सामुदायिक रेडियो मदनपोखरा
spot_img
Home Blog Page 28

मन त हो : दमकडाका तिमिल्सेनाले गरे सबै व्यवसायिलाई भाडा छुट

विजयकुमार बौडेल 
चैत १९ – कोरोना भाईरस संक्रमणको त्रासले व्यवसायिको व्यापार अस्तब्यस्त बनेको बेला तानसेन ९ आरुखर्कका लक्ष्मीकान्त तिमिल्सेनाले आफ्नो घरमा व्यवसाय गर्ने सबैलाई एक महिनाको भाडा छुट गर्ने घोषणा गर्नुभएको छ ।

तानसेन ९ दमकडा चोकैको घरमा रहेको ७ वटा सटर लिएर व्यवसाय गर्ने सबै व्यवसायिहरुलाई एक महिनाको भाडा छुट गर्ने घोषणा तिमिल्सेनाले गर्नुभएको हो । कोरोना भाईरसको त्रासका कारण ब्यापार व्यबसायी समस्यामा परेकाले घरभाडा बुझाउन पनि मुस्किल भएको भन्दै घरधनी तिमिल्सेनाले स्वस्फुर्त रुपमा व्यबसाय सञ्चालन गर्ने ७ जना व्यवसायिहरुलाई भाडा छुट दिने घोषणा गरेका हुन् । भाडामा लिएका ७ जना व्यवसायिलाई चैत्र महिनाको भाडा सहित विजुली र पानी पनी निशुल्क गर्ने तिमिल्सेनाले बताउनुभयो । तिमिल्सेनाको घरमा भाँडा पसल, रेष्टुरेन्ट, सिलाई, तरकारी र फेन्सी लगायतका पसल रहेका छन् । जसको मासिक प्रति सटर ३ देखि ४ हजार रुपैयाँसम्म रहेको छ ।


तिमिल्सिना आफु भने बुटवल मणिग्राममा घर र जग्गा भाडामा लिएर बागेश्वरी डेरी सञ्चालन गर्नुभएको छ । घरधनीले भाडा नलिने भएपछि ब्याबसायीले आफ्नो पिर मर्का बुझेको र अफ्ठेरो परिस्थितिमा आफुहरुलाई सहयोग गरेकोमा घरधनी तिमिल्सेनालाई धन्यवाद दिएका छन् । सरकारले लकडाउन लम्ब्याउने कुराले व्यवसायीको मनमा थप पिरलो थपिएपनी घरधनीको मनकारी मनले व्यवसायिहरुले शान्तिको श्वास फेरिरहेको छुट पाउने व्यवसायि दमकडा सेकुवा कर्नरका सञ्चालक दिपक बस्यालले बताउनुभयो । “यस्ता मनकारी घरधनी पाउनु नै हाम्रो लागि ठूलो कुरा हो ।” बस्यालले भन्नुभयो ।

बस्याल मात्रै होइन सोही घरमा भाँडा व्यवसाय संचालन गर्दै आउनुभएका बिष्णु न्यौपाने भाडा मिनाहाको खबर पाएर खुसी हुनुहुन्छ । न्यौपानेले घरधनीले व्यवसायीहरुलाई लगाएको गुण अतुलनीय रहेको बताउनुभयो । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले व्यवसायमा समेत प्रभाव पारेको भन्दै तिमिल्सेनाले सटर भाडा मिनाहा गरेको बताउनुभयो । “हामी मान्छे हौँ, दुख पर्दा एक अर्कालाई साथ दिन सिक्नुपर्छ ।” तिमिल्सेनाले भन्नुभयो ।

आफै पनी व्यवसायि रहनुभएका तिमिल्सेनाले कोरोना संकटको सबै मिलेर सामना गर्नुपर्ने र एकअर्कालाई सहयोग गर्नुपर्ने बताउनुभयो । कोरोना भाइरस फैलन नदिन सरकारले लकडाउन लागु गरेपछी घरधनीसँग चैत महिनाको भाडा नलिन आग्रह गरेको थियो ।

कोरोना प्रभाव : गाउँमा तरकारी फालाफाल बजारमा अभाव, मल नपाउँदा किसान मर्कामा

विजयकुमार बौडेल 
चैत १८ – कोरोनाको प्रभाव बढ्न नदिन सरकारले लागु गरेको लकडाउनको कारणले किसान मर्कामा परेका छन् ।

सरकारले गरेको लकडाउन र कृषी सामग्री व्यापारीहरुको त्रासका कारण किसानहरुले सहज रुपमा खेतबारी जोत्न र मल, विउ समेत पाउन नसक्दा मर्कामा परेका हुन् । खेतबारी जोत्नका लागी ट्रयाक्टरले सहज ढंगले डिजेल पाएको अवस्था छैन ।

तानसेन नगरपालिका वडा नं. ९ का खेम बहादुर बौडेलले बर्षभरी खाने आम्दानीको श्रोत टमाटर रोप्ने बेला कुखुराको मल विना नै रोप्नुभयो । “जहाँतहीँ सम्पर्क गर्दा पनी कुखुराको मल पाउन सकिएन । कृषी सामग्रीलाई त अली सहज बनाईदिए पनी हुन्थ्यो ।” बौडेलले भन्नुभयो । “मरियो भने त के हो ? के हो ? बाँचियो भने त बर्षभरी खान पर्ला नी । टाँठाबाठाले त जसोतसो गरेर ल्याएका छन् । हामीले के गर्ने खै ?” स्थानिय तहहरुले किसानका लागी आवश्यक सामग्री ल्याईदिन पहल गर्नुपर्ने बौडेलको भनाई छ ।

यता उत्पादन भईसकेका तरकारी पनी सहज रुपमा बजारमा लैजान नपाँउदा किसान पिडित छन् । संकलन केन्द्रमा ठूला ट्रकहरु लिएर नियमित तरकारी लिन आउने व्यापारीहरु लकडाउनमा परे पछि किसानहरुले गाउँबस्तीमै बोकेर विक्रि गरिरहेका छन् । “सहकारीमा आवद्ध हुनेहरुले त जसरीतसरी विक्रि गरिरहेका छन् । सहकारीमा नहुनेले गाउँघरमै बोकेर बेचेका छन् ।” तानसेन ९ कै मंगल रुचालले भन्नुभयो । “बजारमा हाहाकार छन्, गाउँमा फालाफाल ।” गाउँका तरकारी बजारमा सहज रुपमा लैजान सके सबैलाई फाईदा हुने रुचालको भनाई छ ।

सरकारले अत्यावश्यकीय वस्तुको निर्वाध आपूर्ति गर्ने व्यवस्था गर्ने भने पनि देशभर लकडाउनको प्रत्यक्ष प्रभाव भने पाल्पाका बेमौसमी तरकारी उत्पादन गर्ने कृषकहरुमा परेको छ । लकडाउनले छिटै नष्ट हुने तथा दैनिक अत्यावश्यकीय वस्तुहरू दूध, फलफूल, तरकारीलगायतको आपूर्ति प्रभावित भएको छ ।

बिनाअनुमति ढुवानीका साधनहरू रोकिने भएकाले कृषि उपज आपूर्ति गर्ने निजी साधन चल्न नपाउदा आपूर्तिकर्ता अन्योलमा परेका हुन् । उपभोक्ताले पनि तीन–चार दिन पुग्ने मात्रै स्टक गर्न सक्ने भएकोले थप सहजीकरण नभएमा भने तरकारी तथा फलफुल आपूर्तिमा समस्या आउने प्रेस संगठन पाल्पाका संयोजक राजेन्द्र लिगलले बताउनुभयो ।

जिल्ला सदरमुकाम तिर तरकारीको मूल्य आकासिएको छ । सदरमुकाममा बन्दा, काउली, प्याजलगायत तरकारीको बजार मूल्य अरु बेला भन्दा बढी छ तरपनी सहज रुपमा किन्ने वातावरण नभएको लिगलको भनाई छ ।

केही दिन अघी मात्र रैनादेवी छहराका किसानले विक्रि नभएपछी ६ हजार कुखुरा नष्ट गरेका थिए । किसानले उत्पादन गरेका कृषी उपजको सही व्यवस्थापन र उत्पादनमा प्रोत्साहन गर्न स्थानिय तहका जनप्रतिनिधीले तत्काल सोंच्नुपर्ने सरोकारवालाहरुको भनाई छ ।

कोरोना रोकथामका लागि निस्दीको अभियान प्रशंसनीय (फाेटाेफिचर)


निस्दी । चैत १८ – कोरोना संक्रमण, रोकथाम र उपचारका लागि निस्दी गाउँपालिकाले जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई घरघरमै खटाएको छ ।

गाउंपालिकाका अध्यक्ष मुक्तबहादुर सारुसहितका जनप्रतिनिधि, स्वास्थ्यकर्मी र प्रहरीहरु घरघरमै ज्वरो नाप्ने र स्वास्थ्य सचेतना दिँदै हिडेको छ । विदेशबाट आएका र रोजगारीबाट फर्किएका नागरिकहरुलाई एकएक वटा डिजिटल थर्मामिटर दिएर दैनिक ज्वरोको मापन गर्ने, ज्वरो बढे स्वास्थ्यकर्मीलाई खबर गर्न प्रेरित गरिएको गाउ्रँपालिकाका प्रमुख प्रसासकिय अधिकृत भगवान भक्त अर्यालले बताउनुभयो । गाउ्रँपालिका र विभिन्न व्यक्तिबाट सहयोग लिएर गाउँपालिकाले स्वास्थ्यकर्मीलाई पिपिइ सेट र पर्याप्त स्यानिटाइजर उपलब्ध गराएको छ ।

गाउँपालिकाको प्रवेश नाका वडा नं. ५ को बेलडाँडामा हेल्थ डेस्क स्थापना गरी जनप्रतिनिधि, स्वास्थ्यकर्मी र प्रहरी १÷१ जना अनिवार्य रहने व्यवस्था मिलाइएको छ । हेल्थ डेस्कले बाहिरबाट जाने जो कोहीलाई पनि सावुन पानीले हात धुन लगाउने, गन थर्मामिटरले तापक्रम नाप्ने, आवागमन निषेधमा हिंडनुको कारण सोध्ने गरिरहेको छ । जिल्ला समन्वय समितिका कार्यबहाक प्रमुख मिरा मरासिनीले सरकार होस् त यस्तो भनेर प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, दुर्गममा रहेर पन िनिस्दीले गरेको काम अन्य स्थानीय तहका लागि पनि अनुकरणीय रहेको छ ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रेमबहादुर दिश्वाले दुर्गममा रहेकाले कोरोनाको संक्रमण नेपालमा फैलन सक्ने सम्भावनापछि नै अत्यावश्यक सामग्री बजारबाट खरिद गरेर व्यवस्थापन गरेको बताउनुभयो । गौरीशंकर माध्यमिक विद्यालयमा निर्माण गरिएको १२ वेडको क्वारेन्टाइन व्यवस्थित रहेको छ । गाउँगाउँमा पनि प्रत्येक नागरिकले सर्जिकल र गाउँमै बनाएका मास्क लगाएका देख्रिन्छन् ।
यसैगरी पूर्वखोला गाउँपालिकाले सबै वडामा क्वारेन्टाइन स्थापना गरेको छ । जनमार्ग माध्यमिक विद्यालयमा स्थापना गरिएको क्वारेन्टाइनमा अहिले पनि २१ जना नागरिक बसिरहेका छन् ।

वडा अध्यक्ष भोगबहादुर सारुसहित ६ जना जनप्रतिनिधि पालैपालो क्वारेन्टाइनमा बसेका नागरिकलाई खाद्य सामग्री, आवास व्यवस्था र सुरक्षामा खटिरहेका छन् । गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले क्वारेन्टाइनमा बस्ने नागरिकलाई कुनै पनि असुविधा नहोस् भनेर व्यवस्था मिलाउन लगाएको बताउनुभयो । सिलुवामा रहेको क्वारेन्टाइनमा इन्टरनेट र टेलिभिजन समेत राखिएको छ ।
रम्भा गाउँपालिकाले ताहुँमा स्थापना गरिएको क्वारेन्टाइनको व्यवस्थापन फितलो भए तापनि प्राथमिक स्वास्थ्य केन्द्रले बिरामीका लागि दिएको सेवा उत्कृष्ट छ । सामग्रीको अभावमा एउटै थर्मामिटरलाई सेनिटाइजरले पुछ्ने र अर्को बिरामीलाई परीक्षण गर्ने गरिएको मेडिकल अधिकृत केशरजंग कार्कीले बताउनुभयो ।

कोरोना संक्रमण रोकथामका लागि स्थानीय तहको तयारी अवलोकन गर्नुभएका प्रदेशसभा सदस्य नारायणप्रसाद आचार्यले निस्दी गाउँपालिकाको व्यवस्थापन र पूर्वखोला सिलुवाको क्वारेन्टाइन धेरै राम्रो रहेको बताउनुभयो । पाल्पा जिल्लाका सबै स्थानीय तहले यस्तो विषम परिस्थितिमा स्रोत र साधनको अधिकतम प्रयोग गर्नुपर्नेमा उहाँको जोड रहेको छ ।

पोखराथोकका ३५ घरपरिवारलाई राहत सिफारिस


गिता रेग्मी
चैत १७ – विपद व्यवस्थापन समिति पोखराथोकले आफ्नो वडाका ३५ घरपरिवारलाई राहतका लागी सिफारिस गरेको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण बाट बँच्न सरकारले लकडाउन लागु गरेपछी जिवनयापनका लागी कठिन भएका ३५ परिवारलाई राहतका लागी सिफारिस गरिएको हो । दैनिक ज्यालादारीमा काम गरि खाने मजदुर घरपरिवारलाई खाद्यान्न स्वरुप राहत दिने सबै स्थानिय तहले निर्णय गरेका छन् ।

पोखराथोकका गरिब घरपरिवारका लागी १५ दिन पुग्ने राहत वितरण गर्ने जनाएको छ । दैनिक ज्याला मजदुरी गरि घर व्यवहार चलाउने परिवार छानेर बगनासकाली गाउपालिकाको कार्यालयमा सिफारिस गरिएको वडाध्यक्ष टेकनाथ शर्मा गैरेले बताउनुभयो ।

विपद व्यवस्थापन समितिले वडा भित्र सञ्चालित खाद्यान्न पसलहरूलई मुल्यसुची राखेर मात्र पसल सञ्चालन गर्न निर्देशन दिने निर्णय समेत गरेको छ ।

कोरोना संक्रमण कम गर्न निस्दीको अधिकतम प्रयास

चैत १७ – निस्दी गाउँपालिकाले कोरोना भाईरस नियन्त्रणको लागि अनुगमन र प्रचारप्रसारलाई तिब्रता दिएको छ ।

गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुको नेतृत्वमा जनप्रतिनिधि, कर्मचारी, स्वास्थकर्मी तथा प्रहरीको टोलि गाउँगाउँमा गएर प्रचारप्रसार र नयाँ आउने व्यक्तिहरुको स्वास्थ परिक्षण गरेको अध्यक्ष सारुले बताउनुभयो । निस्दी गाउँपालिकामा छिमेकी राष्ट्र भारत र अन्य बाहिरी मुलुकबाट ८४ जना व्यक्ति आएको र सबै जना सेल्फ क्वारेन्टाईनमा सुरक्षित रहेको प्रमुख प्रशासकीय अधिकृत भगवान भक्त अर्यालले बताउनुभयो ।

आवस्यक परेको खण्डमा गौरीशंकर मावि मित्यालमा फरकफरक ४ वटा कोठामा १२ बेडको अस्थायी क्वारेन्टाइन व्यबस्थित तरिकाले तयार परेको र आवस्यक परेको खण्डमा ३० वटा बेड तयारीमा राखेको पनि स्वास्थ शाखा संयोजक रेम बहादुर दिशाले बताउनुभयो । निस्दी गाउँपालिकाले २ हजार ५ सय वटा माक्स, डिजिटल थर्ममिटर, स्वास्थ कर्मीले प्रयोग गर्ने पिपिई, सेनिटाइजर लगायतका अति आवस्यक सामग्री सबै स्वास्थचौकीलाई हस्तान्तरण गरेको उपाध्यक्ष रिता कुमारी अर्यालले बताउनुभयो ।

निस्दीका कुनैपनि व्यक्तिलाई कोरोना संक्रमित भेटिएमा अन्यत्र हस्पिटलमा लैजानको लागि जुनसुकै बेला एम्बुलेन्सको व्यवस्था रहेको पनि अधिकृत अर्यालले बताउनुभयो । निस्दी गाउँपालिकाको प्रत्येक नाकामा नयाँ आउने व्यक्तिहरुको स्वास्थ परिक्षणको लागि हेल्थ डेक्स राखेको स्वास्थ शाखा संयोजक दिशाले बताउनुभयो । २ वटा थर्मोगनको सहयोगले ज्वरो परिक्षण गरिएको छ ।

निस्दी गाउँपालिकामा कुनै पनि यातायातको आवातजावत नरहेको र बजार पनि पुरै ठप्प रहेको रुक्सेभन्ज्याङ प्रहरी चौकी मित्यालका प्रमुख डेढ बहादुर थापाले बताउनुभयो ।

संकटका बेला कृषि सहकारीले गर्दैछन् तरकारी र दुधको नियमित आपूर्ति

पाल्पा । चैत्र १७ – कोरोनाका कारण आवागमन निषेधको बेलामा पनि किसानका सहकारी संघ संस्थाले कृषि उपज ग्राहकको घर घर पु¥याइरहेका छन् ।

मदनपोखरा संगम बहुउद्देश्यीय सहकारी संस्था र डुम्रे दुग्धउत्पादक सहकारी संस्था जस्ता किसानका सहकारीले जटिल परिस्थितिमा आफ्ना सेवालाई अझ बढी प्रभावकारी बनाएका छन् । मदनपोखरा संगम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले तानसेन बजारमा ताजा तरकारीको आपूर्ति नियमित गरेको छ । सहकारीका बजार व्यवस्थापकहरुले बोलेरो गाडीमा दैनिक १५/२० क्विन्टल तरकारी बजारमा बिक्री गरिरहेका छन् ।

सहकारीका अध्यक्ष खेमराज न्यौपानेले लकडाउनका कारण बजारमा तरकारीको अभाव हुन थाल्यो भन्ने जनगुनासो पछि तानसेनमा तरकारी पठाइएको बताउनुभयो । सहकारीले किसानलाई विशेष अनुरोध गरेर काउली, बन्दा, केराउ, बकुल्ला, हरियो धनियालगायतका तरकारी संकलन गरी बजारमा खुद्रा बिक्रेतालाई बिक्री गरिरहेको छ । मानव सेवा सम्झिएर संकटका बेला पठाएको तरकारीमा बढी नाफा नराख्न सहकारीले खुद्रा व्यवसायीलाई अनुरोध समेत गरेको बजार व्यवस्थापक यमनाथ पौड्यालले बताउनुभयो ।

डुम्रे दूग्ध उत्पादक सहकारी संस्थाले पनि दुधको आपूर्ति नियमित गरेको छ । दैनिक ३ हजार ५ सय लिटर दुध संकलन हुने यो सहकारीले अहिले ६ सय लिटर मात्र पाल्पामा बिक्री गरेको छ । पाल्पामा खपत नभएका कारण २ हजार ९ सय लिटर पोखरा पठाएको सहकारीका व्यवस्थापक गोपाल जीसीले बताउनुभयो । व्यवस्थापक जिसीका अनुसार तानसेन बजारको सिल्खानटोल बिक्री कक्षबाट ३ सय ५० लिटर भुसलडाँडाबाट २ सय, दमकडाबाट ५०, बारुदखानबाट ५०, बाँसटारीबाट २०, सराईबाट ३०, डुम्रेबाट ३० लिटर दुध बिक्री भइरहेको छ ।

सहकारीले कर्मचारीलाई मास्क र पन्जा दिएर बजारमा खटाएको छ भने निश्चित समय तोकेर मात्र खरिद बिक्रीको व्यवस्था मिलाएको छ । डुम्रे दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष दुर्गाबहादुर खाँडले किसानहरुलाई दाना, पराल, पशु औषधीको अभाव हुन थालेको बताउनुभयो । उहाँले स्थानीय सरकार र स्थानीय प्रशासनले दाना, पराल र पशु औषधीको आपूर्तिका लागि सहजिकरण गरिदिन आग्रह गर्नुभयो । डुम्रे सहकारी अन्तर्गत ५ सयभन्दा बढी किसानहरुले १ हजार ५ सय भन्दा बढी गाइभैंसी पालेका छन् ।

क्वारेन्टाईनमा नबसी गाउँमै लुक्दै छन् विदेशबाट आएका नागरिक

विजयकुमार बौडेल 
चैत १७ – कोरोना संक्रमणको जोखिम कम गर्न स्थानिय तहले भारतलगाएत विदेशबाट आएका नागरिकहरुलाई क्वारेन्टाईनमा बस्न गरेको आग्रहलाई अटेरी गरेका छन् ।

भारत लगाएत विभिन्न देशबाट आएका नागरिकहरु अनिवार्य रुपमा १४ दिन क्वारेन्टाईनमा बस्नुपर्ने भएपनी उनीहरुले अटेरी गरेका छन् । स्थानिय तहका जनप्रतिनिधीहरुले लगत संकलनको कार्य जारी राखेका छन् तर उनीहरुलाई क्वारेन्टाईनमा बस्न लगाउन सकेका छैनन् । नागरिकहरु सेल्फ क्वारेन्टाईनमा पनी बसेका छैनन् । विदेशबाट आएका नागरिकहरु भोजभतेर गर्दै हिँडेका छन्, भेला भएका छन्, खुलेआम समाजमा हिँडेका छन् ।

तानसेन नगरपालिका वडा नं. ९ का वडाध्यक्ष हरिसुमर रेग्मीले विदेशबाट आएका नागरिकहरु लुक्लै हिँडेको बताउनुभयो । “विदेशबाट आएकाहरु स्थानिय तहका जनप्रतिनिधी खोज्दै जाँदा गाउँमै लुक्ने, भाग्ने गर्नुहुन्छ ।” वडाध्यक्ष रेग्मीले भन्नुभयो । “आफ्नो लागी मात्र नभई परिवार र समाजकै लागी क्वारेन्टाईनमा बस्नुपर्छ भन्ने बुझाउन सकिएन कि बुझ्नुभएन खै । कोरोना भाईरस लागेका मात्र क्वारेन्टाईनमा बस्ने होईन ।”

संभावित जोखिम कम गर्न निगरानीमा बस्नुपर्ने भन्दै जनप्रतिनिधीको सम्पर्कमा आउन वडाध्यक्ष रेग्मीले अनुरोध गर्नुभयो । तानसेन नगरपालिका वडा नं. ९ मा अहिले सम्म १२ जनामात्र सम्पर्कमा आएको वडा कार्यालयले जनाएको छ ।

लकडाउन अवज्ञाले काेराेना संक्रमणको जोखिम बढी

विजयकुमार बौडेल 
चैत १७ – विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ फैलन नदिन सरकारले लागु गरेको लकडाउनको अवज्ञा गर्दा कोरोना भाईरस संक्रमणको जोखिम बढेको छ ।

नागरिकले लकडाउनको महत्व नबुझी घुमफिर गर्ने, भेला हुने, भोजभतेर गर्नेलगाएतका कार्य गर्दा कोरोना भाईरसको संक्रमणको जोखिम बढेको हो । कोरोना भाईरस अत्यन्तै छिटो सर्ने भाईरस भएकाले एकदमै सजग र सतर्क रहनुपर्ने भएपनी नागरिकहरुले वेवास्ता गर्दा महामारी फैलन सक्ने विज्ञहरुको भनाई छ ।

लकडाउनमा सार्वजनिक स्थलमा हिडडुल गर्न प्रतिबन्ध लगाइएको हुन्छ तर नागरिकहरु विनाकाम विना सावधानी हिँडडुल गर्दा संक्रमणको जोखिम बढी भएको तानसेन नगरपालिका वडा नं. ८ का अध्यक्ष राम प्रसाद घिमिरेले बताउनुभयो । घिमिरेले बिहान तथा बेलुका निश्चित अवधि तोकेर बाहिर निस्कन र अति आवश्यक एवं दैनिक उपभोगका सामान खरिद गर्न समय दिएपनी मानिसहरुले वेवास्ता गरेको बताउनुभयो ।

स्थानिय तहहरुले लकडाउनमा आपतकालीन अवस्था बाहेक नियमित सार्वजनिक यातायातको सेवा स्थगित गर्ने, होटल, रेष्टुरेन्ट, बार तथा डिपार्टमेन्टल स्टोर र सपिङ मलहरु बन्द गर्ने, अति आवश्यक सेवाबाहेक सार्वजनिक अड्डा र सेवा निश्चित समयका लागि स्थगित गर्ने, सरकारी अड्डाका जरुरी तथा आपतकालीन काम अनलाइनबाट गर्ने, नागरिकलाई घरमै सावधानी अपनाएर सुरक्षित बस्न आग्रह गरेका छन् ।

लकडाउनको अवज्ञा गरेमा एक महिना जेल सम्मको सजाय गर्न सक्ने भनी सरकारले तोकेको छ तर त्यसको कडा कार्यान्वयन हुन नसक्दा लापरबाही बढेको छ ।

रैनादेवीछहरा भित्रका अति विपन्नलाई राहत स्वरुप खाद्य सामग्री वितरण गर्ने

रैनादेवी छहरा । चैत १६ – मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम रैनादेवी छहरा कार्यान्वयन समितिले गाउँपालिका भित्रका अति विपन्न परिवारलाई राहत प्याकेज घोषणा गरेको छ ।

छहरामा बसेको कार्यान्वयन समितिको बैठकले १५ दिनका लागि प्रति घर परिवार ३० केजी चामल, ५ केजी दाल, १ लिटर तोरी र १केजी नून राहत स्वरुप वितरण गर्ने निर्णय गरेको हो । कोरोना नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण अति विपन्न परिवारमा गर्जो टार्ने समस्या भएको जनगुनासो पछि मुख्य ग्रामीण विकास कार्यक्रम कार्यान्वयन समितिले राहतको प्याकेज घोषणा गरेको हो ।

दैनिक ज्यालादारीमा काम गरेर जीवनयापन गर्ने, घरकाकुनै व्यक्ति रोजगारीमा संलग्न नभएको, खेतीपाती बाट ३ महिना खान नपूगने, अपांगताभई कुनै आम्दानी नभएको, अभिभावक नभएका बालबालिका र ७५ वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकलाई यो राहत दिने निर्णय भएको कार्यान्वयन समितिका सदस्य रामबहादुर राउतले जानकारी दिनुभयो । वडा कार्यालयले चैत्र १७ गते सम्म तथ्यांक संकलन गरी कार्यालयमा पठाउने र पर्सि चैत्र १८ गतेबाट वडा वडाबाट राहत वितरण गर्ने निर्णय भएको छ ।

कार्यान्वयन समितिले छहरामा रहेका ४÷५ वटा खाद्यान्न तथा किराना पसलबाट खरिद गरी प्याकिंग गरी वडा वडामा पु¥याउनेछ । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रममा रहेको दैवीप्रकोप राहत कोषबाट यो राहत रकम वितरण गरिनेछ ।

बगनासकालीले तत्काल १० सेट पिपिई खरिद गर्ने

पाल्पा 
चैत १६ – बगनासकाली गाउँपालिकाले स्वास्थ्य चौकीहरुमा बिरामी जाँच्नका लागि अत्यावश्यक १० वटा पिपिइ सेट इमरजेन्सी रुपमा व्यवस्था गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाको कार्यालय चिर्तुङधारामा बसेको कार्यपालिकाको बैठकले १० वटा पिपिइ सेट सोझै बजारबाट खरिद गरेरै भएपनि स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई दिने निर्णय गरेको हो । लकडाउनको समयमा खटिएका कर्मचारी तथा स्वास्थ्यकर्मीलाई जोखिम भत्ता स्वरुप बीस प्रतिशत प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरेको अध्यक्ष कृष्णप्रसाद बस्यालले बताउनुभयो ।

बगनासकालीले दैनिक ज्यालामजदुरी गर्ने अति गरिव विपन्न वर्गको लगत संकलन गरी ३ दिन भित्र गाउँपालिकामा पेश गर्न वडास्तरीय विपद व्यवस्थापन समितिलाई जिम्मेवारी दिएको छ । गाउँपालिका भित्र रहेका खाद्यपसलले अनिवार्य मूल्य सूची राख्न लगाउने, कोरोना महामारीको समयसम्म कुनै पनि प्रकारको पूजाआजा, विवाह, व्रतवन्ध, कुलपूजा जस्ता कार्य गर्न रोक लगाउने, लकडाउनको नियम पालना गर्न अनुरोध गर्ने निर्णय पनि गरेको गाउँपालिकाका प्रवक्ता लक्ष्मीप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

अति विपन्न वर्गका व्यक्ति विरामी परेमा अस्पताल सम्म पु¥याउने एम्बुलेन्स खर्च गाउँपालिकाले उपलब्ध गराउने र जनचेतनाका लागि वडावडामा माइकिङ गर्दाको गाडी र इन्धन खर्च गाउँपालिकाले उपलब्ध गराउने समेत निर्णय गरिएको छ ।