विजयकुमार बौडेल चैत २४ – कोरोना भाईरस संक्रमणको त्रासले सरकारले लकडाउन लागु गरेपछी अहिले सम्म यूनाइटेड मिसन अस्पताल तानसेनले ३ हजार ७ सय २ जनाको उपचार गरेको छ ।
बहिरंग र आकस्मिक सेवातर्फ ३ हजार २ सय २५ जनाको उपचार गरेको युनाईटेड मिसन अस्पताल तानसेनले जनाएको छ । त्यस्तै अन्तरंग तर्फ ४ सय ४ जना भर्ना गरेर उपचार गरेको छ । जसमध्ये अहिले ९१ जना भर्ना भई उपचार गराईरहेका छन् । मिसन अस्पतालले निमोनिया भएको थप एक जनाको उपचार गरि डिस्चार्ज गरिसकेको छ ।
कोरोना भाईरसको संक्रमणका बेला जोखिम मोलेर सेवा गर्ने मिसन अस्पताललाई विरामीहरुले धन्यवाद दिएका छन् । तानसेन नगरपालिका वडा नं. ३ की शान्ति बस्यालले धेरै निजी क्लिनिकहरु संकटको बेला बन्द गरेर जिम्मेवारी बाट पन्छिएको भन्दै जिम्मेवारी बोध गर्ने मिसन अस्पताललाई धन्यवाद दिनुभयो ।
“अस्पताल भनेकै दुख पर्दा चाहिने त हो नी ।” बस्यालले भन्नुभयो । “दुखको बेला भाग्ने र सजिलो अवस्थामा पैसा कुम्ल्याउनेलाई कसरी अस्पताल भन्नु ?” जस्तोसुकै परिस्थितमा पनी नागरिकहरुको स्वास्थ्यको ख्याल गर्ने अस्पतालको सबैले प्रशंसा गर्ने बस्यालको भनाई थियो ।
जिल्ला प्रशाशन कार्यालय पाल्पाले सबै अस्पतालमा ज्वरो क्लिनिक सञ्चालन गर्न निर्देशन गरेपछी युनाईटेड मिसन अस्पतालले पनी ज्वरो क्लिनिक सञ्चालन गरेको थियो । ज्वरो क्लिनिकमा ७२ जनाको उपचार गरि पठाईएको अस्पतालका प्रसासकिय अधिकृत तथा सुचना अधिकारी जिवन भट्टराईले जानकारी दिनुभयो ।
मिसन अस्पतालले स्वास्थ्यकर्मीहरुलाई सुरक्षित तरिकाले रहन अनुरोध गर्दै थप विरामीहरुको सेवा गर्न अनुरोध गरेको छ ।
विजयकुमार बौडेल चैत २४ – लकडाउन लम्बिएपछि सामुदायिक रेडियो मदनपोखरा र तानसेन नगरपालिकाले एसइई दिने विद्यार्थीहरुको लागी दुरशिक्षा कार्यक्रम सञ्चालन गर्ने भएका छन् ।
एसईई परिक्षाको समय तालिका अनिश्चित भएपछि सामुदायिक रेडियो मदनपोखरा मार्फत एसईइ लक्षित पठन पाठन शुरु गरेको नगरपालिकाले जनाएको छ । कोरोना संक्रमण रोकथामका लागि जारी लकडाउनको अवस्थालाई मध्यनजर गरी उत्पादन गरिएको दूरशिक्षा रेडियो कार्यक्रम एसइई पाठशाला हरेक दिन विहान सवा १० बजेदेखि ३ बजेसम्म प्रसारण हुँदैछ ।
विद्यार्थीहरुको ध्यान बाहिरी कुरामा नजाओस् भन्ने उद्देश्यले कार्यक्रम बनाइ कार्यान्वनमा ल्याइएको तानसेन नगरपालिकाका प्रमुख अशाेककुमार शाहीले बताउनुभयो । त्यसरी कार्यक्रम संचालन गर्दा घरमा विद्यार्थीहरुले ४/५ घण्टा रेडियो कार्यक्रममै विताउन सक्ने प्रमुख शाहीले बताउनुभयो ।
एसइई दिने तयारीमा रहेका बिद्यार्थीका लागि सहयोगी कक्षा एसइई पाठशालामा दैनिक ५ वटा कक्षा सञ्चालन हुँदैछ । १०.१५ देखि ११ सम्म होत्रीराज ढुंगानाले अंग्रेजी बिषय, ११.१५ देखि १२ बजे सम्म रामप्रसाद ढकालले अनिवार्य गणित बिषय, १२.१५ बजेदेखि १.०० बजे सम्म जीवन आचार्यले कम्यूटर, १.१५ देखी २ बजे सम्म रामजीवन ज्ञवालीले विज्ञान, २.१५ देखि ३.०० बजे सम्म एकराज ज्ञवाली सामाजिक अध्ययन अध्यापन गर्नुहुने छ ।
जनप्रतिनिधि, सारेमका पदाधिकारी, शिक्षक तथा पत्रकारहरूले जुम भिडियो कन्फ्रेन्स मिटिङ गरी दूरशिक्षा रेडियो कार्यक्रम प्रसारण गर्ने निर्णय गरेको हो । यो कार्यक्रमले विद्यार्थीलाई एसईइ तयारीमै ध्यान केन्द्रित गर्ने र शिक्षकहरु पनि संचार सम्पर्कबाट विद्यार्थीसँग रहदा थप प्रभावकारी हुने सामुदायिक रेडियो मदनपोखराका स्टेशन प्रबन्धक राजेश कुमार अर्यालले बताउनुभयो ।
तानसेन नगरपालिकाको विद्यालय शिक्षा सुधारका लागि यो रचनात्मक कार्यक्रम हो । यसबाट नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुमा सकारात्मक परिवर्तनहरु देखिने र अभिभावकहरुको मन पनि सामुदायिक विद्यालय तर्फ फर्किने विश्वास गरिएको छ ।
विजयकुमार बौडेल चैत २४ – कोरोना भाईरसको संक्रमणले भेला हुन असुरक्षित भएपछी दमकडा माविका शिक्षक र व्यवस्थापन समितिका पदाधिकारी प्रविधिको प्रयोग गरि बैठक बसेका छन् ।
सरकारले कोरोना भाईरसको संक्रमण कम गर्न लकडाउन गरेपछी विद्यार्थीको नतिजा, नयाँ शैक्षिक सत्र सञ्चालनलगाएतका विषयमा छलफल गर्न बैठक बसेको हो । जुम ग्रुप भिडियो च्याट बाट सञ्चालक समितिका पदाधिकारी र शिक्षकहरुको बैठक बसी विभिन्न विषयमा छलफल चलेको दमकडा माविका प्रधानाध्यापक मोहन प्रसाद सापकोटाले बताउनुभयो ।
दमकडा मावि व्यवस्थापन समितिका अध्यक्ष एवम् पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेश कुमार अर्यालले संकटको घडिमा पनी आफ्नो संस्थाको जिम्मेवारी बोध गरेमा भिडियो कन्फ्रेन्स मार्फत पनी विभिन्न विषयमा छलफल गरेर कार्यसम्पादन गर्न सकिने बताउनुभयो । अध्यक्ष अर्यालले कोरोना संक्रमणको बेला प्रविधिको प्रयोगले भिडभाड कम गरि राज्यलाई सघाउने, आफु बँच्ने र समाजलाई पनी बँचाउनु सबैको जिम्मेवारी हुने बताउनुभयो ।
दमकडा माविका शिक्षक जिवन आचार्यले विश्व दैनिक रुपमा प्रविधिको नजिक नजिक गईरहेका बेला दमकडा माविले पनी त्यसको प्रयोग गरेको बताउनुभयो । आचार्यले शिक्षक संगै विद्यार्थी र अभिभावकहरुलाई पनी प्रविधि मैत्री बनाउने पहल दमकडा माविले गरेको बताउनुभयो ।
भिडियो कन्फ्रेन्स बैठकले लकडाउनको अवस्थाको समीक्षा गरी दमकडा माध्यमिक विद्यालय पाल्पाले चैत्र ३० गते आइतबार १ बजे परीक्षाफल प्रकाशन गर्ने र सो परीक्षाफल वेभसाइट र विद्यालयको फेसबुक पेजमार्फत सार्वजनिक गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ । त्यस्तै वार्षिक शैक्षिक कार्यक्रम समेटिएको क्यालेन्डर निर्माण गर्न प्रधानाध्यापकसहित तहगत संयोजकको बैठक गरेर तयारी गर्ने र क्यालेन्डर लकडाउन र कोरोना महामारीको अवस्था हेरी उपयुक्त समयमा विद्यालय शैक्षिक भित्तेपात्रो प्रकाशन गर्ने निर्णय गरेको छ ।
शैक्षिक गतिविधि थप प्रभावकारी बनाउन सबै शिक्षकले डिजिटल माध्यमबाट प्रदर्शन गर्ने, मल्टिमिडिया प्रोजेक्टरबाट पढाउन मिल्ने महिनामा २/२ वटा शैक्षिक सामग्री बनाएर ल्याउने र एक शैक्षिक शत्रका लागि आवश्यक ४/४ वटा प्रश्नपत्र शैक्षिक शत्रको सुरूवातमै अनिवार्य तयार गर्ने समेत निर्णय गरेको छ ।
बैठकले विद्यार्थीसँग टेलिफोन, म्यासेन्जरको प्रयोग गरी कक्षागत शिक्षकले जिम्मेवारी लिएर सम्पर्क गर्ने, विद्यालय, कोरोना भाइरस र लकडाउनको अवस्था जानकारी गराउने र एसइइको तयारीमा रहेका विद्यार्थीसँग भने हरेक विषय शिक्षकले सम्पर्क गरी विद्यालयको समूहमा अनिवार्य जानकारी गराउने समेत निर्णय गरेको छ ।
विजयकुमार बौडेल चैत २४ – सरकारले लागु गरेको लकडाउन मिच्दै पाल्पाको बगनासकाली गाउँपालिकामा पिकनिक खाने तयारीमा रहेका व्यक्तिहरुलाई प्रहरीले देखेपछी भागाभाग भएको छ ।
बगनासकाली गाउँपालिका वडा नं. ८ को सिद्धबाबा मन्दिर नजिकै खुल्ला चौरमा भेला भई पिकनिक खाने तयारीमा रहेकाहरु प्रहरी देखेपछी सामान नै छाडेर भागेका हुन् । प्रहरीले मानिसहरुको भिड जम्मा भई पिकनिक खान थालेको सुईको पाएपछी सम्बन्धित स्थानमा पुग्दा सामान छाडेर भागाभाग भएको हो ।
पिकनिक स्थलबाट २ वटा ब्रोईलर कुखरा, चामल, एक कार्टुन बियर, भान्छाका विभिन्न सामान, पकाउने भाँडा, साउण्ड सिस्टमलगाएतका सामग्रीहरु छाडेर भागेको जिल्ला प्रहरी नायब निरिक्षक घनश्याम पाण्डेले जानकारी दिनुभयो । पिकनिक स्थलमा लु ४१ प ५६९६ नम्बरको एफजेड मोटरसाईकल समेत भेटिएको प्रहरीले जनाएको छ । सरकारले कोरोना भाईरसको संक्रमण कम गर्न लागु गरेको लकडाउनलाई नागरिकले गम्भिर रुपमा नलिँदा झन जोखिम बढेको छ ।
कोरोना एकदमै छिटो सर्ने भाईरस भएकाले यसबाट बँच्नको लागी सबै सचेत र सतर्क रहि सरकारले लागु गरेको लकडाउनमा साथ दिनुपर्ने सरोकारवालाहरुको भनाई छ ।
विजयकुमार बौडेल चैत २३ – तानसेन नगरपालिका वडा नं. ९ ले पारिवारिक संख्याको आधारमा मापदण्ड छुट्याएर राहत वितरण गरेको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण बाट बँच्न सरकारले लकडाउन लागु गरेपछी छाक टार्न मुस्किल भएका विपन्न परिवारलाई वडा नं. ९ ले मापदण्ड छुट्याएर राहत वितरण गरेको हो । राहत वितरण गर्दै प्रदेश सभा सदस्य नारायण प्रसाद आचार्यले यो विपत्तीको समयमा सबै मिलेर दैनिक ज्यालादारीमा काम गर्ने परिवारलाई सहयोग गर्नुपर्ने बताउनुभयो । आचार्यले सबै संघसंस्थाहरु मिलेर सरकारको अभियानमा सघाउन अनुरोध गर्नुभयो ।
वडा नं. ९ ले ४ जना सम्मको परिवारलाई छुट्टै र ४ जना भन्दा धेरै सदस्य भएको परिवारलाई छुट्टै परिमाणमा राहत वितरण गरेको वडाध्यक्ष हरीसुमर रेग्मीले जानकारी दिनुभयो । जिल्ला समन्वय समिति सदस्य तुल बहादुर गाहाले जनप्रतिनिधीको हैसियतले हरेक गरिब परिवारको रक्षा गर्नुपर्ने दायित्व भएको भन्दै जस्तोसुकै अप्ठेरो पर्दा स्थानिय तहलाई सम्झन अनुरोध गर्नुभयो ।
तानसेन नगरपालिकाका प्रमुख असोक कुमार साहीले एकै खालले राहत वितरण गर्दा धेरै सदस्य हुने परिवारलाई गुजारा चलाउन गाह्रो हुने भएकाले संख्याको आधारमा मापदण्ड बनाएर राहत वितरण गरेको बताउनुभयो । नगर उपप्रमुख लक्ष्मीदेवी पाठकले जस्तोसुकै कठिन परिस्थीतिम कोही पनी मजदुर परिवार भोकै बस्न पर्ने अवस्था आउन नदिने बताउनुभयो ।
४ जना भन्दा बढी सदस्य भएका १५ र ४ जना सम्म सदस्य भएका ९० गरि जम्मा १ सय ५ घरपरिवारलाई राहत वितरण गरेको वडा सचिव मदन भण्डारीले जानकारी दिनुभयो । वडाले ४ जना सम्मको परिवारलाई चामल १५ किलो, केराउको दाल १.५ केजी, नुन १ केजी, तोरीको तेल १ लिटर, चिनी १ किलो, हात धुने साबुन २ वटा र कपडा धुने साबुन २ वटा वितरण गरेको वडा सदस्य विनिता लुईंटेलले बताउनुभयो ।
त्यस्तै ४ जना भन्दा धेरै जना भएका परिवारलाई ३० केजी चामल, दाल ३ केजी, नुन २ केजी, तोरीको तेल २ लिटर, चिनी २ किलो, हात धुने साबुन २ वटा र कपडा धुने साबुन २ वटा वितरण गरेको वडा सदस्य यमकुमारी बौडेलले जानकारी दिनुभयो ।
तानसेन नगरपालिकाले हरेक वडाबाट राहत वितरण गर्दै आईरहेको छ ।
पाल्पा । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना संक्रमणलाई जति थोरै संख्यामा सीमितगर्न सक्यो नेपालले महामारीको त्यति नै मात्रामा लडाईं जितेको हुने बताउनुभएको छ ।
सामुदायिक रेडियो मदनपोखराको बाइसौं वर्ष प्रवेशका अवसरमा शुभकामना दिदैँ उहाँले नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको बताउँदै अब जति संख्या सीमित गर्न सक्यौ, त्यति नै छिटो भोलिको नेपाललाई विकास दिन सक्ने बताउनुभएको हो । मन्त्री ज्ञवालीले कोरोना महामारीले सिंगो मानवजाति संकटमा परेको, औषधी उपचार नहुने र अत्यन्त छिटो संक्रमण फैलने समस्या सामना गरिरहेको बताउनुभयो । मन्त्री ज्ञवालीले देशलाई अप्ठेरो परेको बेला सञ्चारमाध्यमको ठुलो भुमिका हुने भन्दै त्यो भुमिका रेडियो मदनपोखराले पुरा गरेको बताउनुभयो । कोरोना विरुद्धको लडाईमा नेपालले जित्न सरकारले गरेको लकडाउनको आदेशलाई इमान्दारीपूर्वक पालनागर्न उहाँले आम नेपाली दाजुभाइ दिदीबहिनीलाई आग्रहगर्नुभएको छ ।
मन्त्री ज्ञवालीले भन्नुभयो, ‘एउटा वडाबाट अर्को वडामा, एउटा पालिकाबाट अर्को पालिकामा, एक प्रदेशबाट अर्को प्रदेशमा आवागमन बन्द गरिएको छ । यो बेला घर भित्र बसिदिनुहोस्, लकडाउनको अधिकतम सदुपयोग गर्नुहोस्’ भन्नुभयो । उहाँले लकडाउनको अवधिमा पनि घर परिवार मिलेर घरकाकाम, खेतीपाती गर्न गर्न मिल्छ । बाहिरका मान्छेसँग टाढा रहेर मात्र दैनिक जीवन चलाउन पर्छ भन्नुभयो ।
सामुदायिक रेडियो मदनपोखराले ग्रामीण समुदायसँग सञ्चार माध्यम जोड्न र समुदायको आवाज नीति निर्माण तहमा पु¥याउन महत्वपूर्ण योगदान गरेको स्मरण गर्दै मन्त्री ज्ञवालीले समुदायको साथ समर्थन रह्यो भने सामुदायिक संस्था कसरी सफल हुन्छन् भन्ने मदनपोखरा एउटा प्रमाण हो भन्नुभयो ।
जनताको सुसूचित हुने हकलाई निष्ठापूर्वक कार्यान्वयन गर्न र समाचार र मनोरञ्जनका अतिरिक्त सार्वजनिक मुद्धाहरुमा सारेमले दिएको स्थानको प्रशंसा गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले आगामी दिनमा पनि विश्वासिलो र भरपर्दो माध्यम बन्न सकोस् भन्ने शुभकामना दिनुभएको छ ।
विजयकुमार बौडेल चैत २३ – कोरोना भाईरसकोको सम्भावित संक्रमणबाट बच्न नेपाल सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका विपन्न परिवारलाई रिब्दीकोट गाउँपालिकाले राहत वितरण गरेको छ ।
अति बिपन्न परिवारलाई गाउँपालिकाको निर्णयानुसार वडा स्तरीय राहत सिफारिस समितिको सिफारिस बमोजिम वडा नं ३ का २० घर परिवारलाई प्रति परिवार २० किलो चामल, २ किलो दाल, १ लिटर तेल र १ किलो नुन राहत स्वरूप उपलब्ध गराईएको गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसीले बताउनुभयो ।
राहत प्राप्त गर्ने वडा नं. ३ खस्यौलीका सन्त बहादुर बिकले राहत सामग्री उपलब्ध गराएकोमा खुसी ब्यक्त गर्दै केही दिनलाइ राहत भएको बताउनुभयो । त्यसैगरी राहत बुझ्दै माया सुनारले आफ्ना पति मृगौला पिडित भै घरमै बिरामी अवस्थामा रहेको र ५ जनाको परिवार आफूले नै ज्याला मजदुरी गरि गुजारा चलाउदै आएकोमा खर्च जुटाउन समस्या परेको र गाउपालिकाले खाद्यान्न राहत उपलब्ध गराउदा दुखीका लागि पनि सरकार रहेछ भन्ने महसुस भएको बताउनु भयो ।
स्थानिय तहहरुले दैनिक ज्यालादारी गरि काम गर्ने मजदुर परिवारलाई खाद्यान्न, दाल, तेल, नुन लगाएतका सामग्री वितरण गरेपछी विपन्न परिवारको चुलो सहज रुपमा बलेको छ । रिब्दीकोट गाउँपालिकाले सबै वडाका विपन्नहरुलाई राहत वितरण गरिसकेको प्रमुख प्रसासकिय अधिकृत रिषीराम अर्जेलले बताउनुभयो ।
वडा स्तरिय सिफारिस समितिले छनोट गरे बमोजिम वडा नं १ का ३० जना, वडा नं २ का २५ जना, वडा नं ३ का २० जना, वडा नं ४ का २६ जना, वडा नं ५ का २६ जना, वडा नं ६ का ३० जना, वडा नं ७ का २० जना र वडा नं ८ का ३१ जना गरि जम्मा २ सय ८ जना बिपन्न परिवारलाई पहिलो चरणमा राहत प्राप्त गरेका छन् ।
विजयकुमार बौडेल चैत २३ – सामुदायिक रेडियो मदनपोखरा २२ औँ वर्षमा प्रवेश गरेको छ ।
स्थापना दिवसको अवसरमा सामुदायिक रेडियो मदनपोखराले विश्वभरी महामारी फैलाएको कोरोना भाइरस संक्रमण, रोकथाम र नियन्त्रण गर्ने कार्यक्रमहरुलाई प्राथमिकता दिने बताएको छ । सारेमले आज रेडियोमा कोरोना संक्रमण र नागरिक स्वास्थ्य सुरक्षा विषयक परिसंवाद कार्यक्रम सञ्चालन गरेको छ ।
प्रदेशसभा सदस्य नारायण प्रसाद आचार्यले ग्रामीण क्षेत्रका जनतामा सूचनाको पहुँच पु¥याएर सुसूचित, शिक्षित र दीक्षित बनाउने जस्तो महत्वपूर्ण कार्य गरेकोमा सामुदायिक रेडियो मदनपोखरालाई बधाई तथा शुभकामना दिनुभयो ।
मूलुक संघीय गणतन्त्र नेपालमा प्रवेश गरेपछि शासकीय संरचनामा आएको परिवर्तन, बजार र मिडिया प्रविधिको अकल्पनीय विकासले सामुदायिक सञ्चार माध्यममा अनेक खालका चुनौतीहरु पनि थपिएको र मदनपोखरा जस्ता सञ्चार संस्थाले त्यस्ता चुनौतीको सामना गर्न सक्ने विश्वास प्रदेशसभा सदस्य आचार्यले व्यक्त गर्नुभयो ।
तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले गरेर खाने श्रमजीवी वर्गको पनि सञ्चार माध्यममा पहुँच छ भन्ने मान्यता रेडियो मदनपोखराले स्थापित गरेको बताउनुभयो ।
कोरोना भाइरसका कारण विश्वभर एकान्तबास चलिरहेको र नेपाल सरकारले आवागमन निषेध गरेको समयमा पनि महामारीकै विषयमा छलफल चलाएर नागरिकलाई जानकारी दिएकोमा नगरपालिका प्रमुख शाहीले रेडियोको प्रशंसा गर्नुभयो ।
युनाइटेड मिसन अस्पतालका जनरल प्राक्टिसनर डा. लेस डोरननले कोरोना संक्रमित नेपालमा थोरै रहेको र जाँच पनि कम नै भएको बताउनुभयो । डा. डोरननले बाहिरबाट आएका र घर बाहिरका व्यक्तिसंग सम्पर्क नभएका एकै परिवारका सदस्य संग डराउनु नपर्ने बताउनुभयो ।
दुई दशकदेखि आफू नेपालमै रहेको उल्लेख गर्दै डा. डोरननले भन्नुभयो, ‘स्वास्थ्य सल्लाह, स्वास्थ्य सचेतना र स्वास्थ्य प्रति नागरिकको जागरुकता बढाउन सामुदायिक रेडियो मदनपोखराले खेलको भूमिकाको सबैले कदर गर्नुपर्ने बताउनुभयो ।
कोरोना संक्रमणको सम्भावना, रोकथाम र उपचारका लागि आवश्यक पूर्व तयारी र राहत वितरणलगायतका विषयमा प्रदेशसभा सदस्य नारायणप्रसाद आचार्य, तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाही र युनाइटेड मिसन अस्पतालका डा. लेस डोरनन संग करिव एक घण्टा छलफल रेडियोले लाइभ प्रसारण गरेको थियो ।
समुदायलाई सूचनाको मालिक बनाऔँ भन्ने अभियानका साथ २०५६ साल चैत्र २३ गते सामुदायिक रेडियो मदनपोखराले प्रसारण आरम्भ गरेको थियो । काठमाडौँ उपत्यका बाहिर पहिलो पटक २०५५ साल पौष १८ गते रेडियो सञ्चालनको इजाजत पाएको यस रेडियोले ज्ञान, सूचना, शिक्षा र मनोरञ्जन मार्फत स्थानीय समुदायको सशक्तीकरणमा जोड दिदैँ आएको छ ।
सामुदायिक रेडियोको विशेषता भनेकै समुदायको सहभागिता, सञ्चालन र व्यवस्थापनमा चल्ने रेडियो हो भन्ने दृष्टान्त दिन रेडियो मदनपोखरा सफल भएको छ ।
बाइसौँ वर्ष प्रवेशका अवसरमा शुभकामना दिदैँ सामुदायिक बहुसञ्चार केन्द्र मदनपोखराका अध्यक्ष झपेन्द्र जीसीले समाजलाई समुदायवाद हुँदै समाजवादमा अग्रसर गराउन यो रेडियोले खेलेको भूमिकाको सर्वत्र प्रशंसा भइरहेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि निर्भय र निर्भिकताका साथ रेडियो कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने अध्यक्ष जीसीको भनाई थियो ।
कार्यक्रममा प्रदेशसभा सदस्य बीरबहादुर राना, प्रेस काउन्सिल नेपालका अध्यक्षकिशोर श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी यादव सुवेदी, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा, नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्मा, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जन, व्यापार संघका अध्यक्ष चिरिञ्जिीवी पोखरेललगायत नागरिक समाजका अगुवा, समाजसेवी, बुद्धिजीवीहरुले रेडियोको दीगोपनको कामना गर्दै शुभकामना दिएका छन् ।
सामुदायिक रेडियो मदनपोखराका स्टेशनप्रबन्धक राजेशकुमार अर्यालले लकडाउनको अवधिमा सुरक्षित रहेर सूचना प्रवाहको कार्यलाई थप प्रभावकारी बनाउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सञ्चार प्रविधिमा आएको इन्टरनेट, टेलिफोन, सामाजिक सञ्जालको उपयोग गरेर नागरिकलाई कोरोनाका बारेमा सही सूचना दिनु हाम्रो कत्र्तव्य हो ।’ स्थापनाकालमा भौगोलिक विकटता, यातायातको असुविधा र आधुनिक सञ्चार सुविधाको अभावले ग्रामीण भेगमा ताजा समाचार पु¥याउने काम आज जस्तो सजिलो थिएन । तर पनि पैदल हिंडेर नागरिकको घर पुग्ने, आवाज संकलन गर्ने, रेडियोमा फर्केर लेखन, सम्पादन गरी प्रसारण योग्य सामग्री निर्माण गर्न धेरै चरणहरु पार गर्नुपर्दथ्यो ।
लकडाउनको पालना गर्दै सारेमले आज दिनभर स्टुडियोबाटै विभिन्न कार्यक्रम सञ्चालन गरेको थियो ।
पाल्पा । चैत २३ – सामुदायिक रेडियो मदनपोखरा आज २१ वर्ष पूरा गरेर २२ औँ वर्षमाप्रवेश गरेको छ ।
समुदायलाई सूचनाको मालिक बनाऔँ भन्ने अभियानका २०५६ साल चैत्र २३ गते सामुदायिक रेडियो मदनपोखराले प्रसारण आरम्भ गरेको हो । काठमाडौँ उपत्यका बाहिर पहिलो पटक २०५५ साल पौष १८ गते रेडियो सञ्चालनको इजाजत पाएको यस रेडियोले ज्ञान, सूचना, शिक्षा र मनोरञ्जन मार्फत स्थानीय समुदायको सशक्तीकरणमा जोड दिदैँ आएको छ । सामुदायिक रेडियोको विशेषता भनेकै समुदायको सहभागिता, सञ्चालन र व्यवस्थापनमा चल्ने रेडियो हो भन्ने दृष्टान्त दिन मदनपोखरा सफल भएको छ ।
रेडियो स्थापना दिवसका अवसरमा सामुदायिक बहुसञ्चार केन्द्र मदनपोखराका अध्यक्ष झपेन्द्र जीसीले नियमित श्रोता, सन्देशदाता, साझेदार संस्थालगायत सम्पूर्ण शुभेच्छुकहरुलाई शुभकामना दिनुभएको छ । समाजलाई समुदायवाद हुँदै समाजवादमा अग्रसर गराउन यो रेडियोले खेलेको भूमिकाको स्मरण गर्दै उहाँले आगामी दिनमा पनि निर्भय र निर्भिकताका साथ प्रसारणलाई निरन्तरता दिने बताउनुभयो । कोरोना भाइरसका कारण विश्वभर एकान्तबास चलिरहेको र नेपाल सरकारले आवागमन निषेध गरेकाले यो वर्ष औपचारिक कार्यक्रम नभएता पनि रेडियो कार्यक्रमका माध्यमबाट समुदायसँग संवाद भइरहने अध्यक्ष जीसीले बताउनुभयो ।
बितेका दुई दशकमा देशमा भएका राजनीतिक परिर्वतन, सामाजिक सुधार, आर्थिक उपलब्धीका हरेक क्षणमा सामुदायिक रेडियो मदनपोखराले महत्वपूर्ण भूमिका खेलको छ । मूलुक संघीय गणतन्त्र नेपालमा प्रवेश गरेपछि शासकीय संरचनामा आएको परिवर्तन, बजार र मिडिया प्रविधिको अकल्पनीय विकासले सामुदायिक सञ्चार माध्यममा अनेक खालका चुनौतीहरु पनि थपिएका छन् ।
रेडियो स्थापनाकालमा भौगोलिक विकटता, यातायातको असुविधा र आधुनिक सञ्चार सुविधाको अभावले ग्रामीण भेगमा ताजा समाचार पु¥याउने कामआज जस्तो सजिलो थिएन । पैदल हिंडेर नागरिकको घर पुग्ने, आवाज संकलनगर्ने, रेडियोमा फर्केर लेखन, सम्पादन गरी प्रसारण योग्य सामग्री निर्माण गर्न धेरै चरणहरु पार गर्नुपर्दथ्यो ।
लकडाउनका कारण स्थापना दिवसको अवसरमा सारेमले स्टुडियो भित्रका कार्यक्रम गरेको छ । अध्यक्षको शुभकामना मन्तव्य, कोरोना संक्रमण र नागरिकको स्वास्थ्य सुरक्षा परिसंवाद, बाइस वर्षे यात्रा रेडियो डकुमेन्ट्री र टेलिफोन शुभकामनाको कार्यक्रम सञ्चालन गरेको छ । प्रदेशसभा सदस्य नारायण प्रसाद आचार्य, तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाही र युनाइटेड मिशन अस्पतालका चिकित्सक डा. लेस डोरनन बीच बिहान सवा ८ बजे परिसंवादको लाइभ प्रसारण गरेको थियो ।
विजयकुमार बौडेल चैत २१ – तानसेन नगरपालिका स्वास्थ्य साखाले भारत लगाएत अन्य देशबाट आएकाहरुको घरघरमै गएर स्वास्थ्य परिक्षण गरेको छ ।
स्वास्थ्य साखाले तानसेन नगरपालिका वडा नं. १ र ५ मा भारत लगाएत अन्य देशबाट आई सेल्फ क्वारेन्टाईनमा बसेकाहरुको घरमै गएर स्वास्थ्य परिक्षण गरेको हो । तानसेन नगर स्वास्थ्य साखा संयोजक झविन्द्र न्यौपानेले विश्वभर फैलिएको कोरोना भाईरसको संक्रमण बाट बँच्न र मानसिक रुपमा त्रसित भएकाले उनीहरुको हौसला बढाउन घरघरमै गएर स्वास्थ्य परिक्षण गरिएको बताउनुभयो ।
तानसेन नगरपालिकाका सामाजिक विकास साखा संयोजक दिपक विश्वकर्माले तानसेन नगरपालिका हरेक तरिकाले नागरिकको स्वास्थ्यप्रती सचेत रहेको बताउनुभयो । विकले सबैलाई सचेत र सजग रहज अनुरोध गर्दै कुनैपनी समस्या या शंका लागेमा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न अनुरोध गर्नुभयो ।
स्वास्थ्यकर्मीहरुको टोलीले २३ जनाको स्वास्थ्य परिक्षण गरेको छ । परिक्षण गरिएकाहरु सबैको स्वास्थ्य सामान्य अवस्थामा रहेको नगरपालिकाले जनाएको छ ।
तानसेन नगरपालिकाले राहत वितरण कार्यलाई समेत अगाडी बढाएको छ । राहत वितरणका लागी सबै वडामा गरेर जम्मा १ हजार २ सय ७६ घरपरिवार सिफरिस भएको नगरपालिकाका सुचना अधिकारी दुर्गा थापाले जानकारी दिनुभयो । भोली देखी प्रत्येक वडा कार्यालय बटै राहत वितरण गरिने तानसेन नगरपालिकाले जनाएको छ ।