सामुदायिक रेडियो मदनपोखरा
spot_img
Home Blog Page 12

नेपाल पत्रकार महासंघ पाल्पाको बाह्रौं साधारणसभा तानसेनमा

पाल्पा । नेपाल पत्रकार महासंघ पाल्पाको बाह्रौं साधारणसभा आज तानसेनमा सुरु हुँदैछ ।

साधारणसभाको नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले उद्घाटन गर्ने कार्यक्रम रहेको महासंघका अध्यक्ष राजेशकुमार अर्यालले बताउनुभयो । महासंघ जिल्ला कार्यसमितिको हिजो बसेको बैठकले सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन पारित गरी साधारणसभामा पेश गर्ने निर्णय गरेको छ । 

पाल्पामा अहिले ९६ जना सदस्यहरु शाखामा आवद्ध रहेका छन् । साधारणसभाका लागि मञ्च व्यवस्थापन, प्रतिवेदन तथा पत्रकार सुरक्षा सामग्री वितरणकाे तयारी पूरा गरिएकाे उपाध्यक्ष भरत शर्माले बताउनुभयाे । साधारणसभाका लागि गाउँगाउँबाट पत्रकारहरू तानसेन पुगेका छन् ।

शाखाकाे कार्यसमिति बैठकले पुरस्कार छनौट समितिले सिफारिश गरेका पुरस्कृत व्यक्तिहरुको नामलाई अनुमोदनसमेत गरेको छ । महासंघले मिडिया डाइरेक्टरी प्रकाशन गर्ने र सो डाइरेक्टरी साधारणसभामै वितरण गर्ने निर्णय गरेको सचिव किरण कौशलले जानकारी दिनुभयो ।

महासंघकाे संशाेधित विधान अनुसार जिल्ला, प्रदेश र केन्द्रीय साधारणसभा तथा अधिवेशन सम्पन्न भएपछि तीन वटै तहकाे निर्वाचनकाे कार्यक्रम सुरू हुनेछ । महासंघकाे केन्द्रीय अधिवेशन फागुन ४ र ५ मा काठमाडाैँमा गर्ने तयारी भएकाे छ । विधानअनुसार केन्द्रीय अधिवेशन गरेकाे ३० दिनभित्र निर्वाचन गर्नुपर्ने व्यवस्था रहेकाे छ । 

माघभित्रै कालिगण्डकी लिफ्टिङ्ग खानेपानी आयोजनाकाे पानी तानसेन माघभित्रै आउने

बहुप्रतिक्षित कालिगण्डकी लिफ्टिङ्ग खानेपानी आयोजनाको पानी हप्ता दस दिनभित्र तानसेनमा आउने भएको छ ।

निर्धारित मितिभन्दा दुई वर्ष ढिलो गरी आयोजनाको पानी ५ लिफ्ट गरी तानसेनमा खस्ने भएको हो । २०७२ सालमा सम्भाव्यता अध्ययन गरी २०७५ साल मंसिर ५ गते १८ महिनामा सम्पन्न गर्ने लक्ष्यका साथ सुरू भएको आयोजना २०७७ माघ सम्ममा पानी झर्ने अवस्थामा आइपुग्ने भएको छ । तानसेन खानेपानी उपभोक्ता समितिका कार्यालय प्रमुख दिवाकर अर्याले अब एक हप्ताभित्र गण्डकीको पानी तानसेन आउने बताउनुभयो ।

कालीगण्डकीदेखि बौघागुम्वासम्म पानी लिफ्ट हुने छ भने बौघागुम्वाबाट तानसेनको मुख्य ट्याड्ढी बतासेसम्म ग्राविटी फलोबाट पानी ल्याईने छ । कालीगण्डकी नजिक इनार ‘कलेक्टर वेल’ देखि तानसेनको मुख्य ट्यांकीसम्म ८ ईञ्चको १० किलोमिटर पाइप बिछ्याइएको छ । प्रतिसेकेण्ड ४० लिटर पानी बतासेको ट्याङ्कीमा झर्ने आयोजनाको लक्ष्य छ ।

तानसेन बजारमा दैनिक २५ लाख लिटर पानीको आवश्यकता भएपनि अहिले दैनिक रुपमा ७ /८ लाख लिटर पानी मात्र वितरण हुँदै आएको छ । कालीगण्डकी लिफ्ट आयोजना पुरा भएपछि दैनिक १८ लाख लिटर पानी थप हुनेछ । कालीगण्डकी लिफ्ट खानेपानी आयोजना सञ्चालनपछि अबको १० बर्ष सम्म तानसेनमा पानीको समस्या पूर्ण रुपमा हट्ने तानसेन उपभोक्ता समितिका कार्यवहाक अध्यक्ष डा. पुरनमान बज्राचार्यले बताउनुभयो ।

२०३५ सालसम्म ढुङ्गेधारामा निर्भर तानसेनवासीले २०३५ सालमा जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा भुल्के खानेपानी योजनाबाट लिफ्ट गरी पानी उपभोग गर्दै आएका थिए । परम्परागत धारा, भुल्के र सिस्ने योजनाले तानसेनको खानेपानी माग पूरा गर्न नसकेपछि कालीगण्डकी लिफ्ट आयोजना सुरू गरिएको हो ।

तानसेन नगरपालिकाकाे नगरसभा सम्पन्न

पाल्पा । तानसेन नगरपालिकाको आठौँ नगरसभा सम्पन्न भएको छ । सभाले विभिन्न तीन विद्येयक पारित गरेको छ । हिउँदे अधिवेशनका रुपमा लिइने याे नगरसभाले विनियोजन विद्येयक–२०७७, आर्थिक विद्येयक, वन विद्येयक सभाले पारित गरेको नगरप्रमुख अशोककुमार शाहीले जानकारी दिनुभयो ।

सभामा तानसेन नगरपालिकाका नगर प्रमुख अशोककुमार शाहीले नगर सरकारले जनताको पक्षमा गरेको काम बिस्तारै देखिन थालेको बताउनुभयो । उहाँले चालु नगरसभाले हरेक वडाका १ किमी सडक कालाेपत्रे गर्ने प्रस्ताव पारित गरेकाे  बताउनुभयाे । 

सभामा नगर प्रमुख शाहीको अनुमतिमा तानसेन वडा नं. १ का अध्यक्ष रामप्रसाद बस्यालले आर्थिक वर्ष २०७७/०७८ को समीक्षात्मक बजेट तथा योजना कार्यान्वयन अवस्थाको बारेमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले चालु आवमा नगरपालिकाले विनियोजन गरेको १ अर्ब १२ करोड बजेटमध्ये पूँजीगततर्फ १९ प्रतिशत र चालु तर्फ २५ प्रतिशत बजेट खर्च भएको जानकारी दिनुभयो ।

सभामा विनियोजन विद्येयक २०७७ प्रस्तुत गर्नुहुँदै नगर उपप्रमुख लक्ष्मीदेवी पाठकले नगर कार्यपालिकाको निर्णयले बजेट खर्च हुन नसक्ने अवस्था र अत्यावश्यक अवस्थामा बजेट विनियोजन गर्नुपर्ने भए निर्णय गर्न सक्ने बताउनुभयो । आठौँ सभामा नगर कार्यपालिका सदस्य दिपक विकले रेडियो एफएम संचालन कार्यबिधि  २०७७ निर्णयार्थ प्रस्तुत गर्नुभयो । सभामा नगर सभा सदस्य सुनिता बैंजुल आर्थिक विद्येयक र मैयादेवी घिमिरेले वन विद्येयक प्रस्तुत गर्नुभएको थियो । सभामा प्रस्तुत एफएम संचालन कार्यविधि, वन विद्येयक र आर्थिक विद्येयक सर्वसम्मत रुपमा पारित भएको छ । सभामा तानसेनभित्रका सबै वडाका बजेट तथा योजना संशोधन प्रस्ताव पेश गर्नुभएको थियो ।

सभाकाे शुन्य समयमा आफ्ना धारणा राख्नुहुँदै नगरसभा सदस्य विष्णुबहादुर कार्कीले नगरपालिकाले हालसम्म गरेका कामको समीक्षा गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले नगरपालिका प्रशासन र जनप्रतिनिधिका बीचमा प्रभावकारी समन्वय हुन नसक्दा फोहोर व्यवस्थापन कार्य अगाडि बढ्न नसकेको बताउनुभयो । यस्तै अर्का नगरसभा सदस्य नारायण न्यौपानले तानसेन वडा नं. १ को भुसलडाँडा क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएकाले त्यस क्षेत्रमा व्यवसाय गर्ने व्यक्तिलाई करमा छुट दिनुपर्ने माग राख्नुभयो । कार्यक्रममा विनिता लुइटेल, नेत्रप्रसाद गैरे, रामप्रसाद बस्याल, गणेश थापा लगायतले सुझाव मन्तव्य राख्नुभएको थियो ।

प्रधानमन्त्री ओली लोकप्रिय हुने डरले प्रचण्ड षडयन्त्रमा उत्रिए : मुख्यमन्त्री पोखरेल


पाल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी ओलीको कार्यकालमा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा जारी भएपछि पाटीभित्र समस्या उत्पन्न भएको बताउनुभएको छ । 

नेकपा तानसेन नगरस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेपालको नयाँ नक्सा संसदबाट सर्वसम्मत पारित गराएपछि राष्ट्रवादी कार्यले प्रधानमन्त्री केपी ओली लोकप्रिय हुने डरले अर्का अध्यक्ष पुष्पकमल दाहाल षडयन्त्रमा उत्रिएको उहाँको भनाई छ । मुख्यमन्त्री पोखरेलले षडयन्त्रको भ¥याङ प्रधानमन्त्रीले झिकिदिएपछि उनीहरुको दाँतबाट पसिना निस्किएको छ भन्नुभयो । प्रचण्ड र माधव नेपालले पार्टी र राज्य सत्ता कब्जा गर्ने षडयन्त्र गरेर घेराबन्दी गरेको उहाँको दावी थियो ।

प्रचण्ड र माधव हल्लिएको दाँतजस्तै
प्रचण्ड र माधव हल्लिएको दाँतजस्तै भएको उहाँले टिप्पणी गर्नुभयो । ‘जुन उखेलेर फालेपछि नयाँ र बलियो दाँत पलाउने छ । हल्लिएको कच्चा दाँतका रुपमा रहेका उनीहरु निस्किएर गएपछि ओली नेतृत्वको पार्टी बलियो भएर अगाडि बढ्छ ।’ व्यक्तिका लागि नभइ अब राष्ट्रका निम्ती पार्टी एकता प्रक्रिया अगाडि बढ्ने नेता पोखरेलले बताउनुभयो ।

नेकपा स्थायी कमिटी सदस्य पोखरेलले व्यक्तिलाई केन्द्रमा राखेर गरिएको एकता प्रक्रिया पूरा हुन नपाएको बताउनुभयो । ‘अहिले माइतिघर मण्डलामा पुगेर हामी यहाँ छम भनेर भन्नु परेको छ । त्यहीमाथि माधव कुमार नेपाल र पुष्पकमल दाहालको ट्याग झुण्डाएर योभन्दा दुखदायी स्थिति के हुन सक्छ ।’ उहाँले सच्चिएर मूल घरमै आउनुहोस् बाटो खुला छ भन्ने आग्रह गर्नुभयो ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा युवा नेता महेष बस्नेतले साविक एमालेका ९५ प्रतिशत नेता कार्यकर्ता ओलीसँग र साविक माओवादीका ८०\८५ प्रतिशत नेता कार्यकर्ता प्रचण्डसँग रहेको बताउनुभयो । उहाँले मिडियामा भ्रम छर्दै हिडेको भए पनि तल्लो तहका कार्यकर्तामा कुनै भ्रम नरहेको विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, साइबर सेना स्याल होइन, अब सिंह बन्नेछन् । साइबर सेनाले प्रचण्ड माधवलाई ठेगान लगाउने दावी गर्नुभयो ।

नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष नारायणप्रसाद आचार्यले केपी ओली नेतृत्वमा रहेको पार्टी नै मूल प्रवाह भएको र पाल्पामा यसकै बहुमत रहेको दावी गर्नुभयो । राष्ट्रिय युवा संघका नेता किरण पौडेल, बगनासकाली गाउँपालिकाका उपाध्यक्ष सरस्वती चिदी, टिका थापालगायतले बोल्नुभएको थियो ।

भेलाले टीकाबहादुर थापाको अध्यक्षतामा २ सय ६१ सदस्यीय युवा संघ, जिल्ला समिति पनि घोषणा गरेको छ । युवा नेता तुलबहादुर अधिकारीको सञ्चालन र तानसेन नगर कमिटीका अध्यक्ष रामप्रसाद पोखरेलको अध्यक्षतामा कार्यक्रम चलेको थियो ।

निजी विद्यालय सञ्चालकको लगानी छिट्टै फिर्ता हुन्छ :अध्यक्ष थापा

पूर्वखोला गाउँपालिकाले गाउँपालिकाभित्र रहेका ५ निजी विद्यालयलाई सरकारी विद्यालयमा समायोजन गरेको छ । समायोजनपछि निजी विद्यालयका विद्यार्थीहरु समायोजित विद्यालयको अंग्रेजी ब्लकमा अध्ययन गरिरहेका छन् । विद्यार्थी र शिक्षकहरु निजी र सरकारी शिक्षा भन्न छोडेका छन् । शिक्षण पेशाबाट राजनीतिमा आएका पूर्वखोला गाउँपालिका अध्यक्ष नुनबहादुर थापा सामुदायिक र निजी विद्यालयका विद्यार्थीका बीचमा रहेको असमानता अन्त्य गर्न विद्यालय समायोजनको कार्यक्रम अगाडि सारेको बताउनुहुन्छ । २०५९ सालमा विरकोट गाविसको अध्यक्षको कार्यकाल समाप्त भएपछि पुनः शिक्षण पेशामा फर्किएका थापा २०७४ सालको स्थानीय तहको निर्वाचनमा पूर्वखोला गाउँपालिकाका अध्यक्ष बन्न जानुभएको हो । निजी विद्यालय समायोजनको कार्य चालु आर्थिक वर्ष २०७७\०७८ मा पुरा गर्ने गरी आठौँ गाउँसभाले निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापासँग सम्पादक राजेशकुमार अर्यालले विद्यालय समायोजन प्रक्रियाका विषयमा कुराकानी गर्नुभएको छ ।

 

निजी विद्यालय सरकारी विद्यालयमा गाभ्नुको कारण के हो ?
निजी विद्यालयमा अभिभावको लगानी, सामुदायिक विद्यालयमा सरकारको लगानी बढिरहेको छ । लगानीको अनुपातमा दुबै विद्यालयमा शैक्षिक गुणस्तर सुधार हुन सकेको छैन । समुदायमा निजी र सरकारी भन्ने मान्यताले घर गर्न थाल्यो । त्यो भनेको अर्को हिसाबले धनी र गरिव भन्ने हुन थाल्यो । शिक्षामा असमानताका कुरा उठे । विद्यार्थीको मस्तिष्कमा सम्पत्ति हुने र नहुनेको प्रभाव पर्न गयो । अर्कातर्फ अभिभावकहरु छोराछोरीको शिक्षाका लागि जति पनि लगानी गर्न तयार तर शैक्षिक वातावरण निर्माणमा रुची नराख्ने अवस्था पैदा भयो । अंग्रेजी र नेपाली मिडियमका नाममा समाज नै विवादमा फस्न थाल्यो । त्यसैले एकैप्रकारको शिक्षा प्रणाली लागू गरौँ भनेर थालिएको विशुद्ध आफ्नै मौलिक प्रयास हो ।

निजीलाई कमजोर सरकारीमा गाभेर गुणस्तर सुध्रन्छ र ?
समायोजन गर्दैमा मात्र त सुध्रने होइन तर त्यतिकै बसेको भए झन केही हुँदैनथ्यो । गाउँपालिकाभित्रका सरोकारवालालाई शैक्षिक वातावरण निर्माण गर्न थालिएको अपिल हो । यो अपिललाई आम समुदायले स्वागत गरेका छन् । अभियानमा साथ दिएका छन् । विद्यालयमा शिक्षकहरु उत्साहित भएका छन् । गुणस्तर सुधारका लागि लाग्ने कसम खाएका छन् । विद्यालयमा शिक्षकले पढाउनुपर्छ, गाउँपालिकाले अनुगमन गर्छ भन्ने मान्यता स्थापित भएको छ । बिस्तारै सबै विद्यालयमा गुणस्तरमुखी क्रियाकलाप सुरु भएको छ । शिक्षामा रहेको असमानता हटिसक्यो ।

पूर्वखोलामा अब निजी स्कुल खोल्ने नपाउने हो ?
सामुदायिक र सरकारी विद्यालयले अभिभावको चाहना र विद्यार्थीको आवश्यकता पूर्ति गरेपछि किन चाहियो निजी विद्यालय । दक्ष जनशक्ति उत्पादन गर्ने हो । सीपयुक्त नागरिक उत्पादन गर्ने हो । बजारमा प्रतिस्पर्धा गर्न सक्ने सामथ्य पैदा गर्ने हो । त्यो काम हामी हाम्रा सामुदायिक विद्यालयमार्फत् गर्न सक्षम बनाउँछौ । सामुदायिक विद्यालय तपाईंले भने जस्ता भए भने निजी विद्यालय भनिरहन पर्छ र ? पर्दैन ।

विगत तीन वर्षको अवधिमा शिक्षाको गुणस्तर सुधार भयो ?
पहिलो वर्ष हामी निजी र सरकारी विद्यालयका आआफ्ना धारणा र मान्यतालाई सामुदायिकीकरणको महत्व बुझाउन लागि प¥यौँ । निजी विद्यालयका समस्या र सरकारी विद्यालयका समस्या पहिचान गरेर समायोजन पछाडि अभ्यास थाल्यौं । नेपाली र अंग्रेजी दुबै माध्यममा पढाउन थाल्यौँ । अंग्रेजी माध्यममा जोड दिएकमा छौँ । सिकाई उपलब्धीमा ध्यान दिएका छौँ । शिक्षाको लगानी पूर्वाधारमा जस्तो रातारात देखिने विषय होइन । आजभन्दा भोलि देखिने विषय हो । सुधार देखिन थालेको छ । समायोजनका कारण हाम्रा विद्यालयको भविष्य राम्रो देखेको छ ।

निजी विद्यालयका शिक्षक कर्मचारीको सेवा सुविधा कसरी समाधान हुन्छ ?
शिक्षण पेशा यस्तो पेशा हो जहाँ सम्बन्धित मान्छे नै रमाउनुपर्छ । यही पेशामा जीवन बिताउने समपर्ण चाहिन्छ । शिक्षक कर्मचारीको खाइपाई आएको सुविधा यथावत छ । अझ वृद्धि भएको छ । अर्कोकुरा शिक्षामै रहने साथीहरुले शिक्षक सेवा आयोगमा प्रतिस्पर्धा गर्नुहुन्छ । स्थायी भएर आउनुहुन्छ । नहुनेहरुका लागि तालिमलगायत वृत्ति विकासका कार्यक्रम ल्याउँदैछौ । उस्तै परे पेशा र सेवा क्षेत्र रोज्न दिन सकिन्छ । समाधान हुन्छ ।

निजी विद्यालय सञ्चालकहरु विद्यालय समायोजनपछि भौतिक सम्पत्ति, जग्गाजमिन बारे निर्णय नै हुने सकेन भन्छन् ?
विद्यालय समायोजन गर्ने हामी पहिलो स्थानीय तह बन्यौं । निजी विद्यालय सञ्चालकहरु उहाँहरुका लागि पनि यो नयाँ अभ्यास थियो । सिंगो समाजका लागि नौलो कुरा थियो । सैद्धान्तिक मान्यता र समायोजनका प्रक्रिया बीच तालमेल मिलाउन समय लाग्यो । स्थानीय सरकारले जग्गा खरिदका लागि अपनाउनुपर्ने विधि, प्रक्रिया र तरिकाका कारण ढिला भयो । चालु आर्थिक वर्षको अन्त्यसम्म समायोजनको सम्पूर्ण प्रक्रिया टुंग्याउने भनेर आठौँ गाउँसभाले आवश्यक कानुन र योजना पारित गरेको छ । अब हामी त्यसतर्फ लाग्छौँ ।

त्यसो भए विद्यालय समायोजको प्रक्रिया चालु आर्थिक वर्षमा सम्पन्न हुन्छ ?
हो, सम्पन्न हुन्छ । समायोजनका लागि बजेट पौने २ करोड लाग्ने पूर्वानुमान गरी कार्यक्रम तथा बजेटमा समायोजन गरेका छौँ । कानून निर्माण गरेका छौँ । शिक्षासँग जोडिएका निकायहरुसँग सरसल्लाह र समन्वय गरिरहेका छौँ । निजी विद्यालय सञ्चालकको लगानी छिट्टै फिर्ता हुन्छ । हामीलाई विश्वास छ, यो वर्ष विद्यालय समायोजनको सम्पूर्ण प्रक्रिया टुंगिन्छ ।

भूकम्प सुरक्षा दिवसका अवसरमा संयुक्त अभ्यास

पाल्पा । जिल्ला विपद् व्यवस्थापन समिति पाल्पाले राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा भूकम्प पश्चात् खोज तथा उद्दार सम्बन्धि पाल्पामा संयुक्त अभ्यास गराएकाे छ ।

नेपाली सेनाको गोरखदल गण, कालीभक्ती गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस सोसाइटी, एनसिसि एल्मुनाई एशोसियसनले तानसेनको टुंडिखेलमा संयुक्त प्रदर्शन गरेका हुन् । भूकम्प गएको र अन्य विपद्का बेला खोज तथा उद्दार कसरी गर्ने सम्बन्धमा प्रदर्शन सिकाइएकाे छ ।

प्रमुख जिल्ला अधिकारी रमेश न्याैपानेले विपदमा खाेज र अनुसन्धान प्रभावकारी बनाउन यसप्रकारका प्रदर्शनले सहज हुने विश्वासका साथ प्रदर्शन गरिएकाे बताउनुभयाे । तालिम प्राप्त सैनिक अधिकारीले प्रदर्शनमा सहयोग गरेका थिए भने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सामाग्री प्रदर्शन समेत गरेका थिए । खोज तथा उद्दारमा प्रयोग हुने सामाग्री प्रर्दशनमा सुरक्षा अधिकारीका साथै सर्वसाधारणले समेत अवलोकन गरेका थिए ।

कार्यक्रममा नेपाली सेनाकाे गाेरखदल गणका प्रमुख जनक बस्नेत, जिल्ला प्रहरी प्रमुख सन्ताेष कुमार भट्टराइ, सशस्त्र प्रहरी बल का पाल्पा प्रमुख अरूण शर्मा लगायतकाे उपस्थितिमा भएकाे प्रदर्शनकाे सर्वसाधारणाले अवलाेकन गरेका थिए ।

बहुसञ्चार केन्द्र परिचय

संक्षिप्त परिचय

सामुदायिक बहुसञ्चार केन्द्र मदनपोखरा, पाल्पा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मर्म र भावनालाई मुखरित गर्दै समुदायलाई सूचनाको माध्यमबाट सुसूचित गरी अग्रभागमा स्थापित गर्ने लक्ष्यका साथ स्थापित गैरनाफामुखी, जनकल्याणकारी गैरसकारी संस्था हो । सूचना प्रवाह र सामाजिक परिचालनका माध्यमबाट लोकतान्त्रिक गणतन्त्रलाई सुदृढीकरण गर्ने, सामुदायिक सशक्तीकरण गर्ने र लक्षित वर्ग दलित, जनजाति, अपाङता, ज्येष्ठ नागरिक, महिला र सीमान्तकृत समुदायको सबलीकरणमा बल पु¥याउने यसका उद्देश्यहरु रहेका छन् ।

जिल्ला प्रशासन कार्यालय पाल्पामा दर्ता भएको यो संस्थाले सामुदायिक रेडियो मदनपोखरा सञ्चालन गर्दै आइरहेको छ । सामुदायिक रेडियो मदनपोखरा एफ.एम.१०६ थोप्लो ९ मेगाहर्ज २०५६ सालदेखि निरन्तर सञ्चालन गर्दै आएको छ । यो नेपालका सामुदायिक रेडियोहरूमा एउटा उत्कृष्ट र उदारहणीय रेडियो हो । सामुदायिक भावना, श्रमप्रति आस्थावान यस क्षेत्रका बुद्धिजीवी, समाजसेवी, कृषक, शिक्षक एवम् नविन कार्य गर्न उत्सुक युवाहरुको लामो प्रयासपछि स्थापना गरिएको यो दक्षिण एशियाकै पहिलो ग्रामीण सामुदायिक रेडियो पनि हो ।

सूचना र विचारको प्रवाहमार्फत समुदायलाई ज्ञान, शिक्षा र मनोरञ्जन प्रदान गरी नागरिकलाई सूचनाको मालिक बनाउने र समाजको सामाजिक रुपान्तरण गर्ने उद्धेश्य राखी यसको स्थापना गरिएको हो । प्रत्येक दिन बिहान ५.३० बजेदेखि साँझ १०.३० बजेसम्म लगातार दैनिक १७ घण्टा रेडियो प्रसारण हुन्छ । ५०० वाटको ट्रान्समिटरबाट प्रसारित यसको प्रसारणले पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्गजा, पर्वत र तनहूँलगायतका जिल्लालाई ढाकेको छ ।

समुदायको रुचि, चाहना र आवश्यकतामा आधारित कार्यक्रम उत्पादन तथा प्रसारण गरेर यसले रेडियोको इतिहासमै सिर्जनशील प्रसारण संस्थाका रुपमा पहिचान बनाएको छ । सामुदायिक र गुणस्तरीय कार्यक्रम उत्पादन तथा प्रसारण नै यसको विशेषता हो ।

सञ्चालक समिति
सामुदायिक बहुसञ्चार केन्द्र मदनपोखराको विधान वमोजिम गठित कार्यसमितिले रेडियोको नीतिगत योजना निर्माण गर्ने र कार्यान्वयन गर्ने कार्य गर्दछ । लोकतान्त्रिक विधिबाट निर्वाचित सञ्चालक समिति हाल १२ सदस्यीय रहेको छ ।


अध्यक्षः श्री झपेन्द्रबहादुर जिसी 
उपाध्यक्षः श्री गुणाकर अर्याल
सचिवः श्री राजेशकुमार अर्याल
सहसचिवः घनश्याम घिमिरे
कोषाध्यक्षः एकप्रसाद भण्डारी
सदस्यः सोमनाथ अर्याल
सदस्यः प्रेमनाथ बस्याल
सदस्यः बासुदेव अर्याल
सदस्यः दुर्गा भण्डारी
सदस्यः लक्ष्मी पाठक
सदस्यः इन्द्रा गहतराज
सदस्यः अम्बिका भट्टराई

सञ्चार केन्द्रका बहुआयामिक कार्य
यस संस्थाले सामुदायिक रेडियो सञ्चालनका अतिरिक्त बोली वार्षिक पत्रिका प्रकाशन  र बोली दैनिक डट कम अनलाइन सञ्चालन गर्दै आएको छ । www.bolidainik.com बाेली पत्रिकाकाे नाममा सूचना तथा प्रसारण विभागमा दर्ता गरिएकाे छ । रेडियो, टेलिभिजन, पत्रिका, अनलाइन जस्ता सञ्चार माध्यम सञ्चालन गर्न सक्ने संस्थाको उद्देश्य रहेको छ ।

सामुदायिक बहुसञ्चार केन्द्र मदनपाेखरा, पाल्पा

सामुदायिक रेडियाे मदनपाेखरा

तानसेन नगरपालिका ८, मदनपाेखरा, पाल्पा

फाेन ०७५४१२०५५, ४१२०५६

इमेलः radiomadanpokharaoff@gmail.com, crmhalchal@gmail.com

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय जयशंकरबीच भेटवार्ता

दिल्ली । पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी एस जयश‌ंकरबीच भेटवार्ता सुरु भएको छ ।

भारतको तीनदिने भ्रमणमा रहनुभएका पराष्ट्रमन्त्री ज्ञवालीले नयाँदिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता सुरु गर्नुभएकाे हो ।ज्ञवाली र जयशंकरबीचको भेटलगत्तै हैदरावाद हाउसमै नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको छैटौँ बैठक सुरु हुनेछ । बैठकका लागि दुवै पक्षले करिब तीन दर्जनभन्दा बढी एजेण्डा तय गरेका छन् । एजेण्डा तय गर्नका लागि परराष्ट्र मन्त्रालयको एउटा टोली दुई दिनअघि नै नयाँदिल्ली आएको थियो ।

बैठकमा नेपाली पक्षले सीमा, व्यापार, ऊर्जा, कनेक्टिभिटिलगायतका विषयमा छलफलमा हुने बताइएको छ । त्यसैगरी बैठकमा दुई देशबीचका दुई दर्जनभन्दा बढी संयन्त्रहरुमा हालसम्म भएका सहमति र नसुल्झेका विषयमा समेत समीक्षा हुने स्रोतले बताएको छ ।

नेपाली पक्षले बैठकमा सीमा विवादलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ । यद्यपि भारतीय पक्ष भने सीमा विवादलाई सचिवस्तरीय संयन्त्र र बाउन्ड्री वर्किङ ग्रुपले आफ्नो काम पूरा गरेपछि मात्र मन्त्रीस्तरीय आयोगको बैठकमा विस्तृत रुपमा छलफल गर्ने पक्षमा छ । नेपाल आयोगको म्यान्डेट सीमालगायत द्विपक्षीय विषयहरुमा छलफल गर्ने पक्षमा छ ।

आयोगको बैठकलगत्तै मन्त्री ज्ञवाली भारतीय विदेशमन्त्री जयंशकरले आयोजना गर्ने दिवाभोजमा सरिक हुनुहुनेछ । त्यसपछि दिउँसो ३:३० मा नयाँदिल्लीस्थित भारत सरकारको थिंक ट्याकं परराष्ट्र मामिलासम्बन्धी अन्तर्राष्ट्रिय केन्द्र (आईसीडब्लू) मा आयोजना गर्ने नेपाल–भारतसम्बन्धी विषयक कार्यक्रमलाई मन्त्री ज्ञवालीले सम्बोधन गर्ने कार्यक्रम छ ।

मन्त्री ज्ञवाली दिल्लीमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिहं लगायतका उच्च राजनीतिज्ञहरुसँग भेट्ने तय भएको छ ।  मन्त्री ज्ञवाली शनिबार अपरान्ह स्वदेश फर्कने कार्यक्रम छ ।

माघे संक्रान्तीका आहारहरु लाभदायक छन्

नेपाली समुदायले माघे संक्रान्ति पर्व विशेष रुपमा मनाउँछन् । माटो मुनी फलेको बालीको रुपमा तरुल, सखरखण्ड, पिँडालुका साथै चाकु, तिलको लड्डु, खिचडी पनि खाने प्रचलन छ। जाडो मौसममा शरीरलाई धेरै पौष्टिक आहार चाहिने भएकाले माघे संक्रान्तिमा खाइने यी आहारहरुले शरीरलाई आवश्यक शक्ति दिई रोगसँग लड्ने क्षमता समेत बढाउँदछ। माघे संक्रान्तीका यीआहारहरु धेरै लाभदायक छन् ।

आयुर्वेद चरक संहिता, शिशिर ऋतुचर्या अनुसार यस समयमा शीत वायुको सम्पर्क शरीरसँग हुने हुनाले अग्नि भित्रै रोकिएर तीक्ष्ण हुन जान्छ । त्यसैले यस समयमा गुरु द्रव्य पाचन गर्ने सामर्थ्य शरीरमा रहन्छ र भोजन नपाउँदा रस आदिको क्षय हुन्छ। यस समयका सात्म्य (हित) रसमा स्निग्ध, अम्ल, लवण पर्दछन् भने सात्म्य (हित) आहारमा गोरस, इक्षुविकृति तैल,नयाँ अन्न पर्दछन् ।

तिल

धार्मिक कार्यमा समेत पवित्र अन्नका रुपमा चिनिने  तिलमा पर्याप्त क्याल्सियम र भिटामीन बी रहन्छ र यसले शरीरलाई उर्जा दिइराख्छ। तिलमा पाईने क्याल्सियमको प्रयोगले हड्डीलाई बलियो बनाउँछ। तिलको प्रयोगले खोकिलाई कम गर्नुको साथै कमजोरीपना हटाउछ। मुख गन्हाउने समस्यामा समेत तिल अति उत्तम मानिन्छ।

सखरखण्ड

सखरखण्डमा कार्बोहाइड्रेड हुने हुनाले शक्तिवर्धक रहन्छ। सखरखण्डमा फाइवर समेत प्रसस्त हुने हुनाले कब्जियतको  समस्या पनि कम गर्छ। रक्तचाप नियन्त्रण गर्न भूमिका खेल्ने सखरखण्डले पाचन प्रकियालाई समेत बलियो बनाउँदछ। भिटामिन ए र भिटामिन डी समेत उल्लेख्य पाइने हुनाले सखरखण्ड स्वस्थ आँखा र हड्डीका लागि उपयोगी रहन्छ। गुलियो भएता पनि यसमा उच्च स्तरमा चिनीको मात्रा नहुने हुनाले सखरखण्डले मधुमेह रोगलाई नियन्त्रण गर्न सक्दछ। सखरखण्डले मानिसको अनावश्यक तौल घटाउन समेत मद्दत पुर्याउँदछ। क्यान्सरको कारक तत्व मानिने फ्रि रेडिकल्ससँग लड्न समेत यसले मद्दत पुर्याउँदछ।

चाकु र गुँड

उखु पेलेर बनाइने खुदाेबाट चाकु बनाउने गरिन्छ । गुल्मीकाे दिगाम, बलेटक्सार, भड्कुवा, थाेर्गामा प्रसस्त मात्रामा उखु उत्पादन हुने भएकाले माघे संक्रान्ती मेलामा रिडीमा चाकु र गुँड पाइन्छ । जाडोको समयमा पाचन प्रणाली समेत मजबुद पारी राख्न र शरीरमा उर्जा र शक्ति कायम राख्न चाकु उपोयगी रहन्छ। चाकुमा आइरन हुने हुनाले रक्तअल्पताका बिरामीलाई समेत अत्यन्त फलदायी रहन्छ।

खिचडी

संक्रान्तिका दिन मासकाे दाल मिसाएर पकाएकाे भात खाने प्रचलन छ, जसलाई खिचडी भनिन्छ ।  जाडोको मौसममा मासको दाल, घिउ र चामल मिसाई खिचडी खानाले शरीरमा गर्मीको मात्रा बढाई तागत दिने काम गर्दछ । यसरी माघे संक्रान्ति पर्वमा खाइने आहार, स्वास्थ्यका लागि महत्वपूर्ण मानिन्छन् ।

रिब्दीकोट गाउँपालिकाको आठौं गाउँसभा सम्पन्न

रिब्दीकोट गाउँपालिकाको आठौं गाउँसभा सम्पन्न भएको छ।

गाउँसभाले सहकारी ऐन २०७७ संशोधनसहित विभिन्न कार्यविधि, निर्देशिकाहरू पारित गरेको छ । कृषिकर्जा अनुदानसम्बन्धी कार्यविधि २०७७, स्मार्ट टोलविकास संस्था सम्बन्धी कार्यविधि, रिब्दीकोट गाउँपालिकाको विपद व्यवस्थापन कार्यविधि २०७७ अनुमोदन गरिएको गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसीले बताउनुभयो ।

योसँगै रिब्दीकोट गाउँपालिकाको साझेदारी कार्यक्रम तथा व्यवस्थापन कार्यविधि २०७७ र उत्पादनमा आधारित सुन्तलाजात फलफूलमा अनुदान सम्बन्धी कार्यविधि पनि अनुमोदन गरिएको अध्यक्ष जिसीले जानकारी दिनुभयो। चालु आर्थिक वर्ष २०७७/०७८ को रिब्दीकोटको जम्मा ४८ करोड ९३ लाख २९ हजार बजेट रहेकोमा हालसम्म चालुतर्फ २१ प्रतिशत र पूँजीगततर्फ १२.६८ प्रतिशत खर्च भएको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्षको लक्ष्य अनुसार ३५ प्रतिशत राजस्व संकलन गरेको जनाएको छ । गाउँसभाका सहभागी जनप्रतिनिधिहरूले पालिकामा विद्युतीय समस्या, खानेपानी, पूर्वाधार, पशुपंक्षी, कृषि, स्वास्थ्य लगायतका समस्या, चुनौती औंल्याएका थिए । स्थानीय सरकार संचालन ऐन २०७४ मा व्यवस्था भए अनुसार स्थानीय तहले वर्षमा दुई पटक गाउँसभा गर्नुपर्ने हुन्छ ।

गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जी.सी.को अध्यक्षतामा भएको गाउँपालिकाको आठौं गाउँ सभा आर्थिक वर्ष ०७७र०७८ को अर्धवार्षिक कार्य प्रगतिको समीक्षा, स्थानीय जनप्रतिनिधिबाट प्राप्त वडागत समस्या एवम सुझावहरु माथि छलफल गरी गाउँपालिकाको विभिन्न ,नियमावली एबम कार्यविधिहरु पारित गर्दै सम्पन्न भएको सूचना प्रबिधि अधिकृत हेमेन्द्र कुवँरले जानकारी दिनुभयो ।