सामुदायिक रेडियो मदनपोखरा
spot_img
Home Blog Page 31

पाल्पा महोत्सवमा गोरु नारेर पेलेको अर्गानिक खुदो (फोटोफिचर)

विजयकुमार बौडेल –
फागुन ०४ – पाल्पा महोत्सव २०७६ मा गोरु नारेर पेलेको उँखुको खुदो खानेको भिड लागेको छ ।


गुल्मी जिल्लाबाट गोरु, उँखु ल्याई परम्परागत तरिकाले तयार पारिएको खुदो खाने भिड लागेको हो । मेलाका सहभागीहरुले गोरु नारेर मेसिन घुमाई उँखु पेलेको अनौठो मानेर हेर्दै अर्गानिक उँखुको जुस, खुदो चाख मानेर खाईरहेका छन् ।


अर्घाखाँची घर भई हाल रुपन्देही योगीकुटी बस्दै आउनुभएका हरीप्रसाद गौतमले गोरु नारेर मेलास्थलमै उँखु पेलेर खुदो तयार गर्नुभएको हो । हाल १२ जनाले खुदो उत्पादनमा काम गरिरहेका छन् । गोरु धपाउने, उँखु लगाउने, पकाउने, जुस, खुदो, गुँड बेच्ने कामका कामदारहरु व्यस्त छन् ।
सञ्चालक गौतमले टिमुरको छोप, कोदोको पिठो र फापरको पिठो समेत विक्रि गरिरहनु भएको छ ।

कोदोको पिठो सय रुपैंया प्रतिकेजी, फापर २०० रुपैंया प्रतिकेजी, गुँण २४० रुपैंया प्रतिकेजी, खुदो १७० रुपैंया प्रतिलिटर, टिमुरको छोप २५० रुपैंया पाउ र ४० रुपैंया प्रतिकप तातो खुदो विक्रि भईरहेको छ । उँखु पेलेर जुस, अदौटो, खुदो, गुँड लगाएतका उत्पादन गरेर विक्रि भईरहेका छन् । खुदो उच्च कार्वोहाईड्रेडयूक्त भएकाले धेरैको ध्यान यसमा गएको सञ्चालक गौतमले बताउनुभयो ।


खुदोले मेलास्थलमा दौडधुप गर्दा धुलोको कारणले हुने विभिन्न समस्याहरु समाधान गर्ने भएकाले पनी यहाँ लोकप्रिय भएको गौतमले बताउनुभयो । उँखुको खुदो सुगर भएका रोगीहरुले पनी खान मिल्ने भएकाले मेलास्थलमा सबैमाझ यो लोकप्रिय भएको छ । गौतमले अहिले सम्म ६० महोत्सव स्थानमा गोरुद्धारा पेलेको खुदो विक्रि वितरण गर्नुभएको छ ।


पाल्पा महोत्सव २०७६ का सचिवालय संयोजक पर्सुराम पौड्यालले विदेश जाने युवाहरुलाई ६० बर्षे वृद्धले सञ्चालन गरेको कार्य प्रेरणाको श्रोत भएको बताउनुभयो । पौड्यालले आयोजकले परम्परागत कृषी प्रविधी प्रदर्शन गर्न अनुरोध गरेको बताउनुभयो । सञ्चालक गौतमले महोत्सवको चौंथो दिनसम्म ७५ हजार रुपैंयाको व्यापार गरेको बताउनुभयो ।


यो प्रविधि नदेख्ने नयाँपुस्ताले नदेखेकाले अचम्म मानेर हेर्ने गरेका छन् । पाल्पा महोत्सव २०७६ मा कृषी र पर्यटनका लागी निशुल्क स्टल दिएको स्टल व्यवस्थापन संयोजक कमल ढकालले जानकारी दिनुभयो । महोत्सवमा दैनिक दर्शकहरुको भिड बढ्दै गएको मुल आयोजक समितिका संयोजक तथा पाल्पा व्यापार संघका अध्यक्ष चिरञ्जिवी पोखरेलले जानकारी दिनुभयो ।


महोत्सवको तेश्रो दिन सम्म २३ हजार दर्शकले अवलोकन गरेको र १ करोड ६० लाखको कारोबार भएको आयोजकले जनाएको छ ।

पाल्पा महोत्सवमा महिलाहरुको खानाघर आकर्षणको केन्द्र

विजयकुमार बौडेल –
माघ २ – पाल्पा महोत्सव २०७६ मा स्थानिय महिलाहरुले सञ्चालन गरेको खानाघर आकर्षणको केन्द्र बनेको छ ।


स्थानिय महिलाहरुले मेला सञ्चालनको बेला आयोजक र स्टल सञ्चालकहरुलाई सुलभ मुल्यमा खाना खुवाउने व्यवस्था गरेपछी खानाघर आकर्षणको केन्द्र बनेको हो । महिला समुहले बुफे सिस्टममा आयोजक तथा स्टल सञ्चालकहरुलाई सादा खाना एक सय रुपैंया र मासु खाना १ सय ८० रुपैंयामा खुवाएका छन् ।


खानामा दाल, भात, २ थरी तरकारी, २ थरी अचार, सलाद, पापड समावेश गरेका छन् । महिला समुहकी सञ्चालक विनिता लुँईटेलले स्टल सञ्चालकहरु सस्तो मुल्यमा ताजा र राम्रो खाना खान पाएकोमा खुसी भएको बताउनुभयो । लुँईटेलले व्यवसायिक रुपमा भन्दा पनी सेवाभावले खानाघर सञ्चालन गरेको बताउनुभयो ।


खानाघरमा खाना खाईरहनुभएका महोत्सव मुल आयोजक समिति सांस्कृतिक विभाग प्रमुख थानेश्वर गैरेले खानाघरले दिएको सेवा निकै प्रशंसनिय भएको बताउनुभयो । गैरेले मदनपोखराका महिलाहरु स्वाभिमानी र आतिथ्यमा निै अगाडी रहेको बताउनुभयो ।


गुल्मी बाट फेन्सी स्टल सञ्चालनका लागी आउनुभएका राजेश तिमिल्सेनाले अनेक होटलहरुमा चाहार्दै खाना खाने झण्झट गरिरहनु पर्ने समस्या टरेको बताउनुभयो । तिमिल्सेनाले पाल्पा महोत्सवको प्रमुख व्यवस्थापनको रुपमा रहेको खानाघरले व्यवसाय गर्न आउने सञ्चालकहरुलाई हौसला मिलेको बताउनुभयो । उहाँले यो समुदायको मिलनसार प्रवृत्ती खानाघरले दर्शाएको भन्दै सबै समुदायलदे सिको गर्नुपर्ने बताउनुभयो ।


तानसेन नगरपालिका वडा नं. ९ का वडाध्यक्ष हरीसुमर रेग्मीले महिलाहरुले सञ्चालन गरेको यो खानाघरमा खाना खाँदा घरकै खानाको झल्को महसुस गर्ने बताउनुभयो । रेग्मीले टाढाटाढा बाट आएका स्टल सञ्चालकहरु निकै सन्तुष्ट भएको बताउनुभयो ।


महिलाहरुले सञ्चालन गरेको खानाघरमा दैनिक २ सय भन्दा धेरैले खाजा तथा खाना खाने गरेका छन् ।

दमकडामा पाल्पा महोत्सवको भव्य उद्घाटन

दमकडा । तानसेन नगरपालिका ९ दमकडामा पाल्पा महोत्सव सुरु भएको छ ।


स्वास्थ्य, जनसंख्या र कानुन न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले ड्रोनले राष्ट्रिय उडाएर महोत्सवको उद्घाटन गर्नुभएको हो । अन्न भण्डार माडी उपत्यकाको दमकडामा बिहीबार बाट सुरु भएको पाल्पा महोत्सवको उद्घाटन गर्दै मन्त्री ढकालले अहिलेसम्म एक जना नेपालीमा पनि कोरोना भाइरस नभएको बताउनुभयो । चीनमा रहेका नेपाली विद्यार्थी पनि कोरोना भाइरसबाट प्रभावित नभएको उहाँले जानकारी दिनुभयो । हाल सम्म परीक्षण गरिएका सबै नेगेटिभ भएकाले पनि मुलुकमा कोरोना भाइरस नभएको पुष्टी भएको छ उहाँ भन्नुभयो ।


नेपालीलाई सामान्य रुघाखोकी चल्दा पनि कोरोनाले नै आक्रमण गरेको शंका जन्माएर गलतप्रचार भइरहेको मन्त्री ढकालको भनाई छ । माडीको सुन्दर फाँटले आफूलाई आकर्षित गरेको उल्लेख गर्दै मन्त्री ढकालले महोत्वसले स्थानीय कृषि उपजको व्यवसायिकीकरण र औधोगिकरणमा सघाउनुपर्ने बताउनुभयो । उहाँले नेपालमा विषादीको अधिक्तम प्रयोगले रोग बढ्दै गएको र यसको न्यूनीकरण गर्न अर्गानिक कृषि उत्पादन तर्फ कृषकलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिनुभयो ।


कार्यक्रमममा पूर्व उद्योगमन्त्री तथाप्रतिनिधि सभाका सांसद सोमप्रसाद पाण्डेयले कृषि, पर्यटनको मुख्यनारा बोकेर आयोजना गरिएको महोत्सवले मदनपोखरा र माडीको कृषि उत्पादनलाई प्राथमिकता दिनुपर्ने उहाँले बताउनुभयो । प्रदेश सभासद् नारायण प्रसाद आचार्यले स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । प्रदेश सभासद् डा. पुरनमान बज्राचार्य, तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले ग्रामीण क्षेत्रको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिने बताउनुभयो ।

नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरेले व्यापार संघले दमकडामा महोत्सव आयोजन गरेर बजारमुखी व्यवसायमा मात्र निर्भर हुनुनपर्ने सन्देश दिएको बताउनुभयो । नेपाल चेम्बर अफ कर्मशका वरिष्ठ उपाध्यक्षलगायतका उद्योग व्यवसायीहरुले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि यस्ता स्थानीय प्रयास आवश्यक रहेको बताउनुभयो । नेपाली काँग्रेसका सचिव अजयमान कर्माचार्य, राष्ट्रिय जनमोर्चाका अध्यक्ष विशाल दर्लामी, राष्ट्रिय प्रजातन्त्र पार्टीका डुलबहादुर कुँवर, नेकपा मालेका धनराज पौडेल, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनलगायतले महोत्सव सफलताका लागि शुभकामना दिनुभयो ।

‘पाल्पाको समृद्धिको आधार, कृषि, पर्यटन र व्यापार’ भन्ने नाराका साथ हिँजो देखि सुरू भएको महोत्सव ११ गतेसम्म सञ्चालन हुने छ । उद्घाटन ¥यालीमा माडी क्षेत्रका करिव १ सय संघसंस्थाले आफ्नो पहिचान झाँकी सहित ¥याली निकालेका थिए । शिक्षण संस्था, आमा समूह, कृषि समूह, टोल विकास संस्था, मगर समूह, नेवार समूहको झाँकी ¥याली अत्यन्त आकर्षक थिए । महोत्वसको पहिलो दिन स्थानीय समुदायको सहभागिता निकै उत्साहप्रद देखियो ।


महोत्सवमा २ सय ७५ वटा स्टल रहेका छन् । पाल्पाका किसानले उत्पादन गरेका कृषिजन्य वस्तु, घरेलु तथा साना उद्योगबाट उत्पादित पाल्पाली ढाका, करुवालगायतका वस्तु, पाल्पाका पशुपालक किसानले उत्पादन गरेको दुग्धजन्य वस्तु, राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीबाट उत्पादित सामग्री स्टलमा राखिएको संघका अध्यक्ष चिरञ्जीवि पोखरेलले बताउनुभयो । झण्डै एकलाख दर्शकले अवलोकन गर्ने महोत्सवमा ५ करोड बराबरको कारोबार हुनेछ भने करिब ७० लाख आम्दानी हुने आयोजकको अनुमान छ ।

४० लाख खर्च गरेर ३० लाख शुद्ध नाफा हुने अनुमान रहेको संघका अध्यक्ष पोखरेलले बताउनुभयो । महोत्सव अवलोकनको लागि सर्वसाधारणले ५० रुपयाँ, विद्यार्थीले २५ रुपैयाँ तिर्नु पर्ने छ भने ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिले निशुल्क व्यवस्था गरिएको सचिव पर्शुराम पौड्यालले जानकारी दिनुभयो ।

ओके बाजेद्धारा रेडियो मदनपोखरामा उत्कृष्ट उद्यमी अक्षयकोष स्थापना

पाल्पा । जापानी समाजसेवी काजुमासा काकिमी ओके बाजेले उत्कृष्ट उद्यम गर्ने उद्यमीलाई प्रत्येक वर्ष पुरस्कृत गर्ने गरी सामुदायिक रेडियो मदनपोखरामा अक्षयकोष स्थापना गर्नुुभएको छ ।

पाल्पा जिल्लामा कृषि, घरेलु उद्योग, पर्यटन र रोजगारी सिर्जना गर्ने जस्ता उद्यम गरेका व्यक्तिलाई पुरस्कृत गर्ने गरी अक्षयकोष स्थापना गर्नुभएको हो जापानी समाजसेवी बाजे र सामुदायिक रेडियो मदनपोखरा सञ्चालक समितिका अध्यक्ष झपेन्द्र जीसी बीच सारेम उद्यम प्रवद्र्धन पुरस्कार अक्षयकोषको संझौता–पत्रमा आज हस्ताक्षर भएको छ । सम्झौतापत्रमा हस्ताक्षर पछि ओके बाजेले मिडोरी जापानको तर्फबाट प्राप्त दुई लाख रुपैँयाको चेक हस्तान्तरण गर्नुभयो ।

काजुमासा काकिमी ओके बाजेले आर्थिक विकासका लागि उद्यमशीलता महत्वपूर्ण हुने भएकोले उद्यमी र इलमीलाई पुरस्कृत गरेर हौसला बढाउने यो कार्यक्रम धेरै मन प¥यो भन्नुभयो । उहाँले भन्नुभयो, ‘यो दुई लाखको अक्षयकोष भर्खर जन्मेको छ । यसलाई हुर्काउने र बढाउने काम गर्नुपर्छ । पाँच वर्षपछि यो कोषको रकम वृद्धि हुने आशा गरेको छु ।’

सामुदायिक रेडियो मदनपोखराका सञ्चालक समितिका अध्यक्ष झपेन्द्र जीसीले उद्देश्यबाट कहिल्यै बिचलित नहुने, स्रोतको दुरुपयोग नगर्ने र दुरुपयोग गर्नेका विरुद्ध आवाज उठाउने संस्था भएकाले ओके बाजेबाट प्राप्त कोषको राम्रो सदुपयोग गर्ने बताउनुभयो । नागरिकहरु आर्थिक क्रियाकलापमा संलग्न नहुँदा सम्म देश समृद्ध नहुने र त्यसका लागि मिहिनेत गर्नेलाई हौसला बढाउन यो कोष फलदायी हुने उहाँको विश्वास छ ।

कार्यक्रममा सारेमका उपाध्यक्ष गुणाकर अर्याल, तानसेन ८ का वडा सदस्य ढाका कुमारी पंगेनी, शिक्षक सुन्दर श्रेष्ठले पाल्पामा ओकेबाजेको धेरै ठूलो योगदान रहेको र आफ्नो क्रियाकलाप सुनाउने रेडियोमा अक्षयकोष राखेकोमा धन्यवाद दिनुभयो ।

जापानमा छोराको मृत्युपछि बाबुआमाले मिडोरीको नाममा स्थापना गरेको फाउन्डेशनले ओके बाजे मार्फत् पाल्पामा धेरै सहयोग गर्दै आइरहेको छ । पाल्पा जिल्लालाई कर्मथलो बनाई उद्यम गरेकोे, आफ्नो काममा पूर्ण व्यवसायिक रहेको व्यक्तिलाई पुरस्कृत गर्ने सम्झौता रहेको सारेमका स्टेशन प्रबन्धक राजेशकुमार अर्यालले जानकारी दिनुभयो ।

सहकारिको तरकारि बोकेको जिप दुर्घटना

माघ २९ – मदनपाेखरा संगम बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको तरकारी लिएर बुटवलतर्फ जाँदै गरेको गाडी दुर्घटना भएको छ ।

तानसेन ९ तिन्टीअाँपबाट तरकारी लिएर हिंडेको लु २ च ३१४ नम्बरको बलेरो गाडी तानसेन ९ बाहुनखोला सालघारीमा दुर्घटना भएको हो । सहकारीका सहसचिव एवम बजार प्रतिनिधि चिन्तामणि भट्टराई र अनिल थापा सकुशल हुनुहुन्छ ।

गाडी सडकबाट करिव १०० मिटर तल खसेकाले काउली र अन्य तरकारी पोखिएको छ भने गाडीमा क्षति भएको छ । सहकारीको गाडी तरकारी लिएर दैनिक बुटवल बजार जाने गर्दछ ।

पत्रकार महासंघ पाल्पाको सदस्यमा थप ९ जना सिफारिस

बाेली । माघ २३ – नेपाल पत्रकार महासंघ पाल्पाको बैठकले नयाँ सदस्यको लागी ९ जनालाई सदस्य सिफारिस गरेको छ ।


बैठकले जनता टेलिभिजन र श्रीनगर एफ.एममा कार्यरत सुनिल कार्की, न्यूज २४ मा कार्यरत सुमन कार्की ,नेपाल टेलिभिजनमा कार्यरत कमल अधिकारी जनचेतना दैनिकका रामचन्द्र रायमाझी, मेचिकाली दैनिका नेत्र गैरे पत्रकार महासंघ पाल्पाको सदस्यमा सिफारिस भएका हुन् ।

त्यस्तै युनिक एफ.एम.मा कार्यरत विष्णु प्रसाद खनाल, सामुदायिक रेडियो मदनपोखराका मानबहादुर हिस्की, रेडियो पाल्पा रामपुरका दानबहादुर हिस्की र सामुदायिक रेडियो रामपुरका धनबहादुर ठाडा सिफारिसमा परेका हुन् ।


महासंघको सदस्यताका लागि आबेदन परेका पत्रकारहरुको अध्ययन तथा सिफारीस गर्न बनेको समितिले पेश गरेको प्रतिवेदन माथी छलफल गरि कार्यसमितिले ९ जना लाई सदस्यताको लागि सिफारिस समेत गरेको सचिव किरण कौशलले जानकारी दिनुभयो ।


बैठकले निर्माणाधिन भवन पुरा गर्नका लागि आबश्यक बजेट व्यवस्थापनका लागि भवन निर्माण उपभोक्ता समितिलाई जिम्मेवारी समेत दिएको छ । नयाँ सदस्यताका लागि कार्यसमितिको बैठकको निर्णय अनुसार केन्द्रमा पठाईने संघका अध्यक्ष राजेशकुमार अर्यालले बताउनुभयो ।

उहाँले कार्यसमितिको सिफारीस मात्र अधिकार रहेको र नयाँ सदस्यता वितरण केन्द्रले नै गर्ने भएकोले केन्द्रिय समितिको निर्णय अनुसार सदस्यता थप हुने समेत जानकारी दिनुभयो ।

फरक क्षमताका विद्यार्थीलाई रिब्दीकोटको न्यानो कपडा

विजयकुमार बौडेल –
माघ २३ – रिब्दीकोट गाउँपालिकाले भवानी मावि कुसुमखोलाका फरक क्षमता भएका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।


मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम कार्यान्वयन सिफारिस समितिको आयोजनामा फरक क्षमता भएका ११ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो । विद्यार्थीहरुलाई न्यानो कपडा सिरक, डसना, ब्लाङ्केट, ज्याकेट लगाएतका सामग्री वितरण गरिएको हो ।


न्यानो कपडा वितरण गर्दै रिब्दीकोट ५ कुसुमखोलाका पुर्व अध्यक्ष माधव आचार्यले फरक क्षमता भएका विद्यार्थीहरुको हौसलाका लागी न्यानो कपडा वितरण गरिएको बताउनुभयो । आचार्यले विद्यार्थीहरुलाई अध्ययन गर्न प्रोत्साहित गर्नको लागी गाउँपालिकाले योजना बनाएर लागीपरेको बताउनुभयो ।


गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसीले विभिन्न कारणले फरक क्षमता भएका विद्यार्थीहरुले पढाई छाड्दै गईरहेको प्रशंग उल्लेख गर्दै सबैको पहलले उनीहरुलाई स्थापित गर्नुपर्ने बताउनुभयो । अध्यक्ष जिसीले रिब्दीकोट गाउँपालिका फरक क्षमता भएका विद्यार्थीहरुको व्यक्तित्व विकासमा लागी परेको बताउनुभयो ।


प्रमुख प्रसासकिय अधिकृत ऋषिराम अर्जेलले फरक क्षमता भएका विद्यार्थीहरुलाई फरक दृष्टीले हेर्न नहुने भन्दै गाउँपालिकाले विभिन्न कार्यक्रम मार्फत उनीहरुलाई उत्प्रेरित गराउन लागीपरेको बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष लक्ष्मी खनाल, शिक्षा साखा संयोजक मणी खनाल, समाजसेवी मोतीराज ज्ञवाली, वेणीमाधव आचार्य लगाएतले गाउँपालिकाले फरक क्षमता भएका विद्यार्थीहरुको लागी उपयोगी कार्यक्रम ल्याएको र यसलाई निरन्तरता दिने विषयमा जोड दिनुभयो ।

पराेपकारी संगिता : विद्यार्थी र वृद्धहरु संग जन्मदिन

विजयकुमार बौडेल –
माघ २३ – संगिता फाउण्डेशन नेपालले विद्यार्थी र वृद्धहरुलाई सहयोग गरेको छ ।

फाउण्डेसनकी अध्यक्ष संगिता भट्टराईले नवदुर्गा माध्यमिक विद्यालय रामपुर ६ तिलकपुरका ३० जना विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान गर्नुभएको हो । त्यस्तै राधादामोदर आरोग्य वृद्धाआश्रम चापाकोट ६ केलादी धामका वृद्धहरुलाई एक दिनको लागि खाद्यान्न हस्तान्तरण गर्नुभएको हो ।

भट्टराईले वृद्धाश्रममा आवश्यक चामल, तरकारी, घ्यू, फलफुल आदी मन्दिरका पिठाधिस गोपाल शरण देवाचार्यलाई हस्तान्तरण गर्नुभएको हो । भट्टराईले आफ्नो २७ औं जन्मदिनको अवसरमा सामग्री प्रदान गर्नुभएको हो ।

विद्यार्थीहरुलाई पोशाक हस्तान्तरण गर्दै रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले विद्यार्थीहरुमा परोपकारी भावनाको विकास हुने भन्दै भट्टराईलाई धन्यवाद व्यक्त गर्नुभयो । ढकालले अबको आवश्यकता प्राविधिक शिक्षा भएको भन्दै व्यवहारिक र संस्कार युक्त शिक्षामा जोड दिनुपर्ने बताउनुभयो ।

फाउण्डेशनकी अध्यक्ष भट्टराईले कतैबाट डोनेसन नलिइ आफुले आर्जन गरेको केही अंश परोपकारमा लगाउनु पर्छ भन्ने उद्देश्यले आफुले शिक्षामा खर्च गर्दै आएको बताउनुभयो । भट्टराईले विगतका केही वर्ष देखि आफ्नो जन्मदिन बालबालिका तथा वृद्धवृद्धाहरु संग मनाउँदै आएको बताउनुभयो ।

छाेराकाे जिवन विमा बन्याे बयम्बुकाे जिउने आधार

विजयकुमार बौडेल –
माघ १६ – वैदेशिक रोजगारका क्रममा ज्यान गएपछी पाल्पा झिरुबासका चम्पी बयम्बु र टेक बहादुर बयम्बुको जिउने आधार नै हरायो ।

उमेर छँदैको छोरा वैदेशिक रोजगारको क्रममा ज्यान गएपछी बुढा बाबुआमालाई छोरा गुमाउनुको पिडा संगै आर्थिक अभाव समेत झेल्नु पर्यो । छोराको जिवन विमा बुढा बाबुआमाको सहारा बन्यो । नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडबाट छोराले गरेको जिवन विमा वापत बयम्बु परिवारले १४ लाख रुपैंयाको चेक बुझे । छोरा गुमाएको पिडा त एकातिर छँदै थियो तर छोराको विमा जिवन जिउने र अनिवार्य आवश्यकता पुरा गर्नको लागी राहत भयो ।

त्यस्तै रामपुर नगरपालिका वडा नं. ६ निवासी पिताम्वर ढकालको असामयिक निधन भएपछी उहाँकी श्रीमती जानकी देवी ढकालले २ लाख ६७ हजार ४ सय ५० रुपैँयाको चेक बुझ्नुभयो । त्यस्तै झिरुवास कै झनीसरा रानाले पनी श्रीमान भुवन सिं राना निधन भएपछी उहाँको नाममा रहेको जिवन विमा वापतको १ लाख ४३ हजार १ सय रुपैँयाको चेक बुझ्नुभयो ।

कम्पनी मुख्य व्यवसाय प्रवन्धक संगिता भट्टराईले जिवन विमा गरेका व्यक्तिको असामयिक निधन हुँदा परिवारको विचल्ली हुने भएकाले जिवन विमा आवश्यक भएको बताउनुभयो । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एकै दिन तिनवटा मृत्यु दावी भुक्तानी गरेको छ ।



रिब्दीकोटमा आउँदो बर्ष सबै घरमा धारा

विमला ज्ञवाली –
१६ माघ – रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसीले आउँदो आर्थिक बर्ष सम्म गाउँपालिकाका सबै घरमा एक घर एक धारा पुर्याउने बताउनुभएको छ ।

वडा नं. ७ मा सञ्चालित खानेपानी योजनाको अनुगमन गर्दै अध्यक्ष जिसीले एक करोड रुपैंयाको लगानीमा सञ्चालित योजना सञ्चालन गर्न वडालाई प्राथमिकता दिएको बताउनुभयो । अध्यक्ष जिसीले पालुङमैनादीमा भएका योजनामा जनसहभागीता राम्रो देखिएको बताउनुभयो ।

अनुगमन गर्दै गाउँपालिका उपाध्यक्ष लक्ष्मी खनालले योजना सम्पन्न गराउन स्थानिय नागरिकहरुले सक्रिय रुपमा जनश्रमदान गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । उपाध्यक्ष खनालले सबै योजनाका उपभोक्ताहरुले आफ्नै लागी आएको योजना सम्पन्न बनाएर त्यसको संरक्षण समेत गर्नुपर्ने जिम्मेवारी हुने बताउनुभयो ।

वडा नं. ७ पालुङमैनादीका वडाध्यक्ष निल बहादुर रास्कोटीले खानेपानीका लागी स्थानियले धेरै दुख पाएको भन्दै अव त्यो समस्या टरेको बताउनुभयो । वडाध्यक्ष रास्कोटीले स्थानिय तहले नागरिकका आधारभुत आवश्यकताहरु पुरा गर्न योजना बनाएर काम गरिरहेको बताउनुभयो ।
घरघरमै खानेपानी आउने भएपछी पालुङमैनादीका नागरिकहरु खुसी छन् ।

टाढाटाढा बाट खानेपानी बोक्नुपर्ने समस्या टरेको भन्दै स्थानियहरुले समयको बचत समेत हुने भएकाले स्थानिय तहलाई धन्यवाद समेत दिएका छन् ।