सामुदायिक रेडियो मदनपोखरा
spot_img
Home Blog Page 34

विवाहको जीप दुर्घटना, पाँच जनाको ज्यान गयो

बाेली । बैशाख १७ – पाल्पाको निस्दी गाउँपालिका–७ चारघरे नजिकैको भीरबाट लु १ ज १९४१ नम्बरको जीप खस्दा पाँच जनाको घटनास्थलमै ज्यान गएको छ ।
गाडीको गति नियन्त्रण नभएको थाहा पाएर हामफालेका २६ वर्षका रिम बहादुर घर्ती बाँच्न सफल भएका छन् । जीप दुर्घटनामा परेर दुलाहाका बाबु ५८ वर्षका सन्तबहादुर सारुको ज्यान गएको छ । बेहुला र बेहुली दुलहीको माइतीमा छाडेर जन्ती लिएर फर्कंदै गरेको जीप बीच बाटोमै दुर्घटनामा परेको हो । हुवासबाट भिरपानी तर्फ जाँदै गरेको जन्ती बोकेको जीप साँझ ५ः३० बजे दुर्घटनामा परेकोे थियो । जीप सडकबाट ३ सय ५० मिटर तल खसेको छ ।
दुर्घटनामा परि निस्दी गाउँपालिका–७ चारघरेका अन्दाजी ४६ वर्षका खड्गबहादुर सोमै, ५६ वर्षीय देविलाल खन्गाह, बेहुलाका बुबा ५८ वर्षका सन्तबहादुर सारु, ४६ वर्षीय लालबहादुर सारु र निस्दी गाउँपालिका–५ गल्धाका अन्दाजी २६ वर्षका चालक बुद्धिबल सोतीको ज्यान गएको प्रहरीले जनाएको छ ।


हिजोको विवाह मण्डप, आजको काजक्रिया स्थल
हुवास गाउँका २२ वर्षीय श्यामबहादुर सारु र सोही गाउँपालिका वडा नम्बर ४ मित्याल भीरपानी गाउँकी अन्दाजी २२ वर्षीया लालमाया वयम्बु मगर (सारु) बीच लामो समयदेखिको प्रेम सम्बन्ध थियो । श्यामबहादुर वैदेशिक रोजगारीका लागि ओमनमा गएका थिए । सो वडाका वडा सदस्य एवं उक्त विवाहमा जन्ती गएका लालबहादुर सारुका अनुसार श्यामबहादुर चैत २० गतेतिर घर आए । यही वैशाख ९ गते श्यामबहादुरले प्रेम गरेर मायालाई विवाह गरी ल्याए । केटाकेटी दुवै पक्षका परिवारबीच हार्दिकता बढ्यो । फलतः वैशाख १६ गते सोमबार विधिवत विवाहको साइत जुर्यो । दुर्भाग्य ढोगभेट फुकाएर दुलहीको घरबाट हिँडेको आधा घण्टा नबित्दै विवाहको जीप भीरबाट पल्टियो । बेहुलाबेहुली बाँचे पनि उनीहरुले नवजोडीले दुर्घटनामा बाबु भने गुमाएका छन् । बेहुला श्यामबहादुरका बाबु सन्तबहादुर सारुको दुर्घटनामा मृत्यु भयो ।
हिजो जग्गेमा रहेका बेहुला आज क्रिया गर्न बाध्य छन् । मण्डप स्थल काजक्रिया स्थल बनेको छ । जन्तीहरु मलामी बनेका छन् । पोष्टमार्टमको रिर्पोटपछि दाहसंस्कार गर्न जानेछन् ।

खुशी एकैछिनमा पीडामा परिणत
निस्दी गाउँपालिका वडा नं.४ हुवासका सन्तबहादुर सारुको घर सोमबार बिहान हर्ष र उल्लासको सीमा थिएन । छोरा श्यामबहादुरको विवाहको ढोगभेट फुकाउने दिन भएकाले सन्तबहादुरको परिवारमा खुशी छाउनु स्वाभाविक थियो । बिहानैदेखि सिँगारपटार गरेर जन्त जानेहरुको चहलपहल हुने नै भयो । भोज भतेरको तयारी पनि चल्दै थियो । एक हप्ताअघि प्रेम विवाह गरेका श्यामबहादुरको विधिवत विवाह ढोगभेट फुकेपछि हुँदै थियो ।
जन्तीहरु बाजागाजासहित बेहुलीको माइततर्फ लागे । मगर समुदायको रीतिरिवाजअनुसार टीकाटालो भयो । दिउँसो अबेरसम्म खानपिन गर्दै जन्तीहरुले रमाइलो गरे । साँझ घर फर्किने बेलासम्म जन्ती रमाइरहेका थिए । मगर समुदायको विवाह मदिरा पनि पिउनै नै भए । जीप चालकले सगुनको मदिरा सेवन गरे । बेहुलीको घरबाट बिदावारी भएर निस्केको जन्तीको टोली निस्दी गाउँपालिका वडा नम्बर ६ को अर्चले धोबला र ७ को ज्यामिरेका बीचमा चारघरे भन्ने स्थानसम्म सकुशल आइपुग्यो । जहाँ कच्ची सडक र अफ्ठ्यारो बाटो सुरु भएपछि सबैलाई ओर्लन लगाइयो । १२÷१३ जना जिपबाट झरेर हिँड्दै आए । बढी मदिरा सेवन गरेका बुढापाकाहरु जिपबाट ओर्लेनन् । केहीबेरमा जीप गुल्टेको आवाज आयो । भीरबाट गल्र्यामगुर्लुम्मै गुल्ट्यो । जीपमा रहेका ६ जनामध्ये एक जना भने हाम्फालेर बाँच्न सफल भए । अरू ५ जनाको ज्यान गयो ।
पाल्पा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी विश्वमणि पोखरेलसँग हामीले घटनाको सूचना पाएपछि सम्पर्क राख्दा उनी आफै पनि घटनाबारे बुझ्न व्यस्त थिए । त्यसका बाबजुद पनि पोखरेलले भने, ‘यति मात्रै तपाईंसँग सेयर गर्छु कि जन्ती लिएर आएको लु १ ज १९४१ नम्बरको जीप दुर्घटना भएको हो । घटना स्थलमै पाँच जनाको मृत्यु भएको छ । अरू केही खुलेको छैन । त्यसतर्फ प्रहरी टोली जाँदै छ ।’साँझ अबेर जिल्ला प्रहरी कार्यालयबाट दुर्घटनाको विस्तृत विवरणको मेल आयो । जिप दुर्घटना निस्ती गाउँपालिका ६ को अर्चले धोबला र वडा नम्बर ७ को ज्यामिरे चारघरे भन्ने स्थानमा भएको रहेछ ।

भिरमा लास रातभरि रुवावास
बेहुला श्यामबहादुर सारुका घरमा जन्तीका लागि भोज भतेर तयार गर्न भ्याइनभ्याई भइरहेका बेला एक्कासी दुःखद् खबरले गाउँमा रुवावासी चल्यो । रातको अन्धकारमा अन्कटार भीरमा शव कहाँ छन् भन्ने अत्तोपत्तो थिएन । शवहरु यत्रतत्र छरिएका थिए । इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरीक्षक भुपालसिंह राना साँझ ६ बजेदेखि राति ११ बजेर ३५ मिनेटसम्म टेलिफोन सम्पर्कमा थिए । उनसँग घटनाको अपडेट लिइरह्यौँ । अन्तिममा उनले सेना, प्रहरी र सशस्त्र प्रहरीले शवमाथि बाटोमा ल्याई पोस्टमार्टमका लागि सदरमुकाम तानसेन पठाउन लागेको जानकारी दिए । अनकन्टार भीरमा डोरी र बाँसको सहायताले तिनवटै सुरक्षा निकालयले ज्यानको बाजी लगाएरै भीरबाट शवमाथि ल्याएका थिए । तीनवटै सुरक्षा निकायका प्रमुखसहितका अधिकृत पनि उद्धार कार्यमा मध्यरातसम्म खटिए । दुर्घटना भएकाले पोष्टमार्टमका लागि शव तानसेन ल्याए । मृतकका आफन्तजन शव बुझ्न अस्पतालमा आएका छन् । शव बुझेर दाहसंस्कारका लागि तयारी गरेका छन् ।

धर्मका नाममा व्यापार


बाेली। गुरु पुरोहितहरु सत्यवादी थिए । त्याग र समर्पणको भावना बोक्दथे । उपकार र परोपकार गर्न जीवन व्यस्त रहन्थे । आज त्यो युग फेरिएको छ । पण्डितहरु दक्षिणामा बोलकबोल गरेर मात्र धार्मिक यज्ञमा आउने गर्दछन् । बाटोघाटो निर्माण गर्ने, पुल बनाउने, ठुल्ठूला आयोजना ठेक्कापट्टामा लिने सुनिन्थ्यो । अहिले धार्मिक कार्य नै ठेक्कामा लिने प्रचलन बढेको छ । यज्ञयज्ञादीलाई ठेक्कामा सञ्चालन गर्ने बानीको विकास गरेका छन् । धार्मिक महायज्ञहरु आस्था र शास्त्रको ज्ञानभन्दा अर्थ संकलनको माध्यम बन्न थालेका छन् ।


गाउँ सहर सबैतिर आयोजित महायज्ञमा शास्त्रको प्रवचन, संस्कार पद्धति र संस्कृतिका विषयमा भन्दा आर्थिक संकलनमा आयोजकको ध्यान केन्द्रित हुन थालेकोमा सरोकारवालाले चिन्ता प्रकट गरेका छन् । आयोजकमाथि पैसा हिनामिना गरेको र व्यास पण्डितहरुमाथि धर्मको व्यापार गरेको गम्भीर आरोप लागेको छ ।

श्रीकृष्ण महाराजलले तेल्घामा आयोजित गणेशधाम यज्ञबाट टेन्ट, विजुली, गायक खर्च र दक्षिणा गरेर १८ लाखभन्दा बढी र भालेबासबाट २५ लाख रुपैँया लगेका छन् । रिब्दीकोटको सरस्वती माध्यमिक विद्यालयको स्तरोन्नतिका लागि सञ्चालित महायज्ञबाट पण्डित इश्वरशरण महाराजजीले २० लाख रुपैँया बुझेकाे स्थानीय बासिन्दाले बताएका छन् । मदनपोखराको कमलेश्वर मन्दिरमा आयोजित शिव पुराण महिमा विशेष महायज्ञमा ९ \१० लाख रुपैँया बचत हुने अनुमान गरिएको अध्यक्ष जीवनाथ पाण्डेयले जानकारी दिनुभयो । महायज्ञमा पण्डित पुरुर्षोत्तम शरण शास्त्री र उहाँका सहयोगीहरुले ३ लाख रुपैँया दक्षिणा पाएका छन् । आयोजकहरुले टेन्ट र वाद्यवादन सामग्री छुट्टै व्यवस्था गरेका थिए ।


लाेकेश्वर महादेव मन्दिर पूर्वखाेलामा १८ महापुराण र ८ उपपुराणको महायज्ञ लगाइसक्नुभएका विद्वान नीलकण्ठ न्यौपानेले महायज्ञहरु धर्मका नाममा व्यापार बनिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यज्ञका नाममा सुकृति हैन, विकृति फैलिरहेको छ । गुरु पुरोहित त्यागी बन्नुपर्नेमा दक्षिणाको मोलमोलाई गर्ने अवस्था छ ।’ महायज्ञमा हुने खर्च पारदर्शी नहुने, दान प्राप्त जग्गा नामसारी नहुने र पैसा हिनामिना हुने गुनासो पनि आइरहेका छन् ।


तामझाम र राजर्षी ठाँटबाँटसँग आउने पण्डितहरुले महायज्ञको दक्षिणामा बोलकबोल गरिरहेका छन् । कतिपय स्थानमा मूल पण्डितले ग्रन्थै नर्फकाउने अवस्था पनि देखिन्छ । आदर्श पुरुषका रुपमा मानिने गुरुहरुले पैसा कुम्लो बोकेर हिंड्दा सामाजिक सम्मान मात्र होइन धार्मिक आस्थासमेत घट्न पुगेको छ ।


सरस्वती माध्यमिक विद्यालय जल्पामा आयोजित महायज्ञमा आयोजकले ४ लाख ५० हजार दक्षिणा दिँदा पण्डित नारायण न्यौपाने आयोजकसँग रिसाएर फर्किएको स्थानीय बासिन्दाले बताएका छन् । चन्द्र माध्यमिक विद्यालय चापपानीमा आयोजित महायज्ञबाट भने उहाँले दक्षिणा र कलाकार खर्च भनेर ५ लाख रुपैंया लिएका छन् । यो रकमलाई आयोजकहरुले अन्यत्रको तुलनामा आफूहरुले कम दिएको बताएका छन् ।


जल्पामा पण्डितसँग आएका कलाकारहरुले खैरनीबाट २ जना युवती समेत भगाएर लगेका छन् । गुरु त्यागी हुनुपर्ने, दक्षिणामा कबोल गर्न नहुने मान्यता भत्काउँदै यज्ञयज्ञादीलाई ठेक्कामा सञ्चालन गर्ने प्रवृति बढेको छ । सरोकारवालाले महायज्ञमा गजल, झाम्रे, लोकगीतमा दर्शक नचाएर मनोरञ्जन दिने र सम्पत्ति कमाउने माध्यम बन्नुलाई सामाजिक विकृति भनेका छन् ।

मिनरल वाटरको मूल्य अचाक्ली बढी

प्रशाेधित पानी गिलासमा खन्याउँदै

बोली । बैशाख १३– जलश्रोतको धनी देशमा खानेपानी महंगो छ । सामान्यतया १ लिटर पानी रहेको बोतललाई २५ रुपैंया पर्छ । बजार उपलब्ध यो पानी ‘मिनरल’ होइन, ‘प्रोसेसिङ’ गरिएको हो । अझ होटल रेष्टुरेन्ट र भीडभाडका बेला ३० रुपैंयासम्म लिन्छन् ।


तानसेनमा पाल्पाली दि स्वच्छ पिउनेपानी र न्यू लुम्बिनी प्रोडक्सनले पानी प्रशोधन गरी बिक्री गर्दछन् । यद्यपी बजारमा विभिन्न नामका पानी बिक्री भइरहेका छन् । उत्पादक कम्पनीहरूले प्रति बोतल औषत १२ रूपैंयामा बिक्रेतालाई दिने गरेका छन् । यो रकम आफैमा उत्पादकको नाफासहितको मूल्य हो । त्यो नाफामाथि खुद्रा बिक्रेताले सेवा शुल्क लिन सक्छन् तर यहाँ अधिकतम् नाफा लिने गरेका छन् । एउटै बोतलमा दोब्बरभन्दा बढी मूल्य लिनु अचाक्ली महंगो हो ।


उद्योगीले पानीको बोतलमा खुद्रा मूल्य नराख्ने र व्यवसायीले मनपरी ढंगले मूल्य लिने प्रवृत्ति बढ्दै गएको छ । उद्योगीले व्यापारीलाई हेरेर अधिकतम् खुद्रा मूल्य तोक्दैनन्, त्यसको प्रत्यक्ष असर उपभोक्तालाई पर्ने गरेको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रशासकीय अधिकृत हुमबहादुर पाण्डेले हरेक उत्पादनमा मूल्य, तौल र म्याद सकिने मिति उल्लेख गर्नुपर्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘उद्योगीले उपभोक्ताको हित नसोच्ने र उपभोक्ताले आफूले प्रयोग गर्ने वस्तुको वास्तविक मूल्य थाहा नपाउने हो भने महंगी बढिरहन्छ ।’

प्याकेजिङ गर्न तयार पारिका बाेतल


नियमित बजार अनुगमन र उपभोक्ताको सचेतनाको कमीका कारण वस्तु तथा सेवाको मूल्य अचाक्ली बढ्न पुगेको छ । उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष कृष्णराज अधिकारीले उपभोक्ता पानीदेखि दूधसम्म, खाद्यान्नदेखि लत्ताकपडासम्म ठगिनुपरेको बताउनुहुन्छउ । अधिकारी भन्नुहुन्छ, ‘उद्योगीले भन्दा कैयन् गुणा नाफा व्यापारीले लिएका छन्, उनीको लगानी, श्रम र मेहनत केही छैन । पानी पनि खान नसकिने स्थिति बन्यो ।’


मिनरल वाटर अर्थात् बोतलको पानीको विषयमा जनगुनासो बढेपछि उद्योग वाणिज्य तथा उपभोक्ता संरक्षण निर्देशनालय भैरहवाले तानसेनमा बजार अनुगमन गरेको छ । तानसेनस्थित दि स्वच्छ पिउनेपानी बारुदखान र न्यू लुम्बिनी प्रोडक्सन ठाँटीको उद्योगमा पुगेर निर्देशनालयले अनुगमन गरेको हो । टोलीले उद्योगमा अटोमेटिक मेशिन नभएको, मूल्य सूची नभएको, ल्याव रिपोर्ट नियमित नरहेको, भण्डारण कक्ष व्यवस्थित नरहेकोले तत्काल सुधार गर्न दुबै उद्योगलाई निर्देशन दिएको छ । उद्योग वाणिज्य तथा उपभोक्ता संरक्षण निर्देशनालयका निरीक्षक राजकुमार घिमिरेले तानसेनका दुबै खानेपानी उद्योगलाई बैशाख १३ गतेदेखि पानीको बोतलमा खुद्रा मूल्य राखेर पठाउन निर्देशन दिइएको जानकारी दिनुभयो ।

माथागढीकाे स्थानीय पाठ्यक्रममा विवाद

विजयकुमार बौडेल

बोली । बैसाख १३ – माथागढी गाउँपालिकाले स्थानीय पाठ्यक्रम लागु गर्ने तयारी गरेपछि सरोकारवालाले असन्तुष्टी व्यक्त गरेका छन् ।

गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार भएकाले चालु शैक्षिक शत्रदेखि सञ्चालन गर्न सबै विद्यालयलाई अनुराेध गरेकाे छ । यसअघि ऐच्छिक अंग्रेजी र कम्प्यूटर पढाई हुँदै आएकोमा गाउँपालिकाले कक्षा १ र ६ मा हाम्रो माथागढी भन्ने पाठ्यक्रम लागु गर्ने तयारी गरेपछि सरोकारवालाले असन्तुष्टी जनाएका हुन् । संविधान र शिक्षा ऐनले दिएको अधिकार अनुसार माथागढी गाउँपालिकाले १०० पुर्णाङ्कको हाम्रो माथागढी पाठ्यक्रम सञ्चालन गर्ने तयारी गरेकाे गाउँपालिकाका अध्यक्ष सन्ताेष थापाले बताउनुभयाे ।

नेपाल सरकारले प्रारूप दिएकाे भरमा बनेका स्थानीय पाठ्यक्रम स्थानीय माग र सराेकारवालाकाे रूचीलाई सम्बाेधन गर्नुपर्ने सराेकारवालाकाे सुझाव रहेका छ । “माथागढीमा पढेका विद्यार्थी कुन बजारमा विक्ने ?” माथागढी २ रुप्सेका झपेन्द्र थापाले भन्नुभयो, “अन्तराष्ट्रिय बजारमा विक्ने कम्प्यूटर, अंग्रेजी जस्ता पाठ्यक्रम हटाएर स्थानीय पाठ्यक्रम लागु गर्नु सस्तो प्रचारबाजी बाहेक अरु केही होइन । यो पाठ्यक्रमले अहिलेको बजारमा प्रतिष्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्न सक्दैन ।”

स्थानीय पाठ्यक्रम निर्माण समितिका संयोजक अशेष भट्टराईले कक्षा १ र ६ को पाठ्यक्रममा माथागढीमा उब्जनी हुने तरकारी, अन्नबाली र फलफूल देखी माथागढीका विभिन्न व्यक्तित्व, धार्मिक स्थल, मनाउने विभन्न पर्व तथा चाड, प्रचलित संस्कार, स्थानीय बोलीचाली, अक्षर तथा गन्ती समेटिएको बताउनुभयो । स्थानीय कला सम्पदा, सीप व्यवसाय तथा प्रविधि, जडिबुटीको र प्रयोग साथै खेलहरु लगायत स्थानीय स्रोत साधन र पर्यटनलाई उल्लेख गरिएको संयोजक भट्टराईले बताउनुभयो ।

माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष थापाले स्थानिय तहको पहिलो अभ्यास भएकाले असन्तुष्टी आउनु स्वाभाविक भएको भन्दै सबैलाई समेटेर पाठ्यक्रम लागु गर्ने बताउनुभयो । अध्यक्ष थापाले दुई चार दिनभित्रै बिषयगत शिक्षकहरुलाई बोलाएर पढाउने तरिका र सहजिकरण गर्ने बिषयमा छलफल गर्ने बताउनुभयो ।

सरोकारवालाहरुले भने शिक्षक, विद्यार्थी, अभिभावक, शिक्षाविद लगाएत संग नयाँ पाठ्यक्रमको प्रभाव र मुल्याङ्कन नै नगरि हँचुवाको भरमा लागु गर्ने तयारी थालेको गुनासो गरेका छन् । अध्यक्ष थापाले भने आठ वटै वडामा वृहत छलफल गरेर सुझाव र प्रतिक्रियाको आधारमा पाठ्क्रम निर्माण गरिएको दावी गर्नुभयो ।

गाउँपालिकाको अदुरदर्शिताका कारण विद्यार्थीलाई समयसापेक्ष अनाआवश्यक विषयमा शिक्षा दिने प्रयत्न गरिएको सरोकारवाला निकायको भनाइ छ । शैक्षिक सत्र सुरु भएको आधा महिना सम्म पनी विद्यालयहरु के पढाउने भन्नेमा अन्यौल छन् । अध्यक्ष थापाले पाठ्यक्रम अनुसार पाठ्पुस्तक तयार हुन अझै २/४ महिना लाग्न सक्ने बताउनुभयो ।

माथागढीको विषयमा विद्यार्थीहरुलाई पाठ्यक्रममा नै समावेश गर्दा विद्यार्थीमा पर्ने मनोबैज्ञानिक असर र त्यसको प्रभावको विषयमा गाउँपालिका नै अन्यौल रहेको छ ।

भुकम्प पीडितकाे घर कहिले बन्छ ?


विजयकुमार बौडेल –

बोली । बैशाख ११ – भुकम्प गएको ४ बर्ष पूरा हुँदा सम्म पनि कागजी प्रकृया झण्झटिलो र प्राविधिकको आनाकानीले पाल्पाका अधिकांश प्रभावितले घर बनाउन सकेका छैनन ।

अप्ठेरो प्रकृया, झण्झटिला कर्मचारी र नपुग रकमले घर बनाउन नसकेका अधिकांश प्रभावित परिवार झुपडीमै बस्न बाध्य छन । ८ हजार ७ सय ९० जनाको ज्यान लिनेगरी गएको भुकम्प पछि घरबारबिहिन भएकाहरुले रिण काढेर जेनेतेन घर बनाएकाहरु समेत ब्याजमा डुबेका छन । घर बनाएर सम्पन्न भएको २ बर्ष बितिसक्दा समेत पहिलो किस्ता बाहेक अरु रकम नपाएका धेरै परिवारको गुनासो छ ।

तानसेन नगरपालिका वडा नं ९ का नवीन बौडेलले रिण गरेर बनाएको घर अझै पूरा नभएको भन्दै प्रकृया पूरा हुँदा पनि अनुदानको बाँकी किस्ता दिन प्राविधिकले आनाकानी गरेको बताउनुभयो । ” रिण गरेर घर बनाएँ, अनुदानको पहिलो किस्ता बाहेक पाएको छैन ।” बौडेलले भन्नुभयो । :-“रिणको ब्याजले साँवा भन्दा धेरै नाघ्न थालिसक्यो, प्राविधिकको आनाकानीले प्रकृया पूरा हुँदा पनि अनुदानको बाँकी किस्ता पाईएन ।” भुकम्प प्राविधिकहरुले विभिन्न बहानामा पैसा माग्ने गरेको र नदिए कागज मिलेको छैन भन्दै दुख दिने गरेको प्रभावितहरुले गुनासो गरेका छन ।

“घर बनिसकेपछी पनि प्राविधिकले हजार कागजी बहाना बनाएर अनुदान रोक्छन ।” अनुदानमा घर बनाउँदै गरेका एक प्रभावितले भने – “भुकम्पले तहसनहस पारेर सरकारले सानो झुपडी बनाउन भनेर गरिबलाई दिएको अनुदानमा पनि गिद्धे दृष्टि लगाउने कस्ता कर्मचारी होलान ?”

केही प्रभावितहरु मध्ये भुकम्प प्राधिकरणका कर्मचारिहरु संग साँठगाँठ गरेर कागजी प्रकृया मिलाउनेहरु समेत छन । घरको अवस्था ठिकठाक हुँदाहुँदै समेत पहुँचको भरमा प्रभावितको सुचिमा नाम राख्नेहरु धेरै भए भन्ने गुनासो भुकम्प प्रभावितहरुले गर्दै आएका छन ।

पाल्पामा ढुङ्गाले हानेर श्रीमानको हत्या

Corpse

विजयकुमार बौडेल
बोली । बैसाख १० – पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा ढुंगा प्रहार गरी श्रीमतीले श्रीमानको हत्या गरेकी छन् ।


रैनादेवी छहरा गाउँपालिका वडा नं ३ छचुवाकी ३९ वर्षिय मंगला कुमालले ४० वर्षिय श्रीमान् लोकबहादुर कुमाललाई ढुंगा प्रहार गरी हत्या गरेकी हुन् । सोमवार बिहान ८ बजे श्रीमतीको ढुंगा प्रहारबाट घाइते भएका लोकबहादुरलाई उपचारका लागि मिसन अस्पताल पाल्पामा पु¥याएपछि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।


अर्घाखाँची जिल्ला पाणिनी गाउँपालिका वडा नं २ घर हुने कुमालको ससुराली आएको बेला श्रीमतीको ढुंगा प्रहारबाट मृत्यु भएको हो । ढुंगा प्रहार गरी श्रीमान्को हत्या गर्ने मंगलालाई प्रहरीले पक्राउ गरि घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।


दुई छोरी र एक छोरा रहेकी मंगला ईशाराका माध्यमबाट बोल्ने गरेका प्रहरीले जनाएको छ ।

नेकपा पाल्पाको अध्यक्षमा आचार्य, नेतृत्व चयनले कार्यकर्ता उत्साहित

बोली । बैसाख ९ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकता भएको झण्डै एक वर्षपछि जिल्ला अध्यक्ष र सचिवको टुंगो लगाएको छ ।


पाल्पा जिल्लामा तत्कालीन जिल्ला अध्यक्ष नारायण प्रसाद आचार्य नेपाल कम्युनिस्ट पार्टी नेकपा पाल्पाको अध्यक्ष र तत्कालीन नेकपा माओवादीका जिल्ला संयोजक गिरबहादुर थापा सचिवमा चयन हुनुभएको हो । नेकपा सचिवालय बैठकले नयाँ मापदण्ड तय गरे सँगै जिल्लाका पदाधिकारी चयन भएका हुन् । तत्कालीन एमालेले अध्यक्ष वा सचिव जुन पद पाएको भए पनि तत्कालीन जिल्ला अध्यक्षलाई नै उक्त पदमा ल्याइएको छ ।


नेतृत्व चयनले सम्पुर्ण कार्यकर्ता उत्साहित भएको नेकपाका जिल्ला सदस्य गुरास आत्रेयले बताउनुभयो । आत्रेयले पार्टी एकता भएको लामो समय सम्म पनी जिल्ला नेतृत्व चयन नहुँदा हतोत्साही भएका कार्यकर्ताहरु नेतृत्व चयनपछी समृद्धिको लागी थप सहयोग पुगेको बताउनुभयो ।


अध्यक्ष र सचिवको टुंगो लगाए संगै अव एकता प्रकृयाका अन्य बाकी काम पुरा गरिने अध्यक्ष नारायणप्रसाद आर्चायले बताउनुभयो । यसैविच नेपाल कम्प्युनिष्ट पार्टीको ७१ औं स्थापना दिवस तथा लेनिन जयन्ती पाल्पामा पनि मनाइएको छ ।


नेकपा पाल्पाले पार्टी कार्यालयमा आयोजित गरेको कार्यक्रममा नेपाल कम्प्युनिष्ट पार्टीको इतिहास, वर्तमान र अगामी कार्यदिशाका बारेमा चर्चा गरिएको थियो । पार्टी एकता प्रक्रियापछि उत्साहित बनेको नेकपाले समृद्ध मुलुक र सुखी नेपालीको सार्थक बनाउन आफ्ना पार्टी कार्यकर्ताहरु प्रंतिवद्ध भइ लाग्ने बताएका छन् । कार्यक्रमका प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश नम्वर ५ का सांसद तुलाराम घर्ती बसन्तले पार्टी एकतामा भएका तुसहरुलाई अन्त्य गरी पार्टीलाई मजबुत र मुलुकलाई समृद्ध बनाउन लाग्नुपर्ने बताउनुभयो ।


नेकपाका नेताहरु राधाकृष्ण कडेल, नेत्रप्रसाद पाण्डे, दयाराज बस्याल, नेपाल पत्रकार महासघ पाल्पाका अध्यक्ष राजेश कुमार अर्याल लगायतले एकता प्रक्रियाले पार्टी बलियो बनेको बताउनुभयो । कार्यक्रम नेता राजेन्द्र विश्वकर्माको सञ्चालन र नेकपा पाल्पाका अध्यक्ष नारायण आचार्यको अध्यक्षतामा सम्पन्न भएको हो ।

हिन्दुको भगवान मानिने डेढसय गाई ऋिषिकेश मन्दिर परिसरमा बेवारिस


विजयकुमार बौडेल

बोली । बैसाख ९ – पाल्पा र गुल्मीको संगम स्थल ऋिषिकेश मन्दिर परिसरमा अव्यवस्थित छोडुवा गाईहरुको संख्या बढेको छ ।

दुध दिन छोडेपछी गाईलाई बाटो र मन्दिर परिसरमा छोडिदिँदा गाईहरु बेवारिसे भएको हुन् । मन्दिर परिसरमा १५० भन्दा बढी गाईहरु वटा गाँईहरू छोडुवा अबस्थामा छन् । हिन्दु धर्म अनुसार गाईलाई लक्ष्मी भगवान स्वरुप मानिने भएपनी पछिल्लो समय गाईलाई बेवास्ता गरिने गरिएको छ । हिन्दु धर्म अनुसार पुजापाठ, बिहे, ब्रतबन्ध लगाएतका धार्मिक क्रियाकलापमा ब्राह्मणलाई गाई दान दिने परम्परा भएपनी अहिले ब्राह्मणहरु गाई लिन मान्दैनन् ।

धार्मिक क्रियाकलापहरुमा धेरैजसो ब्राह्मणहरुले असली गाईको सट्टा कुशको गाई बनाएर त्यसबापत नगद लिने गरेको पाईन्छ । गाईको गहुँत विभिन्न रोगब्याधको औषधीमा प्रयोग हुने र दुध पनी निकै पोशिलो मानिन्छ । तर व्यवसायिक युगमा तुलनात्मक रुपमा कम उत्पादन दिने लोकल गाईहरुलाई मानिसहरुले बेवारिसे छाड्ने गरेका छन् ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त रेग्मीले गौसालाको व्यवस्था गर्न नसक्दा गाईको अबस्था नाजुक रहेको बताउनु भयो । रेग्मीले गाईको व्यवस्थापनको लागि स्थानिय तहमा जति पहल गरेपनि वास्ता नगरेको गुनासो गर्नुभयो । बिगत केही बर्ष देखि मन्दिर व्यवस्थापन समितीले गाइलाई बेवारिसे छोड्न नपाउने निर्णय गरेपनी रातीको समयमा लुकेर गाई छोड्ने गरेकाले समस्या समाधान नभएको अध्यक्ष रेग्मीले बताउनुभयो ।

हिन्दु धर्मको आस्थाको केन्द्र ऋिषिकेश मन्दिर परिषरमा जम्मा भएका गाईहरु खान र बस्न व्यवस्थित नभएर दुब्ला देखिन्छन् । छोडुवा गाईहरु वनमा चर्ने, कालीगण्डकी नदिको बगरमा डुल्ने र जहा मन लाग्यो त्यहीँ बस्न बाध्य छन् ।

संसद अधिवेशन वैशाख १६ गते

बाेली । वैशाख ८ – संघीय संसदको बजेट अधिवेशन वैशाख १६ गतेदेखि सुरू हुने भएकाे छ ।

संघीय संसद भवन

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख १६ गतेका लागि बजेट अधिवेशन अर्थात संसदको वर्षे अधिवेशन आह्वान गर्नुभएकाे छ । याे वर्षे अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिनुका साथै त्यसमाथि छलफल गरेर पारित गरिन्छ ।

संविधानको व्यवस्थाअनुसार जेठ १५ गते संसदमा बजेट पेश गर्नुपर्छ । त्यसअघि सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्ने प्रचलन छ । यसवर्ष वैशाख २० गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

कालीगण्डकीमा र्याफ्टिङ उत्सव


जल प्रवाहमा र्याफ्टिङ गर्दै प्रवाहित पत्रकारहरू

बाेली । बैशाख ८ – कालीगण्डकी नदीमा दुई दिने र्याफ्टिङ महोत्सव सम्पन्न भएको छ ।


कालीगण्डकी नदीको महत्व र कालीगण्डकी बेशी क्षेत्रको पर्यटन प्रवर्द्धन गरी जानकारी दिने उद्देश्यले महोत्सव आयोजना गरिएको भएको हो । नेपाल पर्यटन बोर्डको आर्थिक सहयोगमा पाल्पाको रामपुर नगरपालिका, रम्भा गाउँपालिका, स्याङ्जाको चापाकोट नगपालिका र तनहुँको घिरिङ गाउँपालिकाको आयोजनामा महोत्सव उत्तरवाहिनी क्षेत्र असेर्दी बाट सुरु भएको छ ।महोत्सवको शुभारम्भ गर्दै गण्डकी प्रदेशका अर्थ मामिला तथा योजना मन्त्री किरण गुरुङले कालीगण्डकी सभ्यता पुरानो रहे पनि सिद्धार्थ राजमार्ग, पृथ्वी राजमार्ग निर्माण पछि कालीगण्डकी उपत्यका ओझेलमा परेको बताउनुभयो । कालीगण्डकी करिडोर तथा अन्य सडक सञ्जालले विकासको ढोका उघारेको र अब एकिकृत विकास गरेर अघि बढ्न उहाँले आग्रह गर्नुभयो । प्रस्तावित कालीगण्डकी डाईभर्सन तल्लो तटीय क्षेत्रका जनताको जीवन र संस्कार नामेट पार्ने भएकाले आयोजना अगाडि बढ्न नदिने घोषणा गर्नुभयो । आयोजनाको नाममा शीर छेदन गर्ने काम हुन हामी दिन्नौ उहाँको भनाई थियो ।

प्रदेश सांसद नारायण प्रसाद आचार्यले देशका अधिकांश मुख्य धार्मिक स्थलहरु कालीगण्डकीमा पर्ने हुनाले यसको छुट्टै महत्व रहेको बताउनुभयो । उहाँले गण्डकी वेशी क्षेत्रको समुचित विकासको लागि के गर्न सकिन्छ भन्ने विषयमा सोच्नु आवश्यक रहेको उल्लेख गर्नुभयो । प्रदेश सांसद युवराज खनालले संघियताले कालीगण्डकी बेशी क्षेत्रलाई दुई प्रदेशमा बाँडे पनि यहाँका स्थानीय तहहरु मिलेर समग्र आर्थिक तथा सामाजिक विकासको लागि लाग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले कालीनदीको महत्वलाई देश भित्र र बाहिर प्रचार प्रसार गर्न नसकेको उल्लेख गर्दै नदी र जिवनलाई कसरी जोड्न सकिन्छ भन्ने अध्ययन गर्नका लागि महोत्सवको आयोजना गरिएको बताउनुभयो । गण्डकी प्रदेशका अर्थिक मामिला तथा योजना मन्त्री, प्रदेश ५ का सदस्य, स्थानीय तहका जनप्रतिनिधि, राजनैतिक दल, उद्योग वाणिज्य संघ, सुरक्षाकर्मी, पत्रकार सहित सरोकालवाला गरी १ सय ४६ जनाले १७ वटा डुङ्गामा एकै पटक ¥याफ्टिङ्ग गरेका थिए । चापाकोट मणिमुकुन्देश्वर बाट सुरु भई घिरिङको पुट्टारमा पुगेर महोत्सव समापन भएकाे छ ।