सामुदायिक रेडियो मदनपोखरा
spot_img
Home Blog Page 18

नेपाल चीन कनेक्टिभिटीमा रेल पहिलाे प्राथमिकता

लीलामणि पाैडेल

नेपालमा रेलमार्ग चाहिन्छ भन्ने कुरा बहसमा छ । नेपालको अन्तर्राष्ट्रियरुपमा कनेक्टिभिटीको कुरा गर्दा हामी कि हवाइरुपमा जोडिने हो, कि स्थल यातायात, मुख्य गरी रेल्वेबाटै हो । हवाइ जहाजमार्फत जोडिँदाका सीमाहरु छन् । त्यो खर्चिलो पनि छ । उड्डयनमा ‘प्वाइन्ट टू प्वाइन्ट कनेक्सन’ हुन्छ । त्यसले ‘बल्क कार्गो’ बोक्न सक्दैन । त्यसले औद्योगीकरणको साना (लाइट) उद्योगलाई मात्रै काम गर्ला, ठूला (हेभी) कम्पनीलाई लजिस्टिक पक्षबाट आर्थिक रुपमा प्रतिस्पर्धी बनाएर सहयोग गर्न सक्दैन हवाइ यातायातले ।

हामीलाई बाह्य संसारसँग जोडिन रेल्वे कनेक्टिभिटीको भरपर्दो विकल्प छैन । हामी चीनसँग रेलमार्फत जोडिन सक्यौं भने फाइदा हुन्छ । वर्षमा हजारौं कन्टेनर युरोपबाट चीन र चीनबाट युरोप गरिरहेका छन् । चीनसँग रेलबाट जोडिँदा हामी मध्य, मध्यपूर्व र पश्चिम एसियालगायतका क्षेत्रसम्म पनि यातायात सञ्जालमा जोडिन्छौं । त्यसबाट आउने लाभ अथाह हुन्छ र त्यसले ‘गेम चेन्ज’ गर्न सक्छ ।

हामी अहिले ट्रान्जिटमा पूर्णरुपमा भारतमा निर्भर छौं । त्यो निर्भरतालाई कम गर्न सन् २०१५ मा चीनसँग ट्रान्जिट ट्रान्सपोर्ट सम्झौता भयो । २०१९मा त्यसको प्रोटोकल फाइनल गर्‍यौं । त्यो प्रोटोकलमा हस्ताक्षर गरे पनि हामीले साँच्चिकै ट्रान्जिटलाई आर्थिक रुपमा सम्भाब्य हुने गरी प्रयोग गर्ने हो ‘सिमलेस मुभमेन्ट अफ कार्गो’ आवश्यक पर्छ, त्यो पनि रेल्वेबाटै । रेल नभई हामी चीनको ट्रान्जिट प्रयोग गर्न सक्दैनौं ।

हामी अहिले चीनबाट ट्रान्जिट पायौं भनेर कराइरहेका छौं । तर, यदि रेलले जोड्न सकेनौं भने त्यसको कुनै अर्थ छैन । यही कारण हाम्रो उत्तरसँगको रेलको कनेक्टिभिटी रणनीतिकरुपमा पनि महत्वपूर्ण छ ।

यसलाई हामीले विशद्ध ‘फाइनान्सियल रेट अफ रिटर्न’ (बनेपछि रेलबाट उठ्ने राजस्व) का आधारमा हेर्न हुँदैन । यो हाम्रो राष्ट्रियताको सवाल पनि हो, यो हाम्रो अन्तर्राष्ट्रिय ‘इन्टिग्रेसन’ पनि हो । सँगै, यसले ल्याउने आर्थिक लाभका पक्षहरु पनि जोडिन्छन् ।त्यसैले हामी रेलबाट उत्तरमा चीनतर्फ जोडिनुपर्छ ।

त्यसका लागि दुईवटा सवाल छन् । निर्माणका लागि वित्तीय स्रोतको जाहो र प्रविधि महत्वपूर्ण मुद्दा हुन् । वित्तीय स्रोत समस्याको विषय हैन, प्रविधि विषय महत्वपूर्ण हो ।

म प्राविधिक त हैन । म रेलको विज्ञ पनि हैन । तर, मैले जति पनि रेल्वे बुझेका प्राविधिहरुसँग कुराकानी गरेँ, उत्तरतर्फबाट रेल ल्याउन खर्चिलो छ, गाह्रो छ, तर सम्भव छ भन्नुहुन्छ । नेपालको जस्तै कठिन भूगोलमा चीनले छेन्दुबाट ल्यासासम्म जोड्ने रेल बनाइरहेको पनि छ । हाम्रोमा निर्माण गर्न अझ सहज नहोला । नेपालमा आउने रेल छेन्दुबाट आउनेभन्दा भूगोलका हिसावले अप्ठेरो त हैन, उचाइको फरक लगायतका कारण निकै असहज चाँहि छ । यो प्राविधिकरुपमा कति सम्भाव्य भनेर प्राविधिकले नै भनुन् । तर, यो कुनै नाफा-घाटाको भनेर हेर्ने परियोजना हैन । यो रेलमार्ग चाहिन्छ ।

यसको महत्व र औचित्यका आधारमा यसलाई पहिलो (टप मस्ट) प्राथमिकतामा राख्नुपर्छ । यो नेपाललाई अन्य देशसँग जोड्ने र नेपालको अर्थतन्त्रलाई कायापलट गराउने परियोजना हो । यो हाम्रो पहिलो प्राथमिकतामा हुुनुपर्ने हो । अहिले किन सरकार पूर्व-पश्चिम रेलमार्गतिर किन गएको हो भनेर मैले भन्न सक्ने अवस्था रहेन ।

रणनीतिक महत्वका हिसाबले हेर्दा दक्षिण (भारत)बाट नेपाल रेलले जोडिने कुरा व्यवसायिकरुपमा नै अर्थपूर्ण छ । त्यसले त कोलकत्तादेखि कै कार्गोलाई फेसिलेटेड गर्छ । हाम्रो ढुवानी खर्च घटाइदिन्छ र अर्थतन्त्रलाई प्रतिस्पर्धी बनाइदिन्छ ।

उत्तरतिरबाट जोड्ने कुराको चाँहि रणनीतिक महत्व पनि छ र त्यसले हामीलाई बाहिरको संसारसँग नै जोड्छ । त्यसैले यी दुई रेलमार्गलाई सबैभन्दा बढी प्राथमितामा राखेर जानुपर्छ ।

यो योजना बनाउँदा नै ध्यान दिनुपर्ने विषय हो । यो राष्ट्रिय स्वार्थको कुरा हो । यो तपाईंको र मेरो सवाल हैन । यो सवालमा हामी विभाजित भयौं भने चीन लगानी लिएर नआउन पनि सक्छ ।

यो ठूलो परियोजना हो, चिनियाँहरुको सहभागिता हुन्छ । तर, ऊ विवादमा पर्छ भने किन आउँछ ? अहिले आएर यो रेलमार्ग हामीलाई चाहिन्छ कि चाँहिदैन ? भन्ने काम गर्नुहुँदैन । पूर्वअर्थमन्त्री भएका मान्छेले नै अनुदानमा बनाइदिए चाहिन्छ, ऋण लिएर बनाउनुहुँदैन भन्नुभयो । त्यसले त ‘अनुदान भनेको काम नलाग्ने परियोजनामा लगाए हुन्छ’ भन्ने अर्थ लाग्छ । मलाई यो तर्क उपयुक्त लागेन ।

त्यसैले चीनतर्फको रेलमार्गलाईर् प्राथमिकतामा राखेर हाम्रो क्षमताले सक्ने स्रोत जुटाउनुपर्छ । यस्तो परियोजनामा हामी सबै एक मत भएर जानुपर्छ । आफूले सक्ने स्रोत राखेर एक मत भएर सहयोग माग्दा चीनबाट जुनसुकैखालका सहयोग पनि हामीले पाउँछौं ।

पहिलो सहयोग भनेको त हाम्रो आफ्नै क्षमतामा बनाउने कुरा हो । दोस्रो, प्रविधि लिने कुरा हो । तेस्रो निर्माणको पक्ष हो । निर्माण ठूलो कुरा हैन, प्रविधि लिने र क्षमता विकास गर्ने कुरा ठूला हुन् ।

हामीले विगतमा केही मान्छेलाई चीनमा रेलबारे पढ्न पठाएका थियौं । तर, फर्किएर आएका इञ्जिनियर रेल विभागमा छैनन् । अन्यत्र काम गरिरहेका छन् । रेल विभाग दक्ष जनशक्ति छैन भनिरहेको छ । तालिम लिएर आएकाहरुलाई रेलमै ल्याउनुपर्छ ।

त्योभन्दा ठूलो कुरा, एक-दुईजनालाई मात्रै रेल्वे इञ्जिनियरिङ सिकाएर हुँदैन । संख्या ठूलो बनाउनुपर्छ । रेल भनेको मेकानिकल कुरा मात्रै हैन, अरु धेरै पक्ष यसमा जोडिन्छन् । ५० जना जति इन्जिनियरको दरबन्दी सिर्जना गरी भर्ना सकेर उहाँहरुलाई पढ्न चीनमा पठाउँदा हुन्छ । उदार ढंगले राखियो भने चीनले त्यो सहयोग गर्छ । त्यसैले हो हाम्रो क्षमता विकास हुने र प्रविधि हस्तातरण हुने ।

पछि हामीले नै आफ्नो रेल्वे धान सक्छौं । रेल्वेको सञ्चालन र मर्मतदेखि अन्य धेरै पक्षमा हाम्रो पनि विज्ञता बढ्छ । अहिले चीनले ल्हासाबाट छेन्दुसम्म बनाइरहेको रेल्वे परियोजनामा काम नै गर्ने गरी पठाउँदा हुन्छ ।

रेल्वेमा हामीले क्षमता विकास गर्ने पक्षमा ध्यान दिनैपर्छ । जानकारी नभएको विषयमा राजनीतिज्ञले भने भनेर हावाका भरमा रेल विभाग र त्यहाँ कार्यरत इन्जिनियरले सल्लाह नदिनुहोला । नेताहरुले जे सुन्न चाहानुभएको छ, त्यही सल्लाह दिने हैन, सही सल्लाह दिने र त्यसैअनुसार काम गर्ने हो ।

रेल विभागमा रहनुभएका इन्जिनियर लगायतका साथीहरुले पेशागतरुपमा जिम्मेवार भएर काम गर्नुपर्छ । अरुलाई बाटो देखाउनुपर्छ । आउने पुस्ताले पनि सम्झिने गरी काम गर्नुपर्छ । दुई वर्षपछि गाली खानुपर्ने गरी काम नगर्नुहोला ।

अन्तिममा पनि भनेँ, उत्तरसँगको कनेक्सनचाँहि हाम्रो सबैभन्दा बढी प्राथमिकतामा रहनुपर्छ । यो यात्रु बोकेर र उसैबाट भाडा उठाएर मात्रै खानले रेल्वे हैन । यसले हाम्रो अर्थतन्त्रका जोखिमहरुलाई घटाउँछ, बाहिरी संसारसँग जोडेर आर्थिक सम्भावनाका ढोका खुल्छ । हामीले सबैभन्दा पहिला बाहिरी संसारसँग हामीलाई अलग्याउने गरी बन्द रहेको गेटवे खोल्नुपर्छ ।

(पूर्व मुख्यसचिव एवं पूर्व राजदूत पौडेलद्वारा व्यक्त विचार )

पाल्पामा थप तीन जनामा कोरोना

 


पाल्पा । पाल्पामा थप तीन जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

रामपुर नगरपालिकाका दुई र तानसेन नगरपालिकाका एक गरी थप तीन जनामा कोरोना संक्रमण देखिएको हो । रामपुर नगरपालिकाका २ पुरुष र तानसेन नगरपालिकाका १ महिलासहित ३ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालयका सूचना अधिकृत ओमप्रकाश पन्थीले बताउनुभयो । प्रयोगशालाले पठाएको प्रतिवेदन अनुसार आज रामपुरको १४, तिनाउको १४, रिब्दीकोटको ७३, निस्दीको १७ को गरी १ सय १८ जनाको रिपोर्ट आएको छ ।

तानसेन नगरपालिका ८ पीपलडाँडा घरमै बसेकी ३० वर्षिय महिला बिरामीभएपछि लुम्बिनी मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो । महिला गाउँकै धार्मिक भेला र दर खाने कार्यक्रममा सहभागी बन्दा काेराेना सरेकाे हुन सक्ने स्थानीय बासिन्दाकाे भनाइ छ । अस्पतालले कोरोनाको लक्षणको शंका गरी हिजो स्वाव पठाइएकोमा पोजेटिभ रहेको रिपोर्ट प्राप्त भएको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताउनुभयो ।

रामपुर नगरपालिका वडा नम्बर ६ का २४ वर्षका र ९ का ४५ वर्षका शिक्षकमा कोरोना संक्रमण देखिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तीर्थ प्रसाद ढुंगानाले जानकारी दिनुभयो । उनीहरु दुबै जना होम क्वारेन्टाइनमा बसेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको ढुगांंनाले बताउनुभयो ।संक्रमित २४ बर्षे युवा १९ दिन अघि दुबइबाट घर आएका हुन् । भारतबाट आएका उनका भाइलाई पनि यस अघि कोरोना पोजेटिभ देखिएको थियो । अर्को ४५ बर्षे संक्रमित तराईबाट आएका  हुन् । कपिलवस्तु घर भएका उनी घरबाट आएका थिए । उनी रामपुर ९ को माबिका शिक्षक हुन् ।

पाल्पा जिल्लामा अहिलेसम्म ४ हजार ७ सय १६ जनाको पिसिआर गरेकोमा ५ सय ६८ जनामा कोरोना देखिएको छ । कोरोना देखिएका मध्ये ५ सय ६४ जना भारतबाट आएका हुन् भने २ जना गाउँमै रहेका समुदायकै महिला हुन् । कोरोनाका कारण पाल्पामा हालसम्म एक जनाको ज्यान गएको छ ।

समुदायस्तरमा कोरोना देखिन थालेपछि जिल्ला प्रशासन कार्यालय पाल्पाले निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले निषेधाज्ञा पालना गर्न सम्पूर्ण पाल्पाबासीलाई आग्रह गर्नुभएको छ ।

पाल्पा पिसिआरका लागि एक करोड निकासा


तानसेन । पाल्पा अस्पतालमा पिसिआर मेशिन जडानका लागि नेपाल सरकारले एक करोड रुपैँया निकाशा दिएको छ ।

कोरोना संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष सञ्चालक समितिको भाद्र २ गते को १० औं बैठकले पाल्पा अस्पतालको नाममा १ करोड रकम निकासा दिएको हो । पिसिआर मेशिनको अभावका कारण सरकारले सोझै अस्पतालको नाममा रकम निकासा दिने निर्णय गरेको हो ।

पाल्पा २ का सांसद सोमप्रसाद पाण्डेयले रकम निकासापछि छोटो प्रक्रिया अपनाएर मेशिन तथा उपकरण खरिद गरी तत्काल जडान गर्ने व्यवस्था मिलाइने बताउनुभयो । सांसद पाण्डेयले सिसिएमसी र अस्पताल व्यवस्थापन समितिले खरिद तथा व्यवस्थापनका लागि आवश्यक निर्णय लिने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अस्पताललाई लेखेको परिपत्रमा प्रचलित कानुन एवम् स्वीकृत मापदण्ड वमोजिम खरिद गरी भुक्तानी गर्ने, लेखा राख्ने, लेखापरीक्षण गराउने र सोको प्रतिवेदन पठाउने उल्लेख गरेको छ ।

पाल्पा अस्पतालले जिल्ला समन्वय समितिको सभाहल काजीपौवामा पिसिआर प्रयोगशालाका संरचना निर्माण गरिसकेको छ । प्रयोगशालामा ८ वटा कक्षसहित ६ वटा स्वास्थ्यकर्मी आवास रहेको पाल्पा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले जानकारी दिनुभयो । यो प्रयोगशाला ५ नं. प्रदेशकै सुव्यवस्थित प्रयोगशाला हुनेछ ।

तानसेन नगरपालिकामा आर्थिक वर्ष २०७६\०७७ मा ८० कराेड खर्च

पाल्पा । तानसेन नगरपालिकाले गत आर्थिक वर्ष २०७६\०७७ मा विनियोजित १ अर्ब १६ करोड रुपैंयामा ८० करोड खर्च गरी करिव ७० प्रतिशत वित्तीय प्रगति गरेको देखाएको छ ।

नगरपालिाले आर्थिक वर्ष २०७६\०७७ मा विनियोजित बजेट १ अर्व १६ करोड ९ लाख ६ हजार ५ सय १ रुपैंया पेश गरेकोमा ८० करोड ८३ लाख ९ हजार ९ सय ७९ रुपैंया खर्च भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेल्बासेले बताउनुभयो । खर्च कटाएर बाँकी रहेको ३५ करोड २५ लाख ९६ हजार ५ सय २१ रुपैंया मध्ये ७ करोड १५ लाख ४४ हजार १ सय ६७ रुपैंया फ्रिज भएको छ । नगरपालिकामा २८ करोड १० लाख ५२ हजार ३ सय ५४ रुपैंया नगरपालिकामा बचत रहेको लेखा अधिकृत कोशलराज घिमिरले बताउनुभयो ।

आन्तरिक आम्दानी ६ करोड ९७ लाख १७ हजार संकलन गर्ने लक्ष्य लिएकोमा ५ करोड ७८ हजार ५८ रुपैँया आम्दानी भएको छ । कोभिड १९ को असहज परिस्थिति, दुई महिना लामो लकडाउन, निर्माण सामग्री र कामदारको अभाव हुँदा पनि तुलनात्मक रुपले राम्रै काम भएको र चालु वर्ष यस्ता परिस्थितिको आँकलन गरेर योजना सञ्जालन गर्ने योजना रहेको नगरपालिका प्रमुख अशोककुमार शाहीले बताउनुभयो ।

कोरोना कोषमा २ करोड १९ लाख ४० हजार ८ सय ३४ रुपैंया आम्दानी भएकोमा क्वारेन्टिन सञ्चालन र व्यवस्थापन, राहत, सहुलियतपूर्ण राहत वितरण र कोरोना नियन्त्रणसम्बन्धी क्रियाकलापमा २ करोड १ लाख ८९ हजार ३ सय ३५ रुपैँया खर्च भएको छ ।

नगरपालिका, माथागढी, बगनासकाली र तिनाउ गाउँपालिकाले सम्युक्त रुपमा सञ्चालन गरेको आइसोलेसनमा ३१ लाख ५८ हजार ७ सय ६८ रुपैंया खर्च भएको र ३० लाख रुपैंया आम्दानी भएको छ । आइसोलेसनमा १ लाख ९० हजार रुपैँया भुक्तानी गर्न बाँकी देखिन्छ ।

टेलिभिजन पाठशालाका शिक्षक सम्मानित

पाल्पा।  ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र रिड नेपालले टेलिभिजन पाठशाला हेर्दै सिक्दैका ९ जना शिक्षकहरुलाई सम्मान गरेकाे छ ।

तानसेन नगरपालिकासँगकाे समन्वयमा श्रीनगर टेलिभिजनबाट सञ्चालित पाठशालमा पढाएका  शिक्षकहरु कृष्ण मल्ल, हरिलाल गैरे, झविन्द्र देवकोटा, हेमन्त पराजुली, एकराज ज्ञवाली, लालकुमारी खाम्चा, टंक भुषाल, भावना खनाल र विमला सापकोटालाई सम्मान गरिएकाे हो । देववाणी साधारण तथा संस्कृत माध्यमिक विद्यालय, जनप्रिय माध्यमिक विद्यालय, लुम्बिनी माध्यमिक विद्यालय, श्रीनगर टेलिभिजन र समितिका पदाधिकारीहरु संयोजक कृष्णबहादुर थापा, सदस्य हिरा आचार्य र सदस्य दीपक गौतमलाई समेत सम्मान गरिएकाे छ ।

तानसेन नगरप्रमुख अशोककुमार शाहीले दशैं तिहारसम्म विद्यालय खुल्ने सम्भावना कम रहेकोले विद्यार्थी  रअभिभावक शिक्षा दिनुपर्ने कुरामा जोड दिनुभयो । उहाँले सम्मानित शिक्षकहरुलाई बधाई दिदै यो कार्यक्रम मार्फत शिक्षण गर्ने शिक्षकहरु परीक्षामा राेल मोडलको भुमीकामा स्थापित हुन सफल हुनुभएको बताउनु भयो । पाठशालाका संयोजक कृष्णबहादुर थापाले लकडाउनको भयावह स्थितिमा समेत शिक्षकहरुले गर्नुभएको मेहनत सबैका लागि प्रेरणादायी रहेकाे बताउनुभयाे । रिड नेपालका शिक्षा संयोजक कपिल पुरीले सामाजिक रुपमा त्रसित हुने बेलामा बालबालिकाको सिकाइलाई प्राथमिकतामा राखेर काम गर्ने सबैलाई धन्दवाद दिनुभयाे ।  उहाँले विपन्न गरिव परिवारका बालबालिकाहरुलाई ६ सय ५१ वटा रेडियो सेट वितरण गरेको समेत सुनाउनुभयो ।


कार्यक्रममा श्रीनगर टेलिभिजनका कमलराज तिमिल्सिना, शिक्षक झविन्द्र देवकोटा र भावना खनालले शिक्षण गर्दाका आ–आफ्ना अनुभवहरु सुनाउनु भएको थियो । लुम्बिनी माध्यमिक विद्यालयका शिक्षक हरिप्रसाद पोखरेलको स्वागतबाट शुरु भएको कार्यक्रमको सञ्चालन जनप्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक हिरा आचार्यले गर्नुभएको थियो । रिड नेपालको आर्थिक सहयोगमा सञ्चालित कार्यक्रम गत जेठ ११ गते देखि साउन ७ गतेसम्म चलेको थियो । 

भगवती जात्रा मनाइयाे, व्यवस्थापन सुधारकाे खाँचाे

पाल्पा – दुई शताब्दी लामो परम्परा बोकेको ऐतिहासिक भगवती जात्रा आज भगवतीकाे प्रतिमूर्ति घुमाएर मनाइएकाे छ ।
कोभिड १९ महामारीका कारण यस वर्ष भगवती जात्रालाई संक्षिप्त रूपमा मनाउने निर्णय गरे वमोजिम मन्दिर परिसरमा प्रतिमूर्ति घुमाएर मनाइएको छ । राष्ट्रियतासँग जोडिएको ऐतिहासिक भगवतीजात्रा कोरोनाका कारण सामान्य रूपमा मनाइएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर उदयले बताउनुभयो ।
कोरोना भाइरसको सङ्क्रमण फैलिने सम्भावना रहेकाले यो वर्ष भगवती जात्रा सामान्य मात्र गरियाे समितिका अध्यक्ष राजेश्वर उदयले भन्नुभयो मन्दिर परिसरभित्रै भगवतीकाे प्रतिमूर्ति घुमाएर जात्रा गरियाे । नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र नेपाल प्रहरीकाे सानाे टुकडी, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी, जनप्रतिनिधि र सर्वसाधारणकाे सानो संख्यामा उपस्थित सहभागिता रहेकाे थियाे । यो वर्ष मन्दिर व्यवस्थापन समितिले बली दिइएकाे थिएन । सर्वसाधारणले भने बिहानै मन्दिरमा बली दिएका थिए ।
वि.स. १८७१ देखि १८७२ सम्मको नेपाल अङ्ग्रेज युद्वमा नेपाली सेनाले नुवाकोट जितगढीमा विजय गरी स्युराज, लुम्बिनी र बुटवल क्षेत्र जोगाएको हो । विजयोत्सवका रूपमा १८७७ सालदेखि हरेक वर्ष तानसेनमा भगवती जात्रा मनाइँदै आएको छ । हरेक वर्ष कृष्णाजन्माष्टमीको भोलिपल्ट भगवती जात्रा निकालिने प्रचलन रहेको छ । राष्ट्रियताको प्रतीक बनेको भगवती जात्राको महत्वलाई सम्मान गर्दै यो वर्षदखि प्रदेश सरकारले पाल्पामा सार्वजनिक बिदा दिएको थियाे । 
जात्रामा खल्लाेपन 
भगवती रथयात्रामा हजाराैँ मानिसकाे उपस्थिति देखिरहेका जात्रुका लागि यसपाली खल्लाे लाग्नु स्वाभाविक थियाे । रथ बाेकेर बजार परिक्रमा भएन, मूर्ति बाेकेर मन्दिर परिसर घुमाइयाे । काेभिड १९ कारण सरकारले मानिसहरूकाे जमघटमा बर्जित गरेकाले जिल्ला प्रशासन कार्यालय र तानसेन नगरपालिकाले संक्षिप्त मनाउने घाेषणा गरेका थिए ।

 

जनसागरकाे उपस्थिति र भीडभाडमा व्यवस्थापन चुस्त नहुनुसम्म स्वभाविक जस्ताे लाग्थ्याे तर यसपाली सानाे उपस्थितिमा पनि मन्दिर परिक्रमा व्यवस्थित हुन सकेन । मन्दिर व्यवस्थापन समितिले यति महत्व बाेकेकाे जात्रामा जिम्मेवारी बाँडफाँड गरी चुस्त व्यवस्थापन गर्न सक्थ्याे । फूल, प्रसाद, टीका र धजा वितरण गरी भगवती जात्राकाे सन्देश कम्तिमा बजारभरि पुर्याउन सकिन्थ्याे । 
सेना र प्रहरी पनि एक लाइनमा थिएनन्, रथ अगाडि र पछाडी थिए । मन्दिर परिक्रमा गर्दाकाे धुन पनि झिमझिम परेली…., पानकाे पात….. गीतमा बजाइएकाे थियाे, जहाँ नेपाल र अंग्रेज परास्त गरेकाे विजयाेल्लासकाे संझनामा रथयात्रा गरिन्छ । नेपाली राष्ट्रिय गीतका धुन बज्नुपर्ने बेला मायाप्रितीका भाका घन्किन पुग्याे । त्याे भन्दा पनि खल्लाेपन खट्कियाे, ‘भगवतीकाे रथयात्राकाे सुरूवातकाे तीथिमिति । समितिले २०२ वर्ष भन्याे, बाहिरकाले भने २०२ पुगेकाे छैन । कतिले १८७६ देखि सुरू भनेर बाेले कतिले १८७७ बाट सुरू भएकाे भनेर अभिव्यक्ति दिए ।’  लामाे परम्परा बाेकेकाे याे भगवती जात्राकाे व्यवस्थपानका विषयमा समीक्षा गरी अगाडि बढ्नुपर्ने देखिन्छ । 

दमकडाका ३६ शिक्षकको निशुल्क कोरोना बीमा

पाल्पा । दमकडा माध्यमिक विद्यालयले आफ्नो विद्यालयमा सरकारी स्रोतबाट तलवभत्ता खाने सम्पूर्ण शिक्षक कर्मचारीको कोरोना बीमा गरिदिएको छ ।

दमकडा माध्यमिक विद्यालयले ३६ जना शिक्षकको सगरमाथा इन्सुरेन्स कम्पनी लिमिटेडकमार्फत् कोरोना बीमा गरिदिएको हो । निशुल्क बीमा शुल्कमा प्रतिव्यक्ति १ लाख रुपैँयाको बीमाङ्क रहने गरी विमा गरिएको सगरमाथा इन्सुरेन्स कम्पनी पाल्पाका शाखा प्रबन्धक करुणा काफ्लेले बताउनुभयो ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरसबा उत्पन्न हुन सक्ने जोखिमको आर्थिक सुरक्षाका लागि नेपाल सरकारले सरकारी कर्मचारीको निशुल्क विमा गरिदिने नीति ल्याएको हो । आर्थिक वर्ष २०७७\०७८ को बजेट वक्तव्यको बुँदा नं ५५ र २८५ मा कोरोना बीमा सम्बन्धी उल्लेख गरिएको थियो । अर्थ मन्त्रालयको सहमतिमा बीमा समितिले कोरोना बीमा मापदण्ड २०७७ लागू गरेपछि यो कार्यक्रम लागू भएको हो ।

दमकडा माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद सापकोटाले राष्ट्रसेवक कर्मचारीहरुको सामूहिक कोरोना बीमा गर्दा नेपाल सरकारले शत प्रतिशत अनुदान दिने कुरा बजेटमा सुनेको र त्यसको यति छिट्टै आफूहरुले गर्न पाउँदा खुशी लागेको बताउनुभयो । विद्यालयका शिक्षकहरुको सामूहिक बीमा गर्दा मात्र २० रुपैँया टिकट खर्च भएको प्रधानाध्यापक सापकोटाको भनाई छ ।

नेपाल सरकारले बीमा समितिबाट इजाजतपत्र प्राप्त गरेका नेपालका २० वटा निर्जीवन बीमा कम्पनीमार्फत बीमा गराइरहेको छ । बीमालेख प्राप्त गरेको १५ दिन पछाडी कोरोनाको संक्रमण देखिएमा विमा कम्पनीले ७ दिनभित्र १ लाख रुपैंया दिनुपर्ने व्यवस्था छ । आम नागरिकले गर्ने सामूहिक कोरोना बीमामा ५० प्रतिशत अनुदान पाउने व्यवस्था रहेको छ ।

विद्यालयले परियोजना कार्य, टोलटोलमा शिक्षा र रेडियोमार्फत् पठनपाठनमा आफ्ना शिक्षकहरु संलग्न भइरहेको र कोरोनाको जोखिमबाट बच्न यो आर्थिक सुरक्षाको कार्यक्रमले थप उप्रेरणा दिने विद्यालयका शिक्षकहरुको भनाई छ ।

जडिबुटी सहकारीले झुम्सामा तितेपातीको तेल निकाल्न थाल्यो

झुम्सा । तिनाउ गाउँपालिका ३ झुम्सामा रहेको जडिबुटी संरक्षण तथा उपयोग सहकारी संस्था लिमिटेडले तितेपातीको तेल उत्पादन गर्न सुरु गरेको छ ।

प्रदेशसभा सदस्य बसन्त घर्ती मगर र नारायणप्रसाद आचार्यले तिनाउको झुम्सामा रहेको सहकारीको कारखानामा दीप प्रज्वोलन गरी तेल पेल्ने कार्यको शुभारम्भ गर्नुभयो । सहकारी संस्थाका अध्यक्ष झपेन्द्र जीसीले मंगलाचरणको मन्त्रोच्चारण गर्दा प्रदेशसभा सदस्यद्वय घर्ती र जीसी, गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले स्थानीय समुदायको आयआर्जन वृद्धि गर्न तितेपातीको तेल उत्पादनले ठूलो टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

गाउँमा खेर गइरहेको तितेपातीलाई प्रशोधन गरी तेल निकाल्ने योजना रहेको सहकारी संस्थाका अध्यक्ष झपेन्द्रबहादुर जीसीले बताउनुभयो । सहकारीले एक किलोग्राम तितेपातीलाई ८ रुपैँया मूल्य दिएको छ । तिनाउ आसपासका स्थानीय समुदायले खेर गइरहेको तितेपातीलाई काट्ने, बोक्ने, ढुवानी खर्च घटाउँदा एक दिनमा ३ हजार रुपैँयासम्म आम्दानी भएको बताएका छन् । एक लिटर तितेपातीको तेललाई कम्तिमा १० हजार रुपैँया पर्दछ । पाँच क्वीन्टल तितेपाती एक घान लगाएर पेल्दा १ लिटर तेल निस्कन्छ ।

तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले दालचिनी, अदुवा, बेसारको तेल निकाल्ने हो भने यस क्षेत्रका समुदाय सम्पन्न हुने बताउनुभयो । सहकारीले दाउरा बालेर पानी तताई बाफले तितेपातीको तेल निकाल्ने गर्दछ । अध्यक्ष जीसीले यसले स्थानीय समुदायलाई रोजगारीका अवसर दिने भएकाले राज्यले नयाँ प्रविधिको मेशिन किन्न सहयोग गर्नुपर्ने बताउनुभयो । यो पुरानो प्रविधि हो । नयाँ प्रविधिको मेशिनका लागि करिव ५० लाख पर्दछ ।

जडिबुटी संरक्षण तथा उपयोग सहकारी संस्था लिमिटेड २०५६ सालमा स्थापना भएको हो । सहकारीमा हाल १६५ शेयर सदस्य रहेका छन् ।

पाल्पामा कोरोना संक्रमित शुन्यमा झर्याे

पाल्पा । पाल्पा जिल्लामा ५ सय ६० जना कोरोना संक्रमित उपचारपछि सञ्चो भएर घर फर्किएका छन् ।

कोभिड १९ कोरोना भाइरस लागेका मानिसहरु निको भएर घर फर्किपछि संक्रमितको संख्या पाल्पामा शुन्यमा झरेको सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले बताउनुभयो । पाल्पा जिल्लामा ३ हजार ९ सय ७ जनाको पिसिआर परीक्षण भएकोमा ५ सय ६१ जनामा कोरोना संक्रमण भएको थियो । संक्रमितमध्ये ५ सय ६० जना उपचारपछि घर फर्किएका छन् भने १ जनाको निधन भएको छ ।

भारत र विदेशबाट फर्किएका मानिसहरुमा कोरोना संक्रमण देखिन थालेपछि स्थानीय पालिकाहरुले आइसोलेसन निर्माण गरी छुट्टै राख्ने व्यवस्था मिलाएका थिए । स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले आइसोलेसनमा एक जना पनि कोरोना संक्रमित नरहेको बताउनुभयो ।

कोभिड रोकथाम र नियन्त्रणका लागि जिल्लामा गठित सिसिएमसीको निर्णय वमोजिम कोरोना समुदायमा संक्रमण फैलिए नफैलिएको जानकारी सर्वसाधारण, व्यवसायी, वैंकका कर्मचारी, सुरक्षाकर्मी, पत्रकारहरुको पिसिआर परीक्षण गरिएको थियो । कुल १ सय १८ जनामा गरिएको परीक्षणमा सबैको स्वाव नेगेटिभ आएको थियो ।

पालिकाहरुले अहिले बाहिरबाट आएका नागरिकलाई होम क्वारेन्टिनमा राखिरहेका छन् । होम क्वारेन्टिनमा रहेकाहरुको पनि पिसिआर परीक्षण हुनुपर्ने समुदायको माग रहेको छ ।

पाल्पाको आइकोन र पहिचान बन्यो तानसेन बोर्ड

तानसेन । पाल्पामा पर्यटकलाई आकर्षित गर्न श्रीनगरको बीच भागमा लेखिएको तानसेन बोर्डले सबैको ध्यान खिच्न थालेको छ ।

निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत निर्माण गरिएको तानसेन बोर्डको अक्षर जडान गर्ने कार्य सम्पन्न भएको छ । निर्माण कार्य सम्पन्न हुँदा यो तानसेनको ‘आइकोन’ बन्ने निश्चित छ । तानसेन बोर्ड उपभोक्ता समितिका अध्यक्ष करुणा काफ्लेले पाल्पा घुम्न आएका पर्यटकलाई तानसेन पहिचान सधैभरि संझनामा आउने बनाउन यो बोर्डले काम गर्ने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष काफ्लेले भन्नुभयो, ‘कोभिड १९ का कारण काम गर्न कठिन र समस्या भयो तर तानसेनको पर्यटन विकासका लागि कोशेढुंगा हुने यो बोर्ड निर्माण समितिको अध्यक्ष बन्ने अवसर पाएकोमा म खुशी छु ।’ 

अंग्रेजीमा TANSEN लेखिएको यस बोर्डले पाल्पाको जिल्ला सदरमुकाम तानसेनलाई थप सौन्दर्यकृत गरेको छ । श्रीनगरमा अवस्थित सल्लाघारीको बीचमा निर्माण गरिएको यो तानसेन बिजुली बत्ती जडान नहुँदै बजार क्षेत्रबाट देखिने भएको छ । तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले भारतीय पर्यटक टाढैबाट यो बोर्ड देखेर तानसेन प्रवेश गर्ने विश्वास जागेको बताउनुभयो । तानसेन नगरपालिका वडा नं ८ को भालेबासबाट देखिने गरी बनाइएको यसले पर्यटकलाई आकर्षित गर्ने तानसेन नगरपालिकाका इन्जिनियर रामप्रसाद श्रेष्ठले बताउनुभयो । यो प्राविधिक रुपले ढुंगाको चट्टान खोजेर त्यसमाथि जग उठाएकाले बलियो पनि रहेको उहाँको भनाई छ ।

पाल्पा २ का सांसद सोमप्रसाद पाण्डेयले गत आर्थिक वर्ष २०७६\०७७ मा निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत ५० लाख विनियोजन गर्नुभएको थियो । तानसेन नगरपालिकाले असार मसान्तसम्मको कामको मूल्यांकन गरी उपभोक्ता समितिलाई २८ लाख ५४ हजार रुपैँया भुक्तानी दिएको सुनेको छु, अब बाँकी काम अन्य स्रोत खोजेर सम्पन्न गर्ने याेजना रहेको सांसद पाण्डेयले बताउनुभयो । उहाँले भन्नुभयाे, ‘ऐतिहासिक र प्राचीन सहर तानसेनलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न धेरै पूर्वाधारका काम गर्नुपर्ने छ, हलिउडको संझना हुने गरी तानसेन संझाउन यो उपयुक्त हुनेछ ।’

कोभिड १९ र बन्दाबन्दीका कारण समयमा सामग्री नपाउँदा बजेट पूर्ण रुपमा खर्च हुन सकेन । भुईं ढलान, पर्खाल, रंगरोगन र विजुली बत्ती जडानको काम अधुरो रहेको छ । पर्यटन व्यवसायी धनिश्वर बस्यालले तानसेन बोर्डमा रङ्गरोगन, आकर्षक बत्ती जडान, छेकिने सल्ला हटाउने वित्तिकै तानसेन प्रवेश गर्नेको आँखा यसमा पर्ने बताउनुभयो ।

TANSEN बाेर्ड कस्ताे छ ?

तानसेन फलाम धातुले लेखिएको छ । तानसेन लेखिएको धातु मात्र १६ हजार ३ सय १२ किलोग्राम रहेको छ । तानसेन बोर्ड अड्याउने स्ट्रक्चरको तौल करिव ५६ हजार किलोग्राम रहेको छ । हरेक अक्षर ८ मिटरका अग्ला छन् भने जहाँ ६ वटा अक्षर रहेका छन् । एक र अर्को अक्षरको बीचमा ८० सेन्टिमिटर दूरी रहेको छ । नजिकैबाट हेर्दा तानसेन बोर्डको जगमा ९ मिटरका ६ वटा पिलर र ८ मिटरको सहयोगी ६ वटा पिलर खडा गरिएको छ । जहाँ ४७.५ मिटरका ६ वटा विममाथि बोर्ड राखिएको छ । मुख्य पिलर लम्बाई चौडाइ र उचाइ ६ फिटको रहेको छ भने सहयोगी पिलर ४ फुटको रहेको छ ।