सामुदायिक रेडियो मदनपोखरा
spot_img
Home Blog Page 9

मृत्यु जितेर फर्केकाे छु, अझ सार्थक जीवन बाँच्नेछु

 

 

 

अनिलकिशाेर घिमिरे, तानसेन

बैशाख २ गते दिउँसोदेखि हल्का घाँटी दुख्न थाल्यो । साँझपख त ज्यानै दुख्यो । नजिकैको लुम्बिनी तन्दुरीमा रोटी खाँए । कोठामा आएर तातोपानी बाफ लिएँ अनि ज्वानो, बेसार पकाएर खाएँ । ज्यान पुरै कमजोर भएको महसुस भएको थियो । राती निद्रा लागेन, बरु ज्वोरो समेत आएर छट्पटी भयो । बागबजारको गल्ली न हो, कोठाको दुबैतिर झ्याल भएपनी हावा छिर्दैन। जसोतसो रात बित्यो ।

अर्को दिन बिहान यसो मेडिकलतिर गएर सल्लाह लिनुपर्यो भन्दै निस्किएको थिए । नारायण आचार्य भेटिनुभयो । उहाँलाई पनि धेरै गार्हो भएको र बागबजारको एउटा मेडिकल ले दिएको औषधी खाएपछि निको भएको कुरा सुनाउनुभयो । म त्यतै हानिएँ । मेडिकलमा प्रारम्भिक चेकजाँच गरेपछि अहिले व्यापक भएको भाइरल हो । कोभिड चेक गराउनुभयो भने पोजेटिभ देखाइहाल्छ । यो औषधि खानुभयो भने ३\४ दिनमा ठिक हुन्छ भन्ने सल्लाह पाइयो ।

त्यतिबेलासम्म हल्का खोकी पनि लागिसकेको थियो । कोठामा खाना पकाउने अवस्था समेत भएन । बाहिरै खाना खाएर कोठामा गएर आराम गरें । औषधी खाएर आराम गरेपछि शरीर धेरै हल्का भयो। राती पनि ज्वोरो आएन। निद्रा पनि लाग्यो। ज्यान हल्का भएपनी सुख्खा खोकी लागिरहेकोले कोभिड भएको भए त त्यही अनुसार सुरक्षाको मापदण्ड अपनाउनु पर्छ भनेर टेकु स्थित केन्द्रीय प्रयोगशालामा चेकजाँच गराए। दिउँसो नै मोबाईल मा पोजेटिभ भएको म्यासेज बज्यो।

बागबजारको भिडभाड,एक्लै बजार जाउ आउ, धेरैजनाले प्रयोग गर्ने एउटै ट्वाइलेट, घरबेटी लगायतको दबाब आदि तनाब झेल्नुभन्दा घरमा गएर परिवारको सहयोगसहित आइसोलेसनमा बस्दा उपयुक्त हुने ठानेर बेलुकी नै एउटा गाडीसंग सल्लाह गरी पाल्पा पुगें । रातीको चिसो हावाले  अलि असर गरेछ । खोकीको मात्रा बढ्दै गयो । त्यतिबेलासम्म ज्वोरो सन्चो भैसकेको थियो । टाउको दुख्ने,आखा दुख्ने,शरीर दुख्ने समेत निको भएको थियो ।

एकपटक छातीको एक्सरे गराउनु पर्यो भनेर श्रीमतीलाई जिल्ला स्थित सरकारी अस्पतालमा सोध्न पठाए । त्यहाँका कर्मचारीले कोभिड बिरामीको एक्सरे हुन्न भनेर पठाइदेछ्न। रिस त सार्है उठ्यो । सरकारले,सरकारी पार्टीका नेताहरूले दिनदिनै कोभिड उपचारका सम्बन्धमा यो गर्यौ, त्यो गर्यौ भनेर भाषण गरेको गरै छन् । तर जिल्लाकै सरकारी अस्पतालको त्यो अवस्था देखेर सरकारप्रति घृणा जागेर आयो । आफू कोभिड पोजेटिभ भएकोले बाहिर यत्तिकै निस्कने वा अरु केही गर्न सक्ने अवस्था थिएन । ज्यान फेरि गल्दै गयो । स्वासप्रस्वास मा समस्या आउदै गयो। सुख्खा खोकी लामो समयसम्म आउन लाग्यो। छाती दुख्न लाग्यो। अक्सिजन को मात्रा घट्दै गयो । घरमा बसेर मात्र हुन्न,अब अस्पताल जानुपर्ने हुन्छ । सबैकाे सल्लाह अनुसार लुम्बिनी मेडिकल कलेजमा भर्ना भएर उपचार गर्नेगरी गए । त्यहाँ आवश्यकता अनुसार बेडको उपलब्धता हुने गरी प्रशासनमा कुरा गएका थिए । इमर्जेन्सी रुपमा गएको बिरामीलाई समेत कर्मचारीले गरेको व्यबहार हेर्दा एक मिनेट पनि त्यहाँ बस्दा ज्यान जोखिममा पर्ने महसुस भयो। डक्टर हुन् या नर्स हुन् वा अरु कोहि । उनीहरुले ढोका बाहिरबाटै अक्सिमिटर फालिदिएर कुरुवा लाई अक्सिजन हेर्न लगाउने, प्रेसर जाच्ने साधन बाहिरबाटै फाल्दिने र हेर्न लगाउने गर्न थाले। बिचरा कुरुवा ले के जानेको हुन्छ र हेरेर रिपोर्ट भन्छ ? त्यस्तो गैरजिम्मेवारी देखेर प्रशासन मा फोन गरी भन्दा हामी भनेका छौं डाक्टर आइहाल्नुहुन्छ भन्ने उत्तर आउँछ तर डाक्टर आउदैनन्र । करिब एकघण्टा यस्तै गरी बित्यो। अरु बिरामीहरुलाइ पनि यही प्रकारकाे व्यवहार गरेका थिए ।

हेर्दाहेर्दै एकजना अक्सिजन छुटाउन नमिल्ने गरी अक्सिजनसहित बुटवलमा बेड नपाएर एम्बुलेन्समा कपिलवस्तु घर भएका बिरामी आए । ति बिरामीलाई अक्सिजन लगाइदिन समेत स्टाफ नआएर ढोकाबाटै पाइप फालिदिएको र बिचरा कुरुवा आएकी बुढीआमालाई पाइप लगाइदिन भनेको दृश्यले अस्पतालमा मान्छे एकाएक मर्ने त यसरी पो हो कि भन्ने मनमा खेल्न थाल्यो । म अलि सामाजिक क्षेत्रमा काम गरेको र अस्पताल प्रशासनसंग सिधा पहुँच राख्ने मान्छेलाई समेत त यो व्यबहार भयो भने अरु साधारण मान्छेको अवस्था के भएको होला । सहजै अनुमान लगाउन सकिन्छ । त्यो दृश्य हेर्दाहेर्दै उक्त अस्पताल मा भर्ना भएर बस्ने कुरा त भएन । तर पनि एउटा छातीको सिटि स्क्यान वा साधारण एक्सरे समेत गरेर घर जान पाए त्यही अनुसार औषधि चलाउन सकिन्थ्यो भनेर आग्रह गरियो। तर बिरामीको भर्ना गरेर २५ हजार डिपोजिट नराखिकन एक्सरे पनि गर्न सकिन्न,यो यहाँको सिस्टम हो भन्दै जवाफ आयो । यसरी अस्पताल चलाएको नाममा मानव स्वास्थ्यमाथि खेलवाड गर्ने र चर्को रकम असुल्ने अपराधीहरुको बारेमा आफू सन्चो भएपछी खबरदारी गर्ने अठोटका साथ घरमै जाने र अरु ठाउँ मा उपचारको विकल्प खोज्ने गरी त्यहाँबाट घर फर्कियौ ।

लुम्बिनी मेडिकल कलेज परिवारसंग मेरो अत्यन्तै नजिकको सम्बन्ध छ । केहि बर्ष अगाडी मेरै बुवालाई एक महिनाजति त्यहिँ भर्ना गरेर सन्चो गराइ निकालिएको थियो । कैयौं बिरामीहरुलाइ मैले नै लगेर उपचार गराइएको छ । म र मेरो परिवार पनि अन्य समयमा नियमित उपचार गराउन त्यहिँ जान्छौं । तर यसपटकको ब्यवहार साँच्चै निन्दनीय छ । त्यतिबेलासम्म अक्सिजनको मात्रा एकदम घटेको थिएन तर श्वास फेर्न गार्हो हुँदै थियो । खोकी झन् बढ्दै गएको थियो। अर्को दिन तानसेन कै मिसन अस्पतालमा जाने सल्लाह भयो। एकजना कर्मचारीको सहयोगमा बेड त पाइयो तर भर्ना हुनको लागि धेरै दबाब दिनुपर्यो । एक्सरे र अन्य सामान्य ल्याब रिपोर्ट हेरेपछि डाक्टरबाट न्युमोनिया भएको र जतिबेला पनि आइसियु वा भेन्टिलेटरमा राख्नुपर्ने अवस्था हुन सक्छ ।भेन्टिलेटर चाहिने अवस्थामा हामीसंग उपलब्ध छैन, एक्कासी अरु ठाउँमा जानुपर्ने हुन सक्छ, आफै बिचार गर्नु भन्ने सल्लाह आयो। एक त अस्पताले धेरै दबाबपछि मात्र भर्ना लिएको अर्कोतिर यस्तो सल्लाह दिएपछि सामान्य उपचारले हुदैन ।  जतिसक छिटो काठमाडौं जानुपर्छ भन्ने निर्णयमा पुगियो ।


काठमाडौंमा पार्टीका साथीहरूले अस्पतालतिर बुझ्दा ठुला र राम्रा भनिने ग्रान्डी, मेडिसिटी, ह्याम्स लगायत कुनै अस्पतालमा बेड खाली छैनन् भन्ने खबर आयो । चितवनमा बेड पाउन सक्ने र पछि खाली हुदा काठमाडौं जान सजिलो हुने गरी सल्लाह भएछ। तर मेरो मनले चितवन जान मानेन । पहिलेपहिले धेरै बिरामीलाई भर्ना गर्ने, परिवारलाई धेरै कुराको जानकारी नदिने, पैसा असुल्न समेत असुलेर अन्तिम अवस्था भएपछि अर्को ठाउँ रिफर गर्ने वा घर पठाउने गरेका थुप्रै उदाहरण छन् चितवनका अस्पतालहरुमा । त्यही सम्झेर पोखरा तिर फोन लगाए । केही समय अगाडी बाग्लुङ बरेङका पालिका अध्यक्ष मेरो मित्र कृष्ण पौडेल पनि मेरो जस्तै केसमा उपचार गराएर निको भएको अस्पताल थियो पोखरामा । बिक्रम र आकाशलाई सम्पर्क गर्दा त्यहाँ बेडको ब्यबस्था हुने भयो । साथीहरूको सिधा सहयोग हुन सक्ने र सम्पर्क भएको अस्पताल भएपछि अझै राम्रो हुने भयो । राती नै पोखरा जानको लागि एम्बुलेन्स खोज्दा अक्सिजन सहितको एम्बुलेन्स पाउनै गार्हो । बल्लतल्ल एम्बुलेन्स को ब्यबस्था भयो । मिसन अस्पतालबाट बाहिर निस्कदा अँध्यारो भैसकेको थियो । नाकमा अक्सिजनको पाइप लगाएर एम्बुलेन्स मा बस्दा एकाएक सन्नाटा छाएको थियो। कहिल्यै मम्मी वा बाबाको साथ नछोडेको ८ बर्ष को छोरो अनिश मनिलो अनुहार लिएर साली सन्जुसंग घर फर्कियो।

राती पोखरा मेडिप्लस अस्पतालमा पुगियो । अस्पतालको गेटमै साथीहरू बिक्रम र आकाश त हुनुन्थ्यो नै । आफ्नै साथीहरूले पर्खेजस्तै गेटमै बसेका डाक्टर र नर्सहरुले समेत बाहिरै अक्सिजन सिलिन्डर ल्याएर मलाइ अडाएर ससम्मान भित्र लगे । मुख्य डाक्टर सरोजले मेरो प्रारम्भिक अवस्था बारे जानकारी लिए र तत्काल गर्नुपर्ने कामबारे नर्सलाई अर्हाएर गए । अर्को दिनसम्म मलाइ सामान्य अक्सिजन मै राखियो । सिटी स्क्यान गरेपछिको रिपोर्ट हेरेपछि डाक्टर अलि आत्तिएजस्तो गरे र आइसियुमा सार्न लगाए। रिपोर्ट बारे बुझ्न खोज्दा सामान्य अवस्था त होइन तर पनि एकदुई दिन छिटो आउनुभएको छ, हामी प्रयास गर्छौ भन्दै थिए । फोक्सोको एक तिहाइ भागमा असर भइसकेको रहेछ । डाक्टरको उक्त कुरा सुन्दा झल्यासै पाल्पा अस्पतालले एक्सरे नगरिदिएको र मेडिकल कलेजले बिरामीको अवस्था माथि खेलवाड गरेको दृश्य झलझली संझिए ।

जनताकाे सेवाका लागि खुलेका ती अस्पतालले समयमै उपचार र छातिको एक्सरे गरेर हेरिदिएको भए न्युमोनियाले यो अवस्थामा विकास गर्ने थिएन। तत्काल उपचार गर्न सकिन्थ्यो। अझै केही दिन त्यतै अलमलिएको भए स्थिति खतरापूर्ण रहेछ । झन्न समयमै ठिक निर्णय गरिएछ । डाक्टरले तत्काल हाइफ्लो अक्सिजनमा राख्न लगाए । कोभिड आइसियु मा सबैजसो बिरामी सिरियस भएरै ल्याइन्थ्यो । अझ हाइ फ्लो अक्सिजन सामान्य अवस्थामा लगाइदैन । यता देशभरबाट मेरो स्वास्थ्यको बारे चिन्ता गर्दै फोनका घण्टी बजेको बज्यै हुन्थे। मलाइ कुरा गर्न समेत गार्हो भैसकेको थियो । श्रीमतिले एउटा फोनमा कुरा गर्दा ५ वटा मिसकल का म्यासेज बज्थे। उनले कुनै कसर बाँकी नराखी मेरो स्याहार गर्दै गइन्। बिक्रमले बिहानमा प्रत्येक दिन मेरो लागि विभिन्न सुप सहित खाना ल्याइदिइ भेट्न आउनुहुन्थ्यो । आकाशले आफ्नो ड्युटी कै बिचमा समेत आएर सान्त्वना दिनुहुन्थ्यो। भिमसेनलगायतका संगठनका साथीहरुको सहयोगले आँट दिन्थ्यो । सन्तोष ज्वाइसाब केहिदिन अस्पतालमै बसेर आर्थिक लगाएतको बाहिरी ब्यवस्थापन मिलाइदिनुभयो । बुवाआमा लगाएत आफन्तजनहरु र धेरै साथीहरु लकडाउन र कोरोना कहरको कारण चाहेर पनि भेट्न जान सक्नुभएन । धेरैले सामाजिक संजाल बाटै स्वास्थ्यलाभको कामना गर्नुभयो । पछि त कुरुवा कक्षबाटै मेरो मोबाइल चोरी भएछ । त्यसबाट मेरा धेरै सम्पर्कहरु हराए ।

साथीहरुले अरु कुरा केही नसोच्नुहोस, आफूलाई मात्र केन्द्रमा राखेर आफू सन्चो हुने मात्र सोच्नुस भनेर सल्लाह दिनुन्थ्यो । संगठनका साथीहरू बिचबिचमा आएर सहानुभुती प्रकट गर्नुहुन्थ्यो । मेरो बेडका छेउछाउँमा बिरामीहरु छट्पटिरहेका हुन्थे । कतिपयको त मृत्यु भइसकेको हुन्थ्यो । प्लाष्टिकले बेरेर सुतिरहेको मान्छे उठाएर बाहिर लगेको देख्दा मन आत्तिए जस्तो हुन्थ्यो । भर्खर बोलिरहने मान्छे कसरी मर्यो होला भन्ने लाग्थ्यो । म भन्दा टाठा मान्छेहरु समेत एकाएक मरिरहेका थिए ।आइसियुका सबै बेडहरु मृत्यु शैया पो हन् कि भन्ने हुन्थ्यो । तर मलाई जसरि नै बाँच्नु थियो । मृत्युशैयाबाट जसरी पनि जनरल बेडमा सर्नु थियो । म कठोर बन्थें र मनलाई सम्हाल्थे ।

फार्मेसीबाट प्रत्येक दिन श्रीमतिले एक झोला औषधि लिएर आउथिन । त्यो मेरै शरीरमा राखेर सकिन्थ्यो । औषधीको कारण रगत बाक्लो भएर साइड इफेक्ट हुने डरले रगत पातलो बनाउनको लागि भन्दै सायद १९ दिनमा १९ वटै सुइ पेटमा धसिए होलान । हातमा सुइ खोपिएका दर्जनौं दाग हरु मेटिन त अझ केहि समय लाग्ला । कोभिड छिटो निको बनाउनको लागि भन्दै दिइएको ६ डोजको रेम्डिसिविर औसधीले त पखाला नै लगायो । मेरो अध्ययन अनुसार उक्त औषधी क्यान्सर र अन्य रोगको लागि दिने गरिन्थ्यो । अहिले कोभिडमा प्रयोग गर्ने गरिएको छ । याे बेला डक्टरले भनेका सबै कुराहरु इमान्दारिताका साथ पालन गरें । यता साथीहरू ले अनुभबको आधारमा औषधी अनुसार खानाको डाइट पेल्नुपर्छ भनिरहन्थे । डाक्टरले पनि प्रत्येक दिन खानाको रुचि बढाउने र आधा निको हुने आफै हो भन्दै सम्झाउथे । मैले खाना खानलाइ शुरुको २\३ दिन बाहेक जोड गरिरहे ।

मैले छिटो रिकभर हुन जे गर्नुपर्छ त्यसमा कमी हुन दिनु हुदैन भन्ने सोच राखे । अरु बाहिरी दुनियामा के भएको छ ,कतिजना कोभिडका बिरामी थपिए वा कतिको मृत्यु भयो । या राजनीतिक अवस्था के कसो छ ? त्यसबारे कुनै चासो दिइन । प्राय निद्रा लाग्ने थिएन । कति कति बेला निद्रा लाग्दो रहेछ । निद्राबाट ब्युझदा दिउसो हो वा राती हो अड्कल गर्न गाह्रो पर्दथ्यो । मेरो लागि दिन रात उस्तै हुन्थ्यो । निदाएको बेला नाकमा लगाइएको अक्सिजनको पाइप निस्केर खतरा पो हुने हो कि भन्ने डर लाग्थ्यो । टाउको माथि राखिएको स्क्रिनमा पटक पटक अक्सिजनको मात्रा हेरिरहन्थें । कहिलेकाहिं ९० भन्दा कम देखाउदा डर लाग्थ्यो ,अनि घोप्टो परेर सुत्थें । फेरि बढ्दै जादाँ ढुक्क हुन्थें । खर्च महङ्गो लाग्छ त्यो अस्पतालमा भन्ने पहिले नै सुनेको थिए। तर पहिले ज्यान ठूलो हो । बाँचेपछि केहि गरिन्छ भनेर त्यता ध्यान केन्द्रित गरिन । पछि डिस्चार्ज हुँदा सुन्दै थिए, सोचेको भन्दा धेरै बढी खर्च लागेछ ।

काेभिड जस्तै काेभिडपछिकाे जीवन पनि संवेदनशील हुने रहेछ । पछि शरीरले घण्टाघण्टामा भोक लाग्ने र खाना माग्न थाल्यो । कोभिड न्युमोनिया र त्यसलाई निको पार्ने हाइ डोजको न्युमोनियाको औषधी र हाइ फ्लोको अक्सिजनले ज्यान थिलोथिलो पारेको थियो । त्यसपछि १६ गतेको रिपोर्टमानै कोभिड नेगेटिभ आइसकेको थियो । तर पनि न्युमोनिया अलि खतराको बिन्दुमा पुगेकोले उपचार त्यही अनुसार गर्नुपथ्र्याे । शुरुका दिनमा प्रत्येक आधा घण्टाको बिचमा मुख सुकेर पानी खाने मन लाग्थ्यो। श्रीमतिले त सायद कुनै दिन सुत्न पाइनन् । कुनै बेला नर्सलाई त कुनै बेला श्रीमतिलाइ बोलाउथे । आइसियुमा भित्र बस्न,सुत्न नपाए पनि आवश्यकता अनुसार कुरुवालाई भित्र पस्न दिइन्थ्यो । प्राय दिशा पिसाब गराउन नर्ससंग अफ्ट्यारो लागेर श्रीमतिलाइ नै बोलाउथे। कतिपय बेला बाहिर कुर्सिमै निदाएर बोलाउदा पनि श्रीमतिले नसुन्दा नर्सलाई वा सहयोगीलाई नै बोलाइ अफ्ट्यारो मानिमानी दिशा पिसाब गर्थे ।

अक्सिजन सिलिन्डर आफैमा धेरै वजनको हुन्छ । बिचरा नर्सहरुले जसरी नि बिरामीको स्याहार गर्नुपर्छ भन्दै सिलिन्डर बोकेरै, बिरामीलाई अड्याउदै ट्वाइलेट सम्म पुग्थे र एकछिन कुरेर सिलिन्डर बोकेर बेड सम्म ल्याइदिन्थे । बिजुली गएर हाइफ्लो बन्द हुदा साथ जहाँ भए पनि बिजुलिकै गतिमा बिरामी भएको ठाउँ आएर हतारहतार सिलिन्डरबाट अक्सिजन लगाइदिदाको दृश्यले अत्यन्तै खुशी लाग्थ्यो। यिनिहरु(नर्स) ले हामीलाई यत्तिकै मर्न दिदैनन भन्ने लाग्थ्यो। उनीहरुको त्यो हतार आफ्नै दाजुभाइ सम्झेर हामीप्रती गरेको कर्तव्य हो। यो लगाव धेरै कम ठाउँमा मात्र देख्न पाइन्छ । अक्सिजन सकिदा वा बिजुली गएर बन्दहुदा भएको त्यो दौडधुपलाइ जति सम्मान गरे पनि कम हुन्छ । त्यहाँ कोभिड लागेको र अन्य बिरामी भन्ने कुनै फरक ब्यवहार गरिने थिएन। सायद नर्सहरुको त्यही बिरामीप्रतिको लगाबले, त्यही सहानुभूतिले नै केही हौसला बढाउथ्यो। डाक्टर सरोजको मिजासिलो प्रस्तुतिले बाच्ने आधार प्रदान गर्थ्यो । कोभिड नेगेटिभ आए पनि अन्य आइसियुमा बेड खाली नभएर कोभिड आइसियु मै धेरै दिन बस्नुप¥यो ।

आइसियु वार्डमा भेन्टिलेटर समेत नजिकै थियो । प्रत्येक दिनजसो बिरामीहरु ढलिरहेका देखिन्थे। आखिर मान्छेको जिन्दगी के नै छ र भन्ने हुन्थ्यो। तर आफुलाइ जसरी नि सम्हाल्नुपर्थ्यो र फेरि जीवन बाचेर समाजमा केही योगदान गर्नुपर्छ भन्ने लाग्थ्यो । आफुलाइ सम्हाल्दै गए। कठोर बनाउदै गए। सायद मुटु कमजोर भएको वा धेरै तनाब लिने मान्छे त्यो नियमित दृश्य हेर्दाहेर्दै हर्टएट्याक भएरै मर्ने सम्भावना हुन्छ । कतिपय रिकभर हुन लागेका बिरामी त्यसरी नि मरेका उदाहरण प्रसस्त छन् । १७ दिनको आइसियु बसाइ र २ दिनको जनरल वार्डमा बसेपछि अक्सिजन बिना हल्का अडिन, हिड्न थालें । खोकी सन्चो भयो । नर्मल एक्सरेमा सुधार भएको देखियो । १० दिन जतिको लागि औषधी लिएर मेडिप्लस अस्पतालबाट डिस्चार्ज भए । मेरो सालाहरु लक्ष्मण र सुदिप गाडी लिएर गएका थिए । बैशाख ३१ गते १९ दिनपछि घर फर्कियौं । उपचारमा संलग्न चिकित्सक, नर्सअस्पताल जतिखेर पनि संझिरहेकाे छु, त्याे सेवा र सत्कर्मका लागि । परिवार, पार्टी नेतृत्व आफन्तजनहरुकाे सहयाेग र गुन भुल्न सकिरहेकाे छैन । काेभिड १९ संक्रमणपछि संवेदनशील हुन र स्वास्थ्यकाे विशेष ख्याल गर्न सबैसँग मेराे अपिल छ । मृत्यु जितेर फर्केकाे क्षण, मरेर पनि बाँचेकाे याे जीवन अझ सार्थक बनाउन सकूँ भन्ने घिड्किसाे अब बाँकी छ ।

कालीगण्डकी राम्दीमा नयाँ पुल बन्ने

तानसेन । पाल्पा र स्याङजाको सीमाना राम्दीमा नयाँ पक्की पुल निर्माण हुने भएको छ ।

सिद्धार्थ राजमार्गको पाल्पा र स्याङजाको सीमाना राम्दीमा कालीगण्डकी नदीमाथि बनाइएको पुल जीर्णभएपछि नेपाल सरकारले आर्थिक वर्ष २०७८्\०७९ को बजेट तथा कार्यक्रममा पुल निर्माणका लागि डिजाइन, स्टमेट र नक्सा तयार पार्न ३० लाख रुपैँया बजेट विनियोजन गरेको छ । पुल योजना पश्चिम क्षेत्र सेक्टर नं. ४ का प्रमुख भीमार्जुन कडेंलले राम्दी पुलको डिजाइन स्टमेट गर्न आगामी आर्थिक वर्षका लागि ३० लाख बजेट विनियोजन भएको बताउनुभयो ।

कालीगण्डकी नदी माथिको पक्की पुल जीर्ण भएपछि ठूला र हेभी सवारी साधन ओहोरदोहोर गर्न समेत समस्या भएको थियो । राम्दी पुलमा जोखिम देखेपछि पाल्पा र स्याङ्जाका जिल्ला प्रशासन कार्यालयले तीन वर्ष अगाडि देखि ठूला र हेभी सवारी साधन ओहोरदोहोर गर्न रोक लगाएका थिए । राम्दीमा १५ टनभन्दा बढी क्षमता भएका र हेभी गाडीहरुलाई आउजाउ गर्न रोकिएको छ ।

 

बुद्धिबहादुर विक परिवारलाई राहत हस्तान्तरण

डाँडाडुम । तानसेन नगरपालिकाले कोभिड १९ बाट ज्यान गुमाएका बुद्धिबहादुर विकको परिवारलाई राहत प्रदान गरेको छ ।

तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाही, उपप्रमुख लक्ष्मीदेवी पाठक, वडाअध्यक्ष हरिसुमर रेग्मीसहितको टोली घरमै पुगेर विक परिवारलाई राहत सामग्री प्रदान गरेको हो । राहतमा चामल, नुन, तेल, दाल, सावुन, स्वास्थ्य सामग्रीहरु रहेका छन् । नगरप्रमुख शाहीले रेडियो कुटुम्बले दिएको १० हजार रुपैँया सहयोग पनि परिवारलाई हस्तान्तरण गर्नुभयो । अस्पतालबाट शव निकाल्न ठूलो सहयोग गरेको नगरपालिकाका जनप्रतिनिधि चौविस घण्टा नवित्दै राहत लिएर घरमै आएकोमा स्थानीय बासिन्दा बुद्धराज बस्याल र केशव बस्यालले धन्यवाद दिनुभयो ।

कोरोना संक्रमण भएर लुम्बिनी मेडिकल कलेज प्रभासमा भर्ना भएका विकको जेठ १९ गते बुधबार निधन भएको थियो । विक परिवारले निजको उपचार खर्च तिर्न नसकेपछि शव उठाउन पाएन । तानसेन नगरपालिका वडा नं. ९ र ८ को वडा समिति, नगरपालिकाका प्रमुख उपप्रमुखले बैठक भत्ताबाट उपचार खर्च तिर्ने निर्णय गरेपछि नगरपालिका प्रमुख अशोककुमार शाहीले जमानी बसेर परिवारले शव निकालेको हो । नेपाली सेनाको सहयोगमा शवलाई राम्दी लगेर दाहसंस्कार गरिएको छ ।

बुद्धिबहादुर विश्वकर्माको उपचार खर्चमा लागेको १ लाख ६३ हजारमध्ये २० हजार रुपैँया परिवारले धरौटी राखेको र बाँकी रकम नगरपालिकाले तिर्ने अस्पतालसँग सहमति भएको छ । अस्पतालबाट शव उठाउने गाडीलाई १५ हजार ५ सय रुपैँया, नेपाली सेना र मलामी चढेको गाडीलाई १२ हजार रुपैँया तिर्न बाँकी रहेको छ । तानसेन ९ का वडाअध्यक्ष हरिसुमर रेग्मीले दाहसंस्कारमा जाँदा स्थानीय गाडी प्रयाेग गरिएकाे र भाडा पछि व्यवस्थापन गर्ने गरी पठाइएकाले सरसहयाेग हुँदा बुझाउने बताउनुभयाे । रेडियो कुटुम्बले सामाजिक उत्तरदायित्व अन्तर्गत दिएको १० हजार रुपैंया सहयोग एउटा गाडीको भाडा तिर्न प्रयोग गर्ने विकका ज्वाई राजु विकले जानकारी दिनुभयो । 

उपप्रमुख लक्ष्मीदेवी पाठकले नगरपालिकाभित्रका कुनै पनि नागरिक भाैकै बस्न नपराेस्, काेराेना संक्रमणकाे परीक्षण, उपचारबाट बञ्चित हुन नपराेस् भनेर स्थानीय सरकार लागि परेकाे बताउनुभयाे । आर्थिक रुपले अत्यन्त विपन्न विक परिवारलाई सीपमूलक तालिम र स्वरोजगारीको अवसर सिर्जना गर्न आवश्यक सहयोग गर्ने नगरपालिका प्रमुख अशोककुमार शाहीले बताउनुभएकाे छ ।

तानसेन शिवपाेखरीमा बाख्रा वितरण

तानसेन । पाल्पा जिल्लाकाे सदरमुकाम रहेकाे तानसेन नगरपालिकाले तानसेन ५ शिवपोखरीका २१ घरमा बाख्रा वितरण गरेको छ ।

मुख्यमन्त्री ग्रामिण विकास तथा युवा स्वरोजगार कार्यक्रमबाट समुदायलाई बाख्रा वितरण गरिएको हो । कोभिड १९ को कहरमा उच्च स्वास्थ्य सतर्कता अपनाएर घरटोलमै पुगेर नागरिकलाई बाख्राका पाठी वितरण गरिएको नगर प्रमुख अशोक कुमार शाहीले बताउनुभयाे । नगरपालिकाले पशुपालनबाट महिलालाई आत्मनिर्भर र स्वावलम्बी बनाउन बीउका रुपमा बाख्रा वितरण गरेको छ। नगर प्रमुख शाहीले प्राप्त गरेको बीउ बाख्राले व्यवसायीक रुपमा पशुपालन गर्न उत्साह थप्ने विश्वास व्यक्त गर्नुभयाे ।

कार्यक्रममा नगर उपप्रमुख लक्ष्मीदेवी पाठकले सधै दैलाेकुचोमा सीमित महिलालाई आर्थिक आयआर्जनको बाटो देखाउन बाख्रा वितरण गरिएको बताउनुभयाे । उहाँले नगरपालिकाले सवै क्षेत्रमा रहेका महिलाको आर्थिक,सामाजिक विकासका लागि मागमा आधारित कार्यक्रम संचालन गरेको समेत बताउनुभयाे । बाख्रापालनका लागि आबश्यक पर्ने प्राविधिक र औषधी सहयोग नगरपालिकाले उपलव्ध गराउने भन्दै बाख्रापालनबाट लाभ लिन उहाँले आग्रह गर्नुभयाे । 

मुख्यमन्त्री ग्रामिण विकास तथा युवा स्वरोजगार कार्यक्रम अन्तरगत यस वडामा २८ घरलाई २ वटा पाठी वितराण गर्ने योजना अनुसार पहिलो चरणमा २१ घरलाई ४२ वटा बाख्रा वितरण गरिएको निर्देशक समितिका सदस्य गुराँस आत्रेयले बताउनुभयाे । उहाँका अनुसार बाँकी ७ घरलाई केहि दिनमै बाख्रा उपलव्ध गराइनेछ । शिवपाेखरीका १० घर परिवारका लागि खोर निर्माणको कार्यक्रमसमेत चलेको छ । खोर निर्माण गर्नका लागि दश हजार नगरपालिकाले दिने छ । नगरपालिकाले बाख्राका लागि आबश्यक घाँसको विउ र अन्य सहयोग नगरपालिकाबाट लिन सकिने वडाध्यक्ष रामबहादुर रावलले बताउनुभयाे । 

दमकडामा पिसिआर परीक्षण शिविर

दमकडा । तानसेन नगरपालिकाले आज दमकडामा पिसिआर परीक्षण शिविर सञ्चालन गरेको छ ।

नगरपालिकाले पाल्पा अस्पतालको सहयोगमा तानसेन ९ दमकडामा सञ्चालन गरेको शिविरमा १ सय १० जनाको पिसिआर परीक्षण गरिएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्र पाण्डेसहित स्वास्थ्यकर्मी दमकडा पुगेर स्वाव संकलन गरेका हुन् । शिविरमा क्रियापुत्री समेत परीक्षण गराएका छन् ।

शिविरमा तानसेन नगरपालिकाका उपप्रमुख लक्ष्मीदेवी पाठकले कोरोनाको संक्रमण पत्ता लगाई उपचार र रोकथामको कार्यक्रम सञ्चालन गर्न यस्ता शिविर सञ्चालन गरिएको बताउनुभयो । उहाँले कोरोना संक्रमणलाई सामान्य रुपमा नलिन र आवश्यक परहेजमा बस्न आग्रह गर्नुभयो । पाल्पा अस्पतालका अध्यक्ष नेत्र पाण्डेले कोरोनाको लक्षण देखिए तत्काल पिसिआर गर्न आग्रह गर्नुभयो । स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेका, कोरोना संक्रमण देखिएपछि उपचारका मापदण्ड पालना गरेकाहरु सजिलै कोरोना जितेर फर्किएको उदाहरण दिदैं उहाँले समयमा ख्याल राख्नुपर्नेमा जोड दिनुभयो ।

तानसेन नगरपालिकाका वडा अध्यक्ष हरिसुमर रेग्मीले स्वास्थ्यमा जटिलता देखिएर तत्काल अस्पताल वा आइसोलेसनमा जान नगरबासीलाई आग्रह गर्नुभयो । शिविर सञ्चालनका लागि पाल्पा अस्पताल र मदनपोखरा स्वास्थ्य चौकी दमकडाका स्वास्थ्यकर्मी खटिएका थिए । अस्पतालका अध्यक्ष नेत्र पाण्डेले स्वास्थ्यकर्मी र पिसिआरका सामग्री रहेको गाडी आफै चलाएर दमकडा पुग्नुभएको थियो ।

काेराेनाकाे दाेस्राे लहरमा तानसेनले चलायाे कृषि एम्बुलेन्स

पाल्पा । तानसेन नगरपालिकाले काेराेनाकाे दाेस्राे लहरमा पुनः कृषि एम्बुलेन्स सेवा सुरु गरेको छ ।

काेराेनाकाे पहिलाे लहरमा बजारमा तरकारीकाे अभाव हुन थालेपिछ तानसेन युवा परिषदले सञ्चालन गरेकाे कृषि एम्बुलेन्स सेवा नगरपालिकाले दाेस्राे लहर चलेका बेला हेफर इन्टरनेसनल, ग्रामीण आर्थिक विकास संघ (रेडा) र यूएनडीपीको सहयोगमा कृषि एम्बुलेन्स सेवा सुरु गरेको हो ।

तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाही र उपप्रमुख लक्ष्मीदेवी पाठकले कृषि उपज बाेकेर ल्याएकाे कृषि एम्बुलेन्सबाट तरकारी बिक्री गरी कृषि एम्बुलेन्स सेवा सुरु गर्नुभएकाे छ । एक पिकअप जिपमा ६ सय किलो तरकारी कृषि एम्बुलेन्सबाट ल्याई बिक्री गरी त्यसको सुरुवात गरिएको छ । पहिलाे ट्रिपबाटै ६ सय परिवार लाभान्वित भएका छन् । 

नगरपालिकाभित्रका व्यावसायिक किसान र कृषि समूले उत्पादन गरेका कृषि उपजकाे सहज बिक्री वितरणकाे व्यवस्था मिलाउने र बजारमा बस्ने उपभाेक्तालाई ताजा तरकारी दिने उद्देश्यले कृषि एम्बुलेन्स चलाइएकाे हाे । काेराेना राेकथाम र नियन्यत्रणाका लागि सरकारले निषेधाज्ञा जारी गरेपछि किसानको उत्पादनलाई बजार लैजान नसकेको अवस्थामा नगरपालिकाले किसानलाई राहत दिन याे कृषि एम्बुलेन्स सेवा सुरु गरिएकाे प्रमुख शाहीकाे भनाइ छ ।

किसानको उत्पादनलाई बजारसम्म पुर्याउने सहजीकरण गरिएकाे ग्रामीण आर्थिक विकास संघ (रेडा) का कार्यकारी निर्देशक लीलाबहादुर कार्कीले बताउनुभयाे । तरकारी किसानको बारीमा कुहिन नदिने र बजारमा महँगोमा खरिद गरेका उपभोक्तालाई सस्तो मूल्यमा उपलब्ध गराउने नै लक्ष्य अनुसार नै काम गरिएकाे कार्यकारी निर्देशक कार्कीले बताउनुभयाे ।

स्मरण रहाेस्, गत वर्ष तानसेन युवा परिषदले लामाे समय कृषि एम्बुलेन्स सेवा सञ्चालन गरी स्याबासी पाएकाे थियाे । 

 

सिद्धबावा क्षेत्रमा सुरुङ् मार्गकाे टेण्डर आहवान

पाल्पा । सिद्धार्थ राजमार्गको पाल्पा बुटवल खण्डस्थित सिद्धबावा क्षेत्रमा सुरुङ् मार्ग निर्माण प्रक्रिया सुरु भएको छ ।

गत वर्ष स्वीस सरकारकाे सहयाेगमा विस्तृत परियाेजना प्रतिवेदन DPR तयार भइ अर्थ मन्त्रालयबाट बजेट स्वीकृत भइ लामो समयमा टेण्डर प्रक्रियामा नगएकाे सुरुङ् मार्गकाे आइतबार सडक विभागले  टेण्डर आहवान गरेकाे छ । सिद्धबाबा क्षेत्रमा १ किलोमिटर १ सय मिटर जति खण्डमा सुरुङ् मार्ग बनाउन टेण्डर आह्वान भएको हो । संघीय सरकारअन्तर्गतकाे भौतिक पूर्वाधार विकास मन्त्रालयले सुरुङ निर्माणका लागि ३५ दिनको म्याद राखेर ग्लोबल टेन्डर आह्वान गरेको जनाएको छ ।

अर्थ मन्त्रालयले १० अर्ब बजेटको सुनिश्चितता दिएकाले टेण्डर प्रक्रिया अगाडि बढाएको सडक विभागका उपमहानिर्देशक विजय जैसीले बताउनुभयो । ग्लोबल टेन्डरमार्फत पाँच वर्षभित्र काम सक्ने गरेर सूचना प्रकाशित गरिएको छ । सडक विभागका अनुसार सुरुङ मार्ग पाल्पाको सिद्धबाबा मन्दिरको उत्तरतर्फको चिडियाखोलाको छेउबाट सुरु हुने बताइएको छ ।

चिडियाखोला खोंचबाट सुरु हुने सुरुङ दोभाननजिकै रामापिथेकस पार्कको उत्तरतर्फ निस्कनेछ । यो करिब एक हजार एक सय मिटरको हुनेछ । सिद्धबावा क्षेत्रमा सुरुङ् मार्ग निर्माण गर्न आफूले धेरै प्रयत्न गरेको र आइतबार टेण्डर भएकोमा पाल्पा क्षेत्र नं. २ का सांसद सोमप्रसाद पाण्डेयले खुसी व्यक्त गर्नुभएको छ । “कुनै बेला  सुरूङकाे प्रस्ताव गर्दा सडक विभाग, प्राविधिकहरूले नेपालमा सम्भव नरहेकाे भन्दै विभिन्न विकल्पमा छलफल गर्थे, अहिले सुरूङकाे टेण्डर निकालिएकाे छ ।” अब हाम्राे माग सम्बाेधन मात्र भएकाे छैन, बाटाेकाे सुधारका लागि सुरूङ निर्माण अभियान चल्नेछ सांसद पाण्डेयले भन्नुभयाे ।

गत वर्षकाे मंसिर १ गतेको अर्थमन्त्रीस्तरीय निर्णयले सुरुङका लागि बहुवर्षीय योजनामा काम गर्ने गरी बजेटको स्वीकृति दिएको थियो । सिद्धबाबा क्षेत्र करिब ५ किलोमिटर लम्बाइको छ । सुरुङ मार्ग आयोजनामध्ये १ हजार १ सय २६ मिटरको टनेल, ७ सय ८० मिटरको डबल लेन ‘रक सेड’ हुने मन्त्रालयले जनाएको छ । सिद्धबाबा भएर गुल्मी, अर्घाखाँची, स्याड्जा, बाग्लुङलगायत जिल्लाका नागरिकहरूले आवतजावत गर्ने गर्दछन् । सुरुङ् मार्ग बनेपछि यस क्षेत्रमा हरेक वर्ष हुने दुर्घटना लगायतका घटना कम हुने र आवतजावतमा सहजता आउने विश्वास गरिएकाे छ ।

पाल्पामा अक्सिजन प्लान्टका लागि डेढ करोड

तानसेन । पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि डेढ करोड बजेट विनियोजन भएको छ।

नेपाल सरकार अर्थ मन्त्रालयबाट मंगलबार एक करोड ५० लाख बजेट विनियोजन भएको हाे । पाल्पा अस्पतालको माग र संघीय संसद् तथा पूर्वमन्त्रीहरू दलबहादुर राना र सोमप्रसाद पाण्डेको विशेष पहलमा बजेट प्राप्त भएको हो। दोस्रो लहरको रुपमा फैलिएको कोभिड–१९ महामारीले पाल्पामा पनि भयावह स्थिति सिर्जना भएको छ। सक्रिय संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ। ६० भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन्। अक्सिजनकै कारण थप कसैले ज्यान गुमाउन नपरोस् भनेर जिल्लामा नै अक्सिजन प्लान्ट स्थापनाको लागि पहल गरेको सांसद रानाले बताउनुभयाे ।

यो बजेटबाट पाल्पा अस्पतालको मातहतमा रहने गरी अक्सिजन प्लान्ट निर्माण गरिने छ । अक्सिजन प्लान्ट स्थापना तथा पाइप लाइन निर्माणको लागि देशभर १२ वटा जिल्लालाई मात्र बजेट उपलब्ध गराउन सरकारले निर्णय गरेको थियो। काेराेनाकाे पहिलाे लहरमा पाल्पामा प्रयाेगशाला स्थापना भएकाे र दाेस्राे लहरमा अक्सिजनकाे अभाव देखिएकाले अक्सिजन प्लान्ट स्थापना गर्न बजेट माग गरिएकाे सांसद साेमप्रसाद पाण्डेयले बताउनुभयाे ।

अक्सिजन प्लान्ट स्थापनाको लागि आवश्यक तयारी थालिएको पाल्पा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्र पाण्डेले बताउनुभयाे। उहाँका अनुसार भवन निर्माणको लागि जग्गा छनोट गर्ने काम सकिएको छ। अक्सिजन प्लान्ट निर्माण गर्न छुट्टै भवन निर्माण हुने छ। संसद विकास कोषको सात लाख बजेट र अन्य स्रोत खोजेर भवन निर्माण गरिने छ। त्यसको लागि व्यवस्थापन समितिसहित सरोकारवाला निकायको बुधबार बैठक बसी भवन निर्माण उपभोक्ता समिति गठन गरिने अध्यक्ष पाण्डेयले बताउनुभयाे ।१५ दिनमा भवन निर्माणको काम सकिने छ। अबको एक महिनामा अक्सिजन प्लान्ट स्थापना हुनेछ ।

पहिलो चरणमा तत्काल  दैनिक ५० सिलिण्डर अक्सिजन उत्पादन हुने उनको अनुमान छ। अन्य स्रोत खोजेर दैनिक एक सय सिलिण्डरसम्म अक्सिजन उत्पादन गर्ने क्षमताको अक्सिजन प्लान्ट निर्माण गरिने उनले बताए।

गर्भधारण गर्नलाई यो उपयुक्त समय होइन

कोभिड-१९ को संक्रमणबाट बच्‍न यति बेला हामी घरभित्रै छौँ । त्यस्तै, घरभित्र छन्, गर्भवती, सुत्केरी र नवजात शिशु पनि । जो यो समयमा अत्यन्तै जोखिम वर्गमा पर्दछन् । चिकित्सकहरूका अनुसार अरुको तुलनामा उनीहरूलाई कोभिड संक्रमण हुँदा गाह्रो बनाउँछ, क्षति पुर्‍याउन सक्छ । यसै सन्दर्भमा ‘कोभिड र गर्भधारण’, ‘कोभिड र नवजात शिशु’, ‘कोभिड र स्तनपान’, ‘कोभिड, गर्भवती महिला र भ्याक्सिन’ आदि विषयमा वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. भोला रिजालसँग इकागजकी सृजना खड्काले गरेको कुराकानी :

कोभिडको यो महामारीमा ‘बेबी प्लान’ गर्नुहुन्छ कि हुँदैन ? यो जिज्ञासा अहिले धेरैमा छ ।
सबैभन्दा पहिला त हामीले के बुझ्नुपर्छ भने, कोभिड सबैलाई लाग्छ । यसले कसैलाई छाड्दैन । जसले सतर्कता अपनाउँदैन, नियमको पालना गर्दैन उसलाई त झनै लाग्छ । नराम्रोसँग लाग्छ । तर, अरुको तुलनामा सुत्केरी, गर्भवती र नवजात शिशुलाई कोभिड लाग्यो भने उनीहरूलाई गाह्रो बनाउँछ, क्षति पुर्‍याउँछ । यस्तो बेलामा सुरक्षित हुन निकै कठिन छ । त्यसैले यो गर्भधारण गर्ने उपयुक्त समय होइन ।

कामकाजी (करिअर ओरिएन्टेड) जोडीका लागि यो ब्रेक गर्भधारणका लागि उपयुक्त समय पनि त हुन सक्छ नि, होइन र ?
यो बेलामा गर्भधारण गर्नु आपत्ति छैन । तर, गर्भवती भइसकेपछि भने विभिन्‍न समस्या आउन सक्छ । चाहिएको बेलामा आफूले सोचेका चिकित्सक नभेटिन सक्छन् । अप्ठ्यारो परेको बेला तुरुन्तै अस्पताल जान नसकिने अवस्था आउन सक्छ । अस्पताल जाँदा आफैँ संक्रमित हुन सक्ने सम्भावना पनि उत्तिकै हुन्छ । संक्रमण भइहाल्यो भने त झन् अप्ठ्यारो हुन्छ, जोखिम हुन्छ । त्यसैले, यो समयमा सकेसम्म बच्चा प्लान नगरौँ ।

जो गर्भवती छन्, उनीहरू यस्तो बेला संक्रमणबाट कसरी जोगिने ?
गर्भवतीले अरु बेलामा भन्दा यस्तो महामारीको बेलामा आफ्नो विशेष ख्याल राख्नुपर्छ । सामान्य अवस्था जस्तो अस्पताल गइराख्‍ने गर्नुहुँदैन । सामान्य अवस्थामा गर्भवती हुँदा आठ-दशपटक अस्पताल जानुपर्ने हुन सक्थ्यो भने यस्तो अवस्थामा सकेसम्म जरुरी परेको खण्डमा मात्रै अस्पताल जानुपर्छ । अप्ठ्यारो पर्‍यो भने चेकअप गराइरहेको डाक्टरसँग फोन सम्पर्कमार्फत काउन्सिलिङ लिनुपर्छ । अस्पताल चेकअपमा जाँदा जोगिएर जानुपर्छ । यस्तो बेलामा उनीहरू बाहिरको वातावरणसँग जति कम घुलमिल हुन्छन्, उति संक्रमणबाट जोगिन्छन् ।

जोगिँदा-जोगिँदै पनि संक्रमणले भेटिहाल्यो भने नि ?
पहिलो कुरो त सकेसम्म संक्रमण हुनबाट जोगिनुपर्छ । तर, जोगिँदा जोगिँदै गर्भवतीलाई कोभिड संक्रमण भएमा आत्तिहाल्नु पर्दैन । अरुलाई कसरी नसार्ने त्यसतिर ध्यान दिनुपर्छ । सावधानी अपनाउनुपर्छ । आइसोलेसनमा बस्नुपर्छ । यस्तो बेलामा उनीहरूले पटक-पटक ज्वानो पानी, गुर्जो पानी, बेसार पानी, दालचिनी पानी, चिया, कफी के-के खान मन लाग्छ खानुपर्छ ।

गर्भवती र सुत्केरीलाई निराश र डिप्रेस्ड हुन दिनु हुँदैन । यो बेलामा उनीहरूलाई हाम्रो राम्रो बोली, व्यवहार र सहयोगको खाँचो छ ।

तातो झोलिलो खाने कुराहरू प्रशस्त खानुपर्छ । दिनको तीन-चार पटक तातो पानीको बाफ लिनुपर्छ । श्वासप्रश्वाससम्बन्धी एक्सरसाइज गर्नुपर्छ । मास्क लगाउने, हात धुने, स्यानिटाइज गर्ने, भौतिक दूरी कायम गर्ने जस्ता कुरालाई भुल्नु हुँदैन । भरसक कसैसँग पनि भेट्नु हुँदैन । काम पर्‍यो भने फोनमा कुरा गर्नुपर्छ । भेट्नै पर्‍यो भने पनि टाढा बसेर कुराकानी गर्नुपर्छ । यति गर्ने हो १२-१३ दिन भित्रमा उनीहरू पहिला जस्तै सामान्य हुन्छन् । सामान्य भएपछि आफ्नो काम आफैँ गर्ने, बगैँचातिर निस्किने, छतमा गमला राखेर आफूलाई मन लागेका चिज उमार्ने, तिनलाई स्याहार गर्ने र भर्‍याङ अलि-अलि तलमाथि गर्ने जस्ता क्रियाकलाप गर्न सकिन्छ ।

गर्भवतीलाई कोभिड हुँदा त्यसले बच्चालाई असर गर्छ कि गर्दैन ?
गर्दैन । गर्भवतीलाई संक्रमण भएर पछि निको भयो भने त्यसले बच्चालाई असर गर्दैन । तर, आफूलाई कोभिड भएकै कारण कोही गर्भवतीलाई त्रास र चिन्ता छ भने त्यसले गर्भको बच्चालाई असर गर्न सक्छ । २०७२ सालमा भूकम्पको जाँदा धेरै गर्भवती महिलाहरूमा यस्तो समस्या देखिएको थियो । उनीहरूलाई देखिएको त्रास र चिन्ताले बच्चालाई निकै असर गरेको थियो ।

संक्रमित आमाबाट जन्मिएको बच्चा संक्रमित नै हुन्छ कि संक्रमित नहुन पनि सक्छ ?
नेपालमा धेरै कोभिड संक्रमित आमाहरूको डेलिभरी भएको छ, अप्रेसन भएको छ । प्रसुति गृहमा मात्रै ३५-४० जना संक्रमित आमा सुत्केरी भइसके । त्यस्तै, अरु अस्पतालले पनि संक्रमित आमाको डेलिभरी गराउँदै आएका छन् । कोभिड पोजेटिभ आमाबाट जन्मिएका सबै बच्चाहरू पोजेटिभ नै हुन्छन् भन्‍ने छैन ।

धेरै गर्भवती महिला कोभिडविरुद्धको भ्याक्सिन लगाउने कि नलगाउने भनेर दोधारमा हुनुहुन्छ, उहाँहरूले भ्याक्सिन लगाउन मिल्छ कि मिल्दैन ?
गर्भवतीले भ्याक्सिन लगाउने भन्दा पनि भाइरसबाट भरसक जोगिने उपाय अपनाउनु पर्छ । गर्भावस्थामा भ्याक्सिन लगाउनु हुँदैन । तर, बच्चा पाइसकेको केही समयपछि भने लगाउँदा पनि हुन्छ ।

संक्रमित आमाले आफ्नो बच्चालाई स्तनपान गराउन मिल्छ कि मिल्दैन ?
मिल्छ । तर, बच्चालाई संक्रमणबाट जोगाएर सकिन्छ कि सकिँदैन विचार पुर्‍याउनुपर्छ । आमाले निकै नै सावधानी अपनाउनुपर्ने हुन्छ । तर, बच्चा पाइसकेपछि आमामा कोभिड इन्फेक्सन देखिएको छ भने स्तनपान नगराउँदा बेस हुन्छ । राम्ररी सावधानी अपनाउन नसक्दा बच्चामा सर्न सक्छ । आमालाई नेगेटिभ नआउँदासम्म बच्चा र आमालाई अलग राखेको राम्रो ।

बच्चालाई नै कोभिड देखियो भने चाहिँ के गर्ने ?
बच्चालाई पनि सकेसम्म जोगाएर राख्‍ने हो । तर, कोभिड भइहाल्यो भने पनि उनीहरूलाई स्याहार गर्दा सुरक्षित हुनुपर्छ । मास्क र पन्जा लगाउनुपर्छ । यस्तो बेलामा गर्भवती, सुत्केरी वा नवजात शिशुमा कोभिड भयो भने आत्तिनु हुँदैन । मनोबल उच्च राख्नुपर्छ । मनोबल उच्च राख्नु नै अहिलेको अवस्थामा सबैभन्दा ठूलो औषधि हो । गर्भवती र सुत्केरीलाई निराश र डिप्रेस्ड हुन दिनु हुँदैन । यो बेलामा उनीहरूलाई हाम्रो राम्रो बोली, व्यवहार र सहयोगको खाँचो छ ।

काकाकुल तानसेन : कोरोनाको डर भन्दा खानेपानीको पिरलो

विजयकुमार बौडेल – 

कोरोनाका कारण लकडाउन भएपछि विद्यार्थी, कर्मचारी तथा भाडामा बस्ने व्यक्तिहरु गाउँगाउँ गएको अवस्थामा पानीको खपत कम हुँदासमेत उपभोक्ताको घरमा दुई हप्तामा सम्म पानी नआउँदा तानसेनवासी समस्यामा परेका छन् ।

धारामा पानी नआएर अधिकांश तानसेनबासीहरु ढुङ्गेधारामा धाउन बाध्य छन् । तानसेन बडिज्ञानटोलकी वसन्ती सारुले ढुंगे धारामा पानी लिन जान पनि कोरोनाको संक्रमण हुने डर लाग्ने बताउनुभयो । दुई हप्तामा पानीको धारा आउँदासमेत १ घण्टा मात्र पानी आउने गरेको सारुले बताउनुभयो । खानेपानी उपभोक्ता समिति जिम्मेवार नभएकै कारण खानेपानीको समस्या भएको सारुको भनाई छ ।

तानसेन खानेपानी उपभोक्ता समितीमार्फत तानसेनमा खानेपानी आपुर्ती हुँदै आएको छ । लकडाउनको बहाना बनाउँदै समितिका पदाधिकारी तथा कर्मचारीहरु जिम्मेवारीबाट पन्छिने गरेका छन् । कालीगण्डकी पानी माघभित्र आउने भनी तानसेनबासी तथा पत्रकारहरु माझ सार्वजनिक गरेको समितिले अहिलेसम्म कालीगण्डकीको पानी तानसेनसम्म ल्याउन सकेको छैन । तानसेनमा दैनिक २५ लाख लिटर पानीको आवश्यकता भए पनि हाल दैनिक रुपमा ७ लाख लिटर पानी मात्र पुर्ती हुँदै आएको छ ।

तानसेनमा अहिले एक हप्तादेखी १५ दिनमा एकपटक धारामा पानी आउने गरेको छ । कक्षा १० मा अध्ययनरत तानसेन सिल्खानटोलकी स्वस्तिका कर्माचार्यले पानी लिन ३ घण्टा लाईन लाग्नुपर्ने बाध्यता रहेको सुनाउनुभयो । जनता माध्यमिक विद्यालयका विद्यार्थी सौगात श्रेष्ठले पढ्ने समयमा पानी लिन समय कुर्नुपर्ने समस्याले पढाईमा समेत बाधा पुगेको गुनासो गर्नुभयो । ‘अहिले कोरानाको डरभन्दा गाउँमा खानेपानीको पिरलो छ,’ तानसेन मेहलधा।राकी विष्णुमाया महर्जनले भन्नुभयो, ‘बिहानदेखि रातिसम्मै पानीको चिन्ता हुन्छ ।’

लेववाणी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी मञ्जिता परियारले खानेपानी समस्याका कारण महिला र बालबालिकाले लामो समयदेखि सास्ती भोग्दै आएको बताउनुभयो । ‘पानीको चिन्ताले कोरोनाको डर लाग्नै छाड्यो,’ परियारले भन्नुभयो, ‘लकडाउनको समयमा पानी ल्याउन र मुहानमा कुरुवा बस्नै ठिक्क छ ।’ उहाँका अनुसार बिहान झिसमिसेमै मुहानमा पुग्दापनी तिन चार घण्टा पालो कुर्नुपर्ने बाध्यता छ ।

‘काम गर्न गए पनी थाप्न आउन भ्याईन्न । पानी थाप्न आए काम गर्न जान भ्याईन्न ।’ दैनिक ज्याला मजदुरीको काम गर्ने असनटोलका सञ्जय माझिले दुखेसो पोख्नुभयो । उहाँका अनुसार दैनिक ज्याला मजदुरीको काम गरेर खानेहरुलाई तानसेनको खानेपानी समस्याले निकै समस्यामा पारेको छ ।

कालिगण्डकीबाट ४० लिटर प्रति सेकेण्डको दरले दैनिक २४ लाख लिटर पानी ल्याउने भनिएको काम अझै सुचारु हुन सकेको छैन । गत वर्षको फागुनभित्रै कालिगण्डकीको पानी आउनुपर्ने भनिएपनी म्याद थप्ने काम मात्र भईरहेको छ ।
तानसेनको खानेपानी आपूर्ती गर्न मृत शंजिवनी कम्पनीले २७ करोडको ठेक्का सम्झौता गरेको छ । २५ करोडको पानीको लागि आवश्यक पूर्वाधार बनाउने ठेक्का हो ।

कालीगण्डकीको पानी ल्याउन ८ इन्चको पाईप लाईन विस्तार भैसेको छ । तर खानेपानीलाई नियमित र व्यवस्थित बनाउन भन्दै तानसेन खानेपानी उपभोक्ता समितिले जिम्मेवारी लिएपछि तानसेनमा खानेपानीको समस्या झन विकराल बन्दै गएको उपभोक्ताहरु बताउँछन ।