पुर्वखोला । चैत २१ – भारत लगाएत अन्य देशबाट आएकाहरुलाई पुर्वखोला गाउँपालिका वडा नं. ४ देवीनगरले निशुल्क मास्क र सेनिटाईजर वितरण गरेको छ ।
वडाध्यक्ष रिम प्रसाद श्रेष्ठले कोरोना भाईरसको संक्रमणबाट सुरक्षित रहन नागरिकहरुलाई मास्क र सेनिटाईजर वितरण गरेको बताउनुभयो । श्रेष्ठले बैदेशिक रोजगारिबाट आएकाहरुलाई घरघरमै गएर सामग्री वितरण गर्दै सचेत र सजग रहन आग्रह गर्नुभयो । पुर्वखोला गाउँकार्यपालिका सदस्य सुकुनराज विकले सबै नागरिकहरुलाई मास्क र गुणस्तरिय सेनिटाईजर या साबुनपानीले हात धुन अनुरोध गर्नुभयो ।
विकले कुनै पनी समस्या आईपरेमा नजिकैको स्वास्थ्य चौकीमा सम्पर्क गर्न र विदेशबाट आएका नागरिकहरुलाई अनिवार्य रुपमा क्वारेन्टाईनमा बस्न अनुरोध गर्नुभयो । वडा सदस्यहरु मेहर सिंह थापा, भुवन सिङ्जाली, स्वास्थ्य चौकिका प्रमुख महेश जि सिलगाएतले हरेक नागरिकहरुको स्वास्थ्य प्रती स्थानिय तह गम्भिर भएर लागेको भन्दै लकडाउनलाई अनिवार्य पालना गरेमा कोरोना भाईरसको संक्रमण बाट सहजै बँच्न सकिने बताउनुभयो ।
वडाले विपन्न घरधुरीको पहिचान र छनोट गर्ने, कुनै पनी सार्वजनिक कार्यक्रम नगर्ने, भिडभाड नगर्ने, विदेशबाट आएकाहरु अनिवार्य रुपमा क्वारेन्टाईनमा बसेको नबसेको निगरानी राख्ने लगाएतका निर्णय गरेको छ ।
गुणवती केसी चैत २१ – सरकारले लकडाउन लागु गरेपछी खाली समयको सदुपयोग गर्दै तानसेन ११ बन्दिपोखराका यूवाहरु कृषी तथा सामाजिक कार्यतर्फ व्यस्त हुन थालेका छन् ।
कोरोना भाइरसको संक्रमण कम गर्न सरकारले लकडाउन लागु गरेपछी विभिन्न पेशा व्यवसाय तथा अध्ययन गर्न घरबाहिर बसेका युवाहरु कृषी तथा सामाजिक कार्यतर्फ व्यस्त हुन थालेका हुन् । सरकारले लागु गरेको लकडाउनको समयमा जथाभावी हिंडडुल गर्न र जमघट नगरि आआफ्नै खेतबारीमा कृषी कार्यमा जुटेका छन् ।
बन्दिपोखराको भालुबन, जुकिया, तिलाहार, काभ्रे, कुरुङखोला, बाँझालगायत सबै टोल टोलहरुमा मौसमी तथा बेमौसमी तरकारीका बीउ रोप्ने, कृषि तथा फलफूल उत्पादनका कार्य गर्ने, सामाजिक सम्पदाहरु सरसफाइ गर्ने, कोरोना भाइरसबारे सतर्कता अपनाउनेबारे सबै नागरिकलाई जानकारी गराउने जस्ता कामहरुमा कृयाशिल भएको युवा सञ्जाल अध्यक्ष लिलाबहादुर खातिले बताउनुभयो ।
त्यस्तै सप्तरङगी युवा क्लब बाँझाका युवाहरुले पनि बिध्यालय परिसर, सिँचाइ गर्ने कुलो, खानेपानी ट्याङकी, पानीको मुहान, मन्दिर परिसर जस्ता सामाजिक सम्पदाहरु सरसफाइ गरेको क्लबका अध्यक्ष तिलक गोदारले बताउनुभयो । लकडाउनको समयपछि विभिन्न शहरहरुमा अध्ययन तथा अन्य कामकाजले बसोबास गरेका नागरिकहरु गाउँघर फर्केपछि गाउँघरको बसाई, रहनसहन र सद्भाव अझै रमाइलो र सुरक्षित भैरहेको वडा प्रतिनिधि चुराबहादुर गोदारले बताउनुभयो ।
विजयकुमार बौडेल चैत २१ – रिब्दीकोट गाउँकार्यपालिकाको आकस्मिक बैठकले लकडाउनका कारण दैनिक ज्यालादारी गरी जीवनयापन गर्ने र चुल्हो बल्ने अवस्था नभएका अति विपन्न परिवारलाई राहतको घोषणा गरेको छ ।
राज्यबाट कुनै पनि प्रकारको सामाजिक सुरक्षा प्राप्त नगरेको परिवार, भूमिहीन, अशक्त र असहाय परिवारलाई राहत वितरण गर्ने गाउँपालिकाले घोषणा गरेको हो । राहतमा प्रतिपरिवार २० किलो चामल, २ किलो दाल, १ लिटर तेल र १ किलो नुन दिने कार्यपालिकाको बैठकले निर्णय गरेको प्रमुख प्रसासकिय अधिकृत रिषीराम अर्जेलले बताउनुभयो । गाउँपालिकामा सिफारिसका लागी आएका २ सय ८ परिवारलाई तत्काल राहत वितरण गर्ने प्रमुख अर्जेलले बताउनुभयो ।
त्यस्तै आपूर्ति व्यवस्थापन र लकडाउनको प्रभावकारी कार्यान्वयन गर्न समन्वय समिति गठन गरेको छ । गाउँकार्यपालिकाले गाउँपालिका अध्यक्ष संयोजक र उपाध्यक्ष सहसंयोजक तथा सबै वडा अध्यक्ष, कार्यपालिका सदस्य, क्रियाशील राजनीतिक दलका प्रतिनिधी, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य शाखा प्रमुख सदस्य रहनेगरि समिति गठन गरेको हो । त्यस्तै गाउँकार्यपालिकाको बैठकले राहत परिवारलाई सिफारिस र वडा स्तरीय आपूर्ति व्यवस्थापन गर्न वडाध्यक्षको संयोजकत्वमा वडा स्तरिय समिति समेत गठन गरेको छ ।
गाउँपालिकाले राहत वितरण गर्दा एकद्वार प्रणाली अपनाउने, राहत तथा आर्थिक सहायता उपलब्ध गराउन चाहने संघसंस्था तथा व्यक्तिहरुले गाउँपालिकासँग अनिवार्य स्वीकृति लिई पालिका मार्फत गर्ने, दैनिक उपभोग्य वस्तु किनमेल तथा बेचविखनका लागि पसलहरु व्यवस्थित ढंगले संचालन गर्ने व्यवस्था मिलाउने, पसल अगाडि अनिवार्य रुपमा साबुनपानीले हात धुने व्यवस्था गर्न लगाउने तथा भिडभाड नगराई कम्तीमा १ मिटर दुरी कायम गरी किनमेल गर्ने व्यवस्था मिलाउने निर्णय गरेको गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसीले बताउनुभयो ।
त्यस्तै भारत तथा अन्य देशबाट आएका व्यक्तिहरुलाई वडा स्तरमै निरन्तर निगरानी गरी घरमै क्वारेन्टाइनमा बस्न लगाई कुनै शंकास्पद लक्षण देखिएमा वडा स्तरीय समितिले समन्वय गरी तत्काल थप उपचारका लागि गाउँपालिकाद्वारा स्थापित क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउने, दैनिक उपभोग्य बस्तुको सहज उपलब्धता सुनिश्चित गर्न, कालोबजारी र कृत्रिम अभाव सिर्जना हुन नदिन अनुगमन गर्ने, बन्दाबन्दीलाई कडाईका साथ कार्यान्वयन गर्ने समेत कार्यपालिका बैठकले निर्णय गरेको गाउँपालिका उपाध्यक्ष लक्ष्मी खनालले बताउनुभयो ।
गाउँपालिकाले स्वास्थ्य संस्थामा खटिएका स्वास्थ्यकर्मीहरुलाई लकडाउन शुरु भएको दिनदेखी अवस्था सामान्य नहुन्जेल सम्मका लागि शुरु तलबस्केलको २० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउने, महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई तथ्यांक संकलन एवं समन्वय, भारत लगायत अन्य देशहरुबाट आएका व्यक्तिहरुको निगरानी र रिपोर्टिङका लागि संचार खर्च स्वरुप पाँच सय रुपैंया उपलब्ध गराउने समेत निर्णय गरेको स्वास्थ्य संयोजक विष्णुदेव खनालले जानकारी दिनुभयो ।
कोरोना रोग रोकथाम तथा नियन्त्रण र राहत सहायता उपलब्ध गराउन गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा थप १५ लाख निकासा गरी उक्त कोषमा सहयोग गर्न इच्छुक सामाजिक संघसंस्था, व्यक्ति तथा समुदायलाई सार्वजनिक आव्हान गर्ने समेत गाउँपालिकाले निर्णय गरेको छ ।
विजयकुमार बौडेल चैत २१ – एक्कासी ज्वरो आएर जिउ दुख्ने र टाउको दुख्न थालेपछी फोक्सिङकोटका एवतकुमार सारु रातभरी निदाउन सक्नुभएन ।
पेशाले शिक्षक र रेडियो मदनपोखराका फोक्सिङकोट प्रतिनिधी समेत रहनुभएका सारुलाई कोरोना संक्रमण हो कि भन्ने त्रासले रातभरी सताईरह्यो । “राती ११ बजेतिर एक्कासी ज्वरो आएपछी ओढेको सिरकले न्यानो भएन, बुबा सुत्ने कोठाको तीन वटा सिरक लिएर ओढें, ज्वरो घटेन, जिउ दुख्यो, टाउको गह्रुङ्गो भयो, बोल्नै नसक्ने गरि जिउ काम्यो, म्याडमले तातो पानी दिनु भो । निन्द्रा परेन ।”
सारुले भन्नुभयो –“बिहान उज्यालो भयो, नियमित काम गर्न सकिन । हल्का खाँसी पनि सुरु भयो । तीन दिन सम्म कहिले पिडीमा, कहिले आँगनमा, कहिले ओछ्यानमा सुतें । सिटामोल खाएँ । केही हल्का भयो । चौथो दिन काममा गएं, उस्तै दोहोरियो ।” एन्टीबायोटिक औषधी खाएर उहाँलाई निको त भयो तर मनमा भने कोरोना संक्रमणको शंका रहिरह्यो ।
त्यसको ६÷७ दिन पछी सारुकी श्रीमतीलाई पनी उस्तै लक्षण देखियो । दुईजना मात्र बस्ने सारु परिवारलाई साह्रै समस्या पर्यो । फेरी उही औषधी प्रयोग गर्नुभयो । उहाँलाई पनी निको भयो । तर दुवैको मनमा कोरोना संक्रमणको शंका रहिरह्यो । सारुले भन्नुभयो “त्यसको दुइदिन पछि पल्लाघर बस्ने सरलाई पनी उस्तै भो । ज्वरो र पसीनाले दुई जोर कपडा भिजेछ । त्यै एन्टिबायोटिकले निको भएछ ।”
अब भने सारु ढुक्क हुनुभो । शंका रहेन । यो कोरोना होइन । मौसमी फ्लुको कारणले आएको ज्वरो रहेछ । सारुले भन्नुभयो “डर त्रास र लाचारीले ज्यान पनी जान सक्थ्यो । पहिलो आफ्नै कमजोर मनोबल, दोश्रो नजिकका नामी अस्पतालको वेवास्ता । बुटवल सैनामैना, टेकुमा दुइको मृत्युु र पाल्पा आसपासका घट्नाले कोरोनाले भन्दा पनि त्रासले पिडित बनाएको अवस्था छ ।”
“नडराऔं । सुरक्षित रहौं । आत्मबल बढाऔं । सुरक्षित रहौं, सजग रहौं ।” सारुको आग्रह छ ।
विजयकुमार बौडेल चैत २१ – रैनादेवी छहरा गाउँपालिकाले आफ्नो गाउँपालिका भित्र भएका दैनिक ज्यालादारी गरी छाक टार्ने ३ सय परिवारलाई राहत सामग्री वितरण गर्ने भएको छ ।
विश्वभर फैलिएको कोरोना भाईरसको संक्रमण जोखिम कम गर्न सरकारले लागु गरेको लकडाउन बाट प्रभावित ३ सय परिवार मजदुरहरुलाई राहत सामग्री वितरण गर्ने भएको हो । हरेक वडा वडा बाट खाद्यान्न, दाल, तेल र नुनलगाएतका सामग्री राहत स्वरुप वितरण गर्ने प्रमुख प्रशासकिय अधिकृत केवी खत्रीले जानकारी दिनुभयो ।
मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रम कार्यान्वयन समिति रैनादेवि छहराको बैंठकले राहत स्वरूप ३० केजि चामल, ३ केजी दाल, १ किलो नुन र १ लिटर तेल दिने निर्णय गरेको नेकपा नेता राम बहादुर राउतले बताउनुभयो । राहत वितरण यसअघी नै तय गरिएको सिफारिस समितिको रोहवरमा हुने गाउँपालिकाले जनाएको छ ।
सिद्धेश्वरका ३५ ,सोमादीका ३५, भुवनपोखरीका ५०, छहराका ५०, मुझुङका ३०, जुठापौवाका ३५, बल्ढेङगढीका ३० र सत्यवतीका ३५ घरपरिवारलाई राहत वितरण गरिने गाउँपालिकाले जनाएको छ ।
पाल्पा । चैत २१ – तानसेन नगरपालिकाले कोरोना भाइरस नियन्त्रण तथा व्यवस्थापन गर्न २५ लाख रुपैँयाको कोष खडा गरेको छ ।
तानसेन नगरकार्यपालिकाको आज बसेको बैठकले कोरोना भाइरस नियन्त्रण तथा व्यवस्थापन गर्न नगर गौरवका योजना अन्तर्गत विग बुद्ध परियोजनाका लागि विनियोजित २ करोडमध्येबाट २५ लाख रकमान्तर गर्ने र सो कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोष स्थापना गर्ने निर्णय गरेको हो ।
तानसेन नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिले तानसेन कोरोना नियन्त्रण उपचार कोषमा ५ वटा बैठकको भत्ता जम्मा गर्ने निर्णय गरेको नगरपालिका प्रमुख अशोककुमार शाहीले बताउनुभयो । कोषमा जनप्रतिनिधिले दिने रकम करिव ३ लाख ६ हजार हुनेछ । राष्ट्रिय वाणिज्य वैंक पाल्पामा छुट्टै खाता खोली सञ्चालन हुने कोषमा व्यक्ति तथा संस्थाले पनि योगदान गर्न सक्ने व्यवस्था मिलाइएको छ । तानसेनले नगरपालिकाभित्र बसोबास गर्ने असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरुलाई उपलब्ध गराउने राहत सम्बन्धी मापदण्ड २०७६ स्वीकृत गरेको छ ।
लकडाउनका कारण समस्यामा परेका श्रमिक वर्ग असहाय व्यक्तिलाई राहत प्रदान गर्न इच्छुक व्यक्ति, संघ संस्थालाई एकद्वार प्रणालीबाट आउन अनुरोध गरेको छ । राहत दिन चाहने व्यक्तिले नगरपालिकामा राहत संकलन गर्ने र सम्बन्धित वडा कार्यालयको सिफारिशमा मात्र वितरण गर्ने व्यवस्था मिलाउने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेल्बासेले बताउनुभभो । कार्यपालिका बैठकले लकडाउनको अवधिभर सन्देश प्रवाह तथा भाइरस रोकथामका लागि प्रयोग गरिएको जीपको दैनिक ५ हजारका दरले कोषबाट भुक्तानी दिनेसमेत निर्णय गरेको छ ।
नगरपालिकामा दोस्रो चौमासिकसम्मको अवधिमा ३६ करोड ६० लाख २९ हजार ६ सय ९४ रुपैँया अर्थात् २१ प्रतिशत बजेट खर्च भएको छ । कुल विनियोजित १ अर्व ७ करोड ४ लाख ३१ हजार ४ सय १८ मध्ये ७० करोड ४४ लाख १ हजार ९ सय २४ रुपैँया बाँकी रहेको सूचना अधिकारी दुर्गा थापाले बताउनुभयो ।
नगरपालिकाले नदीजन्य पदार्थको अमानतमा उत्खनन गर्ने कार्यका लागि बाटोको निकास, जेसिभि मर्म र अन्य कामका लागि आवश्यक बीस लाख रुपैँया गाउँ नगर साझेदारी विकास कोष खाताबाट सोधभर्ना गर्ने गरी सापटी लिनेसमेत निर्णय गरेको छ ।
पाल्पा । चैत २० – तानसेन नगरपालिकाले कोरोना भाइरस रोकथाम तथा सचेतना अभिवृद्धिका लागि हालसम्म सञ्चालन गरिएका क्रियाकलापहरु र आगामी दिनमा गर्न तयारी गरिएका कार्यक्रम सरोकारवालालाई जानकारी गराएको छ ।
जिल्ला सदरमुकाम रहेको तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले हिजो प्रदेशसभा सदस्य, प्रमुख जिल्ला अधिकारी, अस्पतालका प्रमुखहरू, उद्योग, व्यापार संघका पदाधिकारी, नागरिक समाजका अगुवाहरूलाई महामारी रोकथामका प्रयासबार जानकारी गराउनुभएको हो । कोरोना भाइरसको बारेमा अभिमुखिकरण, कार्यक्रम सञ्चालन, नगरस्तरीय समन्वय समिति गठन, कोभिड रोकथामको लागि नगरपालिकाको बोर्ड बैठकबाट बजेट व्यवस्थापन, स्थानीय जनप्रतिनिधि, स्वास्थ्य स्वयंसेविका, टोल विकास समितिका पदाधिकारी र अन्य सरोकारवालाहरुलाई अभिमुखिकरण गरी निर्देशिका अनुसार तानसेन नगरपालिकाका सम्पूर्ण वडाहरुमा वडास्तरीय समन्वय समिति गठनलगायतका विषयमा प्रमुख शाहीलले जानकारी दिनुभयो ।
तानसेन ६ को बसपार्क र ७ को प्रभास क्षेत्रमा हेल्थ डेस्क स्थापना, प्रत्येक वडा कार्यालय तथा स्वास्थ्य चौकीलाई धारावाला वाल्टी, साबुन र सेनेटाइजर वितरण, वडा नं. ६ को जनप्रिय मा.वि.मा ५० शैयाको क्वारेन्टाइन स्थापना गरिएको र भारतबाट आएका २६ जना नेपाली नागरिकहरुलाई राखि सम्बन्धित स्थानमा पठाइएको नगरपालिकाले जनाएको छ ।
सरोकारवालासँगको बैठकमा नगरपालिका प्रमुख शाहीले नेपाल सरकारले तोकेको मापदण्डअनुसार थप क्वारेन्टाइन निर्माण, घरघरै चिकित्सकसहितको उपचार सेवा बिस्तार, स्पास्थ्यचौकीहरूबाट पिपिइलगाएका स्वासबाट ज्वरो रूघाखोकीको स्वास्थ्य जाँच, अस्पतालहरूबाट नियमित उपचार सेवा सञ्चालनका विषयमा आवश्यक तयारी गर्ने जानकारी गराउनुभएको छ ।
निस्दी । चैत १९ – कोरोना भाईरसको संक्रमण बाट बँच्न विभिन्न स्थानिय तहहरुले विभिन्न कार्य तथा योजना सञ्चालन गरिरहेका छन् ।
विभिन्न स्थानिय तहहरुमध्ये निस्दी गाउँपालिकाले उत्कृष्ट कार्य गरिरहेको सरोकारवालाहरुले बताएका छन् । के के छन् त निस्दी गाउँपालिकाले अहिले सम्म कोरोना भाईरस संक्रमणको सावधानीका लागी गरेका कार्यहरु ?
जोखिम न्यूनीकरण तथा रोकथामको लागि हालसम्म गरेका प्रयासहरु तथा भए गरेका क्रियाकलापहरु
क्र.स.
मिति
कोरोना भाइरस(COVID-19) को जोखिम न्यूनीकरणको लागि हालसम्म भए गरेका प्रयासहरु
१
२०७६।१२।०१
सामुदायिक रेडियो रामपुरबाट कोरोना भाईरस (COVID-19) सम्बन्धि सन्देशमुलक सामग्री प्रसारण गरिएको ।
२
२०७६।१२।०४
सन्देशमुलक ब्यानर तथा सन्देशमुलक पम्प्लेट छपाई तथा वितरण एवं प्रचारप्रसार गरिएको।
३
२०७६।१२।०५
जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत अन्य सरोकारवाला व्यक्तिहरुको उपस्थितिमाकोरोना भाईरस (COVID-19) सम्बन्धिपालिकास्तरीय अभिमुखीकरण कार्यक्रम संचालन गरिएको तथा पलिकास्तरिय समन्वय समिति गठन गरिएको।
४
२०७६।१२।०९
१. सबै वडाहरुमा कोरोना भाईरस (COVID-19) सम्बन्धिअभिमुखीकरण कार्यक्रम संचालन गरिएको तथा वडास्तरीय समन्वय समिति गठन गरीप्रचारप्रसारलाई तिब्रता दिइएको ।
२. पालिकास्तरीय RRT (Rapid Response Team) द्रुत प्रतिकार्य समितिको बैठक सम्पन्न तथा उक्तबैठकमासबै वडाहरुमाव्यवस्थित र तिब्रताकासाथCOVID-19 कोसम्भावित संक्रमण न्यूनीकरण अभियान संचालनगर्ने निर्णय गरिएको ।
५
२०७६।१२।१०
१. कार्यपालिकाको बैठक सम्पन्न तथा COVID-19को रोकथामका लागि कार्ययोजना निर्माण गरिएको ।
२. कार्यपालिका बैठकको निर्णय:- COVID-19 कोसम्भावित संक्रमण न्यूनीकरण अभियानमा खट्ने स्वास्थ्यकर्मीहरु, नियमित खट्ने कर्मचारीहरु तथा सुरक्षाकर्मीहरुलाई प्रोत्साहन भत्तादिनेतथा यस अभियानमा खट्ने स्वास्थ्यकर्मीहरु, नियमित खट्ने कर्मचारीहरु र सवारी चालकहरुको अकल्पनीय मृत्यु भएमा रु. दश लाख रुपैया पालिकाबाटराहत स्वरूप दिने निर्णय गरिएको।
६
२०७६।१२।११
१. पालिकास्तरीय विपद व्यवस्थापन समितिको बैठक सम्पन्न ।
२. COVID-19 कोसम्भावित संक्रमण न्यूनीकरणका लागि तिब्रताका साथ माईकिङ प्रचारप्रसार गरिएको ।
३. यस गाउपालिकाभित्रसबै प्रकारका सवारीसाधन (खाद्यान तथा एम्बुलेन्स बाहेक) आवतजावतमा रोक लगाइएको,पालिका भित्र संचालित विभिन्न पसल तथा व्यवसायहरु संचालनमा रोक लगाइएको, विभिन्नसांस्कृतिक नाचगान तथा सामुहिक खानपान र जमघट गर्न रोक लगाईएको तथा खेल मैदानहरुमा विभिन्न खेलहरु खेल्न रोक लगाइएको तथा एक टोल बाट अर्को टोलमा आवतजावत गर्न समेत प्रतिबन्ध लगाइएको।
४. यसगाउँपालिकाको वडा नं. ४ मित्याल बजारमा हेल्थ डेस्क स्थापना गरिएको।
५. अत्यावश्यक सामग्रीहरु जस्तै २० वटा ग्लोव्स, १६० पिस स्यनिटाईजर र १५ पिस डिजिटल थर्मोमिटर व्यवस्था गर्ने कार्य भएको ।
७
२०७६।१२।१२
१. सबै वडाका स्वास्थ्य संस्थाहरुमाCOVID-19 कोसम्भावित संक्रमण न्यूनीकरणकोलागिअत्यावश्यकस्वास्थ्य सामाग्रीहरु वितरण गरिएकोत्यसै गरी यस गाउँपालिकाका अध्यक्ष श्री मुक्त बहादुर सारुज्युको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत भगवान भक्त अर्याल, स्वास्थ्य शाखा संयोजक र रुक्से भन्ज्याङ प्रहरी चौकिका प्रहरी सहायक निरीक्षक डेड बहादुर थापासहितको टोलिबाट बाकामलाङ, सहलकोट, झिरुवास, गल्धा, दुंगनाबेसी लगायतका ठाउँहरुमा माईकिङ प्रचारप्रसार कार्य सम्पन्न गरिएको।
२. भारत लगायत अन्य देशबाट आएका व्यक्तिहरुको लगतसंकलन कार्य सुरु गरिएको ।
८
२०७६।१२।१३
१. COVID-19 कोसम्भावित संक्रमण न्यूनीकरणकोलागिअत्यावश्यक सामाग्रीहरु मास्क. स्यानीटाईजर, PPE का सामान, थर्मोगन को व्यवस्था गरिएको ।
२. गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत सहितको टोलिबाटगल्धा, अर्चले र ज्यामिरे लगायतका ठाउँहरुमाCOVID-19 कोसम्भावित संक्रमण न्यूनीकरण सम्बन्धिमाईकिङ तथाप्रचारप्रसार गरिएको ।
३. श्री गौरी शंकर मा. वि. निस्दी-४, मित्याल, पाल्पामा १२ बेडको Quarantine स्थापना गरीएको ।
४. सबै वडाहरुमा जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुको टोलीले सम्बन्धित वडाका टोल टोलमा गई भारत लगायत अन्य देशबाट आएका व्यक्तिहरुको विवरण संकलन गरिएकोतथा ती व्यक्तिहरुलाईHomeQuarantine मा बस्नकोलागि सुझाईएको ।
९
२०७६।१२।१४
निस्दी १ बाकामलाङमा भारत लगायतअन्यदेशहरुबाट आएका व्यक्तिहरुकोघरघरमा गईथर्मोगन तथा डिजिटल थर्मोमिटरहरुको प्रयोग गरि तिनीहरुको स्वास्थ्य अवस्थाको चेकजाँच गरिएको तथा जानकारी लिइएको ।
१०
२०७६।१२।१५
निस्दी ५ बेलडाँडामा हेल्थडेस्क स्थापना गरिएको।
११
२०७६।१२।१६
निस्दी २ सहलकोटमा पालिका अध्यक्ष सहितको टोलि घरघरमा गईभारत लगायत अन्य देशबाट आएका व्यक्तिहरुको विवरण संकलन गरिएको तथा तिनीहरुको स्वास्थ्य जाँच गरिएकोर तिनीहरुलाई १४-१७ दिनसम्म HomeQuarantine मा बस्नको लागि सुझाईएको।
१२
२०७६।१२।१७
निस्दी ६ अर्चलेमा पालिका अध्यक्ष सहितको टोलि घरघरमा गईभारत लगायत अन्य देशबाट आएका व्यक्तिहरुको विवरण संकलन गरिएको तथा तिनीहरुको स्वास्थ्य जाँच गरिएकोर तिनीहरुलाई १४-१७ दिनसम्म HomeQuarantine मा बस्नको लागि सुझाईएको।
१३
२०७६।१२।१८
· प्रदेश नं. ५ प्रदेश सभा सदस्य माननीयश्री नारायण आचार्य ज्यु, जिल्ला समन्वय समिति पाल्पाको कार्यबाहक प्रमुख श्री मिरा मरासिनी ज्यु लगायतकोटोलीबाटनिस्दी गाउँपालिकाले कोरोना भाइरस (COVID-19) को सम्भावित जोखिम न्यूनीकरण तथा रोकथामका लागि गरेका प्रयासहरुको अनुगमन तथा निरीक्षण गरिएको तथा आवश्यक सल्लाह सुझाव समेत प्रदान गरिएको ।
· कार्यपालिका बैठक सम्पन्न ।उक्तकार्यपालिका बैठकमा :-
१. सबै वडाका वडा अध्यक्षहरुबाट आ-आफ्नो वडामा कोरोना भाइरस (COVID-19) को सम्भावित जोखिम न्यूनीकरण तथा रोकथामका लागि भएका प्रयासहरु, नेपाल सरकारले कोरोना भाइरस (COVID-19) को सम्भावित जोखिम न्यूनीकरण गर्ने हेतुले लकडाउन गर्नु भन्दा केहि दिन पूर्व र लकडाउन सुरु भएपछि भारत लगायत अन्य मुलुकहरुबाट आएका व्यक्तिहरुको स्वास्थ्य अवस्था लगायत अन्य विवरणहरु र कोरोना भाइरसको सम्भावित संक्रमण रोकथामका लागि कार्यहरु गर्दै गर्दा आइपरेका समस्याहरुको बारेमा रिपोर्टीङ गरिएको ।
२. निस्दी गाउँपालिका भित्र रहेका बजार तथा गाउँ क्षेत्रहरुमा रहेका पसलहरुमा खाद्यान ढुवानीको लागि ब्यापारीहरुलाई आवश्यक सहजीकरण गर्ने निर्णय गरिएको ।
३. निस्दी गाउँपालिका भित्र रहेका दैनिक ज्यालादारी गरि गुजारा गर्ने मजदुरहरु तथा तिनको परिवारहरुको मिति २०७६-१२-२० सम्ममा लगत (तथ्यांक) संकलन गर्ने तथा प्राप्त तथ्यांकको आधारमा एक व्यक्तिलाई एक दिनको १ kg को दरले चामल, ५ दिनको १/२ kg को दरले दाल र एक/एक पोका नुन, तेल र जिरा दिने निर्णय गरिएको ।साथै उक्त वितरण प्रक्रियालाई सहज बनाउन मापदण्ड समेत बनाउने निर्णय गरिएको ।
४. वडाहरुको आवश्यकताको आधारमा यस निस्दी गाउँपालिकाको सबै वडाहरुमा गरी कुल १०५ बेडको क्वारेन्टाईन स्थापना गर्ने निर्णय गरिएको। साथै उक्त क्वारेन्टाईनहरुलाई पूर्ण रुपले व्यवस्थित गर्ने निर्णयगरिएको ।
५. प्रत्येक वडामा रहेका स्वास्थ्य संस्थाहरुको लागि एक वटाको दरले कुल सात वटा र थप ३ वटा गरी जम्मा १० वटा PPE सेट तथा १० वटा स्प्रे मेसिनहरु खरिद गर्ने निर्णय गरिएको ।
६. यस निस्दी गाउँपालिका अन्तर्गत रहेका तथा अन्य सहयोगी संस्थाहरु र व्यक्तिहरुलाई यस आपतकालिन घडीमा सहयोग गर्नको लागि आह्वान गर्ने निर्णय गरिएको ।
१४
माथि उल्लेखित कार्यहरु बाहेक प्रत्येक दिन सबै वडाहरुमा जनप्रतिनिधि र स्वास्थ्यकर्मी सहितको टोलीले भारत लगायत अन्य देशबाट आएका व्यक्तिहरुको लगत संकलन गर्ने, update गर्नेतथा ती व्यक्तिहरुको स्वास्थ्य अवस्थाको चेकजाँच गर्ने र पलिकलाई जानकारी गराउने, सवारी साधन हरु चले नचलेको कडाइका साथ अनुगमन गर्ने जस्ता क्रियाकलापहरु भईरहेका छन् ।
पाल्पा । लकडाउनको आज नवौ दिन पाल्पा जिल्लामा स्थापना गरिएका २७ क्वारेन्टाइनमध्ये ४ वटामा ३७ व्यक्ति आइसोलेसनमा बसेका छन् ।
पूर्वखोलाको जनमार्ग मावि सिलुवामा २१, रामपुरको बालकल्याण प्राविमा ११, रैनादेवीछहराको जोगवाणी प्राविमा ४ र छहरा पुरानो स्वास्थ्यचौकी भवनमा १ जना गरी ३७ जना व्यक्ति क्वारेन्टाइनमा बसेका छन् । कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकाले स्थानीय तहहरुले क्वारेन्टाइनको व्यवस्था गरेका हुन् । क्वारेन्टाइनमा बसेका अधिकांश व्यक्ति भारतबाट गड्डाचौकी भएर नेपाल आएका नागरिकहरु रहेका छन् ।
जनमार्ग माध्यमिक विद्यालय क्वारेन्टाइनमा वडाअध्यक्ष भोगबहादुर थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र स्वास्थ्यकर्मी व्यवस्थापनमा नियमित खटिएका छन् । आइसोलेसनमा बस्नेहरुका लागि विहान साँझ दाल, भात, तरकारी, अण्डा दिने गरिएको छ । क्वारेन्टाइनमा टेलिभिजन र वाइफाइ जोडिएको छ । व्यक्ति पिच्छे डिजिटल थर्मामिटर दिएको र साँझ विहान तापक्रम लिएर गाउँपालिकाको कार्यालयमा रिपोर्टिङ गर्ने गरिएको बताउनुभयो । पूर्वखोलाले उद्बुद्ध मावि र बीरकोट माविमा बनाएको क्वारेन्टाइनमा मेडिकल बेड नै राखिएको छ । पूर्वखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहनप्रसाद ढकालले आइसोलेसनको बसाईलाई पट्यारलाग्दो नहोस् भनेर गाउँपालिकाका अध्यक्ष आफै सोध्दै हिंड्नुभएको र आवश्यक व्यवस्था गरेको बताउनुभयो ।
शंकास्पद व्यक्ति र विदेशबाट आएका मानिस जो आफै भयभित र त्रसित छन्, उनीलाई राख्ने क्वारेन्टाइन मापदण्ड वमोजिम मात्र होइन, सामान्य लोकलाज ढाक्ने अवस्थाका समेत छैनन् । भुईमा पिपि फर्म बिछ्याएर बनाएको रामपुर नगरपालिकाले मिडियाको दवावपछि क्यारेन्टाइनमा खाट थपेको छ । गर्मीमा लाग्ने लामखुट्टेबाट बच्च झुल दिएको छ । क्वारेन्टाइनमा बस्ने नागरिकका लागि समय बिताउने कुनै साधन छैन । भारतको बम्बईबाट छोरा लिएर आएका एक नागरिकले साथमा रहेको मोवाइल पनि बेचेर बाटो खर्च गरेका छन् । आमा गुमाएका ४÷५ वर्षको बच्चाले कार्टुन हेर्ने मोवाइल बाटोमा यात्रा गर्दा बाबुले बेचेपछि क्वारेन्टाइनमा बसेका बच्चा छटपटिरहेका छन् । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले विदेशबाट फर्किनेलाई एयरपोर्ट र सीमा नाकाबाटै सिधै क्वारेन्टाइनमा नपठाएर सबैलाइ दुःख भएको बताउनुभयो ।
रम्भा गाउँपालिकाले ताहूँमा बनाएको क्वारेन्टाइन व्यवस्थित छैन । तर ताहूँ प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक र स्वास्थ्यकर्मीले जोखिम मोलेरै ज्वरोका विरामीको स्वास्थ्य जाँच गरेका छन् । सामान्य थर्मामिटर पनि पर्याप्त नभएपछि एकपछि अर्को व्यक्तिको ज्वरो नाप्दा स्प्रिटले पुछेर दिने गरिएको मेडिकल अधिकृत केशरसिंह कार्कीले बताउनुभयो ।
नागरिकको सुरक्षा र सुविधा दिन गठन भएका स्थानीय सरकारहरुले विदेशबाट अत्यन्त दुःखका साथ घर फर्किएका नागरिकको मानवअधिकारको सम्मान गर्दै सम्मानजनक व्यवहार गर्नुपर्ने सुझाव उनीहरुका परिवारजनको रहेको छ ।
माया बस्याल चैत १९ – सराई युवा क्लवले माथागढी ३ कसेनीका गरिव तथा श्रमिक परिवारलाई खाद्यान्न तथा तरकारी राहत वितरण गरेको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण बाट बँच्न सरकारले लागु गरेको लकडाउनबाट प्रभावित गरिव तथा मजदुर परिवारलाई राहत वितरण गरेको हो । माथागढी वडा नं. ३ को कार्यालय, सराई युवा क्लव र स्वास्थ्य चौकी कसेनीको सहकार्यमा स्थानिय व्यापारीहरुको सहयोगमा राहत संकलन गरि वितरण गरेको हो ।
गाउँपलिका उपाध्यक्ष निर्मला भट्टराईले स्थानिय तहको तर्फबाट पनि सहयोग ल्याउन पहल चालिएको भन्दै थप सहयोग गर्ने युवा क्लवलाई धन्यवाद व्यक्त गर्नुभयो । माथागढी ३ का अतिविपन्न श्रमजीवी १३० परिवार मध्ये आज ३२ घरपरिवारलाई सामग्री वितरण गरिएको छ । एक परिवारलाई १ किलो दाल, २ किलो आलु, १ पोका नुन, १ पोका तेल, २० किलो चामल, काउली, बन्दा, सोयाविनलगाएतका सामग्री वितरण गरिएको हो ।
दैनिक रुपमा ज्यालादारी गरेर छाक टार्ने परिवारलाई अप्ठेरो नहोस् भनी राहत संकलन र वितरण गरिएको वडाध्यक्ष दिपक थापाले बताउनुभयो । अहिले सम्म जम्मा ६२ घरपरिवारलाई राहत सामग्री वितरण गरिएको छ । माथागढी वडा नं. ३ सराईमा ज्यालादारी गरेर गुजारा टार्दै आउनुभएका सिलङ्गीका भिम बहादुर बिकले काम गरिखाने वर्गलाई काम नभएको र छाक टार्न मुस्किल परिरहेको बेलामा स्थानिय यूवा क्लवले राहत वितरण गरेकोमा खुसी लागेको बताउनुभयो ।
सराई युवा क्लवका अध्यक्ष खोमबहादुर गाहाले यूवाहरुले विपत्तीको बेला सहयोग संकलनको कदम चालेको र सबैले साथ दिएको भन्दै सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।