सामुदायिक रेडियो मदनपोखरा
spot_img
Home Blog Page 19

बुटवल तानसेन सडक एकतर्फी सञ्चालन हुने

पाल्पा । तिनाउ गाउँपालिकाको दोभान बजार नजिकै भासिकको सडक मर्मत गरी केहीबेरमा एकतर्फी रुपमा सञ्चालन हुने भएको छ ।

प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेसहितको टोलीले आज बिहान तानसेनदेखि सिद्धबाबासम्मको स्थलगत अनुगमन गरी सडक तत्काल मर्मत गर्न निर्देशन दिएको हो । सडक कार्यालयका इन्जिनियर शिव खत्रीले ठूला र लोड गाडी ट्रायल गरेर चलाएपछि अरु सबै गाडीहरु सञ्चालन गर्न दिने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी न्यौपानेले तानसेन बुटवल सडक खण्डको ४ स्थानमा पहिरो र ३ स्थानमा सडक भासिएको अवस्था देखिएको बताउनुभयो । पहिरो पन्छाउने र भासिएको स्थानमा सडक सुधार गरी तत्काल एकतर्फी रुपमा भए पनि ठूला सवारी साधन सञ्चालन ल्याउने तयारी भएको छ । स्थलगत अनुगमन टोलीमा प्रहरी उपरीक्षक दिपकराज खरेल र सडक डिभिजन कार्यालयका इन्जिनियर शिवु खत्रीलगायत हुनुहुन्थ्यो ।

केही दिनदेखि परेको अविरल वर्षाका कारण सिद्धार्थ राजमार्गको दोभान बजार नजिक सडक भासिएपछि ठूला गाडी सञ्चालनमा अवरोध भएको छ । सडक तिनाउ खोलाको किनारपट्टी करिव ३० मिटर भासिएको छ । झुम्सा, चौविस माइल क्षेत्रमा पनि सडक भासिएको छ ।

 

कालोपत्रे सडकमा प्वाल र चर्चरी चिरा परेपछि जिल्ला प्रशासन कार्यालयले ठूला सवारी साधन सञ्चालनमा रोक लगाएको हो । साना गाडीहरु भने नियमित चलिरहेका छन् । गुल्मी, अर्घाखाँची, स्याङजा, बाग्लुङ, पर्वत र कास्की जाने आउने मालबहाक गाडीहरु हिजोदेखि सडकमा रोकिएका छन् ।

प्याब्सन

किशाेर खनाल
शिक्षक
(कविता)
बर्सेनी पुङ्ग न पुच्छरका पुस्तक फेर्न लगाउँछन्।
अभिभावलाई आर्थिक भार र मारमा पार्छन्।
लाखाैँ करोडाैँ कमिसन बुझ्छन्।
कमिसनले नै देश विदेश घुम्छन्।
शिक्षकको हक हितमा कहिल्यै बोल्दैनन्।
कहिले अनलाइन कक्षा पढा भन्छन्।
कहिले नपढा भन्छन्।
जे मन लाग्छ त्यहीँ भन्छन् गर्छन्।
शिक्षकलाई फुटबल जस्तै लात्ती हान्छन्।
महामारीको बेलामा,
शिक्षकलाई कसरी तलव खुवाउने?
कहिल्यै साेच्दैनन्।
साँचो बुझाउँछाैं सरकारलाई भनी घुर्कि लगाँउछन्।
यस्तो संस्थाका मालिकहरुलाई
ठूलाबडाले प्याब्सन भन्छन्।

सहरमा हराएको कुमालको छोरो

निर्मल कुमाल – 
गरिब कुमाल परिवारमा गाउँमा हुर्केको केटो म । साना छँदा आफै हिँड्न र अली अली बुझ्न सक्ने भएदेखी बाआमाले गाउँका साहु महाजनको घरमा एक मुठी चामल र केही पैसाको लागी झरीमा रुझ्दै र जाडोमा काँप्दै घाँस काटेको म कसरी भुल्न सक्छु ? काम गर्दा गर्दा छियाछिया भएका हातले फेरी ति महाजनको जुठा भाँडा माझेको म कसरी भुल्न सक्छु ?

मान्छे भन्छन् पसिना गनाउछ तर रातीसम्म मेहनत गरेर घर आइपुगेका मेरा बाआमाको पसिना मलाई कहिल्यै गनाएन । मेरा बा आमाको मेहनतको पसिनाले पुरै घर बसाउथ्यो । यो सबै मेहनत मेरो लागि, घरपरिवार सबैको लागि थियो ।
म सानो छँदा मेरो र परिवारको पेट पाल्न मेरा बाआमाले गरेको दुखले अझैपनी उहाँहरुलाई छाडेको छैन । काम गर्दा गर्दा हात र खुट्टाहरु पट्पटी फुटेका छन् । आमाको पटुका च्यातिएको छ । बाको टोपी फाटेको छ । आमाको मजेत्रो धुजाधुजा भएको छ । बाको जाँगे दशौं ठाउँमा टालिएका छन् । उही दुख अझैपनी बाँकी छ । आज पनि मेरो बा आमालाई उही दुखले छाडेको छैन तर पनि आजसम्म हार्नुभएको छैन ।
अब छोरो बढेको छ । छोराले केही गर्ला भन्ने आस आमा बा मा पक्कै पनी होला । छोराले जिम्मेवारी बहन गर्ला भनेर आमा बा का मनले खोज्दै होला । घरव्यवहार धान्ला भन्ने आश होला । खोलेपानी भएपनी छोराले व्यवस्था गर्ला र बुढाबुढी भएर पिँढीमा बसेर खाउँला भन्ने आश होला ।

उमेर बढेसंगै मैले पनी जिम्मेवारी बढेको महसुस त गरेको छु तर जिम्मेवारी बहन गर्न सकेको भने पटक्के छैन ।

कुमालको छोरोले दुखम् सुखम् एस्.एल्. सि. पास गरेपछी गाउँमा केही भए पनी बाको शिर उँचो भयो । कुमाल समुदायमा थोरै मात्रले एसएलसी पास गर्ने गर्दथे । छोरो एसएलसी पास भएपछी गाउँ बस्ने कुरा भएन । पढ्न भन्दै छोरो पस्यो सदरमुकाम तानसेन ।

सायद पहिलोपटक थियो तानसेन आएको । सामान्य गाउँमा हुर्केको केटो शहर आएर दंग थियो । मोटरगाडी, ठुलाठुला बिल्डिङ अनी गाउँबाट ठुलाठुला सपना बोकेर आएका मानिसहरुको भिड । गाउँमा हुर्केको कुमालको छोरो पनी त्यस्तै ठुला ठुला सपना बोकेर शहर आउको पनी अहिले ६ बर्ष भैसकेछ ।

तर जुन सपना बोकेर आएको थिएँ, आजकल ती सपनाहरु कता बिलाए झैं लागेको छ । उमेर बढ्दै छ, जुन जोसका साथ बजार छिरेको थिएँ आज ति जोसहरु अन्य कुराहरमा मोडिएका छन् । आटो सिन्कीको झोल खाने बानी हराईसक्यो । मम चाउमिनमा बानी बसिसक्यो । गाउँमा बा आमाले लाउजस्तो कपडा त किन लाउने मन हुन्थ्यो र महंगा र ब्राण्डेड कपडामा बानी परिसक्यो । पुरानो भएर च्यातिएका कपडा लाउन छाडियो । आफै च्यातिएका कपडा किनेर लाउन थालियो । शहरका साथीभाईको संगतले गाउँको कुमालको छोरो विल्कुल फरक भएको छ । साथीहरु मोटरसाईकल चढेर हिँड्दा आफुलाई पनी मोटरसाईकल नै चाहिएको छ ।
हिँजो सम्म चुँडेको चप्पल धागोले बाँधेर मल बोक्ने कुमालको छोरो अहिले बजारमा ब्राण्डेड जुत्ता लाएर हिँड्दा पनी बेईज्जत हुन्छ कि भन्ने मान्छ । मध्यम वर्गिय परिवारमा हुर्केको भएपनी यि सबै कुराहरु सोंचेर बदलिने प्रयास रहन्छ तर कोलाहलको यो शहरमा एक्लोपनको आभास हुन्छ ।

बा आमाको एउटै सपना छोराले एउटा सरकारी जागिर खाओस,् गाउँमा थप इज्जत राख्दियोस् । यो मेरो पनी सपना नभएको होईन । राति सुत्नेबेला निकै कुराहरु मनमा दौडिरहन्छन्, निद्रा लाग्दैन । यो शहरको कोलाहलले अझैपनी सुनसान र सुन्दर गाउँको याद दिलाईरहन्छ । यो बेसुर सहरले गोठालो जाँदा होस् या मेलापात जाँदा होस्, गित गाँउदै हिडेको याद गराईरहन्छ ।

सधैका रात सोंच्ने गर्छु । आखिर त्यती सुन्दर गाउँ छाडेर के खोज्न आएको थिएँ म यो सहरमा ? रहरै रहरमा शहर पसेको म अव गाउँ गएर हलो जोत्न सक्दिन, बारी खन्न सक्दिन, साथीभाई संगै मेलापात गर्न सक्दिन, गाईवस्तुका लागी घाँस काट्न सक्दिन ।

यथार्थ नै भनौ भने अव म गाउँमा बसेर मेहनत नै गर्न सक्दिन । बानी हराईसक्यो । अनि सोच्छु के म साँच्चिकै आजकल सहरको यो रमझममा हराएकै हो त ? मेरा सपना भुलेकै हो त ? मैले बा आमाले सिकाएको रितिरिवाज र संस्कार भुलेको त हैन ?

दमकडा माध्यमिक विद्यालयले टोलटोलमा शिक्षक खटायाे

पाल्पा । दमकडा माध्यमिक विद्यालय तानसेन ९ दमकडाले टोलटोलमा शिक्षा सञ्चालन गरेको छ ।

कोभिड १९ कोरोना भाइरसका कारण लामो समय विद्यालय बन्दभएपछि दमकडाले वैकल्पिक माध्यमबाट टोलटोलमा पुगेर शिक्षा दिन थालेको हो । टोलटोलमा आएका विद्यार्थीको ज्वरो परीक्षण गरी भौतिक दूरी कायम गरेर शैक्षिक क्रियाकलापमा सहजीकरण गर्ने कार्य गरिएको विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद सापकोटाले बताउनुभयो ।

दमकडा, देउराली, टिन्टीआँप, कुन्सरे, पिप्ले, ठटिया, गोरसोत, सराईलगायतका १२ स्थानमा बालकक्षादेखि १२ सम्मको पठनपाठन भएको छ । विद्यार्थीले मास्क, सेनिटाइजरसहित झोला बोकेर टोलटोलका कक्षामा उपस्थित भएका छन् । विद्यालयले हरेक टोलमा ३\४ जना शिक्षक परिचालन गरी दैनिक हाजिर गराई विद्यार्थीलाई शिक्षण गरेको छ । गाउँमै आएर शिक्षकहरुले छोराछोरी पढाइदिएर एकदमै राम्रो काम गरेको अभिभावक टोपबहादुर घर्तीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सिकेका कुरा बिर्सिने अवस्थामा पुगेका बालबालिकालाई अप्ठेरो अवस्थामा पनि टोलटोलमा आएर पढाउने काम प्रशंसनीय छ ।’

विद्यालयले स्वास्थ्य चौकी, सहरी स्वास्थ्य केन्द्रसँग समन्वय गरी विद्यार्थीहरुको तापक्रम मापन गरेको कुन्सरे टोलमा खटिनुभएका शिक्षक दिनेश नेपालले जानकारी दिनुभयो । दमकडा माध्यमिक विद्यालयले समुदायमा शिक्षक पठाएर पठनपाठन गर्न थालेपछि विद्यार्थी खुशी भएका छन् । प्रतिक्षालय, कृषि संकलन केन्द्र र सामुदायिक भवनमा चलेको कक्षाका अधिकांश स्थानमा छोराछोरी लिएर अभिभावक पनि सँगै आएका थिए ।

कक्षा ६ देखि १० सम्मका विद्यार्थीले दूरशिक्षा रेडियो कार्यक्रमबाट पढेका पाठ, दिएका गृहकार्य र नबुझेका केही प्रश्नहरु शिक्षकलाई बुझाएका छन् । कतिपय विद्यार्थीले लकडाउनको अवधिमा बनाएका चित्र, सिर्जना र सिकेका ज्ञान पनि प्रस्तुत गरेका छन् । विद्यालयका एकेडमिक कोअर्डिनेटर होत्रीराज ढुंगानाले शिक्षक र बिद्यार्थीबीचको भेट नै शैक्षिक वातावरण कायम गर्ने बनेको बताउनुभयो । 

दमकडाले बन्दाबन्दीकै अवस्थामा २०७६ चैत्र ३० गते भर्चुअल माध्यमबाट परीक्षाफल प्रकाशन गरी बैशाख ७ गतेदेखि विद्यार्थीलाई परियोजना कार्य वितरण गरेको थियो । तीन चरण पाठ्यपुस्तकमा आधारित परियोजना कार्य वितरण गरेपछि विद्यालयले नै पाठ्यपुस्तक विद्यार्थीको घरघरमा पु¥याएको थियो । यस विद्यालयले बैशाख ३० गतेदेखि सामुदायिक रेडियो मदनपोखरासँगको सहकार्यमा कक्षा ६ देखि १० सम्मलाई रेडियोबाट पठाउँदै आएको छ ।

 

तानसेन सहकारी सञ्जालका पदाधिकारीहरूकाे सपथग्रहण

तानसेन । तानसेन नगरपालिकाले गठन गरेकाे स्थानीय सहकारी सञ्जालका पदाधिकारीहरुले सपथग्रहण गरेका छन् ।

तानसेन नगरभित्रका सहकारीको भेलाबाट निर्वाचित सञ्जालका पदाधिकारीहरुले सपथग्रहण गरेका हुन् । निर्वाचित पदाधिकारीहरुलाई तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले सपथ ग्रहण गराउनुभएकाे हाे । तानसेन नगरपालिकाका प्रमुख शाहीले सहकारी सञ्जालले सहकारीहरुलाई एकताबद्ध बनाई नगरको विकासमा नेतृत्वदायी भूमिका खेल्न शुभकामना दिनुभयो । सरकारकाे तीन खम्बे अर्थनीति वमाेजिम सहकारीहरुसँग सहकार्य गरेर नगरको विकास गर्न सकिने विश्वाससहित सञ्जाल बनाएकाे उहाँकाे भनाइ थियाे । 

कार्यक्रममा उपप्रमुख लक्ष्मीदेवी पाठकको स्वागत गर्नुभएको थियो । कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष जगदीश भट्टराई, नेपाल पत्रकार महासंघ पाल्पा शाखाका पूर्वअध्यक्ष गोविन्द भट्टराईले सहकारीको मर्मअनुसार सहकारीहरुलाई क्रियाशिल बनाउन आग्रह गर्नुभयो ।

सञ्जालकाे संयाेजकत्वमा महेश्वर पन्त हुनुहुन्छ ।  भेलाले सहसंयोजकमा गंगा पौडेल, सचिवमा मीना जिसी, सहसचिमा महेश शर्मालाई निर्वाचित गरेको छ । सदस्यहरुमा रीता पंगेनी, धनीसरा थापा, सकुन्तला बज्राचार्य, रामप्रसाद शर्मा र गीता भट्टराई रहनुभएको छ । संयाेजक पन्तले तानसेनका सहकारीबीच समन्वय र सरकारसँग सहकार्यकाे वातावरण बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयाे । कार्यक्रममा निर्वाचन समितिका अधिकृत जोगलाल विकको अध्यक्षता चलेकाे थियाे । 

पाल्पामा पूँजीगत तर्फ ६१ र चालुतर्फ ९१ प्रतिशत बजेट खर्च

पाल्पा । आर्थिक वर्ष २०७५\०७६ मा पाल्पा जिल्लाका सरकारी कार्यालयहरुले पूँजीगत तर्फ ६१.९९ प्रतिशत र चालुतर्फ ९०.७० प्रतिशत बजेट खर्च गरेका छन् ।

संघको पूँजीगततर्फ ५५.२२, चालुतर्फ ९४.१२ र प्रदेशको पूँजीगततर्फ ७५.८६ । चालुतर्फ ७१.२५ प्रतिशत खर्च गरेको प्रमुख कोष तथा लेखा नियन्त्रक खेमराज घिमिरेले बताउनुभयो । कोष तथा लेखा नियन्त्रकको कार्यालयका अनुसार संघीय सरकारबाट संघअन्तर्गतका कार्यालयहरुका लागि प्राप्त पूँजीगत तर्फ ४ अरव ६८ लाख २६ हजार ९९ रुपैंया मध्य २ अरव २१ करोड २७ लाख ५४ हजार ४सय ७० रुपैया खर्च भई १ अरब ७४ करोड ४७ लाख २८ हजार रुपैंया खर्च हुन नसक्दा फ्रिज भएको छ । चालु तर्फ ५ अरव ६४ करोड ५२ लाख ५५ हजार रुपैँया विनियोजित मध्य ५ अरब ३१ करोड ३१ लाख ७७ हजार खर्च भई ३३ करोड २० लाख ७८ हजार ८ सय ५ रुपैया फ्रिज भएको छ ।

प्रदेश सरकारबाट चालु तर्फ प्राप्त ९९ करोड १ लाख ५४ हजार मध्य ७० करोड ५४ लाख ४६ हजार रुपैया खर्च भई २ करोड ८४ लाख ७० हजार रुपैया खर्च हुन नसक्दा फ्रिज भएको छ । पूँजीगत तर्फ १ अरव ७० करोड ९४ लाख ५१ हजार मध्य १ अरब ३३ करोड १० लाख ४ हजार खर्च भइ ३७ करोड ८४ लाख ४७ हजार फ्रिज भएको छ । कोभिड १९ को संक्रमणको त्रास, लकडाउन हुँदा निर्माण सामाग्रीको अभाव, कामदार फिर्ता र निमार्ण स्थलमा सुरक्षाको जोखिम हुँदा वित्तीय प्रगति नभएकोले ठुलो रकम फ्रिज भएको छ ।

संघको पूँजीगत तर्फ ५२.२२ प्रतिशत र चालु तर्फ ९४.१२ प्रतिशत वितिय प्रगति भएको छ । संघअन्र्तगत डिभिजन सडक कार्यालयलाई प्राप्त चालु तर्फ १ करोड ५३ लाख ९० हजार मध्य १ करोड २२ लाख ५६ हजार खर्च भइ ७९.६४ प्रतिशत वितिय प्रगति भएको छ । पूँजीगत तर्फ ४६ करोड ८२ लाख २८ हजार मध्य २१ करोड ४० लाख ५ हजार रुपैया खर्च भई संघीय कार्यालयहरु मध्य सबै भन्दा कम ४५.७० प्रतिशत वितिय प्रगति देखिन्छ । नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त बजेटको खर्चको स्थिति कोभिड १९ ले नराम्रोसँग प्रभावित तुल्याएको छ ।

उत्तर दक्षिण कालिगण्डकी कोरीडोर लागि प्राप्त चालु तर्फ १ करोड ८ लाख ७६ हजार मध्य ९० लाख ३६ हजार र पूँजीगत तर्फ १ अरब ९९ करोड ४९ लाख ५० हजार मध्य १ अरव ७ करोड १६ लाख रुपैया खर्च भइ वित्तीय प्रगति ५३.७२ प्रतिशतमा सीमित भएको छ । संघअन्तर्गत पुल योजना पशिचम सेक्टर कार्यालयको वित्तीय प्रगति सबैभन्दा बढी भएको छ । पुल योजनाको चालुतर्फ १ करोड १२ लाख ३९ हजार मध्य ७० लाख १३ हजार खर्च भई वित्तीय प्रगति ६२ प्रतिशत भएको छ । पूँजीगततर्फ ४२ करोड ९४ लाख ३५ हजार मध्य ४० करोड ३६ लाख ३३ हजार रुपैंया खर्च भई ९३. ९९ प्रतिशत वितिय प्रगति भएको छ ।

यसैगरी प्रदेश सरकार अन्तर्गत खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयलाई चालुतर्फ निकासा भएको एक करोड ४२ लाख ४६ हजारबाट १ करोड १८ लाख ७२ हजार खर्च भई ८३. ३३ प्रतिशत वित्तीय प्रगति र पूँजीगत तर्फ ७० करोड ८५ लाख ७४ हजार मध्य ६४ करोड ४० लाख ५० हजार खर्च गरी ९०. ८९ प्रतिशत वित्तीय प्रगति गरेको छ । डिभिजन वन कार्यलयले ९१.०५ प्रतिशत, भु तथा जलाधार व्यवस्थापन कार्यलयले ८४.३८ प्रतिशत, कृषि ज्ञान केन्द्रले ९९.६१ प्रतिशत, भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको ४४.१० प्रतिशत, सडक पुर्वाधार विकास कार्यालयको ६९.३४ प्रतिशत र डिभिजन सिंचाइ कार्यालयको ६१. ०५ प्रतिशत वित्तीय खर्च भएको छ ।

कोष तथा लेखा नियन्त्रकको कार्यलयको तथ्याङ्क अनुसार हरेक वर्ष जिल्लागत बजेट वृद्धि भए तापनि खर्चको दर भने कम भएको भएको छ । यो तथ्यांकमा स्थानीय तहको खर्च भने गणना गरिएको छैन ।

पहिरोका कारण सिद्धबाबा मन्दिर परिसरमा क्षति

दाेभान। पाल्पा जिल्लाको तिनाउ गाउँपालिका वडा नं. ३ दोभानमा पर्ने सिद्धबाबा मन्दिरको छेउमै रहेको खोल्सामा आएको पहिराले मन्दिर परिसरमा क्षति पुराएको छ ।

आज विहान पौने एक बजे र दुई बजे गरी दुई पटक आएको पहिरोसहितको ग्रेगानले धर्मशालामा रहेको स्टोर रुम, भान्सा, धारा, प्रचार बोर्ड, खोल्सामा लगाइएको फलामको रेलिङ्ग र श्राद्ध स्थलमा क्षति पुराएको सिद्धबाबा मन्दिर विकास समितिका अध्यक्ष दलबहादुर गुरुङले बताउनुभयो । अबिरल वर्षाको कारण मन्दिर परिसरमा रहेका उल्लेखित भौतिक सामग्रीहरुको क्षति भए तापनि मानवीय क्षति भएको छैन । मन्दिर परिसरमा रहेका लक्ष्मीपति सापकोटा, बिमल पौडेल, कृष्ण न्यौपाने, फूलप्रसाद व्यवसायी गोरखनाथका चारजना सकुशल रहेको गुरुङले जानकारी दिनुभयो ।

२०३८ सालपछिको ठूलो वर्षा र क्षति भएको मन्दिरका पुजारी लक्ष्मीपति सापकोटाले बताउनुभयो । विहानैदेखि मन्दिर परिसरमा जम्मा भएको गेग्रान र लेदो हटाउन डिभिजन सडक कार्यालय, पाल्पा र बुटवलसँग समन्वय गर्दै आवश्यक डोजर लगायतका साधनको माग गरेर पहिरो पन्छाउने काम भएको छ । पहिरोले ल्याएका गेग्रान र लेदो समयमै हटाउन सकिएन भने धर्मशाला पुरै जोखिममा पर्ने देखिएको छ ।

प्रदेश पाँचमा सत्तरी प्रतिशत बजेट खर्च

बुटवल । आर्थिक वर्ष २०७६\०७७ मा प्रदेश सरकारले ७० प्रतिशत बजेट खर्च गर्न सफल भएको छ ।

 

खर्च भएको बजेट मध्ये पूँजीगत ७९ दशमलव २९ र चालुतर्फ ६० दशमलव ५४ प्रतिशत खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता जर्नादन पौडेलले बताउनुभयो । गत वर्ष ३६ अर्ब ४१ करोड ६८ लाख रुपैंया विनियोजन भएको थियो ।

 

सात प्रदेशमध्ये पूँजीगत खर्च सबैभन्दा धेरै प्रदेश ५ मा भएको छ । अन्य प्रदेश मध्ये प्रदेश नम्बर १ मा ७५ दशमलव ७९ प्रतिशत, सुदुरपश्चिम प्रदेशमा ७१ प्रतिशत,गण्डकी प्रदेशमा ७० प्रतिशत, बाग्मती प्रदेशमा ५८ प्रतिशत,कर्णाली प्रदेशमा ४३ प्रतिशत र प्रदेश नम्बर २ मा ४२ दशमलव ४० पूँजीगत खर्च भएको छ ।

 

मन्त्रालयगत विवरण अनुसार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले ५२ दशमलव ६०, आर्थिक मामिला तथा योजना मन्त्रालयले ४१, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले ६९ दशमलव ५८, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ४१ दशमलव ५५ प्रतिशत खर्च गरेका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ३२ दशमलव ९९,भौतिक पूर्वाधार विकास मन्त्रालयले ८३ दशमलव १८, सामाजिक विकास मन्त्रालयले ७६ दशमलव ८६, मुख्य न्यायाधिवक्ताको कार्यालयले ६७ दशमलव ९१ प्रतिशत खर्च गर्न सफल भएका छन् ।

 

प्रदेशको आन्तरिक राजस्व लक्ष्यको ७३ दशमलव ९३ प्रतिशत संकलन भएको छ । प्रदेश सरकारले ४ अर्ब १२ करोड २५ लाख राजस्व संकलनको लक्ष्य लिएकोमा ३ अर्ब ४ करोड ९१ लाख १२ हजार ९ सय मात्र संकलन गर्न सफल भएको छ ।

तीन दिनदेखि अवरुद्ध तानसेन बुटवल खण्ड अझै खुलेन

 

डुम्रे । सिद्धार्थ राजमार्गको बुटवल तानसेन सडक खण्डअन्तर्गत गौडे पुल नजिकै खसेको पहिरोका कारण आज तेस्रो दिनसम्म पनि सडक अबरुद्ध रहेको छ ।

तानसेन नगरपालिका ८ गौडेपुल नजिकै अस्ती राती खसेको पहिरो हटाउन नसक्दा सडक लगातार अवरुद्ध भएको हो । सडकमा करिव २ सय मिटरमाथिबाट ढुंगा र गिट्टीसहितको पहिरो खसिरहेको छ । प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले अवरुद्ध सडकको अवस्था अवलोकन गरी पहिरो पन्छाउने कार्यलाई तिव्रता दिन अनुरोध गर्नुभयो ।

हिजो दिनभर दुई वटा एक्साभेटर प्रयोग गरेर पहिरो पन्छाउने काम गरेको र काम नसकिएको प्रहरी उपरीक्षक दीपक खरेलले बताउनुभयो । सडकको ६० मिटर क्षेत्रमा झरेको पहिरोको ५० प्रतिशत पन्छाएर सकिएको र आज वर्षा नभए साँझसम्म सडक खुल्ने जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । तानसेनतिरबाट गएका सवारी साधन डुम्रे र गौडेपुल नजिक रोकिएका छन् ।

तिनाउ गाउँपालिकाको दोभान बजार नजिक आज ठूल्ठूला ढुंगासहित पहिरो खसेको छ । एक हप्तादेखि खसिरहेको पहिरो अस्ती ठूलो मात्रामा खसेपछि पहिरोले लु १ क ११७५ नम्बरको ट्रकसमेत पुरिएको थियो । सडक अवरुद्ध हुँदा बुटवलबाट पाल्पा हुँदै गुल्मी, अर्घाखाँची, स्याङ्जा जाने र बुटवलतिर जाने गाडी रोकिएका छन् । मोटरसाइकिल भने वैकल्पिक मार्ग प्रयोग गरेर हिडेका छन् ।

ऐतिहासिक रानीमहलको रङ फेरिएपछी सामाजिक सञ्जालमा बहस

विजयकुमार बौडेल –
असार २८ – यसअघी आकाशी र सेतो रङ मिसिएको ऐतिहासिक, पुरातात्विक एवं पर्यटकीय महत्वको रानीमहलमा पछिल्लो समय सेतो मात्र रंगरोगन पोतिएपछी सामाजिक सञ्जालमा बहस भएको छ ।

रानीमहल बनाउने क्रममा सेतो नै भएपनी २०६३/०६४ सालमा आकाशी र सेतो रङ लगाईएको थियो । त्यसपहछी अहिले पुनः सेतो मात्र रङ लगाएपछी सामाजिक सञ्जालमा रङ फेर्नु ठिक कि बेठिक भन्ने विषयमा बहस चलेको हो ।

तत्कालिन पर्यटनमन्त्री रविन्द्र अधिकारीले तानसेन नगरपालिकालाई २ बर्षअघी रानीमहलको संरक्षण गर्ने जिम्मेवारी दिनुभएको थियो । जिम्मेवारी पाएको २ बर्षपछी मात्र तानसेन नगरपालिकाले रङरोगन गर्ने काम गरेपनी नागरिकहरुले मिश्रीत मत राखेका छन् । चालु आर्थिक बर्षमा नगरपालिकाले रङरोगन र सरसफाईका लागी बजेट विनियोजन गरेर काम गरिरहेको छ । ४० लाख रकम विनियोजन गरेर नगरपालिकाले ५ वटा सौचालय सहित रङरोगन गरिरहेको जनाएको छ ।

रङ फेरिएपछी सामाजिक सञ्जालमा विभिन्न फरक विचारहरु आईरहेका छन् । तानसेन ९ का यादव प्रसाद सापकोटाले डिजाईनमा गोल्डेन र व्ल्याक फिल गर्दा अझै राम्रो देखिन्छ कि भन्नुभएको छ । त्यस्तै पत्रकार भुवन रायमाझीले बिरुप देखियो, पहिलेको धेरै राम्रो भन्नुभएको छ । तानसेन ८ का विशाल अर्यालले निलोपनी ठीक थ्यो, सेतो पनि ठीक छ । दरबार हरु धेरैजसो सेतै हुने गर्छन् सायद त्यसैले रानीमहल लाई सेतो बनाइयो । भन्नुभएको छ ।

सामाजिक अभियन्ता बिष्णु कंडेलले पहिलेको नै धेरै राम्रो छ भन्नुभएको छ । शिक्षक श्रीकृष्ण पोखरेलले मान्छे अनुसार हेराई पनि फरक फरक हुने गर्दछ, कसैलाई राम्रो लागेको कसैलाई नराम्रो लाग्न सक्दछ, यो मामवीय स्वभाव हो । यो सामान्य कुरालाई विवादास्पद नबनाउँ । बरू यो भन्दा अझ राम्रो कसरी बनाउन सकिन्छ ? त्यसतर्फ ध्यान दिँदा उचित होला । पक्कै पनि केहि सोचेरै परिवर्तन गरिएको होला । परिवर्तन हुनु र गरिनु आफैमा नराम्रो होइन । सकारात्मक साेंचको विकास गरौं । भन्नुभएको छ ।

साहित्यकार पुष्कर राज रेग्मीले पहिचान नगुमोस, निलो संसार प्रशिद्ध भईसकेको छ, सेतोको वकालत अब गर्नु पर्छ, वकालत गर्दागर्दै नेपालीको दिनचर्या बित्ने भो । भन्नुभएको छ ।

यद्यपी धेरैजसोले आकाशी र सेतो मिसिएको रानीमहल ब्राण्ड नै भईसकेको भन्दै रङ फेर्नु उपयूक्त नभएको विचार व्यक्त गरेका छन् ।