सामुदायिक रेडियो मदनपोखरा
spot_img
Home Blog Page 29

पाल्पाका सबै स्वास्थ्य संस्थामा ज्वरो क्लिनिक सञ्चालन गर्न निर्देशन

विजयकुमार बौडेल – 

चैत १६ – जिल्ला समन्वय समिति पाल्पाले जिल्लाका सबै स्वास्थ्य संस्थालाई अनिवार्य ज्वरो क्लिनिक सञ्चालन गर्न निर्देशन दिएको छ ।

जिल्लाका विभिन्न स्वास्थ्य संस्थाले ज्वरो आएका विरामीलाई उपचार नै नगरि फर्काएको गुनासो बढेपछी जिल्ला समन्वय समितिले सबै स्वास्थ्य संस्थामा ज्वरो क्लिनिक सञ्चालन गर्न निर्देशन दिएको हो । पाल्पाका प्रदेश सांसद, स्थानिय तहका प्रमुखहरुको संयूक्त बैठकले कुनै पनी स्वास्थ्य समस्याले ज्वरो आएमा अनिवार्य रुपमा सुरक्षित तरिकाले उपचार गर्ने व्यवस्था मिलाउन सबै स्वास्थ्य संस्थालाई निर्देशन दिएको जिल्ला समन्वय समिति पाल्पाकी कार्यबाहक प्रमुख मिरा मरासिनीले बताउनुभयो ।

जिल्लाका लुम्बिनी मेडिकल कलेज, यूनाईटेड मिसन अस्पताल लगाएत सबैजसो स्वास्थ्य संस्थाले ज्वरो आएका विरामीलाई चेकजाँच नै नगरि सामान्य औषधी दिएर घर पठाएको गुनासो नागरिकहरुको छ । स्वास्थ्य संस्थाहरुले आफुहरु संग चिकित्सकहरुले प्रयोग गर्ने सुरक्षित सामग्री पिपिई नभएको र जोखिम मोल्न नसक्ने बताएका छन् ।

समितिले सबै स्थानिय तहले एम्बुलेन्स र चालकलाई सुरक्षित रुपमा तयारी अवस्थामा सहन समेत निर्देशन दिएको छ । त्यस्तै भारत लगाएत विदेशबाट आएका नागरिकहरुलाई अनिवार्य रुपमा क्वारेन्टाईनमा राख्ने र जनप्रतिनिधीहरुले वडा वडामा त्यसको अनुगमन गर्ने, आवश्यक परेमा प्रशासनको सहयोग माग्ने समेत निर्णय भएको छ ।

समितिले सबै स्थानिय तहले दैनिक ज्यालादारी गर्ने मजदुरहरुको सहज जिवनयापनका लागी लगत संकलकन गरेर आवश्यक व्यवस्था मिलाउने, सबै स्थानिय तहले राहत वितरणमा एकरुपता ल्याउने, खाद्यान्न तथा औषधीजन्य वस्तुको आपुर्ती व्यवस्था नियमित गराउन पहल गर्ने निर्णय गरेको छ ।

त्यस्तै सरकारले घोषणा गरेको लक डाउनलाई धेरै नागरिकहरुले पालना नगरेको देखिएकाले कडाईका साथ पालना गराउन सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

कोरोना महामारीको कारण भुवनपोखरीमा किसानले कुखुरा मारे

पाल्पा । कोरोना संक्रमणको डरले कुखुरा बिक्री नभएपछि पाल्पाको भुवनपोखरीका किसानले ६ हजार ज्यूँदो कुखुरा मारेर फालेका छन् ।


रैनादेवी छहरा गाउँपालिका वडा नं. ३ का ५ जना कुखुरापालक किसानले कोरना भाइरसका करिव ६ हजार बोइलर कुखुरा मारेर फालेका हुन् । हुर्किएका कुखुरा बिक्री नहुने, सित्तैमा दिँदा पनि कसैले नखाने, पाल्दा थप लगानी लाग्ने र ऋण मात्र बढ्ने भएकाले कुखुरा मार्नुपरेको किसान बेदप्रसाद मरासिनीले बताउनुभयो । हाइलाइट कृषि तथा पशुपंक्षी फर्म र जयमूर्ति कृषि तथा पशुपंक्षी फर्मले मात्र ५ हजार कुखुरा मारेका छन् ।


रैनादेवी छहरा भुवनपोखरीका बेदप्रसाद मरासिनीले ३ हजार, खुमानन्द मरासिनीले २ हजार, मोहन पौडेलले ५ सय, प्रकाश बिकले ३ सय, र धर्म पौडेलले ५ सय वटा कुखुरा मारी खाल्डो खनेर पुर्नुभएको छ । ज्योति विकास वैंकबाट २० लाख रुपैँया ऋण लिएर कुखुरा पाल्न थाल्नुभएका बेदप्रसाद मरासिनीले ६ हजार कुखुरा मार्दा करिव १५ लाख रुपैँया नोक्सान भएको बताउनुभयो । उहाँले भन्नुभयो, कुखुराको चल्ला, ‘दाना, भिटामिन, औषधी, भुस गर्दा मात्र १५ लाखभन्दा बढी लाग्यो, अहिले बेच्ने बेला भएका कुखुरा मार्न प¥यो ।’


दैनिक ६ क्विन्टल दाना चाहिने, डिलरले दाना पु¥याउन नसक्ने, दाना कम्पनी बन्द हुने र बिक्री नहुने स्थिति भएपछि कुखुरा मारेर हटाउन बाध्य भएको खुमानन्द मरासिनीले बताउनुभयो । ‘मेरो खोरमा अझै १ हजारभन्दा बढी ३ किलो भएका कुखुरा छन् । मार्नभन्दा व्यवस्थापन गर्न गाह्रो भएपछि राखेको छु । छिट्टै हटाउनुपर्ला ।’ रैनादेवी छहरा गाउँपालिका वडा नं. ३ का वडाअध्यक्ष लालबहादुर दर्लामीले किसानहरुले डेढ, दुई र तीन किलो तौलका कुखुरा धमाधम मारेको देख्दा आफूलाई पीर परेको बताउनुभयो । किसानको लगानी फिर्ता हुने गरी मात्र पनि राहत दिन सके कृषिमा लगानी गर्नेहरु निरुत्साहित नहुने वडाअध्यक्ष दर्लामीको भनाई छ ।


गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले किसानले कुखुरा मारेको थाहा पाएपछि बुझ्न प्रमुख प्रशासकीय अधिकृतक केवी खत्रीको नेतृत्वमा कर्मचारी पठाएको बताउनुभयो । भारतबाट आएको कुखुरा रोक्न नसक्ने स्थानीय सरकारले लाखौँको नोक्सानी हुँदा पनि किसानको कुरा नसुनेको सरोकारवालाको गुनासो रहेको छ ।

रम्भाले स्थापना गर्यो ५० शैयाको क्वारेन्टाईन

विजयकुमार बौडेल –
चैत १२ – रम्भा गाउँपालिकाले विश्वभर फैलिएको कोभिड १९ बाट बँच्न तयारी स्वरुप ५० जना क्षमताको क्वारेन्टाईन स्थापना गरेको छ ।

गाउँपालिकाले फैलँदै गएको कोरोना भाईरसको संक्रमण बाट संभावित व्यक्तिहरुको उपचार र निगरानीका लागी ५० जना क्षमताको क्वारेन्टाईन स्थापना गरेको हो । गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भण्डारीले क्वारेन्टाईनमा २५ जना महिला र २५ जना पुरुषका लागी छुट्टाछुट्टै कोठामा व्यवस्थापन गर्नेगरि क्वारेन्टाईन स्थापना गरेको बताउनुभयो ।

“हामीले ५० जनाको लागी दाल, चामल, तेल, चिनी लगाएत आवश्यक सबै सामग्री सहित पकाउने, खुवाउने र बास बसाल्ने व्यवस्थापन गरेका छौं ।” अध्यक्ष भण्डारीले भन्नुभयो । “रम्भा गाउँपालिका वडा नं. ५ ताहुँको रम्भा माविको भवनमा क्वारेन्टाईन स्थापना गरि संभावित संक्रमण भएकोहरुको लागी निगरानी गर्ने व्यवस्था गरेका छौं ।”


विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस बाट नागरिकलाई बँचाउन रम्भा गाउँपालिका गम्भिर भएर लागेको र विदेशबाट आउने नागरिकहरुको लगत संकलन कार्य अन्तिम अवसथामा पुगेको अध्यक्ष भण्डारीको भनाई छ । गाउँपालिकाका अध्यक्ष उपाध्यक्षसहितको टोली वडा वडामा पुगेर माक्स, सेनिटाइजर, ग्लोप्स, एप्रोन र औषधीहरु स्वास्थ्य चौकीलाई बितरण गरेको छ ।

रम्भा गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष खुमाकान्त बस्यालले क्वारेन्टाईन स्थापनाको लागी जनप्रतिनिधी, स्वास्थ्यकर्मी तथा सामाजिक संघसंस्था लगाएत सबैको सहयोग प्राप्त भएको बताउनुभयो । वडाध्यक्ष बस्यालले कोरोना भाईरस संक्रमणको सामान्य लक्षण देखिने वित्तिकै रोग नलुकाई क्वारेन्टाईनमा सम्पर्क गर्न सबै नागरिकहरुलाई अनुरोध गर्नुभयो ।


रम्भा गाउँपालिका स्वास्थ्य साखा संयोजक शिव अर्यालले १ जना डाक्टर, १ जना स्टाफ नर्स सहित १५ जना स्वास्थ्य कर्मी क्वारेन्टाईनमा रेखदेखको लागी तयारी अवस्थामा रहेको बताउनुभयो । संयोजक अर्यालले सबै नागरिकहरुलाई सचेत र सतर्क रहन अनुरोध गर्दै हल्लाको पछी नलाग्न सुझाव दिनुभयो ।

रम्भा गाउँपालिकाले ७० जना पोषण सहयोगी सहजकर्ता र ४६ जना स्वास्थ्य स्वयम्सेविकालाई परिचालन गरि घरघरमा गई कोरोना भाईरस संक्रमणको लक्षण र यसबाट बँच्ने उपायका बारेमा सचेत गराएको जनाएको छ ।

फाेटाे : गुगल

म घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु, तपाईँहरु पनि घरमै बस्नुहोस् : प्रधानमन्त्री ओली

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनका बेला घरमै बस्न नागरिकलाई आग्रह गर्नुभएको छ । 

सामाजिक सञ्जाल ट्विटरमार्फत प्रधानमन्त्री ओलीले नागरिकहरुलाई अर्काे सूचना नआएसम्मका लागि घरमै सुरक्षित भएर बस्न आग्रह गर्नुभएको छ । 

प्रधानमन्त्री ओलीले ट्वीटमा भन्नुभएको छ, ‘म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु । तपाईँहरु पनि घरमै बस्नुहोस् ।’ 

सरकारले कोरोना भाइरस (कोभिड १९) को रोकथामका लागि गएको मङ्गलबार बिहान ६ बजेदेखि लकडाउन आदेश गरेको हो । यो निर्णय आउँदो चैत १८ गतेसम्म लागु हुनेछ ।

रिब्दीकोटले बन्द गर्यो विद्युतिय हाजिरी

विजयकुमार बौडेल –

चैत्र ९ – रिब्दीकोट गाउँपालिकाले आफु मातहतका सबै कार्यालयहरुलाई विद्युतिय हाजिरी बन्द गर्न निर्देशन दिएको छ ।

गाउँपालिकाले विश्वभर फैलिएको कोरोना भाईरस कोभिड १९ को सम्भावित संक्रमण बाट बँच्न मातहतका कार्यालयहरुलाई निर्देशन दिएको हो । गाउँपालिकाले अर्को सुचना नभएसम्मको लागी गाउँपालिकाको कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्था मातहतका कर्मचारीहरुलाई विद्युतिय हाजिरी नगर्न नगराउन सुचित गरेको हो ।

गाउँपालिका प्रमुख प्रसासकिय अधिकृत ऋषिराम अर्जेलले रिब्दीकोट गाउँपालिकाले कोरोना भाईरस बाट बँच्न अपनाउनुपर्ने सबै सतर्कताहरुलाई गम्भिर रुपमा लिएको बताउनुभयो । प्रमुख अर्जेलले सरसफाई सचेतना, माक्स वितरण, हेल्थ डेस्क स्थापना लगाएतका सुरक्षा अपनाईएको बताउनुभयो ।

गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसीले कोरोनाको संक्रमण बाट बँच्न र उच्च सतर्कता अपनाउन सम्पुर्ण सरोकारवाला मातहतलाई निर्देशन दिएको बताउनुभयो । अध्यक्ष जिसीले सतर्कता अपनाउन गाउँपालिकाले कुनै कसर बाँकी नराखेको बताउनुभयो ।

रिब्दीकोट गाउँपालिकाले यसअघी पनी विभिन्न सचेतना, निशुल्क माक्स वितरण, हेल्थ डेस्क स्थापना लगाएतका कार्यक्रम गरिसकेको छ ।

रम्भाले गर्यो सबै विद्यार्थीको दुर्घटना विमा


विजयकुमार बौडेल –
फागुन ७ – रम्भा गाउँपालिकाले आधारभुत तहमा अध्ययन गर्ने सबै विद्यार्थीहरुको दुर्घटना विमा गरेको छ ।


गाउँपालिकाले नर्सरी देखी कक्षा ५ सम्म अध्ययन गर्ने सबै १ हजार ८ सय ५४ जना विद्यार्थीहरुको दुर्घटना विमा गरेको हो । रम्भा गाउँपालिकाले प्रत्येक विद्यार्थीहरुको १० हजार रुपैंया बराबरको दुर्घटना विमा गरेको हो । रम्भाका विद्यार्थीहरुको दुर्घटना भएर जटिल खालको अंगभंग या मृत्यू भएमा एक लाख रुपैंया बराबरको विमा गरेको गाउँपालिका अध्यक्ष बिष्णु भण्डारीले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष भण्डारीले सबै विद्यार्थीहरुलाई सामुदायिक विद्यालयमा भित्र्याउन विमा कार्यक्रम ल्याईएको बताउनुभयो । “सबै विद्यार्थीहरुका अभिभावकहरुले सुरक्षित महसुस गर्नुभएको छ । त्यसैले गाउँपालिका यो कार्यक्रम प्रति उत्साहित छ ।”

अध्यक्ष भण्डारीले भन्नुभयो । “अभिभावकहरुले हामीलाई विश्वास गरेर विद्यार्थी पठाउनु भएको छ । उहाँहरुको यो विश्वासलाई हामी कहिल्यै निराश बनाउने छैनौं ।” सबै कुराको श्रेय अभिभावकहरुलाई जाने अध्यक्ष भण्डारीको भनाई छ ।

“गाउँपालिकाले दुर्घटना विमा संगै सबै विद्यालयमा दिवा खाजाको व्यवस्था गरेका छौं । ३६ वटा विद्यालयले आफै स्थानिय स्तरमा पाईने गेडागुडी लगाएतबाट खाजा पकाएर खुवाउने व्यवस्था गर्नुभएको छ ।” अध्यक्ष भण्डारीले भन्नुभयो ।

“दिवा खाजाको लागी चालु आर्थीक बर्षमा ४० लाख रुपैंया खर्च गरेका छौं । सबै अभिभावकहरुले गाउँपालिकाको यो योजनाको प्रशंसा गरेका छन् ।” दिवा खाजा कार्यक्रमलाई दिगो बनाउने गरी निरन्तरता दिने योजना भएको गाउँपालिका अध्यक्ष भण्डारीको भनाई छ ।

दिवा खाजा कार्यक्रम र दुर्घटना विमाको कार्यक्रमले रम्भाका सामुदायिक विद्यालयहरुमा विद्यार्थीको संख्या बढ्ने विश्वास गाउँपालिकाले लिएको छ । अर्को आर्थीक बर्ष सम्ममा विद्यार्थीको संख्याको अनुपात मुल्यांकन गरेर आगामी दिनमा कार्यक्रम थप गर्ने गाउँपालिकाले जनाएको छ ।

रिब्दीकोटमा कोरोना सचेतना र निशुल्क माक्स वितरण

चैत ५ – रिब्दीकोट गाउँपालिका स्वास्थ्य साखाले विश्वभर फैलिएको कोरोना भाईरस सम्बन्धी सचेतना तथा दु्रत प्रतिकार्य अभिमुखिकरण गरेको छ ।


अभिमुखिकरणमा गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसीले कोरोना भाईरसबाट जोगिनका लागी पुर्वतयारी रहन सबै वडाहरुलाई निर्देशन दिनुभयो । जिसीले वडाका हरेक संयन्त्र परिचालन गर्न अनुरोध समेत गर्नुभयो । प्राथमिक स्वास्थ्य केन्द्रका अमृत भट्टराईले कोरोना भाईरस संक्रमणका लक्षण, बँच्ने उपाय लगाएतका विषयमा सहजिकरण गर्दै सरसफाईमा ध्यान दिन र भिडभाडमा नजान अनुरोध गर्नुभयो ।


त्यस्तै शिक्षा साखा संयोजक मणी खनालले विद्यालय तथा शिक्षण संस्थाले कोरोना भाईरस बाट बच्ने उपायहरुका बारेमा सचेतना जगाउन महत्वपुर्ण भुमिका खेल्न सक्ने बताउनुभयो । गाउँपालिका प्रवक्ता विष्णु प्रसाद खनाल, स्वास्थ्य साखा संयोजक बिष्णुदेव खनाल, कुसुमखोला स्वास्थ्य चौकी प्रमुख देवका पन्थी लगाएतले कोरोनाबाट बँच्न सबैले हल्लाको पछी नलागी आधिकारिक जानकारीलाई मात्र विश्वास गर्नुपर्ने कुरामा जोड दिनुभयो ।


अभिमुखिकरणमा विभिन्न सहभागी व्यक्तिहरुलाई १ सय २४ वटा माक्स समेत निशुल्क वितरण गरिएको थियो ।

असिनाले पाल्पामा लाखौं तरकारी र नगदेवालीको क्षती (फोटोफिचर)

कृष्ण कार्की/गणेश दर्लामी
चैत्र २ – मध्यरातमा परेको असिना पानीले पाल्पाका कृषकहरुले आफ्नो खेतबारीमा लगाएको लाखौंको तरकारी नष्ट हुनुका साथै भौतिक क्षती समेत भएको छ ।


राति परेको भीषण असिना र पानीले बिक्री गर्ने तयारीमा रहेको तरकारी खेती तथा अन्य नगदे बालीमा क्षति पुर्याएको हो । असिना र पानीले तयारी अवस्थामा रहेको बन्दा, काउली, आलु, गाजर, रायो साग, लसुन, प्याज, धनिया, केराउ, मसुरो, तोरी लगाएतका खेतीमा क्षति पुर्याएको कृषकहरुले गुनासो गरेका छन् । त्यस्तै असिनाले फल्दै गरेका सुन्तला, काफल, नस्पाती, आलु बोखडा लगाएत अन्य बालीहरुमा असर गरेको हो ।


पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ५ र ६ को जन्तीलुङ, मरामकोट, अर्खलेलगायतका क्षेत्रमा लगाइएको तरकारी तथा अन्य खेती असिना पानीले नष्ट गरिदिएको हो । त्यस्तै पाल्पाको सुन्तला उत्पादनको पकेट क्षेत्र रैनादेवी छहरामा पनी असिनाले गाउँपालिकाका सवै वडामा लाखौ रुपियाको क्षति भएको गाउँपालिका अध्यक्ष राम बहादुर कार्कीले जानकारी दिनु भयो । रैनादेवी छहरा गाउँपालिकामा फुल्दै गरेका सुन्तला, गहुँ, जौ तथा अन्य तरकारीमा समेत क्षति गरेको अध्यक्ष कार्कीले बताउनुभयो ।


असिनाकै कारण जन्तिलुहुङका मन बहादुर लम्तरिको घर भत्किएको छ । प्रभास प्रहरी चौकिको टोलिले क्षतिको प्रारम्भिक मुचुल्का उठाएको स्थानीय पदम बहादुर चिदिले बताउनुभयो । असिनाका कारण धेरैजसोको एक पाखे घर, गोठ तथा टहराहरुको टिन भाँचेको छ भने पानी घरभित्र पसेको छ ।

बाहिर राखेका प्लास्टिकका भाँडाहरु सबै फुटेको स्थानियले बताएका छन् । तिनाउ मरामकोटका पुर्ण बहादुर खाम्चाले आफू ७२ बर्षको भएको भन्दै अहिले सम्म यती ठुलो असिना परेको पहिलो पटक थाहा पाएको बताउनुभयो ।


असिनाले वनजङ्गलमा रुखका हाँगा तथा पातपतिङ्गर समेत झारेको छ । असिनाले तरकारी बालीका मुख्य आम्दानीको श्रोत तेजपात पनी नष्ट गरेको छ । पशुपालन गर्नेहरुका लागी मुख्य श्रोत डालेघाँसहरु सबै नष्ट भएको स्थानियले बताएका छन् । वनमा असिनाले लागेर मरेका चराचुरुङ्गीहरु समेत धेरै सङ्ख्यामा भेटिएका छन् ।


अचानक असिना परेपछि तिनाउ श्रेत्रको जमिन पुरै सेताम्मे भएको छ भने असिना पग्लेर भल बगेको छ । असीनाले थिचेपछि किसानले गरेको व्यावसायिक तरकारी खेतीमा ठूलो क्षती पुगेको हो तर क्षतिको एकिन विवरण भने आईपुगेको छैन । असिना र हावा हुरिका कारण मराम्कोटको बिद्युत समेत अबरुद्द भएको छ । तिनाउ क्षेत्रका ग्रामीण सडक प्राय भत्किएका कारण सञ्चालनमा आउन सकेका छैनन् ।

रिब्दीकोटको चिस्यान केन्द्रमा राखिएका सुन्तला दोब्बर मुल्यमा बिक्री

विजयकुमार बौडेल –
फागुन २९ – उत्पादित कृषी सामग्री सङ्कलन गरी बेमौसममा बिक्री गर्न रिब्दीकोट गाउँपालिका वडा नं. ३ हार्थोकमा निर्माण भएको चिस्यान केन्द्रको सफल परिक्षण गरिएको छ ।


सुन्तलाको पकेट क्षेत्रका रुपमा चिनिने रिब्दीकोटमा सुन्तला भण्डारणको अभावका कारण सस्तो मूल्यमा बिक्री गर्दा किसान मर्कामा पर्दै आएका कारण चिस्यान केन्द्रलाई चुस्त व्यवस्थापन सहित सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसीले बताउनुभयो ।


एकैपटक पाक्ने सुन्तला ठेकेदारले बोटबाटै टिपेर लैजाँदा किसानले भनेजस्तो मूल्य नपाउने समस्यालाई मध्यनजर गर्दै उक्त चिस्यान केन्द्र निर्माण गरिएको र अहिले सफल परिक्षण गरिएको अध्यक्ष जिसीको भनाई थियो ।

“कृषकले सुन्तला भण्डारण गर्न नसक्दा सस्तो मूल्यमा सुन्तला बिक्री हुँदै आएको थियो । ” जिसीले भन्नुभयाे । “सुन्तला चिस्यान केन्द्रमा भण्डार पश्चात् दोब्बर बढी मूल्यमा बिक्री गर्न सकिन्छ ।”


सुन्तलाका लागि उर्वर रहेको स्थानमा चिस्यान केन्द्रको अभावमा सुन्तला कृषक निरुत्साहित भएका कारण सो केन्द्र सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष लक्ष्मी खनालले बताउनुभयो ।


२३ जना सुन्तला किसानले चिस्यान केन्द्रमा ६ क्विन्टल सुन्तला संकलन गरि चिस्यान केन्द्रमा राखेको प्रमुख प्रसासकिय अधिकृत ऋषिराम अर्जेलले बताउनुभयो । मौसमी समयमा ५० रुपैंया प्रतिकेजी सुन्तला विक्रि गर्दै आएका किसानहरुले चिस्यान केन्द्रमा राखेपछी १०० रुपैंया प्रतीकेजी सुन्तला विक्रि गर्न पाउँदा किसान हर्षित भएका प्रमुख अर्जेलले बताउनुभयो ।


प्रवक्ता विष्णु प्रसाद खनालले मंसिरको दोश्रो हप्ता राखेको सुन्तला प्रदर्शन र बेचविखनका लागी निकालिएको बताउनुभयो । चिस्यान केन्द्र पहिले देखी नै परिक्षण हुँदै आएपनी अहिले चुस्त व्यवस्थापन भएका कारण सफल परिक्षण भएको सानाकिसान सहकारीकी अध्यक्ष राधा नेपालको भनाई छ ।


चिस्यान केन्द्रमा वस्तुको गुणअनुसार उचित तापक्रममा सामग्री राख्दा उक्त वस्तुको चारित्रिक गुण बिग्रँदैन । यसले गर्दा यस्ता सामग्री उपभोगका लागि स्वास्थ्यवद्र्धक र स्वच्छ मानिन्छ ।

शाखा खोलेर गैरकानुनी कारोबार गर्दै लालीगुराँश सहकारी

फागुन २७ – लालीगुराँश वचत तथा ऋण सहकारी संस्था लिमिटेड रम्भा ४ हुमिनले माथागढीको खहरेमा शाखा कार्यालय खोलेर गैरकानुनी कारोवार सञ्चालन गर्दै आएको छ ।

सहकारीकर्मीहरुले गाउँपालिका र केही जनप्रतिनिधिको आडमा विगत ६ महिनादेखि गैरकानुनी रुपमा कारोबार गरेको आरोप लगाएका छन् । लालीगुराँश सहकारीको खहरे शाखाले १ सय ७३ जनालाई सदस्यता समेत वितरण गरेको छ ।

माडी क्षेत्रमा क्रियाशील रहेका ७ वटा सहकारी संस्थाका अध्यक्षले हस्ताक्षर गरि कारबाहीको लागी गाउँपालिका संग गरेको अनुरोध

कौडे वचत तथा ऋण सहकारी कसेनी, सराई फूलबारी वचत तथा ऋण सहकारी कसेनी, माण्डव्य कृषि सहकारी रुप्से, माछापुच्छ्रे बहुउद्देश्यीय सहकारी संस्था कसेनी, माथागढी बहुउद्देश्यीय सहकारी चिदीपानी, रुप्से खहरे वचत तथा ऋण सहकारी रुप्से र माडी कृषि सहकारी कसेनीले सहकारी ऐन नियम विपरित शाखा खोलेको भन्दै माथागढी गाउँपालिकामा उजुरी गरेका छन् ।

सहकारीका कार्यकारी निर्देशक बिष्णु बमरेलले प्रदेशमा निति बन्दै गरेको अवस्थामा सहकारीले साखा खोलेर सञ्चालन गरेको बताउनुभयो । बमरेलले आफ्नो कार्यक्षेत्र भित्रै गाउँपालिकाको पत्र लिएर सहकारी सञ्चालन गरेको बताउनुभयो ।

माडी क्षेत्रमा क्रियाशील रहेका ७ वटा सहकारी संस्थाका अध्यक्षले भने हस्ताक्षर गरी आवश्यक कारवाही गर्न गाउँपालिका संग अनुरोध गरेका छन् । सहकारी ऐन नियममा सहकारी संस्थाले शाखा खोलेर कारोवार सञ्चालन गर्न नपाउने प्रावधान रहेको छ ।