सामुदायिक रेडियो मदनपोखरा
spot_img
Home Blog Page 10

पाल्पामा कोरोना संक्रमण दर बढ्दाे

बैशाख १४, पाल्पा । पाल्पामा आज थप ४१ जनामा कोरोना संक्रमण देखिएको छ ।

वितेको २४ घण्टामा ७८ जनाको स्वाव परीक्षण गर्दा ४१ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो । संक्रमितमध्ये २५ जना पुरुष र १६ जना महिला रहेका छन् । जिल्लाको सदरमुकाम तानसेनमा सबैभन्दा धेरै ३१ जना संक्रमित थपिएका छन्। यस्तै रामपुर नगरपालिकामा १, माथागढी गाउँपालिकामा २, रम्भामा १, बगनासकालीमा २, तिनाउमा १, रिब्दीकोटमा २, निस्दी गाउँपालिकामा १ जना कोरोना संक्रमित थपिएका हुन् ।

संक्रमण हुनेमा १४ वर्षका बालबालिकादेखि ६९ वर्षका वृद्धसम्म रहेका छन्। अधिकांश युवा रहेका छन् । योसँगै पाल्पामा सक्रिय कोरोना संक्रमितको संख्या १ सय ९८ पुगेको छ । संक्रमितमध्ये १६ जना अस्पतालमा उपचाररत छन् भने १ सय ८२ जना होम आइसोलेसन रहेका छन् । संक्रमितसँग नजिक रहेकाहरुको कन्ट्रयाक ट्रेसिङ नभएकाले यो संख्या अझै थपिने अनुमान गरिएको छ ।

मैत्रीपुर्ण खेलमा नेपाली क्रिकेट समर्थक समाज पाल्पा विजयी

बैशाख १ – नेपाली क्रिकेट समर्थक समाज पाल्पा र रुपन्देही विच भएको मैत्रीपुर्ण क्रिकेट प्रतियोगितामा पाल्पा विजयी भएको छ ।

दमकडा खेल मैदानमा भएको टि–२० क्रिकेट प्रतियोगितामा पाल्पाले रुपन्देहीलाई ३ रनले पराजित गरेको हो । टस जितेर पहिले व्यटिङ गरेको पाल्पाले निर्धारित २० ओभरमा १५ ओभर खेल्दै सबै विकेट गुमाएर ९० रनको योगफल तयार पार्यो । पाल्पाका विजय बौडेलले सर्वाधिक १८, सुजित थापाले १४ तथा अच्यूत पाण्डेय र सन्दिप गैरेले समान १०÷१० रन बनाए । रुपन्देहीका अमृत पाण्डेयले ३ विकेट लिए ।

९१ रनको सामान्य लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रेको रुपन्देही ८७ रनमै समेटियो । रुपन्देहीका अमृत पाण्डेयले १५ र तारा पाठकले १४ रन बाहेक अरु खेलाडीले दोहोरो अंक बटुल्न सकेनन् । पाल्पाका शिशिर कोईरालाले ३ तथा सुजित थापा र विपिन खडालले समान २/२ विकेट लिए । १८ रन र १ विकेट लिएका विजय बौडेल म्यान अफ दि म्याच घोषित भए ।

नेपाली क्रिकेट समर्थक समाजका केन्द्रिय कोषाध्यक्ष अच्यूत पाण्डेले क्रिकेटको विकासका लागी दुवै छिमेकी जिल्लाको महत्वपुर्ण भुमिका भएको बताउनुभयो । नेपाली क्रिकेट समर्थक समाज केन्द्रिय सहसचिव मोहन ज्ञवालीले क्रिकेटलाई समर्थन गर्नेहरुको मैत्रीपुर्ण खेलले दुई जिल्लाको भाईचारा बढाउने र क्रिकेट विकासको लागी खुड्किलो थपिने बताउनुभयो ।

यसअघी पनी रुपन्देहीको तिलोत्तमा क्रिकेट मैदानमा रुपन्देही र पाल्पा विच स्वर्गिय अम्पायर सुनिल ढुङ्गानको स्मृतीमा मैत्रीपुर्ण खेल सञ्चालन भएको थियो । नेपाली क्रिकेट समर्थक समाज पाल्पा र रुपन्देहीले क्रिकेटको समग्र विकासका लागी महत्वपुर्ण भुमिका निर्वाह गर्दै आईरहेका छन् ।

कहाली लाग्दो गरिबी : बाल्यकाल संस्मरण

विजयकुमार बौडेल – 

‘बा दशैंमा मासु खाने कि नाई ?’

विस्तराबाटै मैले सोधेपछि बा अत्तालिए । हो त, दशैं आइसक्यो । सान्केटोले मासु भन्दैछ, घरमा खाने चामल छैन । पोहर साल विहे गरेकी छोरी अनि ज्वाईं आउने कुरो पनि छ, यो दशैंमा टीका थाप्न । वर्षभरि आँटो र रोटा खाए पनि दशैंमा चामलको भात खान आत्तिन्छन् केटाकेटी पनि । मेरो टाउको मुसार्दै बाले भने’ मासु भात खाइन्छ बाबु, चिन्ता नगर ।’
चिन्ता मलाई थिएन, कसरी दशैं टार्ने भन्ने चिन्ता बा लाई थियो । म त बच्चो हो, छिमेकमा ल्याएको बोको देखेर कति पटक सोधेको छु’ बा हाम्ले बोको किन्ने हैन ?’
बा ले सम्झाउँदै भन्नुहुन्छ । ‘बोको काट्नु हुँदैन, पाप लाग्छ । मासु ल्याम्ला भैगो नि !’

विस्तराबाट उठेर बा ले आमालाई खोजे, भकारो सोर्न गोठमा पुगेकी आमालाई बाले भने । ‘दशैंका लागि खर्च कहाँबाट जुटाउने हो ? छोरोले आजैबाट मासु भन्न थालिगो !’
हातभरि गोबर बोकेकी आमा खिस्स हाँस्दै भनीन् ‘बजारबाट एक किलो सोयाविन लिएर आऊनु न, मासु सम्झिँदै खाम्ला ।’

आमाको यही सादा जीवन उच्च विचारले गर्दा नै हाम्रो जीवन अभावमा पनि सुखसँग बितेको छ । आमाको यही बानी मन पर्छ, मलाई । दुःखमा पनि खिस्स हाँस्दिनुहुन्छ अनी सजिलै दुःख भुलिदिनुहुन्छ ।
‘वर्ष दिनको चाडमा त्यस्तो नगरांै, बरु एउटा कुख्रो लिएर आउँछु ।’ बा ले मासु खाने इच्छा देखाए ।

गोबरले लतपतिएका हात कम्मरमा राखेर आमाले भन्नुभो, पाँच सय रुप्पे छ, टीका दक्षिणा, चामल, धुप अगरबत्ती सबै गर्नु पर्छ । जुन दिन कमाउला, त्यही दिन खाउँला बुढा । रहन देऊ यो पालि ।’

आमाको कुरा पनि ठिकै थियो । पाँच सय रुप्पे कुखुरामा खर्च भयो भने बाँकी एक सुको बच्नेवाला थिएन । तर मासु बिना पनि कसरी दशैं टार्नु । ‘हुदैन बुढी, बरु उधारो ल्याउँछु । कसो नदेलान् र खत्री माइलाले मैना दिनलाई उधारो ।’ बा ले हल्का हिम्मत दिए आमालाई ।
आमा जहिले पनि उधारो र ऋणसँग निकै डराउने । हातको इसारा गर्दै भन्नुभो ‘हामी गरिबलाई दशैं दशा जस्तै हो । परेको छैन उधारो मासु खान । भोलि त्यही पैसाको लागि खत्री माइला बाटो छेक्न आउँछन् । पर्दैन पर्दैन ।’

हुन पनि खत्री माइला निकै खतरा थिए । उधारो दिन पनि नडराउने, उधारो झार्न पनि नडराउने । भन्या बेला पैसा भएन भने ? बा मनमनै डराए । आमाको अगाडि केही नभनी फर्के बा ।

‘बा सन्तेको घर आजैदेखि मासु खान्चन रे, हाम्ले कैलदेखि खाने हो ?’ विस्तराबाट उठ्न नपाउँदै मैले बा लाई सोधें । मेरो हुनुहुन्थ्यो । बा केही सोच्न नसक्ने भएपछि एकछिन चौपारीतिर निस्के । म पछी पछी लागें ।

चौपारीमा पनि बस्ने अवस्था थिएन । सबैका ठुला कुरा । अस्ति लाउरबाट फर्केको किस्नेले गाउँभरि खोज्दा पनि सोच्या जत्रो खसी पाइन भनेर धाक लगाउँदै थियो । चार वर्ष साउदी बसेको किस्नेको औकात साउदी नछिर्दा कस्तो थियो हाम्लाई थाहा छ । तर साउदीबाट फर्किंदा गाउँको जिम्दारलाई टक्कर दिने औकात बनाइसक्यो । उता रविकान्तको पनि उस्तै धाक । अलि पर बसेको शंकरेलाई सुनाउँदै भन्यो ‘दशैलाई भनेर पैतिस किलोको खसी ल्याको । मा कसम एक केजी मासु बेच्दैन । आधा खसी पोलेरै खाने हो, आमापोई ।’
त्यो नालायक रविकान्तेको औकात अस्तिसम्म धुलो खेलाउने बराबर हो । तर छ मैना अघि कालापार छिरेपछि उसको औकात पूरै फेरियो । पुरानो पाइन्ट काटेर हापपाइन्ट लगाउने हैसियत नभाको रविकान्ते आजभोलि दिनमा तीन जोर लुगा फेर्छ । खै के हो, अचम्म पर्छु । ऊ गाको कालापार पैसाको रुखै छ कि जस्तो गर्छ । सायद साहुको पैसा चोर्छ कि जस्तो मान्या छु ।

सबैले आ-आफ्ना औकात सुनाए । बा विचरो एक केजी मासुको सपना देखेर खोल्सातिर फर्किए । बाटोमा आउँदा चमेली भाउजु भेटिइन् । उनको पनि उस्तै दुःख । ‘बुढा कालापार गाको तीन मैना भो बाबु, घरमा एक माना चामल छैन । एक सुको रुप्पे छैन । जिम्दार साउले दुई-चार हजार ब्याजे दिन्चन कि भनेर जाँदैछु ।’ चमेली भाउजुले पूरै पीडा ओकलिन् ।
एक मनले त म पनि भाउजुसँगै जिम्दार घर पुगांै कि भन्ने लाग्यो, तर मन मर्‍यो । खत्री माइला भन्दा कडा छन् यी जिम्दार । ब्याजे पैसा नतिर्नेको उठिबास लगाउँछन् । चमेली भाउजुको त आउने बाटो छ तिर्लिन्, म जैरेले काँबाट ल्याएर तिर्नु ? हैट ! भन्दै बा बाटो लागे ।
खोल्सामा भएको सानो भट्टी पसल रामे ठुल्बाको हो । सुर चल्यो भने एक दुई हजार बिना ब्याजे दिएको पनि छन्, बा लाई । आज पनि आशा त्यही हो, दिइहाल्छन् कि भन्ने । बाहिर पेटीमा बसेर रने र घर्ती साइलोले लोकल लगाउँदै थिए, लसुनसँग । विहानै झ्याप ।
‘यति ब्यानै रने दाइ ?’ बा ले मजाक गरे अनि टुसुक्क बसे ।
‘दशैं आयो दशै ! खान्चस एक गिलास ?’ रने दाइ जिब्रो नलाग्ने अवस्थामा थिए तै पनि स्पष्ट बोले ।
‘खाँदैन दाइ ब्यानै त, साँझ भए सोच्ने थें !’ बा उठेर भित्र गएँ ।
रामे ठुल्बा चकटीमा लम्पसार परेर भुडीलाई आराम दिँदै थिए । रामे ठुल्बा हुन र मात्र नत्र भुडे भन्दै जिस्काउन हुन्थ्यो । गाउँले साइनोमा हामी गोत्यार नै थियांै । घपलक्कै खुट्टामा ढोगाउँछन उनले मलाई । मैले पनि कत्ति नराम्रो मान्दैन, उनको बानी । घपलक्कै घोप्टिएँ खुट्टामा ।

‘के छ तयारी दशैंको, मासु कति किन्ने होस् ? खसी यही काटुँला भन्ने सोच्या छु !’ भुँडी कन्याउँदै रामे ठुल्बाले बा लाई भने । ।
खुट्टामा घोप्टेको टाउको उनको बुढी औलामा बढेको नङमा ठोक्किएछ । हल्का चिलायो, निधार कन्याउँदै बसें ।

‘दशैको खर्च पानि जुटाउन आको हु ! एक केजी मासु टिप्दिनुस, पैसा तिर्दै गरौंला । सक्नुहुन्छ भने दुई हजार दाम सापटी दिनुस् ।’ बाले ठुल्बालाई भने ।
रामेठुल्बा एक छिन केही बोलेनन् । बा ले फेरि भने’ सान्केटोले मासु-मासु भनेर परान खान थाल्यो, हजुरले सहयोग नगरे छोरो भोकै हुन्छ । मेरो हात फैलाउने ठाउँ अन्त छैन दाई !’
‘मासु लैजालास् उधारै बरु । तर पैसाको कुरा नगर ! म आफै ऋणमा डुब्याछु ।’ भुँडी कन्याउँदै ठुल्बा बोले ।

बाहिर रक्सी तन्काइराखेका रने दाइलाई बा ले भने’ रने ! छ भने ल्याउ केर चार छ मैनालाई दुई हजार सापटी ।’ बाहिर ढोकैमा अडिएर बाले मागे ।
रने दाइ मुखको निक्कै छुचो मान्छे हुन, प्याच्च भने’ तिर्ने हैसियत छैन, अझ सापटी पो । आयस्रोत देखा, तिर्न सक्छु भन्ने अनि पाउलास् !’

एकछिन सबै हाँसे । घर्ती दाइले हाँस्दै भने ‘दशैं खर्छ दुई बोत्तल मेरै नाममा लगेस्, दिनुला है रामे ठुल्बा ।’ फेरि एकछिन हाँसो दन्कियो ।
मासुको जोहो भयो तर टीका दक्षिणाका लागि रुप्पे जुगाड लागेन । आमा सँग भएको पाँच सयले मात्र पुग्ने छाँट थिएन । कतैबाट सापटी निस्कने छाँट भएन ।’ रामे ठुल्बा ! एक लम्मरी चामल अनि दुई किलो मसुरोको दाल पनि दिनुस् । पैसा मासुको तिर्दा सँगै तिरुँला, नभए काम गर्देर कटाउँला ।’

“औंलो दिँदा डुँडिल्नो निल्न खोज्छ पाजी ।” ठुल्बाले बालाई हकारे । मन खिन्न भो । बा रित्तै हात घर फर्के । म बाको पछी पछी लागें ।

अहिले ति दिन सम्झँदा आँखा भरिएर आउँछ ………………..

वरिष्ठ पत्रकार कसजूलाई राष्ट्रिय पत्रकारिता पुरस्कार

पाल्पा । नेपाल पत्रकार महासंघ, पाल्पाले वरिष्ठ पत्रकार विनयकुमार कसजूलाई मरणोपरान्त राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरेको छ।

नेपाल पत्रकार महासंघको ६६औं स्थापना दिवसका अवसरमा तानसेनमा आयोजित कार्यक्रममा कसजूको जीवनसाथी गंगादेवी कसजूलाई नगद ५० हजार, दोसल्ला र प्रमाणपत्र हस्तान्तरण गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य नारायणप्रसाद आचार्यले पुरस्कार प्रदान गर्नुभयो । २०४० सालमा सत्य साप्ताहिक पत्रिका प्रकाशनमा ल्याएका कसजूले प्रजातन्त्र पुनस्थापनापछि २०५० सालमा विकास पत्रकारिताका लागि ‘देउराली’ पत्रिका प्रकाशनमा ल्याउनुभएको थियो । राष्ट्रिय सूचना आयोगको पहिलो प्रमुख आयुक्त हुनुभएका कसजूका सूचना सञ्चार, पत्रकारिता, लघुकथा र बालसाहित्य विधामा दर्जनौं किताब प्रकाशित छन् ।

यसैगरी नेपाल पत्रकार महासंघ, पाल्पा शाखालाई संस्थागततर्फको राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । पुरस्कारको राशी नगद ५० हजार रूपैयाँ रहेको छ । लेखक तथा पत्रकार नीलकण्ठ न्यौपानेलाई विकास पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । यसको राशी नगद २५ हजार रूपैयाँ रहेको छ। नेपाल पत्रकार महासंघ पाल्पाका पूर्वसभापति गोविन्द भट्टराइले पुरस्कृत व्यक्तिहरूको चिनारी र पुरस्कारको स्थापनाका प्रसंगबारे प्रकाश पार्नुभयो ।

प्रदेशसभा सदस्य नारायणप्रसाद आचार्य, अर्का प्रदेशसभा सदस्य वीरबहादुर राना, तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाही, प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेय, वरिष्ठ पत्रकार मेघराज शर्मा, लुम्बिनी मेडिकल कलेजका कम्पनी सचिव निर्दोष खनाल, त्रिभुवन बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख टंक भट्टराई, पत्रकार महासंघ पाल्पाका पूर्वसभापति झपेन्द्र गैरे, भगवान भण्डारी लगायतले कसजू र सम्मानित व्यक्तिले पत्रकारिताबाट पाल्पामा पुर्याएको योगदानबारे चर्चा गर्नुभएको थियो। गंगा कसजू, नीलकण्ठ न्यौपानेले पुरस्कार प्रदान गरेकोमा महासंघलाई धन्यवाद दिनुभयो ।

तानसेनस्थित लुम्बिनी मेडिकल कलेजले पत्रकारिता क्षेत्रमा योगदान दिएकालाई सम्मान गर्न महासंघ पाल्पामा ७ लाख अक्षयकोष स्थापना गरेको छ । कार्यक्रम सचिव किरण कौशलको सञ्चालन, उपाध्यक्ष भरत शर्माको स्वागत र अध्यक्ष राजेशकुमार अर्यालको अध्यक्षतामा चलेको थियो ।

कोभिड १९ महामारीमा पत्रकारको आर्थिक संकट र सिर्जित चुनौतिहरू


राजेशकुमार अर्याल
अध्यक्ष, नेपाल पत्रकार महासंघ, पाल्पा

कोरोना रोग पहिचान भएको तीन महिनाको अवधिमा विश्वव्यापी फैलिनु र लगभग सबै देशमा संक्रमण हुनुले विश्वभर नै चिन्ताजनक अवस्था सिर्जना ग¥यो । विकसित भनिएका देशमा समेत रोकथाम र उपचारमा ध्यान नपुग्दा लाखौँ मानिसको मृत्यु भएको तथ्यले यो स्वभाविक रुपमा जटिल स्वास्थ्य समस्या रहेको निश्कर्ष निकाल्न अप्ठेरो भएन ।

सन् १९१९ को डिसेम्बर महिनामा चीनका उहान सहरमा केही मानिसको समूहलाई श्वासप्रश्वासको समस्या देखियो । अध्ययनबाट यो एकदम नयाँ प्रकारको भाइरस उनीहरुको शरीरमा भएको पुष्टी भयो । जसको वनावटको कोरोना भाइरसँग मिल्न गयो । त्यसलाई Corona Virus 19 नाम दिइयो र भाइरसको संक्रमणको स्थितिलाई Corona Virus Disease 19, Covid 19 भनियो । यो कोभिड भाइरसको असर अल्पविकसित मूलुकमा मात्र होइन विकसित मूलुकहरुले पनि भोगिरहेका छन् । झण्डै वर्ष दिनसम्म मानिसहरु खोपका लागि अधैर्य रहे, खोप विकासपछि मानिसहरुमा आत्मविश्वास वृद्धि हुँदै गएको छ ।

जनताको सूचना पाउने हकलाई निशर्त कार्यान्वयन गर्न सार्वजनिक सूचना प्रवाहको क्षेत्रमा काम गर्ने पत्रकारहरू समाजमा अग्रभागमा रहन्छन् । कोभिड १९ को परिस्थितिमा पनि पत्रकारहरूले अग्रिम मोर्चामा रहेर विश्वसनीय सूचना र समाचार दिन अग्रसर देखिएका हुन् । कोभिड १९ को रोकथाम, उपचार र नियन्त्रणका लागि सिंगो नेपाल र पाल्पामा पत्रकारहरूले निर्वाह गरेको भूमिकालाई नजरअन्दाज गर्न सकिदैंन ।

नेपाल पत्रकार महासंघको तथ्यांक अनुसार नेपालमा १३ हजार पत्रकार छन् जसले आफूलाई पत्रकार हुँ भनेर सार्वजनिक पहिचानसहित भन्छन् । पाल्पामा सयकाे हाराहारीमा पत्रकार महासंघकाे सदस्यता र महासंघमा नरहेका करिव ५० सञ्चारकर्मी क्रियाशिल रहेका छन् । देशको कुल जनसंख्याको एक प्रतिशतभन्दा कम रहेको पत्रकारिता क्षेत्रका पेशाकर्मीले भोगेका चुनौति जीवन र जीविकोपार्जनकै हो । कोभिड १९ पछि किन पत्रकारिता क्षेत्र सुरक्षित भइरहेको छ । आमसञ्चारमाध्यमको परम्परागत विज्ञापन संकलन प्रणाली प्रभावित भएको छ । उद्योग, कलकारखाना, व्यवसाय र अर्थतन्त्र नै प्रभावित भएका बेला मिडियामा जाने विज्ञापन रोकिएको छ । मिडियाको आम्दानी अप्रत्यासित रुपमा घटेको छ, खर्च भने बढेको छ ।

सञ्चारगृहको तुलनामा त्यसमा कार्यरत जनशक्तिको अवस्था झन कहालीलाग्दो छ । महामारीको यो विषम परिस्थितिमा पत्रकारको तलव कटौटी हुने र कर्मचारी कटौती गर्ने समस्या देखा परेको छ । श्रमको सम्मान गर्नुपर्ने बेला कतिपय सञ्चारमाध्यमले श्रम गर्नेको अवमूल्यन गरेका छन् । कतिपय सञ्चारमाध्यम संस्थागत भएका छैनन्, संस्थागत भएका पनि आर्थिक संकटबाट प्रताडित छन् । धेरैजसो सञ्चारमाध्यममा लगानीकर्ता र काम गर्ने मानिस एउटै छ । स्व उद्यम गरेका छन् । आफै मालिक आफै कामदारको अवस्थामा छन् । आफै सञ्चालक आफै सम्पादक बनेका छन् ।

प्रेसले कस्तो संकट भोगिरहेको छ भन्ने कुरा स्वयम् प्रेसमा कार्यरत जनशक्तिले नै महशुस गरेको छ । सञ्चारगृहले पत्रकार पाल्न सकिदैन भन्यो र पत्रकारहरु बिदा बसे । पालैपालो बिदा बसे । लकडाउन खुल्यो तर सञ्चारगृहले बिदामा राखेका पत्रकारलाई बोलाएनन् । तथापी पत्रकारले यत्रो ठूलो सद्भाव देखाइरहेका छन् । मिडिया हाउसले श्रम ऐनको अनुसार करारपत्र पालना गरेका छैनन् ।

प्रेसका बारेमा संविधाले गरेका व्यवस्था, अर्थतन्त्रको अवस्था र सञ्चारमाध्यमको व्यवस्थापकीय पक्षमा भर पर्दछ । नेपालको संवैधानिक व्यवस्थामा प्रेसका माग सम्बोधन भएका छन्, अर्थात् सुनुवाई भएको छ । प्रेसमैत्री संविधान ऐन कानुन र व्यवहारमा परिणत हुन अवश्य समय लाग्ला । अहिले कानुनी रुप र व्यवहारिक पक्षमा कतिपय सवालमा छलफल र वहस भइरहेका छन् ।

महामारीका समयमा प्रेस समस्यामा छ, संकटमा छ । स्वरोजगारमुखी मिडिया मात्र होइन, कर्पोरेड मिडियाको अवस्था पनि संस्थागत देखिदैंन । श्रम मुद्धालाई व्यवस्थापन गर्न सकेका छैनन् । आर्थिक संकटपछि कर्पोरेड मिडियाबाट पत्रकारहरु निकालिएका छन्, निस्किएका छन् । पत्रकारको जागिर सकिएको छ तर पत्रकारिता सकिएको छैन । मिडियाले पैसा दिन सक्दैन, आधा महिनाको तलव लेउ वा जागिर छोड भन्न बाध्य छ । सबैले रमाइलोका लागि मात्र पत्रकारिता गरेका हुँदैनन् ।

विषयवस्तुको उठान र एंगलिङमा त्रुटी होला तर समाज कहिल्यै नउठेका मुद्दालाई पत्रकारले बाहिर ल्याएका छन् । तथ्यको परीक्षण र सत्यको खोजीमा कमजोरी रहलान् तर एजेन्डाविहीन बनेका छैनन् । कन्टेन्टलाई जवाफदेही बनाउन हरेक नागरिक नागरिकको बीच वहस र छलफल प्रारम्भ हुनुपर्छ । त्यसले विश्वसनीय सूचना प्रवाह गर्न मद्दत गर्दछ । हल्ला र फेक सूचना फैलन रोकिन सक्छ ।

आर्थिक संकट यस्तो हुन्छ कि जसका विषयमा बोल्न पनि समस्या हुन्छ । कोभिडका कारण आर्थिक संकट भयो भनेर सञ्चारमाध्यमले पत्रकारलाई जानकारी दिए । तलव कटौती गरे । पारिश्रमिक घट्यो, काम र जिम्मेवारी बढ्यो । पत्रकारहरु ल्याउने लैजाने गाडी पनि बन्द गरिए । हौसला, प्रेरणा र प्रोत्साहन चाहिने बेला हतोत्साहित पार्ने काम भयो । कतिपय मिडियामा गाडी र चालक स्टयान्टबाइ छ तर गाडी गुडेन । यो जटिल अवस्थालाई मूल्यांकन गरेर कतिपयले पत्रकारको दुष्मन पत्रकार नै बन्ने अवस्था छ भनेर भनेका छन् । पेशा र सीपले दक्ष भएको जनशक्तिलाई समस्या कम छ । मिडिया क्षेत्र आफैमा एउटा उद्योग हो । मिडियाले समाचार र सूचना प्रवाह गर्छ । उत्पादन र वितरण गर्छ । तर उद्योगका रुपमा परिभाषित छैन । जनमत निर्माण गर्न, सोच्न, सोचेर बोल्न सघाउने भएकाले मिडियाको जिम्मेवारी ठूलो छ ।

पत्रकारितामा व्यवस्थापनमा समस्या छ । मालिकलाई मन लागेका बेला पत्रकारले जागिर छोडिदिनुपर्ने मानसिकता देखिन्छ । प्रेस यस्तो क्षेत्र हो जहाँ गरिमाको भयले पनि पत्रकारहरु आन्दोलनमा जाँदैनन् । मानवीय स्रोतलाई सेवामा ल्याएपछि सेवामुक्त गर्न विधि, प्रक्रिया र मान्यता अवलम्बन गर्नुपर्ने देखिन्छ । मानवीय जनशक्तिको सीप उपयोग गरेर सञ्चारगृहले नाम वा दाम कमाउने मात्र होइन कि दायित्व छ भन्ने भूमिका पूरा गर्नुपर्छ ।

श्रमिक र व्यवस्थापकका बीचमा हुने सौदाबाजी गर्दा मिडिया हाउसका कारोवार, कर र नाफाको बहस गर्नुपर्ने देखिएको छ । मिडियाले लामो समय लगानी गरेर कमाएको विश्वसनीयता यस्तै मुद्दाले कमजोर बनाइदिएको छ । कान्तिपुर, अन्नपूर्ण पोष्ट जस्ता ब्रोडसिटका मिडियाले समेत पत्रकार निकालिरहेका छन् । सुनिन्छ, ‘कान्तिपुरको प्रेसले पत्रिका होइन, पैसा छाप्छ ।’ त्यही मिडिया श्रमजीवीको मामिलामा सहयोगी छैन । अहिले मिडियाकै बारेमा जनमानसमा बहस सुनिन्छ । पत्रकारहरुलाई साथमा लिएर अगाडि बढेको भए मिडियाहरु यतिधेरै सार्वजनिक वहसमा जानुपर्ने थिएन ।

पत्रकारहरुको आफ्नो असन्तुष्टी र गुनासो बाहिर आउन थालेको छ । सामाजिक सञ्जाल र मिडियामा आउन थालेको छ । यसले मिडियामाथिको विश्वसनीयता घट्छ । शिक्षा, तालिम वा अनुभव हासिल गरेर पत्रकारितामा संलग्न मानिसहरु छन् । प्रविधिको प्रयोग गरेर सूचना प्रवाह गर्ने मानिसहरु पनि छन् । शिक्षा र प्रविधि हुनेहरुले सञ्चारगृहका समस्या बाहिर ल्याएका छन् ।

मिडियामा धेरै मिहेनेत गरेर समाचार बनाउने पत्रकारहरु छन् । तिनीहरु सबै आफ्नो कानुनी अधिकारका लागि पत्रकार श्रम अदालत जानुपर्छ । चित्त नबुझेको कुरामा उजुरी गर्नुपर्छ । ट्रेड युनियन आन्दोलनमा लागेकाहरुले पत्रकारहरुलाई आलोचना गर्ने मुख्य कारण पनि आन्दोलन गर्न नसक्ने अवस्था हो । कुनै पनि पत्रकारले मिडियामार्फत उठाइरहेका मुद्दा आफूलाई उठाइरहेको छैन । देश र समाजका लागि काम गरेका पत्रकारहरु समेत आन्दोलित हुन सक्दैनन् । पत्रकारहरु अदालतमा जान तयार हुँदैनन् । पत्रकारको मनोभावना र मनोवृत्तिमा समस्या छ । संविधान, कानुन र श्रम ऐनले तय गरेको बाटोमा जुन दिनसम्म जाने आँट गर्दैनन्, पत्रकारहरुले नियुक्ति, पारिश्रमिक र पेशागत समस्या झेलिरहने छन् ।

 

पाल्पाकाे भैरवस्थानमा फागु महाेत्सव सुरू

पाल्पा । रिब्दीकाेट गाउँपालिकाेकाे भैरवस्थानमा फागु महाेत्सव सुरू भएकाे छ ।

लुम्विनी प्रदेशका प्रमुख धर्मनाथ यादवले महाेत्सवकाे उद्घाटन गर्नुभएकाे हाे । प्रदेश प्रमुख यादवले नेपाली माैलिक परम्परा र संस्कृतिकाे जगेर्ना गर्न यस्ता महाेत्सवले याेगदान दिने बताउनुभयाे । उहाँले पुराना पुस्ताले नयाँ पुस्तालाई संस्कृति र संस्कार हस्तान्तरण गर्न सकेको अवस्था मात्र संस्कृतिको संरक्षण हुने बताउनुभएकाे छ । उहाँले सबै नेपाली नागरिकले अधिकारकाे खाेजी गर्दा कर्तव्य पनि भुल्न नहुनेमा जाेड दिनुभयाे ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसीले भैरवस्थानमा सञ्चालित महोत्सवकाे ऐ्तिहासिक रूपमा छुट्टै महत्व रहेकाले यसकाे संरक्षण गर्न स्थानीय सरकारले चासाे लिएकाे बताउनुभयाे । फागु संस्कृतिका लागि भैरवस्थान, खस्याैली र देउरालीले विशेष महत्व दिदैँ छन् । स्थानीय समुदायमा प्रचलित फागु नाच लगायत अन्य संस्कृतिकाे संरक्षण र नयाँ पुस्तामा हस्तान्तरण गर्न फागु महाेत्सवकाे आयाेजना गरिएकाे हाे । महाेत्सव चैत्र १५ गतेसम्म चल्नेछ ।

गोपालप्रसाद बस्यालको घरदेखि परसम्म विमोचन


पाल्पा । शिक्षा तालिम केन्द्रमा शिक्षकहरुको पेशागत तालिम चल्दैछ । घटना अध्ययन र सामुदायिक कार्यसम्बन्धि सत्र सकियो । प्रशिक्षक गोपालप्रसाद वश्यालले आजको मिति सोध्नुभयो । आज चैत्र ६ गते भन्ने जवाफ सहभागी शिक्षकहरूबाट आयो । उहाँले फेरि प्रश्न गर्नु भयो, पुस ६ गतेदेखि आजसम्म कुन पुस्तक पढिसक्नु भएको छ ? सबै सहभागी मौन रहे । यसै बीचमा उहाँले झोलाबाट पुस्तक झिकेर सबैलाई एकएक ओटा वितरण गर्नुभयो । सबै सहभागीले घरदेखि परसम्म कृति प्रदर्शन गरे ।

यसरी प्रशिक्षक गोपालप्रसाद वश्यालको यात्रा संस्मरणात्मक निबन्ध कृति घरदेखि परसम्मको तालिम कार्यशालामा सामूहिक रूपमा  बिमोचन भएको छ । शिक्षा तालिम केन्द्र, पाल्पाका प्रशिक्षक एवम् कृतिकार वश्यालको जन्मभूमि दैलातुङ पाल्पाको ऐतिहासिक र वर्तमान अवस्थाप्रतिको समीक्षात्मक आलेखबाट शुरू यस कृतिमा वश्यालका स्वदेश तथा विदेशका विभिन्न यात्रा अनुभवहरूलाई सरल तरिकाले प्रस्तुत गरिएको छ । समीक्षक एवम् नियात्रा विधाका अण्वेषक प्रमोद प्रधानका अनुसार वश्यालका यात्रा निबन्धहरू शिक्षासम्बन्धित विषयवस्तु प्रबल रूपमा उल्लेख भए तापनि समालोचकीय चेतबाट प्रभावित छन् ।

विविध विषयवस्तुलाई प्रासंगिक तरिकाले प्रस्तुत गर्नु लेखक वश्यालको लेखन कौशल भएको समीक्षक डा. शंकर गैरेको ठम्याई छ । उहाँले यस कृतिलाई शिक्षा र साहित्य दुवै विधाबाट अब्बल छ भन्नु भएको छ । लामो समयसम्म शिक्षक र प्रशिक्षकको अनुभव भएका लेखक वश्यालले यही क्रममा नेपालका विभिन्न भाग, संयुक्त राज्य अमेरिका, भारत, श्रीलंका र बंगलादेशमा बटुलेका अनुभवलाई यस कृतिमा समेटिएका १२ ओटै निबन्धका मुख्य विषयवस्तु भए तापनि यी निबन्धमा पर्यटन, मानवीय कार्य, प्रकृति सौन्दर्य, विकास निर्माण, जनजीवन लगायत विषयमा समालोचनात्मक दृष्टिकोण राखेर लेखेको बताउनुभयो ।
आफुले शिक्षा विकासमा जीवन समर्पण गरेको र प्रशिक्षण कार्यमा खटिरहेको सन्दर्भमा प्रशिक्षण कार्यक्रममा सहभागि शिक्षकहरूबाट कृति सार्वजनिक गर्न पाउँदा अपनत्व र आत्मगौरव बढेको लेखक वश्यालले बताउनु भयो । उहाँले यसबाट कृतिको अध्ययन गरी विषयवस्तुको ज्ञान प्राप्तीको अलावा यस प्रकारका सिर्जनात्मक कार्य गर्न शिक्षकहरूलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

दमकडा माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद सापकोटाले भन्नुभयो, ‘प्रशिक्षक गोपालप्रसाद वश्यालले कृति थमाउनु भयो । यो उहाँको कृति रहेछ । यसले हामीलाई खूशी लाग्यो । नौलो शैलीले सामूहिक रुपमा कृतिको बिमोचन गरियो ।’

वनमा अतिक्रमित घर टहरा हटाइयाे

पाल्पा- डिभिजन वन कार्यालयले पाल्पा जिल्लामा वन अतिक्रमण गरेका घर टहरा हटाएको छ ।

 

तिनाउँ गाउँपालिका-१, कचल स्थित सानीउदाङमा वन अतिक्रमण गरी घर टहरा छाप्रो समेत बनाएर वनक्षेत्रको जग्गा खनजोत समेत गरिएको अवस्थामा फेला पारेपछि घरछाप्रो समेत जलाइ नस्ट गरिएको छ । डिभिजन वन कार्यालयका रेन्जर यमलाल पोखरेलले तिनाउ- १ का वडा अध्यक्ष, स्थानीय सिद्धचुहार सामुदायिक वन उपभोक्ता समूह र ठुली उदाङ्ग टोल विकास संस्थाको रोहवरमा उक्त अतिक्रमण नियन्त्रणमा लिइ घरछाप्रो हटाइ अतिक्रमित वनक्षेत्र बरामद गरिएको बताउनुभयो । राष्ट्रिय वनको करिब १ हेक्टर जग्गा कब्जा गरी फिल्ड समेत तयार गरिएको अवस्थामा स्थानीय समुदायले गरेकाे अतिक्रमण हटाइएको हो ।

डिभिजन वन अधिकृत माेहन पाैडेलले वन क्षेत्रमा अतिक्रमण भएकाे समुदायकाे गुनासाेकाे आधारमा वन कार्यालयले अभियान स‌ञ्चालन नै गरेर कारवाही सुरु गरिएकाे बताउनुभयाे । पाल्पामा पश्चिम भेगमा रहेका सत्यवती बल्ढे‌गढी लगायतका क्षेत्रमा वन क्षेत्र अतिक्रमण गरेर घर टहराहरु बनाउने र हड्प्ने क्रम बढी रहेकाे छ । डिभिजन वन कार्यालय पाल्पाका प्रमुख पाैडेलका अनुसार सामुदायिक वा सरकारी वन अतिक्रमण चाेरी तस्करी विरुद्ध कार्यालयले गस्ति अभियान नै सुरु गरेकाे जानकारी दिनुभयाे । 

सहायक वन अधिकृतद्वय बेद प्रसाद भण्डारी र रामध्यान कुमार शाहको नेतृत्वमा डिभिजन वन कार्यालय, तिनाउ सब डिभिजन वन कार्यालय र रैनादेबी छहरा सब डिभिजन वन कार्यालयका कर्मचारीहरुको संयुक्त गस्ती टोलिले उक्त क्षेत्रमा वन अतिक्रमण गरेर बनाएका घर टहराहरु नष्ट गरेकाे हाे ।

पूर्वखोलामा नि:शुल्क मुटुरोग स्वास्थ्य शिविर

पाल्पा । पूर्वखोला गाँउपालिका र नेपाल हृदयरोग निवारण प्रतिष्ठानको संयुक्त आयोजनामा मुटुरोग सम्वन्धी निशुल्क स्वास्थ्य शिविर पाल्पाकाे रिङ्नेरहमा सम्पन्न भएको छ ।

पूर्वखोला गाँउपालिकाकाे रिङ्नेरहस्थित कोभिड-१९ अस्पतालमा दुई दिनसम्म चलेको  शिविरमा ५ सय २५ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । बरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीको नेतृत्वको १५ जनाको समूहले पूर्वखोला गाउँपालिकाभित्रका नागरिकहरूकाे स्वास्थ्य परीक्षण गरेको छ। शिविरमा ससाना बालबालिका देखि ८५ बर्षमाथिका जेष्ठ नागरिकको समेतले मुटु स्वास्थ्यकाे जाँच गरेका थिए ।

बरिष्ठ मुटुराेग विशेषज्ञ डा. रेग्मीले परीक्षणका क्रममा १५० जनाको इको, १७५ जनाको इसीजी गरेको बताउनुभयाे । उहाँले परीक्षण गरिएकामध्ये ५० प्रतिशत बढीलाई मुटु र मधुमेह सम्वन्धी स्वास्थ्य समस्या देखिएको जानकारी दिनुभयाे । शिविरमा सर्वसाधारणको जनरल चेकअप, ईको, ईसीजी, व्लड सुगर टेष्ट, व्लड प्रेसर टेष्ट गरी निशुल्क औषधि सेवा उपलव्ध गराइएको थियो ।

गाँउपालिका अध्यक्ष नुनबहादुर थापाले गाँउबासीलाई स्वास्थ्य सम्वन्धी जनचेतना जगाउन तथा स्थानीय तहमै विशेषज्ञ सेवा उपलव्ध गराई परीक्षण सेवा उपलव्ध गराउन शिविरको आयोजना गरिएको बताउनुभयाे । उहाँले शिविरमा आएका धेरै जनाले पहिलो पटक आफूमा मुटु सम्वन्धी समस्या भएको थाहा पाएको भन्दै शिविरको महत्व झनै बढेको छ भन्नुभयाे । मुटुराेग विशेषज्ञ रेग्मीले भन्नुभयाे, ‘गाँउ नै भएपनि पछिल्लो पटक फेरिएको जीवनशैलीले हुनसक्छ । यहाँ पनि नसर्ने रोगको अवस्था गम्भीर नै देखियो । धेरैलाई उच्चरक्तचाप, कोलेस्टेरोल, डायविटिज लगायतका समस्या रहेछ । अझ हामीले स साना बालबालिकाहरुको धेरै परीक्षण गर्न पाएनौं । फेरिएको जीवनशैली तथा खानपानले गर्दा हुनसक्छ अहिले गाँउमा पनि मुटु, मधुमेह, क्यान्सर जस्ता नसर्ने रोगको प्रकोप देखिदै गएको छ । पूर्वखोलामा पनि अवस्था त्यस्तै पायौँ ।’ 

शिविरमा डा रेग्मीसहित बरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रेमराज बैद्य, मुटुरोग विशेषज्ञ डा. सत्यनारायण सुवाल, मुटुरोग विशेषज्ञ डा अजय अधिकारी, डा सुदीक्षा भण्डारी सहित स्थानीय अहेव, स्टाफनर्स, अनमी सहितको टोली खटिएको थियो ।

तानसेन र चीनको लसान बीच छिट्टै भगिनी सम्बन्ध स्थापित हुने

पाल्पा । तानसेन नगरपालिका र चीनको लसान नगर बीच छिट्टै भगिनी सम्बन्ध स्थापित हुने भएको छ ।

तानसेन नगरपालिकाको आयोजना गरेकाे कार्यक्रममा नेपाल र चीनका दुई नगर बीच सम्बन्ध कायम हुन लागेकाे जानकारी दिइएकाे हाे । तानसेन नगरपालिकाका प्रमुख अशाेककुमार शाहीले तानसेन नगरपालिका र चीनको लसान नगरबीच भगिनी सम्बन्ध कायम गरेर आफूहरू सुमधुर सम्बन्ध स्थापित गर्न लागेको बताउनुभयाे । नगरपालिका प्रमुख शाहीले लसान नगर र तानसेन नगरपालिकाका बीचमा सम्बन्ध स्थापित भएपछि शिक्षा क्षेत्रमा कार्यक्रम सञ्चालन गर्ने नगरपालिकाको सोच रहेको बताउनुभयो । 

सम्बन्ध बिस्तारका लागि दुबै देशका नगरका प्रतिनिधिहरू बीचमा छलफल, विचार आदानप्रदान र दुई पक्षीय भ्रमणका कार्यक्रम भइसकेका छन् । लसानका कार्यकारी मेयर ची लु पिनसहितकाे टाेलीले तानसेनकाे भ्रमण गरिसक्नुभएकाे छ भने तानसेनका प्रमुख अशाेककुमार शाहीसहितकाे टाेलीले लसानकाे भ्रमण गरिसकेकाे छ ।

लसान र तानसेन बीच सम्बन्ध बिस्तारका लागि सक्रिय चीन सम्बन्धी जानकार डा. सागर न्याैपानेले काेभिड १९ का कारण भगिनी सम्बन्ध कायम गर्ने प्रक्रियामा ढिलाई भएकाे बताउनुभयाे । तानसेन र लसानका बीचमा शिक्षा, संस्कृति, प्रविधि, सीप, उद्योग, जनशक्ति उत्पादन, पशुपालन, पर्यटन र कृषि क्षेत्रमा सहकार्य हुने उहाँले  स्पष्ट पार्नुभयाे । डा. न्याैपानेले चीनका राष्ट्रपति सीजिपिङ्द्वारा चीनमा अख्तियार गरेको ग्रामीण क्षेत्रको पुनउत्र्थान नीति तानसेन भित्रकै ग्रामीण क्षेत्रमै लागू गरेर समृद्ध गाउँ बनाउन सकिने विचार व्यक्त गर्नुभयाे । 

तानसेन नगरपालिकाका प्रेस सल्लाहकार गाेविन्द भट्टराईले सहजीकरण गर्नुभएकाे कार्यक्रममा उपप्रमुख लक्ष्मीदेवी पाठक, जनप्रतिनिधीहरू र पाल्पाका पत्रकारहरूकाे सहभागिता रहेकाे थियाे ।