सामुदायिक रेडियो मदनपोखरा
spot_img
Home Blog Page 22

रेडियो मदनपोखराका सबै कर्मचारीको कोरोना बिमा

विजयकुमार बौडेल – 

जेठ १५ – सामुदायिक रेडियो मदनपोखराले संस्थामा कार्यरत पुर्णकालिन पत्रकार र कर्मचारीहरुको कोभिड–१९ बिमा गरेको छ ।

कोरोना भाईरस संक्रमणको बेला जोखिम मोलेर काम गरिरहेका सारेममा कार्यरत सबै पुर्णकालिन पत्रकार र कर्मचारीहरुको कोरोना विमा गरेको हो । कोरोना भाईरसको जोखिमलाई मध्यनजर गर्दै संस्थामा कार्यरत सबैको एक लाख रुपैंया बराबरको बिमा गरिएको स्टेशन प्रबन्धक राजेशकुमार अर्यालले जानकारी दिनुभयो ।

रेडियो मदनपोखरामा कार्यरत पुर्णकालिन पत्रकार र कर्मचारिले कोरोना भाईरस (कोभिड–१९) पुष्टि भएमा एक लाख रुपैंया प्राप्त गर्नेछन् । बिमाले कोरोना भाईरस संक्रमणको जोखिममा काम गरिरहेका पत्रकार तथा कर्मचारीहरुको मनोबल उच्च बनाउने र कसैलाई कोरोना भाईरस संक्रमण देखिएमा उपचार तथा जोखिम व्यवस्थापन गर्न सहयोग पुग्ने अपेक्षाले बिमा गरिएको सञ्चालक समितिले जनाएको छ ।

देशका विभिन्न सञ्चारमाध्यममा काम गर्ने पत्रकारहरुलाई कोरोना संक्रमण पुष्टि भईरहेको बेला सामुदायिक रेडियो मदनपोखराले कर्मचारी र पत्रकारहरुको बिमा गरेकाले सुरक्षित भई काम गर्ने हौसला मिलेको सञ्चारकर्मी मानु हिस्कीले बताउनुभयो ।

यसअघी नेपाल पत्रकार महासंघ पाल्पाले पनी आफ्ना ९५ जना सदस्यहरुको कोरोना विमा गरिसकेको छ ।

रिब्दीकोटले बाँड्यो थोपा सिंचाईका सामग्री

विमला ज्ञवाली – 
जेठ ११ – कृषी उत्पादनलाई प्राथमिकतामा पारि रिब्दीकोट गाउँपालिकाले कृषकहरुलाई थोपा सिंचाईंका सामग्री वितरण गरेको छ ।

गाउँपालिकाले वडा नं. ६ ठिमुरेका ६० किसानहरुलाई उत्पादन वृद्धिका लागी टेवा पुर्याउन थोपा सिंचाईका सामग्री वितरण गरेको हो । प्रशस्त पानी नहुने स्थानमा किसानहरुले थोपा सिंचाईको माध्यमबाट कृषी उपज उत्पादन गर्न सहज होस भनी सामग्री वितरण गरिएको गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसीले बताउनुभयो । जिसीले किसानलाई कोरोना संक्रमणको बेला उत्पादनलाई जोड दिने खालको कार्यक्रम आवश्यक ठानेर थोपा सिंचाईका सामग्री वितरण गरेको बताउनुभयो ।

उपाध्यक्ष लक्ष्मी खनालले लकडाउनको बेला सबै जना सुरक्षित भएर एकाघरका परिवार मात्र मिलेर खेतीपतीको काम गर्न अनुरोध गर्नुभयो । खनालले यो बेला गाउँपालिकाले कहीँ कतैको पनी जग्गा बााझो नहोस् भन्ने निति अनुसार किसानका लागी कार्यक्रम ल्याएको बताउनुभयो ।

वडाध्यक्ष तुल बहादुर जिसीले प्रशस्त पानी नभएकाले थोपा सिंचाई प्रभावकारी हुने बताउनुभयो । वडाध्यक्ष जिसीले पानीको बचतका साथै घरमा प्रयोग गरेको पानी थोपा सिंचाई मार्फत कृषी कार्यमा प्रयोग गर्न पाउने भएकोमा किसानहरु खुसी भएको बताउनुभयो ।

थोपा सिंचाईका लागी आवश्यक ड्रम, पाईप लगाएत सामग्री किसानलाई वितरण गरेको गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत ऋषि अर्जेलले जानकारी दिनुभयो ।

माथागढीद्धारा स्थानिय जातका कुखुराका चल्ला वितरण

माया बस्याल – 
जेठ ११ – माथागढी गाउँपालिकाले किसानहरुका लागी स्थानिय जातका कुखुराका चल्ला वितरण गरेको छ ।

कुखुराका चल्ला यसअघी नै वितरण गर्ने भनिएपनी लकडाउनका कारण प्रभावित भएपछी अहिले वितरण गरेको हो । स्थानिय जातका कुखुराको चल्ला वितरण गरि किसानहरुलाई व्यवसायिक रुपमा अघि बढाउने उद्देश्य लिएको गाउँपालिकाले जनाएको छ ।

वडा नम्बर ३ कसेनीले ०७६ भदौ मा व्यवसायीक कृषकहरुलाई प्रोत्साहनका लागी स्थानीय जातका लोकल कुखुरा दिने भनी आवेदन खुलाएको थियो । सोही आवेदन अनुसार ईच्छुक किसानहरूलाई लोकल कुखुराको चल्ला वितरण गरिएका वडाध्यक्ष दिपक थापाले जानकारी दिनुभयो ।

थापाका अनुसार ४७ जना किसानलाई १६ वटाका दरले १ हजार ६८ वटा चल्ला र दुई वटा समुहलाई १ सय ५६ वटाका दरले वितरण गरिएको छ । किसानको आयआर्जनमा वृद्धि होस् भन्ने उद्देश्यले उक्त चल्ला वितरण गरिएको गाउँपालिकाले जनाएको छ । वडाध्यक्ष थापाले यस कार्यक्रमको प्रभावकारीता देखिएर राम्रो प्रतिफल दिएमा पुनः थप कार्यक्रम ल्याउने प्रतिबद्धता जनाउनुभयो ।

बगनासकालीका व्यवसायिक किसानको एघार बाख्रा मरेपछी मर्कामा

शिव बस्याल – 
जेठ ११ – व्यवसायिक बाख्रापालक बिशाल बस्याल एक हप्ता भित्र ११ वटा बाख्रा मरेपछी मर्कामा पर्नुभएको छ ।

रविकिसन बाख्रा फर्म बगनासकाली ६ लाम्दीमा व्यवसायिक बाख्रापालन गर्दै आउनुभएका बस्यालको फर्मका ११ वटा एक्कासी मर्दा किसान बस्याल मर्कामा पर्नुभएको हो । बस्यालको एक हप्ता भित्रमा ५ वटा पाठा, ४ वटा पाठी र २ वटा माउ मरेको छ ।

फर्म सञ्चालक बस्यालले एक्कासी बाख्रा लठ्ठ पर्ने र र्याल काढ्ने गरेको बताउनुभयो । बस्यालले प्राविधिक बोलाई उपचार गर्दा समेत निको हुन नसकेको बताउनुभयो । बस्यालले फर्म सञ्चालन गर्न लागेको एक बर्ष मात्र भएको थियो ।

“आफ्नै क्षेत्रमा कृषी गरेर आत्मनिर्भर हन्छु भनेर व्यवसायिक रुपमा बाख्रापालन गर्न सुरु गरेको थिएँ ।” किसान बस्यालले दुखेसो पोख्दै भन्नुभयो । “एक्कासी के आईलागेर बाख्रा मरे । स्थानिय तहहरुले केही न केही भएपनी दुखेको घाउमा मल्हम लगाईदिए हुन्थ्यो ।”

किसान बस्यालले ५० वटा बाख्रा पाल्नुभएको छ । बस्यालले देशमै व्यवसायिक पशुपालन गरि आम्दानी गरि यहीँ टिक्नुपर्छ भन्ने शन्देस दिन काम गरेको भएपनी सपना तुसारापात भएको बताउनुभयो । बस्यालले स्थानिय तहको सहयोग पाए थप हौसला मिल्ने र बाँकी यूवाहरुलाई पनी काम गर्ने प्रेरणा मिल्ने बताउनुभयो ।

तानसेन नगरपालिकाद्धारा क्रियाशिल पत्रकारहरुको कोरोना बिमा

विजयकुमार बौडेल – 
जेठ ११ – तानसेन नगरपालिकाले जिल्लाका क्रियाशिल पत्रकारहरुको कोरोना भाईरस कोविड–१९ बिमा गर्ने भएको छ ।

तानसेन नगरपालिकाले नेपाल पत्रकार महासंघ पाल्पा साखा संग सम्झौता गर्दै ८५ जना सदस्यहरुको कोविड –१९ बिमा गर्ने भएको हो । तानसेन नगरपालिकाले प्रति व्यक्ति एक लाख रुपैंया बराबरको बिमा गरिदिने सम्झौता गरेको हो । पत्रकार महासंघ पाल्पाले साखामा आवद्ध पत्रकारहरुलाई निरन्तर रुपमा कोरोना रोकथाम र उपचारको सुचना सम्प्रेषण गर्न अनुरोध समेत गरेको छ ।

तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले अग्रभागमा रहेर नागरिकहरुलाई निरन्तर सत्य र तथ्यपुर्ण सुचना दिन लागीपरेका पत्रकारहरुको सुरक्षामा स्थानिय तह गम्भिर भएको बताउनुभयो । प्रमुख शाहीले पाल्पाली पत्रकारहरुले विपद्को बेलामा एक भएर नागरिकलाई सुचना दिने र सचेत बनाउने काममा नमुना प्रस्तुत गरेको बताउनुभयो ।

पत्रकार महासंघ पाल्पा साखा अध्यक्ष राजेश कुमार अर्यालले कोविड–१९ को रोकथाम र रनेकथामका लागी अग्रभागमा रहेर सुचना सम्प्रेषण गर्ने पत्रकारहरु मार्फत कोरोना संग जुधौं, बाँचौ र बँचाऔं भन्ने सन्देश प्रवाह गरेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ पाल्पा र तानसेन नगरपालिकाले कोरोना रोकथाम, उपचार र नियन्त्रणका लागी नागरिकलाई केन्द्र भागमा राखेर काम जारी राख्ने जनाएका छन् ।

पाल्पामा क्रियाशिल ३६ जना पत्रकारको आरडिटि परिक्षण

विजयकुमार बौडेल – 
जेठ ८ – पाल्पाका क्रियाशिल पत्रकारहरुको आरडिटि परिक्षण गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय र नेपाल पत्रकार महासंघ पाल्पाको समन्वयमा जिल्लाभरका सक्रिय ३६ जना पत्रकारहरुको आरडिटि परिक्षण गरिएको हो । नेपाल पत्रकार महासंघ पाल्पाले जोखिम मोलेर काम गर्ने पत्रकारहरुको आरडिटि परिक्षण गर्न समन्वय गरेको हो ।

पाल्पा शाखाका अध्यक्ष राजेशकुमार अर्यालले पहिलो चरणको परिक्षणमा सबैलाई समावेश गर्न नसकेको भन्दै बाँकी पत्रकारहरुलाई पुनः अर्को पटकमा प्रयास गर्ने बताउनुभयो । अर्यालले कोरोना संक्रमणको बेला पनी जोखिम मोलेर नागरिकलाई सहि सुचना दिन लागीपर्ने पत्रकारहरुको आरडिटि परिक्षणलाई प्राथमिकता दिएको बताउनुभयो ।

“अफ्ठेरो परिस्थितिमा पनी नागरिकलाई सुचना दिनका लागी खटेका पत्रकारहरुको सुरक्षामा नेपाल पत्रकार महासंघ पाल्पा साखा सधै सचेत र सतर्क छ ।” अध्यक्ष अर्यालले भन्नुभयो । “आफु निकै सुरक्षित र सजग भएर निर्धक्कका साथ नागरिकका अप्ठेराका विषयमा रिपोर्टिङ गर्नुस् । तपाईंलाई जुनसुकै बेला परेको अप्ठेरोमा पाल्पा साखा साथमा छ ।”

पाल्पाली पत्रकारहरुले सजग र सतर्क रहेर नागरिकका जुनसुकै समस्या र स्थानिय तहका कामका विषयमा रिपोर्टिङ गरिरहेको अध्यक्ष अर्यालको भनाई थियो ।

बरिष्ट पत्रकार मेघराज शर्माले कोरोना संक्रमणको यो अवस्थामा नागरिकलाई सहि सुचना दिने पत्रकारहरुको आरडिटि परिक्षण गर्न महासंघले खेलेको समन्वयकारी भुमिका प्रशंसनिय भएको बताउनुभयो । शर्माले सबै पत्रकारहरुको सचेत र सतर्क रहेर रिपोर्टिङ गर्न अनुरोध गर्नुभयो ।

जनस्वास्थ्य कार्यालय पाल्पका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले फिल्डमै गएर रिपोर्टिङ गर्ने पत्रकारहरुको आरडिटि परिक्षण प्राथमिकताका साथ गरिएको बताउनुभयो । स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन मधुसुधन भट्टराईले पत्रकारहरुको आरडिटि परिक्षण गर्नुभएको हो । भट्टराईले सबै पत्रकारहरुलाई सानो सानो कुरामा पनी सजग र सतर्क रहेर काम गरे कोरोना भाईरस संक्रमण बाट जोगिने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ पाल्पा साखाले रिपोर्टिङमा हिँड्ने पत्रकारहरुको सुरक्षाका लागी आवश्यक मास्क र सेनिटाईजर उपलब्ध गराईरहेको छ । महासंघले पत्रकारहरुको पिसिआर परिक्षणका लागी पनी विभिन्न निकायहरु संग समन्वय गरिरहेको जनाएको छ ।

बगनासकालीका सबै वडामा क्वारेन्टाईन

जेठ ५ – बगनासकाली गाउँपालिकाले प्रत्येक वडामा १०/१० बेडको क्वारेन्टाईन स्थापना गर्ने भएको छ ।

गाउँपालिकाले जिल्ला बाहिरबाट मानिसहरु आउन सक्ने संभावनालाई मध्येनजर राखी हरेक वडामा क्वारेन्टाईन निर्माण गर्ने निर्णय गरेको हो । बगनासकाली गाउँकार्यपालिकाको बैठकले विपद्को अवस्थामा अति आवश्यक स्वास्थ्य सामग्री खरिद गर्ने समेत निर्णय गरेको छ । त्यस्तै गाउँपालिका भरी बाँझो रहेको जमिन अद्याबधिक गरि प्रयोग गर्न सकिने जती छुट्याउन टेकनाथ शर्माको संयोजकत्वमा समिति गठन गरेको छ ।

समितिले पेश गरेको प्रतिवेदन अनुसार योजना तथा कार्यक्रम अघी बढाउने गाउँपालिका प्रवक्ता लक्ष्मी प्रसाद अधिकारीले बताउनुभयो ।

निस्दीका सबै नाकामा रातभर सुरक्षा गार्डको निगरानी

जेठ ४ – निस्दी गाउँपालिकाले रातको समयमा आफ्नो क्षेत्रका मुख्य नाकाहरुमा निगरानी गर्ने भएको छ ।

लकडाउन जारी रहेपनि लुकिछिपी बाहिरबाट भित्रिनेहरुका कारण चुनौती थपिएको भन्दै थप प्रभावकारी बनाउन नाकाहरुमा रातीमा निगरानी गर्ने भएको हो । दिनमा स्थानीयले निगरानी गर्ने भएपनि रातको समयमा यातायातका साधन तथा मानिसहरुको आवत–जावत निगरानीका लागि गाउँपालिकाले पारिश्रमिक दिएरै सुरक्षा गार्डको व्यवस्थापन गर्ने निर्णय गरेको हो ।

प्रति व्यक्ति एक रातको ७ सय रुपैयाँ उपलब्ध दिएर सुरक्षा गार्डलाई निगरानीका लागी राख्ने गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले बताउनुभयो । गाउँपालिकाले प्रशासन, सुरक्षा निकाय, राजनैतिक दल, समन्वय समितिसँग छलफल गरी सुझाव अनुसार कार्यपालिकाको २२ औं बैठकबाट यस्तो निर्णय गरेको हो । गाउँपालिका क्षेत्र भित्रने १२ वटै नाकाहरुमा २/२ जना गरी २४ जना सुरक्षा गार्डको व्यवस्था गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत भगवानभक्त अर्यालले बताउनुभयो ।

सुरक्षा गार्डको लागि नाका भएका सम्बन्धित वडाको सिफारिसमा स्थानीयलाई खटाउने गाउँपालिका प्रवक्ता मेख बहादुर सुनारीले जानकारी दिनुभयो । बाहिरबाट आउने मानिसहरु क्वारेन्टाईनमा बस्न दुख मानेर लुकिछिपी आउने हुँदा चुनौती थपिएको भन्दै गोरेटो, झोलुङ्गे पुल तथा सडक मार्ग भएर भित्रने नाकाहरुको २४ सै घण्टा निगरानीका लागि यस्तो व्यवस्था गर्न लागेको हो ।

प्रवक्ता सुनारीले दिनको समयमा नेपाली सेना, नेपाल प्रहरीसंगै स्थानीयहरुले नाकाको निगरानी गर्ने तर साँझ ६ बजे देखि बिहान ६ बजेसम्म पारिश्रमिक दिएरै सुरक्षा गार्ड परिचालन गर्न लागेको बताउनुभयो । गाउँपालिकाले सुरक्षाका लागि खटिने व्यक्ति चयन गरी लगतै काममा खटाउने जनाएको छ । गाउँपालिकाको दक्षिणी भुभाग वडा नम्बर १ मा रहेको बाकामलाङ्गको काम्दी खोला, राईका भञ्ज्याङ्, गेझा नाका, वडा नम्बर ३, झिरुबासको दमैखोला, सार्कीडाँडा, मुरालीखोला र डावरा नाकामा निगरानी बढाउने भएको हो ।

त्यसैगरी वडा नम्बर ४, मित्यालको जलुकेघाट, रिपाहा घाट, सारुडाँडा हुँदै मुढाबाँस आउने, धिर्केको डुनी डमार र वडा नम्बर ७, ज्यामिरेको भुटुक भङ्ज्याङ्गमा समेत सुरक्षा गार्ड खटिने भएका हुन् । गाउँपालिकाले स्वयंम सेवकको रुपमा सहयोग गर्न चाहने क्लव तथा संघ संस्थाहरुलाई वडा कार्यालय संग समन्वय गरी निगरानी, लकडाउनको पालनामा सहयोग गर्न आग्रह समेत गरेको छ ।

त्यस्तै वडा नम्बर ६, अर्चलेले पनी आफ्नो वडामा प्रवेश गर्ने मुख्य मुख्य नाकाहरुमा निगरानी गर्ने भएको छ ।

वडाध्यक्ष मेख बहादुर सुनारीले गाउँपालिकासंग जोडिएको नवलपरासीमा कोरोना संक्रमित व्यक्ति देखिए पछि वडाको दक्षिणी भाग बडरभङ्ज्याङ्ग नाकामा धोबला, अधमारा रनगुवाले, पुर्वीय भाग सिसाघाट नाकामा नारीभङ्ज्याङ्ग, अर्चले र सिमलडाँडाका युवाहरुले निगरानी गर्ने भएका हुन् ।

उत्तरी भाग रेचे पुल बजार नाकामा सात्दोबाट, चिदिया र सिसिङ्गाका युवाहरु खटिने भएका छन् । भौतिक दुरी कायम गरि प्रतिनिधि मूलक सहभागीतामा अत्यावश्यक कामका लागी मात्र बाहिर जाने निर्णय गरेको वडाका कार्यालय सहायक मित्र बहादुर सोमैले जानकारी दिनुभयो ।

पाल्पा जिल्ला सिल, आवत जावतमा पुर्ण बन्देज

विजयकुमार बौडेल – 

जेठ १ – कोरोना संक्रमणको जोखिम बढ्दै गएपछी पाल्पा जिल्लालाई पुर्ण रुपमा सिल गरिएको छ ।

छिमेकी जिल्लाहरुमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछी जेष्ठ ३ गते बिहानदेखी लागु हुने गरि जिल्लालाई सिल गरिएको हो । जेष्ठ ३ गते बिहान ५ बजे देखी ५ गते राती १२ बजे सम्मका लागी जिल्लालाई शिल गरिएको कोरोना रोकथामका लागी गठित जिल्ला स्तरिय समितिले जनाएको छ ।

छिमेकी जिल्लाहरु गुल्मी र अर्घाखाँचीले यसअघी नै सिल गरिसकेका छन् । प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले अन्य जिल्ला बाट आउन र जान पुर्ण रुपमा बन्द गरेको बताउनुभयो । सुवेदीले अन्य औषधी बाहेक अन्य सामग्री आयात र निर्यातमा रोक लगाईएको बताउनुभयो ।

छिमेकी जिल्लाहरुमा समेत कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि पाल्पामा संक्रमण रोकथामको लागि जिल्ला नै सिल गर्ने निर्णय भएको हो । बैठकले औषधी एम्बुलेन्स शबबहान लगायतका अत्यावश्यकीय वस्तुको गाडी बाहेक कुनै पनि सवारी साधन संचालन नगर्ने र उद्योग व्यवसाय समेत संचालन नगर्ने निर्णय गरेको हो ।

गृह मन्त्रालयले यस अघि सबै ई पास खारेज गर्दै एक जिल्लाबाट अर्को जिल्लामा समेत जान रोक लगाएको थियो । यस्तै शुक्रवारबाट एक जिल्लामा समेत आवात जावत गर्न नमिल्ने गरेर जारी गरिएका पास समेत रद्ध गर्ने निर्णय भएको थियो ।

छिमेकी जिल्ला गुल्मीले भने यस अघि नै जिल्ला सिल गर्ने निर्णय गरेको थियो । पाल्पा कोरोना संक्रमित रहेको रुपन्देही, नवलपरासी र कपिलवस्तुको सीमामा भएकाले त्यहाँबाट हिँडेर समेत जिल्ला आउन सक्ने भएकाले जिल्ला नै सिल गरेर उच्च सर्तकता अपनाइएको हो ।

रिब्दीकोटको कोरोना राहत कोषमा ४३ लाख रुपैंया जम्मा

पाल्पा । कोरोना रोकथाम गर्न विपद्कोष स्थापना गरि सहयोगको अपिल गरेपछी रिब्दीकोट गाउँपालिकाको रोकथाम कोषमा ४३ लाख रुपैंया जम्मा भएको छ ।

कोरोना संक्रमण कम गर्न सरकारले लकडाउन जारी गरेपछी विपन्न परिवारलाई राहत, स्वास्थ्य सामग्री खरिद लगाएतको लागी गाउँपालिकाले सबैलाई सहयोगको अपिल गरेपछी सो रकम जम्मा भएको हो । विभिन्न व्यक्ति र संघसंस्थाले कोरोनाको प्रभाव कम गर्न र दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरको राहतको लागी सहयोग गरेको रकमको सदुपयोग गर्ने गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसीले बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत ऋषिराम अर्जेलले अहिले सम्म जम्मा भएको रकम मध्येबाट ६ लाख रुपैंया खर्च भएको बताउनुभयो । अर्जेलले भड्किलो रुपमा खर्च नगरि अत्यावश्यक राहत र स्वास्थ्य सामग्रंी खरिदमा मात्र खर्च गरेको बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष लक्ष्मी लकडाउनको कारणले प्रभावित मजदुर र अती विपन्न परिवारलाई प्राथमिकतामा राखेर कोषको रकम खर्च गरिने बताउनुभयो । उपाध्यक्ष खनालले गाउँपालिकाले मजदुर परिवारलाई विकासनिर्माणका कार्यमा रोजगारी दिने योजना पनी रहेको बताउनुभयो ।

गाउँपालिका स्वास्थ्य संयोजक बिष्णुदेव खनालले रिब्दीकोट गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेको बताउनुभयो । खनालले गाउँपालिका स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीहरुको सुरक्षामा गम्भिर भएर लागेको बताउनुभयो ।

रिब्दीकोटले विभिन्न सचेतनाका कार्यक्रम, घरघरै सामाजिक सुरक्षा भत्ता वितरण, हेल्थ डेस्क स्थापना र सेवा लगाएतका कोरोना लक्षित कार्यहरु गरिरहेको गाउँपालिकाले जनाएको छ ।