विजयकुमार बौडेल – माघ १६ – बगनासकाली गाउँपालिका वडा नं. ९ लाङडाँडाको चौपारीको पिपल गैरकानुनी रुपमा काटीएको र चौपारी जिर्ण बनाएको भन्दै चौतर्फी आलोचना भएको छ ।
कुनै एक व्यक्तिको घडेरी बनाउने कामको सहजताको लागी वडाध्यक्ष ठानेश्वर तिमिल्सेनाले गैरकानुनी रुपमा पिपलको बोट काट्ने निर्णय गरेको भन्दै चौतर्फी आलोचना भएको हो । बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले वडाध्यक्षले हाँगा काट्न निवेदन आएको भनेकाले मौखिक रुपमा वन संग समन्वय गरेर काम गर्न भनेको बताउनुभयो । अध्यक्ष बस्यालले त्यहाँ घडेरी खन्दै गरेको भन्ने थाहा पाएको बताउनुभयो । वडामा निवेदन आएको नआएको यकिन भने थाहा नभएको अध्यक्ष बस्यालले बताउनुभयो ।
वडाध्यक्ष ठानेश्वर तिमिल्सेनाले बटुवालाई असर गरेको भनेर रुख काट्ने निर्णय गरेको भनेपनी स्थानियले भने पिपलको कुनै पनि हाँगाले बटुवालाई असर नगरेको बताएका छन् । स्थानियले बुद्ध बहादुर थापाले घर बनाउन घडेरी खनिरहेको र घर बनाउन अप्ठेरो हुने ठानेर वडाध्यक्ष संगको मिलेमतोमा रुख काट्ने सेटिङ मिलाएको बताएका छन् । वडाको निर्णयमा यात्रुलाई खतरा भएको र हाँगा काट्न बस्तीस्तरबाट निवेदन आएकोले रुखका हाँगा काट्ने र त्यसको जानकारी डिभिजन वन कार्यालय पाल्पामा पठाउने निर्णय गरिएको छ । रुख काट्दा झरेका हाँगा विगाको कारणले यो बर्ष नै ओटासिल भएको बाटो समेत भत्किएको छ ।
वडाध्यक्ष तिमिल्सेनाले बाटो बनाउँदा एकातिर बाट खनेर रुख ढली जनधनको क्षती हुने अवस्था आएकाले काट्नुपरेको बताउनुभयो । अध्यक्ष तिमिल्सेनाले वन बाट २ मिटर पर पर्ने रुख काट्न २५ घरले हस्ताक्षर गरेर माग गरेकाले रुख काटिएको बताउनुभयो । अध्यक्ष तिमिल्सेनाले अधिकार भन्दा एक ईन्च पनी बाहिर गएर काम नगरेको भन्दै सुनियोजित रुपमा भ्रम फैलाएको बताउनुभयो ।
रुखमुनी घर बनाउने भनेर घडेरी सम्याईरहेका बुद्ध बहादुर थापाले भने व्यक्तिगत र सामुहिक रुपको रुख काट्ने निवेदन वडा कार्यालयमै गएर दिएको बताउनुभयो । वडा कार्यालयमा निवेदन दिँदा वडाध्यक्ष र आफु मात्र भएको थापाले बताउनुभयो । स्थानियले भने चौतर्फी आलोचना भएपछी पहिलेकै मिति राखेर फर्जी निवेदन तयार गरेको बताएका छन् ।
सहायक बन अधिकृत माधुरी खड्काले स्थलगत अनुगमन गरेपछी एउटा मात्रै हाँगा काट्ने कुरा भएको बताउनुभएको छ । खड्काले आफुलाई झुक्याएको बताउँदै वडा कार्यालयलाई वन कार्यालयले रुख नै काट्ने अधिकार नदिईएको बताउनुभयो ।
वन ऐन दफा ३७ मा अत्यावश्यक भएको अवस्थामा यस्ता सार्वजनिक स्थानका रुख कटान छटान गर्न स्थानीय तहलाई अधिकार दिएपनी उपदफा ३ मा कार्यबिधि बनाएर मात्रै सार्वजनिक स्थानका काट्न पाउने भनेको छ । तर रुखका हाँगा काट्ने सम्बन्धि कार्यविधि भने अहिले सम्म नबनाएको गाउँपालिका अध्यक्ष बस्यालले बताउनुभयो ।
कार्यबिधि नै नबनाई रुख काट्नु गैरकानुनी भएको जानकारहरुले बताएका छन् ।
पाल्पा । प्रायः सरकारी विद्यालयमा श्रीपञ्चमीका दिन विद्यालय बन्द हुने गर्दछन् । तर दमकडा नमूना माध्यमिक विद्यालय पाल्पाले भने सरस्वती पूजा र अक्षरारम्भ कार्यक्रमको आयोजना गरेर राम्रो सन्देश दिएको छ । विद्यालय प्रवेश नगरेका बालबालिकालाई विद्यालय ल्याउने, कलम नसमातेका हातहरुमा कलम कापी थमाउने र अक्षर लेख्न सिकाउने कार्य गरेको छ ।
विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजा आरधना गर्दै नयाँ बालबालिकालाई विद्यालयले अक्षरारम्भ गराएको हो । तीन वर्ष पुग नपुग उमेरका बालबालिकालाई कापी, पाटी र ल्यावटवमा लेख्न सिकाएर अक्षरारम्भ गराइएको विद्यालयका प्राथमिक तह संयोजक जीवन आचार्यले बताउनुभयो । श्रीपञ्चमीका दिन विद्यालय आउन सुरु गरेका साना बालबालिकालाई अक्षरारम्भ गराउने प्रचलन रहेको छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास रहिआएको छ ।
दमकडा माध्यमिक विद्यालयले मन्टेश्वरी कक्षामा भर्ना हुन आएका करिव २५ जना बालबालिकालाई ठूलो वर्णमाला, कापी, कलम, झोला र टिफिन बक्स प्रदान गरेको छ । समारोहका प्रमुख अतिथि शिक्षाविद् राधाकृष्ण शर्माले श्रीपञ्चमीका दिन सरस्वती पूजा गराएर नयाँ कुरा सिक्ने वातावरण प्रदान गरेर विद्यालयले सबै अभिभावकको प्रशंसा पाएको बताउनुभयो ।
शिक्षा, संस्कार र संस्कृति हरेक नागरिकले सिक्नै पर्नै कुरा हुन्, यस्ता कुरा घर र विद्यालयबाट सिकाउनुपर्ने उहाँको जोड छ । पूर्व प्रधानाध्यापकसमेत रहनुभएका शर्माले भन्नुभयो, ‘कक्षा सुरुवातकै दिन नयाँ प्रविधिसँग परिचित हुन पाउनु र विद्यार्थीको प्रवेशलाई विद्यालयले उत्सव मनाउने प्रचलनले खुशी तुल्याएको छ ।’ कार्यक्रममा अभिभावक भगवती पराजुलीले सामुदायिक विद्यालयले सरस्वती पूजाको दिन यस्तो राम्रो कार्यक्रम गरेकोमा विद्यालयलाई धन्यवाद दिनुभयो ।
विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद सापकोटाले विद्यालयको ६३ वर्षको इतिहासलाई अझ चम्किलो बनाउन अक्षरारम्भ कार्यक्रम सुरु गरिएको बताउनुभयो । आधारभूत तहबाटै सिकाई उपलब्धी बढाउन यो वर्षदेखि मन्टेश्वरी विधीबाट पठनपाठन सुरु गरिएको र गुणस्तरीय शिक्षा प्रदान गरेर सामुदायिक विद्यालयप्रतिको विश्वास अझ बढाउने प्रधानाध्यापक सापकोटाले बताउनुभयो । स्मरण रहोस्, दमकडाले मन्टेश्वरी कक्षाका लागि मन्टेश्वरी शिक्षकको व्यवस्था गरेको छ ।
यहाँ दृष्टिविहीन बालबालिकाले ब्रेल लिपीमा पठनपाठन गर्नुका साथै विज्ञान, व्यवस्थापन र सिभिल इन्जिनियरिङ विषयका कक्षा समेत सञ्चालन हुँदै आएको छ ।
विजयकुमार बौडेल – माघ १६ – पाल्पा महोत्सव २०७६ को तयारी तिब्र रुपमा अगाडी बढेको आयोजक व्यापार संघले जनाएको छ ।
मेला स्थल निर्माण तथा स्टल बुकिङ लगाएतका काम तिब्र रुपमा अगाडी बढिरहेको आयोजकले जनाएको हो । तानसेन नगरपालिका वडा नं. ९ को दमकडा खेल मैदानमा हुन लागीरहेको महोत्सव तयारीका लागी विभिन्न उपसमिति बनाएर जिम्मेवारी अनुसार कार्य गरिरहेको मुल आयोजक समितिका संयोजक चिरञ्जीवी पोखरेलले जानकारी दिनुभयो ।
महोत्सव सफल बनाउनको लागी सबै पक्ष र सरोारवालाहरुलाई समेटेर अघि बढ्नुपर्ने जनप्रतिनिधी तथा नागरिक समाजका प्रतिनिधीहरुले बताएका छन् । जनप्रतिनिधी तथा नागरिक समाज समन्वय उपसमितिका संयोजक विष्णु कार्कीले सबैको सुझाव र सहयोग अनुसार महोत्सव सञ्चालन गरिने बताउनुभयो । संयोजक कार्कीले स्थानिय उत्पादनलाई जोड दिँदै यहाँका कृषक र उद्यमीलाई व्यवसायिक बनाउन महोत्सवले सहयोग गर्ने बताउनुभयो ।
दमकडामा बसेको जनप्रतिनिधी तथा नागरिक समाज समन्वय उपसमितिको बैठकमा तानसेन ९ का वडाध्यक्ष हरिसुमर रेग्मीले मदनपोखरामा पाल्पा महोत्सव सञ्चालन हुनु सबैको लागी गर्व भएको बताउनुभयो । अध्यक्ष रेग्मीले मदनपोखराका हरेक घरका सदस्यहरु महोत्सव सफल र सम्पन्न गर्नको लागी हरेक जिम्मेवारी र भुमिका निर्वाह गर्न उत्साहित रहेको बताउनुभयो ।
ग्रामिण क्षेत्रमा महोत्सव सञ्चालन हुन लागेकोमा स्थानियहरु पनी खुसी भएका छन् । महोत्सवले पाल्पाको संस्कृती, पर्यटकिय स्थल तथा स्थानिय उत्पादनको प्रवद्र्धन हुनेमा सरोकारवालाहरु समेत उत्साहित छन् ।
विजयकुमार बौडेल – १२ माघ – रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसीले स्थानिय तहहरुले गरेका नमुना कामहरुको प्रचारप्रसार हुन नसकेको बताउनुभएको छ ।
गाउँपालिका अध्यक्ष जिसीले स्थानिय तहहरुले निर्वाचन यता स्थानिय तहहरुले शिक्षा, स्वास्थ्य, कृषी र पर्यटन जस्ता क्षेत्रमा धेरै नमुना काम भएपनी नागरिकहरु माझ पुग्ननसकेको बताउनुभएको हो । जिसीले रिब्दीकोट गाउँपालिकाले धेरै क्षेत्रमा नमुना काम गरेर समृद्धि तर्फ अघी बढेको बताउनुभयो ।
“स्थानिय तहहरुले गल्ती नै गरेका छैनन् भन्न खोजेको चाँही होईन तर स्थानिय तहका सानातिना कमी कमजोरी धेरै हाईलाईट भयो । धेरैजसो वितृष्णाका कुराहरु मात्र धेरै आए ।” अध्यक्ष जिसीले भन्नुभयो “निराशाको खेती गरेर मात्र त भएन नी । भएका सकारात्मक कामहरुको प्रचारप्रसार सहित कमी कमजोरी पनी औंल्याईदिए अझ उत्तम हुन्थ्यो ।” स्थानिय तहका सकारात्मक कुरा सहित कमी कमजोरीहरु सञ्चार माध्यममा आउनुपर्ने जिसीको भनाई थियो ।
रिब्दीकोट गाउँपालिकाले स्थानिय तहको निर्वाचन भएयता पुर्वाधार तर्फ सबै वडामा सडक सञ्जाल पुर्याउन सफल भएको जिसीको भनाई छ । विकासको पहिलो खुड्किलो सडक नै भएकाले यो आर्थिक बर्षमा मात्रै ७ करोड रुपैंया सडक स्तरोन्नतीमा लगानी गरेको गाउँपालिकाले जनाएको छ । “कृषी र पशुपालन पेशालाई यान्त्रीकरण तथा प्रविधी यूक्त बनाउन र उत्पादनमा आधारित अनुदान दिने काम जिल्लामै नमुना गरेका छौं । यसमा २ करोड रुपैंया लगानी गरेका हौं ।”
जिसीले भन्नुभयो “खानेपानी तर्फ एक करोड भन्दा माथीका ६ वटा ठुला योजना सञ्चालन गरेका छौं । यही आर्थिक बर्षमा ८० प्रतिशत परिवारलाई एक घर एक धारा द्धारा स्वच्छ खानेपानी पुर्याईसक्छौं भने अर्को आर्थिक बर्ष भित्र सबैलाई पुर्याउँछौं ।”
रिब्दीकोट गाउँपालिकाले धार्मिक र पर्यटकिय स्थलहरुको पनी संवद्र्धन गरेको छ । कोशेलीघर स्थापना, भैरवस्थान र रिब्दीकोटको जलेश्वर क्षेत्रमा ऐतिहासिक धार्मिक सप्ताह समेत गरिएको गाउँपालिकाले जनाएको छ ।
त्यस्तै गाउँपालिकाले शिक्षा क्षेत्रमा स्थानिय श्रोत बाट राखीएका शिक्षकहरुको लागी तालिम सहित शिप अभिवृद्धिका लागी ७० लाख रुपैंया खर्च गरेको जनाएको छ । स्वास्थ्य क्षेत्रमा संस्थागत सुत्केरी र नियमित खोप सहित स्वास्थ्य सेवाको कामलाई निरन्तरता दिएको गाउँपालिका अध्यक्ष जिसीको भनाई छ ।
विजयकुमार बौडेल – ११ माघ – पर्यटन बर्ष २०२० को प्रवद्र्धनका लागी सञ्चालन भएको विजय दौड पाल्पा २०७६ अन्र्तगत २१ किलोमीटर खुला दौड तर्फ काठमाण्डौका नरेन्द्र सिंह रावत प्रथम हुनुभएको छ ।
रावतले १ घण्टा १६ मिनेट ९ सेकेण्डमा निर्धारित दुरि पार गर्दै ५० हजार रुपैंया प्राप्त गर्नुभएको हो । दोश्रो हुन सफल रुकुमका दुर्गाराज बुढाले १ घण्टा १८ मिनेट २० सेकेण्डमा दुरि पार गर्दै ३० हजार, तेश्रो हुन सफल सुवास कार्किले १ घण्टा १८ मिनेट ३५ सेकेण्डमा दुरि पार गर्दै २० हजार र सान्त्वना हुन सफल शिव बहादुर रायमाझीले १ घण्टा १८ मिनेट ४२ सेकेण्डमा दुरि पार गर्दै ५ हजार प्राप्त गर्नुभएको छ । २१ किलोमिटर दौड्नेहरु तानसेन बजार हुँदै भैरवस्थान मन्दिर परिक्रमा गरि आएका थिए ।
त्यस्तै कक्षा १२ सम्मका छात्रहरुको ५ किमि दौडमा भक्तपुरका सागर श्रेष्ठ प्रथम हुनुभएको छ । श्रेष्ठले २० हजार रुपैंया प्राप्त गर्नुभएको छ भने दोश्रो हुन सफल काठमाण्डौका युनिस सारु मगरले १० हजार, काठमाण्डौकै प्रविण बोहोराले तेश्रो भई ५ हजार, महोत्तरीका नारायण कुमार कुसवाहाले सान्त्वना भई २ हजार प्राप्त गर्नुभएको छ । त्यस्तै छात्रातर्फको ५ किलोमिटर दौडमा हुमि बुढामगर प्रथम हुनुभएको छ । त्यस्तै खिमा सेरचन दोश्रो, सञ्जु गाहा तेश्रो र सपना सारु सान्त्वना भएका छन ।
जिल्ला समन्वय समिती पाल्पाका कार्यवाहक प्रमुख मिरा मरासिनिले विजय दौडले पाल्पाको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने बताउनुभयो । मरासिनिले विजयी खेलाडीहरुले भोलीका दिनमा राष्ट्रको प्रतिनिधित्व गर्दै नाम राख्ने भन्दै अझ मेहेनतका साथ अभ्यास गर्न अनुरोध गर्नुभयो ।
गोरखदल गणका गणपती सुरज थापाले विजय दौड सञ्चालन गर्न सहयोग गर्ने पाल्पाका १० वटै स्थानिय तह र सरोकारवालाहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । गणपती थापाले भ्रमण बर्ष २०२० मा सम्पुर्णलाई पाल्पा घुम्न आउन निमन्त्रणा समेत गर्नुभयो ।
२१ किलोमिटर दौड पुरा गर्ने दुई महिला जमुना हिताङ्ग र सुनिता न्यौपाने तथा बेलायती नागरिक डेनियल जेम र जापानी नागरिक ताईसुके अकोरालाई समेत गणले विशेष सम्मान गरेको छ । विजय दौड पाल्पाकै अवसरमा पर्यटन बर्षलाई प्रवद्र्धनका लागी वाकाथुन दौड समेत भएको छ ।
दौडमा प्रदेश सांसदहरु नारायण आचार्य, पुरनमान बज्राचार्य, विर बहादुर राना, तानसेन नगरपालिकाका प्रमुख असोक कुमार साही, रम्भा गाउँपालिकाका प्रमुख बिष्णु भण्डारी, रिब्दीकोट गाउँपालिकाका प्रमुख नारायण बहादुर जिसी, पुर्वखोला गाउँपालिकाका प्रमुख नुन बहादुर थापा, निस्दी गाउँपालिकाका प्रमुख मुक्त बहादुर सारु, बगनासकाली गाउँपालिकाका प्रमुख कृष्ण प्रसाद बस्याललगाएत सहभागी हुनुहुन्थ्यो ।
विजयकुमार बौडेल – ४ माघ – नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरि पाल्पामा विजय दौड पाल्पा २०७६ सञ्चालन हुने भएको छ ।
स्थानिय, राष्ट्रिय र अन्तराष्ट्रिय खेलाडीको प्रर्वद्धन र हौसलाको लागि यही माघ ११ गते जिल्लामा दौड प्रतियोगिता आयोजना हुन लागेको पाल्पा स्थित नेपाली सेना गोरख दल गण पाल्पाले जनाएको छ । जिल्लाको दश वटै स्थानिय तह र नेपाली सेना गोरख दल गणको संयुक्त आयोजनमा प्रतियोगिता हुन लागेको हो ।
गणका गणपति सुरज थापाले प्रतियोगिता अन्र्तगत २१ कि..मी. खुल्ला ( हाफ म्याराथन ) ५ किलो मिटर दौड कक्षा १२ सम्मका छात्र –छात्रा र वाकाथुन ३ कि.मी इच्छुकको सहभागीतामा दौड प्रतियोगिता हुने गणका गणपति थापाले बताउनुभयो ।
प्रतियोगिता अन्र्तगत २१ कि.मी.खुल्ला ( हाफ म्याराथन ) मा प्रथम पुरस्कार ५० हजार ,दोस्रो पुरस्कार ३० हजार, तेस्रो पुरस्कार १५ हजार र सान्तवना पुरस्कार ५ हजार पुरस्कारको ब्यवस्था गरिएको छ । यसै गरि ५ कि.मी दौड अन्र्तगत कक्षा १२ सम्मका छात्र –छात्रा बीच हुने छ । जस अन्र्तगत प्रथम पुरस्कार २० हजार, दोस्रो पुरस्कार १० हजार र तेस्रो पुरस्कार ५ हजार र सान्तवना पुरस्कार २ हजार रहेको छ ।
प्रतियोगिता अन्र्तगत २१ कि.मी दौड हाफ म्याराथुनको लागि टुंडिखेल,तानसेन बजार र भैरबस्थान मन्दिरबाट फिर्ता हुंर्दै टुंडिखेल रुट प्रयोग हुनेछ । यस्तै ५ कि.मी दौड अन्र्तगतको प्रयोग हुने रुट टंडिखेल, तानसेन बजार, श्रीनगरबाट फिर्ता हुर्दै टुंडिखेल रहने छ । वाकाथुन ३ कि.मी को रुट टुंडिखेल, तानसेन बजार हुँदै टंडिखेलको रुट प्रयोग हुने छ ।
प्रतियोगिताको लागि सुरुमा नाम दर्ता गर्ने ३ सय जनालाई आकर्षक टिर्सटको ब्यवस्था गरिएको छ । प्रतियोगितामा दर्ता शुल्क भने निशुल्क रहेको गणले जनाएको छ ।
पाल्पा । जेठ १२ – कालीगण्डकी नदीले तानसेन नगरपालिकामा १३ मा अवस्थित रानीमहलको जग कटान गरेको छ ।
कालीगण्डकी उत्तरवाहिनी क्षेत्र पारेर तीरको चट्टानमाथि बनाइएको करिव सवा १ सय वर्ष पुरानो रानीमहलको जग २ देखि ७ फिटसम्म कटान भएको देखिएको छ । प्रेमको प्रतीक रानीमहलको जगमा पानीको वहावले हानेर खोलेको अवस्थामा चिन्ता प्रकट भइरहेको बेला गोताखोर प्रयोग गरी कटान परीक्षण गरिएको हो ।
सशस्त्र प्रहरी बलको केन्द्रीय गोताखोर टोलीले कटानको अवस्था अध्ययन तथा परीक्षण गर्दा २ फिटदेखि ७ फिटसम्म जग कटान गरेको भेटेको छ । प्रहरी निरीक्षक पुरुषोत्तम भण्डारी, हवलदार बलराम अधिकारी र पारस खाँम्चाले कालीगण्डकीमा डुबुल्की मारी सतहसम्म परीक्षण गरेका हुन् । तानसेन नगरपालिकाका उपप्रमुख लक्ष्मीदेवी पाठकले रानीमहल जग नदीले काटिरहेकाले यसकाे संरक्षण गर्न प्राविधक परामर्शकाे खाँचाे रहेकाे बताउनुभयाे । उहाँले तानसेनको महत्वपूर्ण पर्यटकीय गन्तव्य भएकाले यसको संरक्षण, विकास र उपयोगमा सबैको चासो हुनुपर्ने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको रानीमहलको कुनै पनि तरिकाबाट खतरा नहोस् र जोखिमबाट बचाउन गोताखोर परिचालन गरिएको जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारीले भू तथा जलाधार कार्यालय, डिभिजन वन कार्यालयका प्राविधिकहरुसँग परामर्श गरी संरक्षणका लागि आवश्यक बजेट व्यवस्था गर्न प्रदेश सरकारलाई अनुरोध गरिएको बताउनुभयो ।
रानीमहलको जगबाटै बगिरहेको कालीगण्डकीलाई प्राकृतिक रुपमै बग्न दिने वा नदीको धार परिर्वतन गराउने भन्ने विषयमा विभिन्न मत रहँदै आएका छन् । पाल्पाका तैनाथवाला खड्गशमशरेरले १९५४ कालीगण्डकी नदीको चट्टानमाथि रानी तेजकुमारीको सम्झनामा निर्माण गरेको रानीमहल आज प्रेमको प्रतीका रुपमा विश्वभर प्रसिद्ध रहेको छ ।
पाल्पा । जेठ १३ – तानसेन नगरपालिकाले तानसेन तम्घास सडकको बनदेवी टक्सार खण्डमा सडक बिस्तारको काम आरम्भ गरेको छ ।
जिल्ला सदरमुकाम तानसेनबाट गुल्मी अर्घाखाँची जाने सडक साँघुरो भएकाले बिस्तारको काम अगाडि बढाएको नगरपालिकाका प्रमुख अशोककुमार शाहीले बताउनुभयो । सडक बिस्तार गर्न नगरपालिकाले ४० लाख बजेट विनियोजन गरेको र उपभोक्ता समितिमार्फत् चौडा बनाउने कार्य धमाधम भइरहेको छ । बिस्तार गर्न २\३ वटा डोजर स्क्याभेटरले काम गरिरहेका छन्, तार जाली भर्ने काम पनि हुँदैछ ।
सदरमुकाम प्रवेशद्वार र बजार क्षेत्रका सडक साँघुरो भएर सडक जाम हुने, ट्राफिक चाप व्यवस्थित गर्न कठीन हुने र पैदल यात्रीलाई समेत समस्या पर्न थालेको छ । कार्यालय समयभित्र बजारमा गाडी जाम हुने र विद्यार्थीहरु स्कुल जाने र निस्कने बेलामा समस्या हुने गरेको छ । नेकपाका नेता नेत्र पाण्डेयले विकासको मुख्य अंग भनेकै सडक भएकाले मुख्य सडक मापदण्ड वमोजिम बनाउन सबै नागरिकले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘म दिनदिनै बसेर काम हेरिरहेको छु । तानसेनको विकास चाहने, पर्यटकीय केन्द्र बनाउने हो भने यस्तै ठूला र स्तरीय सडक बनाउनुको विकल्प छैन ।’
यसअघि नगर कार्यपालिकाको बैठकले हुलाङ्दी ढुंगाखानी सडक खण्ड केन्द्र भागबाट दायाँबायाँ १०\१० मिटर रेखांकन गरी चौडा पार्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो । निर्णयपछि सडक छेउ घर आवास भएका व्यक्तिहरुले सडकको चौडाई ९ मिटर मात्र कायम गर्नुपर्ने माग गरेका थिए । नगरपालिकाले स्थानीय शासन ऐन वमोजिम हुलाङ्दी ढुंगाखानी सडकको चौडाई १०\१० मिटर कायम गरेपछि करिव २ सय घर प्रभावित हुने अनुमान गरिएको छ ।
विजयकुमार बौडेल – “ममि । सेतो जाँगे च्यातियो” भन्दा रातो टालो हालि सिएर “लौ अझै २ महिना कट्छ” भन्नुहुन्थ्यो । तर कापि किन्न छ, कलम किन्न छ भन्दा कहिल्यै पनी भोली भन्नुभएन । खेल्दा लोटेको ठाउँमा बाँधिदिँदा बाँधिदिँदा झिरा झिरा भएको पटुका कहिल्यै फेर्नुभएन तर हरेक बर्ष हामीलाई स्कुल ड्रेस चाँही नयाँ सिलाईदिनुहुन्थ्यो । तर पैसा नहुँदा पनी कहिल्यै नमिठो मुख लाएर बोल्नुभएन ।
बाबाले सधै भन्नुहुन्थ्यो “जती पढेपनी, हाडछाला घोंटेर भएपनी पढाउँछु । हामी पढ्न नपाएर दुख पाईयो । छोराछोरीले दुख नपाउन् ।” सधै दुख गर्ने बाबा कहिलेकाँही अलीकती खाएर आउँदा ममि सधै कराउने “केटाकेटीलाई कापी कलम किनिदिन पुग्थ्यो त्यो पैसाले ।” जती खाएपनी बाबाको सधै अटल बोली र व्यवहार हुन्थ्यो । “अझै ८÷१० बर्ष त घस्रेर भएपनी छोराछोरी पढाउन सक्छु ।” बाबुआमाका हामी चार जना छोराछोरी । खानै धौ धौ भएपनी ममिले हामी चारै जनालाई क्याम्पस लेभल सम्म पढाउनुभयो ।
पैसो कत्तिको हुन्छ ? पत्रकारिता गरेर जिवन चल्छ ? भोली विहे गरेपछी स्वास्नी कसरी पाल्छस् ? चुरा, टिका कसरी किन्दिन्छस् ? सधैभरी यसरी त चल्दैन होला । आजकल आफन्तको भिडले दैनिक जसो सोध्ने प्रश्न ।
पैसाको अभावै अभावमा जिवनको यो अवस्था सम्म आईपुग्दा पनी मलाई अझै पैसाको लोभ लाग्दैन । अनिवार्य आवश्यकता बाहेक घर, सम्पत्ती र गाडी जोड्ने मेरो कुनै लक्ष्य छैन । दुनियाँको नजरमा हिँजोको मेरो हैसियत के र आजको के भन्ने कुरा पैसाले छुट्याउला तर मलाई त्यस्तो लाग्दैन ।
खै म किन एस्तो थाहा छैन । तर २५ बर्षको उमेरमा पनी मलाई भयंकर मोजमस्ति गरुँ, टन्न पैसा कमाउँ, सानका साथ हिँडु जस्तो लाग्दैन । कहिलेकाँहि म संग पत्रकारिता क्षेत्र संग सम्बन्धित कुनै कार्यक्रम परिहाल्यो भने सदरमुकाम जाने गाडिभाडा पनी हुन्न, खाजा खाने पैसा पनी हुन्न तरपनी मलाई जसरी पनी पैसा कमाउँ भन्ने लाग्दैन । पैसा कमाउने हजारौं बाङ्गा बाटोहरु थाहा नभएको पनी होईन । सोझो खुट्टाले बाङ्गो बाटो हिँड्न मन नलागेर मात्र ।
अहिले मलाई रोटि, मकै, ढिंडो, चिउरा, मकैको भात (हामी आँटो भन्छौं) फिटिक्कै मन पर्दैन । सबैले भन्छन् स्वास्थ्यको लागी यिनै कुराहरु राम्रो र फाईदाजनक हुन्, खानुपर्छ । हिँजो अरु केहि नभएर च्याँख्ला सहितको गहुँको पिठो पानीमा होँडलेर पनी सबैलाई पेटभरी खान नपुग्ने अवस्थामा जति खाने हो खाईयो । गहँुको सिजनमा पिठो नसकुन्जेल ढिंडो, मकैको सिजनमा मकै नसकुन्जेल आँटो, बाँँकी सिजनमा कहिले चिउरा त कहिले के । भात भन्ने कुरा नै नौलो लाग्थ्यो ।
अहिले केही नभए पनी दुई छाक भात खान सक्ने भएको छु । अहिले पनी घरमा बेलाबेलामा रोटि, ढिंडो पाक्दा लाग्छ, म भात खान र चामल किन्न नसक्ने भएछु कि क्या हो ? हिँजोको त्यो गरिवि आफ्नै हातमुख जोर्नको लागी थियो भने आजको गरिवि अरुको अगाडि सामाजिक हैसियत कमजोर देखिने छ ।
बाटोमा हिँड्दा कसैले “विजय जी हैन ? मैले तपाईंलाई चिन्छु, तपाईले लेख्ने कुराहरु म सधै पढ्छु, लेखाई राम्रो छ ।” भनेर भन्दाको खुसी नाथे पैसाले किनेर पाईन्छ र जस्तो लाग्छ । अनी पैसा नहुँदा आफ्नै साथीभाईको नजिक बन्न नसक्दा र उनीहरुले नगन्दा पैसा भन्दा अरु के रहेछ र जिवन जस्तो पनी लाग्छ ।
अहिलेसम्म धेरै पटक मलामी त गएको छैन तर जती पटक गएको छु, त्यहाँ लास जलाउँदाको क्षण निकै भावुक व्यक्तिहरु र जलिरहेको लास देखेर लाग्छ । “साला पैसा, धन, सम्पत्ती के का लागी ? आखिर यि ढाक्नुपर्ने चिजको टालो पनी निकालेर जलाउँदा रहेछन् ।”
ममिले स्कुल पढ्दा लगनशिल र मेहेनती भएर पाएको छात्रवृत्ती बापतको २ सय ५० रुपैंया साँझ खान नहोस् तर कहिल्यै अन्य कुरामा खर्च गरिदिनुभएन । त्यसैमा थपघट गरेर ड्रेस सिलाउने, कापीकलम किन्ने, फि तिर्ने लगाएतका काममा नै खर्च गरिदिनुहुन्थ्यो । सानोमा ममिले दिनभरी काम गरेर पाउने ५० रुपैंयामा हामी ६ जनाको परिवार पालिन्थ्यो । पानी पर्दा रातभरी हामीलाई दश ठाउँ सार्दै चुहिएको छानो थाप्दै बसेको देख्दा मन कुँडिएर आउँथ्यो तर गर्न सक्ने केहि थिएन । ४ जनाले त खाने र पढ्ने मात्रै गथ्र्यौ । सम्झँदा पनी कस्तो कस्तो लाग्छ “साँच्ची कसरी चलाउनुहुन्थ्यो होला व्यवहार ?”
म संगैका धेरै साथीहरुलाई घरकाले आर्थीक अवस्था कमजोर भयो भनेर पढ्न छुटाए । कतिले आफै छोडे । तर पढाई छोड्ने कुरा न कहिल्यै मेरो मनमा आयो न ममि बाबाले नै छोडाउने कुरा गर्नुभो । जहिले पनी पढ्नको लागी उत्साहित नै गर्नुभो ।
अहिले मेरो कामबाट मेरा बाआमा खुसी नै हुनुहुन्छ । छोराले नाम कमाएको छ । धेरैथोरैले चिनेका छन् । “तपाई विजयको आमा बा हैन ?” भनेर बाटोमा नमस्कार गर्दा छोरा राजै भएको अनुभुती गर्नुहुन्छ । हुन पनी आफ्ना सन्तानको प्रगतीमा को बाउआमा खुसी नहोलान् र ?
अहिले धेरैका छोरा विदेश गएर लाखौं कमाएर बाआमालाई राम्रा घर बनाएर राखेका छन् । सुख दिएका छन् । हातमा पैसा राखिदिएका छन् । मलाई पनी त्यसो नगरुँ लागेको होईन । ठुलो घर बनाउँ, बाआमालाई त्यसमा राखुँ, सुखसयल दिउँ । तर बाआमाले कहिल्यै पनी मलाई त्यो कुरामा उत्साहित गर्नुभएन ।
रातभरी चुहिने घरकोे हैसियत बाट किन ठुलो घर र बंगला चाहियो ? सेतो जाँगेमा रातो टालो लगाएको मान्छेलाई अहिले किन चाहियो ब्राण्डेड कपडा ? जे छ त्यसैमा सन्तुष्ट हुन जाने सधै खुसी भईन्छ भन्ने कुरा मैले मेरो बाआमा बाटै सिकेको छु ।
खुसी र सुख दुई फरक फरक कुराहरु हुन् । सुख भएर पनी खुसी नहुन सकिन्छ, दुख भोगेर पनी खुसीसाथ बस्न सकिन्छ । दिनभरी भारी बोकेर कमाएको पैसाले साँझ चामल किनेर खुसी साथ परिवारमा रमाउन सकिन्छ । सिसैसिसाको महलको ७ तलामाथी नोकचाकरले बनाएको चौरासी व्यञ्जन खानेकुरा खाएर बस्दा सुखी त भईएला तर खुसी नहुन सकिन्छ ।
हिँजोका दिनमा “घर चामल सकिएको छ, छोराछोरीलाई के खुवाउने थाहा छैन । अलीकती पैसा सापट दिनुहोस् न ।” भनेर साहु संग पैसा सापटी लिन जाँदा साहुले तिर्न सक्दिने भनेर नसुनेझै गरेको दिन ममिले सम्झनुहुन्छ । अनी आजकल धेरैजसो दिन बिहान “यो सामुदायिक रेडियो मदनपोखरा हो, अव विजयकुमार बौडेलबाट विहान साढे ६ बजेको स्थानिय गतिविधी सुन्नुहोस् ।” भन्ने आफ्नै छोराको आवाज रेडियो तरंग बाट लाखौंको कान सम्म पुग्दा सारा खुसी त्यसैमा पाउनुहुन्छ ।
खुसी हुन सन्तुष्ट हुनुपर्छ । सेतो जाँगेमा रातो टालोले सिउँदा पनी खुसी हुन सकिन्छ, अर्बौको गाडिमा बसेर लाखौंको सुट लाउँदा पनी खुसी नहुन सकिन्छ ।
पाल्पा । जेठ १० – नेपाल विद्युत प्राधिकरण पाल्पा वितरण केन्द्रले अति बिपन्न घरमा विद्युत पुर्याउने सरकारको नीति अन्तर्गत पाल्पा जिल्लाभर अति बिपन्न तथा साँस्कृतिक महत्वका सम्पदाहरुलाई निःशुल्क मिटर जडान कार्यक्रमसञ्चालन गरिरहेको छ ।
बगनासकाली गाउँपालिका वार्ड नं. ६ यम्घाको दर्पुक गाउँको माझी बस्तीमा रहेका १५ जना अति विपन्न माझी परिवारको लागि निःशुल्क मिटर वितरण गरेको छ । माझी परिवारले विद्युत मिटरका साथै सर्विस केवुल समेत निःशुल्क पाएका छन् । पाल्पा वितरण केन्द्रका कार्यालय प्रमुख रामु श्रेष्ठले हालसम्म करिव ४ सय अति विपन्न र गरिव परिवारलाई निःशुल्क मिटर वितरण गरिएको बताउनुभयो । मिटर निःशुल्क प्राप्त गरे तापनि मासिक उठ्ने बिजुलीको बील भने उपभोक्ताले तिर्नुपर्ने हुन्छ । विजुलीको बिल तिर्न मोबाइलमा इ–सेवा राखी वा गाउँमै रहेको कम्प्युटर पसलबाट बिजुलीको बिल तिर्न सकिने व्यवस्था गरेको छ ।
माझी परिवारमा निशुल्क मिटर जडान गरेकोमा प्राधिकरणलाई धन्यवाद दिँदै बगनासकाली यम्घाका वडाध्यक्ष लक्ष्मी प्रसाद अधिकारीले गाउँपालिकाले समुदायलाई टिनको छानो छाउन सहयोग गर्ने बताउनुभयो । वितरण केन्द्रका प्रशासन प्रमुख चतुर्भुज गौतमले नागरिकता, जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि, फोटोसहित धरौटी रकम बुझाएपछि मिटर पाइने जानकारी दिनुभयो । मठमन्दिरलगायत साँस्कृतिक सम्पदाहरुको हकमा भने समितिको निर्णय र सिफारिस चाहिने पाल्पा वितरण केन्द्रले जनाएको छ ।