सामुदायिक रेडियो मदनपोखरा
spot_img
Home Blog Page 35

सक्रिय युवाहरुको पहलमा बाँसटारीमा मेला सुरु

विजयकुमार बौडेल
बोली । २२ चैत्र – उद्योग बाणिज्य संघ र व्यापार संघको विवादका बिच हरेक बर्ष हुने व्यापार मेला तानसेनमा हुन नसकेको नसकेको मेला वंशगोपाल युवा क्लबले आयोजना गरेको छ ।
तानसेन नगरपालिका वडा नं ७ को वंशगोपाल युवा क्लबले पाल्पा वंशगोपाल कृषी, पर्यटन तथा सांस्कृतिक मेला आयोजना गरेको हो । “नयाँ वर्ष नयाँ सोच, युवाहरुका लागि छ, प्रगतीको श्रोत” भन्ने नाराका साथ वाँसटारीमा वृहत मेला सुरु भएको छ ।
वंशगोपाल युवा क्लवको आयोजना र औधोगिक शान्ती नेपाल सस्थाको सहआयोजनामा भएको मेलाको उद्घाटन गर्दै पूर्व उद्योगमन्त्री तथा प्रतिनिधीसभा सांसद सोमप्रसाद पाण्डेयले मेलाको आयोजना युवाहरुको सकारात्मक सोंचको प्रतिफल भएको बताउनुभएको छ । पाण्डेयले प्रभाषका युवाहरुको उर्जावान् सोंच र क्रियाशिलता सबैले सिक्नुपर्ने बताउनुभयो । मेला सफल बनाउन सबै क्षेत्रबाट सहयोग हुनुपर्ने कुरामा पाण्डेयको जोड थियो ।
विभिन्न क्लव, संघसस्थाहरुले झाँकी, र्याली सहित वाँसटारी क्षेत्र परिक्रमा गरेका छन् । वैसाख २ गते सम्म संचालन हुने मेला मेलामा २ सय बढी स्टलहरु रहेका छन् । खुल्ला भलिवल प्रतियोगिता, नृत्य प्रतियोगिता तथा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुद्धारा सास्कृतीक कार्यक्रमको आयोजना हुने मूल आयोजक समितिले जनाएको छ ।
उपभोक्तालाई एउटै थलोबाट सम्पूर्ण सामानहरु उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको मेलामा दैनिक प्रयोगमा आउने उपभोग्य सामाग्रीहरु, खाद्यान्नहरु, लत्ताकपडा, भाँडाकुडा तथा हस्तकलाका सामाग्रीहरु, अटोमोवाईल, इलेक्ट्रिक सामाग्रीहरु, वाल उद्यान, रोटे पिङ, मारुती सर्कस, कोलम्बस, जादु, चिडियाघर तथा वालवालिकाका लागि खेल्न उपयोगी सामाग्रीहरु राखिएको आयोजकले जनाएका छन् ।
नयाँ वर्षको अवसरमा एउटै छानामुनी सवैखाले सामाग्रीहरु उपलब्ध गराउने उद्देश्यले आयोजित मेलामा ६५ वर्ष माथीका ज्येष्ठ नागरिकहरु र विद्यार्थीहरुका लागि ३० रुपैया र अन्यका लागि ५० रुपैया टिकट तोकिएको क्लबका अध्यक्ष प्रदिप खनालले जानकारी दिनुभयो ।
पाल्पा, स्याङजा, गुल्मी, रुपन्देही, अर्घाखाची लगायतका जिल्लाहरुबाट दर्षकहरु आउने तथा १ करोड ४० लाख बढीको कारोवार हुने मूल आयोजक समितिले जनाएको छ । पाल्पाको वाँसटारीमा पहिलोपल्ट आयोजना गर्न लागिएको मेलाबाट संकलित रकमले वाँसटारीमा रहेको बाघखोर फुटवल मैदान बनाउन प्रयोग गरिने तानसेन वडा नं. ७ का वडाअध्यक्ष माधव जिसीले बताउनुभयो ।

गरिबका घरमा टिनका छाना लगाईदिने रैनादेवी छहरा गाउँपालिका

भुवन रायमाझी

बोली । ४ चैत्र – बर्षेनी छानो छाउने झन्झट हट्ने र गरिव परिवारको जोखिम तथा पानी चुहिने समस्यावाट मुक्त गराउने लक्ष्य सहित रैनादेवी छहरा गाउँपालिकाले खरको छाना भएका परिवारलाई जस्ता पाता वितरण गरेको छ ।

रैनादेवी गाउँपालिकाले चालु आर्थिक बर्षको बजेटबाट बल्डेगढीका १२ घरपरिवारलाई टिन बितरण गरेको हो । “जिवनभर दुख गर्दा पनी आफ्नै व्यवहारले घरमा टिन लगाउन सकिएको थिएन ।” रैनादेवी छहरा वडा नं. ७ बल्डेङगढी सुकदमारका ७१ बर्षिय मेघनाथ पोखरेल भन्नुभयो । :–“ गाउँपालिकाले टिन सहयोग गरेपछी स्थानिय सरकार घरनजिकै आएको महसुस भएको छ ।”

पोखरेल जस्तै सिमसिमे पानी परिरहेको मौसममा रुझ्दै वडा कार्यालयमा टिन बुझ्न आएका सबै गरिब परिवारहरुको मुहारमा खुसी छाएको देखिन्थ्यो । रैनादेवी छहरा गाउँपालिकाको खरको छाना भएका परिवारलाई टिन वितरण गर्ने कार्यक्रमले ग्रामिण भेगका गरिब परिवारहरुलाई ठुलै राहत मिलेको छ ।

टिन पाउने खबर पाएपछी वडा कार्यालय आएका बल्ढेङगढीकै चन्द्र बहादुर रायमाझीले विगत सम्झँदै भन्नुभयो :–“पानी पर्दा चुहिएर सयौं रात जागै बस्नुप¥थ्यो । हावाहुरी आँउदा त कतिपटक छाना उडाएर खुला आकाश मुनी सुतियो ।” मुहारमा खुसी ल्याउँदै रायमाझीले भन्नुभयो । :–“ अब टिनको छाना लाए पछी त आनन्द हुने भयो ।”

गाउँपालिका भित्रका नौ सय घरका खरको छाना हटाएर टिन लगाउने काम आगामी असार सम्म सबै सम्पन्न गर्ने गाउँपालिका अध्यक्ष राम बहादुर कार्कीले बताउनुभयो । गाउँपालिका भित्रका सिद्धेश्वर, जुठापौवा, सत्यवती र बल्डेङगढी लगाएतका वडामा खरका छाना भएका घरहरुको संख्या बढी छ ।
वडाध्यक्ष देवेन्द्र पुनको अध्यक्षतामा बिभिन्न टोल बाट आएका स्थानीयहरुलाई टिन बितरण गरिएको हो ।

नयाँ वर्षको पात्रो, पात्र र प्रवृति

राजेशकुमार अर्याल नयाँ वर्षसँगै पात्रो फेरियो । २०७६ सालको पात्रो सिंहदरबारदेखि घरबारसम्म सबै ठाउँमा झुण्डियो । पाल्पा दरबारसँगै नगरबासीका मझेरीमा नयाँ पात्रो राखियो । संविधानको मर्मअनुसार तीन तहकै सरकारमा नयाँ पात्र आएका छन् । पात्रो र पात्र फेरिए जसरी प्रवृति पनि फेरिनुपर्ने जनचाहना देखिन्छ । पाल्पाली र तानसेनबासीका आशा र अपेक्षा यस्तै सुनिन्छन् । स्थानीय, प्रदेश र संघीय सरकार एउटै लयमा हिंडुन् र गति तिब्र पारुन् भन्ने शुभेच्छा राखेका छन् ।

लुम्बिनी भ्रमण वर्ष घोषणा गरेका मुख्यमन्त्री शंकर पोखरेल नयाँ वर्षको दिन पारेर रानीमहल, रिडी र श्रीनगर घुम्न आए । घुम्न अरु धेरै नागरिक आए, सर्वसाधारण आए । अनौपचारिक रुपमा घुम्न निस्केका मुख्यमन्त्रीले पाल्पालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक पूर्वाधारका बारेमा सरोकारवालासँग अन्तक्र्रिया गरे । पाल्पा दरबार संग्रहालय, रानीमहल, रुरुक्षेत्र हृषिकेश, भैरवस्थानलगायतका स्थलहरुको यथार्थ अवस्था बुझ्ने कोशिस गरे । सडक बिस्तार गर्ने नगरपालिको सोचमा ऐक्यवद्धता जनाए, नगरबासीलाई आजको पेटी चिन्ता गर्न छाडेर भविष्यको पर्यटन व्यवसायमार्फत् समृद्धि देख्न प्रेरित गरे । तानसेनको हरियाली र सुन्दरताको बखान गाए । तर हरियालीभित्र थुप्रिएको प्लाष्टिक र माटोको अव्यवस्था रोक्न अपिल गरे । रानीमहलको बगैंचा व्यक्तिको स्वामित्वमा पुगेको सन्दर्भमा चिन्ता प्रकट गरे ।

मुख्यमन्त्रीले सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने अभिभारा बोक्न समुदायलाई अभिप्रेरित गरे । दरबार संग्रहालय परिसरमा बढिरहेका सरकारी भवन निर्माण रोक्न, जथाभावी संरचना नबनाउने वातावरण बनाउन सुझाव दिए । राज्यको दोहन गरेर व्यक्तिले लिने होइन, व्यक्तिले इमान्दारीपूर्वक कमाउने र राष्ट्रका लागि त्याग गर्ने भावना बढाउन हौस्याए । बिरोधको मानसिकतालाई समर्पण, त्याग र विश्वासको वातावरणमा बदल्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्न पठाए ।

पाल्पा सडक सञ्जालसँग जोडिने आधार बनेको छ । करिव ५० वर्ष अगाडि बनेको सिद्धार्थ राजमार्ग ४ लेनको बनाएर लुम्बिनी पोखरा जोड्ने सोच बढेको छ । उत्तर दक्षिणका देशसँग जोडिने कालिगण्डकी करिडोरको निर्माण कार्यले तिब्रता लिएको छ । मदन भण्डारी लोकमार्ग र कृष्णसेन आश्रित मार्ग जस्ता सडकका कार्य पनि प्रारम्भ भएका छन् । खानेपानी र विजुलीवत्तीको सुविधा थपिदै छन् ।

पाल्पा दरबार संग्रहालय यो प्रदेशकै संग्रहालयका रुपमा प्राथमिकता पाएको छ । रानीमहल नगर सरकारलाई हस्तान्तरित भएको छ । लोन्ली प्यानेटलगायत साइटहरुले पाल्पालाई पर्यटनसँग जोडेका छन् । रानीमहलमा आन्तरिक पर्यटक बढेका छन् । रानीमहल, श्रीनगर, गुफाचौर, हृषिकेश, मदनपोखरा, भगवती, टक्सारटोलले पर्यटनका क्षेत्रमा अग्रसरता लिन थालेका छन् । पर्यटन पूर्वाधारमा लगानीको प्राथमिकता परेको छ । बाह््य लगानीकर्ताको आँखा पनि यो हिल स्टेशनमा परेको छ । तानसेनको पर्यटन प्रवद्र्धनका लागि सम्भाव्यता अध्ययन अगाडि बढेको छ । नगरको विकासका लागि पर्यटन एउटा महत्वपूर्ण आधार हो भन्ने ठम्याई छ ।

तानसेनको परिचय र पहिचान वास्तवमै प्राचीनता हो । ऐतिहासिक, पुरातात्विक र कलात्मक महत्वका स्मारक नै यहाँका सम्पत्ति हुन् । नागरिकमा प्राञ्जल भाषा शैली र शिष्ट व्यवहार हुन् । सुन्दर र मनोरम वातावरण दिएको प्रकृतिले तानसेनलाई वास्तवमै सुनको ढिस्कोका रुपमा उभ्याएको छ ।

पात्रो भनेको देशको समय हो । पात्र भनेका निर्वाचित जनप्रतिनिधि हुन् । प्रवृत्ति भन्नाले नेतृत्वको चरित्र हो । पर्यटकीय गन्तव्यरुपी सुनको ढिस्कोमा उभिएको तानसेनमा बसेर गिल्टीको बटुको थाप्ने कि के गर्ने नगरबासीले पनि सोच्न पर्ने बेला आएको छ । भाषण गर्दा वा पर्चा लेख्दा प्राचीन तानसेन भनेर मात्र पुग्दैन । प्राचीन हुनाको पन वा गुण जीवन्त राख्ने हो भने तानसेनले अब धेरै कुरामा सच्चिनुपर्छ । शुभकामना ।

तानसेनको सडक फराक्नुस् मेयरसाब, तपाईंमाथी ढुङ्गा बर्सिए हामी छाती थाप्न तयार छौं

विजयकुमार बाैडेल

तनाबै तनाबको बिचमा यसो मन बहलाउन युट्युव खोल्दै थिएँ, पत्रकार मित्र मुक्ति न्यौपानेले सेरोफेरोन्युजमा एउटा भिडियो अपलोड गर्नुभएको रहेछ । त्यसैले झ्याप्प मन तान्यो, जसको टाईटल थियो : “मेयर ज्यू, हाम्रो छोराछोरी घर लगेर पाल्नुस् ।” त्यहि भिडियो हेरीसकेपछी यो लेख लेख्न सुरु गरेको हुँ । पछिल्लो समय पाल्पामा तानसेन नगरपालिकाले सडक चौडा बनाउने प्रस्ताव चर्चाको बिषय बनेको थियो । यसो हेर्दा भेला सडक चौडा बनाउँदा मासिने घरधनीहरु जम्मा भएर मेयरको हुर्मत काढ्ने छन्को देखिन्थ्यो । मैले अघिपछी विभिन्न सभा, समारोह, भेला, राजनैतिक आमसभामा देखिने र कार्यक्रम सञ्चालकले बोलाउँदा समाजसेवी, निश्वार्थी नेता भनेर बोलाईने व्यक्तिहरु त्यो भेलामा सहभागी थिए ।

जिवनभर कमाएको पैसाले अहिले एउटा घर बनाउन पनी पुग्दैन । त्यो पनी तानसेन बजारको मुख्य क्षेत्रमा भएको घर सडक चौडा बनाउने निहुँमा भत्काउने कुरा चलिरहँदा मेयरलाई यमराज नै मानेर गाली गर्नु स्वाभाविक हो । मेयरले यो विषयमा आवश्यक सल्लाह, बैठक, समिति बनाउने काम गरौंला भनेर भनिरहँदा सहभागीहरु एकोहोरो आफ्नै कुरामा चिच्याउँदै थिए ।

जनताले चुनेर निर्वाचित भएका मेयरलाई सडकमा जति हिँड्ने हो हिँड, तर आफ्नो जग्गा टेक्ने अधिकार नै छैन भनेर धम्की दिँदै थिए । केहीले त जिल्लाको एउटा प्रतिष्ठित सञ्चारमाध्यमको नामै तोकेर हेपाईको शैलीमा फलानोले यस विषयमा फुक्याथ्यो भनेर भन्दै थिए । नेपालमा हरेक कुरालाई राजनितिकरण गरिन्छ भन्दा खासै नौलो त हुन्न तर त्यो भेलामा पनी राजनितिकरण गरिएको प्रष्टै देखिन्थ्यो । यसो हेर्दा मेयरको हुर्मत लिन नेपाली कांग्रेसको अगुवा कार्यकर्ता भेला जस्तो देखिन्थ्यो ।

यो लेखमा यसो लेखिरहँदा लेखकलाई नेकपाको हनुमान, मेयरको सपोर्टर, अनेक …….. अनेक आरोपहरु अवश्य लाग्ने छन् । त्यो विगतका लेखहरुमा पनी लागेकै हो । कुनै निश्चित विषयबस्तुमाथी केही टिप्पणी लेखिसकेपछी त्यस बिषयमा कुनै न कुनै टिप्पणी आउनु स्वाभाविक हो । लेखकले त्यो बुझेको छ । टिप्पणी गर्न पाईन्छ । सधै विकासको कुरा गरेर नथाक्ने कथित युवा नेताहरु सडक चौडा गरिने विषयमा हैन मेयरलाई असफल पार्न भनेर मरिमेटी लागीपरेका छन् । अनेक अनेक उदाहरण पेश गरेर सैद्धान्तिक रुपमा सडक चौडा पारिनुहुन्न भनेर तर्क गरिरहेका छन् ।

विकास भनेको के हो ? शिक्षा हो, स्वास्थ्य हो, रोजगार हो, सडक हो, पर्यटन हो, अनेक अनेक हो । विकासको लागी अहिले स्थानिय तहहरुले आफ्नै आफ्नै अभ्यास गरिरहेका छन् । यसमध्ये तानसेन नगरपालिकाले पनी अहिले विविध विषय संगै सडक विस्तार गर्ने भनेको छ । जसमा तानसेनको होलाङ्दी देखी तानसेन बजार हुँदै बतासे ढुङ्गाखानी सम्म विस्तार गर्ने, बसपार्क देखी मिसन क्षेत्र सम्म सडक विस्तार गर्ने प्रस्ताव गरेको छ । जुन योजनालाई जिल्लाका अधिकांश नागरिकहरुले सकारात्मक मानेका छन् ।

सरकारी या व्यक्तिगत बजेटमा विदेशका विभिन्न सहरहरुका चौडा सडकमा सेल्फी खिचेर नेपालका नेतालाई गाली गर्दै सामाजिक सञ्जालमा पोष्ट गर्ने महानुभावहरुले एउटा बस या ट्रक हिँड्दा मानिस बाटो मुनी गएर बसलाई साईड दिनुपर्ने बाटो फराकौं भन्दै योजना ल्याउने मेयरलाई सत्तोसराप गर्दै हिँडेका छन् ।

ग्रामिण क्षेत्रका जनता कुन अवस्थामा बाँचिरहेका छन् ? कस्तो समस्या झेलिरहेका छन् ? नेताहरूलाई त्यसको एक रत्ति पनि हेक्का छैन । सबै नेता ‘आफू भलो त जगत् भलो’ भन्नेमा विश्वास गर्दै मेयरलाई असफल पार्न अन्धाधुन्ध तर्क गरिरहेका छन् । पर्यटन र विकासको नारा लगाएर नथाक्ने नेताहरु एउटा बाटो चौडा बनाउने विषयलाई लिएर लंका जलाउन तयार भईरहेको देख्दा हामी कतातिर गईरहेका छौं भनेर अड्कल काट्न त्यति विज्ञ हुनु जरुरी पर्दैन ।

धेरैजसो विकासका कामको फाइल सबै कि त दराजमा बन्द हुन्छ, कि त टोकरीमा फालिन्छ । जनताको हितका लागी यहाँ विकास योजना ल्याउँदा योजनाबद्ध तरिकाले त्यसलाई तोरमरोड गर्दा हामी कता गईरहेका छौं । कार्यक्रमको प्रमुख अतिथी बन्यो, ठूलठूला भाषण ठोक्यो अनि दिउँसै सपना देखाई दियो सक्यो । जनताको दिर्घकालिन फाईदा के छ ? त्यसले सिंगो जिल्लालाई कस्तो फाईदा पुर्याउँछ केही बहस छैन । दुख भएका नागरिकहरुलाई उचाल्यो, आफ्नो स्वार्थ सिद्धी गर्यो, अरु असफल भएको हेर्यो, रमायो ।

कोही नेताले सार्वजनिक स्थलमा भाषण दिँदा जनताको समस्या के–के छ ? हामी समाधान गर्दिन्छौँ भनेर कहिल्यै सोध्न भ्याएन । त्यसको कोही कसैलाई मतलब छैन । प्रमुख अतिथी बन्यो आयोजक संस्थाको बयान गर्याे सक्यो । दिनमा १० वटा कार्यक्रम राख्दा पनि जान भ्याउँछन् तर, जनताको एउटा गुनासा सुन्न भ्याउँदैन । जनतासँग आँखा जुधाएर कहिल्यै त्यसको भाव बुझ्ने चेष्टा गरिएन । तर जव अर्को पक्षलाई खुईल्याउन सकिन्छ भन्ने खालको बिषय भेटिन्छ, घुँडोमुण्टो टेकेर पुग्छन् । भएको नभएको लिँडे तर्क गर्छन्, धम्कि दिन्छन्, मनमनै खुसी हुन्छन् ।

तानसेन बजारलाई स्वच्छ बनाउने, सफा बनाउने, फराकिला सडक बनाउने, पर्यटक तान्नको लागी जे गर्नुपर्छ त्यो गर्ने योजना बनाउनु पर्छ । हो नागरिकहरु मर्कामा परेका होलान्, उनीहरुको पनी कुरा सुन्नुपर्छ । धेरै व्यक्ति सुकुम्बासी नै हुन्छन् भने त्यो विकास किन चाहियो भनेर मेयरले भनेकै छन् । सडक बन्नु भन्दा पहिले बनेका घरहरुलाई उचित मुआब्जा दिने, सडक मिचेर नै घर बनाएका अटेरीहरुलाई कारबाही गर्ने, साँच्चै अप्ठेरो परेकाहरुलाई उचित व्यवस्थापन गर्ने काम नगरपालिकाले गर्नै पर्छ ।

केन्द्रको सरकारले हेर्न सकेन भनेरै स्थानिय तहको निर्वाचन भएको त हो नी । स्थानिय तहमा जनप्रतिनिधी आएका त हुन् नी । तानसेनको विकास गर्नको लागी मेयरले योजना ल्याउँदा फलानो पार्टीको योजना भन्दै कम्मर कसेर असफल बनाउन लाग्नेहरु देखी होसियार हुनुपर्छ । राजनैतिक स्वार्थ पुरा गर्न नपाएकाहरुले अहिले गतिलो मुद्धा पाएका छन् नागरिक र जनता उचाल्ने । अव देश स्थिर अवस्थामा छ । अहिले विकास नभएको कहिल्यै पनी हुँदैन । अहिले नबनेका योजनाहरु कहिल्यै पनी बन्दैनन् । अहिले नदेखेका सपनाहरु कहिल्यै पनी देखिदैनन् । केही झिनामसिना अवरोधहरु आउन सक्छन्, अवरोध नआईकन काम सम्पन्न हुँदा त्यती मजा पनी आउँदैन । अहिले ठिक योजना आएको छ । केही व्यक्तिहरुलाई बाहेक अधिकांशलाई फाईदा हुने योजना बनेका छन् । यसमा जनाताको साथ छ ।

अहिले व्यक्तिगत या सामुहिक, सभ्य या असभ्य । जुनसुकै तरिकाले धम्कि आउन सक्छ । असफल पार्नको लागी लाखौं योजना बुनिन सक्छ । अहिले आएको यो समस्यालाई मरिमेटेर समाधान गर्नुभो भने भोलीका सन्ततीले सम्झेलान फलानाले यती राम्रो काम गरेको थियो भनेर । राजतन्त्र सकियो तर पनी एकिकरण गर्ने पृथ्वीनारायण साहलाई सम्झने र उनको गुणगान गाउने लाखौं गणतन्त्रबादीहरु छन् । अहिले स्थानिय तहलाई असफल पार्न सबै ठाउँमा लागेका छन् । ठेकेदारले नक्कली काम प्रमाणीत नहुँदा विरोध गर्छ । घुस्याहा कर्मचारीले कमिसन खान नपाउँदा विरोध गर्छ । प्रतिपक्षले नागरिकका पक्षमा असल काम हुन लागेको बेला जनता भाँड्छ । जनताको खोल ओढेका पार्टीका कार्यकर्ता जनप्रतिनिधीको सकारात्मक कामको विरोध गर्छ र भाँडिन्छ । पत्रकारले अनुकुल भन्दा बाहिरका व्यक्तीको मात्र भावना समेटिएको समाचार लेख्न सक्छ । उही खालका सञ्चार माध्यमबाट सम्प्रेषण गर्न सक्छ ।

विकास बिरोधीहरुलाई तह लगाउन चर्को कदम चाल्नैपर्छ । व्यक्तिगत रुपमा असफल बनाउन लागीपरेका हुने भनेर प्रमाणित गर्न अरु केही गर्न पर्दैन । अहिले तानसेनको सडक चौडा पार्ने विषयलाई राजनैतिक रङ दिनेहरुको फेसबुक राती १० बजेको सेरोफेरोमा निरिक्षण गरे पुग्छ । राती रक्सीको नसामा फेसबुकमा पोष्ट गरेर कुण्ठा पोख्छन्, बिहान उठेर होसमा आएपछी पोष्ट डिलिट गर्छन् । त्यसैले केही चिन्ता छैन । विकासका साझेदार जनप्रतिनिधी चुन्ने नागरिकहरुले जनप्रतिनिधी बचाँउन पनी जानेका होलान् ।

त्यसले मेयर ज्यू, विकासको काम गर्न खुट्टा नकपाउँनुस् । केही गर्नुहोला भनेर नै नागरिकले तपाईंलाई धेरै मतले निर्वाचित गरेका हुन् । विकासको काम गर्दा यदी आफ्नो जनप्रतिनिधी माथी कसैले ढुङ्गा हान्ने चेष्ठा गर्छ भने त्यो ढुङ्गा आफ्नो छातीमा थाप्न हजारौं युवा तयार छ ।

उच्च शिक्षाको सपनाः माण्डव्य बहुमुखी क्याम्पस

अथक परिश्रमको कारणले प्राथमिकबाट निम्न माध्यमिकमा परिणत हुन सक्यो । निरन्तर परिश्रम, अविचलित चिन्तन र कठीन तपस्याको फलस्वरुप निम्न माध्यमिक स्तरबाट माध्यमिक स्तर सञ्चालनको अनुमति मिल्यो । उच्च शिक्षाको अध्ययनको निम्ति तानसेन जानुको विकल्प थिएन । सम्म भेगको बढ्दो बस्ती, जनघनत्वको चाप हुँदाहुँदै पनि विश्व विद्यालय स्तरीय पठनपाठनको खाँचो खड्किन्थ्यो नै । गाउँ र सहर बीचको दुरी थियो । गाउँबाट सहरसम्म पुगेर सबैले अध्ययन गर्न सक्दैनथे । दमकडा माध्यमिक विद्यालय दमकडा, शारदा माध्यमिक विद्यालय मदनपोखरा, विष्णु माध्यमिक विद्यालय पोखराथोक, दिव्यज्योति माध्यमिक विद्यालय सराई र किसान माध्यमिक विद्यालय झडेवाबाट उत्तिर्ण विद्यार्थीमध्ये अधिकांशले शिक्षाबाट हात धुनु पथ्र्यो । विद्यार्थीहरु असिनपसिन सालघारीका उकालो चढिरहेको र सालका पातले पसिना पुछ्दै हिंडेको दृष्य मन भतभति पोल्थ्यो । करिव २\३ घण्टाको पैदल हिंडेर अध्ययन गर्नेहरू प्रति श्रद्धा र स्नेह थिँदै थियो त्यो भन्दा बढ्ता करुणाले मन भरिन्थ्यो । अव्यक्त मनमा क्याम्पस स्थापनाको बीऊ रोपिएको थियो । अंकुराउन पाएको थिएन । समथर भूभागमा रहेका सार्वजनिक जग्गाहरू दिन प्रतिदिन मिचिदै र अतिक्रमित बनिरहेका थिए । ति सार्वजनिक जग्गाको उचित उपयोगका निम्ति आधुनिक शिक्षालय र विश्वविद्यालय हुन सक्छन् भन्ने लागिरहन्थ्यो । क्याम्पसका सञ्चालनका लागि सार्वजनिक जग्गा बलियो आधार देखिन्थ्यो, भू–स्रोत देखिन्थ्यो । यहाँ क्याम्पस बिस्तारका निम्ति पर्याप्त ठाउँ पुग्थ्यो । मदनपोखराका सबै शैक्षिक संस्थामा एउटा एउटा फ्याकल्टीको बिस्तार गर्ने, व्यवस्थापन, मानविकी, कानुन र विज्ञान संकाय छुट्टाछुट्ट स्थानमा खोल्ने र मुख्य कार्यालय दमकडामा राख्ने त्यतिबेलाको कल्पना थियो । एक अर्थमा सपना रहेछ । शैक्षिक विकासका सन्दर्भमा विभिन्न व्यक्तिहरूसँग भेटघाट र परामर्श चलिरहन्थ्यो । माडीको घेरोभित्र बढिरहेको जनसंख्या र बसाइसराईको क्रम देख्नेहरू उच्च शिक्षाको सम्भावना दर्शाइरहन्थे । राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख आयुक्त विनयकुमार कसजू, त्रिभुवन बहुमुखी क्याम्पस तानसेनका पूर्व क्याम्पस प्रमुख मनमोहन श्रेष्ठ र वरिष्ठ पत्रकार मेघराज शर्मा दमकडामा क्याम्पस खोल भनेर प्रेरित गरिरहन्थे । क्याम्पस खोल्नभन्दा आवश्यक भौतिक पूर्वाधार, आर्थिक आर्जन, विद्यार्थी संलग्नता र शिक्षक व्यवस्थापनको चुनौति मुख्य कुरा थियो । मौन बसेरै उपयुक्त समय पर्खनुको अर्को उपाए थिएन । २०४८ सालको वर्षे विदामा काठमाडौँमा थिए । एकदिन साँझ गुणाकर अर्याल र तोयनाथ खनाल मेरो डेरामा आइपुग्नुभयो । सञ्चोबिसञ्चो र छलफलको क्रममा क्याम्पस खोल्ने प्रस्ताव राख्नुभयो । उहाँहरूको भनाई थियो ‘‘तपाईँ झोला बोक्नुस्, हामी काँध थाप्छौँ ।’’ बल्ल साथी पाएँ जस्तो लाग्यो । आत्मबल बढ्यो । उत्साह थपियो । अर्कोदिन उहाहरू आफ्नो काममा लाग्नुभयो । म त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यालयमा गएँ । त्यहाँबाट पनि हौसला पाएँ, मदनपोखरामा क्याम्पस चलाउन सक्छन् भन्ने । क्याम्पस सञ्चालनका लागि माग फारमसहित पुनः दमकडा फर्कें । क्याम्पस स्थापनाको लक्ष्य बोकेर बौद्धिक परामर्श र सामुहिक अपनत्वका निम्ति शारदा मावि, दिव्यज्योति मावि र विष्णु माविसम्म अनुरोध गर्न पुगियो । दमकडा केन्द्र पर्ने कारणले पनि स्थानीय शिक्षाप्रेमी, समाजसेवी, राजनीतिज्ञ सबैसँग सल्लाह भइसकेपछि वृहत भेला गर्ने निर्णय गरियो । २०४८ साल श्रावण १७ गतेका दिन करिव ७८\७९ जना बौद्धिक तथा समाजसेवी व्यक्तित्वको दमकडा माविको सभाहलमा भेला भयो । मदनपोखरा, कसेनी, रुप्से, पोखराथोकका मान्यजनको भेलाले आवश्यकताको महशुस गरी क्याम्पस स्थापना गर्ने निर्णय ग¥यो । क्याम्पसको नामाकरण माण्डव्य राख्ने, सार्वजनिक जग्गा प्राप्ति र सञ्चालक समिति गठन गर्ने कामसमेत ग¥यो । भोलिपल्टै श्रावण १८ गतेका दिन साविक मदनपोखरा गाविसको वडा नं.७ को बैठकले घिमिरेडाँडा उपलब्ध गरायो । माण्डव्य क्याम्पस माग फारम भरेर सञ्चालक समितिको निर्णय प्रतिलिपी, सञ्चालक समिति अध्यक्षको सही समेत गरेर उपकुलपतिको कार्यालयमा पेश भयो । अन्ततः २०४८ साल भाद्र ३० गते क्याम्पस स्वीकृतिको अनुमति प्राप्त भयो । आन्तरिक तयारी थालियो । बैठकहरू आयोजना गरियो । सोही वर्षको पौष ३ गते विहान ६.२० बजे ३६ जना विद्यार्थी र ६ जना शिक्षकबाट कक्षा सञ्चालन भयो । पौष महिनाभित्रै विद्यार्थी संख्या ४८ पुग्यो । खुला विज्ञापनमार्फत् वाणिज्य शास्त्रको निम्ति २ जना शिक्षक थप गरियो । आभारी छु यस क्षेत्रका समुदायप्रति जसले सोचेका बेला हरेक सोंचहरूमा श्रम, पसिना, बुद्धि र विवेक लगाएका छन् । कृतज्ञ छु दमकडा मावि प्रति जसले भौतिक सामग्री भवन, फर्निचर, कार्यालय, दराज उपलब्ध गरायो । नतमस्तक छु ती शिक्षाप्रेमी, समाजसेवी जसले हौसला बढाइदिनुभयो । त्यस समयका कतिपय व्यक्तित्व समाधिस्थ भैसक्नुभयो, कति वृद्धावस्था यापन गर्दै हुनुहुन्छ । आजभन्दा २७ वर्ष पहिला जन्मेको क्याम्पस अहिले युवाअवस्थामा छ । शैशवकाल उत्साहमा बितायो । किशोरावस्था र यौवनावस्था दुःखमा बितायो । कुशल नेतृत्वको फलस्वरुप कोल्टे फेर्दैछ । आशा गरेको छु स्नातकोत्तर तहका पढाइ सञ्चालन हुनेछ । समयले मागेका विविध विषयहरू थपिने छन् । सामुदायिक क्याम्पसले विश्वविद्यालयकै आंगिक क्याम्पसको मान्यता पाउनेछ । विद्यार्थीको आकर्षण थपिनेछ । शिक्षकहरूमा उत्साह थपिनेछ । एकदिन विगतको सपना एउटा सुन्दर विपनामा परिणत हुनेछ । अस्तु ।

तीजको रमझम : सामाजिक एकताको आधार

चाड पर्वहरू कुनै स्थान, जाति वा लिङ्ग विशेषले शुभारम्भ गरेको भए तापनि ती पर्व संस्कृतिहरू कुनै जातिको, कुनै भाषीको, कुनै धर्मको वा कुनै खास स्थानको घेराभित्र सीमित भएर रहन सक्दैन । पर्व संस्कृतिले संकीर्णताको घेरा तोडेको हुन्छ र सबै जाति, भाषा र मतावलम्बीसँग नाता जोडेको हुन्छ । तिजपर्वलाई आध्यात्मिक आँखाले हेर्दा हिन्दु नारीहरूको पर्व भनिए पनि यो पर्व संस्कृतिले नेपालका आम महिलाहरूलाई मात्र नभई पुरुषहरू समेतलाई प्रभावित तुल्याएको पाइन्छ । आध्यात्मिक भावले हिन्दु महिलाहरूमा हरितालिका व्रत बस्ने प्रचलन रहे पनि सांस्कृतिक रूपमा विभिन्न हिन्दुइतर महिलाहरू र पुरुषहरू समेतलाई र हिमाल पहाड तराईमा रहने आधिकांश भाषा धर्मका जाति जनजातिहरूका बिच पनि साझा पर्वको रूप धारण गरेको देखिन्छ । यो पर्व आमनारी जागरणको साझा पर्व बनेको छ । सामाजिक सदभाव वृद्धि र राष्ट्रको समृद्धिको लागि यो जीवन्त र प्रेरणादायी पर्व बनेको छ । विवाहिता चेलीहरू र माइतीका बिचमा दुःखसुख आदान प्रदान गर्ने, पुनर्मिलन र सद्भावको सन्देश दिने काम तिजपर्वले गरि रहेको छ । पर्व संस्कृति सामाजिक अग्रगमनका आधार हुन्, इतिहासका सूचना र सन्देश हुन् । संस्कृति सबैभन्दा जेठो र प्रिय हुन्छ, तिजपर्वले पनि हामीलाई यही चिनाएको छ । सामाजिक एकता र राष्ट्रिय एकताको सन्देश नारी जागरण र अन्यायका विरुद्धमा विद्रोहको शङ्खघोष गरेको छ । यसले अन्धविश्वास, असामाजिक र असामायिक प्रचलनका विरुद्धमा विद्रोहको आवाज बुलन्द गर्दै आएको छ । त्यसैले तिजपर्व निष्क्रिय र औपचारिक पर्व मात्र होइन नारी जागरणको एउटा जिउँदो जाग्दो जनसंस्कृति पनि हो । जनसंस्कृतिको अर्थ जनतासितको सुमधुर सम्बन्ध र एकताको अभिव्यक्ति हो । नेपाल देशलाई विश्वमा चिनाउने सगरमाथा र बुद्धको जन्मस्थल लुम्बिनी भए झैँ नेपालको अर्काे चिनारी पर्वैपर्वको संस्कृति पनि रहेको छ । यी पर्वपर्वैहरूका माझ अलि छुट्टै विशेषता राख्ने पर्व तिज हो । मूलतः महिला केन्द्रित यस पर्वमा अधिकांश हिन्दुदेखि गैर हिन्दुसम्मका नेपाली महिलाहरूले मिठोचोखो खाने, व्रत उपवास बस्ने र नाचगान गरेर अत्यन्तै हर्षोल्लासका साथ यो पर्व मनाउँछन् । सामान्यतया नाचगान जस्ता कुराले सबैको ध्यानाकर्षण गर्ने भएकाले पनि तिज पर्व संस्कृतिले हिन्दु इतर नेपाली महिला र पुरुषहरू समेतलाई नाच्न, नचाउन र गाउन अनि रमाउनका लागि अवसर प्रदान गरेको देखिन्छ । यस कारणले तिज पर्व नेपालको सबैभन्दा ठुलो र अत्यधिक जनसंख्यालाई प्रभावित गर्न सफल पर्व संस्कृति हो । यी सबै क्रियाकलापले तिजी संस्कृतिमा हुँदाहुँदै पनि केही अन्धविश्वास र अवैज्ञानिक धारणाले स्वयं महिला समुदाय हिंसा र दमनमा परिरहेको छ । त्यो भनेको व्रतउपवास विधि प्रक्रियामा रहेका अवैज्ञानिक असामयिक र रुढीग्रस्त विचार दृष्टिकोण नै हुन् । गरुड पुराणको ४६ र ४७ मा उल्लेख गरिएको छ— पत्नीले जिउञ्जेल पतिको सेवा गरोस् र मृत्युपछि पति पतिसँगै सती जाओस् । यस्तो विचार परम्पराले पतिको आयुसँग महिलाको आयु गाँसिने धार्मिक मनोवैज्ञानिक ग्रन्थी निर्माण गरिदिएको छ । त्यसै भएर होला पतिको दीर्घायुको कामना गर्दै महिलाहरू तिज अर्थात् भाद्र शुक्ल द्वितीया दिन व्रत बस्ने गर्छन् । जितिया संगिनी र गौरामा पनि यही विधि अनुसार व्रत बस्दछन् । तिजपर्वका सन्दर्भमा केही सकारात्मक पक्षहरू पनि रहेका छन् । तिजको मौलिक पक्ष (भाषालय, स्वर संगीत) लाई संरक्षण र सम्वद्र्धन गर्नुपर्छ भन्ने भावनाको विकास भएको छ । तिजको मौलिक पक्ष संरक्षण गर्न र बदलिँदो परिवेश बमोजिमका विषयवस्तुमा केन्द्रित भएर उद्देश्यमूलक गीत रचना पनि हुँदै गएका छन् । कलाकारहरूको ध्यान तिज संस्कृतिप्रति आकर्षित भइरहेको छ । धेरै विद्वान् शोधकर्ताहरूबाट तिज पर्व संस्कृतिको महत्वमाथि अनुसन्धानको थालनी पनि भइरहेको छ । तिज पर्व संस्कृति जति लोकप्रिय र जीवन्त हुँदै गए पनि समस्या र चुनौतीहरू पनि उत्पन्न भएका छन् । नयाँ पुस्ताका महिला समुदायले तीज पर्व संस्कृति अन्तर्गतका लय–भाका, तिजी परम्पराको भाषाशैलीलाई राम्ररी पक्रन नसक्दा गीतहरूको शब्द रचनामा क्लिष्टता, एकै लय भाका र स्वरका गीतहरू मात्र प्रस्तुत भइरहेका छन् । तिजी गीत, संगीत र नृत्यमा छाडापन यौनपरक प्रस्तुतिको प्राधान्य देखापर्दै गइरहेको छ । नयाँ प्रविधिको विकास र उपलब्धता हुँदाहुँदै पनि ती परम्परागत तिज गीत, संगीत, नृत्य कलालाई अभिलेखीकरण र रेकर्ड गर्ने काम खासै भएको छैन । तिज संस्कृतिका पारखी कलाकार हजुरआमा र आमाहरू स्वाभाविक रूपमा बित्दै जाँदा उनीहरूमा रहेको कला सौन्दर्य पक्ष पनि उनीहरूको मृत्युसँगै अतीत हुन पुगेको छ र नयाँ पिढीले ती शब्द रचना पक्ष र भाका र लयको अनुकरण गर्नतिर ध्यान दिइरहेका छैनन् । तिज गीत रचना र गायनमा पुरुष कलाकारहरूबाट हस्तक्षेप हुँदै गएको देखिन्छ अनि तिज गीत र कलामा रत्यौली परम्पराको मिश्रण गरिदिँदा तिज गीत गायनमा मौलिकता हराउने अवस्था देखापरिरहेको छ । आजभोलिका कलाकारहरूले तिज गीतसंगीतलाई व्यवसायिकीकरण गरेर सस्तो लोकप्रियता हासिल गर्ने दौडमा लागिरहेका छन् । तिज नेपाली नारीको पर्व हो राष्ट्रिय पर्व हो । पर्वका वेला मिठो चोखो दर खानु, रमाउनु, माइती र छोरी चेलीको बिचमा आत्मीय सद्भाव बृद्धि गर्नु राम्रो कुरो हो । दरको नाममा गरिबका लागि डर सिर्जना हुने गरी तारे होटलतिर दरखानु सामाजिक अपराध पनि हो । तिज पर्व तिज पर्व बन्नुपर्छ अर्थात् चाहेको खोजेको पर्व बन्नुपर्छ । नेपाली सन्दर्भमा चाडपर्व सकिनसकी ऋण काडेर भए पनि मनाउने प्रवृत्ति पाइन्छ । तलेघरेले हात्ती चढ्यो भन्दैमा हात्ती चढ्न खोज्नु, धौलेघरेले ठुली खसी काट्यो भन्दैमा झन् ठुलो खसी काट्नतिर लाग्नुभन्दा पर्व संस्कृतिलाई भड्किलो महँगो बनाउनतिर लाग्नु राम्रो होइन मितव्ययी र जीवनोपयोगी बनाउनु आजको आवश्यकता हो । परम्परागत रूपमा चलेको पर्वलाई नयाँपन दिनु ठिक छ तर यसको सामाजिक–सांस्कृतिक मूल्य, मान्यता र सकारात्मक मौलिकताको जगेर्ना गर्नतिर ध्यान दिनु पनि आवश्यक देखिन्छ ।

प्रहरीले खाने सोमरसको टाईटल स्पोन्सर : मोटे साहु

“नियम, कानुन भन्ने कुरो पनी हुन्छ नी । जे मन लायो त्यही गर्ने ? गलत ठाउँमा पार्किङ गर्ने । खै ? कागजपत्र ल्याउनुस् ।” फ्याट्ट भुँडि लागेका हवल्दार साप कड्किए । बिरामी भेट्न स्कुटी सापट मागेर गाको मान्छे कागजपत्रको पत्तै भएनछ, यसैमाथी लाईसेन्स नभाको म । अक्कबक्क परें । सापले बुझीहाले यो मान्छे संग कागजपत्र छैन भन्ने । धेरै अनुभव रैछ, आफ्नो अनुभव फ्याट्ट प्रयोग गरिहाले महामहिमले :– “सुर परे कागज नै छैन होला ?” मैले नढाँटी भने :– “लाईसेन्स त छैन सर, ब्लुबुक चाँही स्कुटीको डिक्कीमा छ । साथीको मागेर ल्याएको स्कुटी हो ।” उनले बुझीहाले :– “कुरो मिलाउने हो भने मेरो पछी पछी आउनुस् ।” चावि र हेल्मेट चाँही नजिकैको होटलमा राख्न गए । ब्लुबुक चाहीँ आफ्नै खल्तीमा राखे । मलाई थाहा थियो हरेक प्रहरी र चौकीको त्यस्तो ब्रोकर स्थान हुन्छ जसले उनीहरुको घुस कलेक्सन गरिदिएको हुन्छ । त्यसबापत उ प्रहरीको प्यारो त हुन्छ नै । होटल हो भने त अझै गज्जव, राती अवेर सम्म भट्टी चलाउन पाईने, माथीबाट चेकिङ आयो भने पुर्व सुचना पाईने । यो कुरा प्राय सबैलाई थाहा हुन्छ तर बोल्न सक्दैनन् कोही । किनकी प्रहरी भनेको यो देशको कानुन पालना गराउने विना वर्दीका नागरिक हुन् । उनीहरुले जे गर्न पनी पाउँछन् । उही हल्सापको पछी लागिरहें, उनी सरासर हस्पिटलको गेट भित्र छिरे । ब्लुबुक दिँदै भने :–“ट्वाईलेटमा जानुस्, त्यसको विचमा पाँच सय रुपैंया राखेर त्यो ब्लुबुक मलाई दिनुस् ।” मलाई बिरामी भेट्न र घर फर्कन हतार थियो, आफैले आफैलाई अली अली जान्ने बुझ्ने पल्टेको पनी ठान्ने म प्याच्च बोलीहालें :–“रसिद त पाईन्छ नी सर ?” “रसिद खोज्ने हो भने त प्रक्रिया मिलाउनै एक हप्ता लाग्छ । पठाईदिउँ त चौकी ?” एउटा स्कुटी पनी आफै किन्न नसकेर आएको हेर्दै निमुखा देखिने मेरो अनुहारमा थुकका छिटा उछिट्याउँदै मोटे पुलिस कड्कियो । साथीको मागेर आएको, आफ्नै भए त प्रक्रियामै जान हुँदो हो । पाँच सय रुपैंयाको लागी एक हप्ता त कसरी स्कुटी चौकीमा राख्नु भनेर खुरुखुरु ट्वाईलेटमा गएर ब्लुबुकमा पाँच सयको नोट पट्याएर राखें अनी मोटे हल्सापलाई बुझाएँ । उनी फेर त्यो ब्लुबुक लिएर ट्वाईलेट गए, पाँच सयको नोट आफ्नो खल्तीमा जिप्ट्याए, अनी मेरो ब्लुबुक मलाई थमाए । म स्कुटी स्टार्ट गरेर हिँड्नै लागेको थिएँ, उता फेरी अर्को मुर्गा फँसिसकेछ । उसलाई पनी हल्साप नियम र कानुन पालना गर्न सिकाउँदै थिए :–“नियम, कानुन भन्ने कुरो पनी हुन्छ नी । जे मन लायो त्यही गर्ने ………………………….।” अली अवेर भयो भने बाटोमा फेरी अर्को प्रहरीले नियम कानुन सिकाउला भन्ने डरले टाप कसिहालें । “घुस लिन्या र दिन्या दुवै यो देशका सत्रु हुन्” भन्ने पृथ्वीनारायण साहको भनाई झ्याप्प सम्झें । घुस दिएकोमा आजबाट थप एउटा सत्रु देशले पायो । तर उनी हल्साप भने यो देशको शत्रु गनिन्नन् है । किनकी उनी त राष्ट्रसेवक पो हुन् त । …………………………………………………………………………… एकपटक हतार हतारले सदरमुकाम जाँदै थिएँ । गाउँकै दाईले चलाउने मोटे साहुको एउटा बोलेरोमा तिन जना बसेर आएका रहेछन् । कच्ची बाटो हिँड्नु पर्ने, धुलो बाटो भएकाले ति दाईले पनी टिठाए, आईज बस् बाबु पछाडी भए पनी । पक्की बाटो सम्म छोड्दिन्छु । म खुरुखुरु बोलेरो पिक अप को पछाडी बसें । बाटोमा जाँदा जाँदै दुईजना प्रहरी सापहरु भेटिनु भो । सुरु भो उहाँहरुको नियम र कानुनको कुरा ः– “मान्छे बोक्ने गाडि हो यो ? के हो ताल ? खै कागजपत्र ल्याउनुस् ।” दाईले खुरुखुरु काजगपत्र बुझाए, म धुलो बाटो हिँड्न थाले । केही दिनपछी उनै दाई बाटोमा भेट भए, मैले आफ्नै कारणले कागजपत्र पक्रिएको भन्दै सोधें :–“कागज पत्र छुटायौ त दाई ?” दाह्री मुसार्दै उनी बोले :–“जावो त्यती नी गर्न सकेनन् भने त ति मुलाहरुलाई जाँड खुवाउने मेरो साहुको के काम ?” पछी थाहा पाएँ, ति दाईको साहुजी संग ति प्रहरीको राम्रो सम्बन्ध रहेछ, राम्रो सम्बन्ध भन्नाले साँझमा प्रहरीले खाने सोमरसको टाईटल स्पोन्सर । ……………………………………………………………… प्रहरी संग देखेका, भोगेको सुनेका, पढेका धेरै घटनाहरु मेरो मनस्पटलमा उब्जीरहेका हुन्छन्, जुनसुकै बेला । कत्ती पटक त आफै जाँड खाएर मादक पदार्थ सेवन चेकिङमा बसेको देखेको छु । यसरी कानुनको पालना गराउने वर्दीसहितका प्रहरी देखेरै कहिल्यै पनी प्रहरी हुने ईच्छ्या भएन । कहिले काँही त हाँसो पनी लाग्छ, यो प्रहरीहरुको कपडामा धेरै र ठुला ठुला गोजी त्यही घुस खाने ठाँउ धेरै बनाउन होला भन्ने लागेर । यसो भनिरहँदा धेरै निष्ठावान प्रहरीहरु पनी होलान्, जसले ईमान्दारिता अझैसम्म नतोडेका होलान । तर जस्को कसम खाएर भन्नु परे पनी म तयार छु, खाने र लुट्ने मानसिकता नभएको पहरी मैले भेटेको छैन । यसमा मलाई निकै नकारात्मक सोंचाई भएको व्यक्ती भन्लान्, तर मलाई यसमा केही गुनासो छैन, किनकी अहिलेसम्म मैले देखेकै छैन त के गरुँ ? लाईसेन्स नभई स्कुटी चलाउने म जस्ता नियम मिच्नेलाई प्रहरीले नियम अनुसार कारबाही गरोस्, न कि ट्वाईलेटमा लगी लगी पैसा दिएर उम्किने वातावरण आफै सिर्जना नगरोस् । प्रहरीको तलब कम हुन्छ, त्यसैले प्रहरी घुस खान बाध्य हुन्छ । प्रहरी दिनभरी घाम र धुलोमा खटिईरहन्छ अनी तलब पनी अरु कर्मचारी भन्दा कम पाउँछन् । त्यसैले घुस खान बाध्य हुन्छन् । ए बाबा । तलब कम लाग्छ भने मेरा बाउले जस्तै हलो जोत न । मेरा छिमेकी काकाले झैं जुत्ता सिलाउ, मेरा दाई झैं घर बनाउने काम गर । तर तलब कम भएको नाममा कहिल्यै पनी नागरिक संग पैसा असुल्ने छुट तिमिलाई छैन । मैले अहिले सम्म * चुनावका बेला चौकी चौकीका प्रतिनिधी प्रहरीलाई बोत्तलका बोत्तल महंगा रक्सी छोड्न राजनैतिक दलक युवा नेता गएको देखेको छु । ति पार्टीका व्यक्तीलाई कस्ले छुने ? * हरेक सामाग्री बोक्ने बोलेरो पिक अपहरुले प्रत्येक खेपमा सय पचास रुपैंया या जे सामान बोकेका छन् त्यो प्रहरीलाई बुझाउनु पर्छ । ति व्यापारीहरुलाई कुन कानुनले छुने ? * हरेक होटलवालाहरुले प्रहरीलाई बेलाबेलामा सोमरस र सितन सहित केही दक्षिणा दिएका हुन्छन् । ति होटल सुहुहरुलाई कुन कानुनले छुने ? * हरेक ठुला जुवाको खालबाट प्रहरीको लागी केही भाग छुट्टिन्छ । ति जुवाडेहरुलाई कुन कानुनले छुन सक्ने ? * हरेक खानी उद्योगहरुले प्रहरीको लागी बिशेश व्यवस्था गरेका हुन्छन् । ति उद्योगीहरुलाई कुन कानुनले छुन सक्ने ? यसमा साना दर्जाका प्रहरीहरुलाई भाग भने नपरेको हुन सक्छ है । यस्ता हजारौं उदाहरणहरु मैले देखेको छु । यो सुधार्न मैले मात्रै पनी सक्दिन । तर सबैले सुधार्ने कोसिस गर्यो भने पक्कै पनी सुध्रिने छ । कानुन पालना गराउन भनेर जागिर खाएका तपाँई प्रहरी साथीहरु एकपटक आफैले नैतिकतामा रहेर काम गर्नुस् । तपाईंको तलब कती भनेर सोध्नेले बाही कमाई पनी त हुन्छ होला नी भनेर सोध्ने आाट नगरुन, त्यस्तो छवि बनाउनुस् । आफुभन्दा माथिल्ला प्रहरी, नेता, व्यापारी, कालोबजारी, उद्योगपती, पत्रकार कसैलाई पनी नछाड्नुस् । अनी बेलुकी सुत्दा पनी हरेक दिन आनन्दको सास फेर्नुहुनेछ । अनी हरेक आमा बाबुले प्रहरीमा जागिर खुवाउने बेला छोरालाई आफ्नो शिरमा हात राखेर कसम खुवाउनुस् की बरु एक छाक खाउँला तर तेरो घुसको कमाई खान नपरोस् ।

कर विना देश समृद्ध हुन सक्दैन

राजेशकुमार अर्याल

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान र कानुन पूर्ण रुपले नयाँ उपज र नेपाली जनताका नयाँ उपलब्धी हुन् । नयाँ संविधानका व्यवस्थाहरु पूरानो संविधानका निरन्तरता होइनन् । नयाँ कानुनका व्यवस्थाहरु पनि पूरानो कानूनका निरन्तरता होइनन् । संवैधानिक नयाँ व्यवस्थालाई त्यो गहिराईमा पुगेर अध्ययन, विश्लेषण र प्रयोग गर्ने कार्यमा कमी भएको छ । जसले गर्दा हल्लालाई स्थान दिइरहेको छ ।

नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह तीन वटै सरकारलाई कर र शुल्क लगाउने अधिकार दिएको छ । संविधानको अनुसूची ५,६,७ र ९ मा गरी १६ थरि कर र ६ थरि शुल्क लगाउन सक्ने व्यवस्था छ । संघीय संरचना र ढाँचा प्रत्येक नेपालीका लागि नौलो व्यवस्था हो । सर्वसाधारण नागरिक मात्र होइन सरकारी अधिकारीहरु पनि यो नौलो संरचनामा अभ्यस्त हुन सकिरहेका छैनन् । प्रायः स्थानीय तहमा राजश्व वा कर बुझेको कर्मचारी हुँदैनन् । त्यसमाथि कर कानुनको मस्यौदा अर्थ मन्त्रालयबाट नभएर संघीय मामिला मन्त्रालयबाट पठाइयो । स्थानीय तहका कानुन मस्यौदा समिति जिम्मेवार भएर छलफलमा जुटेनन् । कर्मचारीहरु जिम्मेवार भएर करका दर र दायरा तोक्ने कार्यमा संलग्न हुन सकेनन् । संघीयता कार्यान्वयनमा गइसकेको छैन, संघीयता सफल असफल भन्ने बेला भइरहेको छैन । संविधानले प्राकृतिक स्रोत र वित्तको बाँडफाँड, कर्मचारी समायोजन र तीन तहका सरकारका बीचमा सहकारी सिद्धान्तका आधारमा सहकार्यमा आधारित कानून निर्माण भएको छैन । नयाँ प्रणाली स्थापित भइसकेको छैन । करका सन्दर्भमा उठेका हल्ला एउटा प्रायोजित छ र अर्को विगतका करको निरन्तरता छन् । विगतमा नगरपालिकाले घर बहाल कर २ प्रतिशत लिन्थ्यो । केन्द्रीय सरकारले १० प्रतिशत कर लिन्थ्यो । संविधानले दुई ठाउँबाट कर लिन नपाउने व्यवस्था गरेवमोजिम अहिले स्थानीय तहले १० प्रतिशतभन्दा कर लिएका छन् । घर बहाल कर १२ प्रतिशतबाट घटेर १० प्रतिशतभन्दा तल झरेको छ । यसैगरी खसी बाख्राको सन्दर्भमा पनि भ्रमपूर्ण प्रचार भएको छ । तराई र पहाडका केही भागमा साप्ताहिक हाट बजार परापूर्वकालदेखि चलेको छ । हाटबजार नलाग्ने ठाउँमा यो कर नै छैन । ठाउँ उपलब्ध गराए वापत साप्ताहिक हाटबजारले शुल्क लिने रहेका रहेछन् । संघीयता कार्यान्वय गर्ने विषयसँग जोडेर प्रचार गर्नु आफैमा भ्रमपूर्ण सन्देश हो । पहिले नगरपालिकाहरुले एकीकृत सम्पत्ति कर लगाइरहेका थिए, अहिले त्यो संशोधन गरी सम्पत्ति कर मात्र लगाइरहेको छ । संशोधित कानुनले जनतालाई लाभांवित तुल्याइरहेको छ । स्थानीय तहले कर कानुन बनाउनुपर्नेमा आर्थिक ऐन जारी गरेका छन् । सैद्धान्तिक र व्यवहारिक रुपमा नमूना आर्थिक ऐन आफैमा अपर्याप्त र काम चलाउ थियो, जसको विज्ञ र सरोकारवालासँगको परामर्शमा परिस्कृत हुन सक्दथ्यो । करदातासँगको छलफलमा करका दर तय गर्न सकेको भए पनि यतिसारो आलोचना खेप्नु पर्दैनथ्यो । कर मात्र होइन सेवा शुल्कका निर्धारणका सन्दर्भमा पनि कानुन चाहिन्छ । सेवा कानुन नहुने तर सेवा शुल्क तोक्ने काम पनि अलि नमिलेको विषय हो । नागरिकलाई अधिकार र कत्र्तव्य दुबै कानूनद्वारा दिइन्छ । कतिपय कानूनमा नागरिकलाई अनिवार्य काम तोकेको हुन्छ भने कतिपयमा ऐच्छिक रुपमा काम निर्धारित हुन्छ । नवशिशुको जन्म दर्ता गराइदिनुपर्ने बाबु आमाको कानूनी कत्र्तव्य र अधिकार हो । स्थानीय तहको विषयमा अधिकारको कुरा गर्दा संघीय र प्रदेश सरकारभन्दा पूर्ण रुपले स्वतन्त्र रहेको व्याख्या गरिएको पाइन्छ । तर संविधानको धारा २३५ को उपधारा (१) ले कुनै स्थानीय तह वा प्रदेशले बनाउने कानूनको सीमा तोक्ने अधिकार संघीय सरकार र संघीय संसदलाई दिइएको छ । अन्तर सरकारी र अन्तरपालिकाका कानूनहरुमा एकरुपता कायम हुन नसक्नुको मुख्य कारण नै स्वतन्त्र छौं भन्ने भावनाले हो । नौलो अभ्यास सुरु गरेका स्थानीय तह आफ्ना कर कर्मचारीलाई उचित तालिम दिने, सक्षम बनाउने काम गर्न सकेका छैनन् । स्थानीय तहमा राजस्व प्रशासन कमजोर छ । स्थानीय तहहरुले आर्थिक ऐन २०७४ र आर्थिक ऐन २०७५ अनुसार कर लगाएका छन् । आर्थिक ऐनहरु विद्यमान कानूनी संरचनामा अमिल्दा छन् । संविधानमा कानुन वमोजिम कर लगाइनेछ भन्नुको अर्थ करसम्बन्धी कानुन विना कर लगाउनु कदापी होइन । जहाँजहाँ कानुन वमोजिम भनिएको छ त्यहाँत्यहाँ विषयगत कानून नबनेसम्म त्यो संवैधानिक धारा आकर्षित हुँदैन । जनताले सरकारलाई तिर्नपर्ने रकम जसवापत सरकारबाट केही पाउने आस गरिन्न । उक्त रकम जनताको हितमा खर्च गरिन्छ । कर जनताले तिर्नुपर्ने कत्र्तव्य हो भने करको सही उपयोग गर्नु सरकारको दायित्व हो । कुनै सेवा प्रदान गरे वापत लिइने रकम सेवा शुल्क हो । सेवा शुल्क कर कानून जस्तो स्वतन्त्र कानून बनाएर लागू गर्ने विषय होइन । करदाताको पहिचान, कर निर्धारणको तरिका, समय, करको बारेमा चित्त नबुझे पूनरावेदन दिने व्यवस्था, कर असुलीको तरिका, जरिमाना र सजायको व्यवस्था हुनुपर्छ । नेपालमा धेरै पेशा व्यवसायीले लामो समय कर नतिरेरै चलेका छन् । घरजग्गाका कारोवारी करको दायरामा आउने कुरा छोडौँ, कारोवार कहीँ देखाउने गरेकै थिएनन् । आम्दानी देखिने काम केही छैन तर धन सम्पत्ति प्रशस्तै जोडेका छन् । सरकारको कुनै निकायले कारोवारमा प्रश्न गर्न सक्दैन मात्र होइन, सरकारका अंगकै पदाधिकारी मिलेर जग्गा कारोवारमा लगानी वा साझेदारी गरेका देखिन्छन् । साधारणतया नागरिकले जुन आर्थिक गतिविधिमा कर तिर्छ त्यसले त्यो क्षेत्रको विकासमा स्वामित्व खोज्नु स्वभाविक हुन्छ । जसले कुनै गतिविधिमा कर तिरेको छैन त्यसले अनावश्यक दुष्प्रचार गर्नु उपयुक्त हुँदैन । कुनै बेला रानी ऐश्वर्य (पम्फादेवी) को नाममा स्विजरल्याण्ड वैंकमा पैसा थुपारेको हल्ला थियो । आज पनि नेपालका केही सीमित व्यक्तिले सम्पत्ती लुकाउन विदेशी वैंकमा पैसा राखेका छन् भन्ने समाचार छुटेको छैन । विदेशी भूमी र विदेशी वैंकमा थुपारेको रकम फर्काए मात्र देशमा विकासको लहर सिर्जना हुन्छ भन्ने सुनिएको छ । संसारका विकसित भनिने र मानव विकास सूचकांकमा अगाडि रहेका मुलुकहरुमा जसले बढी कमाउँछ उसले बढी कर तिर्छ । जसको कमाई थोरै छ उसले न्यून मात्रामा कर तिर्छ । वार्षिक कमाई स्वघोषणा गरेर कर तिर्ने, कारोवार सबै इ–वैंकिङ गर्दा वैज्ञानिक विधिबाटै कर तिर्ने विधिले ति मूलुकमा कर छलीको समस्या कम हुन पुगेको हो । यद्यपी दैनिक र घण्टा ज्यालादरीमा लुकेर काम गर्नेले पनि डराइडराई जीवनयापन गरिरहेका हुन्छन् । कर तिरेवापत सरकारले के गर्छ ? यो प्रश्न हरेक नागरिकको मनमा छ । माध्यमिक तहसम्मको शिक्षा निशुल्क भनेको छ । मासिक शुल्क, पुस्तक, स्टेशनरी, खाजा आदिको प्रबन्ध त्यो करबाटै भएको हो । यद्यपी विद्यालयका सबै सेवा र शुल्क निशुल्क भइसकेका छैनन्, त्यसतर्फ सरकार उन्मुख छ । बाख्रा वा भैंसीको निकासीमा रुरु गाउँपालिकाले लगाएको कर, गुल्मी दरबार गाउँपालिकाले पटके सवारी कर, मुसिकोट नगरपालिकाले लिएको सवारी साधन कर आलोचना बढाउने करहरु हुन् । रामपुर नगरपालिका, माथागढी गाउँपालिकाले पूर्वाधार सेवा शुल्कका नाममा लिएको पटके सवारी कर, तानसेन नगरपालिकाले एकीकृत सम्पत्ति करको गातो फालेर उठाएको सम्पत्ति कर, बगनास गाउँपालिकाले अंग्रेजी भाषाको सिफारिशमा लिएको शुल्क पनि बढी भएका हुन् कि भन्ने छ । जनताका यस्ता जिज्ञासा समयमा पूरा गर्न नसक्दा जनआक्रोस थपिन पुगेका हुन् । कर र शुल्कका बारेमा सर्वसाधारणलाई प्रशिक्षित गर्न नसक्नु पनि स्थानीय सरकारका कमजोरी हुन् । कतिपय स्थानीय तहले निर्माण गरेका कानून र सरकारले नागरिकसँग असुल गरिरहेको कर र शुल्कका दर हेर्दा पूरानोको निरन्तरता हुन् वा नयाँका व्यवस्था छुट्टयाउन मुश्किल परिरहेको छ । स्थानीय तहमा करको दुष्प्रचार भइरहेको छ भनेर जनप्रतिनिधिहरु आत्तिएको देखिन्छ भने आमसञ्चार माध्यम र सामाजिक सञ्जालमा कर बढी भयो भनेर जनताले विरोध गरिरहेको पाइन्छ । यति जननिर्वाचित पदाधिकारीलाई संकलित करको परिमाणभन्दा नागरिकबाट भएको आलोचना कैयौं गुणा महँगो सावित हुँदैछ । सरकार र नागरिक बीच विश्वासको संकट छ । जनताले तिरेको करको एक पैसा पनि दुरुपयोग हुँदैन भन्ने सुनिश्चित गराउन सके कर तिर्न कोही हिच्किचाउँदैनन् । जनताको सेवा गर्छु भनेर भोट मागेको मान्छेले महँगा गाडी, मोवाइल, भत्तामा लागे कि भन्ने चिन्ता भने जनतामा स्वभाविक रुपमा देखिन्छ । दैनिक जीवन निर्वाह भत्ता र आवश्यक साधन मात्र प्रयोग गरेका हुन् भन्ने सन्देश पुगेका दिन सरकारप्रति जनताको विश्वास बढ्छ । कर तिर्न जनता उत्साहित हुन्छन् । करको सदुपयोग भए नभएको जानकारी लिन्छन् । दुरुपयोग भए खबरदारी गर्छन् । संविधान कानुन विपरित लिएको भए संशोधनका लागि अपिल गर्छन् । कर विना देश समृद्ध हुन सक्दैन, जनता पनि खुशी हुन सक्दैनन् ।

मेस्सी फर्केको खेलमा अर्जेन्टिना पराजित

रसिया विश्वकपपछि कप्तान लियोनल मेस्सी राष्ट्रिय टोलीमा फर्किएको खेलमा अर्जेन्टिना भेनेजुएलासँग पराजित भएको छ।

२०१८ को जुनमा फ्रान्ससँग विश्वकपको अन्तिम १६ मा पराजित हुदैँ प्रतियोगिताबाट बाहिरिएपछि मेस्सी त्यसपछि राष्ट्रिय टोलीमा देखिएका थिएनन्। शुक्रबार मेस्सी ६ खेलपछि राष्ट्रिय टोलीमा फर्कदा अर्जेन्टिना भने भेनेजुएलासँग ३–१ गोलअन्तरले स्तब्ध बन्यो।

म्याड्रिडमा भएको दुबै दक्षिण अमेरिकी देशहरुबीचको खेलमा न्यू क्सासलका स्ट्राइकर समेत रहेका सालोमोन रोन्डोनले खेलको छैटौं मिनेटमा भेनेजुएलालाई सुरुवाती अग्रता दिलाएका थिए।

पहिलो हाफको अन्त्यतिर जोन मुरिलोले भनेजुएलाको अग्रता दोब्बर पारेका थिए। ५९औं मिनेटमा अर्जेन्टिनाका लौटारो मार्टिनेजले एक गोल फर्काएपनि ७५औं मिनेटमा जोसेफ मार्टिनेजले पेनाल्टीमा गोल गर्दै भेनेजुएलालाई ३–१ को जित दिलाए।

साविक विजेता पोर्चुगलले युरो क्वालिफायरमा खेल्यो बराबरी

साविक विजेता पोर्चुगलले युरोकपको छनौट खेलमा युक्रेनसँग बराबरी खेलेको छ।

करिब ९ महिनाको आरामपछि क्रिस्टियानो रोनाल्डो पोर्चुगिज राष्ट्रिय टोलीमा फर्किएका थिए। यद्यपी उनले कुनै गोल गर्न सकेनन्।

पोर्चुगल र युक्रेनबीच शुक्रबार राति भएको खेल गोलरहित बराबरीमा टुंगिएको हो।

खेल अवधिभर पोर्चुगलले युक्रेनमाथि आफ्नो दबदबा कायम राखेको थियो। पोर्चुगलले १८ वटा कर्णरको मौका पाएको थियो।

पोर्चुगलले १८ पटक नै गोलका लागि प्रयास गरेको थियो। जम्मा ६ बल पोस्टको दिशामा गयो। कुनै बलले पोस्टको जाली चुम्न सकेन।

बराबरीसँगै दुवैले एक–एक अंक बाँडेका छन्। युरोकप छनौट खेलको समुह बीमा रहेको पोर्चुगल १ अंकसहित दोस्रो स्थानमा छ।

लक्जेमबर्ग ३ अंकसहित शीर्ष स्थानमा छ भने १ अंक भएको युक्रेन तेस्रो स्थानमा छ। अंकविहिन सर्विया र लिथुनिया क्रमश चौथौं र पाचौं स्थानमा छन्।