पाल्पा जिल्लाका ठूला साना फाँटहरुमा रोपाईं गरी असार पन्ध मनाइँदैछ । मानो छरेर मुरी भित्रयाउने लक्ष्यमा किसानहरुले खेतमा धमाधम रोपाईं गरिरहेका छन् । रामपुर, माडीफाँट, हुँगी, गेझा, झडेवा, अर्गली, सर्देवा, कचललगायतका फाँटहरुमा किसानहरुको ठूलो उपस्थितिमा रोपाईं भएका छन् ।
असार प्रन्धमा हिलो कुच्ने भन्दै बुढापाका र अन्य पेशा व्यवसाय गर्नेहरु पनि रोपाईंमा पसेका छन् । खेतारीहरुले धानको बीउ रोप्दै वाली गीत र असारे गीत गाउँदा फाँट नै गुन्जाएमान भएको छ । नियमित रोपाईंमा हिंडेका कृषकहरुले हिलोमा खेल्दा माटो बसाउने गरेको बताउँछन् । आक्कलझुक्कल खेतमा जानेहरुले भने हिलो छ्यापाछ्याप खेलेर मनोरञ्जन लिने गरेका छन् ।
रोपाईं गरेपछि चामल कुटेर घिउमा पकाएको पुवा, केराको वोंगा, कर्कला, करेलाको अचार खाँदा हिलोपानीमा खेल्दा लागेको थकाई किसानहरुले बिर्सिने गरेका छन् । काठमाडौँ उपत्यका आसपासमा असार पन्ध्रमा दही च्यूरा खाने प्रचलन हिजोआज पाल्पातिर पनि सुरु भएको छ । खेतीमा आधुनिक प्रविधि र यन्त्र उपकरण भित्रिए तापनि छिमेकीहरु मिलेर रोपाईं गर्ने परम्परा भने फेरिएको छैन । पोखराथोकका मणिप्रसाद ढकालले पहिलेपहिले माडीफाँटभरि बाजे रोपाईं र ठूलाठूला रोपाईंको रौनकता नै बढी हुन्थ्यो भन्नुभयो ।
सरकारी आँकडा अनुसार पाल्पामा ३५ प्रतिशतमा रोपाई भएको छ । तिनाउमा ७०, माथागढी ४५, रम्भा ३५, पूर्वखोलामा ५, रैनादेवीछहरामा २०, रिब्दीकोटमा ५०, बगनासकालीमा ५५, निस्दीमा ५, तानसेन २५ प्रतिशत रोपाई भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । रामपुर फाँटमा भने रोपाई कमै मात्रामा भएको छ । यसपाली आधुनिक र उन्नत जातको बीउ बढेकाले धानको उत्पादनको वृद्धि हुने अनुमान गरिएको शिव अर्यालले बताउनुभयो ।
माडीफाँटका अधिकांश किसानहरुले टयाक्टरले खेत जोताउने, हिल्याउने गरेका छन् । खेतको आली लगाउने, बीउ काड्ने, मल छर्ने र धान रोप्ने काममा किसानहरु वरिमोपरिमो गरेका छन् । कोभिड १९ को बन्दाबन्दीमा फुर्सद मिलेको र निरन्तर पानी परेकाले किसानहरुले समयमै खेतमा रोपाईं सिध्याएका हुन् । सिंचाईको अभावमा वर्षे भेल छोप्न विवश अधिकांश स्थानका किसानहरुले यो असार पन्ध अगाडि नै रोपाईं गरेका छन् । समयमै पानी परेकाले चाँडै रोपाई भएको मदनपोखराका किसान बुद्धराज बस्यालको भनाई छ ।
माडीफाँटको गहिरी खेतमा रोपो गाँजिदै गएर हरियो देखिन थालेको छ । मौसमले साथ दिएको छ, पछि पनि मौसम मिल्यो भने उत्पादन राम्रो हुने किसानहरुको भनाई छ । नेपालमा मुख्यबाली धान भएकाले पनि वर्षे रोपाईंमा धेरै घरपरिवारको सहभागिता रहने गरेको छ ।
राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउन र रोजगारी सुनिश्चित गर्न धान खेतीको ठूलो देन रहेको कृषि ज्ञान केन्द्रका प्रमुख शिव अर्यालले बताउनुभयो । नेपाली समाजका हरेक सामाजिक र सांस्कृतिक कार्यहरुमा समेत धानको प्रयोग हुने गरेको छ । कृषिबाट प्राप्त हुने कुल ग्रार्हस्थ उत्पादनमा धानको योगदान २० प्रतिशत रहेको छ । नेपालमा खेती गरिने कुल क्षेत्रफलको ४७ दशमलव ५ प्रतिशत जमिनमा धान खेती हुँदै आएकोमा पहाडको हिस्सा भने ३० प्रतिशत मात्र रहेको छ । केही दशक अगाडिसम्म धान निर्यात गर्ने नेपाल अहिले ठूलो परिमाणमा चामल आयात गर्दै आइरहेको छ ।
विश्व महामारिको रुपमा फैलिएको कोभिड – १९ ले हरेक क्षेत्र तहसनहस भएको छ । देशको अर्थब्यबस्था धरासायी भएको छ । विकासका आयोजना हरु लथालिङ्ग छन् अलपत्र परेका छन् । सबैभन्दा बढी नकारात्मक प्रभाब त शिक्षा क्षेत्रमा पर्न गएको छ । विगत चार महिनादेखि शिक्षण सस्थाहरु बन्द छन् । विद्यार्थी अलपत्र छन् । शिक्षकहरु बेकामी भएका छन ।अभिभावकहरु चिन्तित छन् । पढेर भोलिको राष्ट्रको जिम्मेबारी बहन गर्ने कर्णधार हरु आज हिलोमा खेल्दै छन, गुलेली ताक्दै छन् । भेलमा खेल्दै छन् । खोलामा माछा मार्दै छन – मानौ संसार एकाएक उल्टिएको छ ।
सन्सारमा आफूलाई महाशक्तिशाली ठान्ने देशहरु पनि कोभिडबाट हार खाएका छन् । उनिहरुका शष्त्र, अस्त्र, धन र प्रविधि बेकम्मा साबित भएको छ । गोदाममा ढुसी उम्रेको खाद्यान्न जस्तो । यो रोग भोली अथवा दुइ महिना पछी वा अबको एक बर्षमा हटेर जाला भन्ने केहि आधार छैन । दीर्घकालिन उकुच जस्तो कहिले नहराउन पनि सक्छ । त्यसैले यसको बिकल्प खोज्नु अनिबार्य छ ।
भाैतिक पूर्वाधारकाे अभावमा महामारी वा राष्ट्रिय समस्यामा विद्यालय परिसर नै उपयाेग हुने गरेकाे छ । अहिले स्कूलमा क्वारेन्टिन राख्दा बिद्यार्थीहरुमा नकारात्मक असर परिरहेको छ । के अब हाम्रा स्कूल कहिले खुल्दैनन ? हाम्रो भबिष्य सकिएकै हो त ? हामी सधैभरि हिलो र गुलेलिका साथी हुनुपर्ने हो ? यसले उनिहरुमा मानसिक तनाब सिर्जना गरिरहेको छ र नजानिदो पारामा उनिहरुले सन्तुलन गुमाउदै छन । समुदाय पनि त्रसित छ – किनकी क्वारेन्टिनमा बसेकाहरुमा धमाधम कोरोना पुष्टी भैरहेको छ । अब हामिलाई सर्छ र यसले परमधाम पुर्याउने भयो भन्ने भित्री डर बिद्यालय आसपास बस्ने सबैलाई उत्पन्न भएको छ ।
यस्तो परिस्थितिमा बिद्यालयमा क्वारेन्टिन राखिरहनु उचित छैन । यसलाईअबिलम्ब हटाउनु पर्छ । किनकी शिक्षा क्षेत्र हरेक धुमिलबाट स्वच्छ हुनुपर्छ – चाहे राजनिती होस या रोग । युद्ध हाेस कि उत्सव । अब कुरो आउला – यस्तो शङ्कटको बेलामा कहाँ सार्ने क्वारेन्टिन ? मैले अघी नै भने – यसको दीर्घकालिन समाधानको उपाय निकाल्नु पर्छ । तीन तहका सरकार छन् । जनताको जिउज्यानको अगाडी विकास मामुली कुरो हो । यो आगामी बर्षमा गरे पनि हुन्छ । स्थानीय सरकारहरुले बिकास बजेटको ठूलै हिस्सा छुट्ट्याएर क्वारेन्टिन निर्माण गरुन । खुला र बस्ती नभएको ठाउमा टहराहरु बनाउनु पर्छ । टिनका भित्ता र टिनकै छाना भएका बनाउन सकिन्छ । त्यहाँ धारा, पानी र सौचालयकाे व्यवस्था हुनुपर्छ । बाथ रुम सहितको सुविधा हुनुपर्यो । बिद्युत र इन्टर्नेट्को सुबिधा पनि होस । यि टहराहरु भोली अवस्था सामान्य भएपछि कृषी हाट बजार वा भेला बैठक वा अन्य यस्तै केहि काममा प्रयोग गर्न सकिन्छ ।
शिक्षण सस्थामा भएका क्वारेन्टिनहरुलाई इनै टहरामा सार्नु पर्छ । स्कूललाई सर सफाइ गरेर निर्मूलिकरण गर्नु आबस्यक छ । यो काम साँच्चै मन लगाएर स्थानीय सरकारहरुले गर्ने हो भने सम्भव छ । एउटा पालिकाले गर्यो भने अधिकाम्स पालिकाहरुले त्यसको अनुसरण गर्ने छन् । बिद्यालयहरु क्वारेन्टिन मुक्त हुनेछ्न् । भोली परिस्थिती सामान्य हुने बित्तिकै स्कूलमा पठनपाठन सुचारु गर्न सम्भब हुनेछ । त्यसैले ,आउनुहोस ! विद्यालयलाई क्वारेन्टिन मुक्त गर्ने अभियान सन्चालन गरौ । शैक्षिक क्षेत्रकाे संरक्षण गराैँ ।
(अधिकारी दिव्यज्याेति माध्यमिक विद्यालय माथागढी कसेनीका प्रधानाध्यापक हुनुहुन्छ ।)
पाल्पा – रम्भा गाउँपालिकाले आर्थिक वर्ष ०७७/०७८ को नीति तथा कार्यक्रम र वजेटलाई कृषि तथा पशुपालनलाई उच्च प्राथमिकता दिएको छ ।
गाउँपालिकाको अध्यक्ष विष्णू भण्डारी द्वारा प्रस्तुत नीति कार्यक्रममा कृषि तथा पशु पालनमा वैदेशिक रोजगारी गुमाएर फर्कनु भएका नागरिकलाई कृषि व्यावसाय तथा पशु पालन व्यावसायमा सलग्न बनाउने उद्देश्यका साथ कृषि तथा पशुपालन पेशालाई उच्च प्राथमिकता दिइएकोछ |
अध्यक्ष भण्डारीले कृषि पेशा प्रवर्द्धन तथा पशु पालन पेशालाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ सहुलियत व्याजदरमा कर्जा उपलब्ध गराउने, कृषि पेशालाई बढी प्रभावकारी बनाउन आधुनिक कृषि औजारहरु अनुदानमा उपलब्ध गराउने र उत्पादनमा आधारित अनुदानको प्रवन्ध मिलाइने छ | कृषि उत्पादकत्व वृद्धि गराउन उन्नत जातका विउ तथा मलको व्यवस्था अनुदानमा मिलाइने बताउनुभयो ।
रम्भा गाउँपालिकालाई आलुमा आत्म निर्भर बनाउने उदेश्यका लागि विगत वर्ष देखि आलुको विउमा दिदै आएको अनुदानमा वृद्धि गर्ने र उत्पादित आलु संरक्षण गर्न रम्भा-३, मा रहेको शीत भण्डार भरीपूर्ण गर्नका लागि सम्बन्धित कृषकहरुलाई शीत भण्डारको भाडामा छुटको प्रवन्ध मिलाइने, फलफूलमा युवा भन्ने नारालाई अगाडी सर्दै युवा जनशक्तिलाई फलफूल खेती तर्फ आकर्षित गराउन आँप, लिची, कागती, जुनार, अमिलो, अनार जस्ता र लिची कागतीको व्लक स्थापना गर्ने कार्यक्रममा जोड दिनुका साथै खाली सावर्जनिक जग्गामा समेत फलफूलका विरुवा लगाउने कार्यक्रम छ ।
नीति तथा कार्यक्रमका प्राथमिककता
शिक्षा स्वास्थ्य
विद्यालयहरुमा कम्प्युटरको व्यवस्था गर्ने, ईन्टरनेट जडान गर्ने, स्मार्ट बोर्डको व्यवस्था गरी विद्यालयको पठनपाठनमा सूचना प्रविधि मैत्री बनाई प्रविधिलाई विशेष जोड दिइनेछ | कम्प्युटर शिक्षा, अंग्रेजी माध्यमको शिक्षालाई जोड दिइनेछ साथै अंग्रेजी माध्यमको कक्षा संचालन गरिएका विद्यालयको हकमा थप व्यवस्था मिलाईनेछ | प्रत्येक विद्यालयलाई बालमैत्री बनाई प्रत्येक एक विद्यालयलाई नमुना विद्यालयको रुपमा स्थापित गरी ती विद्यालयको अनुसरण गर्न अन्य विद्यालयलाई उत्प्रेरित गराइने छ |
पूर्ण संस्थागत सुत्केरी दिगोपनका लागि स्वास्थ्य संस्थामा संचालित वर्थिङ सेन्टरहरुलाई थप व्यवस्थित गर्दै सामुदायिक स्वास्थ्य इकाईहरुमा पनि वर्थिङ सेन्टर संचालन गर्ने कार्यक्रम ल्याइनेछ | स्वास्थ्य संस्थाहरुमा संचालनमा ल्याइएका प्रयोगशालाहरुमा गत वर्षबाट प्रारम्भ गरिएको निशुल्क सेवालाई निरन्तरता दिइनेछ | शिक्षामा प्राविधिक शिक्षा आजको आवश्यकता भन्ने नारालाई आत्मसात गरी स्थापना भएको जन कल्याण माध्यमिक विद्यालय प्राबिधिक शिक्षालाई थप व्यवस्थित गर्दै यस आर्थिक वर्षमा रम्भा माध्यमिक विद्यालय ताहुँमा ईन्जिनियरिङ्ग विषयको प्राविधिक शिक्षा स्थापनामा जोड दिइनेछ |
स्वास्थ्य : 1. सामुदायिक स्वास्थ्य इकाइ थप तथा बर्थिङ सेन्टर स्थापना 2. निशुल्क स्वास्थ्य सेवालाई निरन्तरता । 3. दीर्घ रोगिलाई औषधि ब्यबस्थापन तथा सुत्केरीलाई दिदै आयको आर्थिक सहयोगलाई निरन्तरता । 4. स्वास्थय क्षेत्रमा खट्ने सम्पुर्ण कर्मचारीलाई भत्ता । 5. स्मार्ट दम्पती तथा असल छोरा बुहारी सम्मान । 6. Covid 19 सचेतना तथा सम्पुर्ण कर्मचारीको बिमा ।
शिक्षा : 1. ताहुमा इन्जिनियरिङ क्याम्पस स्थापना । 2. बिधालयको पठनपाठनमा सुचना प्रबिधि मैत्री । 3. प्रत्येक बिधालयलाई बालमैत्री । 4. दिवा खाजालाई आधारभूत तह र दुर्घटना बिमा मा.वि तह सम्म । 5. “आफ्नो बिधालय आफै बनाउ बालबालिकासङ हामी रमाउ” भन्ने नारा । 6. दलित तथा बिपन्न बिद्यार्थीलाई आर्थिक सहयोग । 7. बिधालयमा विधुतिय हाजिरी तथा सिसि क्यामेरा जडान । 8. कालीगण्डकी गुरुकुलमलाई मा.वि तह तथा रम्भा बहुमुखी क्याम्पस स्नातकोत्तर तह । 9. बिधालयमा सेनेटरी प्याडको ब्यबस्थित गरिने तथा जंगफुड निषेध । 10. बिधालयमा गुणस्तर वृद्धि तथा विज्ञान प्रयोगशाला,पुस्तकालय ।
खानेपानी तथा सरसफाई
स्वच्छ पिउने पानीको उपलब्धताका लागि एक घर एक धाराको व्यवस्था गर्ने नीतिलाई कडाईका साथ अवलम्वन गर्दै लिफ्ट खानेपानी तथा ग्राविटी खानेपानीका आयोजनाहरुलाई अगाडी बढाइने छ | अधुरा आयोजनाहरुलाई पूर्णता दिने काममा जोड दिइनेछ | यस आर्थिक वर्षमा १५०० घरमा धारा जोड्ने कार्य अगाडी बढाइने छ | स्वच्छ जीवनका लागि सुरक्षित पिउने पानी भन्ने अभियानलाई साकार बनाउन विगत वर्षबाट प्रारम्भ गरिएको फिल्टरको पानी तथा उमालेको पानी प्रयोग गर्ने विषय लाई पूर्ण रुपमा व्यावहारमा लागु गर्दै यस आर्थिक वर्षमा पूर्ण सरसफाई उन्मुख गाउँपालिका घोषणा गरिने छ |
कृषि सहकारी
गाउँ-गाउँमा सहकारी घर-घरमा रोजगारी भन्ने नारालाई सफल बनाउन गाउँपालिका भित्र संचालित सवै सहकारीहरूलाई थप व्यवस्थित बनाउदै सकृय बनाइने छ | कृषि तथा बहुउद्देश्यीय सहकारी संस्थाहरु मार्फत विभिन्न प्रकारका आय-आर्जन तथा शीपमूलक तालिमहरु संचालनमा ल्याइने छ | कृषि उत्पादकत्व वृद्धि गर्न कृषकहरुलाई आत्म निर्भर र स्वावलम्वी बनाउन स्थलगत सिंचाई, लिफ्ट सिंचाई, थोपा सिंचाई तथा भूमीगत सिंचाई आयोजनाहरु संचालनमा ल्याइनेछ | रम्भा गाउँपालिका भित्र संचालनमा ल्याइएका विभिन्न कुलाहरुको मर्मत तथा विस्तारका लागि विशेष योजना अगाडी बढाइने छ | साना सिंचाई कार्यक्रमको व्यवस्थापनमा विशेष जोड दिइनेछ | वर्षादको पानी संकलन गर्न अग्ला भागहरुमा पोखरी निर्माणमा जोड दिइनेछ साथै सिंचाइको लागि खेर गएको पानी व्यवस्थापन गरी आवश्यक बाँधको निर्माण गर्ने काममा जोड दिइनेछ |
1. कोरोनाका कारण वैदेशिक रोजगारी गुमायर फर्कियकाहरुलाई कृषि तथा पशुपालनलाई उच्च प्राथमिकता 2. कृषी र पशुपालन गर्नेलाई सहुलियत ब्याजदरमा कर्जा उपलब्ध । 3. फलफूलमा युबा भन्ने नारालाई अगाडि ।
4. कृषी एम्बुलेन्स मार्फत कृषि उत्पादनलाई बजारीकरण ।
5. शित भन्डार निर्माण गरिनेछ ।
6. हुगि स्वास्थ्य चौकीमा MBBS डाक्टरको आन्तरिक दरबन्दी र गाउँपालिकामा थप एम्बुलेन्स संचालन ।
7. बिपन्न परिबारलाई स्वस्थ्य बिमा ।
8. मुटु मृगौला रोगिलाई दिदै आयको सहयोगमा निरन्तरता ।
9. दुग्ध ब्यबसायलाई डेरि स्थापना ।
पूर्वाधार विकास
रम्भा गाउँपालिकालाई सडक संजालमा जोडिन बाँकी रहेका क्षेत्रहरुलाई सडकको पहुँच पुर्याउने कार्यलाई उच्च प्राथमिकता दिइनेछ | सडक स्तरोन्नती वर्षको रुपमा अगाडी बढाउदै ट्रयाक खुलेका सडकहरुमा पक्की नाली निर्माण गर्ने, ग्रावेल गर्ने, ग्रेड मिलाउने जस्ता कार्यमा जोड दिइनेछ | काठका पोलहरुलाई विस्थापित गरी स्टिल पोलको व्यवस्थापन गरिने छ | गत आर्थिक वर्षमा टुकी रहित उज्यालो गाउँपालिका घोषणा गर्ने कार्यक्रम विशेष कारणले सम्पन्न गर्न नसकिएकोले यस आर्थिक वर्षमा घोषणा गरिनेछ |
1. एक घर एक धारा,लिफ्ट खानेपानी,ग्राविटी संचालन । 2. यस आर्थिक बर्षमा १५०० घरमा धारा जोड्ने । 3. कृषिमा स्थलगत सिचाइ,थोपा,लिफ्ट तथा भुमिगत सिचाइ संचालन । 4. आधुनिक कृषि ब्यबस्थापनलाई बाध (Dyam) को निर्माण । 5. काठका पोलहरु बिस्थापित गरि स्टिल पोल 6. सडक स्तरउन्नति बर्षको रुपमा नाली,ग्राबेल,ग्रेडमा जोड ।
पर्यटन
आय-आर्जनको मुख्य श्रोत पर्यटन व्यावसाय भएको हुँदा रम्भा गाउँपालिका भित्र रहेका धार्मिक एवं पर्यटकीय गन्तव्य स्थलको पहिचान, गुरुयोजना तयार संरक्षण तथा विस्तार गर्ने कार्यमा उच्चा प्राथमिकता दिइनेछ | पर्यटन क्षेत्रको प्रचार प्रसारको लागि रम्भादेवी, रिमिघा र कालीगण्डकी महोत्सव २०७७ संचालन गरिने छ | पर्यटन व्यावसायको मेरुदण्डको रुपमा रहेको होमस्टे व्यावसाय संचालनमा ल्याईनेछ |
सहकारी तथा पर्यटन : 1. गाउँ -गाउँमा सहकारी घर घरमा भकारी । 2. सहकारी मार्फत कृषि तथा पशुपालनमा सहुलियत कर्जा । 3. उन्नत विउ विजन,मल,किटनासक औषधि वितरण । 4. पर्यटकिय स्थलको पहिचान,गुरुयोजना,संरक्षण । 5. रम्भादेवि रिमिघा र कालीगण्डकी महोत्सव २०७७। 6. होमस्टे संचालन तथा कालीगण्डकी उपत्यकाको एकीकृत विकास गुरुयोजना । 7. रम्भादेवि मन्दिर र रिमिघा लेकको एकीकृत विकास कार्यक्रम ।
लक्षित बर्ग घरेलु तथा साना उधोग : 1. सम्पुर्ण युबाहरुलाई मागको आधारमा सिपमुलक तालिम । 2. खेलकुद मैदान निर्माण तथा स्तरउन्नति । 3. विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवस मनाउने,आदिवासी जनजाति सस्कृती संरक्षण । 4. बालबिवाहा मुक्त,छुवाछुत मुक्त । 5. जेष्ठ नागरिक तथा अपाङ्ग सम्मान । 6. आदिवासी जनजाति सस्कृती संरक्षण 7. परम्परागत पेशा सुदृढीकरण कार्यक्रम ।
विविध :
1. योजनाहरुमा आर्थिक पारदर्शिता,गुणस्तरीय संचालन तथा उपभोक्तालाई तालिम । 2. आर्थिक मितव्ययी तथा पारदर्शितामा कडाइका । 3. गाउँपालिकाको आन्तरिक आम्दानीमा जोड । 4. सुकुम्बासी तथा अव्यवस्थित बसोबासलाई ब्यबस्थित गरिने । 5. सामुदायिक बनमा अमृसो,लिचि,आँप पौष्टिक घाँस लगाइने । 6. दैबिक प्रकोप न्यूनीकरण तथा उचित ब्यबस्थापन । 7. सुचनाको हक सम्बन्धि नीति ।
पूर्वखोला । पूर्वखोला गाउँपालिकाले आगामी वर्षका लागि ४४ करोड बराबरको बजेट गाउँसभामा पेश गरेको छ ।
गाउँपालिकामा आयोजित सातौं गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष भागिरथी भट्टराईले आर्थिक वर्ष २०७७\०७८ का लागि वार्षिक बजेट तथा कार्यक्रम पेश गर्नुभएको हो । पूर्वखोलाको बजेट ४४ करोड १७ लाख ८५ हजार ७ सय १० रुपैँया बराको रहेको छ । चालु वर्षको खर्च कम भई करिव ४ करोड सञ्चित रहने गाउँपालिकाको अनुमान रहेको छ । सामाजिक विकासमा ४ करोड, पूर्वाधारमा ५ करोड ९३ लाख, सुशासनमा ३ करोड ३३ लाख र आर्थिक विकासमा ४ करोड १५ लाख विनियोजन गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७७\०७८ को नीति तथा कार्यक्रम सर्वसम्मतीले पारित भएपछि बजेट प्रस्तुत गरिएको हो । वार्षिक नीति तथा कार्यक्रममा कृषिमा एक वडा एक उत्पादन, घर एक फलफूलका बोट अनेक, कृषि बजारको सुनिश्चित गर्न आवश्यक व्यवस्था मिलाउने, सिलुवामा लोपुन्मुख अवस्थामा रहेको घरबुनालाई तालिम सञ्चालन गरी संरक्षण गर्ने, परम्परागत कुँडुले घर संरक्षण गर्ने, विद्यालय सुधार योजना लागू गरी गुणस्तरीय शिक्षामा जोड दिने, विद्यालयमा शिक्षक दरबन्दी मिलान गर्ने, गाउँपालिकामा अस्पताल सञ्चालनमा ल्याउने, विदेशबाट आएका नागरिकलाई विना पिसिआर घर नपठाउने जस्ता कार्यक्रम समावेश गरिएका छन् ।
पूर्वखोला गाउँपालिकालाई बालविवाहमुक्त गाउँपालिका बनाउने, टुकिरहित गाउँपालिका घोषणा गर्ने, गाउँपालिकाभित्रका २ सय युवालाई रोजगारी दिने, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालनमा ल्याउने, घरघरै एक धाराको व्यवस्था गर्ने, महत्वपूर्ण बस्ती र बजार उन्मुख क्षेत्रका सडकलाई कालोपत्रे गर्ने जस्ता कार्यक्रम गरी सिहंदरबाको अधिकार घर आँगनसम्म भन्ने सन्देशलाई जनतासम्म पु¥याउने गाउँपालिकाको योजना रहेको छ ।
गाउँसभाका प्रमुख अतिथि प्रदेशसभा सदस्य नारायणप्रसाद आचार्यले कोभिड १९ को संक्रमण रोकथाम र उपचारका निम्ति विदेशबाट फर्किएका नागरिकलाई क्वारेन्टिनमा राख्ने, पिसिआर परीक्षण गराउने काममा पूर्वखोलाले गरेको प्रयत्न एकदमै प्रशंसनीय रहेको बताउनुभयो । गाउँपालिकाले श्वाव बोक्ने क्यारियर भिटिएम खरिद गरी धेरैभन्दा धेरैको परीक्षण गराउन सफल रहेको उहाँको भनाई छ । प्रदेशसभा सदस्य आचार्यले तीन वटै अंगको अधिकार पाएको स्थानीय सरकारले आन्तरिक स्रोत परिचालन, शिक्षा र स्वास्थ्यको व्यवस्थापन र पूर्वाधार निर्माणमा संयोजनकारी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । जिल्ला समन्वय समितिका कार्यबहाक प्रमुख मिरा मरासिनीले संस्थागत विद्यालय सामुदायिक विद्यालयमा मर्ज गरेर उदारहणीय बनेको पूर्वखोलाले धेरै रचनात्मक कार्यक्रम अगाडि बढाएको बताउनुभयो । जिल्ला समन्वय अधिकारी लेखनाथ ज्ञवालीले जनपक्षीय कार्यक्रमको प्रशंसा गर्नुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर पछाइले जनप्रतिनिधिसँगकाे समन्वयमा मात्र कर्मचारीले काम गरेकाे र भाेलिका दिनमा पनि जनताकै चाहना र रुची अनुसारकाे सेवा दिन तप्पर रहेकाे बताउनुभयाे । गाउँसभाको आगामी बैठकमा बजेट तथा कार्यक्रम र विनियोजन विधेयकमाथि छलफल हुनेछ । गाउँसभा ससदीय अभ्यास अनुसार पालिका अध्यक्ष नुनबहादुर थापाले सञ्चालन र सहजिकरण गर्नुभएकाे थियाे ।
तानसेन । पाल्पाकाे जिल्ला सदरमुकाम रहेकाे तानसेन नगरपालिकाको आगामी आर्थिक वर्षका लागि १ अर्ब १२ करोड ८९ लाख ६० हजार बराबरको बजेट तथा कार्यक्रमसहितकाे नीति तथा कार्यक्रम पेश गरेकाे छ ।
नगरपालिकाका उपप्रमुख लक्ष्मीदेवी पाठकले सातौँ नगरसभामा पूँजीगततर्फ रु ४६ करोड १४ लाख ३५ हजार (कुल बजेटको ४१ प्रतिशत) र चालु तर्फ ६६ करोड ७५ लाख २५ हजार रुपियाँको (कुल बजेटको ५९ प्रतिशत) बजेट समेटिएकाे नीति तथा कार्यक्रम पेश गर्नुभएकाे हाे । यो रकम यो चालु वर्षको तुलनामा मात्र ७७ लाखले बढी हो ।
विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रण गर्न, रोजगारी सिर्जना गर्न, कृषि, पर्यटन र भौतिक पूर्वाधारको विकास गर्नमा बजेटले प्राथमिकता दिएको नगरपालिका प्रमुख अशाेककुमार शाहीले बताउनुभयो । प्रमुख शाहीले कोरोना नियन्त्रण गर्न आश्वयक कार्यक्रम संचालन गर्ने, विपन्न परिवारका लागि निशुल्क स्वास्थ्य विमा गरिदिने, स्वाथ्य क्षेत्रलाई आवश्यक भौतिक पूर्वाधार तयार गर्ने लगायतका कार्यक्रमलाई प्राथमिकता दिने गरी नीति तथा कार्यक्रम ल्याइएकाे जानकारी दिनुभयाे ।
नगरपालिकाले कोरोनाबाट प्रभावित शैक्षिक कार्यक्रमलाई प्रभावकारी बनाउन अनलाईन, संचार माध्यमकाे प्रयोग गरेर कार्यक्रम संचालन गर्ने, कार्य सम्पादनको आधारमा विद्यालयलाई प्रोत्साहन गरिने, शिक्षक दरबन्दी नभएका विद्यालयमा शिक्षक दरबन्दीको व्यवस्थापन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । नगरसभामा प्रमुख शाहीले तत्काल १५० बढी युवालाई रोजगारमा सामेल हुने कार्यक्रम ल्याउने, उद्यमशील विकास कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।
कृषि तथा उत्पादनलाई जोड दिन विभिन्न कार्यक्रम तय गरिएको छ भने एक वडा एक प्राविधिकको व्यवस्था गरिने उल्लेख छ । नीति तथा कार्यक्रममा कृषकसँग विद्यार्थी कार्यक्रम संचालन गर्ने उल्लेख गरिएको छ । नगरपालिकाले पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार निर्माणको कार्यक्रमलाई निरन्तरता दिएको छ । सामाजिक तथा आर्थिक विकासका लागि ढाका, करुवाको प्रब्द्र्धन, विपन्न क्षेत्र लक्षित कार्यक्रम तय गरेको छ । नगरपालिकाले सुशासनलाई कायम गर्न शााखाहरु र कार्यालय प्रमुखको बीचमा कार्यसम्पादन सम्झौता गर्ने र सेवालाई प्रभावकारी बनाउने नीति कार्यक्रममा उल्लेख गरिएको छ ।
चिर्तुङधारा । बगनासकाली गाउँपालिकाको सातौं गाउँसभाले आगामी वर्षका लागि ४५ करोड ४ लाख ६६ हजार २ सय ७४ रुपैयाँ बराबरको बजेट पारित गरेको छ ।
गाउँपालिकाको कार्यालय चिर्तुङधारा आज सम्पन्न गाउँसभाले विशेष प्रस्तावसहित आर्थिक वर्ष २०७७/७८ को बजेट तथा कार्यक्रम पारित गरेको हो । गाउँपालिकाको कोभिड–१९ लाई प्राथमिकतामा राखी बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताउनुभयो । अध्यक्ष बस्यालले भन्नुभयो, ‘जीवन रहे जीवन सुधार्न र सिंगार्न सकिन्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै कोभिड– १९ को संक्रमणबाट बचाउन, संक्रमितहरूलाई उपचार गर्न बजेटको व्यवस्था गरेका छौँ ।’ बगनासकालीले कोरोना महामारी रोकथाम, नियन्त्रण, राहत, क्वारेन्टाइन र आइसोलेसन व्यवस्थापन, संक्रमित विरामीको उपचारलगायत अन्य विपद् व्यवस्थापनलाई सम्बोधन गर्ने गरी १ करोड विनियोजन गरेको छ ।
कोरोना भाइरस संक्रमणको संवेदनशील अवस्थालाई मध्येनजगर गर्दै स्वास्थ्यतर्फ ४५ लाख, बगनासकाली गाउँपालिकालाई नेपालकै पहिलो बालमैत्री गाउँपालिका बनाउने अभियानलाई आ.व.०७७\०७८ भित्रै मूर्तरुप दिन यस वर्ष ५५ लाख विनियोजन गरिएको गाउँपालिकाका उपाध्यक्ष सरस्वती चिदीले बताउनुभयो । गाउँपालिकाले कृषि विकासतर्फ समानिकरण बजेटबाट ५८ लाख ५० हजार र पशु विकास तर्फ ३१ लाख ५० हजार विनियोजन प्रस्ताव गरेको छ ।
युवाहरूको लागि रोजगारी सिर्जना गर्न बैंक मार्फत साझेदारी गरी स्वरोजगरी अभियान संचालन गर्न सहुलियत दरमा ऋण उपलब्ध गराउन युवा स्वरोजगार कोषतर्फ २९ लाख विनियोजन गरिएको छ । यस्तै खानेपानी लिफ्टिङ अनुदान, विद्यतु महसुल अनुदान, ४० प्रतिशत उपभोक्ता समितिलाई उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिइएको र खानेपानी आयोजनाका मोटर बिग्री मर्मत नहुने अवस्था सिर्जना भएमा खरिद गर्न ६० प्रतिशत रकम अनुदान उपलब्ध गराउने भएको छ ।
सभामा गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले गाउँपालिकामा उपलब्ध स्रोत र साधनले धान्न नसकेका आयोजनाहरूलाई नेपाल सरकार तथा प्रदेश सरकारमा पठाइने बताउनुभयो भयो । उहाँले बजेट तथा कार्यक्रमलाई साझा सहमतीका साथ कार्यान्वयनमा लाग्न आह्वान गर्नुभयो ।
गाउँपालिकाले आर्थिक वर्ष ०७७\७८ मा सीमित स्रोत र साधनको उच्चतम सदुपयोगका निम्ति राजस्वका दरहरू जनमैत्री तथा दायराहरू फराकिलो बनाउने नीति अवलम्बन गरिने जनाएको छ । यस्तै निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायिक र प्रतिस्पर्धात्मक कृषि प्रणालीमा रुपान्तण गरी जीवनस्तरमा क्रमीक सुधार ल्याउन कृषितर्फ कृषि उपज संकलन केन्द्रको सञ्चालन, प्रशोधन, संचय ढुवानी गर्ने कार्यक्रलाई कृषि सहकारीमार्फत सञ्चालन गर्ने जनाएको छ ।
युवा लक्षित कृषि कार्यक्रममा कृषकहरूलाई आकर्षण गर्ने, पशुपालन व्यवसायलाई आधुनिक र व्यवसायीकरणतर्फ उन्मुख गराइने, विद्यालय भर्ना नभएका प्राथमिक उमेर समुहका सम्पूर्ण बालबालिकालाई विद्यालय भर्ना गराउन वडा सदस्यहरू मार्फत प्रोत्साहित गरिने, विदेशबाट आउने नागरिकलाई क्वारेन्टाइनमा राखी अवधि पुगेपछि कोभिड–१९ को परीक्षण गरी घर पठाइने, बगनासकाली क्षेत्रका सम्भावित पर्यटकीय क्षेत्रहरूको पहिचानगरी व्यवस्थित गर्न पहल गरिने बताइएको छ ।
युवा तथा खेलकुदतर्फ स्वास्थ्यका लागि खेलकुद आवश्यक महसुस गरी पालिकास्तरीय खेलकुद कार्यक्रम आयोजना गरिने, गरिव घरपरिवारहरूका लागि आर्थिक, सामाजिक विकासको लागि स्वरोजगारमूलक, सिपमुलक तालिमहरू सञ्चालन गरिने बताइएको छ । यस्तै गाउँपालिका क्षेत्रभित्रका सहकारीहरूको सञ्जाललाई सबल र सक्षम बनाउँदै छरिएर रहेका सहकारी संस्थाहरूलाई एकीकरण लागि पहल गरिने, सूचना तथा प्रविधिको उपयोगलाई सहज र सरल बनाउने नीति लिइने, लक्षित वर्गतर्फ महिला, बालबालिका, दलित, आदिवासी जनजाति, जेष्ठ नागरिक र फरक क्षमता भएकाहरूलाई विशेष बजेट विनियोजन गरी उत्थान, प्रोत्साहन र आत्मनिर्भरमा बजेट खर्च गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
बजेट तथा कार्यक्रममा नयाँपन आगामी आर्थिक वर्षमा बगनासकाली गाउँपालिकाले अभिभावकविहिन बालबालिकाहरूको स्याहार सम्भार र शिक्षाको निम्ति मासिक १ हजार रुपैँयाका दरले राहत रकम उपलब्ध गराउन बालमैत्री कार्यक्रम अन्तर्गत बजेट विनियोजन गरेको छ । यसैगरी पवित्र तीर्थस्थल राम्दीमा जन्मदेखि मृत्यु संस्कारसम्म उपयोगी हुने स्थायी संरचना निर्माणका लागि अन्य पालिका समेतको साझेदारी हुने राम्दीघाट व्यवस्थापनमा लागि १५ लाख विनियोजन गरिएको छ ।
कोभिड–१९ को संक्रमण त्रासका कारण सामाजिक दुरी कायम गरी सभा छोटो छरितो गरिएको प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठले बताउनुभयो । गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालको अध्यक्षतामा भएको सभामा उपप्रमुख सरस्वती चिदी दर्लामीले वार्षिक नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको थियो ।
दाेभान । तिनाउँ गाउँपालिकाले पालिकाभित्रका बिरामीहरुका लागि सहुलियत हुने गरी एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ ।
गाउँपालिकाले खरिद गरेकाे एम्बुलेन्स सिद्धबाबा मन्दिरमा विश्वकर्मा पूजा गरी सञ्चालनमा ल्याइएकाे हाे । नेपाल सरकारकाे राजश्व छुटमा गाउँपालिकाले खरिद गरेकाे एम्बुलेन्सकाे सञ्चालन र व्यवस्थापन नेपाल रेडक्रस साेसाइटी तिनाउँ उपशाखाले गर्ने भएकाे छ ।
प्रदेश सभा सदस्य तुलाराम घर्ती मगर, गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ती, उपाध्यक्ष दमयन्ती थापा, प्रबक्ता राजेश श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत दामोदर भण्डारी लगायतले सिद्धबाबा मन्दिरमा उद्घाटन गर्नुभयो । प्रमुख अतिथि घर्तीले दुर्गमका जनतालाई स्वास्थ्य सेवा प्रदान गर्न एम्बुलेन्सले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयाे ।
गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तिले तिनाउ गाउँपालिकामा रहेका विकट बस्तीहरुमा विरामीलाई सहज यातायात सुविधा दिन सकियाेस् भनेर एम्बुलेन्स खरिद गरिएकाे बताउनुभयाे । समयमै अस्पताल वा स्वास्थ्य केन्द्रहरुमा पुर्याउन नसक्दा अकालमा गर्भवती र बिरामीकाे मृत्यु हुने अवस्थालाई न्यूनिकरण गर्न एम्बुलेन्सले सहयाेग पुग्ने अध्यक्ष घर्तीकाे विश्वास रहेकाे छ ।
एम्बुलेन्स गरिदका लागि गाउँपालिकाले गत आर्थिक वर्षमा १० लाख तथा यस चालु आर्थिक वर्षमा ५ लाख रुपैयाँ विनियोजन गरेको थियो ।
पाल्पा । रिब्दीकोट गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
पाल्पाको रिब्दीकोट गाउँपालिकाको सातौं गाउँसभामा अध्यक्ष नारायण बहादुर जिसीले पेश गर्नुभएकाे आर्थिक वर्ष २०७७।०७८ काे वार्षिक नीति तथा कार्यक्रम पारित भएकाे छ । गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले गाउँपालिकाभित्रका जनताको आर्थिक विकास, कृषि र पशुपालन विस्तार भन्ने मुल नारा अनुरुप कृषि र पशुपालनको क्षेत्रमा लगानी अभिवृद्धि गरी थप विकास, विस्तार र प्रवद्र्धन गर्ने बताउनुभयाे । नीति तथा कार्यक्रम पेश गर्दै अध्यक्ष जीसीले दुधमा दिइदै आएको उत्पादनमा आधारित नगद अनुदान आगामी वर्षदेखि सुन्तला, कागतीलगायत अन्य कृषिजन्य उत्पादनमा समेत प्रदान गरिने नीति बनाइएकाे बताउनुभयाे । रिब्दीकोट गाउँपालिकाले विदेशबाट फर्किएका युवा जनशक्तिलाई कृषि तथा पशुपालनमा आकर्षित गर्न एक कोष स्थापना गरी सोही कोष मार्फत सहुलियत दरमा कृषि ऋण उपलब्ध गराउने जनाएको छ ।
कोरोना महामारीले निम्त्याएको संकट र चुनौतीलाई सामना गर्न भारतलगायत अन्य मुलुकबाट आफ्नो जन्मथलो फर्किएका नागरिकहरुलाई स्वरोजगार बनाउने, गाउँमै टिकाउने, कृषि र पशुपालन क्षेत्रको विकास एवं विस्तार गर्ने र उद्यमशीलता विकास गर्ने कुरामा प्राथमिकता दिएकाे नीति तथा कार्यक्रम प्रस्तुत भएकाे छ । विश्वव्यापी रुपमा देखा परेको कोरोना भाइरस (कोभिड–१९) को महामारी नियन्त्रणलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरिएकाे हाे ।
गाउँपालिकाले विदेशबाट फर्किएका व्यक्तिहरुलाई लक्षित गर्दै मागमा आधारित साना उद्योग संचालन गर्न प्रस्ताव आव्हान गरी विशेष सहुलियत प्रदान गर्नेछ । भैरवनाथ मन्दिर र रिब्दीकोट जलेश्वरको एकीकृत विकास गर्न तथा विद्यमान पर्यटकीय स्थलहरुको संरक्षण र प्रवद्र्धन गर्दे थप पर्यटकीय स्थलहरुको पहिचान मार्फत पर्यटन विकास गर्ने उद्धेश्यले एकीकृत पर्यटन गुरुयोजनाको निर्माण गर्ने, र होमस्टे संचालन गर्ने जनाएको छ ।
सामाजिक र शिक्षा क्षेत्रको विकासका लागि विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि आगामी आ.व.देखि विद्यालय व्यवस्थापन समिति, प्र.अ. र गाउँपालिकाबीच त्रिपक्षीय कार्यसम्पादन करार गर्ने, माध्यामिक विद्यालयहरुमा विज्ञान प्रयोगशाला तथा सबै सामुदायिक विद्यालयहरुमा स्वच्छ खानेपानी र शौचालयको पहुँच सुनिश्चित गरिनेछ । गाउँपालिकाले “एक घर एक धाराको”नीतलाई पूर्णता दिन खानेपानीका निर्माणाधिन आयोजनाहरुलाई आगामी वर्षभित्रै सम्पन्न गर्ने, खानेपानीको उचित उपयोग र सबैमा पहुँच कायम गर्न अनिवार्य मिटर जडान गर्नु पर्ने व्यवस्था लागू गरी मिटर खरीदमा सहुलियत उपलब्ध गराउने नीति लिएको छ । आगामी वर्षदेखि सडकको नयाँ ट्रयाक नखोल्ने नीति अंगीकार गर्दै अधुरा सडक सम्पन्न गर्ने र पुराना सडकको स्तरोन्नति र मर्मतमा जोड दिने अध्यक्ष जीसीले बताउनुभयो । उहाँले हार्थोक–छहरा सडक स्तरोन्नति एवं कालोपत्रेका लागि प्रदेश सरकारसँग समन्वय र सहकार्य गर्ने बताउनुभयो ।
गाउँपालिकाले मितव्ययिता र पारदर्शितालाई मूलमन्त्र बनाउँदै वित्तीय अनुशासन र आन्तरिक नियन्त्रण प्रणालीलाई चुस्त र पारदर्शी बनाउने, अत्यावश्यक र उपलब्धिमुलक तालिम, गोष्ठी, कार्यक्रमहरु मात्र संचालन गर्ने र त्यस्ता कार्यक्रमहरु संचालन गर्दामितव्ययिता अपाउने नीतिलाई प्राथमिकता दिने जनाएको छ । कोरोना भाइरसको महामारीका कारण गाउँपालिकाको आर्थिक सामाजिक विकासमा पुगेको क्षतिलाई मध्यनजर गरी आन्तरिक रोजगारी सृजना, कृषि तथा पशुपालन क्षेत्रको विकास र विस्तार एवं उद्यमशीलता प्रवद्र्धन गर्ने तर्फ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम केन्द्रित रहेको गाउँपालिकाका प्रमुख नारायण बहादुर जिसीले बताउनुभयो ।
सभामा प्रस्तुत नीति तथा कार्यक्रम कार्यापालिका सदस्यहरुको राय, सुझाव र प्रतिक्रिया सहित पास भएकाे प्रमुख प्रशासकीय अधिकृत ऋषिराम अर्जेलले बताउनुभयो । नीति तथा कार्यक्रमका आधारमा असार १० गते वार्षिक बजेट सभामा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
राम्दी । पाल्पा र स्याङ्जाको संगम स्थल पवित्र राम्दीधाममा ९ वर्ष अगाडि संचालन भएको महायज्ञको हिसाव किताव सार्वजनिक नगरी आयोजक बेखबर बनेकाे स्थानीय चन्दादाताहरुले आरोप लगाएका छन् ।
राम्दीमा २०६८ साल कात्र्तिक १८ देखि २५ गतेसम्म सञ्चालित श्रीमद्भागवत सप्ताह महायज्ञ तथा धार्मिक पर्यटन महोत्सवको आय व्यय सार्वजनिक नगरेको, महायज्ञबाट उठेको रकमबाट बनाउने भनेका भौतिक पूर्वाधार र संरचना नबनाएको र करोडौं रकमकाे हिसावकिताव नदेखाएकाेमा स्थानीय चन्दादाताले आयोजककाे ध्यानाकर्षण गराएका छन् । स्थानीय चन्दादाता नारायण प्रसाद अधिकारी र बोधराज भण्डारी समेतले पाल्पा र स्यांजाका पत्रकारहरुलाई बोलाएर हिसावकिताव खाेजीदिन अनुराेध गर्नुभएपछि याे कुरा बाहिर आएको हो । महायज्ञ भएको १० वर्ष हुन लाग्यो, अहिलेसम्म न हिसाव छ, न विकास छ । नारायण प्रसाद अधिकारीले भन्नुभयो, “चन्दादाता, भक्तजनलाई झुक्काएर उठाएको पैसाको समेत सदुपयोग भएको छैन । धर्मका नाममा ब्रम्हलुट भयाे । “
रामनदी धाम राम्दीमा गुरुयोजना अनुसारका भौतिक संरचना निर्माण गर्ने, व्यवस्थित मसान घाट निर्माण गर्ने, नुहाउने घाट, आयुर्वेदिक औषधालय निर्माण, विज्ञान अध्ययनका लागि पुस्तकालय स्थापना, पुष्पबाटिका, गौशाला निर्माण, दिनदुखीको लागि अन्न क्षेत्र निर्माण लगाएका काम गर्ने भनेर महायज्ञ गरिएको थियो । महायज्ञमा १ करोड ६६ लाख ४० हजार २ सय ४३ रुपैंया उठेकाे बताएकाे तर अहिले आयोजकले नै नदेखिनु चिन्ताजनक विषय हाे बोधराज भण्डारीले भन्नुभयाे । भण्डारीले आफूहरुले स्थानीय वडा कार्यालय, नगरपालिकाको न्यायिक समिति, जिल्ला प्रहरी कार्यालय समेतमा उजुरी दिएको भए तापनि कुनै सुनुवाइ नभएकोले पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु परेको बताउनुभयो । धर्मालम्बीहरूले आफ्नो गास कटाएर भएपनि धामको विकासको लागि दान गरे । चन्दा संकलन गर्यौं तर धर्मको नाममा व्यापार र लुट भएकाले हामीले विरोध गरेका हौं ठानेश्वर भट्टराईले भन्नुभयो। पण्डित दिनबन्दु पोखरेल बाचक रहेकाे त्याे महायज्ञ संचालन समितिका अध्यक्ष दिलिप प्रताप खाँड रहनुभएको थियो । उहाँ हाल वालिंग नगरपालिकाको प्रमुख समेत हुनुहुन्छ ।
पैसा संकलन गर्नको लागि महायज्ञ गर्नेहरुको लहर नै चलेको छ । सार्वजनिक विद्यालय, मठ मन्दिर, पर्यटन विकास, भौतिक विकास, प्राविधिक शिक्षालय, शैक्षिक विकास आदिका नाममा धार्मिक महायज्ञ भनेर विभिन्न उद्देश्य राख्ने र चन्दादाताहरुलाई विभिन्न प्रलोभन पारेर रकम असुल गर्ने गरिन्छ । चन्दादाताहरुबाट उठाइएको रकमको सहि रुपमा सदुपयोग हुन सकेको छैन ।महायज्ञका नाममा जाे काेहीले पनि चन्दा संकलन गर्ने र खर्च गर्ने प्रवृति निरूत्साहित गर्न स्थानीय सरकार र स्थानीय प्रशासनले समयमै ध्यान दिनुपर्ने देखिन्छ ।