सामुदायिक रेडियो मदनपोखरा
spot_img
Home Blog Page 21

कोभिड १९ ले प्रभावित आयोजनाको म्याद थप्न पाल्पा जिल्ला सभाको माग

तानसेन । पाल्पाको तेस्रो जिल्ला सभाले कोभिड १९ का कारण सञ्चालित आयोजनाको काम प्रभावित भएकाले म्याद थप गरिदिन सम्बन्धित निकायलाई अनुरोध गरेको गरेको छ ।

जिल्ला सभाले आ.व. २०७६।०७७ का लागि विनियोजित बजेट ठेक्का तथा उपभोक्तामार्फत सञ्चालित योजना कोभिड १९ का कारण तोकिएको समयमा सम्पन्न हुन नसक्ने अवस्था रहेकाले म्याद थप गरी क्रमागत योजनाको रुपमा स्वीकृति दिन अनुरोध गर्ने निर्णय गरेको हो । जिल्ला सभाले पाल्पा जिल्लामा कोरोना परीक्षणका लागि पिसिआर मेशिन स्थापना र सञ्चालन गर्न संघ र प्रदेश सरकारलाई अनुरोध गर्नेसमेत निर्णय गरेको छ ।

जिल्ला समन्वय समिति पाल्पाका कार्यवहाक प्रमुख मिरा मरासिनीको अध्यक्षतामा बसेको तानसेनमा बसेको तेस्रो जिल्लासभाले आन्तरिक श्रोतबाट संकलित र संघ र प्रदेशबाट प्राप्त कार्यक्रमको रकम बाँडफाँड गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्राप्त १ करोड २७ लाख ६४ हजार, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम १० लाख ८० हजार, गरिव घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम १५ लाख ४० हजार, गरिवसँग विशेश्वर २ लाख ९९ हजार, मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम २ लाख ५० हजार, पर्यटन प्रबद्र्धन कार्यक्रम २ लाख र कोभिड १९ अनुगमन र व्यवस्थापन कार्यक्रम ५ लाखसहित १ करोड ६६ लाख ३३ हजार रुपैँया बाँडफाँड गरिएको जिल्ला समन्वय अधिकारी लेखनाथ ज्ञवालीले बताउनुभयो ।

यसैगरी जिल्ला विकास समिति हुँदै रहेको करिव १२ करोड आन्तरिक कोषलाई आगामी वर्ष आन्तरिक कोष सञ्चालन निर्देशिका वमोजिम बाँडफाँड गर्ने सभाले निर्णय गरेको छ । जिल्ला समन्वय समितिको भवन नभएकाले जग्गाको प्रबन्ध गरी भवन बनाउने यस अगाडिका निर्णय अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । कर्मचारीको कल्याण कोष भुक्तानीलगायतका कार्यक्रमका लागि आवश्यक बजेट घटाउँदा करिव ७ करोड रकम बाँडफाँड गर्न मिल्ने जिल्ला समन्वय अधिकारी ज्ञवालीको भनाई छ ।

गत वर्षको निर्णय दोहो¥याउँदै पाल्पामा तरकारीको सुपरजोन, अदुवा र सुन्तलाको जोन कार्यक्रम बिस्तार गर्न जिल्लासभाले माग गरेको छ । विगतका वर्षहरुका १२ करोड ८१ लाख १२ हजार ३ सय ९६ रुपैंयाको आन्तरिक कोष स्वीकृत गरी बेरुजु संपरीक्षणका लागि सम्बन्धित तहमा पठाउने, संघ र प्रदेश सरकारबाट सञ्चालन गर्नुपर्ने योजनाहरु पनि सम्बन्धित निकायमा सूचीसहित पठाउने जिल्लासभाले निर्णय गरेको छ ।

कुखुराको सिखार

नारायण अधिकारी – 
चिदिपानी स्कूल मा ६ कक्षामा भर्ना हुन जादा मेरो बर्तन भैसकेको थियो । बर्तन गरेपछी जे पाइ खान हुँदैन भन्ने थियो । म सङ्ग सङ्गै एउटै बेन्चमा बस्ने झेस्काङ का थमन बहादुर थापा (लाहुरेका छोरा थिए, खाइलाग्दा लोर्के) उनी भन्जिङ पोखरामा डेरा गरी बस्थे ।

एकदिन उनले मलाई आफ्नो डेरामा बस्ने गरी लगे ।साझ खाना खाने बेलामा घरभेटी आमैले दाल, भात र कटौरामा सिखार (मासु) टक्राउनु भयो । घरमा सिखार भनेको बर्षमा दुइ फेरा मात्र खाइन्थ्यो ठूलो दशै र चैते दशैमा । ओहो ! न दशै न चैते दशै, बीचमै खान पाइयो । तहले मासु भात खाए । साझ नाच हेर्न गैयो । बुढिकोट स्कूलमा र आएर सुतियो ।

भोलिपल्ट पनि भात खादा हिजोको बाँकी टाकी मासु फेरी लुड्याइयो ।

खाना खाएर स्कूल जादा बाटोमा गफ भयो( तिमीहरु घरमा के को सिखार खान्छौ ?

खसिको ।

म त खसी कहिले खान्न । खसिको मासुले सर्दी गर्छ । सधै कुखुराको मात्र खान्छु ।

मेरो मनमा चिसो पस्यो र सोधें हिजो खाएको के को मासु हो र ?

कुखुराको त हो नि, चिनेनौ ?

म त खङरङ्गै भए । हे भगवान ! मैले कुखुराको मासु खाए त ? बर्तन गरेको, बाहुनको छोरो (कुखुरा त खानै नहुने । लौ नासियो, घरमा थाह पाए के होला ? मलाई भाउन्न भयो, ठूलै गल्ती गरेको महशुस गरें र डरले निधार, कान पूरै रातो भयो ।

स्कूल पुगेर क्लास लिइरहदा पनि मेरो मन त्यही कुखुराको सिखारमा गयो । पढाएको केहि बुझिन ।
तर सिखार को स्वाद भने जिब्रोमा झुन्डिरह्यो । खुब मिठो थियो ।

कसैलाई भन्नु भएन । तैं चुप, मै चुप ।

तानसेन हरियाली बसपार्क निर्माण सुरू

तानसेन। पाल्पा जिल्ला सदरमुकाम तानसेनमा नयाँ हरियाली बसपार्क निर्माण कार्य सुरू भएकाे छ ।

तानसेन नगरपालिका वडा नं ५ मा रहेको बनदेवी क्षेत्रमा बसपार्क निर्माण गर्न सल्लाका रूख कटान गरिएकाे छ । नेपाल सरकारले तानसेन नगरपालिकालाई वनदेवी सामुदायिक वनको १०० रोपनी क्षेत्रफल जमिनको स्वामित्व हस्तान्तरण गरेपछि बसपार्क निर्माण अगाडि बढेको हो । रुख कटान र व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ ।

चालू आर्थिक वर्षमा सडकमा छरिएर रहेका सवारी साधनलाई पार्किङ गर्न मिल्ने गरी बसपार्क निर्माणलाई तीव्रता दिने नगर प्रमुख अशोककुमार शाहीले बताउनुभयो । बसपार्कको समस्यालाई समाधान गर्न दीर्घकालीनरूपमा व्यवस्थित तरिकाले निर्माण गरी यसै वर्षमा सम्पन्न गर्ने उहाँले जानकारी दिनुभयो ।

बजार प्रवेश क्षेत्रमा रहेकाे बसपार्क साँघुराे र पार्किङ गर्न नमिल्ने भएपछि नगरपालिकाले ठूलाे बसपार्क निर्माणकाे कार्यक्रम ल्याएकाे हाे । नयाँ बसपार्क वातावरणमैत्री, धेरै सवारी साधन राख्न मिल्ने र हरियाली हुने नगरपालिकाको वातावरण तथा सरसफाइ शाखा प्रमुख शङ्कर भण्डारी बताउनुहुन्छ । नयाँ बसपार्क बन्ने भएपछि ट्राफिक व्यवस्थापनमा सहज हुने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख पृथ्वीनारायण काफ्ले बताउनुहुन्छ ।

हरियाली बसपार्कमा ५०० सवारी साधन अट्ने क्षमता, पेट्रोलपम्प, ग्यारेज, उद्योग, यातायात मजदुरको सुविधाका लागि होटलसहित सुविधासम्पन्न बसपार्क निर्माण गरिने नगरपालिकाले जनाएको छ ।

माथागढीमा एकैदिन बाह्र जनामा कोरोना संक्रमण देखियाे

माया बस्याल – 
जेठ २८ – माथागढी गाउँपालिकामा एकै दिन थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

यसअघी संक्रमण पुष्टी भईसकेका एकजनाको संभावित सम्पर्कमा आएकाहरुको स्वाब परिक्षणपछी थप १२ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको हो । यसअघि पुष्टी भईसकेका व्यक्तिको संभावित सम्पर्कमा आएका २२ जनाको स्वाब संकलन गरी परिक्षण गरिएको थियो । थप संत्रमितहरु पहिले नै संक्रमित भईसकेका व्यक्ति संगै क्वारेन्टाइनमा बसेका थिए । याे सँगै माथागढी गाउँपालिकामा मात्रै संक्रमितहरुको संख्या १३ पुगेको गाउँपालिका अध्यक्ष सन्तोष थापाले जानकारी दिनुभयो । 

कोरोना भाईरस संक्रमितहरुलाई तानसेनको आईसोलेसनमा लैजाने तयारी रहेको गाउँपालिकाले जनाएको छ । संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । गाउँपालिकामा ठुलो संख्यामा कोरोना संक्रमितहरु बढ्दा सर्वसाधारणहरु त्रसित अवस्थामा छन् । गाउँपालिकाले सबैलाई सजग र सतर्क रहन अुनुरोध गरेको छ ।

महिला तथा बालबालिकामैत्री क्वारेन्टिन निर्माणमा जोड दिँदै पर्पल फाउण्डेसन

विजयकुमार बौडेल – 
जेठ २९ – कोरोना भाईरस संक्रमितको सम्पर्कमा आउन सक्ने व्यक्तिहरु बस्ने क्वारेन्टिनलाई महिला तथा बालबालिकामैत्री बनाउन पर्पल फाउण्डेसनले पहल थालेको छ ।

अरु सामान्य व्यक्तिलाई भन्दा फरक चिज आवश्यक पर्ने भएकाले क्वारेन्टिन महिला तथा बालबालिकामैत्री हुनुपर्ने भन्दै पर्पल फाउण्डेसनले लैंगिक मैत्री क्वारेन्टिन र राष्ट्रिय महिला आपतकालिन कोष निर्माण गर्न सरकारलाई आग्रह गरेको हो ।

कैलालीको धनगढी गौरीफण्टा नाकाबाट आएका एक हजार भन्दा धेरै महिला तथा बालबालिकाहरुलाई पर्पल फाउण्डेसनले पर्पल झोला वितरण गरेको छ । पर्पल झोलामा बालबालिकाका लागी कपडा र महिलाका लागी सेनिटरी प्याड लगाएतका सामग्री रहेको हुन्छ ।

पछिल्लो समय कपिलवस्तुमा कोरोना भाईरसको संक्रमण बढेकोले त्यहाँको क्वारेन्टिनमा पर्पल झोला वितरण गर्ने योजना रहेको ले बताउनुभयो । कोरोना भाईरसको संक्रमण बढेसंगै गत चैत्र महीनामा औषधी उपलब्ध नभएर मात्र ५० भन्दा बढी सुत्केरी आमहरुले ज्यान गुमाईसकेका भन्दै सरकारको त्यसतर्फ ध्यान दिन जरुरी रहेको पपर्ल फाउण्डेसनकी सिर्जना काफ्लेले बताउनुभयो ।

क्वारेन्टिनलाई महीला, बालबालिका तथा अपाङ्गमैत्री बनाउन न्युनतम मापदन्ड आवश्यक छ । न्यूनतम मापदन्ड निर्माणले फरक आवश्यकता भएका समुदायलाई सहयोग र राहत छिटो पुग्ने पर्पल फाउण्डेसनको विश्वास रहेको छ ।

स्थानिय तहको सहकार्यमा महिला तथा बालबालिकालाई क्वारेन्टिनमा सहज होस् भनी योजना बनाएर काम गर्न लागेको फाउण्डेसनकी काफ्लेले बताउनुभयो । पर्पल फाउण्डेसनले क्वारेन्टिनमा रहेका महीला तथा बालबालिकालाई आवश्यक सहयोग गरिरहेको छ ।

रिब्दीकोटमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

विजयकुमार बौडेल – 
२७ जेठ – रिब्दीकोट गाउँपालिकाले पर्यटकिय क्षेत्रको सरसफाई तथा मर्मत सुधारलाई प्राथमिकता दिएर प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेको छ ।

रिब्दीकोट गाउँपालिकाले जलेश्वर क्षेत्रको पर्यटकिय विकासका लागी प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगतका कामदारहरुलाई सरसफाई तथा मर्मत सुधारलाई प्राथमिकता दिएर काम सुरु गरेको हो । स्थानिय तहमा जनप्रतिनिधि निर्वाचित भईसकेपछी रिब्दीकोट गाउँपालिकाले पर्यटकिय क्षेत्र जलेश्वरलाई प्रमुख प्राथमिकता दिएर योजना सञ्चालन गरिरहेको छ ।

गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसीले जलेश्वरमा १ सय ८ गौमुखी धारा र १ सय ८ शिवलिङग निर्माणको अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम अर्जेलले ८ वटै वडामा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन हुने जानकारी दिनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत रिब्दीकोटमा ४८ लाख रुपैंया बराबरको काम गरिने प्रमुख अर्जेलले जानकारी दिनुभयो ।

पर्यटकिय क्षेत्र संगै रिब्दीकोट गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सडकको ढलभल सुधारलाई समेत प्राथमिकता दिएर काम गरिरहेको छ । खस्यौली र रिब्दीकोटको टावर नजिकै ढलभल र सडक सुधारको काम भईरहेको गाउँपालिका अध्यक्ष जिसीले बताउनुभयो ।
रिब्दीकोट गाउँपालिकाले आयमुलक र वृक्षारोपणमा समेत प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

बागबानी, कृषी कार्यालय र जिल्ला बन कार्यालय संग समन्वय गरेर टिमुर, अमृसोलगाएत घाँस तथा फलफुलका विरुवा रोपण गरेर आम्दानीमुलक कार्यक्रम गर्ने गाउँपालिकाले जनाएको छ । विदेशबाट आएका तथा विपन्न र श्रम गर्न चाहनेहरुलाई रोजगार कार्यक्रममा प्राथमिकता दिएको गाउँपालिका अध्यक्ष जिसीले बताउनुभयो । जलेश्वरमा ६७ जना र हार्थोकमा ४० जनाले काम सुरु गरेर आजबाट कार्यक्रमको सुरुवात गरिएको हो ।

परियोजनाको रकम धमाधम कोरोना रोकथाम कोषमा रकमान्तर

जेठ २६ – तानसेन नगरपालिकाले चालु वर्ष विग बुद्ध परियोजनामा विनियोजन गरेका बजेट धमाधम रकमान्तर गरिरहेको छ ।

चालु वर्षमा विग बुद्ध परियोजनाको काम अगाडि नबढेपछि कोरोना रोकथाम, नियन्त्रण तथा उपचार र विभिन्न नयाँ योजनामा रकम रकमान्तर गरेको छ । नेपाल सरकारले शसर्त बाहेकका योजना रकमान्तर गरी स्वास्थ्य सुरक्षा अपनाउन स्वीकृति प्रदान गरेको छ । तानसेन नगरपालिकाको पछिल्लो कार्यपालिकाको बैठकले बर्तुङ नयाँपाटी सडक बिस्तारका लागि ९९ लाख ५० हजार रकम रकमान्तर गरेको हो ।

यसैगरी त्रिभुवन बहुमुखी क्याम्पस बतासेडाँडामा मोटरबाटो छेउमा पर्खाल लगाउन आवश्यक बजेट रकमान्तर गर्ने निर्णय गरेको छ । विग बुद्ध परियोजनाको विपी स्मृति पुस्तकालयका लागि ५ लाख, ज्ञानमाला संघ आनन्द बिहारलाई १ लाख, पत्रकार विमामा ५७ हजार ४० र सनराइज टेलिभिजनलाई ५० हजार रकम रकमान्तर गरिएको छ ।

नगरपालिका आफै र समुदायले सञ्चालन गरेका क्वारेन्टाइनमा पनि रकम रकमान्तर गरिएको छ । कार्यपालिकाको बैठकले सामुदायिक क्वारेन्टाइन सञ्चालनका लागि वडामा विनियोजन भएको तर काम हुन बाँकी योजना तथा कार्यक्रमको रकम रकमान्तर गर्न सैद्धान्तिक सहमति दिएको तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले बताउनुभयो ।

तानसेन ८ र ९ ले सामुदायिक क्वारेन्टाइनका लागि १÷१ लाख रुपैँया रकमान्तर गरिसकेका छन् । अधिकांश वडाले पनि आगामी नगरसभाबाट अनुमोदन गर्ने गरी विभिन्न योजनामा खर्च हुन नसकेका रकम अन्य योजनामा रकमान्तर गरिरहेका छन् ।

नगरपालिकाले सञ्चालन गरेको दुई प्रकारका क्वारेन्टाइन मध्ये समुदायले सञ्चालन गरेका क्वारेन्टाइन वडा तहमा रहेको र खाना तथा आवासको प्रबन्ध कमजोर रहेको देखिन्छ ।

अनलाइन बादबिवादमा दमकडाकी विनिता पराजुली प्रथम

पाल्पा- तानसेन नगरपालिका शिक्षा शाखाले आयोजना गरेकाे माध्यमिक तह स्तरिय अनलाइन वादविवाद प्रतियोगितामा दमकडा माध्यमिक विद्यालय प्रथम भएको छ ।

विज्ञान वरदान कि अभिशाप भन्ने विषयक वादविवाद प्रतियाेगितामा दमकडा नमूना माध्यमिक विद्यालयका छात्रा विनिता पराजुलीले गहन प्रस्तुति देखाइ प्रथम स्थान हासिल गर्न सफल हुनुभएको हाे । काेभिड १९ र बन्दाबन्दीका कारण अनलाइनमार्फत सञ्चालन गरिएको बादविवाद प्रतियोगितामा जनता माध्यमिक विद्यालयका छात्रा सदिक्षा ढकाल दोस्रो र सेन्ट कपितानियाे स्कूलका प्रेक्क्षा पौडेल तेस्रो स्थान हुन सफल भएका छन् ।

तानसेन नगरपालिकाका १८ विद्यालयकाे सहभागिता रहेकाे साे प्रतियाेगितामा विज्डम बाेडिङ बाँसटारीका प्रविण बस्याल , न्यू हाेराईजनकी विज्ञा तिमल्सेना र देववाणी संस्कृत तथा साधारण माविकी अर्चना ज्ञवाली सान्त्वना भएका छन् ।

तानसेन नगरपालिकका प्रमुख अशाेक कुमार शाहीकाे प्रमुख आतिथ्यता र उपप्रमुख लक्ष्मी पाठककाे विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा शिक्षा शाखा प्रमुख रेशमलाल न्याैपाने,प्याब्सन पाल्पाका अध्यक्ष भरत प्रसाद न्याैपाने, दमकडा माविका प्रअ माेहन सापकाेटा,प्यारागन बाेर्डिङका प्रिन्सिपल गंगा बहादुर खत्री , जनता माविका शिक्षक राम प्रसाद ढकाल लगायतले मन्तव्य व्यक्त गर्दै वादविवाद प्रतियाेगिताले लकडाउनकाे समयमा निष्कृय जस्तै भएका विद्यार्थीहरुलाई केही हदसम्म् कृयाशील बनाएकाे विश्वास व्यक्त गर्नुभयाे ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि शाहीले प्रतियोगिताले विद्यार्थीहरूकाे क्षमता अभिबृद्वि गर्नुका साथै शैक्षिक विकासमा याेगदान पुग्ने विश्वास व्यक्त गर्नुभयाे । प्रतियाेगिताकाे निर्णायककाे भूमिकामा शिक्षा शाखा अधिकृत रेशमलाल न्याैपाने,स्राेतव्यक्ति लक्ष्मी ढुङ्गाना,समितिका सदस्य भावना खनाल रहनुभएकाे थियाे ।

प्रतियाेगितामा प्रथम हुनेले  ५ हजार ,द्वितीय हुनेले ४ हजार र तृतीय हुनेले ३ हजार र सान्त्वनाले १ हजार प्राप्त गरेका छन् । जुम एप्लिकेशनबाट सञ्चालन भएकाे कार्यक्रमकाे सहजीकरण सूचना प्रविधि अधिकृत  प्रकाश गैरेले गर्नुभएकाे थियाे । अतिरिक्त कृयाकलाप समितिका अध्यक्ष कृष्ण बहादुर थापाकाे सभापतित्व र सदस्य कृष्ण मल्लकाे सञ्चालनमा कार्यक्रम चलेकाे थियाे ।

बन्दाबन्दीमा सारेममा गुरूकुल

पाल्पा । बन्दाबन्दीका कारण बालबालिकाहरुकाे पठनपाठन प्रभावित भएकाे छ। विद्यालय बन्दभएपछि सिकाइका कार्यहरू पनि प्रभावित छन् । काेडिभ १९ काे त्रास र शिक्षा आर्जनमा समस्या भएपछि घरबन्दी भएका बालबालिकालाई सामुदायिक रेडियाे मदनपाेखरा र रूम टु रिडकाे सहकार्यमा गुरूकुल रेडियाे कार्यक्रम सुरू गरिएकाे छ ।

बालबालिकाहरुकाे शिक्षाका लागि सरकारी तथा गैरसरकारी तहबाट विभिन्न प्रयासहरु भएका छन् । विद्यार्थीहरु घरमै बसेको अवस्थामा विद्यार्थीहरुको सिकाईमा सहयोग पुर्‍याउन रुम टु रिड नेपाल र बेस नेपालले जिल्लामा बाल रेडियो कार्यक्रम सञ्चालन गरेका छन् । उनीहरुले बालबालिकाहरुलाई घरमै बसी पढाई र क्रियाकलापमा क्रियाशील गराउन अभिभावक सहजीकरण र बाल रेडियो कार्यक्रम सञ्चालन गरेका हुन् । विद्यार्थीहरुको क्षमतालाई बाहिर ल्याउन र सिर्जनशीलताको विकासमा जोड दिन बाल रेडियो कार्यक्रमले महत्वपूर्ण टेवा पुग्ने संस्थाहरुले विश्वास लिएका छन् ।

घरमा बसेर आफ्ना बालबालिकालाई के क्रियाकलाप गर्ने, कसरी गराउने भन्ने विषयमा अभिभावकसँग छलफल गरिएको बेस नेपालका सहजकर्ता भिष्म नेपालले बताए । अभिभावक सहजीकरका लागि नेपाल सरकारले अवलम्बन गरेको पाठ्यक्रममा आधारित क्रियाकलापहरु घरमै बसेर गर्नका लागि सहजिकरण गरिने उनले बताए । प्राथमिक तहका विद्यार्थीहरुलाई आफ्ना रुची र क्षमताका आधारमा कार्यतालिका निर्माण, चित्र बनाउने, चित्रमा रङ्ग लगाउने, कथा सुनाउने, गीत गाउने, घरमा प्रयोग हुने समानहरुको नाम भन्न, लेख्न लगाउने, भान्सामा प्रयोग हुने समानको नाम लेख्न, भन्न लगाउने लगायतका क्रियाकलापहरु अभिवकलाई सहजीकरण गरिएको नेपालले बताए ।

जिल्लामा कार्यक्रम लागु भएका ४३ विद्यालयका प्राथमिक तहका अभिभावकहरुलाई सहजीकरण गरिएको उनले जानकारी दिए । सहजीकरण कार्यक्रमले आफुलाई घरमा बाबुनानीहरुलाई सिकाउन र व्यस्त राख्न सहयोग पुर्‍याएको उद्बुद्ध माध्यमिक विद्यालयका अभिभावक मनिषा बरालले बताए । ‘नानीबाबुहरु जानेको चित्र बनाउन पाउदा र कथा सुन्न पाउदा खुसी हुन्छन्,’ उनले भने । ‘आफुले जानेका गीत, चुट्किला, कथा, कविता रेडियोमा पठाउछन्, आज रेडियोमा आउछ, भन्दै साथीहरुलाई रेडियो सुन्न लगाउछन् ।’ उनी भन्छन् ‘रेडियो कार्यक्रमले नानीबाबुहरुलाई जागरिलो बनाएको छ ।’ ‘धेरै राम्रो लागेको छ, रेडियो कार्यक्रम निरन्तर भए राम्रो हुन्थ्यो, उनले थपे ।’ घरमा बसेका बालबालिकाहरुलाई सिकाईमा सहयोग गर्नका लागि अभिभावकलाई नै क्रियाशील गर्न गरेको अभ्यासले विद्यार्थीहरुको सिकाईमा राम्रो सहयोग गर्ने नारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक राम बहादुर विकले बताए ।

जिल्ला स्थित सरोकारवालाहरुको समन्वयमा वैकल्पिक शैक्षिक कार्यक्रमहरु सञ्चालनमा ल्याएको रुम टु रिड नेपालका कार्यक्रम अधिकृत ओम कुमार श्रेष्ठले बताए । सञ्चालित कार्यक्रम जिल्लाका सबै तहका विद्यार्थीहरुलाई लक्षित भएको उनले बताए । अभिभावक सहजीकरण, पुस्तक जारी, बाल रेडियो कार्यक्रम, ‘पढौं र पढाउ’ भन्ने जस्ता सन्देश मुलक शब्द सन्देश अभिभावक र शिक्षकहरुलाई मोवाइलमा पठाउने क्रियाकलापहरु नियमित गरिरहेको अधिकृत श्रेष्ठले जानकारी दिए ।

समुदाय द्धारा व्यवस्थित क्वारेन्टाईन निर्माण

विजयकुमार बौडेल – 
जेठ २२ – कोरोना भाईरस संक्रमण नियन्त्रण गर्न तानसेन ९ मदनपोखराको समुदायले व्यवस्थित क्वारेन्टाईन निर्माण थालेका छन् ।

तानसेन नगरपालिका वडा नं. ९ मदनपोखराका नागरिकहरुले स्वतस्फुर्त रुपले दमकडाको माण्डव्य बहुमुखी क्याम्पसमा व्यवस्थित क्वारेन्टाईन निर्माण थालेका हुन् । २५ जना क्षमताको व्यवस्थित क्वारेन्टाईन निर्माण गर्न लागेको व्यवस्थापन समिति संयोजक प्रकाश पंगेनीले बताउनुभयो ।

“स्थानिय यूवाहरुले धेरै सक्रिय भएर सहयोग गर्नुभएको छ । सबैजनाले विपत्तीको समयमा सामाजिक जिम्मेवारी सम्झेर काममा लाग्नुभएको छ ।” संयोजक पंगेनीले भन्नुभयो । “कोरोना भाईरस संक्रमणको संभावित जोखिम कम गर्न स्थानिय तहहरु पनी लागीरहेकै छन् तर यसमा समुदायको पनी प्रमुख जिम्मेवारी हुन्छ । त्यही अनुसार हामीले जिम्मेवारी पुरा गर्न लागेका हौं ।”

हरेक कामका लागी सरकारको मुख ताक्नु नपर्ने भन्दै मदनपोखराका समुदायले विपत्तीको बेला स्थानिय तहलाई सघाउनुपर्ने भावनाले क्वारेन्टाईन निर्माण गरिएको संयोजक पंगेनीको भनाई छ ।

क्वारेन्टाईनमा बस्नेहरुलाई खाट, ओड्ने ओछ्याउने कपडा, खाना, सरसफाईका सामग्री, धारा, चर्पी लगाएतको व्यवस्थापन गरिएको स्थानिय व्यवस्थापन समिति सदस्य सुरेश भट्टराईले बताउनुभयो । “भारत लगाएत अन्य स्थान बाट आएका तानसेन ९ का नागरिकहरुलाई बिचल्लीमा नपारी सुरक्षित रुपमा बस्ने व्यवस्थापन गर्ने हाम्रो उद्देश्य हो ।” भट्टराईले भन्नुभयो । “बाहिरबाट आएका यहाँका नागरिकहरुलाई हामी जसरी पनी व्यवस्थापन गरेर सुरक्षित तरिकाले राख्छौं ।”

तानसेन ९ का वडाध्यक्ष हरिसुमर रेग्मीले स्थानिय समुदायको व्यवस्थापनमा व्यवस्थित क्वारेन्टाईन निर्माण हुनु खुसीको कुरा भएको बताउनुभयो । “स्थानिय तहहरु पनी संक्रमण कम गर्न योजना बनाएर लागेका छौं । यसमा समुदायको सहभागीता हुनु उदाहरणिय काम हो ।” वडाध्यक्ष रेग्मीले भन्नुभयो । “यसको व्यवस्थापनमा खट्नुभएका सम्पुर्णलाई धेरै धेरै धन्यवाद छ । आवश्यक परेका विभिन्न सहयोग गर्न स्थानिय तह तयार छ ।”

क्वारेन्टाईनमा बस्नेहरुलाई विहानमा योगा सिकाउने समेत तयारी रहेको स्थानिय नेत्र घिमिरेले बताउनुभयो । “स्वस्थ रहन र रोग प्रतिरोधात्मक क्षमता बढाउन योगा जरुरी छ ।” घिमिरेले भन्नुभयो । “यहाँको क्वारेन्टाईनमा बस्ने नागरिकहरुलाई हामी कुनै पनी समस्या आउन नदिने गरि लागीरहेका छौं ।”

जम्मा ११ वटा कोठाको प्रयोग गरेर क्वारेन्टाईन निर्माण गरिन लागेको दमकडा क्रिकेट क्लबका बोर्ड मेम्बर गोपाल तिमिल्सेनाले जानकारी दिनुभयो । ”११ वटै कोठाको सरसफाई कार्य सम्पन्न भईसकेको छ । विद्युत, धारा लगाएत पनी जडान भईसकेको छ ।” तिमिल्सेनाले भन्नुभयो । “यूवाहरुले सक्रियता पुर्वक साथ दिईरहनुभएको छ ।”

क्वारेन्टाईनमा बस्नेहरुलाई सुरक्षित तरिकाले पारिवारिक भेटघाट गर्न र घरबाटै खाना ल्याउने व्यवस्थापन गरिएको व्यवस्थापन समिति सदस्य छबिलाल भट्टराईले बताउनुभयो । व्यवस्थापन समितिले क्वारेन्टाईनमा बस्नेहरुको सुरक्षाको लागी आचारसंहिता समेत बनाएको छ । बिहान बेलुका व्यक्तिगत सरसफाई तथा खाना समय तालिका समेत समितिले बनाएको छ ।

विपत्तीको समयमा संक्रमण नियन्त्रणका लागी मदनपोखराको समुदायले गरेको यो कामले धेरै ठुलो सामाजिक जिम्मेवारी निर्वाह गरेको सरोकारवालाहरुले बताएका छन् ।