सामुदायिक रेडियो मदनपोखरा
spot_img
Home Blog Page 14

बगनासकालीमा विद्यालय सञ्चालन


बगनासकाली । कोभिड–१९ को संक्रमणका कारण बन्द रहेका पाल्पाको बगनासकाली गाउँपालिकाभित्रका विद्यालयहरू मंसिर ८ गते देखि सञ्चालन भएका छन् ।

गाउँपालिकाले नेपाल सरकारद्वारा जारी विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा २०७७ अनुसार स्वास्थ्य मापदण्ड पूरा गरी विद्यालयमा हुने सिकाई क्रियाकलालाई सूचारु गर्न विद्यालयलाई निर्देशन दिएको हो । गाउँपालिका शिक्षा समिति र सरोकारवालाहरूको बैठक बसी कोरोना महामारीको कारण विद्यालयहरूमा हुने सिकाई क्रियाकलापमा प्रभाव परेको भन्दै सोमबारदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले जानकारी दिनुभयो ।

विद्यालय सञ्चालन गर्दा प्रत्येक विद्यालयलाई विद्यालय सञ्चालन सम्बन्धी कार्य ढाँचालाई राम्रोसँग अध्ययन गरी पूर्ण पालना गर्नुपर्ने निर्देशन दिइएको शिक्षा शाखा प्रमुख गुनाराम खनालले जानकारी दिनुभयो । गाउँपालिकाले अनिवार्य रूपमा स्वास्थ्य सुरक्षा मापदण्ड अन्तर्गत पर्ने साबुन पानीले हात धुने, मास्क, स्यानिटाइजरको प्रयोग गर्ने, भौतिक दुरी कायम गर्नेजस्ता नियम पालन गर्ने गराउने व्यवस्था मिलाउन समेत विद्यालयलाई निर्देशन दिएको छ ।

‘एउटा बेन्चमा बढीमा २ जना मात्र विद्यार्थी राख्ने व्यवस्था मिलाउने र सवारी साधन सञ्चालन गर्न चाहने विद्यालयले स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालन गरी विद्यार्थी लाने ल्याउने व्यवस्था गर्ने निर्देशन भएको छ ।’ शिक्षाशाखा प्रमुख गुनाराम खनालले बताउनुभयो, वहाँले ‘पूर्व प्राथमिक तहका बालबालिकालाई हाललाई विद्यालयमा नबोलाउने, विद्यालयमा खाजा नास्ताको लागि बालबालिकाहरूले घरबाट ल्याउन अभिप्रेरित गर्ने जस्ता निर्णय गरेको पनि जानकारी गराउनुभयो ।

गाँउपालिकाले रुघा, खोकी ज्वरोका लक्षयमा देखिएमा त्यस्ता बालबालिकालाई घरबाट नआउन भन्ने, कोरोना पोजेटिभ देखिएका घरपरिवारका बालबालिका समेत विद्यालयमा नआउने भन्ने, विद्यालय सञ्चालन गर्दा कोरोना झन फैलने स्थिति देखिएमा वा बढेमा विव्यसको बैठक बसी पठनपाठन सम्बन्धी आवश्यक निर्णय लिन पालिकाभित्रका शैक्षिक संस्थालाई निर्देशन गरेको छ ।

गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले सवै विद्यालयहरूलाई नजिकको स्वास्थ्य चौकीसँग निरन्तर परामर्श लिइरहन र विद्यालयमा पठनपाठनबाहेक अन्य क्रियाकलापहरुलाई हाललाई सञ्चालन नगर्ने नगराउने निर्णय गरेको बताउनुभयो । ‘सम्बन्धित वडाको जनप्रतिनिधि, राजनीतिक दल, शिक्षक संघ संस्थाको प्रतिनिधि र सरोकारवालाहरूबाट मापदण्ड पूरा भए नभएको नियमित अनुगमनको व्यवस्था गाउँपालिकाबाट गरिनेछ।’अध्यक्ष बस्यालले बताउनुभयो। वहाँले सवै मापदण्डहरूको पूर्ण पालन गर्ने गराउने दायित्व सम्बन्धित विद्यालयको प्रधानाध्यापकको हुने भएकोले स्वास्थ्य मापदण्ड गरी उच्च सतर्कतका साथ विद्यालय सञ्चालन गर्न अनुरोध गरिएको बताउनुभयो ।

तानसेन श्रीनगरमा विग बुद्धको संरचना निर्माण अगाडि बढाउने

पाल्पा । तानसेन नगरपालिकाले श्रीनगरमा विग बुद्धअन्र्तगत वाटर फाउन्डेसनका लागि नेपाल सरकार अर्थ मन्त्रालयसँग बजेट माग गर्ने निर्णय गरेको छ ।

तानसेन नगरपालिकाको आठौं कार्यपालिका बैठकले विग बुद्धको विस्तृत सम्भाव्यता अध्ययन डिपिआर अन्तिम चरणमा रहेको र वाटर फाउन्डेसनका लागि नेपाल सरकारसँग बजेट माग गर्ने निर्णय गरेको हो । कार्यपालिकाले विग बुद्धको फाउन्डेसन निर्माणअन्तर्गतको संरचना निर्माणको प्रकृया अगाडि बढाउने निर्णय गरेको छ । नगरपालिकाका प्रमुख अशोककुमार शाहीले यो विग बुद्ध १ अरवको परियोजना रहेकोमा फाउन्डेसन निर्माणमा १३ करोड, बुद्ध मूर्तिमा २१ करोड र वाटर फाउन्डेसनको ५ करोड रुपैँया स्टमेट गरिएको बताउनुभयो ।

 

शिक्षातर्फको सशर्त अनुदानमा प्राप्त बजेटबाट विद्यालयको माग वमोजिम शैक्षिक तथा भौतिक पूर्वाधार कार्यक्रममा ८१ लाख रुपैँया बजेट बाँडफाँड गरिएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेल्बासेले बताउनुभयो । जनता माध्यमिक विद्यालय, दमकडा माध्यमिक विद्यालय, लुम्बिनी माध्यमिक विद्यालय, त्रिभुवन माध्यमिक विद्यालयलाई ६ लाख ५० हजारका दरले माध्यमिक पुस्तकालय निर्माणमा लगानी गर्ने भएको छ । यसैगरी भुसलडाँडा माध्यमिक विद्यालय, देववाणि माध्यमिक विद्यालय, पद्यम पब्लिक माध्इमिक विद्यालयमा विज्ञान प्रयोगशालामा ६ लाख ५० हजार, मोहनकन्या माध्यमिक विद्यालय, सरस्वती माध्यमिक विद्यालय र शारदा माध्यमिक विद्यालयलाई आइसिटीमा ६ लाख ५० हजार रुपैया विनियोजन गरेको छ । यसैगरी अर्गलीको त्रिभुवन माध्यमिक विद्यालय र बालज्योति प्राथमिक विद्यालयलाई शौचालय निर्माणमा ७ लाख रुपैया, सेन माध्यमिक विद्यालय, जनप्रिय माध्यमिक विद्यालय, मण्डली माध्यमिक विद्यालय र गार्गी माध्यमिक विद्यालयलाई क्रियाकलापमा आधारित सामग्रीमा ५० हजार रुपैंया विनियोजन गरेको छ ।

नगरपालिकाको शिक्षातर्फको प्रवद्र्धनात्मक डेढ करोडको बजेटका कार्यक्रम पनि छुट्टयाएको छ । नगरपालिकाले १८ वटा माध्यमिक विद्यालयका ५४ जना र आधारभूतका ३४ शिक्षकलाई ७५\२५ को लागत साझेदारीमा ल्यापटप दिने निर्णय गरेको छ । शिक्षकले ल्यापटप खरिदमा प्रतिव्यक्ति १५ हजार रुपैँया प्राप्त गर्नेछन् । विद्यालयमा आइसिटी व्यवस्थापनमा ९ लाख, युवा खेलकुदमा ५ लाख, विद्यालयलाई मास्क र सेनिटाइटरका लागि ५ लाख, महामारीमा सक्रिय ३० शिक्षकलाई २ हजारका दरले ६० हजार, विद्यालय अनुगमन डेढ लाख, शिक्षा समितिको बैठक र क्यालेन्डर निर्माण २ लाख ३१ हजार, वैकल्पिक सिकाइ सहजीकरण ५ लाख, स्थानीय पाठ्यक्रम निर्माण ४ लाख, अतिरिक्त क्रियाकलाप ४ लाख बजेट बाँडफाँड गरेको छ ।

तानसेन नगरपालिकाले हरित वसपार्क निर्माणका लागि नगर विकास कोषसँग १० करोड बराबरको ऋण र अनुदान माग गर्नेलगायतका निर्णय गरेको छ । बसपार्क निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न कन्सल्टेन्टमार्फत् काम अगाडि बढाउने तयारी गरिसकेको छ ।

विदेशमा प्रकाशित पुस्तकमा लगाउने कर उचित छ: मुद्रण संघ रूपन्देही

बुटवल । मुद्रण उद्योग संघ रुपन्देहीले पुस्तकमा लगाएकाे कर हटाउने मन्त्रीपरिषद्काे निर्णय सच्चाउन अनुराेध गरेकाे छ ।

संघले हिजाे प्रेस विज्ञप्ति प्रकाशित गरी १० प्रतिशत भन्सार कर लगाउने नीति पास भएपछि नेपालका मुद्रण व्यवसायीले राहतकाे महशुस गरेकाेमा पछिल्लाे मन्त्रिपरिषदकाे बैठकले भन्सार करमा छुट दिने निर्णयले स्वदेशी उद्याेगलाई धरासायी बनाउने बताएकाे छ । नेपाल सरकार मन्त्रिपरिषदकाे कार्तिक २४ गतेकाे बैठकले विदेशमा छपाइ गरेर ल्याउने पुस्तकमा लगाउने १० प्रतिशत भन्सार कर हटाउने निर्णय गरेकाे थियाे । 

सरकारले प्रकाशन सम्बन्धी कच्चा पदार्थमा १५ प्रतिशत् कर र भ्याट १३ प्रतिशत् गरी २८ प्रतिशत्सम्म कर ठोकेपछि कसरी नेपालका मुद्रण व्यवसायले प्रगति र उन्नति गर्न सक्लान् ? विदेशबाट आएका प्रकाशित सामग्रीहरुसँग प्रतिस्पर्धा गर्न सक्ला ? त्यसैले कच्चा पदार्थमा लगाइएको कर सरकारले खारेज गर्नुपर्छ र स्वदेशी प्रकाशकले छपाई ल्याएका प्रकाशित सामग्रीमा भन्सार महसुल वापतको १० प्रतिशतलाई कुनै पनि हालतमा छुट दिन नहुने भन्दै रुपन्देही मुद्रण उद्योग संघको आयोजना र मुद्रण व्यवसायीहरुको संलग्नतामा कार्तिक २८ गते शुक्रवार विहान ११ः३० देखि मध्यान्ह १२ वजेसम्म पुष्पलाल पार्कमा व्यानर र प्लेकार्डसहित विरोध प्रदर्शन र सवा १२ वजे लुम्बिनी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री लिला गिरीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम राखेकाे छ । 
नेपालमा मुद्रण व्यवसाय सञ्चालनछि स्थानीयहरुले रोजगार पाएका छन् । व्यवसायीहरुले आफ्नो लगानी सुरक्षित तरिकाले प्रयोग गर्ने अवसर सिर्जना गरेका छन् । उपभोक्ताहरुको मागलाई छिटो छरितो सम्पादन गरी मुद्रण गरिएका सामग्रीहरु उपलब्ध गराइएका छन् । राज्यलाई मुद्रण व्यवसायीहरुले सक्दो कर भुक्तान गरेका छन् । यो एकहदसम्मको सकारात्मक कार्य हो ।

नेपालमै उपयुक्त छपाइ मेसीन,दक्ष कारिगरहरु,उत्तम व्यवस्थापन हुँदाहुँदै पनि खोइ के कारणले हो ( सायद कमिसन हुन सक्छ ! ) छपाइका लागि नेपाल बाहिर पठाउने चलन आएको छ । यसका लागि सरकारले नेपालभित्रका प्रकाशकहरुले विदेशमा छपाइ ल्याएका पुस्तकमा भन्सार महसुल १० प्रतिशत् लगाउने निर्णय गरेकोमा नेपालका मुद्रण व्यवसायीहरुले खुसी व्यक्त गरेका थिए । भरखरै अर्थमन्त्रालले गरेको निर्णयमा समेत सो कायम गरिएको छ । अर्थमन्त्रालयले भनेको छ– १० प्रतिशत् भन्सार महसुल छुट विदेशी प्रकाशकले प्रकाशन गरेका पुस्तक आयातको हकमा मात्र लागू हुने भएको छ । तर यसको ठोस ग्यारेन्टी नभएसम्म विरोध कार्यक्रम जारी राख्ने रुपन्देही मुद्रण उद्योग संघले जनाउँदै आएको छ ।

जंगबहादुर राणाले बेलायतबाट गिद्दे प्रेस नेपालमा भित्र्याएपछि नेपालमा मुद्रणको काम सुरू भएकाे इतिहास भेटिन्छ । नेपालमा छपाइ सम्बन्धी पछिल्लो समयमा दु्रतर विकास भए तापनि सही व्यवस्थापन र राज्यबाट सहयोग मिल्न नसक्दा मुद्रण व्यवसायमा असर परेकाे व्यवसायीहरूले गुनासाे गरेका छन् । 

पाल्पामा थप १५ जनामा कोरोना संक्रमण

Nurse wearing respirator mask holding a positive blood test result for the new rapidly spreading Coronavirus, originating in Wuhan, China

तानसेन । पाल्पा जिल्लामा आज १५ जनामा कोरोना संक्रमण देखिएको छ ।

तानसेन नगरपालिकामा ८, रामपुर नगरपालिकामा ३, निस्दी गाउँपालिकामा २, रिब्दीकोटमा १ र बगनासकालीमा १ जनामा कोरोेना पोजेटिभ देखिएको हो । संक्रमितमध्ये ७ जना महिला र ८ जना पुरुष रहेका छन् । बुधबार मात्र २२ जनामा कोरोना संक्रमण देखिएको थियो ।

तानसेन नगरपालिकाको वडा नं. १ मा ३, ७ मा २, ३ मा २ र २ मा १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो । कोरोनाको संक्रमण समुदायमा बढ्न थालेको छ । मानिसहरुको अनावश्यक हिंडडुल र सतर्कता नअपनाई भीडभाडमा जाने गरेकाले समुदायभित्रका मानिसमा कोरोना देखिएको छ ।

पाल्पामा हालसम्म कोरोना संक्रमितको संख्या १ हजार ३ सय २६ पुगेको छ । १ हजार ९४ जना संक्रमित संक्रमण मुक्त भएका छन् भने १३ जनाको मृत्यु भएको छ । पाल्पामा अहिले २ सय १९ जना कोरोनाका संक्रिय संक्रमित छन् ।

भौतिक पूर्वाधार मन्त्री चौधरीद्वारा माडीफाँटको बँधवारी पुल शिलान्यास

पाल्पा । भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले माडीफाँटको बँधवारीमा पक्की पुलको शिलान्यास गर्नुभएको छ ।

माथागढी गाउँपालिकाको वडा नं. १ र बगनासकाली गाउँपालिकाको वडा नं. २ जोड्ने बँधवारीको तिनाउ खोला पुलको आज मन्त्री चौधरीले शिलान्यास गर्नुभएको हो । बँधवारीमा पुल निर्माण भएपछि रुप्से, कसेनी, चिदीपानी र पोखराथोकका जनतालाई प्रत्यक्ष आवतजावत गर्न सजिलो हुनेछ । तिनाउ र खहरेखाेलाकाे संगम रहेका बँधवारीमा पुल नहुँदा वर्षायाममा ठूलाे जनधनकाे क्षति हुने गरेकाे थियाे । 

शिलान्यास गर्दै लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री चौधरीले प्रदेशका सबै तह र बस्तीलाई सडक सञ्जालले जोड्ने नीति अन्र्तगत माडीफाँटकाे बँधवारीमा पुल निर्माणलाई प्राथमिकता दिएको बताउनुभयो । उहाँले यो पुलले माडीबासीलाई मात्र होइन, चर्चरे आरेभज्याङ सडकलाई सहज र छोटो बनाउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो । सडक पूर्वाधारसँगै सिंचाइ, तटबन्ध, बस्ती विकासका पूर्वाधार निर्माणमा प्रदेश सरकारले माडीफाँट क्षेत्रमा लगानी गरेकाे मन्त्री चाैधरीकाे जानकारी दिनुभयाे ।

कार्यक्रममा प्रदेशसभा सदस्य नारायणप्रसाद आचार्यले माडीको उत्पादन बाहिर निकाल्न र माडीबासीलाई यातायातको सुविधा दिन बँधवारीमा पुलको आवश्यकता परेको बताउनुभयो । विगत लामो समयदेखि यस क्षेत्रका जनताले माग गरेको पुलको शिलान्यास भएको र समयमै गुणस्तरीय पुल बन्ने विश्वास व्यक्त गर्नुभयो । प्रदेशसभा सदस्य रमा घर्तीले समुदायको आवश्यकता अनुरूप लुम्बिनी प्रदेश सरकारले बँधवारीमा पुलको निर्माण कार्य अगाडि बढाएकोमा सरकार र भाैतिक पूर्वाधार विकास मन्त्री चाैधरीलाई धन्यवाद दिनुभयो ।

 

भौतिक पूर्वाधार विकास मन्त्रालयका निर्देशक भिमार्जुन पाण्डेयले प्रि स्ट्रेस प्रणालीबाट निर्माण हुने भएकाले पुल गुणस्तरीय बन्ने र धेरै भार थेग्ने बताउनुभयो । निर्माण अवधि १८ महिना रहेको भए तापनि निर्माण व्यवसायीले कामलाई प्राथमिकता दिने र समुदायले नियमित अनुगमन गर्ने हो भने चालु आर्थिक वर्षभित्रै काम गर्न सकिने निर्देशक पाण्डेयको भनाई छ । कार्यक्रममा माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष थापा, नेपाल पत्रकार महासंघका अध्यक्ष राजेशकुमार अर्यालले गुणस्तर कायम गरेर समयमा पुल बनाउनुपर्नेमा जोड दिनुभयो । निर्माण व्यवसायी गोपाल भट्टराईलगायतले तोकिएको समयभन्दा ६ महिना अगाडि नै उद्घाटन गर्ने अवस्थामा लैजाने प्रतिवद्धता गर्नुभयो ।

बँधवारी तिनाउ पुलका लागि काष्ठमण्डप तिरुपती जेभि सुनवल नवलपरासीले ४ करोड ८ लाख ४९ हजार ३ सय १८ रुपैँयामा निर्माण गर्ने ठेक्का सम्झौता गरेको छ । यस पुलको लम्बाई ४० मिटर र चौडाई ११ मिटर रहेको छ । पुलको दुबैतर्फ १ दशमलव ७५ मिटरको फुटपाथ र साढे ७ मिटर फराकमा डबल गाडी गुड्न मिल्ने हिसाबले डिजाइन भएको सडक पूर्वाधार विकास कार्यालय पाल्पाका प्रमुख प्रेम बस्यालले बताउनुभयो ।

बँधवारीमा पुल निर्माण भएपछि चर्चरे सराई बुढीकोट भएर आर्यभज्याङ निस्कन सहज र छोटो दूरी हुनेछ । यो सडकको प्रयोग गर्दा सिद्धार्थ राजमार्गको चर्चरे आरेभज्याङ सडक खण्डलाई करिव २० किलोमिटर छोटो हुने स्थानीय बासिन्दाले बताएका छन् । पुल शिलान्यास कार्यक्रममा आएका माडीबासीले अम्लिहानको पुल जस्तै चाँडै काम सक्दिए हुन्थ्यो भन्ने काममा गरेका थिए ।

नेकपाको एकीकृत अस्तित्वमा गम्भीर संकट: महासचिव पौडेल

पाल्पा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले पार्टी एकतामा गम्भीर संकट उत्पन्न भएको भन्दै चिन्ता व्यक्त गर्नुभएकाे छ ।

लामो समयदेखि चल्दै र सेलाउँदै आएको नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला महासचिव पौडेलले पार्टीको एकीकृत र अविभाज्य अस्तित्वकासामू गम्भीर संकट उत्पन्न भएको धारणा सार्वजनिक गर्नुभएकाे हाे । “यतिबेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकीकृत र अविभाज्य अस्तित्वकासामू गम्भीर संकट उत्पन्न भएको छ। आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरू समक्ष अनुरोध गर्दछु”, महासचिव पौडेलले ट्वीटरमा उल्लेख गर्नुभएकाे छ ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच भएको पार्टी एकताका सुत्रधार मानिएका पौडेल पछिल्लो समय एकता बचाउनका लागि निरन्तर सक्रिय भूमिका खेलिरहनुभएकाे छ  अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालका बीचमा लामो समय मतभेद रहँदा पौडेलले नै सम्पर्क सुत्रका रूपमा काम गर्दै संवादको वातावरण सिर्जना गर्दै आइरहनुभएकाे छ ।

पछिल्लो समय राजदूत नियुक्ति र कर्णाली प्रदेशमा मुख्यमन्त्रीविरुद्ध आएको अविश्वास प्रस्तावपछि अध्यक्षद्वयबीच उत्पन्न मतभेदमा उहाँले सक्रिय भूमिका खेलिरहेकाे देखिन्छ । करीब डेढ सातासम्म अध्यक्षद्वयबीच भेट नहुँदा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङसँगै पौडेलले पनि खुमलटार पुगेर दाहालसँग भेट गर्नुभएकाे थियाे । त्यसपछि शनिबार दाहाल ओलीलाई भेट्न खुमलटार पुग्नुभएकाे हाे ।

पटक-पटक पार्टी एकतामा नै संकट आउने गरी विवाद हुँदा तुलनात्मक रूपमा कमै सार्वजनिक अभिव्यक्ति दिने पौडेलले व्यक्त गरेको चिन्ताले नेकपाभित्रको विवाद चरम उत्कर्षमा पुगेको संकेत गरेको छ। 

पीसीआर परीक्षण पछि मात्र पूर्वखाेला जान पाइने

रिङ्नेरह । पूर्वखोला गाउँपालिकाले प्रत्येक नागरिकलाई पीसीआर परीक्षण गराएर मात्र गाउँपालिकाभित्र प्रवेश गर्न दिने भएको छ ।

बडादशैं लगत्तै गाउँपालिकामा कोरोना संक्रमणको दर बढ्ने स्थिति देखेपछि गाउँपालिकाले आज यस्तो सूचना जारी गरेको हो । पूर्वखोला गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहन ढकालले ७२ घण्टाभित्रको अनिवार्य पीसीआर रिपोर्ट र स्वास्थ्य मापदण्ड पालना गरेर आउने नागरिकालाई गाउँपालिका प्रवेश गर्न दिने नीति तय गरिएको बताउनुभयो । गाउँपालिकाले जनप्रतिनिधि, शिक्षक, कर्मचारी तथा सर्वसाधारण सबैलाई पीसीआर रिपोर्ट लागू हुने गरी सार्वजनिक महत्वको सूचना जारी गरेको छ ।

सार्वजनिक महत्वको सूचनाको उल्लंघन गर्ने र स्वास्थ्य मापदण्ड पालना नगरेका व्यक्तिलाई अनिवार्य रुपमा १४ दिन क्वारेन्टाइन बस्नुपर्ने गाउँपालिकाले व्यवस्था गरेको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकालले सूचनाको अवज्ञा गरे संक्रमण रोग ऐन २०२० वमोजिम कारवाहीका लागि सिफारिश गर्ने पालिकाले निर्णय गरेको जानकारी दिनुभयो ।

पूर्वखोलामा अहिले २७ जना सक्रिय कोरोनाका संक्रमित रहेका छन् । संक्रमितमध्ये होम आइसोलेसनमा २, पालिकाको आइसोलेसनमा २३ र अस्पतालमा २ जना रहेका छन् । वडा नं २ मा ४, वडा नं. ३ मा १५, ४ मा २, ६ मा १ र कर्मचारी ५ जना संक्रमित छन् । पूर्वखोलामा हालसम्म २ सय ११ जना संक्रमित भएका छन् भने २ जनाको कोरोनाकै कारण मृत्यू भएको छ ।

तानसेन नगरपालिकाको निर्णयप्रति प्याब्सनको आपत्ति

तानसेन । निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन प्याव्सनले तानसेन नगरपालिकाले शैक्षिक शत्र २०७७ का लागि निर्धारण गरेको शुल्कप्रति आपत्ति प्रकट गरेको छ ।

प्याव्सनका पदाधिकारी र निजी विद्यालयका सञ्चालकहरुले आज तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीलाई भेटेर तोकिएको शुल्क सच्याउन ध्यानाकर्षण गराएका हुन् । प्याब्सनका नगर समितिका अध्यक्ष दुर्गाप्रसाद बस्यालले अभिभावकसँगको सहमतिमा ५० प्रतिशत र असोज महिनाको मासिक शुल्कमा ७५ प्रतिशत लिन सक्ने निर्देशनप्रति असहमति रहेको बताउनुभयो । नगरपालिकाको त्यो निर्णयले निजी विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीको भविष्य अनिश्चित बनेको बताउनुभयो । प्याव्सनका नगर अध्यक्ष बस्यालले साउन भदौमा सञ्चालित वैकल्पिक सिकाईको ७५ प्रतिशत र असोजदेखि शतप्रतिशत लिन पाउनुपर्ने माग रहेको बताउनुभयो ।


तानसेन नगरपालिकाले शैक्षिक शत्र २०७६ कै शुल्क कायम गरी बैशाख र जेठ महिनाको शुल्क नलिन र अरु शुल्क आधा मात्र उठाउन निर्देशन दिएको छ । तानसेन नगरकार्यपालिकाको बैठकले वार्षिक शुल्कको आधा, असार, साउन र भदौ महिनामा सञ्चालित वैकल्पिक सिकाई क्रियाकलाप वापत मासिक शुल्कको ५० प्रतिशत र असोजदेखि अभिभावकको सहमतिमा ७५ प्रतिशत लिने व्यवस्था गरेको छ । कार्यपालिकाले यातायात, कम्यूटर, अतिरिक्त क्रियाकलाप, विज्ञान प्रयोगशाला र पुस्तकालयलगायतका शुल्क विद्यालय विद्यार्थी उपस्थित नभएसम्म लिन नपाइने निर्णय गरेको छ ।

सरकारले कोभिड १९ को परिस्थितिलाई मध्यनजर गरी जारी गरेको विद्यालय सिकाइ सहजीकरण निर्देशिका २०७७ मा स्थानीय तहले स्वीकृत गरे वमोजिम शुल्क लिन पाउने व्यवस्था गरेको छ । सरकारले कोरोना संक्रमण नियन्त्रण गर्न विद्यालय सञ्चालनमा रोक लगाएको छ । विद्यालय बन्द हुँदा पठनपाठन र विद्यार्थीको सिकाई प्रक्रियामा ठूलो असर परेको छ । सरकारी र सामुदायिक विद्यालयका शिक्षकहरुले असोजसहित दशैं भत्ता बुझिरहँदा निजी विद्यालयका शिक्षकहरुले असारसम्मको तलव पनि पाएका छैनन् ।

सांसद पाण्डेयद्वारा दशैं खर्च काेभिड काेषमा जम्मा

पाल्पा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डेयले दशैं खर्च जिल्ला कोभिड कोषमा जम्मा गरिदिनुभएको छ ।

सांसद पाण्डेयले आज संघीय संसद सचिवालयमा पुगेर दशैं खर्च वापत भनी पठाइएको रकम जिल्ला कोभिड कोषमा पठाउन अनुरोध गरी निवेदन दर्ता गराउनुभएको हो । संसदको लेखा प्रमुखलाई सम्बोधन गरी दर्ता गरेको निवेदनमा उहाँले पाल्पा क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यका हैसियतले २०७७ सालमा प्राप्त हुने दशैं खर्च पाल्पामा सञ्चालन भइरहेको पीसीआरलगायत अन्य कोभिड १९ सँग सम्बन्धित काममा खर्च गर्ने गरी कोभिड कोषमा पठाइदिने व्यवस्था मिलाउन अनुरोध गर्नुभएको छ ।

काेराेना संक्रमण फैलिरहेकाे र जनताबाट निर्वाचित प्रतिनिधिले आलाेचना सुनेर बस्न नहुने ठानेर स्वविवेक प्रयाेग गरेर काेभिड काेषमा पठाउने निर्णय लिएकाे सांसद पाण्डेयकाे भनाइ छ । लेखाप्रमुखले निवेदन अनुसार कोषमा जम्मा गर्ने व्यवस्था मिलाउन मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् । संघीय संसद सचिवालयले सांसदहरुको सेवा सुविधासँगै दशैं खर्च पनि वैंक खातामा जम्मा गरेको थियो ।

पूर्वखोला र बगनासकाली प्रवेश गर्न पीसीआर रिपाेर्ट चाहिने

पाल्पा — पाल्पाको पूर्वखोला र बगनासकाली गाउँपालिकाले गाउँपालिका प्रवेश गर्ने नागरिकहरुलाई पीसीआर परीक्षणको नतिजा अनिवार्य पेस गर्नुपर्ने व्यवस्था लागू गरेका छन् ।

मुलुकका विभिन्न भागका साथै छिमेकी स्थानीय तहमा कोरोना भाइरसका संक्रमित संख्या बढ्दै गएकाे भन्दै आफ्नाे पालिकामा आवतजावत नगर्न स्थानीय तहले आग्रह गरेका हुन् । गाउँपालिका प्रवेश गर्ने नागरिकको संख्यामा वृद्धि भएपछि ७२ घण्टा भित्रको पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट लिएर मात्र पालिकाभित्र प्रवेश गर्न दिइने पूर्वखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानप्रसाद पनेरूले बताउनुभयाे । पूर्वखोला गाउँपालिकामा समुदाय स्तरमा कोरोना संक्रमितको संख्या बढेपछि कात्तिक ७ गतेसम्मका लागि गाउँपालिका र वडा कार्यालय सिल गर्ने निर्णयसमेत गरेकाे छ ।

बगनासकाली गाउँपालिकाले पनि समुदायस्तरमा कोरोना भाइरस संक्रमण बढ्दै गएपछि विदेश र जिल्लाबाहिरबाट आउनेलाई अनिवार्य पीसीआर रिपोर्ट पेस गर्नुपर्ने जनाएको छ । गाउँकार्यपालिकाको बैठकले ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट सम्बन्धित वडाध्यक्षलाई बुझाएर मात्र गाउँ प्रवेश गर्न दिइने निर्णय गरेको हो । भारतलगायत तेस्रो मुलुक र मुलुकभित्रकै विभिन्न स्थानबाट आउनेहरुलाई कडाइका साथ होम क्वारेन्टाइन बस्न आग्रह गरिएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताउनुभयाे । 

कोरोना भाइरस संक्रमण बढेपछि वगनासकाली गाउँपालिकामा पनि अत्यावश्यक बाहेकका सेवाहरू बन्द गरिएको छ । सोमबारदेखि ६ गते शुक्रबार राति १२:०० बजेसम्मका लागि गाउँपालिकाभित्र अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको गाउँपालिकाका प्रवक्ता लक्ष्म प्रसाद अधिकारीले जानकारी दिनुभयाे । गाउँपालिका र नौ वटै कार्यालय, शैक्षिक संस्थाहरुमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्न आग्रह गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गुनाराम खनालले शैक्षिक संस्थाहरू, स्वास्थ्य र सहकारी संस्थाहरूको अत्यावश्यक सेवा बाहेकका अन्य सेवा बन्द भएको जानकारी दिनुभएकाे छ ।