिनी र राजधानी दाङकाे देउखुरीमा ताेक्नेगरी प्रदेश सरकारकाे तर्फबाट अघि सारिएको प्रस्ताव सुझबुझपूर्ण, व्यवहारिक र वैज्ञानिक छ । दाङ-देउखुरीका राप्ती र गढवासँगै अर्घाखाँचीकाे शीतगंगा नगरपालिकाका केही वडाका साथै यसमा निकट रूपमा जाेडिएकाे प्यूठानकाे सरूमारानी गाउँ पालिकाका १ र २ वडा पनि समेटी प्रस्तुत प्रस्तावलाई अझ व्यापक र स्वीकार्य बनाइनुपर्छ । यसाे गर्दा प्रस्तावित राजधानी लुम्बिनी प्रदेशका १२ जिल्लाकाे पायक र पहुँचमा अवस्थित साँच्चिकै नयाँपनकाे प्रतीक बनाउन संभव छ ।
२.नयाँ राजधानी पुग्न पाल्पा, गुल्मी र अर्घाखाँची हुँदै छाेटाे नयाँ सडक पूर्वाधार बनाउनुपर्ने हुन्छ, जाे प्रस्तावित मात्रै नभएर ट्रयाकसमेत बनिसकेको छ। पूर्वी रूकुमबाट राेल्पा, प्यूठान हुँदै राजधानीसम्म हाल बुटवल पुग्न लाग्ने समयभन्दा आधा छिटाे संभव हुन्छ । गुल्मीकाे पश्चिम भेग र प्यूठानको उत्तर पूर्वी भेगका बासिन्दाहरू प्रसतावित मदन भण्डारी मार्गकाे खण्ड तथा कृष्णसेन आश्रित प्रादेशिक मार्ग हुँदै तथा हाल बाग्दुला- भालुवाङमा संचालनमा रहेकाे पक्की बाटाेबाट नै राजधानी पुग्ने पूर्वाधार विद्यमान छ । साथै, नयाँ राजधानीबाट पूर्वतर्फ दाउन्ने, बर्दघाट, सुनवल र परासी तथा पश्चिमतर्फ बाँके र बर्दिया(कर्णाली पुलकाे वल्लाे छेउसम्म)का बासिन्दा अहिले हालकाे अस्थायी राजधानी बुटवल आइपुग्न जसरी दिनभरजस्ताे समयदलाग्ने अपायक अवस्था छ, यसकाे सट्टा तीन घण्टामै नयाँ स्थायी राजधानी पुग्न पूर्व-पश्चिम राजमार्गबाटै संभव हुने स्थिति छ ।
३. प्रस्तावित स्थायी राजधानीकाे निर्णयमा नेकपाका आदरणीय अध्यक्षद्वय, महासचिव विय्णुप्रसाद पाैडेल र मुख्यमन्त्री शंकर पाेखरेलले उन्नत आन्तरिक समझदारी गरेर सबैकाे मनाेदशा र भावनाहरूलाई जाेड्नुभएकाे छ । प्रस्तावित राजधानीले जहाँनिया राणाशासनकाे अन्त्यपछि बनेकाे पहिलाे संयुक्त सरकारका एक सदस्य भरतमणि शर्मा र दस बर्ष लामाे सशस्त्र युद्धका अग्रणी कलमयाेद्दा कृष्णसेन इच्छुककाे कर्मभूमिसमेतका रूपमा महत्व राख्दछ ।
४. राजधानीकाे यस प्रस्तावलाईअघि बढाउँदा प्रदेशसभाकाे गत निर्वाचनमा बुटवल र दाङलाई राजधानी बनाइछाड्ने चुनवी एजेन्डाबाट मुक्त गरी नयाँ संभावनायुक्त र पायकपर्ने स्थान राेजिएकाे छ। अहिले बुटवलबाट १०० किमी पश्चिम तथा तुल्सीपुरबाट ७५ किमी र घाेराहीबाट ५० किमी पूर्वकाे नयाँ ठाउँमा राजधानीकाे स्थान छानेर सबैका माग र भावनालाई समेटी एकताबद्ध गरिएको छ । अर्थात्, नेताहरूका अलगअलग अडान, इगाे र चुनावी प्रतिबद्धतालाई समेत आग्रह पूर्वाग्रहभन्दा माथि उठेर विवेकसम्मतढंगले समेटेर नयाँ प्रस्ताव गरिएको छ ।
५. नाैमुरे बहुउद्देश्यीय जलविद्युत परियाेजनाकाे निर्माणसँगै प्रस्तावित राजधानी नदीकिनारमा अवस्थित, याेजनाबद्द र दीर्घकालीन संभावनाकाे नयाँ, आधुनिक र स्वप्निल शहरका रूपमा विकास गर्न सकिने छ । सुरूङमार्गबाट दाङ-घाेराहीलाई यससँग जाेडेर प्रस्तावित नारायणपुर अन्तर्राष्ट्रिय विमानस्थलसम्मकाे आवतजावत छिटाेछरिताे बनाउने तथा सुराईनाका कपिलवस्तुतर्फ पनि तदनुरूप सुरूङमार्ग निर्माण गरी गाैतमबुद्द अन्तर्राष्ट्रिय विमानस्थल पुग्नसमेत छरिताे र सहजता बनाउन सकिने छ । यसरी भैरहवा(रूपन्देही), नारायणपुर(दाङ) र राँझा(बाँके) गरी तीनवटा विमानस्थलहरू एवं राप्ती जलमार्ग, रेलमार्ग र राजमार्गहरूले पनि राजधानीलाई राष्ट्रिय/अन्तर्राष्ट्रिय दुनियाँकाे कनेक्टिभिटीसँग व्यवस्थित ढंगले अाबद्द गर्न सकिने छ ।
६. हरेक प्रदेशका राजधानीसम्म नागरिकता लिन, जन्मदर्ता गर्न, विवाह दर्ता गर्न वा राहदानी बनाउन अर्थात् जनताका आधारभूत सेवा सुविधाकाे निम्ति पुगिरहनु त पर्दैन । यस्ता सेवाहरू त वडा, पालिका र जिल्ला तहबाटै उपलब्ध हुने संबैधानिक र कानुनी प्रबन्ध रहेकाे छ । यस्ताे अवस्थामा संघीयताकाे मर्मविपरित अाफ्नै करेसामा बलजफ्ती राजधानी बनाउने प्रयाश गर्नु भनेकाे जाेकसैकाे नितान्त गलत कसरत हुनजान्छ । अस्थायी राजधानी ताेक्नु भनेकाे केवल अस्थायी प्रबन्ध गर्नु मात्रै थियाे, त्यसैलाई स्थायी व्यवस्था र निर्णयजस्ताे गरेर तदर्थ अवस्थाकाे सट्टा स्थायी प्रबन्ध मिलाउन ढिलाे भइसकेकाे थियाे ।
७. बाँके-बर्दियाकाे नेपालगंज र रूपैडिया सीमा नाका, रूपन्देही, कपिलवस्तु र परासीकाे सुनाैली सीमा नाकाजस्तै नयाँ राजधानीकाे विकाससँगै कृष्णनगर र काेइलाबासका चालू र ऐतिहासिक सीमा नाकाहरूकाे विकास र प्रयाेगले भिन्न संभावना र नयाँ परिवेश निर्माण हुने निश्चित छ । अनि, रामग्राम, लुम्बिनी, स्वर्गद्वारी, बागेश्वरी र ठाकुरद्वाराकाे एकीकृत पर्यटकीय विकासले प्रक्रियाले पनि नयाँ फड्को मार्न सक्ने ढाेका खुल्छ। ८.२०७५ साल फागुनमा नेपाल पत्रकार महासंघकाे ५ नं. प्रदेशस्तरीय भेला भालुबाङकाे जलुकेस्थित सहिद कृष्णसेन इच्छुककाे भग्नावशेषयुक्त परिसरमा आयाेजना गरी मुख्यमन्त्री शंकर पाेखरेलसमक्ष यस क्षेत्रलाई प्रदेशकाे राजधानी बनाउनु उचित हुने अनुराेधसमेत गरिएकाे थियाे । प्रदेश सभाले गठन गरेकाे सिफारिश समितिले प्रस्तुत गरेका विकल्पहरूमा पनि याे एक विकल्पका रूपमा प्रस्तावित थियाे । पूर्वाधार विकासकाे दीर्घकालीन संभावनाका हिसाबले पनि याे भर्जिनल्याण्ड नयाँ राजधानी शहर निर्माणका लागि उत्तम र नवीन विकल्पका रूपमा रहेकाे तथ्य निर्विवाद छ ।
९. देशका सातवटै प्रदेशहरूका राजधानीहरूमध्ये यसलाई याेजनाबद्द, दीर्घकालीन र नमूना विकासकाे उदाहरणीय दृष्टान्त बनाएर प्रदेश सरकारले आफ्नाे पाैरख र दूरदर्शिता प्रस्तुत गर्न सक्दछ । यसनिम्ति याे अवसर र चुनाैती दुबै हाे ।
१०. जनतालाई अनुचित ढंगले भड्काउन चाहनेहरू त सदैव सक्रिय भइनै रहन्छन् । कथंकदाचित् बुटवललाई अहिले स्थायी राजधानी बनाउन प्रस्ताव गरिएको भए त्यस्ता तत्वहरू मुख्यमन्त्री पदसँग प्रदेशकाे राजधानी साटेकाे” तथा भनी मुख्यमन्त्री शंकर पाेखरेलकाे तेजाेबध गर्न वा पञ्चायतकालमा निसीभूजी र ढाेरपाटनका बासिन्दालाई अन्याय र उपेक्षा गरी कुश्मा र बेनीसँगै जस्ताेगरी पूर्वी छेउ र कुनामा बागलुङको सदरमुकाम बनाएजसरी बुटवललाई बलपूर्वक राजधानी बनाइएकाे भन्न नै लागिपरेका हुन्थे ।अहिले त्यस्तै तत्वहरू मुख्यमन्त्री सवारगाडीमाथि लक्षित गरेर ढुंगा प्रहार गर्ने र हताेत्साहित गर्ने दुर्नियतका साथ सक्रिय भएका छन् । यस्ता अराजनीतिक, अपराधिक र अराजकतापूर्ण क्रियाकलापको सबै सचेत, जागरुक र विवेकी नागरिकहरूले निन्दा, भ्रत्सर्ना र प्रतिवाद गर्नुपर्दछ।
११.प्रदेशकाे राजधानी नहुँदैमा बुटवल किमार्थ पनि पछि पर्दैन । यसकाे विकास धेरै अगाडि पुगिसकेकाे छ । अझ विष्णुप्रसाद पाैडेल, घनश्याम भूसाल, बालकृष्ण खाँड र दीपक बाेहराजस्ता नेताहरू यहाँकाे विकासमा नेतृत्वदायी तहमा सक्रिय हुनुहुनछ। फेरि लुम्बिनीको विकास नै बुटवल, भैरहवा, तिलाैराकाेट र रामग्रामकाे विकासकाे मेरुदण्ड हाे, राजधानी भालुवाङ भए पनि लुम्बिनी त यहीं नै छँदैछ । सिद्धबाबा – पाल्पाकाे निर्माणाधीन सुरूङमार्गले पाल्पालाई समथरकाे परासीजस्तै गरी बुटवल र नयाँ राजधानीसँगकाे समान निकट सम्बन्ध कायम गर्ने आधार बन्न सकिहाल्छ । तसर्थ: गणतन्त्र नेपालमा चार हजार बर्ष पुरानाे संस्कृति, सभ्यता र संस्कार बाेकेकाे यस गाैरशाली प्रदेश र अझ व्यापारिक विकासकाे केन्द्र भइसकेकाे बुटवलमा कसैले पनि संकीर्ण स्वार्थवश भड्कावयुक्त गतिविधि गर्नु मनासिब, उचित र शाेभनीय कार्य हुनसक्दैन । जनजाति महासंघ वा कुनै संघ/संगठनका असम्बन्धित वक्तव्यवाजीहरूले पनि यस विषयकाे निर्णयमा खास तात्विक अर्थ र महत्त्व राख्दैनन् ।हामीले स्वीकारेकाे जातीय संघीयता पनि हाेइन । कुनै जिल्ला विशेषका राजनीतिक शक्ति वा संघसंस्थाहरूले पनि एक पाखे खालका धारणा र आग्रहअनुरूप यस निर्णयलाई प्रभावित पार्न खाेज्नु उचित, सन्तुलित र बुद्दिमत्तापूर्ण कार्य हुनसक्दैन । किनभने हामीले समष्टिगत र समग्र रूपमा निर्णय लिएर राष्ट्रिय दृय्टिकाेण र अवधारणा प्रस्तुत गर्न सक्नुपर्दछ ।
१२. पार्टीका अादरणीय अध्यक्षद्वयकाे सुझबुझपूर्ण निर्देशन, त्यसमा अाधारित भई प्रदेश सरकारले गरेकाे निर्णय, प्रदेशसभा संसदीय दलमा भएकाे घनीभूत छलफल र निष्कर्षबमाेजिम निर्णय कार्यान्वयनकाे पक्षमा एकढिक्का अडान, प्रदेश सांसदहरूले राखेका आआफ्ना जिल्ला क्षेत्रकेन्द्रित सुझाव र पुराना अडानका बावजुद सत्तारूढ दलले संस्थागत निर्णयकाे पक्षमा प्रदर्शन गरेकाे सुझबुझ एवं समझदारीले नै प्रदेशकाे नाम र राजधानी निश्चित गर्ने याे निर्णयमा प्रदेसभामा उपस्थित पक्ष-पतिपक्ष र सबै राजनीतिक शक्तिहरूकाे साझा तथा अन्तत: सर्वसम्मति कायम हुनेछ भन्ने अपेक्षा र विश्वास गर्न सकिन्छ ।
बुटवल । गुल्मी रिडीका समाजसेवी गणेशपुण्य श्रेष्ठले सामुदायिक रेडियो मदनपोखरालाई मुष्ठीदान गर्नुभएको छ ।
रिडीमा रहँदा सामुदायिक रेडियो मदनपोखरा सुन्नुभएका श्रेष्ठले ३ सय ६५ दिनको मुष्ठीदान स्वरुप पाँच हजार रुपैँया हस्तान्तरण गर्नुभएको हो । बुटवलमा रहनुभएका श्रेष्ठले विगतमा रेडियोले सूचना प्रवाहमार्फत् पु¥याएको योगदानको स्मरण गर्दै सामुदायिक रेडियो मदनपोखराका सञ्चालक समितिका अध्यक्ष झपेन्द्रबहादुर जिसीलाई नगद हस्तान्तरण गर्नुभयो ।
रेडियो मन लगाएर सुन्ने, सकारात्मक नकारात्मक कुरा गुन्ने र राम्रा कुरालाई दिलमा उन्ने गर्नुभएका श्रेष्ठलाई मुष्ठीदान गर्न अधुरै रहन्छ कि भन्ने पिरलो रहेको थियो । पिरलोमोचनपछि समाजसेवी श्रेष्ठले भन्नुभयो, ‘समुदायलाई सत्य तथ्य सूचना चाहिन्छ, मदनपोखराले सधैभर यस्तो काम गरिरहोस् ।’ अध्यक्ष जिसीले मुष्ठीदानका लागि आभार व्यक्त गर्दै समुदायले दिएको माया एक रुपैँया नै किन नहोस् त्यो हाम्रा लागि लाख हो भन्नुभयो । भेटमा अध्यक्ष जिसीले सारेमका प्रकाशन बाेली पत्रिका पनि श्रेष्ठलाई प्रदान गर्नुभयाे ।
सामुदायिक रेडियो मदनपोखरा सुन्नेहरुले रेडियोको दिगो विकासका लागि मुष्ठीदान र दाउरादान गर्दै आएका छन् ।
पाल्पा । प्रदेश नम्बर पाँचको राजधानी दाङको देउखुरी बनाउने प्रस्ताव प्रदेश सभामा पेश भएको छ ।
प्रदेश सरकारले आजको प्रदेशसभा बैठकमा राजधानी र नामाकरण निर्धारणसम्बन्धी कार्यविधि पेश गरेर प्रस्ताव अघि बढाउन लागेको हो । प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशको नाम लुम्बिनी र दाङको देउखुरीलाई राजधानी प्रस्ताव टेवल गर्नुभयो । प्रदेशसभाको बैठकमा मन्त्री केसीले भन्नुभयो, ‘दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँचीको शितगंगा नगरपालिकाले ओगटेको क्षेत्र राप्ती नदी किनार मैदानी भाग देउखुरीलाई राजधानीको रुपमा प्रस्ताव गर्दछु ।’
प्रदेशसभा बैठक अगाडि प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशको प्रस्तावित नाम लुम्बिनी र राजधानी दाङको देउखुरी बनाउने प्रस्ताव प्रदेशसभामा लैजाने निर्णय गरेको छ । प्रदेशको राजधानी बुटवल कि दाङ भन्ने विषयमा सत्तारुढ दल नेकपामा विवाद रहेको थियो । नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सहमती भएपछि प्रदेश सरकारले राजधानी र नामांकनको विषय पेश गरेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री केसीले प्रदेशसभा सदस्यहरुलाई इतिहासका रचयिताको संज्ञा दिदै ऐतिहासिक गौरवको दिन, अढाई वर्षको छलफलको निष्कर्ष र प्रदेशसभाको नयाँ रुप दिने दिनका रुपमा लिएको छु भन्नुभयो । ‘अब अंक अंकित नामलाई अक्षर अंकित नामले प्रदेशको पहिचान बन्नेछ ।’
संविधानअनुसार स्थायी राजधानी र नामाकरणको प्रस्ताव पारित हुन दुई तिहाई मत चाहिन्छ । प्रदेशसभा ८७ सदस्यीय रहेको छ । यो प्रस्ताव प्रदेशसभाबाट पारित भएपति प्रदेशको राजधानी र नामको टुंगो लाग्नेछ । प्रदेश ५ को अस्थाई राजधानी अहिले बुटवलमा छ। देउखुरी बुटवलबाट करिव ११० किलोमिटर पश्चिम र नेपालगञ्जबाट १५५ किलोमिटर पूर्वमा अवस्थित छ ।
मुख्यमन्त्री शंकर पोखरेलले भर्जिन एरिया नै राजधानी बन्छ र सबैले खुशीयालीपूर्वक स्वागत गर्दछन् भन्दै आउनुभएको थियो । नेकपाभित्र वैचारिक नेताको पहिचान बनाउनुभएका मुख्यमन्त्री पोखरेलले भूगोलको बीच भाग र राप्ती किनारको भर्जिन एरियालाई नै प्रस्तावित गरेर बचनको पक्का भएको आफूलाई प्रमाणित गराउनुभएको छ । नेकपाले प्रदेश इन्चार्जसमेत रहनुभएका पोखरेलकाे मुख्यमन्त्री निवासमा भोलि बिहान ८ बजे पार्टी संसदीय दलको बैठक बोलाएको छ ।
पाल्पा । तानसेन नगरपालिका वडा नं ७ बाघखोरको निर्माणाधिन शीत भण्डार (कोल्ड स्टोर) को काम अलपत्र परेको छ ।
नगरपालिकाले पन्ध्र महिनामा सक्ने गरी हिमडुङ एण्ड थोकर एण्ड जय रक्तकाली जेभीलाई ठेक्का दिएको कोल्ड स्टोरको काम ८ वर्ष बित्दासमेत सम्पन्न हुन सकेको छैन । विगत तीन वर्षदेखि निर्माणको काम ठप्प छ । निर्माण भएका संरचना काम नलाग्ने अवस्थामा पुगेका छन् भने कतिपय संरचनामा थप कार्य गर्न नहुने अवस्थामा पुगेको छ । कृषि उपज भण्डारण गरी किसानलाई सहुलियत दिने उद्देश्यले महत्वका साथ अगाडि सारेको यो योजनाले पाल्पामा असफल योजनाका रुपमा चर्चा पाइरहेको छ ।
तानसेन नगरपालिकाले निर्माण व्यवसायीको कार्य सन्तोषजनक नभएकाले कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । असोज ८ गते बसेको नगर कार्यपालिकाको बैठकले अन्तिम कारबाहीका लागि कानुनी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेल्बासेले बताउनुभयो । भारतीय राजदूतावासको ४ करोड ९९ लाख ९१ हजार ९ सय ५ रुपैँया आर्थिक सहयोगमा सुरु भएको कोल्ड स्टोरको ८ वर्षको अवधिमा २७ प्रतिशत मात्र प्रगति भएको देखिन्छ । बहादुरसिंह लामाको हिमडुङ एण्ड थोकर र रामप्रसाद भट्टको जय रक्तकालीले जेभीमा यो योजनाको ठेक्का लिएका हुन् ।
२०६९ फागुन २३ गते सम्झौता भएको योजना २०७१ जेठ ३० गते सम्पन्न गर्ने म्याद रहेको थियो । समयमा काम सम्पन्न नभएपछि नगरपालिकाले ३ पटक योजनाको म्याद थपेको छ । असार मसान्त यता भने सम्झौताको म्याद थपिएको छैन । नगरपालिकाले २०७५ माघ ८ गते पूर्व निर्धारित क्षतिपूर्ति वापत ४८ लाख २२ हजार ५५ रुपैँया बुझाउन व्यवसायीलाई पत्राचार गरेको र त्यसपछि काम नभएकाले कारवाहीका लागि प्रक्रिया अन्तिम अगाडि बढाउने तयारी गरेको इन्जिनियर रामप्रसाद श्रेष्ठले बताउनुभयो । सार्वजनिक खरिद ऐन अनुसार अन्तिम कारवाही भनेको कालोसूचीमा राख्ने हो ।
निर्माण व्यवसायी रामप्रसाद भट्टले आफूले काम गर्न हिमडुङ एण्ड थोकरसँग जेभी बनाएर ठेक्का लिएको र भुक्तानीमा समस्या रहने गरेकाले काममा ढिलाई भएको बताउनुभयो । भारतीय दूतावासकै पहलमा नगरपालिका र निर्माण व्यवसायी बहादुरसिं लामा बीच नगरपालिकाले जरिमाना नलगाउने र निर्माण व्यवसायीले मूल्य वृद्धि नखोज्ने सहमति भएको भट्टको भनाई छ । निर्माण व्यवसायी भट्टले कामको मूल्यांकन गरी ५० लाख रुपैँया आफूहरुले भुक्तानी नपाएको दावी गर्नुभयो । नगरपालिकाले निर्माण कम्पनीलाई हालसम्म २ करोड १६ लाख रुपैँया भुक्तानी दिएको छ ।
नगरपालिकाले निर्धारित रकमको क्षतिपूर्ति तिर्न पत्राचार गर्ने र बीचमा कार्यान्वयन नगर्दा निर्माण व्यवसायीले सरकारलाई नटेरेको सरोकारवालाहरु बताउँछन् । निर्माण व्यवसायीलाई नगरपालिकाले कालोसूचीमा राख्ने भन्न थालेको पनि २ वर्ष बितिसक्यो । निर्माण व्यवसायीले आलटाल गर्दा गर्दै कोल्ड स्टोर नबन्ने अवस्था आएपछि यस क्षेत्रका किसानहरु निराश भएका छन् ।
नगरपालिकाका प्रमुख अशोककुमार शाहीले निर्माण व्यवसायीको कमजोरीका कारण सिंगो नगरपालिकाको विकास योजना प्रभावित हुने गरेको बताउनुभयो । प्रमुख शाहीले काममा ढिलासुस्ती र लापरवाही गर्ने निर्माण व्यवसायीको सूची तयार गरी निर्माण कार्यमा सहभागी नगराउने निर्णय गरेको बताउनुभयो । नगरपालिकाभित्र निर्माण व्यवसायीबाट भएका अनगिन्ती समस्याका कारण स्थानीयस्तरबाटै सार्वजनिक खरिद नियमावली जारी गरी काम नगर्ने निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने प्रबन्ध गर्न कार्यपालिकाले सुझाव दिएकाे छ ।
पाल्पा र आसपासका क्षेत्रमा उत्पादन भएका तरकारी, फलफूल, अदुवा, दूधलगायतका कृषि उत्पादनलाई चिस्यान केन्द्रमा भण्डारण गर्न यसको आवश्यकता महशुस गरिएको थियो । उत्पादित समयमा बजारमा खपत हुन नसकेको वस्तु र कृषि उपजको मूल्यका कारण किसानलाई हुने नोक्सानीबाट जोगाउन यो दुई हजार टन क्षमताको कोल्ड स्टोरको निर्माण सुरु गरिएको हो ।