सामुदायिक रेडियो मदनपोखरा
spot_img
Home Blog Page 13

तिनाउ गाउँपालिकाको आठौं गाउँसभा सम्पन्न

दाेभान । तिनाउ गाउँपालिकाको आठौं गाउँसभा सम्पन्न भएको छ ।

गाउँसभाले तीन वटा कार्यविधि र गाउँपालिकाकाे बजेट समेटिएकाे विधेयक पारित गरेकाे हो । लैंगिक निवारण कोष कार्यविधि २०७७, जलश्रोत उपयोग तथा मुहान दर्ता सम्बन्धी कार्यविधि, २०७७ र संक्षिप्त वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणीय परीक्षण कार्यविधि, २०७७ पारित भएको गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीमगरले बताउनुभयाे । सभामा चालु आर्थिक वर्षको कार्यप्रगति, समसामयिक विषयमा छलफलसहित ३५ लाख १५ हजार पुरक बजेट थप गरिएको प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । 

प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठका अनुसार तिनाउ गाउँपालिकामा चालु आर्थिक वर्षका २५० योजनामा १२५ योजना सम्झौता भइसकेका छन् । जसमध्ये ३५ योजना सम्पन्न भइसकेका छन् । पालिकामा चालु आर्थिक वर्षमा ३३ प्रतिशत चालु खर्च र १८ प्रतिशत पूँजीगत खर्च भएको छ । गाउँपालिकामा यसै वर्षभित्र सम्पन्न गर्ने गरी प्रशासकीय भवन निर्माण कार्य जारी रहेको छ । सूचना प्रविधि अधिकृत तुलबहादुर घर्तीमगरका अनुसार वडा नं. ५ र ४ का वडा भवनसमेत निर्माण भएका छन् ।

तिनाउँ गाउँपालिका साविकका कचल, दोभान, कोलडाडाँ र मस्याम गाविस मिलाएर ६ वडामा विभाजन गरि बनेको गाउँपालिका हो । हरियाली बनजंगल, जन्तीलुंग, रिङसिङलेक, पाटन, ठुली उदाङ, हात्तिलेक, सत्यवतीताल, सुकेताल, जितगढी, नुवाकोट सिद्धबाबा मन्दिरजस्ता ठाउँ तिनाउँका धार्मिक तथा पर्यटकीय सम्भावना बोकेका क्षेत्र हुन् । 

पूर्वखोलाले चालु वर्षमै विद्यालय समायोजन टुंग्याउने


पूर्वखोला । पूर्वखोला गाउँपालिकाले संस्थागत विद्यालय समायोजनको प्रक्रियालाई चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने योजना अगाडि सारेको छ ।

पूर्वखोला गाउँपालिकाको आठौँ गाउँसभामा जनप्रतिनिधिहरुले राखेका जिज्ञासकाको जवाफ दिदै गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले संस्थागत विद्यालयलाई सामुदायिक विद्यालयमा समायोजन प्रक्रिया चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी योजना बनाइएको बताउनुभयो । शिक्षा नियमावली २०७७ जारी भएसँगै संस्थागत विद्यालयको नाममा रहेका जग्गा, भवन, फर्निचरलगायतका सामग्री सरकारको स्वामित्वमा ल्याइने र त्यसका लागि करिव पौने २ करोड लाग्ने अनुमान गरिएको उहाँले बताउनुभयो । दुई वर्ष अगाडि निजी विद्यालयहरु सामुदायिक विद्यालयमा समायोजन घोषणा गरेको पूर्वखोलाले अंग्रेजी र नेपाली माध्यममा पठनपाठन गर्दै आएको छ ।

गाउँसभाले विपद, वातावरण, शिक्षा, स्वस्थ्य, खानेपानी, सुरक्षित आवास, सार्वजनिक जवाफदेहिता, सूचना तथा अभिलेख केन्द्रलगायतका १४ वटा ऐन, नियमावली र कार्यविधिहरु पारित गरेको छ । ‘शिक्षा, स्वास्थ्य, सडक, कृषि, पर्यटनसहितको पूर्वाधार, पूर्वखोला विकासको आधार’ भन्ने नारासहित सञ्चालित गाउँसभाले केही योजनाहरु संशोधन र थप गरेको छ ।

आठौँ गाउँसभाबाट भएका निर्णयहरुको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले ऐन कानुनको निर्माण, जनशक्ति व्यवस्थापन र योजना सञ्चालनका आधारहरु तयार गरेपछि पालिकाको विकास निर्माणको गति बढेको बताउनुभयो । शिक्षा, स्वास्थ्य, खानेपानी, सडक सञ्जाल र कृषि क्षेत्रमा देखिने गरी फड्को मारेको बताउँदै अध्यक्ष थापाले विकासका लहरहरुलाई प्रचारप्रसारको खाँचो औंल्याउनुभयो ।

गाउँपालिका उपाध्यक्ष भागिरथी भट्टराईले चालु आर्थिक वर्षको कुल ४८ करोड ७९ लाख ६५ हजार रुपैँया बराबरको बजेटबाट ३६२ योजना प्रस्ताव गरिएकोमा यो ६ महिनाको अवधिमा १५ योजना निर्माण कार्य सम्पन्न र ८५ वटा कार्यान्वयनमा रहेको जानकारी दिनुभयो । उपाध्यक्ष भट्टराईले कतिपय योजना संशोधन, प्रदेश र संघीय सरकारसँग थप नयाँ योजना माग गर्ने निर्णय भएको बताउनुभयो । कार्यक्रममा गाउँपालिकाका प्रवक्ता नीरबहादुर सारुले चालु आर्थिक वर्षमा विनियोजित बजेटमध्ये हालसम्म १९ प्रतिशत बजेट खर्च भएको बताउनुभयो । उहाँले कोरोना महामारीका बीचमा पनि विकास निर्माणको काम धमाधम भएको जानकारी दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरुले गाउँपालिकाको संस्थागत र कार्यसम्पादन क्षमतामा सुधार भएको बताउँदै अनलाइन घटना दर्ता, सुत्र प्रणाली लागू, सबै शाखामा विद्युतीय सफ्टवयर जडान गरिएको जानकारी दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत पनेरुले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार निर्माण, कृषि पकेट क्षेत्र निर्माणमा पूर्वखोलाले महत्वपूर्ण काम गरेको र आर्थिक वर्षको समाप्तिसम्म नयाँ कामहरू देखिने बताउनुभयो ।

कार्यक्रममा पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष राजेशकुमार अर्यालले संस्थागत र सामुदायिक विद्यालयलाई एउटै बनाउने योजना कार्यान्वयन गरेर उदाहरणीय कार्य गरेको बताउनुभयो । उहाँले कृषि उत्पादनमा बृद्धि र स्वास्थ्य क्षेत्रको विकासमा समेत पूर्वखोला गाउँपालिकाले उल्लेखनीय काम गरेको बताउनुभयो । गाउँपालिकाले गरेका कतिपय काम पनि प्रचारप्रसार हुन नसकेको बताउँदै उहाँले आफूले गरेको काम भन्न र देखाउन सक्नुपर्ने बताउनुभयो । कार्यक्रममा पत्रकारहरू माधव अर्याल, रेखीराम राना, कृष्ण कार्की, यज्ञमूर्ति तिमिल्सिना, किरण कौशल, मिलन विश्वकर्मा, छवी खनाललगायतले सुझाव दिनुभएको थियो ।

कार्यक्रम गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाको अध्यक्षता, उपाध्यक्ष भागीरथी भट्टराईको स्वागत र प्रमुख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरुको संचालनमा सम्पन्न भएको थियो ।

भैरवनाथ मन्दिरको जिर्णोद्वारको काम सुरु

रिब्दीकोट । पाल्पाको भैरवनाथ मन्दिरको मुख्य मन्दिर जिर्णोद्वारको काम सुरु भएको छ ।

 

मन्दिर व्यवस्थापन समितिले पञ्चवलीसहित वैदिक विधिबाट क्षमापूजा गरी मन्दिरको गजुर निकाल्ने र मन्दिरको छानो भत्काउने काम सुरु गरेको छ । भैरवनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर अधिकारीले मन्दिरको जिर्णोद्वारको काम हुँदा पनि मन्दिरको नियमित पूजापाठ, दर्शन र पूजाअर्चनाको काम नरोकिने गरी निर्माण कार्य हुने बताउनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्र्तगतको पुरातत्व विभागले भैरवनाथ मन्दिर, सत्तल तथा दरबार पुनः निर्माणका लागि धर्म एसपीपी जेभीसँग २ करोड ६४ लाख २७ हजार ९ सय २८ रुपैंयामा ठेक्का सम्झौता गरेको छ । २०७६ असार ८ गते भएको सम्झौता अनुसार २०७८ बैशाख मसान्तसम्म निर्माणको काम सम्पन्न गर्नुपर्नेछ । यस अगाडि सेन राजा बस्ने गद्दी, महन्त बस्ने मठ र अखण्ड धुनी रहेको मठको निर्माण कार्य सम्पन्न भइसकेको छ । भैरवनाथ मन्दिर माउन्टेन टेम्पल प्यालेस अर्थात् मन्दिर र दरबार एकीकृत माेडलमा बनेकाे छ । राणाकालीन समयमा बनेको सत्तलको समेत निर्माण कार्य पुरा भएको छ ।

सेनवंशी राजा मणिमुकुन्द सेन प्रथमले निर्माण गरेको यो भैरवनाथ मन्दिरमा दर्शन गर्न वर्षेनी हजारौँ मानिसहरु आउने गर्दछन् । भैरवनाथको पूजाअर्चना गर्न, माना पाथीको रोट चढाउन र पञ्चवली दिन नेपाल र भारतका विभिन्न स्थानबाट मानिसहरु आउने गर्दछन् । भैरव मन्दिरको गुफामा कालभैरवको मूर्ति रहेको र त्यहाँ नित्य दीप बलिरहेको छ । त्यसलाई कुनै असर नपर्ने गरी निर्माणको काम हुने व्यवस्थापक मिनबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

 

कालभैरवको मूर्ति हेर्न नहुने जनश्रृति रहेकाले त्यो कसरी लुकाएर संरचना बनाइन्छ भन्ने जिज्ञासा पनि समुदायमा चलेको पाइन्छ । रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण जिसीले सरकारले मन्दिरको पुननिर्माण गर्न यथोचित बजेट विनियोजन गरेकाले जगबाटै बनाउन सके सुरक्षित हुन्थ्यो भन्ने लागेको बताउनुभयो ।

सेनकालीन मन्दिर भने तापनि अहिले पुरातत्वले बनाएको यो मन्दिर तले शैलीमा निर्माण हुन लागेको छ । तले शैलीले राणाकाल र शाहकालीन समयको प्रतिनिधित्व गर्दछ । सेनकालीन समयको भएर डोम शैलीको बनाउनुपर्ने मत पनि नागरिकस्तरबाट आएको छ । विभिन्न कालखण्डमा मन्दिरको संरचनाहरु बनेकाले एउटै शैलीको नभएको र अहिले पुनः निर्माणका बेला पनि छलफल कम भएको संस्कृतिविद् निर्मल श्रेष्ठको भनाई रहेको छ ।

भैरव मन्दिर जिल्ला सदरमुकाम तानसेनबाट ९ किलोमिटर पश्चिममा रहेको छ । मूल मन्दिरको जिर्णोद्वारको काम २०७८ साल बैशाख मसान्तसम्म सकिने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर अधिकारीले बताउनुभयो । मन्दिर नजिकै रहेको फूलबारी, पहाडको अग्लो र मनोरम स्थानमा रहेकाले यसले पर्यटन प्रर्वद्धनमा समेत महत्वपूर्ण योगदान दिदैँ आएको छ ।

प्रतिनिधिसभा विघटनको विरूद्ध पाल्पामा प्रर्दशन

तानसेन । प्रतिनिधिसभा विघटनको विरूद्ध नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव नेपाल समूहले पाल्पाको तानसेनमा बृहत् प्रदर्शन गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी ढंगले संसद विघटन गरेको र त्यो कदम गैरसंवैधानिक भएको भन्दै प्रचण्ड नेपाल समूहले विरोध प्रदर्शन गरेका हुन् । तानसेन टुँडीखेलबाट सुरु भएको विरोध र्याली आन्दोलनचोक, लहरेपिपल हुँदै हुलाकचोकमा पुगेर सभामा परिणत भएको थियो ।

सभामा नेकपाका केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले संविधानमै नभएको अधिकारको प्रयोग गरेर प्रधानमन्त्रीले संसद विघटन गरेको आरोप लगाउनुभएको छ । उहाँले प्रधानमन्त्रीले हुँदै नभएको अधिकार प्रयोग गरी प्रतिनिधिसभा विघटन गरेर जनताले दिएको दुई तिहाई मतको अबमुल्यन गरेको बताउनुभयो ।

कार्यक्रममा नेकपाका केन्द्रीय तुलाराम घर्तीमगरले प्रधानमन्त्रीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै समाप्त पार्ने गरी कदम चालेको बताउनुभयो । उहाँले पार्टी भत्काएर भारतीय र अमेरिकी साम्राज्यवादीको इशारामा प्रधानमन्त्री ओली चलेको आरोप लगाउनुभयो । नेकपाकै केन्द्रीय सदस्य ठाकुर गहिरेले संसदबाट अर्को सरकार गठन हुन सक्ने विकल्प हुँदासम्म संसद भंग गर्न नमिल्ने बताउनुभयो । २०६२/०६३ को आन्दोलनमा अब कहिल्यै राजनैतिक अधिकारका लागि लड्न नपरोस्, फेरी जनता सडकमा आउन नपरोस् भनेर जनआन्दोलन गरेर संविधान बनाएपनि अहिले केपी ओलीको सनकले गणतन्त्रमाथि आघात पुगेको उहाँले बताउनुभयो ।

कार्यक्रममा नेकपाका प्रदेश कमिटी सदस्य नेत्र पाण्डेय, अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य राजेन्द्रलक्ष्मी गैरे, तिनाउ गाउँपालिकाका प्रवक्ता राजेश श्रेठले विघटनका बिरुद्धका बोल्नुभएको थियो । कार्यक्रम सचिवालय सदस्य कमल पाण्डेयको सञ्चालन सचिव राजेन्द्र विकको अभ्यक्षतामा चलेको थियो ।

विकास गतिलाई न्यून आंकलन गर्न मिल्दैन: मुख्यमन्त्री पोखरेल

मुख्यमन्त्री शंकर पोखरेलले संविधान जारी भएपछिको विकास गतिलाई न्यून आंकलन नगर्न चेतावनी दिनुभएको छ ।

रुरुक्षेत्रको गुरुयोजनामा आधारित कार्यक्रमको शिलान्यास गर्ने क्रममा मुख्यमन्त्री पोखरेलले नेपालको कुल ग्राहस्थ उत्पादन वृद्धि दर, विकास निर्माणका योजनाको संख्या र त्यसको तिव्रता, कोरोना अघि र कोरोनापछिको स्वास्थ्य सुविधा केलाएर हेनुपर्ने बताउनुभएको हो । सरकारको काम कारवाहीलाई बहुदलकाल र पञ्चायतकालीन समयसँग तुलना गर्नेहरु जनताको बीचमा आफै हास्य पात्र बनिरहेको उहाँको भनाई थियो । मन्तव्यका सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ ।

विद्रोही मानसिकता
हामी नेपालीहरु वा नेपालका राजनीतिक दलहरु कस्ता भयौ भने राज्यका विद्रोही शक्ति जस्ता भयो । सात सालदेखि राज्यसँग लड्याको लड्यै । दिमागमा के छ भने विरोध गर्नु नै राजनीति हो भन्ने लागेको छ । सत्ता प्रतिक्रियावादी थियो, विरोध जनताको अधिकार थियो । आज जनताको सरकार आइसक्यो, जनताको संविधान आइसक्यो । विरोध राष्ट्रनिर्माणको मानसिकता होइन । अझ राम्रो गर्नका लागि के गर्न पर्छ भाषण गर्न थालौं न । गलत राजनीतिको सिकार भयौं भने देश बन्दैन । प्रतिपक्षले विरोधी मानसिकताले होइन, यो काम थपौँ भनेर प्रस्ताव गर्दा राम्रो बन्छ भन्न सिक्यौँ भने मुलुक बन्ने हो ।

कुल ग्राहस्थ उत्पादन ६ प्रतिशत 

नेपालमा संविधान जारी भएपछि नेपालको कुल ग्राहस्थ उत्पादन वृद्धि दर औषत ६ प्रतिशत भएको छ । संविधान निर्माण अगाडि ४ प्रतिशतभन्दा तल थियो । दुई प्रतिशतभन्दा बढीको वृद्धि दर संविधान निर्माणपछि हासिल भएको छ । सत्य कुरा त यही हो नी । तथ्यलाई त मान्न प¥यो नी । जनतालाई केही पनि भा छैन भनेर भाषण गरेर हुने हो ? प्रदेश सरकार भएपछि जे जति आयोजना सुरु भएका छन्, यही अवधिमा होइन । उहिले उहिले भाथे भन्नुको के अर्थ छ । पहिलेदेखि भएको थियो भनेर सामान्यीकरण किन गर्ने ? काम गर्ने प्रोत्साहन प्राप्त गर्छ र जाँगर गर्छ ।

भ्रम छर्न कति संकोच नलाग्या ?
काठमाडौँ जाँदा नारायणगढबाट उता त्रिसुली नदीमा कतिवटा पुल थिए ? २ ठाउँमा मात्र पुल देख्नुहुन्थ्यो । मुग्लिङ र धादिङ जाने ठाउँमा मात्र पुल थिए । धादिङको धेरैपछि बनेको हो । अहिले त्रिसुली नदीमाथि दुई दर्जन पुल बनेका छन्, त्यहाँ गाडी चल्छन् । पञ्चायतमा भाथ्यो, बहुदलकालमा विकास भएन भनेर कसरी भन्न सक्या ? पञ्चायतलाई हामीले ०४६ सालमा विदा गरेको हो । २०४८ सालमा हिंडेर म गुल्मी गएको थिए । अहिले गुल्मीमा दुईवटा राजमार्ग बनिसक्यो । ढाकर बोकेर हिंडेका जनतासँग विकास भएन भनेर भ्रम छर्न सकिन्छ र ? संकोच मान्नु पर्दैन ? केही भएन भन्न कति लाज नलागेको हो ?

विकास बजेट बढ्यो
नेपालको विकास बजेट कति खरबको बजेट बन्थ्यो ? पञ्चायतकालमा अरवका बजेट बन्थ्यो, अहिले १५\१६ खरबको बन्दैछ । संविधान जारी भएपछि दोब्बर नै भएको छ । हिजो र आजको तुलना गरेर आफैलाई दुत्कार्ने काम नगरौँ । अपेक्षाका आधारमा डेलिभरी कम छ । स्रोत साधनको कम छन् । तर हेर्दा हेर्दै बाटोघाटो, पुलपुलेसा, पानीका धारा बनिरहेका छन् । यी काम हेरेर राम्रो गरेका छौं भनेर सन्तोष लिने कि नाक खुम्चाउने ? धेरै राम्रो काम भएको छ ।

कोरोनामा काम भएन भन्नेले आँखा खोलेर हेरौँ
पहिला कोरोना प्रयोगशाला काठमाडौँमा एउटा मात्र थियो । त्यो पनि पहिलो परीक्षणमा शंका लागेर हङकङ पठाएको होइन । आज नेपालमा ७०\७२ वटा प्रयोगशाला स्थापना भएका छन्, परीक्षण गरिरहेका छन् । यहीँ गुल्मीमा एक र पाल्पामा दुई दुई स्थानमा परीक्षण भइरहेको छ । एकका ठाउँमा ७२ स्थानमा कोरोना परीक्षणका काम भएका छन् । यो विकास होइन ?

भारतमा १.५ प्रतिशत मानिस कोरोनाबाट मरेका छन् । पाकिस्थानमा २ जना, अफगानिस्थानमा ४, बंगलादेदशमा १.४ प्रतिशत मानिस मरेका छन् । नेपालमा .७ प्रतिशत मात्र मरेका छन् । अन्यत्रको तुलनामा नेपालमा मानिसक कम मरेका छन् भन्नुको अर्थ नेपालमा परीक्षण र उपचार राम्रो भएको छ होइन ? दुनियाँमा मानव विकास सुचकांकमा माथि रहेको स्वीजरल्याण्डको संक्रमण र मृत्युदर नेपालसँग तुलना गर्नुस् । स्वीजरल्याण्डको जतिको काम नेपालले गरेको छ भनेर भन्नुपर्ने होइन । गैरजिम्मेवार बन्न मिल्छ कि मिल्दैन ।

अपराधी कठघरामा उभिएका छन्
प्रधानमन्त्री केपी शर्मा ओलीले मेरो सम्पूर्ण सम्पत्ति शेषपछि ट्रष्टलाई सुम्पने घोषणा गर्नुभएको छ । अहिलेका नेताहरु मध्ये आफ्नो सम्पत्ति राज्यलाई घोषणा गर्ने एक मात्र नेता हो केपी शर्मा ओली । मेरो सम्पत्ति राज्यलाई भन्नुभयो, यो सकारात्मक कुरा होइन । सबै कुरा बिग्रियो भनेर के भन्न खोज्दैछौँ । अपराधीहरुलाई पुराना पुराना केस फर्काएर जेल हाल्न थालेको छ । प्रहरीले अपराधीलाई कठघरामा उभ्याउँदैछ । अपराध गर्नेहरु दण्डित हुन्छन् । राज्यले प्रमाण फेला पा¥यो भने दण्ड दिन्छ । जोसुकैले अपराध गरे पनि कारवाहीको भागिदार हुन्छन् । सरकार प्रतिवद्ध छ । अख्तियारप्राप्त निकाय सक्रिय छन् । तथ्य प्रमाण फेला पारे सरकारले कारवाही गर्छ । भ्रष्टाचार विरुद्धको अभियानमा नागरिक पनि सरिक बनौँ । सुशासन कायम गर्ने सवालमा सबै सहभागी बनौँ ।

कृषिमा राज्यको सहयोग छ
कृषि कर्ममा संलग्न हुने किसानका लागि प्रदेश सरकारले कृषि अनुदानका प्याकेज तयार पा¥यौं । अनुदान पाउँदासम्म गर्ने, पाउन छोडेपछि काम छोड्ने चलन छ । त्यसबाट शिक्षा लिएर उत्पादनमा सरिक किसानलाई ब्याजमा अनुदान दिने नीति ल्याएका छौँ । अहिले कृषितर्फ मात्र २५ करोड व्याज तिर्न बजेट छुट्याएका छौँ । सहकारीमार्फत् बजारीकरणका लागि सहकारी कोष खडा गरेका छौँ । त्यहाँ १०÷१२ करोड बजेट रहेको छ । साना व्यवसाय गर्ने र उद्यम गर्नेका लागि नेपाल वैंकसँग सम्झौता गरेका छौँ । यो प्रदेशभित्र व्यवसाय खोल्नुस्, नयाँ उद्योग खोल्नुस् तीन वर्षसम्मको व्याजमा सहुलियत दिने नीति बनाएका छौँ । सरकारले बाटो देखाएको छ । मान्छे बेरोजगार छ भन्छ । इलम गर्नेका लागि बाटो खोलिदिएको छ । सुरुमै नाफा हुँदैन भनेर तीन वर्षसम्म व्याज तिर्ने व्यवस्था गरेको छ । धान जौ खेती गर्ने ठाउँमा तरकारी खेती सुरु भएको छ । नगदे बालीमा कृषक लागेका छन् । बजार खोज्ने र पूँजी जुटाउने काम सरकारले गर्छ, मेहनत गर्ने काम हरेक नागरिकले गर्नुपर्छ ।

मुख्यमन्त्री पाेखरेलद्वारा रूरूक्षेत्रमा नदी नियन्त्रण आयोजनाको शिलान्यास

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले रिडी खोला तथा कालीगण्डकी नदी नियन्त्रण आयोजनाको शिलान्यास गर्नुभएको छ ।

मुख्यमन्त्री शंकर पोखरेलले तटबन्ध निर्माणको सुरूवात गुरूयोजना कार्यान्वयनको चरण भएको बताउनुभयो । उहाँले रूरू क्षेत्रको ऐतिहासिक महत्त्व भए तापनि जब कोदारी राजमार्ग बन्यो तब कालीगण्डकी करिडोरबाट भारत चीन जाने मार्ग प्रभावित भयो त्यसको असर रूरूक्षेत्रमा पर्न थालेको हो भन्नुभयो । रिडीले अब व्यापारिक नाका बनाउने भन्दा पर्यटकीय सम्भावनाका हिसावले सोचेर पर्यटन संस्कृति बसाल्नसक्ने हुनुपर्ने मुख्यमन्त्री पोखरेलको जोड थियो।

मुख्यमन्त्री पोखरेले राम्रा कामहरु देख्न नसक्नेले केही भएन भनेर हल्ला मच्चाएको आरोप लगाउनुभयो । सरकारले गरेका राम्रा कामहरुलाई उल्लेख पनि गर्न नचाहने केही शक्तिहरु लागेको भन्दै तथ्यमा आधारित भएर हेर्दा धेरै ठूलो विकासको फड्को मारेको बताउनुभयो । उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले पहिलो चरणको कामअन्तर्गत तटबन्ध निर्माण, दोस्रो चरणको काम अन्तर्गत नदीको जल सतह बढाउने योजना अगाडि सारिएको बताउनुभयो ।

प्रतिनिधिसभाका सदस्य सोमप्रसाद पाण्डेले रूरू धार्मिक तथा पर्यटकीय गुरूयोजना वमोजिम तटबन्ध निर्माणले हृषिकेश मन्दिर र रिडी क्षेत्रको पर्यटकीय विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रदेशसभा सदस्य कमल श्रेष्ठ, प्रदेशसभा सदस्य डा पुरनमान बज्राचार्य, तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाही, रूरू गाउँपालिकाका अध्यक्ष नीलकण्ठ ज्ञवाली, नेपाली कांग्रेस गुल्मीका सभापति भुवन श्रेष्ठलगायतले शुभकामना व्यक्त गर्नुभयो ।

वरिष्ठ जलाधार अधिकृत आनन्दराम घिमिरेले २ हजार ८ सय २० मिटर पर्खालसहित तटबन्धको आयोजनाको लागत ३४ करोड २० लाख ६० हजार ६ सय ४० रूपैयाँ रहेको बताउनुभयो । उहाँले संघ र प्रदेशको ५०/५० प्रतिशत लागत सहभागितामा बन्ने यो आयोजनाले रूरू क्षेत्रको धार्मिक सम्पदा र बस्ती संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । शर्मा सगुन जेभीका सहदेव खड्काले यो आयोजनाको काम मंसिरबाट सुरू भएको छ, गुणस्तरमा कुनै कम्प्रमाइज नगरी २८ महिना अगाडि नै सम्पन्न गरि हस्तान्तरण गर्ने बताउनुभयो ।

रूरू धार्मिक तथा पर्यटकीय क्षेत्रको उत्खनन र नदी नियन्त्रण रोकथाम गर्न यो आयोजना सञ्चालन गरिएको हो । संघ र प्रदेश सरकारको समपुरक कोषमार्फत आर्थिक बर्ष २०७६ । ७७ मा बोलपत्र गरी ३४ करोड २० लाख ६० हजार ६३९ रुपैयाँ ६९ पैसामा भू तथा जलाधार ब्यबस्थापन कार्यालय पाल्पा र सगुन शर्मा जेभी बुटवल बिच सम्झौता भएको हो । २०७७ जेठ ११ गते सम्झौता भई २०७९ साल मङसिर १० गते भित्रै आयोजनाको कार्य सम्पन्न गर्नुपर्नेछ । नदी क्षेत्रमा कुल २ हजार ८२० मिटर लम्बाई , सात मिटर उचाई रहेको आरसिसी टेवा पर्खाल निर्माण गरिने छ भने ऋषिकेश मन्दिर क्षेत्रमा २८८ मिटरको सिँढी (प्याराफिट) निर्माण गरिनेछ ।

तानसेन नगरपालिकाको वडा नं १४ र रूरू गाउँपालिकाको वडा नं.१ मा आयोजनाको कार्यक्षेत्र रहेको छ । उद्योग वन वातावरण मन्त्रालयका अधिकृत टुकराज पाण्डेयको सञ्चालन र सचिव डा राजेन्द्र केसीको अध्यक्षतामा कार्यक्रम चलेको थियो ।

पहिरोको ढुंगा गिट्टी चोरी निकासी


पाल्पा । सिद्धार्थ राजमार्गमा पहिरो खसेर सडक छेउमा जम्मा भएका ढुंगा गिट्टी चोरी निकासी हुने गरेको छ ।

पाल्पा बुटवल सडकअन्तर्गत गौडेपुल र डुम्रेको बीचमा खसेको पहिरोको ढुंगा र गिट्टी चोरी निकासी भएको हो । सडकका कर्मचारीले अघोषित रुपमा बिक्री गरेपछि चोरी निकासी भएको स्थानीय बासिन्दाको भनाई छ । सडक डिभिजन कार्यालयका इन्जिनियर राम पियारी चौधरीले ढुंगा चोरी भएको र चोरी भएको थाहा पाएपछि आफूहरुले प्रहरी र कर्मचारी पठाएर रोकेको बताउनुभयो ।

सडक बिस्तार गर्दा निस्केको ढुंगा गिट्टी निर्माण स्टमेट समावेश भए व्यवसायीले प्रयोग गर्ने प्रचलन छ तर पहिरोले ल्याएका सयौँ घनमिटर ढुंगाबाट सरकारले राजश्व संकलन गर्न सक्दछ । राजमार्गकै मर्मत संभारको काम पाएको निर्माण व्यवसायीले पहिरोमा निस्केको ग्राभेल सडकमा हाल्न नपाएको तर पहिरोको गिट्टीमाटो र ढुंगा धमाधम बिक्री हुने गरेको स्थानीय जनताले बताएका छन् ।

तानसेन नगरपालिकाका राजश्य शाखाका अधिकृत मधुसुधन घर्तीले नगरपालिकामा रोयल्टी पनि नकाटिएको र समन्वय पनि नभएको बताउनुभयो । वर्षायाममा गौडेपुलभन्दा ५ सय मिटर माथि पहिरो खसेर लामो समय सडक अवरुद्ध हुँदै आएको थियो । सार्वजनिक महत्वको सडकको ढुंगा, गिट्टी र वालुवा बिक्री हुँदा स्थानीय सरकार मौन बस्ने गरेका छन् ।

सार्वजनिक सम्पत्तिको रुपमा रहेका सडकबाट ढुंगा माटो बिक्री गरी निकासी हुँदा स्थानीय सरकारले रोयल्टी सम्म उठाएका छैनन् । सडक छेउमा रहेका ढुंगा गिट्टी चोरिने र लुकिछिपी बेचिने चलन नौलो भने होइन । झुम्सा, दोभान, हिउँदेखोलामा पहिरोले ल्याएका ढुंगा यसैगरी हराइरहेका छन् । सडक मापदण्ड ८२ फुटभित्रकै माटो काटेर बेचबिखन हुँदासमेत अनुगमनकारी निकाय बेखबर बनेका छन् ।

सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सडक सुधार तथा मर्मतमा मात्र चालु आर्थिक वर्षमा ३९ लाख रुपैँया खर्च भएको छ । वर्षाको पहिरो हटाउन ३४ लाख ५० हजार रुपैँया तेल खर्च र ४ लाख ४८ हजार रुपैँया कर्मचारी भत्ता र खानामा मात्र खर्च भएको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी शिवु खत्रीले बताउनुभयो । पछिल्लो तीन वर्षमा मात्र राजमार्ग सुधारमा १७ करोड ४९ लाख रुपैँया खर्च भएको छ ।

दमकडा माविमा जस्तो शैक्षिक वातावरण हामीले अन्त पाउँदैनौँ – दृष्टिविहीन विद्यार्थीहरू


पाल्पा । अन्तर्राष्ट्रिय अपांगता दिवसका अवसरमा दमकडा माध्यमिक विद्यालय तानसेन ९ पाल्पाले अन्तक्रिया कार्यक्रम गरेको छ ।

विद्यालयको दृष्टिविहीन छात्राबासमा आयोजित कार्यक्रमका सहभागीहरुले कोरोना महामारीको अवधिमा ४० प्रतिशत अपांगता भएका व्यक्तिले रोजगारी गुमाएकाले तिनको रोजगारी सुनिश्चित हुनुपर्ने विचार व्यक्त गरेका छन् । कार्यक्रममा दृष्टिविहिन शिक्षक कृष्णप्रसाद पराजुलीले अपांगता भएका व्यक्तिमा फरक क्षमता हुने र त्यो क्षमताको समाजले उपयोग गर्ने गर्दै आएको बताउनुभयो । उहाँले दमकडा माध्यमिक विद्यालय र यहाँको समाजले दृष्टिविहीन भएका बालबालिकालाई सम्मानजनक व्यवहार प्रदर्शन गरी दक्ष र योग्य नागरिक तयार गरिदिएको धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा दृष्टिविहीन विद्यार्थी सन्दीप थापाले साङगलाई भन्दा बढी स्नेह, प्रेम र सद्भाव दिएर दमकडा माध्यमिक विद्यालयले अपाङगलाई शिक्षा प्रदान गरेको बताउनुभयो । उहाँले भावविह्ल हुँदै भन्नुभयो, ‘दमकडा माध्यमिक विद्यालय नभएको भए पढ्न पाइन्थ्यो पाइदैनथ्यो, बाँच्ने आशा जाग्थ्यो जाग्दैनथ्यो शंका रहेको बताउनुभयो ।’ दमकडाले २०५२ सालदेखि दृष्टिविहीन विद्यार्थीलाई पनि पठनपाठन गर्दै आएको छ । विद्यालय छोड्न लागेका विद्यार्थीहरुले दृष्टिविहीन बालबालिकालाई दमकडामा पढ्न पढाउने प्रतिवद्धता गरेका थिए । विद्यालयले यस वर्ष दश जोड दुई परीक्षा दिएका ८ जना दृष्टिविहीन विद्यार्थीलाई पाल्पाली करुवा प्रदान गरी थप शैक्षिक प्रगतिका निम्ति हौसला प्रदान गरेको छ ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद सापकोटाले दृष्टिविहीनका लागि व्यवस्थित पुस्तकालय, सुविधासम्पन्न छात्राबास, दृष्टिविहीनमैत्री कम्यूटर ल्यावलगायतका सुविधाहरु थप्न लागेको जानकारी दिदैँ समाजमा रहेका दृष्टिविहीन बालबालिकालाई विद्यालयको पहुँचसम्म ल्याइदिन आग्रह गर्नुभयो । उहाँले दृष्टिविहीनलाई पढ्न मात्र नभएर खान, बस्न र मनोरञ्जन गर्न निशुल्क गरिएको बताउनुभयो । कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक माधवप्रसाद पाठक, उद्यमी सोमनाथ पाठक, बासुदेव खनाल, सहायक प्रधानाध्यापक होत्रीराज ढुंगाना, शिक्षक रामप्रसाद भट्टराई, धनपति गैरेलगायतले विद्यार्थीलाई शुभकामना दिनुभयो ।

विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ मा संसारभर अपांगता दिवस मनाउन थालिएको हो । यस वर्षको अपांग दिवसको नारा कोभिड १९ पश्चात् उत्कृष्ट पुनरागमनको सुनिश्चितता अपांग भएका व्यक्तिहरुको पहुँच र दिगो विकास लागि हामी सबैको प्रतिबद्धता रहेको थियो ।

पाल्पाको मित्याल, विरकाेट र माथागढीमा अस्पताल शिलान्यास

पाल्पाको निस्दी, पूर्वखोला र माथागढी गाउँपालिकामा १५ शैयाको अस्पताल स्थापना भएका छन् ।

ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित पाल्पाका तीन स्थानीय तहमा अस्पतालको शिलान्यास गरिएको हो । यो कार्यक्रमसँगै निस्दीको मित्याल, पूर्वखोलाको विरकोट र माथागढीको झडेवा स्वास्थ्यचौकी अस्पतालमा रूपान्तरण भएका छन् । यहाँ १५ शैयाका अस्पताल निर्माण गरिनेछन् । अस्पतालमा ३ मेडिकल अधिकृतसहित २७ स्वास्थ्यकर्मी रहनेछन् । तीन वटै अस्पतालका लागि १८ करोड ६ लाख ८२ हजारका दरले बजेट विनियोजन भएको छ । गुणस्तरीय आधारभूत स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्न आधारभूत अस्पताल निर्माण गर्ने सरकारको नीति रहेको छ ।

निस्दीमा प्रदेशसभा सदस्य युवराज खनाल, माथागढी र पूर्वखोलामा प्रदेशसभा सदस्य नारायण प्रसाद आचार्यले शिलान्यास गर्नुभयो । पूर्वखोलाको विरकोट अस्पतालको शिलान्यास कार्यक्रममा प्रदेशसभा सदस्य नारायण प्रसाद आचार्यले स्वास्थ्य क्षेत्रमा यसले ठूलो क्रान्ति ल्याउने बताउनुभयो । उहाँले उपचारात्मक सेवामा यति ठूलो अभियान सुरू गरेकोमा नेपाल सरकारलाई धन्यवाद दिनुभयो । गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले विशेषज्ञसहितको जनशक्ति रहने यो अस्पतालले

पूर्वखोला र आसपासका क्षेत्रका जनतालाई गुणस्तरीय स्वास्थ्य उपचार सेवा दिने बताउनुभयो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भागिरथी भट्टराई , प्रमुख प्रसासकीय अधिकृत ज्ञानु प्रसाद पनेरु , जिल्ला समन्वन समिती सदस्य ईश्वरी प्रसाद न्यौपाने लगायतले शुभकामना दिनुभयो । स्वास्थ्य संयोजक मोहन ढकालको संचालन र गाउँपालिका अध्यक्ष नुनबहादुर थापाको अध्यक्षतामा कार्यक्रम चलेको हाम्रा प्रतिनिधि सीमा श्रेष्ठले जनाउनुभएको छ ।

माथागढी गाउँपालिकाको झडेवा अस्पताल शिलान्यासमा प्रदेशसभा सदस्य आचार्यले माथागढी गाउँपालिकाभित्रका भौगोलिक रूपले विकट क्षेत्रका जनतालाई विरामी हुँदा अस्पताल जाने समस्याको समाधान भएको बताउनुभयो । गाउँपालिका अध्यक्ष सन्तोष थापाले भौगोलिक विकटता र यातायात असुविधाका कारण कतिपय अवस्थामा बिरामीलाई अस्पताल सम्म पनि पुर्याउन नसकिने र बिरामीको बाटोमै मृत्युसम्म हुने अवस्थामा सुधार आउने विश्वास व्यक्त गर्नुभयो । शिलान्यास कार्यक्रम वडा अध्यक्ष मधु पराजुलीको अध्यक्षतामा चलेको हाम्रा प्रतिनिधि माया बस्यालले जनाउनुभएको छ ।

निस्दी मित्यालमा आयोजित शिलान्यासमा प्रदेशसभा सदस्य युवराज खनालले कुनै पनि नेपाली नागरिक भौगोलिक विकटताका कारण उपचार अभावमा मर्नु नपर्ने बताउनुभयो । उहाँले संवैधानिक हक वमोजसम नागरिकको स्वास्थ्य सुरक्षा गर्न नेपाल सरकार पूर्ण जिम्मेवारी रहने बताउनुभयो । कार्यक्रममा गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारू, उपाध्यक्ष रिता कुमारी अर्याल, नेकपा नेता देवीलाल लामिछानेले नेपाल सरकार र अस्पताल निर्माणको लागि जग्गा व्यवस्थापनमा सहयोग पुर्याउनुहुने सबैमा धन्यवाद व्यक्त गर्नुभएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका ३९६ पालिकामा अस्पताल निर्माण आरम्भ गरेको छ ।

सञ्चारविज्ञ कसजूको वार्षिकीमा स्मृतिसभा, तीन वटा कृतिको विमोचन

पाल्पा । सञ्चार विज्ञ तथा साहित्यकार विनय कुमार कसजूको वार्षिक तीथिका अवसरमा आज वेभिनारमा स्मृतिसभा सम्पन्न भएको छ ।

स्मृतिसभाका प्रमुख अतिथि बालसाहित्यकार शान्तदास मानन्धरले नेपाली जनतालाई सुसूचित गर्ने, चेतनाको विकास गराउने र ज्ञानको संस्कार बसाल्ने काममा कसजूले महत्वपूर्ण योगदान गरेको बताउनुभयो । बालबालिका र युवा पुस्तालाई सिर्जनशील बनाउन सधै उत्प्रेरित गर्ने कसजूलाई सञ्चार, पत्रकारिता र साहित्यको क्षेत्रबाट अध्ययन गर्न सकिने साहित्यकार मानन्धरको जोड थियो ।

बालवाङमय तथा अनुसन्धान केन्द्र तथा कसजू परिवारले जुममा आयोजना गरेको स्मृतिसभाका सहभागीहरुले विनयकुमार कसजू नेपाली समाजको विनयशील विद्वान व्यक्तित्व भएको विचार व्यक्त गरेका छन् । स्मृतिसभामा विनय कसजूका लघुकथाः सिर्जना र विवेचना, स्मृतिमा विनय कसजू र विनयशील विनय तीन वटा कृति विमोचन गरिएको छ । तीन कृतिहरु समालोचना, जीवनी र संस्मरण रहेका छन् । कृतिहरुको समीक्षा गर्दै साहित्यकार हरि भण्डारीले लेखक, साहित्कार र पत्रकारहरुलाई आफू गुरु भूमिकामा रहेर सिर्जनशील लेखनमा प्रेरित गर्ने कसजूको योगदानलाई स्मरण गर्ने कृतिका रुपमा पाएको बताउनुभयो ।

 


कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले विनय कसजूको नेतृत्वमा नेपालमा सूचनाको हकका क्षेत्रमा जे जे काम भएको छ त्यसलाई अन्तर्राष्ट्रियकरण गर्न सके नेपालकै शीर उँचो हुने विचार व्यक्त गर्नुभयो । विद्यार्थीले उत्तर पुस्तिका हेर्न पाउने, कर्मचारीलाई कार्यालय प्रमुखले दिने नम्बर हेर्न पाउने अधिकार, भ्याट बील छली गर्नेको सूची सार्वजिनक गर्न कसजूले दिएको फैसलालाई सूचनाको हकको सन्दर्भमा ठूलो उपलब्धी भएको प्रमुख आयुक्त बास्कोटाको भनाई छ ।

वेभिनारमा प्राध्यापक डाक्टर चुडामणि बन्धु, श्रीमति गंगादेवी कसजू, वरिष्ठ पत्रकार मेघराज शर्मा, लालचन्द्र राजभण्डारी, पुष्करराज भट्ट, लक्ष्मण देवकोटा, सुशिला श्रेष्ठलगायतले रिडीमा जोगीसँगको संगत, पाल्पामा पञ्चायत विरुद्धको अभियान, बहुदल आएपछि ग्रामीण सशक्तीकरणका कार्यक्रम र साहित्य र प्रशिक्षक भूमिकामा विनयकसूजको चर्चा गर्नुभयो । २००४ साल भदौमा पाल्पामा जन्मनुभएका कसजूको २०७६ साल मंसिर १० गते काठमाडौँमा निधन भएको थियो ।