सामुदायिक रेडियो मदनपोखरा
spot_img
Home Blog Page 11

रम्भाको फोक्सिङ्गकोट पहिलो बालमैत्री वडा घोषणा

एवत सारु, फोक्सिङ्गकोट । रम्भा गाउँपालिका वडा नं. २ फोक्सिङ्गकोटलाई पाल्पा जिल्लाकै पहिलो बालमैत्री वडाको रुपमा घोषणा गरिएको छ ।

लुम्बिनी प्रदेश सभासद नारायणप्रसाद आचार्यले घोषणा पत्र अनावरण गरी फोक्सिङ्गकोटलाई बालमैत्री वडा घोषणा गर्नुभयो । रम्भा गाउँपालिकाको वडा नं. २ फोक्सिङ्गकोटले तोकिएका मापदण्ड पुरा गरेको देखिएपछि बालमैत्री वडा घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख रमेशराज पौडेल, रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारी, उपाध्यक्ष राधादेवी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकाल, बालअधिकारकर्मी शालिकराम पाण्डेलगायतले बालबालिकाको सर्वाङ्गीण विकासले मात्र देशको समग्रमा विकास हुने भएकोले बालबालिकाको चौतर्फी विकासको लागि सबैले आआफ्नो तर्फबाट सकारात्मक भूमिका खेल्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बालमैत्री स्थानीय शासन लागू गर्न महत्वपूर्ण भूमिका खेल्ने संघसंस्था तथा व्यक्तिहरुलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रममा बाल क्लबका तीर्थबहादुर पाँडे, शान्ती सिंजाली, सुष्मा सूर्यवंशी लगायतले बालबालिकाहरुको संगठनमा आबद्ध पश्चात भएको परिवर्तनबारे बोल्नुभएको थियो । रम्भा गाउँपालिकाका श्रोत व्यक्ति काशीराम बस्याल, धनकला थापा, जनविकास पाल्पाका निर्देशक देवीलाल लामिछाने लगायतले बालबालिकाको सर्वाङ्गीण विकासकोलागि अनुकूल वातावरण तयार गर्नु पर्ने बताउनुभयो । कार्यक्रममा बालबालिकाहरुले बाल नृत्यका साथै बालअधिकार सम्बन्धी प्लेकार्डसमेत प्रर्दशन गरेका थिए ।

कार्यक्रम रम्भा गाउँपालिका प्रशासन शाखा प्रमुख भक्तुजङ्ग रानको संचालन तथा बालमैत्री स्थानीय शासन समितिका संयोजक एवम वडा अध्यक्ष उमानसीं सारुको अध्यक्षतामा चलेको थियो ।

युवराज पौड्यालकाे ज्योतिश्री कविता सङ्ग्रह विमोचन

तानसेन । साहित्यकार युवराज पौड्यालद्वारा लिखित ज्योतिश्री नामक कविता सङ्ग्रहको आज विमोचन भएको छ ।

धवल पुस्तकालय तानसेनले आज आयोजना गरेको कार्यक्रममा वरिष्ठ साहित्यकार चोलेश्वर शर्माले ज्योतिश्री कविता संग्रहको विमोचन गर्नुभएको हो । कार्यक्रमका प्रमुख अतिथि साहित्यकार शर्माले देशका आसुरी प्रवृत्ति विरूद्ध कलम चलाइएको यो कृतिमा राष्ट्रिय अखण्डता, देशभक्तिको भावना पनि रहेको बताउनुभयो । उहाँले कवि, कलाकार र लेखक स्यायी प्रतिपक्ष भएकाले सरकारलाई खबरदारीको भाव लेखनमा पाइने बताउनुभयो ।

समीक्षक डा. शंकरप्रसाद गैरेले समाजभित्रका अनुभव र अनुभूतिलाई सरल भाषामा कवितात्मक शैलीमा लेखिएका अभिव्यक्ति यस कृतिको सुन्दर पक्ष हो भन्नुभयो । उहाँले व्यवस्थापन विषयको प्राध्यापक पौड्यालले धवल पुस्तकालयको अध्यक्षको जिम्मेवारीका बीचमा साहित्यप्रति देखाएको लगाव नै यो कृति हो भन्नुभयो । कार्यक्रममा त्रिभुवन बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख टंकप्रसाद भट्टराई, नारी उन्नयन तथा साहित्य प्रतिष्ठानकी अध्यक्ष लक्षिमा ज्ञवाली, वरिष्ठ पत्रकार मेघराज शर्मा, ध्रुवराज पौड्याल, लेखककी धर्मपत्नी उमा पौड्यालले शुभकामना व्यक्त गर्नुभयो ।

धवल पुस्तकालय सञ्चालक समितिका महासचिव राजेशकुमार अर्यालको सञ्चालन, सदस्य त्रिलोचन पौड्यालको स्वागत र अध्यक्ष युवराज पौड्यालको अध्यक्षतामा कार्यक्रम चलेको थियो । ज्योतिश्री कविता संग्रहमा समकालीन समाजका विभिन्न विषयमा गद्यमा लेखिएका ८९ वटा कविता रहेका छन् । धवल पुस्तकालय प्रकाशक रहेको यो कृतिको मूल्य १ सय ५८ रूपैयाँ रहेको छ ।

पाल्पाली समाज पोखरामा रेशम

पोखरा । पाल्पाली समाज पोखरा अध्यक्षमा रेशम थापा रचक सर्वसम्मत अध्यक्ष चयन हुनुभएकाे छ ।

समाजको शनिबार १८ औं साधारणसभा तथा १० औं अधिवेशनले उनको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत् चयन गरेको हो । समाजको निवर्तमान अध्यक्षमा कुलप्रसाद घिमिरे, प्रथम उपाध्यक्ष बालचन्द्र परियार, द्वितीय उपाध्यक्ष श्रीधर पराजुली, तृतीय उपाध्यक्ष अनन्त अधिकारी, महासचिव केशव नेपाल, सचिव सञ्जय आत्रेय, सहसचिव युमाया पचभैया, कोषाध्यक्ष उमा सापकोटा, सहकोषाध्यक्ष गिरिराज पोख्रेल छन् ।

यस्तै, सदस्यमा रेनुका बज्राचार्य, गीतादेवी शर्मा, दामोदर बस्याल, पिताम्बर तिमिल्सिना, पदमप्रसाद पोख्रेल, वर्षा श्रेष्ठ, धनबहादुर झेंडी, सुमन आचार्य, रमेशकुमार पौडेल, सुशीला थापा कुँवर र किरण पाण्डे छन् । समितिको कार्यकाल २ वर्षको हुनेछ । नारायणप्रसाद पौडेलको संयोजकत्वको गठित निर्वाचन समितिले सर्वसम्मत् नेतृत्व चयन भएकाे घाेषणा गरेकाे थियाे । समितिमा ताराप्रसाद पोखरेल र माधवी पाण्डेय सदस्य हुनुहुन्थ्याे ।

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले पोखरा बनाउनुमा जिल्ला बाहिरबाट आएका मानिसहरुको योगदानले सम्भव भएको बताउनुभएको छ ।

पाल्पाली समाज पोखराको शनिबार १८ औं साधारणसभा तथा १० अधिवेशन उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि मन्त्री चुमानले सो कुरा बताउनुभएको हो । उहाँले पाल्पाली समाजले गरेका गतिविधिको अन्यले पनि सिको गर्नुपर्ने सुझाव दिँदै विगतमा पाल्पामा घुमेको स्मरण गर्नुभयो ।

पूर्व मन्त्री एवं वरिष्ठ उद्योगपति एवं समाजसेवी हरि पाण्डेले पाल्पा जन्मस्थल भएको नाताले आफूले छात्रवृत्ति कार्यक्रम ल्याएको जानकारी दिँदै मातृभूमिको लागि केही न केही गर्नुपर्ने सुझाव दिनुभयो । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले हिजोको वैभवशाली पाल्पा पछिल्लो समय एक्लिदै गएको बताउँदै पाल्पाको विकासका लागि समाजको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । सो अवसरमा समाजको हितमा आ–आफ्नो क्षेत्रमा रहेर योगदान पु¥याएकोमा ७ जनालाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा समाजमा सल्लाहकार जनपुकार मुनंकमी, महेश रानाभाट, चन्द्रप्रसाद काफ्ले, श्याम कुँवर, खेम सारु, निवर्तमान अध्यक्ष बावुराम खनाल र पे्रस सल्लाहकार विजय नेपाल छन् ।

कार्यक्रममा समाजबाट प्रकाशित पाल्पाली स्मारिका ‘पाल्पाली चौतारो–२०७७’ मन्त्री चुमानले विमोचन गर्नुभयो । स्मारिका सम्पादक विजय नेपालले स्मारिकामा ४४ जनाको लेखरचनासहित समाजको गतिविधि समेटिएको भन्दै प्रकाशनबारे जानकारी दिनुभयो । समाजका अध्यक्ष कुलप्रसाद घिमिरेको अध्यक्षतामा भएको समारोहमा सम्मानित व्यक्तित्वतर्फबाट जनपुकार मुनंकमी, पाल्पाली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, सल्लाहकार डा. यज्ञमान शाक्य, पूर्व अध्यक्ष जगदीश गौतम, ताराप्रसाद पोखरेल, समाजका संस्थापक सचिव लोकनाथ काफ्ले, सहकारीका कानुनी सल्लाहकार विष्णुप्रसाद लम्सालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । समाजका अध्यक्ष कुलप्रसाद घिमिरेले आफ्नो ३ वर्ष कार्यकालमा करिब ६५ कार्यक्रम गरेको जनाउँदै सहयोगीलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।

कालीगण्डकी बगनासकाली बृहत खानेपानी योजनाको अनुगमन

पाल्पा । लुम्बिनी प्रदेश सरकारले कालीगण्डकी बगनासकाली बृहत खानेपानी योजनाको अनुगमन गरेकाे छ ।

लुम्बिनी प्रदेश सरकारको गौरवको योजनाको रुपमा निर्माण भइरहेकाे याे खानेपानीको प्रदेशका भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीसहितकाे टाेलीले अनुगमन गरेकाे हाे । अनुगमनका क्रममा मन्त्री चौधरीले परियोजनाको प्रगति सन्तोषजनक रहेको बताउनुभयाे । उहाँले योजना सम्पन्न गरी दिगोपना दिनका लागि प्रदेश सरकारले बजेटमा कुनै पनि अभाव हुन नदिने बताउनुभयाे । प्रदेशकै सबैभन्दा ठूलो खानेपानी योजना भएको र यस योजनालाई प्रदेश सरकारको नमुना योजनाको रुपमा हेरेको पनि मन्त्री चौधरी जानकारी गराउनुभयाे । झण्डै १५ करोडको लागतमा याे योजनाको काम अगाडी बढेको छ ।

३ वटा स्टेजमा बिद्युतीय पम्पको माध्यमबाट लिफ्टिङ गरिने यस योजनमा २७ कि.मी मुख्य पाइप लाइन, २२ कि.मी वितरण पाइप लाईन रहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका सूचना अधिकारी विधान अर्यालले बताउनुभयाे । यम्घाको दर्पुकबाट बगनासकाली गाउँपालिकको वडा न. १, २, ३, ५, ६, ९ वडाका १ हजार ३ सय २६ घर परिवारका करिव ६ हजार जनता यो योजनाबाट प्रत्यक्ष रुपमा लाभान्वित हुने छन् ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको प्रत्यक्ष निगरानी तथा प्राविधिक रेखदेखमा योजना सम्पन्न गरिने डिभिजन प्रमुख शिव कुमार श्रेष्ठले बताउनुभयाे । २०७६ साल असारदेखि सुरु भएको योजना ०७९ सालको असार मसान्तमा सम्पन्न गरिने यस योजनामा २ लाख लिटर क्षमतको १ वटा, १ लाख लिटर क्षमताको २ वटा, ५० हजार लिटर क्षमताको ३ वटा,३५ लाख लिटर क्षमताको १ वटा , २५ हजार लिटर क्षमताको ३ वटा, १५ हजार लिटर क्षमताको ४ वटा, १० हजार लिटर क्षमताको ३ वटा, टङ्की सहित ४ वटा पम्पघर १ वटा कार्यालय भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको प्रमुख श्रेष्ठले बताउनुभयाे ।

भूमि सम्बन्धी समस्या समाधान गर्छाैं : अध्यक्ष भण्डारी

 

पाल्पा । भूमि सम्बन्धी समस्या समाधान आयोग पाल्पाका संयोजक एकप्रसाद भण्डारीले भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्या समाधान गर्न सकिने बताउनुभएको छ ।

आयोगको जिल्लास्तरीय समिति गठनपछि आयोजित अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष भण्डारीले आफूहरू योजनावद्ध ढंगले भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासलाई व्यवस्थापन गर्न लाग्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘‘यो राजनीतिक रूपले कानुन वमोजिम गठित आयोग हो, आयोगलाई प्राप्त अधिकार प्रयोग गरेर समस्याको समाधान हुन्छ ।’’ भूमि सम्बन्धी समस्या समाधान आयोगका आयोगका जिल्ला संयोगक भण्डारीले पदाधिकारी फेरिने स्थिति आए पनि त्यहाँबाट अगाडि बढ्न मिल्ने गरी काम गर्ने बताउनुभयो । आयोगले वास्तविक सुकुम्बासीहरुलाई स्थायी बसोबासको व्यवस्था गर्ने विषय प्रमुख प्राथमिकतामा राखेको छ ।

कार्यक्रममा संविधानसभा सदस्य नारायणी शर्माले आयोगले पछाडी फर्कन नपर्ने गरी पाल्पाको भूमि सम्बन्धी समस्या समाधान गर्ने गरी काम गर्नुपर्ने बताउनुभयो । लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य विर बहादुर रानाले राजनैतिक प्रतिकुलतामा आयोगलाई काम गर्न कठिन हुने हो कि भन्नुभयो । प्रदेश सभा सदस्य पुरमती ढेंगाले आयोगले सबै पक्षको गुनासो र सुझाव लिएर काम गर्नुपर्ने बताउनुभयो ।

अन्र्तक्रियामा रामपुर नगरपालिकाका प्रमुख रमण थापाले रामपुरमा अव्यवस्थित वसोबास धेरै भएको भन्दै नगरपालिकाले ११ लाख २० हजार रुपैंया बजेट विनियोजन गरेर लगत संकलन गरे तापनि अहिलेसम्म यो समस्या समाधान गर्न नसकिएको बताउनुभयो । रामपुरमा मात्रै २ हजार २ सयभन्दा बढी परिवारले भूमि सम्बन्धी समस्यामा रहेका छन् । रम्भा गाउँपालिकाका अध्यक्ष बिष्णु भण्डारीले आयोग गठन हुँदै रोकिँदै गर्दा विपन्न सुकुम्बासीहरुलाई समस्या भएको भन्दै यो समितिले समाधान गरे सुखद हुने बताउनुभयो । रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष राम बहादुर कार्कीले ६ सय घरधुरीले जंगलको विचमा अव्यवस्थित बसोबास गरेको भन्दै व्यवस्थित गर्न धेरै बाँकी भएको बताउनुभयो । तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले सडक क्षेत्रको छेउँमा बसेका नागरिकहरुको घर सडकले भत्काउने हुँदा सुकुम्बासी त्यहाँ पनि थपिने बताउनुभयो । माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष थापाले विगतको आयोगले गरेको काम र आयोगले अब गर्न लागेको काम दोहोरिने भन्दै पुरानो अभिलेख छ कि छैन प्रश्न गर्नुभयो ।

अन्तक्र्रियामा जिल्ला समन्वय अधिकारी ध्रुवबहादुर कुँवर, जिल्ला वन अधिकृत मोहन पौडेल, मालपोत अधिकृत दुर्गाप्रसाद खनाल, नापी अधिकृत रमेश श्रेष्ठलगायतले आयोगका कार्यक्षेत्र र कानुनी प्रबन्धका विषयमा प्रकाश पार्नुभएको थियो । आयोग जिल्ला समिति पाल्पाका विज्ञ सदस्य रामजी पोखरेलको सञ्चालन र आयोग सदस्य दुर्गादेवी रानाको स्वागत र अध्यक्ष एकप्रसाद भण्डारीको अध्यक्षतामा कार्यक्रम चलेको थियो ।

मदनपोखरा शिक्षालयले परिषद दिवस मनायो

पाल्पा । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदको ३३औं स्थापना दिवसका अवसरमा मदनपोखरा बहुप्राविधिक शिक्षालय तानसेन नगरपालिका ९ दमकडाले विभिन्न कार्यक्रम गरेको छ ।

शिक्षालय प्रांगढमा आयोजित कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डेयले प्राविधिक शिक्षा नै आजको देशको आवश्यकता भएको र व्यावसायिक सीपले दक्ष नागरिक उत्पादन भए देश विकासमा योगदान पुग्ने बताउनुभयो । उहाँले मदनपोखरा बहुप्राविधिक शिक्षालयले स्थापनाको दुई वर्षको अवधिमै धेरै राम्रो प्रभाव छोड्न सफल रहेको र धेरै जिल्लाका विद्यार्थीले यो शिक्षालय रोज्नुले यसको ख्याती फैलिएको महशुस भएको बताउनुभयो । पूर्व उद्योगमन्त्रीसमेत रहनुभएका सांसद पाण्डेयले गुणस्तरीय शिक्षाका लागि राज्यको लगानी शिक्षामा धेरै बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले कुनै बेला शिक्षाको केन्द्र भनेर चिनिएको पाल्पाको त्यो इतिहास काम राख्न अब मदनपोखरा बहुप्राविधिक शिक्षालय लाग्नुपर्नेमा जोड दिनुभयो । नगरप्रमुख शाहीले राष्ट्रियता र देशप्रतिको भावना पैदा हुने र दक्ष सीपवान नागरिक उत्पादन गर्न शिक्षालयलाई सफलता मिलोस् भन्ने कामना गर्नुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य तुलबहादुर गाहा, तानसेन ९ का वडाअध्यक्ष हरिसुमर रेग्मी, नेपाल पत्रकार महासंघका अध्यक्ष राजेशकुमार अर्यालले शिक्षालय स्थापनापछि समुदायको आयआर्जन र पेशागत विकासमा समेत मद्दतपुगेको विचार व्यक्त गर्नुभयो ।

मदनपोखरा बहुप्राविधिक शिक्षालयका प्रमुख संजयकुमार यादवले सिटिइभिटीमार्फत् राज्यको लगानी र समुदायको सहयोगले यो शिक्षालय नमुनाको रुपमा विकास भइरहेको बताउनुभयो । उहाँले कृषि विज्ञान, बाली विज्ञान र सूचना प्रविधि विषयमा डिप्लोमाका कक्षाहरु सञ्चालन भइरहेको र आगामी दिनमा वन विज्ञान, फार्मेशीलगायतका कक्षा चलाउने तयारी गरेको जानकारी दिनुभयो ।

स्थापना दिवसका असवरमा आयोजित विभिन्न अतिरिक्त क्रियाकलाप तथा खेलकुद प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण पनि गरिएको छ । २०७५ साल साउन २० गते स्थापना भएको यस शिक्षालयमा ४० जिल्लाका अहिले २ सय ८ विद्यार्थीले अध्यययन गरिरहेका छन् । शिक्षालयले छोटो र अल्पकालीन तालिमसमेत सञ्चालन गर्दै आइरहेको छ । कार्यक्रम शिक्षालयका प्रशासकीय सहायक छविलाल भट्टराईको सञ्चालन, सहायक प्रमुख सुवास ओलिया र शिक्षालय प्रमुख संजयकुमार यादवको अध्यक्षतामा कार्यक्रम चलेको थियो ।

आमा

टंकप्रसाद पन्थ
त्रिभुवन बहुमुखी क्याम्पस, तानसेन, पाल्पा

 

 

 

 

 

 

आमा शब्द छ मर्ममा अमर यो लौकिक संसारको
आमा नै नभए समग्र गति यो चल्दैन संसारको
आमा सागर हुन् अनन्त गहिरो पुग्नै त्यहाँ सक्छ को ?
आमा निश्छल सार तत्व जननी स्रष्टा स्वयं सत्य हो ।।

आमा बादल हुन् भरेर जलको वर्षा उनै गर्दछिन्
आमा आगत हुन् सुरम्य सुखका प्याला उनै भर्दछिन्
आमा गौरव हुन् अनन्त युगका आदर्श जन्मिाउँछिन्
आमा सौरभ हुन् अखण्ड मनमा माधुर्य वर्षाउँछिन् ।।

आमा पर्वत हुन् अजस्र जलका धाराहरू बग्दछन्
आमा पुस्तक हुन् खुला जगतकी ज्ञाताहरू पढ्दछन्
आमाको ममता अगाध छ यहाँ नापेर नापिन्न त्यो
आमा सर्जक हुन् समस्त जगकी मासेर मासिन्न त्यो ।।

आमा साधक हुन् पर्वाह नगरी वात्सल्य वर्षाउँछिन्
निष्ठासाथ खटेर चिन्तित बनी सन्तान हुर्काउँछिन्
माता शक्ति प्रचण्ड यो छ जगमा आमा स्वयं सार हुन्
हाम्रो सृष्टि छटा समुन्नति दिने आमा कलाकार हुन् ।।

आधा पेट भरेर आँत बलियो ऊर्जा बढाईकन
खट्छिन् साथ सदैव स्वार्थ नलिई सन्तानकै त्यागमा
आमातुल्य मनुष्यमा भन कुनै नाता यहाँ के छ र ?
आमातुल्य यहाँ बुझौँ समझले माया कहाँ के छ र ?

आमा साथ कुनै रहन्छ सुखले त्यो स्वर्गको सान हो
आमा भिन्न हुँदा नुहिन्छ शिर यो बल्झिन्छ यो प्राणको
आमा स्वर्ग भुलाउँछिन् र त यहाँ फैलिन्छ यो जीवन
आमा हुन् बलवान यो जगतकी धर्ती सिँगार्छिन् घना ।।

आमा सृष्टि बचाउँछिन् र त यहाँ रम्छन् सबै मानव
आमा भार उठाउँछिन् र त यहाँ उठ्छन् कला वैभव
धर्ती हुन् जननी सबै किसिमका बाधाव्यथा थेग्दछिन्
आमा मात्र उदार छिन् सकसको यो ताडना खेप्दछिन् ।।

आमा दर्शनशास्त्र हुन् जगतकी सिद्धान्त जन्माउँछिन्
आमा सिर्जन पात्र हुन् सकलकी सौन्दर्य जन्मिाउँछिन्
आमा स्वर्ग समान छिन् अमृतका प्यालाहरू भर्दछिन्
आमा पूज्य सदैव यो जगतको आदर्शमा बाँच्दछिन् ।।

आमाभित्र अगाध मर्म छ यहाँ जन्मेर आफू बुझ
आमाको छ प्रगाढ मातृममता बाँच्नेहरूले बुझ
धर्ती उर्वर बन्नुमा त जननी अस्तित्वको भाव छ
आमा राष्ट्र समान छन् नयनमा नेपालको सार छ ।।
२०७३ बैशाख १५

रानीमहलमा होटल सञ्चालन गर्न दिदैनाैं


पाल्पा । नेपाल पर्यटन बोर्डले पाल्पाको रानीमहललाई हेरिटेज होटल बनाउन सरकारलार्ई प्रस्ताव गरेपछि स्थानीय सरोकारवालाबाट बिरोध भएको छ ।

पर्यटन विज्ञ मनमोहन श्रेष्ठले पुरानो भवन मात्र नभएर ऐतिहासिकता जोडिएको दरबार भएकाले रानीमहलमा होटल बनाउन दिन हुँदैन भन्नुभयो । लुम्बिनी प्रदेशकै महत्वपूर्ण आइकोन बनेको रानीमहललाई उपयोग गर्ने भन्दै व्यावसायिक प्रयोजनमा होटल राख्न दिन नहुने श्रेष्ठको भनाई छ । रानीमहलको संरचना होटलका लागि पनि उपयुक्त नहुने विचार अधिकांश पाल्पालीहरुले सामाजिक सञ्जालमार्फत् व्यक्त गरेका छन् । कालीगण्डकीको उत्तरबाहिनी मोडमा गण्डकी तटमा अवस्थित रानीमहललाई नेपालमा प्रेमको प्रतीक रुपमा लिने गरिएको छ ।

इतिहासविद् निर्मल श्रेष्ठले रानीमहलको पहिचान नभइकन प्रस्ताव गर्ने योजनाले कुनै अर्थ नलाग्ने बताउनुभयो । सम्पदाको महत्व र ऐतिहासिकतालाई आधार बनाएर मात्र रानीमहलको उपयोग, संरक्षण र विकासको योजना बनाउनुपर्ने श्रेष्ठको सुझाव छ । ‘रानीमहलमा म्यूजियम बनाउन सकिन्छ तर होटल बनाउन सकिन्न ।’ होटल व्यवसायी संघ पाल्पाका अध्यक्ष मोहन श्रेष्ठले पर्यटकीय गन्तव्य रानीमहललाई केन्द्र बनाएर पाल्पामा होटल खोल्न सकिने तर रानीमहलमै होटल सञ्चालन गर्न नहुने आफूहरुको मत रहेको बताउनुभयो ।

तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले रानीमहल संरक्षण र उपयोग सम्बन्धमा विस्तृत परियोजना निर्माण गरी सार्वजनिक निजी साझेदारीअन्तर्गत जाने भनेर निर्णय गरिसकेको बताउनुभयो । उहाँले भन्नुभयो, रानीमहलको पर्यटकीय आकर्षणका लागि विभिन्न योजना बनाउने र परिसरसँगको जोडिएको २ सय रोपनी जग्गामा रानीमहललाई असर नपर्ने गरी न्यू क्लासिकल शैलीका होटलहरु बनाउन सकिने प्रस्ताव गरिएको छ । नगरपालिका प्रमुख शाहीले भन्नुभयो, ‘‘रानीमहलको दरबार संरचनामा नै होटल बनाउने पक्षमा हामी छैनौं । माथिबाटै निर्णय गरेको भए भन्न सक्दिन ।’’

 

तानसेन नगरपालिकाले ललितपुरको प्राइम एक्सेस प्रालीसँग रानीमहल सञ्चालन तथा व्यवस्थापन सम्बन्धी समझदारी गरेको नगरपालिकाका सूचना अधिकारी दुर्गा थापाले जानकारी दिनुभयो । नगरपालिकाले अहिले सम्बन्धित पक्षबाट रानीमहल सञ्चालन र व्यवस्थापनको कार्ययोजना पर्खिरहेको छ ।

नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले आफ्नो एक वर्षे कार्यकालको उपलब्धी सार्वजनिक गर्न आयोजित पत्रकार भेटघाटमा रानीमहलको उपयोगका लागि हेरिटेज होटल बनाउन सरकारलाई सुझाव दिएको बताउनुभयो । बोर्डका कार्यकारी अधिकृत डा. रेग्मीले भन्नुभयो, ‘‘रानीमहल एकपटक रंगरोगन गर्दा ३०\४० लाग्छ, मर्मतसम्भार गर्न करोडभन्दा बढी लाग्छ । पछाडि पहिरो गएको छ । पार्किङ स्थल छैन । हेर्न गएका मानिस गाली गरेर फर्किरहेको छ । यस्तो अवस्थामा राख्नभन्दा उपयोग र संरक्षणको नीति बनाऔँ भन्ने हाम्रो चाहना हो ।’’

नेपाल पर्यटन बोर्डले सात प्रदेशका सात वटा महत्वपूर्ण पर्यटकीय प्रोडक्टको पहिचान गरी पर्यटकीय गन्तव्य बनाउने विषयमा छलफल गर्दै आएको छ । सामुदायिक रेडियो मदनपोखरासँगको कुराकानीमा बोर्डका कार्यकारी अधिकृत डा. रेग्मीले रानीमहलको उपयोग, संरक्षण र पर्यटन बिस्तारका लागि पर्यटन बोर्डले हेरिटेज होटल, म्यूजियम, कालीगण्डकीमा ¥याफ्टिङ, गण्डकीको किनारमा टेन्ट क्याम्प बनाउन सकिने धारणा व्यक्त गर्नुभयो । कार्यकारी अधिकृत रेग्मीले रानीमहललाई खण्डहर बनेर जान दिनुभन्दा व्यावसायिक रुपले उपयोग गर्न सके संरक्षण र विकासका लागि केही राजश्व उठ्छ भन्ने पर्यटन बोर्डको बुझाई हो भन्नुभयो । रानीमहलमा हेरिटेज होटल भन्ने शीर्षकमा समाचार आएपछि आफूलाई तारन्तार फोन आइरहेको र स्थानीय सरोकारवालासँग छलफल गरेर उचित निश्कर्षमा पुग्ने सकिने उहाँको भनाई छ ।

खड्ग शमशेरले पत्नी तेजकुमारीको मृत्युपछि वि.सं. १९५४ मा रानीमहल निर्माण गराएका हुन् । रानीमहल व्यवस्थापन र संरक्षणका लागि पुरातत्व विभागले २०७५ साउनमा तानसेन नगरपालिकालाई हस्तान्तरण गरेको थियो ।

पाल्पाको बौद्धविहार र निशानघरलाई यूकेबाट आर्थिक सहयोग


तानसेन । पाल्पाको रिब्दीकोट ६ घोर्लीखरकमा निर्माणाधिन बौद्ध बिहार र तानसेनमा निर्माणाधिन निशान घरका लागि पाल्पाली समाज यू.के (पाल्पाली भञ्याङ्ग) ले आर्थिक सहयोग प्रदान गरेको छ ।

घोर्लीखरकको बौद्धबिहारमा आयोजित कार्यक्रममा समाजका प्रतिनिधि इन्द्रबहादुर थापा मगरले बौद्धबिहार निर्माण समितिका संयोजक हुम बहादुर थापालाई एक लाख एक हजार रुपियाँ प्रदान गर्नुभएको छ । सहयोग रकम हस्तान्तरण कार्यक्रममा बिहारका कोषाध्यक्ष मिना राना र बरिष्ठ सल्लाहकार गिरबहादुर थापाले अहिले सम्म सहयोग गर्ने सबैलाई धन्यबाद दिनुभयो ।

कार्यक्रममा बौद्धबिहार निर्माण कार्य सम्पन्न गर्नका लागि बौघा गुम्बेली सेरोफेरो चेलिबेटी समाजलेसमेत आर्थिक सहयोग गरेको छ । चेलिबेटी समाजका प्रतिनिधि डिल बहादुर रानाले बिहार निर्माण समितिका संयोजक हुम बहादुर थापालाई १ लाख २२ हजार ६ सय ४० रुपैंया प्रदान गर्नुभयो । बिहार निर्माण समितिका अध्यक्ष हुम बहादुर थापा पचभैयाले सहयोग गर्ने सबैमा आभार व्यक्त गर्नुभयो । अहिलेसम्म यो विहारमा १५ लाखभन्दा बढी खर्च भएको र सम्पन्न गर्न करिव २५ लाख लाग्ने अनुमान गरिएको छ ।

नेपाली सेनाले तानसेनको भगवतीटोलमा निर्माण गरिरहेको निशानघरका लागि पाल्पासमाज यू.के (पाल्पाली भञ्याङ्ग) ले एक लाख एक हजार आर्थिक सहयोग प्रदान गरेको छ । समाजका प्रतिनिधि ईन्द्र थापाले निसानघर निर्माण समितिका अध्यक्ष भीमसेन कार्कीलाई यो सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । समाजले यसअघि बाढी पहिरोमा परी ज्यान गुमाएका परिवार र घरबार बिहिन भएकाहरुलाई ८ लाखभन्दा बढी आर्थिक सहयोग गरेको थियो ।

नेपाल पत्रकार महासंघ पाल्पाकाे साधारणसभा सम्पन्न

पाल्पा- नेपाल पत्रकार महासंघ पाल्पाको १२ औं साधारण सभा तानसेनमा सम्पन्न भएको छ ।

साधारणसभाले सचिव किरण काैशलले प्रस्तुत गरेकाे सांगठनिक प्रतिवेदन, काेषाध्यक्ष मिलन विश्वकर्माले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेकाे छ । लुम्बिनी मेडिकल कलेजकाे सहयाेगमा स्थापित राष्ट्रिय पत्रकारिता पुरस्कारकाे कार्यविधि पनि पारित गरेकाे छ । साधारणसभाले पत्रकारहरूकाे एउटा सहकारी स्थापना गरी सञ्चालन गर्न सैद्धान्तिक सहमति पनि प्रदान गरेकाे महासंघका अध्यक्ष राजेशकुमार अर्यालले बताउनुभयाे ।

साधारण सभाका अवसरमा जिल्लामा क्रियाशिल १८ जना पत्रकारहरु पुरस्कृत भएका छन् । तानसेन नगरपालिकाको सहयोगमा स्थापना भएको उत्कृष्ट पत्रकारिता पुरस्कारबाट श्रीनगर एफएमका स्टेशन म्यानेजर देव पचभैया र रेडियो रामपुरका बासुदेव ढकाल पुरस्कृत हुनुभयो । उत्कृष्ट पत्रकारिता पुरस्कारकाे राशी १५ हजार, ताम्रपत्र र दोसल्लाले रहेकाे छ । साविक जिल्ला विकास समितिको सहयोगमा स्थापना भएको सिर्जनशील पत्रकारिता पुरस्कारबाट सनराइज टेलिभिजनका प्रबन्धक सन्तोष बस्याल , रेडियो रामपुरकी रमादेवी अर्याल, रेडियो मुक्तिनाथका स्टेशन प्रबन्धक भुवन रायमाझी र रेडियो मदनपोखराका समाचार बाचक विजय बौडेल नगद ७ हजार ५ सय र प्रमाणपत्रले सम्मानित हुनुभएको छ । रेडियो रामपुरकी बन्दना पोखरेल र रेडियो पाल्पाका इमानसिंह रानालाई ग्रामीण पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । रामपुर नगरपालिकाको सहयोगमा स्थापना भएको सो पुरस्कारको राशी १० हजार नगद र प्रमाणपत्र रहेको छ ।

यस्तै साेमनाथ अर्यालद्वारा स्थापित मानवअधिकार पत्रकारिता पुरस्कारबाट रेडियो मदनपोखराका बीरेन्द्र घिमिरे, बुद्धीप्रसाद शर्माको सहयोगमा स्थापना भएको देवीभक्त चोलकुमारी सामाजिक पत्रकारिता पुरस्कारबाट अनिल लिगल पुरस्कृत हुनुभयो ।  अधिकारकर्मी विनाेद पहाडीद्वारा स्थापित सामाजिक जागरण पत्रकारिता पुरस्कारबाट गाउँले देउराली साप्ताहिकका तुलबहादुर थापालाई पुरस्कृत गरिएको छ । लेखनवृत्ति प्रोत्साहन पुरस्कार पत्रकारहरु यज्ञमूर्ति तिमिल्सेना, मुक्तिप्रसाद न्यौपाने, डोलबहादुर विक, दीपक भट्टराई, दयाराज न्यौपाने, विष्णुप्रसाद घिमिरे र भोजराज तिमिल्सेनालाई प्रदान गरिएको छ । 

साधारण सभाको केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले उद्घाटन गर्नुभयो । उद्घाटन मन्तव्य व्यक्त गर्दै अध्यक्ष आचार्यले पत्रकार महासंघ प्रेस स्वतन्त्रता संगै राष्ट्रिय हित देखि नागरिक हितको पक्षमा पैरवी गर्ने संस्था रहेको बताउनुुभएको छ । उहाँले महासंघ नेपालको पहिलो नागरिक अगुवा संस्था रहेको बताउनु भयो । उहाँले भन्नुभयो, “पत्रकारिता क्षेत्रको हकहित र अधिकार, मिडिया हकहित, प्रेस स्वतन्त्रता, राष्ट्रिय हित र नागरिक हितमा एड्भोकेसी गर्ने संस्था नेपाल पत्रकार महासंघ हो ।”

नेपाल पत्रकार महासंघकाे पाल्पा शाखा नेपालमै पत्रकारिता देशमै उदाहरणीय शाखाका रूपमा रहेको बताउनुभयो । इमान, जमान र नैतिकताको पाठ सिक्न पत्रकार महासंघ पाल्पा शाखा जस्तो हुनुपर्छ भन्ने देशभरीनै चर्चा हुने गरेका अध्यक्ष आचार्यको भनाई थियाे । उहाँले स्वाभिमानी पत्रकारको शाख जोगाउन तल्लिन शाखा अध्यक्ष राजेशकुमार अर्याललाई समेत बधाई तथा धन्यवाद दिनुभयो । कोही संग तेल माग्दैन, केही माग्दैन, तल माथि गर्देन भन्ने सन्देश नेपाल भरी फैलिएको भन्दै अध्यक्ष आचार्यले पत्रकार महासंघको जीवनमा पाल्पा शाखाले रणनैतिक महत्व बोकेको बताउनुभयो ।

साधारण सभामा संस्थापक अध्यक्ष मेघराज शर्माले प्रविधिको विकास भए पनि पत्रकारको समस्या उस्तै रहेको भन्दै यसतर्फ सोच्ने समय आएको बताउनुभयो ।  लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य नारायणप्रसाद आचार्यले पत्रकारिताले द्वन्द बढाउने नभई समाधान गर्ने तर्फ अग्रसर हुन आग्रह गर्नुभयो । तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाहीले पत्रकारिता क्षेत्रको विकासको लागि सरोकारवालाहरुले सोच्नु पर्ने बताउनुभयो । उहाँले पछिल्लो समय शक्तिको भरमा कुनै पनि कुरा सत्यमा रुपान्तरण हुने हो कि भन्ने त्रास बढेको भन्दै सचेत हुनु पर्ने बताउनुभय‍ो । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य बसन्त गिरिले पाल्पाली पत्रकारिताले समग्र मुलुकको पत्रकारिताको गरिमा उच्च बनाएको बताउनुभयो ।

रिब्दिकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसीले नयाँ प्रतिभालाई उजागर गर्दै संस्थागत विकासमा जानु पर्ने बताउनुभयो ।  प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले पाल्पाली पत्रकारिताले विकास संगै सुशासनको लागि महत्वपूर्ण योगदान दिएको बताउनुभयो । नेपाली कांग्रेस पाल्पाका सचिव अजयमान कर्माचार्यले मुलुक हरेम परिवर्तनमा पत्रकारिता क्षेत्रले खेलेको बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष रेवन्त बहादुर विष्ट र राष्ट्रिय जनमोर्चा पाल्पाका नरमति सिंजालीले राजनैतिक भन्दा बाहिर रहेर पत्रकारिता गर्दै समाजको विश्वास जितेर काम गर्न आग्रह गर्नुभयो । गैर सरकारी संस्था महासंघका भेषराज तिमिल्सिना, नेपाल रेडक्रस सोसायटी पाल्पाका सभापति बुद्धि प्रसाद शर्मा, युनाईटेड मिसन अस्पतालका अध्यक्ष डाक्टर रचेल कारक, पाल्पा उद्योग वाणिज्य संघका उपाध्यक्ष यादव सिंह कार्की, पाल्पा व्यापार संघका अध्यक्ष चिरञ्जीवी पोखरेल, शिक्षक महासंघ पाल्पाका अध्यक्ष देवी प्रसाद भट्टराई, प्याब्सन पाल्पाका अध्यक्ष भरत न्यौपाने, ग्रामीण आर्थिक विकास संघ रेडा पाल्पाका कार्यकारी निर्देशक लिला कार्कीले विकासमा महत्वपुर्ण भुमिका खेल्दै आएको विचार व्यक्त गर्नुभयाे। पुरस्कृत पत्रकार मध्ये बाट देव पचभैयाले अब पत्रकारहरुको भविष्यवृतिको लागि सोच्नु पर्ने समय आएको बताउनु भयो । नेपाल पत्रकार महासंघ पाल्पाका पुर्व अध्यक्ष झपेन्द्र गहिरेले पुरस्कारको घाेषणा गर्नुभएको थियो ।

साधारण सभा उपाध्यक्ष भरत शर्माको स्वागत, किरण कौशलको सञ्चालन र नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेश कुमार अर्यालको अध्यक्षतामा चलेकाे थियाे ।