पाल्पा – फागुन २३ – ‘कोरोना भाइरस’को त्रास बढेपछि पाल्पाका विभिन्न अस्पताल तथा मेडिकल हलहरूमा मास्कको अभाव भएको छ ।
‘कोरोना भाइरस’को संक्रमण फैलने हल्ला बढेपछि पाल्पामा पनि केही दिनदेखि मास्क अभाव भएको हो । बजारमा र मास्क बिक्री गर्ने डिलरले समेत मास्क दिन नसक्दा मास्क अभाव भएको मेडिकल हलहरुले बताएका छन् । एक साता अघिसम्म पाइएको भएपनि अहिले मास्क अहिले अस्पताल तथा मेडिकल हलहरूमा पाइन छाडेको बिरामीको भनाई छ ।
मास्क कोरोना भाइरसबाट बच्नका लागि प्रयोग गरिदैँ आएको छ । विभिन्न देश तथा विदेशमा समेत मास्कको अभाव हुँदा नेपालमा पनि मास्क अभाव भएको हुनसक्ने कतिपयले बताएका छन् । स्वास्थ्य कार्यालय पाल्पाका निमिक्त प्रमुख विश्व न्यौपानेले पाल्पामा पनि मास्क अभाव भएको बताउनुभयो । केही मेडिकलमा गएर बुझ्दा मास्क नभएको पाईको उहाँले बताउनुभयो ।
सन्चो हेल्थ केयर प्रा.लिका संचालक डा.झपेन्द्र ढकालले केही दिन पहिले सस्तोमै पाइने मास्क अहिले बढी मुल्यमा पनि पाउन नसकेको बताउनुभयो । उहाँले कोरोना भाइरसको त्रासले मास्क प्रयोगकर्ताको संख्यामा वृद्धि हुनुका साथै चिनवाट प्राप्त माक्स नआउदा बजारमा अभाव भएको हुन सक्ने बताउनुभयो ।
उहाँले रोगबाट जोगिनका लागि साबुनपानीले हात धुने, रुघाखोकी लागेका मानिसहरुबाट टाढा रहने, हाँछ्यु गर्दा मुख छोप्न तथा पशुचौपायाको असुरक्षित सम्प्रर्कवाट टाढा रहन सुझाव दिनुभएको छ ।
पाल्पा – फागुन २३ – जिल्ला प्रशासन कार्यालय पाल्पाले होटल तथा रेष्टुरेन्ट व्यवसायीहरू संघसँग पर्यटकलाई गर्ने आतिथ्यता र सेवालाई सुधार गर्न अनुरोध गरेको छ ।
जिल्ला प्रशासन कार्यालयमा आयोजित छलफल कार्यक्रममा होटल तथा रेष्टुरेन्टहरूले सेवा, सत्कार र मर्यादित व्यवहार कायम गर्ने प्रतिवद्धता गरेका हुन् । होटल व्यवसायी संघका अध्यक्ष मोहन श्रेष्ठले सबै होटल १० बजेसम्म खोल्न दिनुपर्ने, अावश्यक बेलामा मात्र प्रहरी चेकिङ गर्नुपर्ने, सुरक्षा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।
होटल व्यवसायी जिवलाल सुवेदी, जयराम सापकोटा, लक्ष्मण वस्याल, अमृत नेपाल, वसन्त कुँवर, साजन सुवेदी, शोभा कार्कीलगायतले होटल क्षेत्रमा प्रहरी प्रशासनको तर्फबाट हुनुपर्ने सहयोगका बारेमा चर्चा गर्नुभयो । प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले मर्यादित र स्तरीय सेवाका लागि होटल व्यवसायी संघले पहल गर्नुपर्ने बताउनुभयो ।
गुणवती केसी – फागुन २२ – तानसेन नगरपालिका वडा नं. ११ बन्दिपोखराले सामाजिक सुरक्षा भत्ता वितरणको लागी सबै सेवाग्राहीको घरदैलोमै गएर बैंक खाता खोलेको छ ।
नेपाल बैंक लिमिटेड संगको सहकार्यमा वडा नं. ११ ले ४ सय ७५ जनाको टोलटोलमै गएर खाता खोलेको हो । लक्षित नागरिकहरुको भत्ता वितरण कार्यलाई व्यवस्थित र सुरक्षित गर्ने उद्देश्यले वडा नं. ११ ले सेवाग्राहीको बैंक खाता खोलेको वडाध्यक्ष दामोदर घिमिरेले बताउनुभयो ।
नेपाल बैंकका कर्मचारीहरुले वडाभित्रका जेष्ठ नागरिक १ सय ४२, एकल महिला १ सय १९, दलित जेष्ठ नागरिक ७१, बालपोषण बालबालिका १ सय २४, पुर्ण अपांग ७ र आंशिक अपांग १२ जनाको खाता खोलेको कार्यालय सहायक बिष्णु खातिले जानकारी दिनुभयो ।
खाता सञ्चालन भएपछि दोस्रो चौमासिकको भत्ता रकम चैतको पहिलो हप्तामै सबै नागरिकको खातामा जम्मा गरिने वडाध्यक्ष घिमिरेले बताउनुभयो । वडाध्यक्ष घिमिरेले खाता खोल्न छुटेका नागरिकहरुले सक्दो छिटो सम्बन्धित निकायमा सूचित गर्न अनुरोध गर्नुभयो ।
गोपिकृष्ण बस्याल – फागुन २२ – रम्भा गाउँपालिकाले एक घर एक धारा कार्यक्रमलाई तिव्रताका साथ अघी बढाएको छ ।
गाउँपालिकाले स्वच्छ खानेपानी नागरिकको आधारभुत आवश्यकता भएकाले खानेपानी योजनालाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ । रम्भा गाउँपालिका वडा नं. ३ पिपलडाँडाको साविक ६ र ९ नं. वडाको छाङगादि लिफ्टिङ खानेपानी योजनाको काम तिव्रताका साथ सञ्चालन भईरहेको वडा कार्यालयले जनाएको छ ।
खानेपानी योजनाका लागी प्रदेश सरकारले २० लाख रुपैंया अनुदान दिएको गाउँपालिका अध्यक्ष विष्णु भण्डारीले जानकारी दिनुभयो । खानेपानी योजना सञ्चालन भएपछी १ सय ७६ घर परिबारले उपभोग गर्ने अध्यक्ष भण्डारीले बताउनुभयो । खानेपानी मुलबाट करिब २ किलोमिटर माथी मौलाथरमा रिजर्व टंकी बनाउन उपभोक्ताहरु आफै कस्सिएको समितिका सचिब गिरिराज बस्यालले बताउनु भयो ।
उपभोक्ताहरु आवश्यक पाईप बोक्ने लगाएतका कार्य गर्न समेत जुटेका समितिका अध्यक्ष टेक बहादुर रानाले बताउनुभयो ।
भोजराज तिमिल्सेना – फागुन २२ – कृषी सञ्जाल चापपानीले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा मौरीपालनका लागी आवश्यक सामग्री वितरण गरेको छ ।
सञ्जालले वडा भित्रका मौरिपालक कृषकहरुका लागी मौरिको घार, गोला तथा टोपी ५० प्रतिशत अनुदानमा वितरण गरेको हो । कृषकहरुलाई ३ हजार ६ सय रुपैंयाको दरले गोला सहित २४ घार, १ हजार ८ सय रुपैंयाको दरले २७ वटा खाली घार र ३ सय २५ रुपैंयाको दरले १५ वटा टोपी वितरण गरेको हो ।
सामग्री वितरण गर्दै गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद बस्यालले मौरीका लागी चरन क्षेत्र राम्रो भएको क्षेत्रमा स्याहार गर्न सके मौरीपालन बाट मनग्य आम्दानी गर्न सकिने भन्दै कृषकहरुलाई व्यवसायिक बन्न आग्रह गर्नुभयो ।
वडाध्यक्ष थानेश्वर तिमिल्सेना, वडा सदस्यहरु पिताम्बर गाहा, दिपा सारु, सञ्जालका अध्यक्ष रणप्रताप खाँड लगाएतले कृषकहरुलाई सहि ढंगबाट मौरीपालनका लागी आग्रह गर्नुभयो । १ लाख ४० हजार रुपैंयाको बजेटबाट कार्यक्रम गरिएको कृषी प्राविधिक निशा मरासिनीले जानकारी गराउनुभयो ।
पाल्पा । एन आई सी एशिया बैंक पाल्पा शाखाले एक कार्यक्रमका बिच ग्राहकको विमा बापतको दावि रकम प्रदान गरेको छ ।
सुपर चमत्कारीक बचत खाता योजना अन्र्तगत खाता खोल्नुभएका तानसेन नगरपालिका ११ का प्रकाश बहादुर कार्कीलाई स्वास्थ्य उपचार बापतको दुर्घटना विमा रकम प्रदान गरिएको हो ।
खातावाल कार्कीका छोराको दुर्घटनामा लागेको कुल खर्च बापतको विमा रकम ३३ हजार ८ सय १४ रुपैंयाँ कार्कीलाई प्रदान गरिएको बैंकका पाल्पा शाखाका प्रबन्धक हरिकृष्ण शर्माले जानकारी दिनुभयो । भविष्यमा आउन सक्ने भवितब्य र जोखिम कम गर्न सक्ने उद्धेश्यले प्रचलनमा ल्याएको सुपर चमत्कारीक बचत खाता योजना अन्र्तगत कार्की जस्तै ग्राहकको आर्थिक भार कम गर्न प्रभावकारी माध्यम बनेको शाखा प्रबन्धक शर्माले बताउनुभयो ।
कार्यक्रममा विमा बापतको रकम बुझदै खातावाल कार्कीले आफुले खोलेको खातामा विभिन्न प्रकारका सुविधाहरु रहेको जानकारी पाएर खाता खोलेसँगै छोरा लडेर दुर्घटना पर्दा लागेको खर्च बैंकले भुक्तानी दिँदा खुशी लागेको बताउनुभयो । बैंकले दिएको सुविधाले आर्थिक ब्यायभार थेग्न सहयोग मिलेको भन्दै यस्तो खाले योजनाले ग्राहकलाई ठुलो राहत पुगेको बताउनुभयो । बैंकले जिल्लाको दश वटै स्थानिय तहका विभिन्न स्थानबाट सेवा दिई रहेको छ ।
विजयकुमार बौडेल – फागुन २२ – जिल्ला प्रशासन कार्यालय पाल्पाले भेला, सभा, सम्मेलन, मेला, उत्सव तथा महोत्सव लगाएतका कार्यक्रमहरु नगर्न अनुरोध गरेको छ ।
विश्वभरीका करिव ७७ मुलुकमा फैलिएको नोभल कोरोना भाईरसको प्रभाव कम गर्न र सुरक्षित रहन भिडभाड हुने कुनैपनी कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालय पाल्पाले सबै नागरिक तथा संघसंस्थाहरुलाई अनुरोध गरेको हो ।
प्रशासन कार्यालयले विश्व स्वास्थ्य संगठनका अनुसार अहिले सम्म विश्वमा ९१ हजार व्यक्तिमा कोरोनाको संक्रमण भएको र ३ हजार भन्दा धेरैको ज्यान गईसकेको भन्दै सबैलाई सचेत रहन अनुरोध गरेको हो ।
कार्यालयले सुचना जारी गर्दै विभिन्न संघ संस्थालाई संक्रमण रोक्नका लागी जनचेतना मुलक सन्देश फैलाउन अनुरोध समेत गरेको छ । सुचनामा नागरिकहरुलाई आफ्नो स्वास्थ्यमा ख्याल गर्न, भिडभाडमा नजान, कुनै पनी समस्या देखिएमा स्वास्थ्य संस्थामा जान अनुरोध गरिएको छ ।
त्यस्तै रैनादेवी छहरा गाउँपालिकाले समेत गाउँपालिका भित्र कुनैपनी सार्वजनिक कार्यक्रम नगर्न अनुरोध गरेको छ । गाउँपालिका भित्र भिडभाड हुने कुनैपनी मेला, महोत्सव तथा सर्वजनिक कार्यक्रम नगर्न अनुरोध गरेको हो ।
गाउँपालिकाले भोली हुने सार्वजनिक सुनुवाई कार्यक्रम समेत अर्को सुचना नगर्दा सम्मको लागी स्थगन गरिएको जनाएको छ ।
पोखरा । पाल्पा चिनाउन पोखराको प्रमुख पर्यटकीयस्थल लेकसाइडमा डिजिटल स्क्रिन स्थापना गरिएको छ ।
पाल्पाली समाज पोखराको पहलमा लेकसाइडस्थित बाराहीचोकमा स्थापित डिजिटल स्क्रिनको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । पाल्पा र पोखरा दुवैको समग्र पर्यटन प्रवद्र्धनको लागि २२ लाख रुपैयाँ लागतमा यो स्क्रिन स्थापना गरिएको समाजका अध्यक्ष कुलप्रसाद घिमिरेले जानकारी दिनुभयो । आन्तरिक एवं बाह्य पर्यटक भीडभाड रहने बाराहीचोकमा स्थापित डिजिटल स्क्रिनमा पाल्पाको समग्र पर्यटकीय क्षेत्रको मनमोहक दृष्य सकिन्छ ।
पोखराबाट मात्र १ सय १५ किमी टाढा रहेको तानसेनसहित पाल्पाको समग्र पर्यटन प्रवद्र्धनमा डिजिटल स्क्रिनले टेवा पुग्ने हुँदा पर्यटन व्यवसायी उत्साहित बनेका छन् । तानसेन नगरपालिका, पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, पोखरा पर्यटन परिषद्, पाल्पा उद्योग वाणिज्य संघ, पाल्पा व्यापार संघ, रामपुर नगरपालिकासहित पाल्पाका सबै स्थानीय तहको सहयोग रहेको छ ।
कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले पोखरालाई पर्यटकीय महानगरपालिका घोषणा गर्ने तयारीमा लागेको र सिद्धार्थ राजमार्ग स्तरोन्नति गरेर पोखरा आएका धेरै पर्यटकलाई पाल्पा लैजान सकिने बताउनुभयो । उहाँले पाल्पाली समाज पोखराले गरेको पहलको प्रशंसा गर्दै पाल्पा र पोखरा बीचको सम्बन्धलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । महानगरपालिका प्रमुख जीसीले कम्तिमा १० वर्षभित्र पोखराको प्रति व्यक्ति आय २२ हजार डलर पुर्याउने लक्ष्य लिएको बताउनुभयो ।
तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले पोखराको पर्यटन विकासका अनुभवलाई पाल्पा र तानसेनले उपयोग गर्न चाहेको बताउनुभयो । डिजिटल बोर्डले पाल्पाको पर्यटन मात्र होइन, अन्य आर्थिक विकासका सम्भावना उजागर गर्न मद्दत गर्ने नगरप्रमुख शाहीको भनाई छ । उहाँले सिद्धार्थ राजमार्गलाई सुनौली पोखरा क्षेत्रका १५ स्थानीय तहले सिद्धार्थ करिडोरको रूपमा विकास गर्न चाहेको बताउनुभयो ।
गण्डकी प्रदेश सरकारका प्रमुख सचिव हरिप्रसाद बस्यालले दुई अन्तर्रा्ष्ट्रिय विमानस्थलको बीचमा रहेको पाल्पाले पर्यटनबाट धेरै लाभ लिनसक्ने विश्वास व्यक्त गर्नुभयो । पूर्व उद्योगमन्त्री हरिप्रसाद पाण्डेयले यो डिजिटल बोर्डमा पोखरादेखि लुम्बिनीसम्मका विभिन्न स्थानका दृष्य राख्नाले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताउनुभयो ।
उहाँले पाल्पामा मैले गर्ने लगानी मान इज्यत प्रतिष्ठाका लागि होइन, जन्महुर्केको थलोप्रतिको सम्झनाका लागि हो भन्नुभयो । उद्योगपति पाण्डेले आधुनिक कृषि, साना उद्योगको विकास, कालीगण्डकी पानीको स्रोतको उपयोग र आइटीको विकास गर्न सके पाल्पाले फड्को मार्न सक्ने बताउनुभयो । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले पाल्पाको पर्यटन प्रवद्र्धनमा पोखरामा बस्ने पाल्पालीहरूको प्रयास प्रशंसनीय रहेको बताउनुभयो ।
पाल्पाली समाज समाजका अध्यक्ष कुलप्रसाद घिमिरेले डिजिटल बोर्ड सार्वजनिक खरिद ऐनअन्तर्गत १८ लाख ४२ हजार रूपैयाँमा खरिद गरिएको र तयारी खर्चसमेत गरी २२ लाख खर्च भएको जानकारी दिनुभयो । बोर्ड निर्माणका लागि तानसेन नगरपालिकाको कुल लागतको २५ प्रतिशत, पाल्पा उद्योग वाणिज्य संघले १ लाख, पाल्पा व्यापार संघले १ लाख रूपैंया सहयोग प्रदान गरेका छन् ।
पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जन, पाल्पा व्यापार संघका अध्यक्ष चिरिञ्जीवी पोखरेल, पाल्पाली संगमका अध्यक्ष पदम न्यौपाने, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेशकुमार अर्याल, पोखरा पर्यटन परिषदका संयोजक चिरिञ्जीवी पोखरेलले पाल्पाली समाजको रचनात्मक कार्यका लागि बधाई ज्ञापन गर्नुभयो ।
विजयकुमार बौडेल – फागुन – पाल्पा महोत्सव २०७६ मा किसानहरुले निशुल्क माटो परिक्षणको लाभ लिएका छन् ।
प्रदेश नं. ५ को माटो तथा मल परिक्षण प्रयोगशाला खजुरा बाँकेले पाल्पा महोत्सव स्थलमा माटो तथा मल परिक्षण घुम्ती शिविर राखेपछी किसानहरुले लाभ लिएका हुन । प्रयोगशालाले प्रदेश ५ का १२ वटै जिल्लामा घुम्ति शिविर सञ्चालन गर्ने गरेको छ । कार्यालयले किसान, ज्ञान केन्द्र, समुह, सहकारी लगाएतको माग अनुसार घुम्ति शिविर सञ्चालन गर्ने गरेको छ ।
कार्यालयका प्रमुख तथा माटो विज्ञ पर्शुराम शर्माले अहिले सम्म १४ स्थानमा घ्म्ती शिविर सञ्चालन गरिसकेको बताउनुभयो । “किसानले खेती गरिरहेको माटो पुर्खौंदेखी प्रयोग भईरहेको छ तर त्यसको उपचार भएको छैन । पहिले भन्दा अहिले गाईबस्तुको मल कम प्रयोग हुने भएकाले पनी माटोको उत्पादन शक्ति कम भईरहेको छ ।”
प्रमुख शर्माले भन्नुभयो । “माटोको जाँच गरायो भने त्यसको अवस्था के छ भनेर बुझ्न सकिन्छ । विरामी भएको भए अर्थात उत्पादन शक्ति कमजोर भएको भए त्यसको उपचार गर्ने विधी हामी बताउँछौं ।” किसानहरुले खेती गरिरहेको माटोमा के तत्व थप आवश्यक छ भन्ने सल्लाह प्रयोगशालाले जानकारी दिने प्रमुख शर्माले बताउनुभयो ।
प्रयोगशालामा ५ जना प्राविधिकहरुले काम गरिरहनु भएको छ । पाल्पा महोत्सवमा ४० जना किसानहरुले माटो परिक्षण गराएका छन् । “धेरैजसो किसानको माटोमा क्षरिय रहेछ । पाल्पाका किसानहरुको माटोमा नुनिलो बढी छ । नुनिलो भयो भने माटोको खाद्यतत्व विशाक्त हुन्छ । अनी विरुवाले आवश्यक तत्व लिन सक्दैन ।” प्रमुख शर्माले भन्नुभयो ।
“माटो नुनिलो भएमा प्राङ्गारिक मल प्रसस्त प्रयोग गर्नुपर्छ । माटोमा पानी भरेर बगाउनुपर्छ । तितेपाती, असुरो र ढैंचा जस्ता चिजको मल बनाएर प्रयोग गर्नुपर्छ ।” पाल्पाको माटोमा सामान्य क्षरियपन बढेपनी बिग्रिनसकेको तर सुधार भने आवश्यक रहेको प्रमुख शर्माको भनाई छ । घुम्ति शिविरबाट अम्लिय या क्षरिय छ ? भन्ने थाहा पाउने पिएच परिक्षण, प्रमुख खाद्य तत्व नाईट्रोजन, फस्फोरस र पोटासको मात्रा थाहा पाउने तथा प्राङ्गारिक पदार्थ परिक्षण गरिने प्रमुख शर्माले बताउनुभयो ।
माथागढी गाउँपालिका वडा नं. ६ का दुर्गा प्रसाद काफ्लेले माटो परिक्षण कसरी गर्ने भन्ने बुझ्न आएको भन्दै निकै जरुरी रहेको बताउनुभयो । काफ्लेले अहिले माटो परिक्षण नगराए पनी गाउँपालिका या कृषी ज्ञान केन्द्रको माध्यमबाट माटो परिक्षण गराउने बताउनुभयो ।
पाल्पा महोत्सवमा कृषी र पर्यटनका सबै स्टलहरुलाई निशुल्क गरिएको स्टल संयोजक कमल ढकालले बताउनुभयो । पाल्पाको कृषी र पर्यटनलाई विकास गर्न पाल्पा व्यापार संघ सधै तत्पर रहेको र सोही अनुसार कार्ययोजना बनाएर आगामी दिनमा पनी काम गर्ने पाल्पा व्यापार संघका अध्यक्ष तथा मुल आयोजक समितिका अध्यक्ष चिरञ्जिवी पोखरेलले बताउनुभयो ।
विजयकुमार बौडेल – फागुन ७ – पाल्पा महोत्सव २०७६ मा होटल स्टल सञ्चालन गरि टपरिमा स्वादिष्ट मम बिक्रि गर्नुभएका डुम्रे ममका सञ्चालक कमल दर्लामी सन्तुष्ट हुनुहुन्छ ।
महोत्सवमा ममको उत्कृष्ट स्वाद दिएर ग्राहकहरुलाई सन्तुष्ट बनाएरै दर्लामी व्यापारमा सन्तुष्ट हुनुभएको हो । अरु बेला तानसेन नगरपालिका वडा नं. ८ डुम्रेमा होटल व्यवसाय गर्दै आउनुभएका दर्लामी महोत्सवमा भएको व्यापारदेखी निकै सन्तुष्ट हुनुहुन्छ । उत्कृष्ट र ग्राहकलाई सन्तुष्ट पार्न सके व्यापारमा समस्या नहुने सञ्चालक दर्लामीको भनाई छ ।
ग्राहकले सफा, शुद्ध र स्वादिलो खानेकुरा खोज्ने भन्दै दर्लामीले सबै कुरामा ख्याल गर्न सके व्यापार हुने बताउनुभयो । “दैनिक २० देखी ३० हजार सम्मको व्यापार सहजै भएको छ । एक पटक मेरो स्टलमा आउनुभएका ग्राहक अर्को पटक अन्यत्र जाँदैनन् ।” सञ्चालक दर्लामीले भन्नुभयो । “ग्राहकको सन्तुष्टि नै हाम्रो व्यापारको प्रमुख उद्देश्य हो । व्यापार देखी म सन्तुष्ट छु ।” पातको टपरिमा स्वादिष्ट मम खान पाउँदा मेला हेर्न आउने ग्राहकहरु खुसी भएको दर्लामीको भनाई छ ।
वातावरणिय शुद्धताका लागी पनी पातको टपरिको प्रयोग हुनु खुसीको कुरा भएको मुल आयोजक समितिका संयोजक तथा पाल्पा व्यापार संघका अध्यक्ष चिरञ्जिवी पोखरेलले बताउनुभयो । डुम्रे ममका सञ्चालक कमल दर्लामीले मम बाहेक चाउमिन, ललिपप, चिप्स लगाएतका चिजविज विक्रि गर्नुभएको छ ।
पाल्पा महोत्सव २०७६ का स्टल संयोजक कमल ढकालले ग्रामिण क्षेत्रमा सञ्चालन भएको महोत्सवले नागरिकहरु उत्साहित भएको बताउनुभयो । “नागरिकहरुको उत्साहजनक उपस्थिती रहेको छ । महोत्सवको सुरुवातमै मेला अवलोकन गर्नेहरु उल्लेख्य मात्रामा आएका छन् ।” संयोजक ढकालले भन्नुभयो । “मेला हेर्न आउनेहरु धेरैले अहिले सामग्री हेर्ने र पछी किन्ने गरेका छन् । जहाँको मेलामा पनी सातौं, आठौं दिनपछी मात्र उत्कृष्ट व्यापार हुने गर्छ ।” पाल्पा महोत्सव २०७६ को सुरुवातकै अवस्थामा व्यापारको अवस्था सन्तुष्टिजनक रहेको ढकालको भनाई छ ।
पाल्पा महोत्सव २०७६ को सातौं दिन प्रकाश सपुत, विष्णु ठडराई, हुम गैरे लगाएतले प्रस्तुती दिएका छन् । महोत्सवमा दैनिक उत्कृष्ट कलाकारहरुले प्रस्तुति दिएको सांस्कृतिक संयोजक थानेश्वर गैरेले बताउनुभयो । गैरेले राष्ट्रिय कलाकार सहित पाल्पाका स्थानिय र गाउँ गाउँका संस्कृतीहरुलाई स्थान दिएको बताउनुभयो ।
महोत्सव सोंचेभन्दा निकै सफल भएको नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेशकुमार अर्यालले बताउनुभयो । “गाउँगाउँबाट दर्शकहरु आएका छन् । स्थानिय क्षेत्रका व्यक्तिहरुले पनी मेला सफल पार्न निकै सहयोग गरेका छन् ।” अध्यक्ष अर्यालले भन्नुभयो । “महोत्सव सबैको सहयोगले सहज रुपमा सफल भएको छ । अव बाँकी दिनहरु पनी अझ व्यवसायिक हुने अपेक्षा गरेका छौं ।” मेला व्यवस्थापन चुस्त दुरुस्त रुपमा अघी बढेको अर्यालको भनाई छ ।