सामुदायिक रेडियो मदनपोखरा
spot_img
Home Blog Page 33

युवती बेच्ने अभियाेगमा पाल्पामा पक्राउ परेपछी औंला काटेर सिन्दुर हालेको नाटक

विजयकुमार बौडेल –
बोली । ८ जेठ – जिल्ला प्रहरी कार्यालय पाल्पाले मानव बेचबिखन तथा ओसारपसार कसुरमा भारतको विहार बेतिया बस्ने ३ जनालाई पक्राउ गरी अनुुसन्धान सुरु गरेको छ ।


गुल्मी जिल्लाको धुर्काेट गाउँपालिकाका तीन युवतिलाई विवाह गर्छांै भनेर ललाइफकाई प्रेमजालमा पारेर भारततर्फ लैजादै गरेको अवस्थामा पाल्पाको हार्थोकबाट पक्राउ गरेको हो । रिब्दीकोट गाउँपालिकाको वडा नं ३ हार्थोकबाट विहार बेतियाका २१ वर्षिय मनोहर कुमार, २० वर्षिय अभिजित कुमार र १९ वर्षिय कालु कुमार प्रकाउ परेका हुन् । पीडित युवतीहरु क्रमस २०, १५ र १४ वर्षका रहेका छन् ।


जिल्ला अदालत पाल्पाले मानव बेचबिखन तथा ओसारपसार कसुरमा अनुसन्धान गर्न अनुमति दिएपछि प्रहरीले हिरासतमा राखी थप अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले बताउनुभयो । पीडित युवतीहरुलाई भने उद्दार गरी आआफ्ना अभिभावक बोलाएर बुझाइएको छ ।


विन्दवासिनी मिष्ठान्न भण्डार तम्घासमा काम गर्दै आएका तीन जना केटाहरुले तम्घासकै विभिन्न होटलमा काम गर्ने ३ युवतीहरुलाई विवाह गर्ने वहानामा फसाएका हुन् । तम्घासबाट बुटवल जाने माइक्रोमा नाम ढाँटेर टिकट काटेका अभियुक्तहरुले प्रहरीले समाएपछि हात काटेर युवतीहरुलाई रगतको सिन्दुर लगाएको नाटक गरेका थिए ।

डुम्रे सहकारीले खोल्यो पसल, दुधमा बिचौलियाको अन्त्य

सहकारी पसल

पाल्पा । डुम्रे दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड पाल्पाले तानसेन नगरपालिकामा दुध बिक्री पसल आरम्भ गरेको छ ।


गोठदेखि ओंठसम्म दुधमा शुद्धता, सहकारीको प्रतिवद्धता भन्ने नारासहित सहकारीले आजदेखि तानसेन सिल्खानटोलमा पसल खोलेको हो । सहकारी दुध बिक्री पसलमा दुध, दही, घ्यू, पनिर, कुराउनी, छुर्पीलगायतका दुग्ध जन्य पदार्थ बिक्री वितरण गरिने डुम्रे दुग्ध उत्पादक सहकारी संस्थाका व्यवस्थापक गोपाल जीसीले बताउनुभयो ।


सहकारीले आफै पसल खोलेपछि किसानले बिक्रीका आधारमा थप वोसन रकम पाउछन् भने उपभोक्ताले गुणस्तरीय दुध पाउनेछन् । नेपाल सरकारले तोके वमोजिमकै मूल्यमा प्रतिलिटर गाईको दुध ७० र भैंसीको ८० रुपैंयामा बिक्री गरिने व्यवस्थापक जीसीले जानकारी दिनुभयो । सहकारीले ५०\५१ मा गाईको र ६०\६२ मा भैंसीको दुध किसानबाट उठाउँदै आएको छ ।
डुम्रे दुग्ध उत्पादक सहकारी संस्थामा ५ सयभन्दा बढी गाई भैंसीपालन गर्ने किसानहरु आवद्ध छन् ।

सहकारीले १५ जनालाई प्रत्यक्ष रोजगारी दिएकोमा यो पसल आरम्भ गरेसँगै थप ३ जनालाई प्रत्यक्ष रोजगारी दिन थालेको छ । सहकारीले तानसेनमा पसल राखेपछि कार्यक्षेत्र पनि बिस्तार गरेको छ । बौघापोखराथोक चिउडीको चिनारी समूहका किसानहरुले डुम्रे सहकारीलाई दैनिक ५ सय लिटर दुध दिन थालेको छ । प्रदेश र स्थानीय सरकारसँगको सहकार्यमा दुधलाई प्रशोधन गरी बजारमा ल्याउने तयारी पनि सहकारीले गरेको छ ।


आफूले उत्पादन गरेको दुध आफै शेयर सदस्य रहेको सहकारीले बजारमा बिक्री वितरण गर्न थालेपछि गाई भैसीपालन गर्ने किसानहरु औधी खुशी भएका छन् । पसल खोलेसँगै वास्तविक किसानले वोनस धेरै पाउने भएका छन् भने बीचमा व्यापारीले खाने नाफा पनि किसानलाई नै प्राप्त हुने भएको छ ।

पाल्पामा किसानलाई पर्याप्त मल उपलब्ध

विजयकुमार बौडेल –
बोली । १ जेठ – अधिकांश स्थानमा मलको हाहाकार भईरहेको बेला पाल्पाका किसानले तरकारी, मकै र धानमा पर्याप्त मल प्रयोग गर्न पाएका छन् ।


पाल्पाका किसानले आवश्यक परेको बेला मलको अभाव भोग्नु परेको छैन । जमिन बाँझो राखे जरिवानाको निति बनाउने चर्चा चलिरहेको बेला किसानलाई उत्पादनमा सघाउन समयमै पर्याप्त मलको व्यवस्था छ । अघिल्लो बर्ष पाल्पामा कृषी सामग्री कम्पनी लिमिटेड उपसाखाले गाउँगाउँका ५७ सहकारीहरु मार्फत डिएपी, युरिया र पोटास वितरण गरिरहेको थियो । मल विक्रि गर्नको लागी हरेक सहकारीले कृषी सामग्री कम्पनी लिमिटेडमा विक्रेता नविकरण गर्नुपर्छ । पाल्पामा अघिल्लो बर्ष बिक्रि गरिरहेका ५७ सहकारी मध्ये १२ सहकारीले नविकरण गरेका छैनन् । अन्य बाँकीले नविकरण पश्चात बिक्रि गरिरहेका छन् ।


किसानलाई प्रोत्साहन गर्न सरकारले मल खरिदमा ४७ प्रतिशत अनुदान दिने व्यवस्था छ  । जसअनुसार कृषि सामग्री केन्द्रले खरिद गरि आआफ्नो डिपोबाट गाउँगाउँका सहकारीलाई बिक्री गर्छ । पाल्पा उपसाखामा अहिले सम्म १५० टन डिएपी, १५० टन युरिया र १० टन पोटास सञ्चित रहेको उपसाखा कार्यालयका प्रबन्धक सुमन पन्थीले जानकारी दिनुभयो । “अहिले मकै खन्ने बेला हो, यो बेला युरियाको एकदमै धेरै माग हुन्छ ।” प्रबन्धक पन्थीले भन्नुभयो । “अन्य जिल्लामा त अहिले अति हाहाकार छ । अली बेलैमा सोंचेर सञ्चित गरेको भएर यो बर्षलाई पुग्छ भन्नेमा ढुक्क छु ।”


कृषी सामग्री कम्पनी लिमिटेडबाट सहकारीहरुले डिएपी प्रतिकिलो ४३.८७ रुपैंया, युरिया प्रतिकिलो १४.८७ रुपैंया र पोटास प्रतिकिलो ३१.८७ रुपैंयामा खरिद गर्ने गर्दछन् । तानसेन नगरपालिका वडा नं. ९ दमकडाको उद्यमशिल कृषक बहुउद्देशिय सहकारी संस्था लिमिटेडका अध्यक्ष देवराज अर्यालले आफ्नो सहकारीले लोड, अनलोड र ढुवानी खर्च मात्र जोडेर उपभोक्तालाई बिक्रि गर्ने बताउनुभयो । “हामी ढुवानी, लोड र अनलोडको बाहेक अरु एक पैसा पनी किसान बाट लिँदैनौ ।” अध्यक्ष अर्यालले भन्नुभयो । “हामीकहाँ गोदामको समस्या छ । १०० बोरा मात्र अट्छ, त्यही पनी किसानलाई समस्या नहुने गरि व्यवस्थापन गरेका छौं ।”


उद्यमशिल कृषक बहुउद्देशिय सहकारी संस्था लिमिटेड बाट अहिले किसानले चाहिएजती मल पाएका छन् । किसानले उद्यमशिल सहकारी बाट डिएपी प्रतिकिलो ५०, युरिया २२ र पोटास ३५ रुपैंयामा प्राप्त गर्छन ।


किसानहरुले मल नपाएर महंगो दरमा व्यापारिक एग्रोभेट बाट किनेर हाल्नु परेको छैन । सरकारको अनुदानमा पर्याप्त मल पाउँदा पाल्पामा यो बर्ष उत्पादन समेत बढ्ने अनुमान गरिएको छ । अनुदानमा पर्याप्त मल पाएपनी भारतबाट तरकारी आउँदा उत्पादित तरकारीले मुल्य भने नपाउने किसानहरुको गुनासो छ ।

तानसेन नगरपालिकाकाे ८० प्रतिशत याेजना सम्पन्न हुँदा १५ प्रतिशत मात्र फरफारक

विजयकुमार बौडेल –
बोली । १ जेठ – तानसेन नगरपालिकाको चालु आर्थिक बर्षका योजनाहरु मध्ये ८० प्रतिशत याेजना सम्पन्न भएपनी १५ प्रतिशत मात्र योजना पुर्ण रुपमा फरफारक भई सम्पन्न भएका छन् ।


कुल ५ सय ३१ योजना मध्ये ८० वटा योजना मात्र पुर्ण रुपमा सम्पन्न भएका हुन् । जसमध्ये ८ वटा योजनाको सम्झौता हुन बाँकी नै छ । अधिकांश योजनाहरु सम्पन्न भईसकेका र कागजी रुपमा मात्र फ¥छ्यौट हुन बाँकी रहेको तानसेन नगरपालिकाका योजना अधिकृत भरत आचार्यले जानकारी दिनुभयो । भौतिक पुर्वाधार तर्फका धेरैजसो योजना सम्पन्न भईसकेको भएपनी कागजी प्रक्रिया पुरा नभएको कारणले सम्पन्न प्रतिशत कम देखिएको अधिकृत आचार्यले बताउनुभयो ।


तानसेन नगरपालिकाका नगरप्रमुख असोक कुमार शाहीले उपभोक्ता समितिका पदाधिकारीहरु आर्थिक बर्षको अन्तिममा आएर मात्र कार्यको गती बढाउने गरेको भन्दै यो बर्ष कती कार्य सम्पन्न हुन्छ भनेर यो महिनाको अन्तिममा मात्र भन्न सकिने बताउनुभयो । सबै उपभोक्ता समितिहरुलाई समयमै कार्य सम्पादन गर्न अनुरोध गर्दै शाहीले जेष्ठ महिना भित्रै सबै योजना सम्पन्न गर्ने गरि कार्य गरेको बताउनुभयो ।


तानसेन नगरपालिका र प्रदेश सरकारको लगानीमा बतासेडाँडा देखी सिमलबोट, बौघागुम्बा छेर्लुङ देखी कालीगण्डगी करीडोर मोटरबाटो, प्रदेशको एकल लगानीमा श्रीनगर डबली, नगरपालिका र सांसद विकास कोषको लगानीमा नयाँपाटी सारेम दमकडा मोटरबाटो, सेतीपोखरी गुफाचौर मोटरबाटो सञ्चालनमा रहेका छन् । यि सबै योजनाहरु बहुबर्षिय योजना हुन् । ३ बर्षभित्र सम्पन्न हुने गरि सबै बहुबर्षिय योजनाहरु सञ्चालनमा रहेको नगरप्रमुख असोक कुमार शाहीले बताउनुभयो ।


त्यस्तै तानसेन नगरपालिका र प्रदेश सरकारको संयुक्त लगानीमा टुँडिखेल स्तरोन्नतीको कार्य सञ्चालन भईरहेको छ । टुँडिखेल स्तरोन्नती बहुबर्षिय योजना अव आउने आर्थिक बर्षमा सम्पन्न हुने गरी कार्य भईरहेको तानसेन नगरपालिकाले जनाएको छ ।

विस्तारित नेकपा जिल्ला समितिमा अनुभवी युवाहरु छुटेको गुनासो

विजयकुमार बौडेल –
बोली । ३० बैसाख – नेकपा पाल्पाले १४५ सदस्यिय जिल्ला समितिको टुङ्गो लगाएपनी कार्यकर्ता पङ्तिले भने अनुभवी र सक्रिय युवाहरु छुटेको गुनासो गरेका छन् ।


लामो समयको छलफल र अन्र्तक्रिया पछी जिल्ला समितिको टुङ्गो लगाएकोमा धन्यवाद दिँदै युवा नेताहरुले छुटेका थप केही युवाहरु समितिमा आउनुपर्ने बताएका छन् । केही दिन अघि नेकपा पाल्पाको अध्यक्षमा प्रदेश सांसद नारायण आचार्य र सचिवमा गिर बहादुर थापा मनोनित हुनुभएको थियो । त्यसपछी नेकपा पाल्पाले साविक माओवादी र एमालेका विभिन्न पक्ष संग छलफल र अन्र्तक्रिया गर्दै आएको भएपनी धेरै युवाहरु समेटिन नसक्नु दुखद भएको युवा नेताहरुको भनाई छ ।


नेकपाका नेता तथा संघिय सांसद सोम प्रसाद पाण्डेयले जागरूक, सशक्त, सचेत, देशभक्त र गतिशील युवा जमातको खाँचो भएको भन्दै छुटेका युवाहरुलाई विभिन्न जिम्मेवारी दिएर सक्रिय बनाईने बताउनुभयो । नेता पाण्डेयले राजनीतिक, सामाजिक र सांस्कृतिक रूपान्तरणका अग्रणी युवा शक्ति नै भएको बताउँदै देशमा भएका ठूल्ठूला परिवर्तनहरूमा तिनै साहसी र सचेत युवाकै संलग्नता रहेको कुरा नेकपाले कहिल्यै नविर्सने बताउनुभयो । हरेक सङ्घर्षका अग्रीम मोर्चामा उच्च साहस र बलिदानी भावका साथ अग्रसर युवाहरूलाई अन्य दलले जस्तो बैशाखी मात्र बनाउने सोंच नेकपामा नरहेको नेता पाण्डेले बताउनुभयो ।


नेकपा पाल्पाका युवा नेता गुरास आत्रेयले सिंगो समितिमा युवाहरुको सङ्ख्या धेरै भएपनी जिल्लामा सक्रिय अझै धेरै युवाहरु समितिमा छुटेको बताउनुभयो । नेता आत्रेयले जातीय, क्षेत्रीय, लैङ्गिक, भाषिक तथा वर्गीय उत्पीडनबाट मुलुकलाई मुक्त पार्न नवीन सोच र उत्साह बोकेका युवाहरूको जरूरत पर्ने बताउँदै नयाँ सोच, संस्कार, चेतना र संस्कृतिको उपयुक्त फ्युजनबाट मात्र समाज परिवर्तनको ढोका खोल्न सकिने बताउनुभयो ।


नेकपाका जिल्ला नेता तुल बहादुर अधिकारीले लामो समय देखी छलफल र अन्र्तक्रिया गरेर समितिको टुङ्गो लगाएकोमा नेतृत्वलाई धन्यवाद व्यक्त गर्दै नागरिकको पक्षमा काम गर्ने समिति बनेको बताउनुभयो । नेता अधिकारीले निराश भएका युवालाई भविष्यप्रति आशा जगाउने वातावरण, सीप सिकाइको अवसर, पेसा, व्यवसाय सञ्चालनका लागि आर्थिक सहायता, सामूहिक कार्यवातावरणको सिर्जना, युवा वर्गको क्षमताको उपयोग, क्षमता र दक्षता अभिवृद्धि, रूचिअनुसारको कार्यअवसर तथा लगानीको वातावरण निर्माण गरेर युवालाई राष्ट्रको विकासमा प्रयोग गर्नुपर्छ ।


समितिमा महिलाहरुको सङ्ख्या त कम छ नै । युवा महिलाहरुको सङ्ख्या भने अझै कम देखिन्छ । अन्य राजनैतिक दलहरुको तुलनामा भन्दा धेरै युवाहरुलाई जिल्ला समितिमा समावेश गरिए पनी सन्तुष्ट हुने अवस्था भने नभएको युवा नेताहरुको गुनासो छ ।

हार्थोक बतासे सडक चौडा हुँदा स्थानिय उत्साहित

विजयकुमार बौडेल –

बोली । २३ बैसाख – रिब्दीकोट गाउँपालिकाको हार्थोक देखी बतासे मैदिया सम्म ८ मिटर बाटो फराक्ने कार्य सुरु भएपछी उपभोक्ताहरु उत्साहित भएका छन् ।

सांसदलाई विकास निर्माणको बजेट छुट्याउन हुन्न, सांसद विकासको रकम सदुपयोग नभई कार्यकर्तालाई बाँडिन्छ, सांसदले विकासको बजेट चलाउने नभई नितिगत काम मात्र गर्ने हो जस्ता कुरा विभिन्न सरोकारवालाहरुले गर्दै आईरहेको सुनिन्छ । तर यती बेला पाल्पा क्षेत्र नं. २ का सांसद सोम प्रसाद पाण्डेयले निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम अन्र्तगत हार्थोक छहरा सडक फराक्न छुट्याएको बजेटको यतीबेला चौतर्फी प्रशंसा भईरहेको छ ।

निर्वाचन क्षेत्र पुर्वाधार विकास अन्र्तगतको ५० लाख रुपैंया बजेटले पहिले साँघुरो र अप्ठेरोे भएको बाटोलाई गाउँपालिकाले ८ मिटर चौडा गर्ने निर्णय गरेपछी सरोकारवाला उपभोक्ताहरु उत्साहित भएका हुन् । बाटो साँघुरो भएकाले सवारी चलाउन अत्याधिक जोखिम हुने गरेको पालुङमैनादीका चालक गणेश ठडराईले बताउनुभयो । “साँघुरा घुम्टीहरुले कयौं पटक ससाना दुर्घटना भएको छ ।” चालक ठडराईले भन्नुभयो :–“गाउँपालिकाले बाटो फराक्ने निर्णय गरेर दुर्घटनाबाट अकालमा हुने जनताको जिउधन जोगाउने दिर्घकालिन निर्णय गरेको छ ।”

गाउँपालिकाले ८ मिटर बाटो फराक्ने निर्णय गरेपछी उपभोक्ता मार्फत बर्खा नलाग्दै काम सक्ने लक्ष्य सहित काम भईरहेको रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसीले बताउनुभयो । “८ मिटर बाटो चौडा बनाउने विषयमा कुनैपनी ठाउँबाट विरोध आएको छैन ।” अध्यक्ष जिसीले भन्नुभयो :– “बाटो चौडा गर्ने कुरा सुनेर सबै उपभोक्ता खुसी भएका छन् । सबैले आफ्नै लागी हो भनेर अपनत्वको महसुस गरेका छन् ।”

हार्थोक देखी बतासे मैदिया सम्म विभिन्न ७ ठाउँबाट बाटो फराक्ने काम भईरहेको छ । गाउँपालिकाले नागरिकहरुको सहमती र सहभागितामा ९ किलोमिटर बाटो फराक्ने कार्य गरिरहेको छ । ३ मिटर ७५ सेन्टिमिटर मात्र चौडाई भएको यो बाटो ट्राफिक चाप थेग्न सक्ने अवस्थामा थिएन ।

संघिय सांसद सोम प्रसाद पाण्डेयले साँघुरो बाटोको कारणले अत्याधिक दुर्घटना हुने बाटोलाई दिर्घकालिन सोंचका साथ पर्यटनको विकास गर्ने उद्देश्यले बाटो फराक्ने योजना अघी सारिएको बताउनुभयो । “बाटो फराक्ने काम अव १५ दिनभित्रै सक्ने लक्ष्य रहेको छ ।” सांसद पाण्डेयले भन्नुभयो :– “दिर्घकालिन रुपमा यो बाटो धेरै व्यस्त सडक हुने भएकाले अहिल्यैदेखी योजना बनाएर फराक्ने कार्य गरिएको हो । नागरिकहरुको साथले विकास निर्माणको काममा थप हौसला मिलेको छ ।”

संघिय सांसद सोम प्रसाद पाण्डेय

पुर्व सांसद यादव बहादुर रायमाझिले हार्थोक छहरा सडक २०२४ सालमा जनश्रमदानबाट सुरु गरिएको बताउनुभयो । रायमाझीले पछी स्विस जर्मन सहयोगबाट हरित सडकको रुपमा विस्तार गरिएको र अहिले त्यसलाई आवश्यकता अनुसार विस्तार गरिएको बताउनुभयो ।

पालुङ्मैनादीका भिम बहादुर सार्कीले बाटो फराक्ने निर्णय लगत्तै सुरु भएको कामले रिब्दीकोट गाउँपालिकाको विकास तिब्र गतिमा हुने छनक देखिएको बताउनुभयो । “बाटो साँघुरो भएकाले घर छेंउ बालबालिका खेलिरहेको बेला गाडिले दुर्घटना गर्ने जोखिम उच्च हुन्थ्यो ।” सार्कीले भन्नुभयो :–“हाम्रो अलीकती जग्गा जाँदा बाटो चौडा हुन्छ, दुर्घटनाको जोखिम घट्छ, हाम्रै क्षेत्रको विकास हुन्छ, पर्यटनको विकास हुन्छ भने किन नगर्ने ?”

बाटो चौडा गर्ने गाउँपालिकाको निर्णय नागरिककै हितमा भएको भन्दै आवश्यक सहयोग रहने स्थानियवासीले बताएका छन् । स्थानिय तहको विकास निर्माण सम्बन्धि सकारात्मक कदमलाई समर्थन गर्दै उपभोक्ताहरु आफ्नो लालपुर्जा नै काटेर दिन तयार भएका छन् । पश्चिम रोल्पा सम्म जाने मध्य भागको बाटो हार्थोक छहरा पर्ने भएकाले पनी यो बाटोलाई महत्वका साथ हेरिएको छ ।



भेडे खुर्सानी बेचेर एक कराेड कमाउने लक्ष्य छः पन्त

बोली । २२ बैशाख – रैनादेवीछहरा गाउँपालिका सिद्देश्वरका सुदर्शन पन्तले वार्षिक १ करोड रुपैँया आम्दानी गर्ने लक्ष्यका साथ भेडे खुर्सानी खेती गर्नुभएको छ ।


पाल्पाको सिद्देश्वर जस्तो दुर्गम भेगमा तरकारीले ढाकिएको बारी र टिप्ने बेला भएका पोटिला भेडे खुर्सानी देख्दा जो कोहीलाई पनि पन्तको मेहनत र पौरखलाई सम्मान गर्न मन लाग्छ । श्रमप्रतिको भावनालाई स्याबास भन्न मन लाग्छ । पन्तले एन्टी हेल स्ट्रोन नेट अर्थात् असिनापानीबाट जोगिने जालीको प्रयोग गरी करिव ५० रोपनी बारीमा भेडे खुर्सानी लगाउनुभएको हो । गत वर्ष असिनापानीले ठूलो ५० लाखभन्दा बढी उत्पादनमा क्षति पु¥याएपछि पन्तले असिनापानीबाट जोगिने जालीको प्रयोग गरी खेती गर्नुभएको हो ।


कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख किशोरमान श्रेष्ठले पाल्पामा प्रदेश सरकारबाट कृषितर्फ ६ जनाले अनुदान पाएकोमा सुदर्शन पन्तको फर्म उत्कृष्ठ रहेको बताउनुभयो । ज्ञान केन्द्रका प्रमुख श्रेष्ठले सफल कृषकले कसरी उत्पादन र बजारीकरण गर्न सक्दछन् भन्ने कुराका लागि पन्तको खेती हेर्नलायक रहेको छ भन्नुभयो । २९ वर्षका पन्तले ५ नं. प्रदेशको कृषि अनुदान कोष कार्यक्रमअन्तर्गत् कृषि ज्ञान केन्द्र पाल्पाबाट १० लाख रुपैंया अनुदान पाउने हुनुभएको छ ।


यसैगरी तानसेन १४ अर्गली रविदासका निर्मल रानाले १५ लाख रुपैँया आम्दानी गर्ने लक्ष्यका साथ तरकारी खेती गर्नुभएको छ । ३५ वर्षका रानाले निमिसा कृषि फार्म दर्ता गरी करिव २५ रोपनी खेतमा तरकारी लगाउनुभएको छ । मल्चिङ प्रविधिको प्रयोग गरेर काँक्रो, भिण्डी, सिमी र बोडी लगाएको उहाँले जानकारी दिनुभयो ।


धेरै खेतारा नचाहिने, उकेरा लगाउन नपर्ने र उत्पादन धेरै लिन सकिने भएकाले २ लाख रुपैँयामा मल्चिङ मेशिन खरिद गरेर खेती गर्न सुरु गरेको उहाँको भनाई छ । खेती गर्दा बाँस, डोरी, ज्यालादारी श्रमिक र ढुवानीमा धेरै लगानी गर्नुपर्ने कृषक रानाको भनाई छ । एसएलसी पास गरेपछि लाहुरे हुने रहर गर्नुभएका रानाले असफलतापछि केही समय पुस्तक तथा स्टेशनरी व्यवसाय गर्नुभएको थियो । वैदेशिक यात्राको सोंच छोडेर तरकारी खेतीमा प्रवेश गर्नुभएका राना अहिले जिल्लामा सफल युवा कृषकको पहिचान बनाउनुभएको छ ।


प्रदेश सरकारको कार्यक्रम देखिएन भन्ने गुनासो आइरहेका बेला कृषि अनुदानका लागि छनौट भएका किसानहरुले आफूहरु उत्साहित बनेको बताएका छन् । पाल्पामा यस वर्ष सिद्देश्वर, अर्गली, रामपुर र पूर्वखोलाका ६ कृषकले प्रदेशको अनुदान पाएका छन् । खेतीको प्रकृति र उत्पादन हुने क्षेत्रका आधारमा किसानले ४ देखि १० लाख अनुदान पाउने छन् । पैसा कमाउन विदेशै जानुपर्छ भन्ने मान्यता बोक्ने युवाहरुका लागि सुदर्शन पन्त र निर्मल राना जस्ता युवा उद्यमीका फार्म एउटा महत्वपूर्ण पाठशाला बनेका छन् ।

चिर्तुङधाराका विष्णुबहादुरकाे घरमा आगलागी

दिपक ढुङ्गाना,
बोली । बैशाख १९ – बगनासकाली गाउँपालिका १ चिर्तुङधारा, घुगुरेडाँडाका बिष्णु बहादुर दिशाको घरमा आगलागी भएको छ ।

राहत वितरण गर्दै उपाध्यक्ष सरस्वती चिदी


आगलागीबाट क्षति भएको थाहा पाएपछि गाउँपालिकाका उपाध्यक्ष सरस्वती चिदी र प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठ आगलागी प्रभावितको घर पुग्नुभएको छ । गाउँपालिकाको गाउँस्तरीय प्रकोप व्यवस्थापन समितिले स्थलगत अवलोकन गरी पीडित परिवारलाई राहत सामग्री प्रदान गरेको छ । उपाध्यक्ष चिदीसहितको टोलीमा वडाअध्यक्ष सोमबहादुर झेंडी, टीका थापा र लक्ष्मी अधिकारी सहभागी हुनुहुन्थ्यो ।

पीडित परिवार राहत सामग्री देखाउँदै

घरमा कोही मान्छे नभएको बेलामा हिजो राती सवा ८ बजे आगो लागेको पिडित बिष्णु बहादुर दिशाले बताउनुभयो । आगोमा परी घरभित्र रहेको १५ वटा कुखुरा जलेर मरेका छन् । नगद दुई लाख पच्चीस हजार, अन्न, कपडा, भाडाकुडा, टेलिभिजन लगायत तलमाथि तलामा रहेको सबै सामान जलेर नष्ट भयको छ । छिमेकीको हारगुहार पछि माथिल्लो तला र त्यसमा भएको सरसामान जोगाउन सफल भयका छन् ।


स्थानीय बासिन्दाले आगलागीबाट करिव १४\१५ लाख क्षति भएको प्रारम्भिक अनुमान गरेका छन् ।

सही दर्शन र विचारबाट अभिप्रेरित लेख रचनाको खाँचो

बोली । बैशाख १८ – प्रगतिशील लेखक संघ, पाल्पाको आयोजनामा प्रगतिशील साहित्य लेखन तथा संस्कृति निर्माण विषयक एक दिने गोष्ठी तानसेनस्थित पुष्पलाल स्मृति पुस्तकालयको सभाकक्षमा सम्पन्न भएको छ ।

गोष्ठीमा प्रगतिशील साहित्य सृजना तथा संस्कृति निर्माणका प्रयास विषयक अवधारणा पत्र प्रस्तुत गर्दै प्रगतिशील लेखक झपेन्द्र जिसीले समाजको सकारात्मक परिवर्तनका लागि सही दर्शन र विचारबाट अभिप्रेरित गर्ने लेख रचनाको आवश्यकता रहेको बताउनुभयो । उहाँले जीवन र जगतका बारेमा अध्यात्म तथा विलासी सौन्दर्यका आधारमा निर्मित बुर्जुवा साहित्यले समाजलाई असल मार्ग निर्देशन गर्न नसक्ने बताउनुभयो । उहाँले प्रगतिशील साहित्यको साझा मञ्चबाट विकसित हुँदै प्रगतिवादतर्फ अग्रसर हुन सबैलाई आग्रह गर्नु भयो ।

गोष्ठीमा प्रस्तुत अवधारणा पत्रमाथि टिप्पणी गर्दै राजनैतिक विश्लेषक नुरराज बस्यालले साहित्यकार तथा लेखकहरूले समाजको गतिशील रूपान्तरणका लागि आवाज उठाउने र यस्का लागि दार्शनिक र वर्गीय चेतनाका आधारमा समाजवादतर्फ उत्प्रेरित गर्ने गरी रचना गर्नुपर्ने बताउनुभयो । अर्का टिप्पणीकार नारायण ढकालले माक्र्सवादको विविध पक्षबाट विश्लेषण गर्दै प्रगतिशील लेखक एवम् साहित्यकारहरूमा दार्शनिक स्पष्टताका आधारमा लक्षित वर्गको समुन्नत विकासमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।

गोष्ठीमा सहभागी हुँदै प्रदेश सांसद नारायण आचार्य, नेताहरू नारायणी शर्मा, राजेन्द्र विश्वकर्मा, विशाल दर्लामी, साहित्यकारहरू रामप्रसाद अर्याल, नारायण अधिकारी, सीताराम घिमिरे, गुणवति केसी, गोम बहादुर क्षत्री लगायतले साहित्य र लेखनका साथसाथै सांस्कृतिक आचरण तथा जीवनशैली समेत प्रगतिशील र प्रगतिवादी आदर्श उन्मुख हुनुपर्ने बताउनुभयो । साथै वक्ताहरूले विश्व कम्यूष्टि आन्दोलन तथा नेपालको वर्तमान सरकारका बारेमा समेत समीक्षा एवम् टिप्पणी गरेका थिए ।

कार्यक्रम प्रगतिशील लेखक संघ पाल्पाका सदस्य सोमनाथ अर्यालको अध्यक्षता र चतुर्भुज नेपालको सञ्चालनमा सम्पन्न भएको थियो ।

श्रम गर्ने भोकै, श्रमिक दिवस नेतालाई राजनिती


विजयकुमार बौडेल –
बोली । १८ बैसाख – दैनिक १२ घण्टा भन्दा धेरै समय काम गर्ने वास्तविक श्रमिकहरुले पत्तो नपाईकन अन्तराष्ट्रिय श्रमिक दिवस सम्पन्न भएको छ ।

औपचारिक रुपमै विदा दिई सरकारी तथा गैह्रसरकारी संस्थाहरुले रकम खर्चेर औपचारिक तथा अनौपचारिक कार्यक्रम गरेर श्रमिक दिवस मनाएका छन् तर वास्तविक श्रमिकहरुलाई श्रमिक दिवसको पत्तो छैन् । हिँजो बिहानै हातमा नाम्लो लिएर भारी बोक्न पाईन्छ कि भनेर तानसेन बसपार्क आईपुग्नुभएका मान बहादुर विकले भन्नुभयो :–“बजार नै सुनसान छ, भारी बोक्न पनी पाईएन । खै के को बन्द छ रे । सरकारी कार्यालय नखुल्दा बजारमा मान्छे नै आउन्नन् ।” मलिनो हुँदै विकले भन्नुभयो :–“भारी बोकाउने साहु पाईएन भने साँझ घरका चिचिलालाई खै के खुवाउने हो ।”
तर प्रमुख राजनीतिक दल सम्बद्ध मजदूर संगठनहरुले भने सदरमुकाममा अलग अलग सभा, भाषणबाजी र गोष्ठी गरि अन्तराष्ट्रिय श्रमिक दिवस मनाएका छन् ।


नेकपा निकट अखिल नेपाल ट्रेड युनियन महासंघ र नेपाली काँग्रेस सम्बद्ध नेपाल ट्रेड युनियन काँग्रेसले भिन्ना भिन्नै कार्यक्रम गरी १ सय ३० औ अन्तराष्ट्रिय श्रमिक दिवस मनाएका हुन् । सदरमुकाममा श्रमिक दिवस मनाउनेहरुमा अधिकांश व्यक्ति व्यापारी र राजनैतिक दलका नेताहरु छन् ।
उद्योग, प्रतिष्ठान, व्यवसाय र श्रमिकको सूचिकरणलाई कडाईका साथ अघि बढाउन पनि सरकारले मजदूरहरुको न्युनतम पारिश्रमिक १३ हजार ४ सय ५० रुपैयाँ निर्धारण गरेको छ । तर मासिक ८/१० हजार समेत नकमाउने श्रमिकहरुलाई श्रमिक दिवसको बारेमा थाहा नै छैन ।

ज्यालामजदुरी गरेरै ५ जनाको परिवार जेनतेन पालिरहेका तानसेन ९ का पुर्ण बहादुर रुचालले भन्नुभयो :–“जे जे दिवस भएपनी काममा नगई साँझ खान छैन । दुखीका दिन कहिले सकिएला र खै ?” निन्याउरो हुँदै रुचालले भन्नुभयो :–“जुन सरकार आएपनी हामीलाई सधै उस्तै । हाडछाला नघोंटी हातमुख जोर्न पुग्दैन ।”
विश्वका मजदुरले यो दिवसलाई विशेष पर्वका रुपमा लिँदै गुणस्तरीय जीवन बिताउन आफ्ना सुविधाको समयानुकूल बढोत्तरी तथा आफ्ना अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् तर नेपालमा रोजगारदाता, उद्योगी, व्यापारी र राजनैतिक दलका नेताहरुलाई मात्र श्रमिक दिवस लागेको छ ।


सरकारले सामाजिक सुरक्षा योजनामा सहभागी हुने श्रमिकले औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना र अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना अन्तर्गत आर्थिक सहायता प्राप्त गर्ने गरि कार्यक्रम अघी सारेको छ । तर ५ नं. प्रदेशका १ प्रतिशत भन्दा कम रोजगारदाताले मात्र सामाजिक सुरक्षा योजनामा आफ्नो संस्थालाई प्रक्रियामा लगेका छन् ।


आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग गर्दै अमेरिकाको शिकागो शहरमा मजदूरहरुले गरेको प्रदर्शनका क्रममा ज्यान गुमाएका चार जना श्रमिकको सम्झनामा सन् १८८९ को मे १ देखि विश्व मजदूर दिवस मनाउन थालिएको थियो । तर अझैपनी नेपालमा श्रमिकहरुको अवस्था दयनिय रहेको छ । शिक्षा, स्वास्थ्य, आवास लगाएतका विषयमा श्रमिकहरुको अवस्था नाजुक छ ।