सामुदायिक रेडियो मदनपोखरा
spot_img
Home Blog Page 25

लकडाउन : जोखिम मानिसका लस्करलाई सहयोग, बाईकमा खाद्यान्न बोक्नेलाई कारबाही


विजयकुमार बौडेल – 
वैशाख ३ – सरकारले जो जहाँ छ त्यही बस्ने गरि लकडाउन लागु गरेको भएपनी जनप्रतिनिधी देखी सामाजिक संघसंस्था सम्मले हिँडडुललाई बढावा दिईरहेका छन् ।

दिनहुँ फरक स्थान बाट फरक स्थान सम्म जाने व्यक्तिहरुलाई खाटोमा खाना खुवाउने, यातायातका साधन व्यवस्था गर्नेलगाएतका कार्यहरु जनप्रतिनिधी र सामाजिक संघसंस्थाकै अगुवाईमा भईरहेका छन् । विभिन्न संघसंस्थाहरु राजमार्गका विभिन्न स्थानमा क्याम्प लगाएरै कसले कती धेरै जनालाई खाना खुवाउने भनेर प्रतिस्पर्धामा उत्रिएका छन् । कोरोना भाईरसको संक्रमण कम गर्न सरकारले लागु गरेको लकडाउनमा मानिसको आवतजावत रोक्नुपर्नेमा यातायात रोकलाई मात्र प्राथमिकता दिएको गुनासो बढेको छ ।

रिब्दीकोट गाउँपालिकाका ओम खाम्चाले घरमा राशन सकिएर टाढाको बजारबाट बोकेर ल्याउन गाह्रो भएको भन्दै एक्लले चाहिने जति सामान किनेर घर फर्कँदा प्रहरीले कारबाही गर्ने गरेको बताउनुभयो । “मानिस चाही १०/२० जना बाटोमा खुलेआम हिड़दा नी केही नभन्ने, बाइृकमा खाद्यान्न ओसार्दा कारबाही भोग्नु पर्ने ? यो कस्तो लोजिक हो ?” खाम्चाले भन्नुभयो । “कोरोना त गाड़ी भन्दा मानिसबाट बढ़ी संक्रमण हुने होईंन र ? त्यो गाड़ीको के दोष ।”

कोरोना भाईरसको संक्रमण मानिसबाट अत्यन्तै छिटो सर्ने भएपनी मानिसको हिँडडुललाई खुला छाडेको र यातायातको साधनलाई मात्र रोक लगाएको गुनासो नागरिकले गरेका छन् । तानसेन खाद्यान्न पसल खोल्न जाँदै गरेका एक व्यक्तिले आवश्यक काम परेर हिँड्दा सोधपुछ नगरि गलत व्यवहार गरेको बताउनुभयो ।

“प्रहरीले यातायातका साधन मात्र बन्द हो जस्तो गर्ने रहेछन् ।” उहाँले भन्नुभयो । “प्रहरीले तँ सम्बोधन गर्दै गलत व्यवहार गरे, बाईक छोडेर हिँड्दै जा, हिँड्दै आईज भने । भाईरस सर्ने त मानिसबाट पो हो त, बाईकबाट हो त ?” प्रहरीले बाटोमा दिनहुँ मानिसहरु खुल्लमखुल्ला हिँड्दा केही नभन्ने तर आवश्यक काम परेर बाईकमा हिँड्दा गलत व्यवहार गर्ने गुनासो गर्नुभयो ।

कोरोना संक्रमण जोखिम कम गर्न सरकारले लागु गरेको लकडाउन कुनै राजनैतिक पार्टीले गरेको नेपाल बन्द जस्तो भएको नागरिकले गुनासो गरेका छन् । हिँडडुल गर्न पाईने तर सवारी चलाउँदा मात्र कारबाही भोग्नु पर्ने जिल्ला प्रहरीको तथ्यांकले पनी थप पुष्टी गर्छ । जिल्ला प्रहरी कार्याललयले अहिले सम्म २ सय ३५ सवारीलाई लकडाउन उल्लंघन गरेको भन्दै पक्राउ गरेको छ ।

जिल्ला प्रहरीले दिनहुँ लकडाउनको अवज्ञा गर्ने सवारीलाई पक्रेको तथ्यांक सार्वजनिक गर्छ तर लकडाउन अवज्ञा गर्ने एक जना पनी व्यक्ति अहिलेसम्म पक्राउ गरेको छैन । यसको अर्थ सवारीमा रोक, व्यक्तिलाई छुट दिएको देखिने सरोकारवालाहरु बताउँछन् ।

पाल्पाका क्वारेन्टाईनमा बसेका सबैको कोरोना संक्रमण नेगेटिभ

चैत २८ – पाल्पा जिल्लामा विभिन्न क्वारेन्टाइनमा रहेका ४१ जनाकै कोरोना संक्रमण नभएको रिपोर्ट आएको छ ।

कोरोना संक्रमणको द्रूत परिक्षण आरडिपी गर्दा सबै जनाको रिपोर्ट नकारात्मक अर्थात् नेगेटिभ आएको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताउनुभयो । पूर्वखोला गाउँपालिकाको २१, रामपुर नगरपालिकाको ९, रिब्दीकोट गाउँपालिकाको ३ र रैनादेवी छहरा गाउँपालिकाको ८ गरी ४१ जनाको आज दिउँसो परिक्षण गरिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताउनुभयो ।

क्वारेन्टाइनमा रहेका अधिकांश युवा भारतको मुम्बईबाट फर्किएपछि चैत्र १२ देखि बसेका हुन् । लुम्बिनी मेडिकल कलेज र युनाइटेड मिसन अस्पतालका तालिम प्राप्त जनशक्ति सहित दुई समुह पूर्व र पश्चिमका क्वारेन्टाइनमा परिक्षणका लागि खटाइएको हो । कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार सहजीकरण समितिले परिक्षणमा नेगेटिभ देखिएकाहरुलाई घरको क्वारेन्टाइनमा एक हप्ता बस्ने गरी पठाउने निर्णय गरेको छ ।

पोजेटिभ देखिएमा स्वाव निकालेर सम्बन्धित पालिकाको एम्बुलेन्स मार्फत् अस्पतालमा ल्याएर आइसोलेसनमा राख्ने समेत तयारी रहेको थियो ।

संकटका बेला पाल्पा अस्पताल


चैत २७ – पाल्पा अस्पतालले लकडाउनको अवधिभरमा २ सय ३८ जना बहिरंग तथा आस्कमिक बिरामीको उपचार गरेको छ ।

चैत्र १२ गतेदेखि यता अस्पतालमा आएका बहिरंग र आकस्मिक तर्फ २ सय ३८ बिरामीको स्वास्थ्य जाँच तथा उपचार गरिएको पाल्पा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. पुष्प ज्ञवालीले बताउनुभयो । कोरोनाको लक्षण सँग मिल्ने ज्वरो, खोकी र घाँटी दुख्ने बिरामीलाई ज्वरो मापन केन्द्रमा र अरु बिरामीलाई पुरानै स्थानबाट उपचारको व्यवस्था मिलाइएको डा. ज्ञवालीले जानकारी दिनुभयो । ज्वरोमापन केन्द्रमा २७ र अन्तरंग भर्नामा ३ जना रहेको अस्पतालले जनाएको छ ।

कोरोनाको संक्रमण भएको आशंकामा पोखराथोकका बिरामी घरमै रहेको सुनेपछि व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डे र मेडिकल सुपरिटेण्डेन्ट डा. ज्ञवालीले घरमै पुगेर बिरामी ल्याउन भएको थियो । बिरामीलाई अस्पताल भर्ना गरी उपचार गरिएको र स्वाव परीक्षण गर्दा नेगेटिभ देखिए पछि घर पठाइएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेले भन्नुभयो, ‘अस्पतालले दिने सेवा भनेकै बिरामी भएका बेलामा हो ।

उपचारका लागि चिकित्सक र स्वास्थ्यकर्मी सहित हामी रात दिन तल्लिन छौँ ।’ पाल्पा अस्पतालले लकडाउन घोषणा गरे लगत्तै पिपिइ तथा सुरक्षाका उपकरणहरु थोरै मात्रामा भए पनि आन्तरिक रुपमा व्यवस्थापन गरेको थियो । यो विषम परिस्थितिमा अस्पतालमा भर्ना भएका ३ मध्ये कोरोना भाइरसको संक्रमण भएको आशंकमा १ जना बिरामीको स्वाव परीक्षणका लागि पठाइएको थियो ।

विदेशबाट आएको ज्वरोको बिरामीकै घर डाक्टर पुगेर उपचार गरेकाले पाल्पालीहरुले संकटका बेला काम लाग्ने अस्पताल भनेका छन् । सरकारले चैत्र ११ गते देखि गरेको लकडाउन बैशाख ३ गते सम्मलाई निरन्तरता दिने बताएको छ ।

तानसेनको कोरोना रोकथाम राहत कोषमा प्रभु बैंकको सहयोग


विजयकुमार बौडेल – 
चैत २७ – तानसेन नगरपालिकाको कोरोना भाईरस रोकथाम राहत कोषमा प्रभु बैंक पाल्पा शाखाले सहयोग गरेको छ ।

बैंकले कोरोना भाईरस संक्रमण रोकथामको लागी स्थानिय तहलाई सहयोग स्वरुप पचास हजार रुपैंया सहयोग गरेको हो । तानसेन नगरपालिकाले कोरोना भाईरस संक्रमण रोकथामको लागी राहत कोष स्थापना गरि विभिन्न संघसंस्था तथा नागरिकहरुलाई सहयोगको लागी अनुरोध गरेको थियो ।

कोरोना भाईरस संक्रमण कम गर्न सरकारले लकडाउन लागु गरेपछी स्वास्थ्य क्षेत्रमा प्रयोग गर्न र विपन्न परिवारलाई राहत दिनको लागी तानसेन नगरपालिकाले राहत कोषको स्थापना गरेको तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीले बताउनुभयो । मेयर शाहीले राष्ट्रिय विपत्तिमा संघिय सरकार, प्रदेश सरकार र स्थानिय तहले मात्र पहल गरेर पुरा नहुने भन्दै अन्य संघसंस्था र व्यक्तिलाई पनी सहयोग गर्न अनुरोध गर्नुभयो ।

प्रभु बैंक पाल्पा शाखाका प्रवन्धक म्यानेजर केशब नेपालले चेक हस्तान्तरण गर्दै बैंकले राष्ट्रिय विपत्तिमा सामाजिक उत्तरदायित्व पुरा गरेको बताउनुभयो । नेपालले नागरिकहरुको सुरक्षाका लागी स्थानिय तहहरुले सक्दो पहल गरेको भन्दै सबैले सघाउनुपर्ने बताउनुभयो ।
राहत कोषमा एसिया फाउण्डेसनका चुरामणी पोखरेलले पनी पाँच हजार एक सय रुपैंया सहयोग गर्नुभएको छ । पोखरेलले विश्व नै संकटमा परेको बेला सक्दो सहयोग गर्नु मानविय धर्म पनी भएको भन्दै सबैलाई सशयोगको लागी अनुरोध गर्नुभयो ।

मेयर शाहीले सामाजिक उत्तरदायित्व पुरा गरेको भन्दै सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।

पुर्वखोलाका २ सय ५८ विपन्न परिवारलाई राहत

विजयकुमार बौडेल 
चैत २७ – कोरोना संक्रमण कम गर्न सरकारले लकडाउन आह्वान गरेलगत्तै स्थानिय तहहरुले दैनिक ज्यालादारी गरि गुजारा टार्नेहरुलाई राहत वितरण गरेपछी विपन्न परिवारलाई सहज भएको छ ।

दैनिक ज्यालामा मजदुरी गरि विहानबेलुका छाक टार्ने परिवारको पहिचान गरि उनीहरुलाई स्थानिय तहहरुले खाद्यान्न, दाल, नुन, तेल लगाएतका सामग्री वितरण गरेपछी दैनिक गुजारा चलाउन सहज भएको हो । पाल्पाका दश वटै स्थानिय तहले विपन्न परिवारलाई पहिलो चरणको राहत वितरण गरिसकेका छन् ।

जसमध्ये पुर्वखोला गाउँपालिकाले २ सय ५८ विपन्न परिवारलाई चामल, दाल, नुन, तेल, साबुनलगाएतका सामग्री वितरण गरेको गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले जानकारी दिनुभयो । लकडाउनको समय लामो भएकाले दैनिक ज्यालादारी गरेर छाक टार्ने परिवारलाई निकै कष्ट भएकाले पुर्वखोलाले गरिव परिवारलाई लक्षित गरि राहत वितरण गरेको अध्यक्ष थापाले बताउनुभयो ।

पुर्वखोला गाउँपालिकाले समुदाय स्तरमै पुगेर दुरी कायम गरि प्रभावित परिवारलाई राहत बितरण गरेको छ । राहतले ज्यालादारीबाट गुजारा चलाउँदै आएका परिवारलाई धेरै हदसम्म सहयोग पुगेको र आवश्यकता अनुसार आगामी दिनमा पनि राहत बितरण गरिने गाउँपालिकाले जनाएको छ ।

माथागढीका विपन्नलाई राहत


माया बस्याल – 
चैत २५ – लकडाउनका कारण दैनिक ज्यालादारी गरेर गुजारा चलाउने माथागढी ३ कसेनी भैसिकट्टाकी ६६ बर्षिय बिष्णु कुमारी रानालाई छाक टार्न मुस्किल पर्यो ।

कोरोना भाईरस संक्रमण कम गर्न सरकारले लकडाउन गरेपछी रानाको रोजीरोटी पनी बन्द भयो । दैनिक काम गर्ने र त्यही पैसाले साँझ छाक टार्ने रानाको घरमा चुलो बल्न बन्द भयो । त्यसै समयमा स्थानिय तहले राहत स्वरुप खाद्यान्न, दाल, तेल, नुनलगाएतका सामग्री बाँडेपछी रानालाई छाक टार्न सहज भयो ।

राना जस्तै घरमा चुलो बल्न छाडेका १ सय १७ घरपरिवारलाई माथागढी गाउँपालिका वडा नं. ३ ले राहत वितरण गरेको छ । माथागढी गाउँपालिकाको सहयोग, वडा कार्यालयको समन्वय र सराइ युवा क्लबले व्यवस्थापन गर्दै विपन्न परिवारलाई राहत वितरण गरेको हो । गाउँपालिकाले पारिवारिक संख्या अनुसार २ जना सम्म सदस्य भएका परिवारलाई १५ किलो चामल, १ किलो नुन, १ किलो दाल, १ लिटर तेल राहत वितरण गरेको छ ।

त्यस्तै २ जना भन्दा माथि सदस्य हुने परिवारलाई २५ किलो चामल, २ किलो नुन, २ किलो दाल र २ लिटर तेल वितरण गरेको छ । वडाध्यक्ष दिपक थापाका अनुसार सराई युवा क्लबको सहयोगमा ८६ सहित जम्मा २०३ विपन्न परिवारलाई राहत वितरण गरिएको छ ।

तानसेन नगरपालिकाले पुर्यायो घरघरमै वृद्धभत्ता


विजयकुमार बौडेल 
चैत २५ – लकडाउनको समयमा जनप्रतिनिधीहरु आफ्नै घरमा सामाजिक सुरक्षा भत्ता दिन आएपछी वृद्धहरु खसी भएका छन् ।

कोरोना संक्रमण कम गर्न सरकारले लकडाउन लागु गरेपछी धेरै मानिस जम्मा नहुने र भिडभाड नगर्ने भएकाले तानसेन ११ बन्दिपोखराका जनप्रतिनिधीहरुले वृद्धहरुको घरघरमै गएर भत्ता वितरण गरेका हुन् । वित्तिय संस्थाबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भनेको तानसेन ११ ले सबै सेवाग्राहीको बैंकमा खाता समेत खोलिसकेको थियो ।

तर कोरोना प्रभावले धेरैजसो बैङ्क तथा वित्तिय संस्था बन्द भएपछीे घरघरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गरेको वडा नं. ११ का वडाध्यक्ष तथा तानसेन नगरपालिकाका प्रवक्ता दामोदर प्रसाद घिमिरेले जानकारी दिनुभयो । तानसेन ११ की मन ठडराई लकडाउन भएपछी समस्यामा पर्नुभएको थियो । बैंक खातामा भत्ता आउने हो कि भन्ने पिर उहाँलाई थियो । तर जनप्रतिनिधीहरु घरमै आएर भत्ता दिएपछी ठडराई खुसी हुनुभयो ।

अर्की स्थानिय मन कार्कीले जनप्रतिनिधीहरु घरघरमै आएर भत्ता वितरण गरेकोमा खुसी हुँदे धन्यवाद दिनुभयो । कार्कीले स्थानिय सरकार भनेको आफ्नै घरनजिकैको सरकार भएको महसुस गरेको बताउनुभयो ।

लकडाउन भएपछी दैनिक गुजारा टार्न समस्या भएको ठडराईको परिवारलाई घरमै भत्ता आईपुगेपछी राहत मिलेको छ । तानसेन नगरपालिका ११ ले पहिलो चरणमा घरघरमा पुगी ४ लाख ७८ हजार भत्ता वितरण गरेको छ ।

लकडाउनभर लुमेकमा चार सय अठार बिरामीको उपचार

पाल्पा । लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पाले लकडाउनको अवधिमा ४ सय १८ जनाको आकस्मिक बिरामीको स्वास्थ्य जाँच तथा उपचार गरेको छ ।

सरकारले चैत्र ११ देखि लकडाउन घोषणा गरेपछि अस्पतालले बिरामी फर्काए र बिरामी जाँच गरेनन् भन्ने हल्लाको बीचमा अस्पतालका निर्देशक डा. राजु शाक्यले १४ दिनको अवधिमा आकस्मिक सेवा इमरजेन्सीमा ४ सय १८ जनाको स्वास्थ्य जाँच र उपचार गरिएको बताउनुभयो । लुम्बिनी मेडिकल कलेजले यो अवधिमा १ सय ५० जना बिरामी भर्ना गरी उपचार गरेको, ज्वरो मापन केन्द्रमा २० जनालाई ज्वरो परीक्षण भएको जनाएको छ ।

अस्पताल निर्देशक शाक्यले कोरोना संक्रमणको शंकामा ३ जनाको स्वाव परीक्षण गरिएकोमा तीनै जनाको नेगेटिभ आएको जानकारी दिनुभयो । अस्पतालले ज्वरो मापन केन्द्रमा बिरामीसँगै गएका व्यक्तिलाई पनि बोलाएर ज्वरो मापन गरिरहेको छ । अस्पतालले बनाएको मेडिकल कार्यदलका संयोजक प्राध्यापक डा. राजकुमार क्षेत्रीले कोरोना भाइरसको रोकथाम भनेकै एकान्तमा बस्ने, सामाजिक दूरी कायम गर्ने र बाहिरी व्यक्तिसँग सम्पर्कमा नरहने नै हो भन्नुभयो ।

कोरोना संक्रमण दोस्रो चरणमा प्रवेश गरेपछि लुम्बिनी मेडिकल कलेजले २८ वटा आइसोलेसन बेड तयार गरी राखिएको अस्पतालका कार्यकारी अध्यक्ष गोपालप्रसाद पोखरेलले बताउनुभयो । अस्पतालका आइसोलेसन बेडमा भेन्टिलेटरसहितको वेडको व्यवस्था हुने उहाँको भनाई छ । अध्यक्ष पोखरेलले भन्नुभयो ‘प्रारम्भिक दिनमा केही दोधारपन भयो । अहिले मुटु र छाती खुला गरेर कोरोनाको बिरामी उपचार गर्न अस्पताल तयार रहेको छ । डाक्टर र स्वास्थ्यकर्मीमो मनोबल उठाउन म आफै अस्पतालमा सँगै बसेको छु ।

लुम्बिनी मेडिकल कलेजले स्वास्थ्य विमा गरेका बिरामीको फलोअप उपचार पनि गर्न थालेको छ ।

कोरोना सचेतना फैलाउन तिनाउका टोलटोलमा जनप्रतिनिधी र प्रहरी


विजयकुमार बौडेल 
चैत २५ – तिनाउ गाउँपालिकाका जनप्रतिनिधी र प्रहरीहरु गाउँगाउँ पुगेर स्वास्थ्य तथा सुरक्षाका विषयमा सचेत बनाएका छन् ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस संक्रमण कम गर्न सरकारले लागु गरेको लकडाउनको महत्व र अपनाउनुपर्ने सुरक्षाका विषयमा नागरिकलाई सचेत बनाएका हुन् । तिनाउ गाउँपालिका वडा नं. २ का वडाध्यक्ष एवम् गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले नागरिकको स्वास्थ्य सुरक्षामा स्थानिय तह गम्भिर भएर लागेको बताउनुभयो । प्रवक्ता श्रेष्ठले सरकारले नागरिकहरुको सुरक्षाकै कारणले लकडाउन गरेको भन्दै सबैलाई अनुसासित भएर पालना गर्न अनुरोध गर्नुभयो ।

वडा नं. १ का वडासदस्य अमर तरामू मगरले गणेशटोल, नुवाकोट, हरियाली गाउँ हुँदै रामपाटा, झिंगामारा र ठूलीउदाङ्ग पुगी नागरिकहरुलाई कोरोना संक्रमण बाट सतेच र सतर्क रहन अनुरोध गरेको बताउनुभयो । तरामुले सरकारले लकडाउनका लागि दिएको निर्देशन र राहत प्याकेजका सन्दर्भमा नागरिकहरुलाई जानकारी गराएको बताउनुभयो ।

दोभान प्रहरी चौकी इन्चार्ज बालबहादुर घर्तिमगरले नागरिकहरुलाई अनावश्यक रुपमा गाउँघरमा नडुल्न, भारत लगाएत अन्य देशबाट घरमा आएका व्यक्ति क्वारेन्टाइनमा बस्न र वनजंगलमा गई सिकार नगर्न समेत गाउँबासीहरुलाई अनुरोध अनुरोध गर्नुभयो । चैत बैसाखको महिना भएकाले डढेलो लाग्न सक्ने संभावना बढी भएकाले पनी सामुदायिक वनका उपभोक्ताहरुलाई सचेत रहन टोलीले नागरिकलाई अनुरोध गरेको छ ।

ठूलीउदाङ्गका स्थानीय ज्ञानबहादुर खाम्चाल मूर्गियाको बाटो हुँदै झिंगामारामा नयाँ मान्छेहरु धेरै आएका हुँदा रोग सार्न सक्ने सम्भावना रहेको र त्यस्ता नयाँ मान्छेहरुलाई आउन रोक लगाउने या क्वारेन्टाईनमा राख्न प्रहरीसँग अनुरोध गर्नुभयो । अर्का स्थानिय मानबहादुर सूर्यबंशीले कोरोनाबाट डराई रहेका स्थानीय नागरिकहरुलाई सचेत बनाएर उत्साह बढाउनु स्थानिय तहको राम्रो काम भएको बताउनुभयो ।
ठुलिउदाङकै कर्ण बहादुर तरामुले रोगबाट बच्ने उपाय र लकडाउनलाई पालना गर्न दिएको निर्देशनले स्थानीयहरु खुसी भएको बताउनुभयो ।

स्थानीय सरकार हाम्रो हो भन्ने सन्देश दिन सकेको र आगामी दिनमा समेत यस्ता खालका स्वास्थ्य तथा सुरक्षाको टोली गाउँगाउँमा निरन्तर आइरहन तरामुले अनुरोध गर्नुभयो । प्रहरीले बाहिरबाट मानिसहरु आई स्थानिय तहको सम्पर्कमा नरहेकाहरुलाई तरुन्त सम्पर्कमा आउन अनुरोध गरेको छ । सरकारले लकडाउनको बेलामा डुल्न, घुम्न सख्त मनाही गरेको हुँदा स्थानीय नागरिकहरुलाई आफ्नै घरमा बसेर रोगबाट बच्न समेत प्रहरीले अनुरोध गरेको छ ।

तिनाउ गाउँपालिकाले कोही संभावित व्यक्ति भएमा दोभान माविमा निर्माण गरिएको १० शैयाको अस्थायी क्वारेन्टाइनमा बसी स्वास्थ्य परिक्षण गर्न र १४ दिनसम्म निगरानीमा रहन अनुरोध गरेको छ ।

परिक्षणका लागी पठाईएका पाल्पाका चारै जनामा देखिएन कोरोना


विजयकुमार बौडेल 
चैत २४ – कोरोना परिक्षणका लागी काठमाण्डौ र भैरहवा लगिएका पाल्पाका चारै जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

लुम्बिनी मेडिकल कलेज र पाल्पा अस्पतालमा उपचाररत चार जनाको स्वाब परिक्षणका लागी पठाएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको हो । लुम्विनी मेडिकल कलेजमा उपचारत एक वृद्धा महिलाको स्वाब परीक्षणका आईतबार प्रदेश स्तरीय प्रयोगशालामा पठाइएको थियो ।

कोरोनाको लक्षण देखिए पनी चारै जनालाई कोरोना भाईरसको संक्रमण नभएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी यज्ञश्वर पन्थीले जानकारी दिनुभयो । तिनाउ गाउँपालिकाकी एक जना, बगनासकाली गाउँपालिकाका १ जना र माथागढीका २ जनाको स्वाब परिक्षणका लागी पठाईएको थियो ।
पाल्पा अस्पतालबाट एक जना र लुम्बिनी मेडिकल कलेजबाट तिन जना थपको घाँटीको खकार नमुना संकलन गरि शनिबार परीक्षणका लागि काठमाडौं पठाईएको थियो ।