सामुदायिक रेडियो मदनपोखरा
spot_img
Home Blog Page 23

कोरोना सचेतना जगाउँदै रानीचुँडी टोल विकास संस्था

विजयकुमार बौडेल – 
बैशाख २९ – रानिचुँडी टोलविकास संस्था तानसेन ९ ले आफ्ना सदस्यहरुलाई कोरोनाका लक्षण, बच्ने उपाय र अपनाउनुपर्ने सजगताका विषयमा सचेत गराएको छ ।

विश्वभर फैलिएको कोरोना भाईरसको संक्रमण नेपालमा पनी दिन प्रतिदिन बढिरहेको अवस्थामा नागरिकले अपनाउनु पर्ने सजगताका विषयमा सचेत गराएको हो । संस्थाले सबै ६६ परिवारहरुलाई साबुन वितरण गर्दै कोरोना बाट बँच्न नियमित रुपमा साबुनपानीले हात धुन र गुणस्तरिय सेनिटाईजर प्रयोग गर्न अनुरोध गरेको छ ।

संस्थाकी अध्यक्ष लक्ष्मी अर्यालले सबै परिवारका सदस्यहरुलाई सचेत बनाउनको लागी उदाहरण प्रस्तुत गर्न साबुन वितरण गरिएको बताउनुभयो । अर्यालले सबैलाई सचेत, सजग र सतर्क रहन अनुरोध समेत गर्नुभयो ।

संस्थाकी सचिव कल्पना भण्डारीले विश्वभर फैलिएको कोरोना भाईरस बाट बँच्ने सबैभन्दा उत्तम उपाय भनेको सरकारले लागु गरेको लकडाउनको पुर्ण रुपमा पालना गर्नु नै भएको बताउनुभयो । भण्डारीले लकडाउनको कारणले दैनिक जिवनयापन गर्न समस्या भएका मजदुर परिवारलाई संस्थाले स्थानिय तहको पहलमा सहयोग गर्ने बताउनुभयो ।

वडा सदस्य विनिता लुँईटेलले दैनिक जिवनयापन गर्न कुनै पनी खालको समस्या आएमा जानकारी गराउन अनुरोध गर्दै स्थानिय तहले सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । लुँईटेलले दैनिक जिवनयापनका लागी अप्ठेरो परेकाहरुलाई सहयोग गर्ने विषयमा वडा तहबाट कुनैपनी कसर बाँकी नराख्ने बताउनुभयो ।

संस्थाले विभिन्न समयमा सदस्यहरुका लागी जनचेतनाका कार्यक्रमहरु गर्दै आईरहेको छ ।

तानसेन वैदेशिक रोजगारबाट फर्कनेलाई आगामी बजेटमा प्राथमिकता दिने

पाल्पा । तानसेन नगरपालिकाले आगामी वर्ष वैदेशिक रोजगार, अध्ययन र व्यवसायका सिलसिलामा देश बाहिर रहेका नागरिकलाई समेत प्राथमिकता दिएर बजेट तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । विश्वभर कोरोना महामारी र बन्दाबन्दीको अवस्थापछि वैदेशिक रोजगारमा रहेका नागरिकहरु स्वदेश फर्कन चाहेकाले आगामी बजेटमा प्रवासी तानसेनबासीलाई प्राथमिकताका साथ बजेट ल्याउने तयारी गरेको तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले बताउनुभयो । नगरपालिकाले अहिले वैदेशिक रोजगार, अध्ययन, व्यापार र व्यवसाय गर्न विदेश गएकाहरुको तथ्यांक संकलन गर्ने कार्य सुरु गरेको छ ।
तानसेन नगरपालिकाले दुई वर्ष अगाडि संकलन गरेको तथ्यांक अनुसार ५ हजार ५ सय ३८ नागरिक बाहिर रहेको देखिन्छ । तानसेन नगरपालिकाको पाश्र्वचित्र २०७५ को तथ्यांकलाई अपडेट गर्न आवश्यक देखिएकाले ई–फारम तयार गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेल्बासेले सही तथ्यांकका आधारमा योजना बनाउन फारम तयार गरी सार्वजनिक गरिएको बताउनुभयो । विदेशमा रहेका तानसेनबासीले यो फारम भर्न नगरपालिकाको विशेष अनुरोध रहेको छ ।
फारमको लिंक यो रहेको छ ।

जीवन : चिहान सम्मको दौड

विजयकुमार बौडेल – 

सेतो कात्रोमा गोजि हुदैन । मसानघाटमा रोजी हुदैन । किन तँछाड मछाड गर्दैछौं ए साथी ?
मरिसकेपछी कसैको खोजी हुदैन ।

सानै थिएँ, पैसा कमाउन सजिलो थियो, बाबाममी संग माग्ने, नदिए रुने, कहिलेकाँही बाबाको गोजी बाट ५÷१० रुपैंया सुटुक्क निकाल्ने । बुबा जुन उमेरसम्म रूख चढ्न सक्नु हुन्थ्यो म साेंच्थे पैसा रूखमा फल्छ । जब त्यो रूखसँग सँगै बुबा बुढो हुनु भयो र रूख चढ्ने पालो मेरो आयो । रूखमा मैले पैसा हैन, पात मात्रै पाए र थाहा पाएँ आज बुबाको पैसामा आउने त्यो नमिठो गन्ध उहाँको पसिनाको थियो ।

 

बुबाले पसिनासँग साट्नु भएको पैसा र त्यो पैसासँग साटेको मेरो नयाँ लुगा आजभोलि जति पुराना भएका छन् । त्यति नै ताजा भएर आउँछ ति यादहरू र म हेर्छु आजकाल यी ठेला उठेका हातहरू अनि सम्झन्छु बुबाका ती आधा भरिएका पेटहरू जो अघाएनन् कहिल्यैै “म” नअघाउँला भनेर ।

आजकल,
आजकल आफ्नो निधारबाट बगेका पसिनाहरू जब देख्छु आफै, मैले नदेख्ने गरि भिजेका बुबाका सिरानीहरू सम्झन्छु । आखिर, आँशु र पसिना उस्तै उस्तै हो सायद पसिना घामको राप सहन नसकेर बग्छ र आँशु मनको ताप सहन नसकेर बुबा उभिनु भएको त्यो धरातलमा आज म खडा छु र म बल्ल बुझ्दैछु जिन्दगी ।

हो, म जब बुवाको जिम्मेवारी सम्हाल्न सक्ने बने, मैले बुबालाई धेरै सम्झेँ र आज म सम्झँदैछु, मैले समयमा नसम्झेको यो कुरा कि पैसा रूखमा फल्दैन । सुघेर हेर, हरेक नोटमा मेरो पसिनाको नमिठो गन्ध आउँछ ।

बुवा जस्तै तिमि र म पनी कुनैदिन सेतै फुलौंला ।

सुखै सुखले दिएको पिडा दुखमा परिणत होलान् । भरिएको गाग्रि पोखिन थाल्ला । ढकमक्क फुल अनि राम्रो रुप पनी उमेर संगै चाउरिएर जाला । हामी बुढा बुढी एक्लै घरमा हौंला । छोरी बिहे गरि टाढा घर जालीे, जेठो छोरा बिदेशतिरै हान्निएला । कान्छो छोरा सधै मोबाइल फोनमा झुण्डिएला । तिमि र म एक्लै हौंला ।

तर बर्षको एक चोटि
मुख हेर्ने दिनमा कहिले म बुढाको त कहिले तिमी बुढिको फोटो हाल्लान् फेसबुक र ट्वीटरमा । चिनेको साथीभाइ र केही नातेदारहरु सबैले त्यो दिन तँछाड मछाड गर्दै लाइक र कमेन्ट हान्लान्, तिमी उता खोक्दै चुलोमा भात भर्साउँदै होलेउ, म पिँढीमा बसेर लौरोले कुखुरा धपाउँदै हुँला । त्यतीबेला न फेसबुकको रमाईलो हेरिएला, न टिकटक नै ।

एउटा सानो झुपडीमा मात्र तिमि र म हुँला, छोराछोरी आफ्नै सुरमा होलान् । नातीनातीना त झन धत् फोहरी बुढाबुढी भन्दै जिस्क्याउलान् । तर शंका लाग्छ
हामीलाइ अहिले चिन्ने कत्तिले त्यो बुढो अवस्थामा चिन्लान् कि नचिन्लान् ? सम्झेलान कि नसम्झेलान् ? खै कुन्नि ? बाटोमा भेटे देखेझैं गर्लान कि नगर्लान ? बोल्छन कि बोल्दैनन ?

पोहोर साल सबैजना हाँस्दै घरमा रङ पोतेका छोराबुहारी बजार पस्लान् । छोरो विदेश गए बुहारी मात्र भएपनी बजार छिर्लिन । तिमी छोराछोरीको सम्झनामा चाउरी परेको अनुहार आँशुले पोत्दै धुँवाले डढेको भित्तो माटोले पोतौली ।
म दुखेको ढाड समाती समाती बर्षभरी नधोएका कपडा धुन थालौंला । चाडबाड मान्न अरु कोही नहोलान् । सपना बेचेर सपना किन्न हिँडेका हामी कतीबेला अस्ताउँला ? जतीन्जेल संगै भईएला, निरन्तर यसरी नै बाँचौंला ।

बर्षौंदेखि हजारौं माईल यात्रा गरेर थाकेका पैताला पटपट फुटेका होलान् । कहिले खाली खुट्टा हजारौं उकालो चढेको याद त कहिले वर्षौँ पहिलेदेखिका आमा, बाबु र गुरुहरूका पिठ्युँका धापहरूले जीवनभर रोमाञ्चित गरिरहलान् ।

देशभरी बुढा पाका मात्र होलान् , युवा जती त्यही खाडीमै जालान् । आउलान् भन्ने आश त कमै होला, बाध्यताले आउनेहरु पनी काठको बाकसमै आउलान् । यता पुरानो घर चुहेर आमाबाबु भिज्दै होलान् ।
आफ्नो घर चुहेको छाडेर अर्कैको घर छाउन जालान् ।

गरिब झन झन गरिव हुँदै जालान् । गरिबको शरीरमा लुगा छैन, धनी झन झन धनी हुँदै जालान् । शरिरमा कसैको लुगा छैन,
गरिबलाई गरिबिले उतारेको होला, धनीलाई सम्पत्तिले उतारेको होला । धनी संग धन मात्र होला । गरिब संग मन मात्र होला । धन हुनेहरु संग मन कहिल्यै नआउला, मन हुनेहरु संग धन कहिल्यै नआउला ।

गरिब भएपनि अहिले सम्म भिख माग्नुपरेको छैन । एकदिन कमाउछु, म अझै मरेको छैन । थाहा छ मलाई कोही महलमा बस्छन् तरपनी म त सडकमा बास गरेको छैन । टालेको लगाउँला, सिस्नो खोले खाउँला । तर मान्छेको नजर बाट झरेको छैन ।
पसिनाको कमाईले सधै सन्तुष्टि दियो । जता सुख छ, म उतै उतै सरेको छैन । मान्छे कहिलेकाही काम लाग्छ भनेर । दुश्मनलाई पनि कर्के आँखा तरेको छैन ।

दुःख पाउँदा दुःखी हुन सक्नेले सुख पाउँदानी दुःखी हुन सक्नुपर्छ । आफुलाइ दुःखी सम्झिनहरुले अरुको पीडा पनी बुझ्न सक्नु पर्छ, दुःख पाउँदा भगवानलाइ पुकार्नेले सुखमा पनी भगवानलाइ पुकार्नु पर्छ । दुःख पाउँदा मलाइनै दुःख किन भन्नेले सुखमा पनी मलाइ सुख किन भन्न सक्नुपर्छ ।

जसको एउटा पनि सत्रु छैन, जो सत्रु छ त्यही मित्र बन्छ, दुनियामा समस्या नभएको को होला, समस्या बिहिन त चितामा पो पुग्छ ।

ओए । मान्छेको जात
एक मुठी गास, एक मुठी सास र अलिकति जिउनुको आभासका लागि नमर्दासम्म एउटा कौवा पनी पखेटा फट्फटाउदै उड्छ । मान्छे चाहना भट्भटाउदै हिँड्छ । के फरक भो कौवा र मान्छेको बिचमा ?

मृत्युलाई धकेली धकेली मृत्युकै संघारसम्म कौवाले काट्ने समय र मान्छेले बिताउने जीवन के यौटै होइन ? फोस्रा शब्दालङ्कार र बोक्रो दर्शनलाई छोडाउने हो भने
मान्छे पनी नाङ्गो छ जसरी कौवा नाङ्गो छ ।

बाँकी जीवन मस्ति गरौँ, जस्तो सुकै होस । के लानु छ र मर्दा खेरि खालि हात जान्छौँ धेरै छटपट किन गर्नु यसै उसै मर्छौ मर्छौ ।

के को चिन्ता बोकिरहनु यो मर्ने चोलामा मरेपछि खरानी नै बग्ने होखोलामा । फेवातालको किनारमा बसि एकोहोरो टोलाइ रहेको मृत आत्माले चीर निद्रामा बोलाइ रहेको झुस्स दारी पालेर दृष्टि माथी कालो चस्मा हालेर इच्छा मरेको लास झै थिच्चिदै घिच्चिदै आकाश खन्न निस्किन्छ

समय गतिशिल छ समयले दिएको चोट समयले नै भर्ने रहेछ । जिवनमा दुख पछि नै सुख आउँछ भन्छन् । तर त्यो सुख पछी फेरी दुख पनी अवश्य आउँछ । जिवनमा अनगिन्ति मोडहरु आउँछ र जान्छ । सुख र दुखको बीचमा बाँच्न सक्नेले वास्तविक जीवन बाँच्न सिकेको हुन्छ ।

जस्तो सुकै परिस्थितमा पनि लड्न सक्नु पर्छ । यो नै सफलताको मानव जीवनको सार्थकता हो । जिवनमा धेरै कुरा गुमाए पनी त्यो भन्दा धेरै कुराहरु पनि पाएको छु भनेर आत्मसन्तुष्टी हुन सिक्नु नै जिवन हो । सर्घष नै जिवन हो । तनाबले नै त मान्छेलाई संघर्ष गर्न सिकाउँछ, तिखार्छ, मस्काउँछ, चम्काउँछ अनि पूर्ण परिपक्क मान्छे बनाउँछ । यो कुरा कदापी विर्सन हुँदैन । संघर्ष गर्नेहरु बाँच्छन्, नसक्नेहरु लापत्ता भएर जान्छन् । डाईनोसर जस्तो ।

तानसेनमा गणित विषयको सिकाई उपलब्धी कमजोर

पाल्पा । तानसेन नगरपालिका आधारभूत तह उत्र्तीण परीक्षा कक्षा ८ मा ८१ जनाले ३ दशमलव ६ देखि ४ जिपिए ल्याएका छन् ।

तानसेन नगरपालिकाले परीक्षाफल प्रकाशन गरेको दुई हप्तापछि विद्यार्थी नतिजाको सारांश सार्वजनिक गरेको छ । आधारभूत तहको अन्तिम परीक्षा मानिने कक्षा ८ को परीक्षा नगरपालिका आफैले लिएको थियो । नगरपालिकाको शिक्षा शाखाअन्तर्गतको परीक्षा समितिले प्रश्नपत्र प्रकाशन, परीक्षा सञ्चालन, कोडिङ र डिकोडिङ गरी उत्तरपुस्तिका परीक्षण गरी परीक्षाफल प्रकाशन गर्दै आएको छ ।

नगरपालिका भित्रका ३७ विद्यालयका १ हजार १ सय २६ जनाले परीक्षा दिएकोमा औषत विषयगत उपलब्धी २ दशमल ७९ रहेको शिक्षा शाखा प्रमुख रेशमलाल न्यौपानेले बताउनुभयो । माध्यमिक तहमा प्रवेश गरेका अधिकांश विद्यालयका विद्यार्थी गणित विषयमा कमजोर रहेका छन् । गणितमा ग्रेड प्वाइन्ट १ दशमलव ४१ मात्र रहेको छ । गणितमा डि र इ ग्रेड ल्याउने ६ सय ५० जनाले ग्रेड वृद्धि परीक्षा दिनुपर्ने बाध्यता रहेको नतिजाले देखाउछ । गणित विषयमा प्रयोगात्मक परीक्षा नहुँदा सिकाई उपलब्धी कम देखिएको गणित शिक्षकहरुको भनाई छ ।

गणित र विज्ञान विषयमा कमजोर हुने विद्यार्थीले प्राविधिक धारका विषय पढ्ने पाउँदैनन् । नगरपालिका र विद्यालयले गणित र विज्ञान जस्ता विषयको पठनपाठन प्रभावकारी बनाउनुपर्ने अभिभावकहरुको सुझाव रहेको छ । अंग्रेजीको हाउगुजी मानिने विषयमा समेत तानसेनमा ग्रेडवृद्धि परीक्षा दिनुपर्ने विद्यार्थी संख्या जम्मा एक जना मात्र रहेको छ ।

विषयगत सबैभन्दा उच्च ग्रेड
नेपाली १५ ए प्लस GP
गणित १० ए प्लस GP
अंग्रेजी १५७ ए प्लस GP
सामाजिक ८६ ए प्लस GP
विज्ञान २८ ए प्लस GP
पेशा व्यवसाय तथा प्रविधि शिक्षा १४७ ए प्लस GP
नैतिक शिक्षा ४६४ ए प्लस GP
स्वास्थ्य तथा शारीरिक शिक्षा २६० ए प्लस GP
स्थानीय विषय ४३ ए प्लस GP

डियर कमरेड !

विजयकुमार बौडेल – 

लेख्नलाई समय चाहिन्छ भन्ने धेरै लेखक भेटेको छु मैले । तर मलाई लेख्न समय हैन मुड चाहिन्छ ।

‘कतिखेर समय मिलाउँछस् यार ! लेख्नलाई ?’ धेरै जसो अग्रजहरुको पहिलो प्रश्न यही हुन्छ मेरा लागि । म खिस्स हाँसेर टारिदिन्छु । उनीहरुको अगाडी मुडको कुरा गर्न पनी खासै उपयूक्त लाग्दैन । उनीहरुलाई चित्त बुझ्दैन सायद । फेरि त्यही प्रश्न दोहोरिन्छ । म कुरा अन्तै मोडिदिन्छु ।

मेरो पनि आफ्नै भोगाई छन् । कति अरुसँग मिल्छन् र तिनै कथा बनिदिन्छन् । कति अझै ओकल्न बाँकी छन् । ओकल्ने तरिका भनेकै लेख्ने हो । पढ्नेहरु वा ! वा !! भन्दै आउँछन् कथा जस्तै मानेर । नपढ्नेहरु पनि शीर्षक मात्र पढेर भए पनि आउँछन् वा ! वा !! गर्दै । तर हौसला चैं सबैले दिन्छन् ।

‘कति पीडा र विभेदका कुरा मात्र लेख्छस् यार ! कहिलेकाहीँ त जीवनका मोजमस्ती पनि लेख न । एकजनाले भेटेरै भने । खिसिक्क हाँस्दै भन्दिएँ ‘जीवनमा पीडा बाहेक केही छैन । जति निस्कन्छन् सबै पीडाका कथा बनिदिन्छन् । अब खुशी हुने दिन नजिकै छन् त्यसपछि खुशी नै खुसी ।’ ऊ हाँस्यो । म नहाँस्ने कुरै भएन ।

उसको ध्यान अन्यत्र मोड्न चाहे ‘चिया पिउँ है ?’
उसले घडी हे¥यो, अब चिसो चिया पिउने बेला भयो, कुन चिया खुवाउँछस् ?’
एकछिन दुबै हाँस्यौ, फेरि । मैले छिमेकमा भएको चिया पसलबाट दुई कप चिया अर्डर गरे अनि मोबाइलको स्क्रिन अन गरे । तीनवटा म्यासेज । एउटा उनको थियो ।

उनी
परिचय हजुरहरु सँग पनि गराउन मन छ, तर अव परिचित गराउन धेरै समय छैन । सके जन्ती नै बोलाउँला, नसके भोजमा । त्यसमा पनी भएन भने फेसबुकमा शुभकामना दिएका शब्द हेरेर थाहा पाउनुहोला । उनी अर्थात् मेरो गोप्य लभर पनी हैनन् । पछिल्लो समय फेसबुक र टिकटकमै सार्वजनिक गरिदिएको छु । सुरुसुरुमा त पानका पात र ईमोले मुख छोपी छोपी फेसबुकमा स्टोरी राख्न खुब मरिहत्ते गरियो । पछि लाग्यो ह्या ! जिवन कटाउने मान्छे पनी गोप्य राखेर हुन्छ त ?

जीवनमा केही त्यस्ता पात्र हुन्छन् जो समाजमा देखिँदा छुट्टै नातामा देखिन्छन् भने गोप्यमा छुट्टै नाता । तर मैले उनलाई देख्दै असल साथी मानेको थिएँ । आफन्त र नजिकका ईष्टमित्रले सिधै कुरा चलाउने कुरा गरे । मैले भनें । जिवन काट्ने मान्छे संग म आफै कुरा गर्नुपर्छ । मैले नै बुझ्नुपर्छ ।

मैले उसलाई डियर कमरेड भन्छु । उ पनी मलाई कमरेड नै भन्छे । डियर कमरेडको अर्थ नै खोजी हेरें अनी उसलाई पनी म्यासेज गरें ।
डियर कमरेड
जब कोइ अपने अधिकारोके लिए लड्ता हे, उसे बडी हिम्मतसे काम लेना होता हे, हो सकता है उसे बहुत सारे परेसानीओको सामना करना पडे, उस वक्त जो हौसला बढाता हे, और मन्जिल पानेमे उसकी मद्दत करे

उस इन्सानको कहेते हे कमरेड ।

हिन्दी बुझ्दिन भन्ने उसलाई एक एक शब्दको अर्थ बुझाएँ । डियर कमरेडका आँखामा आँशु आए ।

म पत्रकार हो । रेडियो र अनलाईनको पत्रकार । मेरो घरभन्दा करिब करिब दुई सय पचास किलोमिटर टाढा बस्ने उ । अब कोइकोई साथीले हिसाब लगाउँदै हुनुहुन्छ होला । यती टाढा ।

तर मलाई लाग्छ दुरी त केवल मन नहुनेहरुको लागी मात्र न हो । मन र विश्वासलाई साथमा राखेर अघी बढे दुरीले झन माया गाढा हुन्छ । यो दुरीको विचमा धेरै मानिसहरुले भाँड्न र बिगार्न पनी नखोजेका हैनन् तर विश्वास र भरोसाको अगाडी कसैको केही लागेन । हाम्रो सम्बन्धलाई देखेर ¥याल चुहाउने धेरै भेटिए तर बिगार्न कदापी सकेनन् र कहिल्यै सक्दा पनी सक्दैनन् । लौ जा !

मैले मोबाइल खेलाउन थालेसी ती मोजमस्तीका कथा लेख भन्ने महासय टाप कसेछन् । धन्न चिया चै पिएछन् । मैले मोबाइलमा उसलाई रिप्लाई गर्दिएँ । ‘कता बिजी साना ! फोन गरम ?’ उत्तर आएन ।

फोन गरें, उठेन । फेरी फोन गरें स्विच अफ ।

म अनि पश्चिमको तानसेन बजार ।
एक अर्काको आखाको दहमा
डुबेका छौ । फोन लाग्दैन
परेली झिमिक्क नगरी
म पर्खिरहेको छु ।

जन्मिनै लागेको त्यो नाबालक सम्बन्ध
बर्षिन लागेको आकाशको परेलीमा
केही छिटा रातो परेको छ,
त्यो छिटाको एक छिर्का उच्छिटिएर
मेरो आखाको नानीमा थपक्क बसेको छ ।
निद लाग्दैन पटक्कै ।

अनि कोरिएको छ एउटा
रातो धर्सो मुटुको बीचमा प्रेमको रङ बनेर ।
फेसबुकमा म्यासेज लेखेकै भरमा काटें रात उनैलाई सम्झँदै ।

प्रेम सम्बन्धको कथाको न छेउ छ न त टुप्पो । कहाँबाट शुरू गरूँ ।
ऊ रिसाएकी थिई । पैला फकाउँ कि आफ्नै कथा भन्न थालु । एकछिन फेरि दोधार भयो । पैला फकाउँछु । ऊ नै नरहे कथा कहाँ रहला र ?

नरिसाउ न, कुरा गर न । सरी । मैले फकाउन जानेको शब्द यत्ति हो । तर, ऊ म्यासेज हेरेर पनि बोलिन । मतलव रिप्लाई गरिन ।

अनलाइनमै बसेकी उसलाई फेरि लेखें ‘कान्छी ! हाम्रो सम्बन्ध जुनीजुनीलाई हो, जिवनमा कती समस्या पर्छन, मान्छे मरेर जानु पर्छ । रिसलाई लामो समय राख्नु हुन्न । यो पटक उसले म्यासेज हेरेको दुई सेकेण्डमै केही लेख्न थाली ।
म्यासेन्जरमा देखियो । डियर कमरेड ईज टाईपिङ………. म मख्ख ।

‘बादर !’ उसले यत्तिमात्र पठाई ।

कसैले मलाई बाँदर भनोस् त, ओ हो म साच्चिकै बाँदरै बनेर ऊ माथि जाइलाग्छु होला । बाँदरले न आफ्नो घर बनाउँछ न अरुको बन्न दिन्छ भन्या जस्तै म क्रोधले पागल हुन्थें होला । तर अफसोच ! उसले बाँदर भन्दा म आफूलाई सलमान खान भन्दा हेन्सम भएको महशुस गरें । संसारकै सबैभन्दा सुन्दर पुरुषको कल्पना आफैमा गरें । यति खुशी भएँ कि अहिले के बयान गरुँ ।

कथा भन्न भनेर बसेको म । उसलाई फकाउन च्याटमा हाजिर भएको म । मैले दस मिनेटमा फकाएर फेरि आफ्नो बनाएँ ।
मीठो शब्द लेखेर पठाए “नक्कली”
उसले भनी “हजुर”

शुरू भयो हाम्रो प्रेम वार्ता । जीवन चलाउने देखि प्रगति गर्नेसम्म, इज्जत गर्नेदेखि नाता सम्बन्ध गाँस्ने सम्मका कुरा भए, अनि हुन्थे । जाबो आई लभ यु र मिस यु साना त कति भनियो कति । पछिल्लो चरणको च्याटमा त चुप्पा सम्म दिन भ्याएँ । तर उसले त्यसको रिप्लाई दिईन ।

उसले हास्दै भनी “छ्या ईन्टरनेट कस्तो झिरझिर आएको । केही बुझिन ।”

मैले पनी बुझाउने कोसिस गरिन । नबुझेकालाई पो बुझाउनु, बुझेर पनी जिस्काउनेलाई के बुझाउनु ?

दैनिक रुपमा हुने कुराले हाम्रो घाग्रान लभ प¥यो । ‘जिना सिर्फ मेरे लिए’ भन्ने खालको लभ प¥यो । एताबाट ‘आई लभ यु’का झटारो अनि यताबाट ‘टु’ मात्रका पुष्पगुच्छा कति फ्याँकियो कति ।

फोटो आदानप्रदान हुन्छ । चट्ट हेन्सम देखिएको फोटो म पठाउँछु । उ पनि उस्तै राम्री भएको फोटो पठाउँछे । फर्सी झैं पुक्क फुलेको अनुहार उसले हेर्छे । पाक्न लागेको स्ट्रबेरी झैं उसको अनहार मैले हेर्छु ।

मनमा कुरा फुर्छ । तिमीलाई बिदा गर्न कुनै रोमान्टिक कविको कविताले पनी सक्दैन ।

दुर्भाग्य ! म फरक तरिकाले सोच्छु । जुन मेरो बानी हो ।

कुनै डाँकु होस् या सन्त । उसको अन्तिम सहारा प्रेम हो ।

तिम्रो नाममा यो पहिलो तर अविष्मरणिय हो

प्रथम रजस्वलाको रगत जस्तो यो कथा विल्कुल काँचो हो, मन भित्रैको कथा हो ।

म यो जिवनलाईलाई देखावटी बनाउने छैन । म यो जिवनमा कुनै फूलबुट्टा भर्ने छैन । म यो जिवन कुनै पराईलाई छुन दिने छैन ।

यो कथा
कुनै क्रान्तिकारी कविले धार्नी र बिसौलीमा विम्ब जोखी जोखी लेखेको कथा होइन ।

यो कथा
कुनै कृष्णभक्ति धाराको कविले बिहानै गङ्गा–स्नानपछि पवित्र चन्दन धसेर पलेंटी मारेर सोचेको कथा पनि होइन

म जे लेख्दैछु साँचो–सही–सलामत लेख्दैछु हुन त यावत् व्यहोरा नलेखे पनि हुने
थियो
तर, लेखेँ– यति लामो कथामा मैले भन्नु पर्ने एउटा सरल वाक्य न हो जुन संसारकै जटिल भाषा हो,

त्यो अब म लेख्छु–
‘‘म तिमीलाई प्रेम गर्छु !’’ म यसलाई हजारौं पटक
लेख्न चाहन्छु । हजारौं पटक भन्न चाहन्छु ।

तर, जिन्दगीमा यति यथेष्ट ‘टाइम’ र ‘स्पेस’ नहुन पनी सक्छ ।
वश् ! एकैखेप दोहो¥याउँछु !

‘‘म तिमीलाई प्रेम गर्छु !’’

जिल्लाका किसानको तरकारी फालाफाल, बाह्य जिल्लाको तरकारी आयात खुला


विजयकुमार बौडेल – 
वैशाख १७ – पाल्पामा बाह्य जिल्लाको तरकारी आयातमा रोक लगाएपछी जिल्ला भित्रैको तरकारी सुरक्षित हुँदाहुँदै फेरी प्रशासनले आयात खोल्दा नागरिकले जोखिम बढेको महसुस गरेका छन् ।

किसानकै मुल्यमा तरकारी पाउँदा नागरिक खुसी भएपनी जिल्ला प्रशासन कार्यालयले व्यापारीहरुको दवावमा जिल्ला बाहिरका तरकारी आयात खुला गरेपछी नागरिकहरुले जोखिम महसुस गरेका हुन् । कोरोना भाईरस संक्रमणको जोखिमका कारण केही समय अघि जिल्ला बाहिरको तरकारी रोक लगाएपछी तानसेनमा पाल्पाकै ग्रामिण क्षेत्रका तरकारीले बजार पाउन थालेको थियो ।

तानसेन ८ का एक किसानले भन्नुभयो “हाम्रा बारीका तरकारी नबिकेर हैरान छ, अव उत्पादन हुने तरकारी कहाँ बेच्ने हो ठेगान छैन । प्रशाशनले बाहिरी जिल्लाबाट ल्याउन खुला गरेछ । यहीँको उत्पादनलाई प्राथमिकता दिए त जोखिम पनी कम हुन्थ्यो नी । खै, हाम्रो कुरा कस्ले सुन्ला र ?”

नागरिकहरु पनी जिल्ला भित्रैका ग्रामिण क्षेत्रका तरकारी प्रयोग गर्न पाउँदा खुसी थिए । यसैविच माथागढी बहुउद्देश्यीय सहकारी संस्था चिदीपानीले गाउँका काफल, कांक्रा, गाभा, भुटुक, सिब्लीगान, गोलेभेडा, धनिया लगायत स्थानीय जातका अर्गानिक उत्पादन तानसेन ल्याएपछी उपभोक्ताहरुले हारालुछ भएको छ ।

जिल्ला बाहिरको तरकारीमा कोरोना संक्रमणको जोखिम हुने भएकाले उपभोक्ताहरु जिल्ला भित्रैको तरकारी खरिदमा हारालुछ भएको हो । संस्थाले स्थानीय किसानहरुले उत्पादन गरेका उत्पादनहरु खरिद गरि सस्तोमा बिक्री गरेको छ । तानसेनका शान्ति बस्यालले गाउँका तरकारी अर्गानिक पनी हुने र बाह्य जिल्ला बाट आउने तरकारीमा जस्तो जोखिम पनी नहुने भएकाले जसरी हुन्छ जिल्ला भित्रैको उत्पादन किन्न लालायित भएको बताउनुभयो ।

“प्रशासनले बाह्य जिल्लाबाट आउने तरकारी आयातमा रोक लगाएकै ठिक थियो । यस्तो कोरोना संक्रमणको बेला जोखिम हुने बिषयमा अहिले आत्तिएर खोल्नुपर्ने अवस्था नै थिएन ।” बस्यालले भन्नुभयो । “स्थानिय क्षेत्रका जुनसुकै उत्पादनले बजार पाएको थियो, जिल्ला भित्रैका किसानका उत्पादनले प्राथमिकता र मुल्य पाएका थिए । बाह्य जिल्लाबाट तरकारी आयात खुला गर्नु गलत नै भएको हो । उपभोक्ता बाहिरबाट आएको तरकारी नभई मर्ने अवस्था आईसकेको थिएन ।”

प्रशाशनको निर्णयले तानसेन नगर यूवा परिषद र माथागढी सहकारीकोे निश्वार्थ र सहज रुपमा तरकारी उपलब्ध गराउने कार्य निरुत्साहित भएको बस्यालको भनाई छ । जिल्लाको उत्पादनलाई निरुत्साहित गरेको भन्दै तानसेन यूवा परिषदले निरन्तर रुपमा गरेको सेवामा रोक लगाएको परिषद अध्यक्ष गुरास आत्रेयले बताउनुभयो ।

माथागढी सहकारी संस्था लिमिटेडले भने ग्रामिण क्षेत्रका घर घरमा उत्पादित अर्गानिक उत्पादन बजार पर्याईरहेको संस्थाका अध्यक्ष राजकुमार पन्थीले बताउनुभयो । सहकारीका धेरै किसानहरुका उत्पादन खेर गएको अवस्थामा सहकारीले बिक्रि गरिदिने योजना ल्याएको पन्थीको भनाई छ ।

जिल्ला भित्रै पर्याप्त तरकारी हुँदाहुँदै प्रशासनले यहाँका किसानलाई वेवास्ता गरि व्यापारीहरुको दवावमा बाह्य जिल्लाको तरकारी आयात खुला गर्नु जोखिमका हिसाबले गलत भएको सरोकारवालाहरुको भनाई छ ।

आपूर्ति समितिद्वारा तरकारी आयात फुकुवा, घरघरै सेवा स्थगित

पाल्पा । कोरोनाको त्रास बढ्ने सम्भावनालाई मध्यनजर गरेर अन्य जिल्लाको तरकारी आयातमा लगाइएको प्रतिबन्ध पाल्पाले आज फुकुवा गरेको छ ।

मूलत भारतबाट आउने तरकारी र ढुवानीका क्रममा कोरोना संक्रमण हुन सक्ने भन्दै आपूर्ति समितिले तरकारीमा रोक लगाउने निर्णय गरेको हो । कोभिड १९ संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा सहजीकरण गर्न गठित जिल्लास्तरीय समितिले खाद्यान्न तथा अति आवश्यक वस्तुको अवस्था अनुगमन गर्न आपूर्ति समितिले गठन गरेको थियो । बाहिरी जिल्लाबाट तरकारी आयातमा रोक लगाउने निर्णय गरेपछि स्थानीय उपभोक्ताहरुले ताजा तरकारीका लागि विभिन्न विकल्प खोजेका थिए ।

तानसेन नगरपालिकाले युवा परिषदमार्फत् सहुलियत दरमा घरघरै तरकारी बिक्री बितरण ग¥यो । नगरपालिकाले ढुवानी र प्याकेजिंग अनुदान दिएपछि उपभोक्ताले किसानको लागत मूल्यमै तरकारी खान पाएका थिए । तानसेन युवा परिषदका संयोजक गुराँश आत्रेयका अनुसार १४ हजार किलोग्राम काउली, ३३ हजार १ सय ५० किलोग्राम बन्दा, ८ हजार किलोग्राम कांक्रा, १ हजार ३ सय किलोग्राम सेमी, र ४ सय ५० किलोग्राम धनियाँ तरकारी बिक्री वितरण गरिएको बताउनुभयो ।

असाधारण परिस्थितिमा थालनी गरिएको कृषि भ्यान: घरदैलो सेवा जिल्लास्तरीय आपूर्ति समितिले छिमेकी जिल्लाबाट तरकारी ल्याउन खुल्ला गर्ने निर्णय गरेपछि आफूहरुले स्थगित गर्न बाध्य भएको परिषद संयोजक आत्रेयको भनाई छ । युवा परिषदले आज प्रेस विज्ञप्ति प्रकाशित गरी कृषि भ्यान घरदैलो सेवा स्थगित गर्ने निर्णय गरेको हो । विज्ञप्तिमा परिषदले संविधानले समाजवाद उन्मुख राज्यको परिकल्पना गरेको देशमा स्थानीय सरकारको ढुवानी र प्याकेजिंग अनुदान र सहुलियतपूर्ण सेवा आज नभए भोलि अवश्य सुनिश्चित हुनेछ र कृषि भ्यानमार्फत् घरघरै तरकारीको कार्यक्रम आउने दिनमा अवश्य लागू हुनेछन् भन्ने उल्लेख गरेको छ ।

 

उपभोक्ता हित संरक्षण मञ्च पाल्पाका अध्यक्ष कृष्णराज अधिकारीले तानसेन युवा परिषदले उपभोक्ता र किसानलाई बन्दाबन्दीमा ठूलो सहयोग गरेको बताउनुभयो । उहाँले ताजा तरकारी उपभोक्ताले किसानकै मूल्यमा पाउने ज्ञारेन्टी गरेर घरघरै सेवा दियो, यसको सधैभर उपभोक्ताले संझिरहने छन् भन्नुभयो । जिल्लास्तरीय आपूर्ति समितिले बाहिरबाट आउने तरकारीमाथिको रोक फुकुवा गरेर अधिकतम् नाफा लिने व्यापारी र ठगी गर्नेहरुलाई प्रोत्साहन गरेको दावी गर्नुभयो ।

तानसेन युवा परिषदले कृषि भ्यान सुरु गरेपछि रम्भा, बगनासकाली, माथागढी र तिनाउ गाउँपालिकाले पनि यो सेवा सुरु गरेका थिए । पाल्पाको जिल्ला सदरमुकाममा भएको सकारात्मक अभ्यासलाई सिको गरेका छिमेकी गाउँपालिकाहरुले पनि आपूर्ति समितिको निर्णयपछि घरघरै तरकारी दिने कार्यलाई कार्यान्वयन गर्न सकिदैन । नगर युवा परिषदकाे विज्ञप्ति यस्ताे रहेको छ । 

 

प्रेस विज्ञप्ति !

आदरणीय तानसेनबासी दिदीबहिनी दाजुभाइहरु,
कोरोना महामारी रोकथामका लागि घोषणा गरिएको बन्दाबन्दीका बेला तानसेन नगरपालिकाभित्र ताजा तरकारी पर्याप्त पाउन नसकिएको र तरकारीको मूल्य पनि अत्यधिक रहेको थाहा पाएपछि तानसेन युवा परिषदले ताजा तरकारी घरघरै पु¥याएर किसानकै मूल्यमा बिक्री गर्ने अभ्यास थालेको यहाँलाई अवगत नै छ । प्राकृतिक विपद र संकटका बेला एकले अर्कोलाई सहयोग गर्ने नेपाली भावना र परम्पराको संझना र सम्मान गर्दै किसानको बारीबाट तरकारी उठाउने र उपभोक्ताको घरघरमा पु¥याएर सेवा दिने काम गरेका थियौं । तरकारी घरदैलो सेवा मानवीय सहयोग मात्र थिएन, खान, बाँच्न पाउने मानिसको नैसर्गिक अधिकार र मानवअधिकारको सुनिश्चितता समेत थियो भन्ने हामीलाई लागेको छ ।

तानसेन युवा परिषदले मदनपोखरा, दमकडा, कुन्सरे, डुम्रे, अर्गलीलगायतका क्षेत्रका किसानको बारीबाटै तरकारी उठाउने, कृषि भ्यानमार्फत् ढुवानी गर्ने कार्य ग¥यो । २०७७ बैशाख ७ गतेदेखि २०७७ बैशाख १६ गतेसम्म १४००० किलोग्राम काउली, ३३१५० किलोग्राम बन्दा, ८००० किलोग्राम कांक्रा, १३०० किलोग्राम सेमी, र ४५० किलोग्राम धनियाँ तरकारी बिक्री वितरण गरिएको छ । यो अभियान पाल्पामा उत्पादनको स्थिति थाहा पाउने र आत्मनिर्भरताको बाटो खोज्ने एउटा माध्यम पनि बनेको छ ।
कोरोना संक्रमण, रोकथाम र उपचार सहजीकरण समिति मातहत रहेको जिल्ला आपूर्ति समितिले छिमेकी जिल्लाबाट तरकारी ल्याउन खुल्ला गर्ने निर्णय गरेपछि युवा परिषद् असाधारण परिस्थितिमा थालनी गरिएको कृषि भ्यान: घरदैलो सेवा हाललाई स्थगित गर्न बाध्य भएका छौँ । उपभोक्ता र किसानको हित विपरितको निर्णय पनि कानुनका पक्षपाती भएकाले उल्लंघन गर्ने दुस्साहस गरेनौँ । बन्दाबन्दीका बेला आपूर्ति समिति गरेको निर्णयले हाम्रो भावनामाथि मात्र होइन, सिंगो पाल्पाली उपभोक्ता र श्रमजीवी किसानको सहज वातावरणमा जीवनयापन गर्न पाउने नागरिक अधिकारमाथि नै ठाडो हस्तक्षेप गरेको छ ।

संविधानले समाजवाद उन्मुख राज्यको परिकल्पना गरेको देशमा स्थानीय सरकारको ढुवानी र प्याकेजिंग अनुदान र सहुलियतपूर्ण सेवा आज नभए भोलि अवश्य सुनिश्चित हुनेछ । कृषि भ्यानमार्फत् घरघरै तरकारीको कार्यक्रम आउने दिनमा अवश्य लागू हुनेछन् । यो अभियानमा न्यायप्रेमी जनता र श्रमजीवी किसानको पक्षमा साथ दिने तानसेन नगरपालिकालाई धन्यवाद छ । लागत मूल्यमा तरकारी उपलब्ध गराउने किसान, हौसला प्रदान गर्ने नगरप्रमुख अशोककुमार शाही, व्यवस्थापन गरिदिने मदनपोखरा संगम बहुउद्देश्यीय सहकारी, स्वयम्सेवी भावनाले अहोरात्र खटिने परिषदका साथीहरु, जनप्रतिनिधिहरु, राष्ट्रसेवकहरु, पत्रकार मित्रहरु सबैप्रति आभार व्यक्त गर्दछौ । यस्ता संकटका आगामी दिनहरुमा पनि तानसेन युवा परिषद् अग्रभागमै रहने प्रतिवद्धता दोहो¥याउन चाहन्छु ।

२०७६ बैशाख १६

गुराँश आत्रेय
संयोजक
तानसेन युवा परिषद्, पाल्पा

 

सामाजिक सञ्जालबाटै भरपर्दो सुचना अपडेट, सेवाग्राहीलाई सहज


विजयकुमार बौडेल – 
वैशाख १५ – विद्युत गएको बेला मर्मत हुँदै गरेको सुचना होस् या फल्ट नभेटिएको सुचना । पाल्पा वितरण केन्द्रले क्षणक्षणमै हरेक सुचना सामाजिक सञ्जाल फेसबुक मार्फत दिने गरेपछी सेवाग्राहीलाई सहज भएको छ ।

बिहान, दिउँसो या राती जुनसुकै बेला विद्युत अवरोध भएपछी त्यसको कारण र मर्मत हुन लाग्ने संभावित समयका विषयमा केन्द्रले फेसबुकमा सुचना अपडेट गर्दा सेवाग्राहीले सहज महसुस गरेका हुन् । तानसेन नगरपालिका वडा नं. १ का जयराम सापकोटाले नेपाल विद्युत प्राधिकरण पाल्पा वितरण साखाले सञ्चालन गरेको फेसबुकको सुचनाले धेरै सहज भएको बताउनुभयो ।

“विद्यतले यो फेसवुक आईडि मार्फत वेला वेलामा जुन जानकारी दिने गरेको छ, त्यो अत्यन्तै सह्रानिय छ । म त आजकल लाईन गयो भने फोन गर्न भन्दा पाल्पा वितरण केन्द्र आइडि खोल्न तर्फ लाग्छु जहाँ भरपर्दो खवर पाउने गरेको छु ।” सापकोटाले भन्नुभयो ।

सेवाग्राहीले फेसबुकमै आफ्ना जिज्ञासा र गुनासो पनी राख्ने गरेका छन् । वितरण केन्द्रले त्यसको जवाफ पनी त्यहीँ रिप्लाईमै दिने गरेको छ । केन्द्रले विद्युत महशुल बुझाउने समय, छुट, अनलाईन, ईसेवालगाएतबाट बुझाउन सकिने सुचनाहरु पनी राख्दा सेवाग्राहीलाई थप सहज भएको छ ।

केन्द्रले सेवाग्राहीको जिज्ञासा सम्बोधनका लागी जुनसुकै बेला उठ्ने ल्याण्डलाईन टेलिफोन पनी सञ्चालन गरेको छ । पाल्पामा पानी पर्ने संभावना हुने वित्तिकै लाईन जाने समस्या भने नभएको होईन तर जुनसुकै अवस्थाको सुचना दिने पक्षमा भने केन्द्र अगाडी छ ।

केन्द्रले सर्भिस केवल या वितरण लाईन बिग्रिएमा अथवा मिटर रिडिङ तथा बिल सम्बन्धि समस्या भएमा तुरुन्त समाधान गर्ने जनाएको छ । केन्द्रले १२ बजे सम्म खबर प्राप्त भएमा सोही दिन र त्यसपछी भएमा अर्को दिन सम्म समाधान गर्ने जनाएको हो ।

पाल्पा वितरण केन्द्रले तानसेन बजार, आर्यभञ्ज्याङ, ताहुँ, बाँसटारी, भैरवस्थान र अम्लाबासका स्थानबाट फ्यूज सेवा सञ्चालन गरेको छ । हरेक फ्यूज सेवामा सम्पर्क व्यक्ति परिचालन गरेर सकेसम्म छिटो सेवा प्रवाह गर्ने कोसिस रहेको केन्द्रले जनाएको छ ।

सेवा सम्बन्धि सुचना प्रवाह र जानकारीमा ढिलासुस्ती गर्ने प्रायः अन्य सरकारी कार्यालयहरुको लागी विद्युत प्राधिकरण पाल्पा वितरण केन्द्र नमुना भएको सेवाग्राहीको भनाई छ ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा तानसेनको प्रयास

गोविन्द भट्टराई

विश्वभर कोरोना भाइरस संक्रमणको कहरका कारण मानव समुदाय त्रसित छ । नेपाल पनि त्यसबाट पर छैन । तीन तहका सरकार क्रियाशील संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा यतिबेला ७६१ सरकारको चासो कोरोनाबाट कसरी नागरिकलाई जोगाउने भन्ने मै केन्द्रित रहेको पाइन्छ । नेपाल सरकार, प्रदेश सरकारहरु र स्थानीय सरकारले नागरिक स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर गरेका काम प्रक्रिया तथा वैधानिकताका हिसावले समेत कतिपय आलोचनामुक्त हुन नसकेको अवस्था रह्यो । यसै सन्दर्भमा तानसेन नगरपालिकाले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरेका प्रयास तथा गतिविधि अधिकांश नगरबासीले सकारात्मक रुपमा लिएपनि केही टीकाटिप्पणी र गुनासा समेत पढिएका, सुनिएका छन् । यद्यपि गरेका सबै काममा सबैको समर्थन वा विरोध सम्भव हुँदैन तर स्थानीय सरकारका नाताले अधिकतम नगरबासीको मन जित्ने काम नगर सरकारले गर्न सक्नु पर्दछ भन्नेमा तानसेन नगरपालिकाको निर्वाचित नेतृत्व सचेत रहेको पाइन्छ ।

तानसेनले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका सिलसिलामा गरेका विभिन्न काम मध्ये कृषि एम्बुलेन्स, दूर शिक्षा कार्यक्रम, घरदैलौमै पुगेर उपचार गर्ने तथा जेष्ठ नागरिक भत्ता वितरण गर्ने, स्वास्थ्य संस्थालाई व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिएको छ । आगामी वर्ष अन्न उत्पादनमा ह्रास नआवस भनेर तानसेन नगरपालिकाले समयमै किसानहरुलाई बीउबिजन उपलव्ध गराएको लगायतका काम अधिक चर्चामा रहेको पाइयो । पाल्पाको सदरमुकाम समेत रहेको तानसेन नगरपालिकाले सम्पन्न गरेका कतिपय कामको सिको छिमेकी पालिका तथा देशका अन्य पालिकाले समेत अनुकरण गरे ।
सीमित साधन स्रोतका भरमा १६११ विपन्न परिवारलाई निशुल्क खाद्यान्न उपलव्ध गराएलगत्तै निम्न मध्यम वर्गका नगरबासीलाई निश्चित सहुलियत मूल्यमा (करिव २५ प्रतिशत मुल्य नगरपाकिलाले व्यहोर्ने गरी) वडा वा पायक पर्ने ठाउँबाट चामल र आटा वितरण गर्ने निर्णय ग¥यो । कार्यपालिका बैठकमा छलफल हुँदा घरमा खाद्यान्न सञ्चित रहेका÷भएका सम्पन्न नगरबासी इज्जतको कारणले पनि सहुलियत मूल्यको सामग्रीका लागि आउने छैनन भन्ने आँकलन गरियो तर परिणाम ठिक उल्टो भयो । कतिपय निम्न मध्यम वर्गीय परिवारले माग गरेन बरु खान पुग्ने, खाद्यान्न सञ्चित भएकाहरुले नाम लेखाएको सुन्नमा आयो । कतिले जिम्मेवार व्यक्ति ले नै कुरा नबुझेर खाद्यान्न किन्न आवश्यक नपर्ने व्यक्तिहरुलाई समेत नाम लेख्न लगाइयो भन्ने गुनासा पनि सुनिए ।

निम्न मध्यम वर्गका करीव ५ हजार परिवारले सुहलियतपूर्ण राहतका लागि नाम लेखाउलान भन्ने आँकलन विपरित नाम धेरै संकलन भएपछि वैशाख १२ गते बसेको नगर कार्यपालिकाको आकस्मिक बैठकले गम्भीर छलफल पश्चात आवश्यक पर्नेहरु नछुटुन भनेर १४ वडाका ५ हजार ५२ परिवारलाई सहुलियतपूर्ण दरमा खाद्यान्न वितरण गर्ने निर्णय लिएको नगरप्रमुख अशोककुमार शाहीले बताउनु भयो । पैसा बुझाएर फिर्ता लिन परेपछि कतिपयले नगरसरकारलाई सामाजिक सञ्जाल मार्फत् आक्रोश समेत पोखेका छन् । यसबारे नगरप्रमुख शाही भन्नु हुन्छ–जनप्रतिनिधि, कर्मचारी, नगरबासी हामी सबै मिलेर अप्ठेरोमा परेकाहरुलाई बाँच्न मद्दत गर्नु पर्दछ । घरमा अन्न सञ्चित भएकाहरुले यो कुरा आत्मसात गर्नु पर्दछ ।

तानसेनका गतिविधि
नगरपालिकाका सूचना अधिकारी दुर्गाबहादुर थापाका अनुसार २०७६ माघ देखि नै छापा तथा विद्युतिय सञ्चार माध्यमहरुबाट सचेतना सम्वन्धी प्रचार प्रसारका कार्यहरु तानसेन नगरपालिकाले नियमितिरुपमा सञ्चालन गरिआएको छ । जिल्ला प्रहरी कार्यालय समेतको सहयोगमा स्थलगत रुपमा तानसेन नगरपालिकाले सचेतनामूलक फ्लेक्स ब्यानर विभिन्न टोलमा राख्नुका साथै माइकिङ गरिआएको छ । नगरपालिकाको सहयोग तथा नर्सिङ्ग एसोसियसन पाल्पासँगको सहकार्यमा नगरभित्रका शैक्षिक संस्था तथा समुदायस्तरमा कोरोनाबारे सचेतना कार्यक्रम सञ्चालन गरी सूचीत गरियो । मिसन अस्पताल तानसेनका निर्देशक डा रचेल करेचको शव्द सौजन्य तथा नगरपालिकाको पहलमा २ चरणमा कोरोना विरुद्ध सचेतना भिडियो तयार गरी प्रचार प्रसार गरिएको छ । सूचना अधिकारी थापाका अनुसार २०७६ चैत्र पहिलो हप्ता मै तानसेन नगरपालिका र युनाइटेड मिसन अस्पताल तानसेनको संयुक्त आयोजनामा नगर कार्यपालिकाका पदाधिकारीहरु, नगरपालिकाका स्वास्थ्य चौकी प्रमुख, शाखा प्रमुख, वडा सचिवहरुको लागि नोवेल कोरोना भाइरसको बारेमा अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको थियो ।
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारद्वारा जारी गरिएको निर्देशिका बमोजिम २०७६ चैत्र ४ गते तानसेन नगरपालिकाका नगर प्रमुखको संयोजकत्वमा नगरस्तरीय समन्वय समिति गठन गरी आवश्यक कामलाई तीब्रता दिइएको प्रमुख प्रशासकीय अधिकृत डिल्ली राज बेल्बासेले बताउनु भयो । लगत्तै तानसेन नगरपालिकाका सम्पूर्ण वडाहरुमा स्थानीय जनप्रतिनिधि, स्वास्थ्य स्वयंसेवीका, टोल विकास समितिका पदाधिकारी र अन्य सरोकारवालाहरुलाई अभिमुखिकरण गरी निर्देशिका अनुसार सम्पूर्ण वडाहरुमा वडास्तरीय समन्वय समिति गठन गरि आवश्यक समन्वय गरिएको प्रमुख प्रशासकीय अधिकृत बेल्बासेले बताउनु भयो । वडा कार्यालय, स्वास्थ्य चौकीहरुमा हात धुनका लागि बाल्टी, साबुन उपलव्ध गराइएको, नेपाली सेनाको गोरखदल गणको समेत सहयोग लिएर नगरपालिकाले बसपार्क, प्रभास लगायतका स्थानमा बाहिरबाट आएका मानिसहरुको स्वास्थ्य परीक्षणका लागि हेल्थ डेस्क सञ्चालन गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झविन्द्र न्यौपानेले बताउनु भयो । न्यौपानेका अनुसार नगर कार्यपालिकाका पदाधिकारी र कर्मचारीहरुलाई सेनिटाइजर निर्माण सम्वन्धी अभिमुखिकरण कार्यक्रम आयोजना गरी आवश्यक ज्ञान सीप प्रदान गरियो र आवश्यक सामग्री जुटाएर चाहिने सेनीटाइजर बनाएर माग अनुसार सरोकारवालाहरुलाई वितरण गरियो ।

तानसेन नगरपालिकाका विभिन्न वडामा बाहिरबाट हालसालै आएका ब्यक्तिहरु प्हिचान गरी स्वास्थ्यकर्मी घरमै पुगेर स्वास्थ्य परीक्षण गरिएको थियो । उपप्रमुख लक्ष्मीदेवी पाठक समेत स्वास्थ्यकर्मीसँगसँगै घरघर पुग्नु भएको थियो । त्यतिबेला कतिले आफूलाई त्यसरी घरघरमा नहिड्न सुझाव दिएको उपप्रमुख पाठक सम्झनु हुन्छ । उहाँ भन्नु हुन्छ–नगरबासीलाई कसरी सुरक्षित राख्न सकिन्छ भनेर हामीले स्वास्थ्य परीक्षणका लागि स्वास्थ्यकर्मीलाई घरघरमै पु¥याएका हौं । पहिले त विदेशबाट आएकाहरुको तथ्याङ्कक संकलन ग¥र्यौं अनि बाहिरबाट आएकाहरुलाई घरघरमै पुगेर परीक्षण गर्नुका साथै नगरपालिका भित्रका स्वास्थ्य चौकीहरुमा ज्वरो परीक्षणको कामलाई अगाडि बढायौं । यसैगरी नगर तथा ग्रामीण भेगका विभिन्न स्थानमा किटनाशक औषधि छर्ने काम समेत गरिएको छ । नगरपालिकाले विदेशबाट आएकालाई तत्काल क्वारेन्टाइनमा राख्नका लागि तानसेन–६ स्थित जनप्रिय माबिमा ५० शैयाको क्वारेन्टाइन स्थापना गरेको नगरप्रमुख अशोककुमार शाहीले बताउनु भयो । पटकपटक गरी क्यारेन्टाइनमा २९ जनालाई राखिएको थियो, पछि उनीहरुलाई सम्वन्धित पालिकाको जिम्मा लगाइएको सूचना अधिकारी दुर्गाबहादुर थापाले बताउनुभयो ।

लकडाउनका कारण अप्ठेरोमा परेका मजदुर, श्रमिक लगायत दैनिक ज्यालादारी गरी जीवन निर्वाह गर्ने व्यक्तिहरुको लगत तयार गरी दैनिक जीवन निर्वाहको लागि आधारभूत खाद्य सामग्री प्रदान गर्ने व्यवस्था मिलाइ पहिलो चरणमा १६११ परिवारलाई निशुल्क खाद्यान्न राहत सामग्री उपलव्ध गराएको नगरप्रमुख शाहीले बताउनु भयो । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण, उपचार र राहत कार्यक्रममा सहयोग पु¥याउन नगरपालिकाको बोर्ड बैठकले तत्काल २५ लाख वजेट ब्यवस्थासहित कोष स्थापना गरेको र थप ५० लाख रकमान्तर गरिएको नगरप्रमुख शाहीले बताउनुभयो । त्यसैगरी उक्त राहत कोषमा तानसेन नगरपालिकाका जनप्रतिनिधि, कर्मचारीहरुले समेत सहयोग जम्मा गरेका छन भने नगरस्थित मनकारी संघसंस्था, केही व्यक्तिहरुले आफूखुसी र नगरपालिकाभित्र रहेका सरकारी विद्यालयमा कार्यरत शिक्षकहरुबाट सहयोग जम्मा भएकोे नगरपालिकाका प्रवक्ता दामोदरप्रसाद घिमिरेले बताउनु भयो । सहयोग गर्ने क्रम जारी रहेको भएपनि तानसेनका धनीमानी संस्था र व्यक्तिहरुबाट भने सहयोग जम्मा भएको पाइएन ।

राहत वितरणका लागि आवश्यक मापदण्ड तय गर्नुका साथै तानसेन नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा आइसोलेसन वार्ड स्थापनाको लागि समिति गठन, एकद्वार प्रणालीबाट राहत सामग्री उपलव्ध गराउने कामलाई समेत प्राथमिकता दिएको छ । केन्द्र तथा प्रदेश सरकार र सम्वन्धित निकायहरुसँग आवश्यक समन्वय एवम् सहकार्य गरिएको र नियमित रुपमा आवश्यक सूचना तथा जानकारी आदान प्रदान गरी संञ्चार क्षेत्रलाई समेत सम्प्रेषण गरिएको सूचना अधिकारी दुर्गाबहादुर थापाले बताउनु भयो । लकडाउनका वावजूद फोहर व्यवस्थापनलाई निरन्तरता दिइएको नगरप्रमुख शाहीले बताउनु भयो । यसैगरी लकडाउनको समयमा पनि तानसेन नगरपालिकाले जेष्ठ नागरिकलाई घरघरमै भत्ता उपलव्ध गराउने कामको शुरुवात गरेको नगरपालिकाका प्रवक्ता दामोदरप्रसाद घिमिरेले बताउनु भयो ।

तानसेन नगरपालिकाले गरेका राम्रा काममध्ये दूर शिक्षा रेडियो कार्यक्रम पनि एक हो । तानसेन नगरपालिकाको सहयोगमा सामुदायिक रेडियो मदनपोखराबाट एसइइ परीक्षालाई मध्यनजर गरी दिनको ५ वटा विषयमा तयारी कक्षा सञ्चालन भइरहेको सामुदायिक रेडियो मदन पोखराका स्टेशन प्रवन्धक राजेशकुमार अर्यालले बताउनुभयो । उक्त कार्यक्रम २५ बढी रेडियोबाट बज्ने गरेकोले परीक्षाको तयारीमा रहेका विद्यार्थी लाभान्वित भएको नगरपालिकाका शिक्षा शाखा प्रमुख रेशमलाल न्यौपानेले बताउनु भयो । यसैगरी तानसेन नगरपालिकाको सहयोगमा युनिक एफ.एम. तानसेनबाट प्लस टु को लागि परीक्षा सहयोगी कक्षाहरु सञ्चालन भएको स्टेशन प्रवन्धक जगदीश भट्टराईले बताउनु भयो । नगरपालिकाले नगरबासीको स्वास्थ्य सेवामा खटेका स्वास्थ्यकर्मीको स्वास्थ्यलाई ख्याल राख्दै १२५ थान ब्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री (पिपिइ) खरिद गरी पाल्पा अस्पताल (१० थान), मिसन अस्पताल तानसेन (४० थान), लुम्विनी मेडिकल कलेज प्रभास (४० थान), पाल्पा लायन्स लाकौल आँखा अस्पताल (५ थान) लाई उपलव्ध गराएको नगरप्रमुख शाहीले बताउनु भयो । मिसन अस्पतालसंगको सहकार्यमा बृद्धाआश्रममा आइसोलेसन बेड सञ्चालन तथा विभिन्न ठाउँमा रहेका क्वारेन्टाइन निसंक्रमणको काममा समेत तानसेन नगरपालिकाले चासो देखाएको पाइन्छ । आवश्यक भएमा क्वारेटाइन निसंक्रमणका लागि अन्य पालिकालाई समेत सहयोग गर्न सकिने सहमति नग।पालिका र मिसन अस्पतालबीच भएको नगरप्रमुख शाहीले प्रष्ट पार्नु भयो । यसैगरी अस्पताल तथा जोखिमपूर्ण स्थलमा रिपोर्टिङमा खटने पत्रकारहरुका लागि उपयोग गर्न भनेर नेपाल पत्रकार महासंघ पाल्पा (३ थान, मास्क ४० थान र सेनीटाइजर २ लि.समेत) लाई समेत ब्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको छ ।

तानसेन नगरपालिकाले कृषि कर्मलाई महत्व दिदै किसानहरुलाई बीउ, औजार र मलखाद उपलव्ध गराउने निर्णय गरेको नगरप्रमुख शाहीले बताउनु भयो । शाहीले किसानले उत्पादन गरेको गहुँ सरकारले तोकेको समर्थन मूल्यमा तानसेन नगरपालिकाले खरिद गरिदिने निर्णय समेत गरेको बताउनु भयो । शाहीकाअनुसार उपप्रमुख पाठकको संयोकत्वमा मकैको बीउ ५० प्रतिशत अनुदानमा टोलटोलमै उपलव्ध गराइयो भने धानको बीउका लागि काम हुँदैछ । नगरपालिकाले नेपालमै पहिलो पटक मदनपोखरा संगम कृषि सहकारी संस्थासँगको समन्वयमा तानसेन नगर युवा परिषद् मार्फत कृषि एम्बुलेन्स सेवा सञ्चालन गरी मदनपोखरा, अर्गली लगायतका ठाउँबाट किसानको तराकारी नगरवासीको घरटोलमा वितरण गरेको परिषदका अध्यक्ष गुराँस आत्रेयले बताउनु भयो । अध्यक्ष आत्रेयका अनुसार युवामा उद्यमशीलता र सेवाभाव बढाउन तानसेन नगरपालिकाले विभिन्न रचनात्मक काम गरेको छ ।

लेखक भट्टराई स्वतन्त्र पत्रकार हुनुहुन्छ ।

लकडाउनले टिप्पर व्यवसायी मर्कामा


कृष्ण कार्की – 
बैशाख १३ – नेपालमा कोरोना भाइरसको सम्भावित महामारी फैलिन नदिनको लागी सरकारले घोषणा गरेको लकडाउनका कारण अन्य ब्यवसायहरु जस्तै टिप्पर ब्यवसाय संकटमा परेको छ ।

लकडाउनका कारण सबै व्यवसाय र क्षेत्रमा प्रभाव परेतापनि टिप्पर व्यवसायीले भने आफूूहरु बढी मर्कामा परेको गुनासो गरेका छन् । तिनाउ गाउँपालिकामा रहेका टिप्पर ब्यवसायले मुख्य सिजनका रुपमा रहेको चैत्र र बैशाख महिना पृुरै लकडाउन भएपछि व्यवासायी र आश्रित मजदुरहरुलाई जिविका चलाउनै गारो हुने अवस्था आएको व्यवसायीहरुले बताएकाछन् ।

३/४ महिना मात्र काम गरेर वर्षभर खर्च व्यवस्थापन गर्नुपर्ने सिजनमा व्यावसाय ठप्प हुुँदा कोरोनाबाट बचेपनि व्यवसायले डुवाउने होकि भन्ने चिन्ता परेको तमन्ना मल्टि प्रपोजका प्रबन्ध निर्देशक तोया लम्सालले गुुनासो गर्नुभयो । तिनाउ गाउँपालिकामा ३१ वटा ढुुवानी सेवा रहेका छन् । यि व्यवसायीको हितमा सरकारले उचित निर्णय लिनुपर्ने समेत उहाँले बताउनुभयो ।

६ वटा खानी रहेको तिनाउ गाउपालिकामा ३०० बढी टिप्पर रहेका छन् । टिप्परका चालक, सहचालक, ढुवानीमा कार्यरत कर्मचारी गरी प्रत्यक्ष रुपमा ७ सय बढी रोजगार रहेका छन् । ती खानीबाट विभिन्न सिमेण्ट उद्योगमा ढुुवानी गर्ने टिप्पर चैत्रदेखि ठप्प छन । ३ सय बढी टिप्पर नचल्दा मासिक तिर्नुुपर्ने किस्ताले अहिले व्यावसायीलाई समस्या भएको लम्साल बताउनुभयो ।

व्यवसायी डुुब्ने तथा श्रमजिजिवीको जिविकोपार्जनमा कठिनाई हुने समस्या आउन सक्ने भएकाले बैंक तथा सरकारले समयमै सोँच्न आवश्यक रहेको लमसाले बताउनुभयो । उहाले आन्तरिक वसार पसारलाई खुकुलो बनाउन माग गर्दै सरकारसंग चुनढुङ्गा ढुवानी गर्न्दिन आग्रह गर्नुभएको छ । चुनढुङ्गा ढुवानी गर्दा कोराना भइरसले कुनैपनि असर नगर्ने उहांले बताउनुभयो ।